19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सन्त्रास

कविता मिश्र वैजयन्ती December 29, 2008, 6:53 am

साँझको क्षितिजबाट

विस्तारै ओझेल परेपछि

रातको आँचलमा लुक्छ पृथ्वी,

अब त्यहाँ जे पनि हुन सक्छ।

कुनै बाघ

पञ्जा फिँजाएर

बास बसेको निम्छरो शावकलाई

सिकार गर्न सक्छ।

सिंहहरु गुफा छाडेर

मान्छेको जङ्गलमा

दुर्गन्ध फैलाउन सक्छन्

चुस्ते यन्त्रको आयतन

तन्किन सक्छ।

पाषाण यन्त्रको रोबोटीय हातहरुको

आयाम बढ्न सक्छ,

अदालतको ढोकाको

दिशा बदलिन सक्छ,

अथवा न्यायाधीशको गलामा

बाध्यताको पासो बेरिन सक्छ

आस्थामा बम पड्किन सक्छ

अथवा छातीमा एस.एल.आर. थर्किन सक्छ,

पृथ्वीलाई रातले गाँजेपछि

अब त्यहाँ जे पनि हुन सक्छ।

रातको गर्भभित्र

त्रासको भव्यता मौलाउन सक्छ,

समुद्रलाई नीलडाम हुने गरी

कुनै सिकारीले

भ्रष्टाचार गर्न सक्छ,

आफ्नै अनुहार बिर्सेर

विचारहीन उडनतस्तरी बाजहरुले

नाटकीय प्रेमोन्मादमा

मोनालिसाहरुसँग

अनुरक्तताको मञ्चन गर्न सक्छन्,

सँगै सुतेका जहानहरु

साटिन सक्छन्,

आमा हराएर दूधमुखे बालकहरु

सडकमा रूँदै भेटिन सक्छन्,

अलपत्र बालकका

वारिस नस्वीकार्ने बाबुहरु

गाँजासँग जुवाखालमा

'प्रेम!' गर्दै भेटिन सक्छन्,

परिश्रम गरेर स्याहारेका

बगैंचाका फसल चोरिन सक्छन्,

शालीनताको गौरव गर्ने

सावित्रीहरुको अस्मिता लुटिन सक्छ,

पृथ्वीलाई रातले गाँजेपछि

अब त्यहाँ जे पनि हुन सक्छ।

मन्दिर देउताविहीन हुन सक्छन्,

उज्यालो पर्खने साधुहरु

सदाका लागि धुरी चढ्न सक्छन्,

सर्पहरु माला पहिरेर

झन्डामा बेरिएका हुन सक्छन्

जूनकीरीको उज्यालोमा

सडक नाप्नेहरुले

बाटो भुल्न सक्छन्

र तिनका दाह्रा देखेर

दर्शकहरु आत्तिन सक्छन्,

अर्थात् यात्रुलाई धोका दिँदै

पुलका ढाडहरु डामिन सक्छन्,

दिउँसो बास्ने स्वतन्त्रताका साइरनहरु

बन्दीगृहमा टाँगिएका हुन सक्छन्

आँगनका डिलहरुबाट

पैह्रो लड्न सक्छ।

साँझको क्षितिजबाट

विस्तारै ओझेल परेपछि

रातको आँचलमा लुक्छ – पृथ्वी,

पृथ्वीलाई रातले गाँजेपछि

अब त्यहाँ जे पनि हुन सक्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।