19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

“बेरीतका रीतहरू” को गाँठा फुकाएर हेर्दा

कृति/समीक्षा नम्रता गुरागाईं September 17, 2026, 5:51 pm
नम्रता गुरागाईं
नम्रता गुरागाईं

“म विशुद्ध गृहिणी थिएँ, उहाँ लेखक हुनुहुन्थ्यो। उहाँका लेखको पाठक चाहिँ थिएँ। उहाँको निधनपछि उहाँकै नाममा साहित्य प्रतिष्ठानको जन्म भयो। त्यसपछि साहित्यिक पोखरीमा हामफालेर पौडी खेल्न सिकेँ।”

“बेरीतका रीतहरू” निबन्धसङ्ग्रह पढेपछि स्रष्टा रीता पहारीकै मनका तरेलीबाट सुरु गर्न मन लाग्यो।

प्रिय रिताजी,
पोखरीमा पसेपछि ‘जान्दिनँ’ भनेर कायर हुनुभन्दा बिस्तारै सिक्दै जानु महान् हुन्छ। भलै सँगै हामफालेका साथीहरू पौडेर धेरै पर पुग्लान्, तर ढिलो हिँड्दैमा पुगिँदैन भन्ने होइन। एक दिन पारि पुगिन्छ, तर पौडिन छोड्नु हुँदैन। अन्त्यमा मेहनतले नै जित्छ। यो स्वार्थी समयमा आफूले आफैँलाई माया गर्दै र बलियो बनाउँदै लैजानुपर्दो रहेछ भन्न मन लाग्यो।

रीता पहारीलाई एक दशक अगाडि नै चिनेकी थिएँ। पोखरा छोराछोरीलाई घुमाउन लैजाने क्रममा साहित्यकार अनिल पौडेलले चिनाउनुभएको थियो। त्यही बेला उहाँले जीवनसाथी गुमाउनुभएको कुरा थाहा पाएकी थिएँ। पोखराको लेकसाइडस्थित होटल ट्रयाङ्क्विलिटीको नाम सोध्दै पोखरा पुगेका म र मेरो परिवारलाई मीठो आतिथ्यले स्वागत गर्ने रिताजीसँगको भेट फेरि अर्को पटक छोरी अश्मिताको विवाहपछिको सम्धिनी भेटले जुरायो। म काभ्रेकी बुहारी, उहाँ काभ्रेकी छोरी; यसै पनि नजिक भयौँ। उहाँले केही पोस्ट गर्नुभएको छ भने म पढ्थेँ र उहाँमा आँट भर्ने गर्थेँ।

साहित्यमा नचिनिएकी स्रष्टा पहारीलाई एकैचोटि संस्थाको अध्यक्ष भएर साहित्यिक कार्यक्रममा जानु, त्यो पनि तल दर्शकदीर्घामा होइन, मञ्चमै गएर बस्नु कति गाह्रो थियो होला, म अनुमान मात्र गर्छु। उहाँले आफ्नै शब्दमा यसरी भन्नुभएको छ—

“आफ्नो संस्थाको अध्यक्ष भएको नाताले कार्यक्रमबाट निमन्त्रणा आउन थाले। आसन ग्रहण गराउँदा उठेर नमस्कार गर्दासमेत लाज लाग्थ्यो। गाउँका महिलाले परिचय गर्दा मुखमा पछ्यौरीको बुजो हालेर थरथर कामेजस्तो हुन्थेँ म, तर मलाई यो सबै सिक्नुपर्ने बाध्यता थियो।”

हो, मान्छेलाई कहिल्यै नसोचेको काम गर्न समयले लगाउँछ। जुन कुरा गर्दिनँ भनेर पन्छिएको भए आज कहाँ “बेरीतका रीतहरू” बाहिर आउँथ्यो होला र! यहाँ उहाँको धैर्य गरेर सिक्ने साहसलाई सलाम छ।

२० वटा निजात्मक निबन्धहरूको सङ्ग्रहको पहिलो निबन्ध “हामी, मोबाइल र फेसबुक” मा विवाह भएर नयाँ घर जाने सबै छोरीहरूको कथा छ। अहिलेजस्तो मोबाइल र फेसबुकको जमाना कहाँ थियो र त्यो बेला! आफ्ना भन्ने कोही नहुँदा दिदीको एउटा चिठी कति बहुमूल्य भयो होला, म पनि अनुमान गर्छु, किनकि मलाई पनि पहिलो पटक घर जाँदा घर, परिवार, समाजसहित सिङ्गो जिल्ला र अञ्चल नै फरक थियो।

पछि जब फेसबुक आयो, त्यसपछि बिस्तारै भर्चुअल संसारमा पस्न जानेपछि त्यसले साथीहरू जोड्न मद्दत गर्‍यो। तर रिक्वेस्ट पठाउनेजतिलाई सबैलाई साथी बनाउँदा गलत नियतका मान्छेसमेत साथी भएर दुःख पाएको कुरा सबैका फेसबुकका सुरुवाती दिनहरूलाई सम्झाउँछ।

“न्यानो ओतलाई कदर” निबन्धमा आफ्नै दिवङ्गत श्रीमान् हेमराज पहारीको स्मृतिमा पुरस्कार प्रदान गर्ने क्रममा समय र परिस्थितिअनुसार निःस्वार्थ मनले सहयोग गर्ने मान्छेहरूको कमी छैन भन्ने थाहा पाइन्छ। दुर्गन्धित मान्छेहरूको भीडबाट सुगन्ध छर्ने मान्छे अलग हुन्छन्, चिन्न सक्नुपर्छ भन्ने कुरा कार्यक्रम गर्न लाग्दा पाएका सहयोगहरूले थाहा पाइन्छ।

“सोच थरिथरिका–पितृको आसक्ति” निबन्धमा ढोँगी लेखकहरू, जो एक्लै बाँचेका महिलाबारे थाहा पाउनेबित्तिकै उनीहरूको नियतको दैलो उघारिहाल्न पछि पर्दैनन्, भन्ने कुरा उल्लेख गरिएको छ। कोही कतै दुई पैसामा नबिकेका आफ्ना किताबरूपी कागजका डङ्गुर दिएर होटलमा सित्तै बस्न खोज्छन् त कोही सहयोग गर्ने नाममा आफ्नो बाहुलीमा कस्न खोज्छन्। यस्ता लेखकको पगरी भिरेका मान्छेलाई ठाउँ पर्दा उचित जवाफ पनि दिन सक्नुपर्छ भन्ने लाग्छ मलाई पनि।

“एकल पुरुष” मा श्रीमती बितेर बसेका र उमेरको उकालो चढ्दै गरेका तमाम बाबुरूहरूको कथा छ, जहाँ भोक–तिर्खा बुझ्ने मान्छे भएर पनि भावना बुझ्ने मान्छे नहुँदा नरमाइलो लाग्ने यथार्थ छ। उमेरको उकालोमा सबैलाई हुने, तर व्यक्त नहुने भावना सबै एकल पुरुषका कथा हुन्। तर यस्तो समस्या आमाहरूलाई पनि हुँदैन भन्न सकिँदैन।

“यसले लेखेकी हैन” निबन्धमा लेखक भन्नेहरूले नै अर्काको लेखमाथि धावा बोल्दा आफूलाई थोरै मन दुखे पनि त्यसले आफूलाई लेखक हुन प्रेरणा मिलेको कुरा पढ्न पाइन्छ। गीत, कविता, कथा लेख्नु मात्र सिर्जना होइन; सिर्जना ढाकी बुनेर, स्वेटर बुनेर, दुना–टपरी गाँसेर पनि हुन्छ। यति जान्ने मान्छेले लेख्न खोज्यो भने निबन्ध पनि बन्दोरहेछ भन्ने नमुना पनि हो यो लेख।

“सम्झनामा कृष्ण पहारी” मा एक सज्जन मान्छेको अचानक मृत्यु भएर श्रद्धाञ्जली पढ्नुपर्दा मन धेरै दुखेको छ। उहाँको स्मृति ग्रन्थ निकालेर पछिसम्म सम्झने काममा आफूले सहयोग गरेको कुरा पढ्न पाइन्छ।

“अरूको पीर बोकेर” निबन्ध पढेपछि अरूको कुरा नकाटे, बिझाउने गरी नभने खाएकै नपच्ने हामी महिलाहरूकै जमात छ भन्ने कुराको उल्लेख छ। यस्ता महिलाहरूलाई अरूले मीठो खाए र राम्रो लाए पनि पीर, नलाए पनि पीर—कस्तो सोचाइ होला! एक्लो हुनु भनेको अरूको कुरा काट्नका लागि हो भन्ने मानक बनाइसकेका यस्ता महिलाहरू जति नै पढे पनि शिक्षित हुँदैनन् भन्ने लाग्छ। यस्ता मान्छे खोज्न टाढा जानुपर्दैन, आफ्नै नजिक भन्नेहरूमै भेटिन्छन् भन्ने कुराले मलाई पनि निकै छोयो।

“बोध दिने विनाश” मा पोखराबाट काठमाडौँको यात्रामा खाना खान बाटामा कतै रोकिएको बेला गाडी बेस्सरी हल्लिँदा पनि के भएको थाहा नपाउनु, एकैचोटि भतिजो आएर ‘छिटो बाहिर आउनु, भूकम्प गयो’ भन्दा अत्तालिँदै तल झर्नु आदि नसोचेका कुराहरूले लेखकलाई एकछिन त बाँचियो भनेर खुसी दियो होला। तर एकछिनमा धरहरा ढलेको सुन्नु अनि धेरैको ज्यान लिएको खबरले आफन्तहरू छन् कि छैनन्, फोन गरेर टुङ्गो नलागुन्जेल मनमा त्योभन्दा बढी कति रेक्टरको भूकम्प गयो होला, अनुमान मात्र पनि गर्न सकिँदैन। यही कुराको व्याख्या यो निबन्धमा गरिएको छ। जुन बेला विदेशमा रहेको भदाको विवाह गर्ने योजना बल्लतल्ल सफल बनाएको कुरा उल्लेख गर्नुका साथै दुःखका बेला आएको राहत पनि आवश्यक पर्नेहरूलाई नदिएर मन्त्रीहरूले खाएको घृणित कुराको पनि उल्लेख गरिएको छ।

“आँशुको चाडबाड” मा चाडबाडमा आफन्त नजिक नहुँदा कति पीडा हुन्छ, त्यसको वर्णन छ। विवाह गरेर गएको घर आफ्नाहरूभन्दा धेरै टाढा छ भने हरेक छोरीलाई आफन्तको न्यास्रो धेरै लागेको हुन्छ। यस्तो न्यास्रो कहिलेकाहीँ माया गर्ने अरू मान्छे, जो आफू हुर्किएको जिल्लाकै भए पनि, लाख भेटेसरह हुन्छ भन्ने कुराको उल्लेख पाइन्छ।

“हुनु र नहुनुका दोसाँधमा” निबन्धमा धेरै दशकअघि आएका विदेशी पाहुनाले आफ्ना दिवङ्गत भइसकेका जीवनसाथीको नाम लिएर आफूलाई भेट्न आउँदा खाटा बस्न लागेको आफ्नो प्रिय मान्छेको मायाको घाउ बल्झिएको कुरा छ।

“जीवन विविधा” निबन्धमा विवाह भएपछि छोरीका विभिन्न रूपहरूमा आफूलाई ढाल्दै जाँदा आफैँलाई दिने समय पो कति हुन्छ र? तर आँट लिएर अघि बढ्यो र आफ्नो मान्छेको सहयोग छ भने ढिलो–चाँडो केही गरिन्छ भन्ने कुरा पढ्न पाइन्छ। एसएलसी मात्र गरेकी लेखकले बीए सम्मको अध्ययन सक्नुपनि आफैँमा ठूलो कुरा हो, जसले विश्वविद्यालयको शिक्षामात्र दिएन, आँट र साहसको पनि शिक्षा दियो भनेझैँ लाग्छ। त्यही आँटको शिक्षा समाजमा पर्यो भने आफूलाई जुध्न पनि सिकाउँछ।

“मसिना कुरा र ठूला सास्ती” मा बिहे गरेर एउटा जिल्लाबाट अर्को जिल्लामा गएपछि हरेक छोरीलाई घर–परिवारको आनीबानी बुझ्न समय लाग्छ भन्ने कुराको उल्लेख गरिएको छ। बोलीको लवज र कुरा गर्ने शैली नमिल्दा कति समय बुहारी हाँसोको पात्र बन्छे। समयमै त्यसको रोकथाम गरिएन भने हेपाहा प्रवृत्ति बढ्न पनि बेर लाग्दैन। ठूलो परिवारमा बसिराखेको मान्छेलाई यसै पनि सानो परिवारमा आउँदा, त्यसमाथि कम बोल्ने मान्छे पर्दा, सुनसान लाग्नु स्वाभाविक हो। त्यसमाथि माया गरेर बुझाउने मान्छे नहुँदा अथवा श्रीमान्ले आफ्नो लागि नबोलिदिँदा र सानो कुरामा सासु भन्ने जातको गाली खान धेरै बुहारीहरू विवश हुन्छन्। त्यतिबेला उनीहरूले आफूमाथि गरिएको व्यवहार बिझाएर आँखाबाट आँसु खस्नु सायद साधारण होला, तर आफूलाई त्यसले दिएको पीडा पछिसम्म हुने गर्छ भन्ने कुरा यो निबन्धमा पढ्न पाइन्छ।

“खर्च र काम नै नभएकी म” निबन्धमा एक्लै बाँच्न कति गाह्रो हुन्छ भन्ने कुराको उल्लेख छ। जहाँ महिलाहरूले महिलालाई नै केही नभने खाएको नपच्ने यथार्थ छ। ‘तिमीलाई के चाहिन्छ र खर्च हुन्छ, किन हतार गर्नु, छोराछोरी नहुँदा...’ आदि वचनबाणहरू हानेर आफू सन्तोष गर्ने चलन हुन्छ। यस्ताहरूले समयमा घर नगए पनि ‘हेर हेर, छोराछोरी भए पो समयमा जान्छे त!’ भन्न पनि कहाँ पछि पर्छन् र! सम्पत्तिको मात्र माया गर्नेहरू घरमै छन् र यस्ता कुरामा आफू बलियो छैन भने समाजमा उभिएर हिँड्नै गाह्रो हुने कुरा पढ्न पाइन्छ।

“पूर्वका लेखनाथ” निबन्धमा देखेको राम्रो अभिनन्दनले आफूलाई पनि आफ्नो संस्थामार्फत यस्तै कार्यक्रम गर्न पाए हुन्थ्यो नि भन्ने भावना जागेको पाइन्छ, जुन जोकोही सिर्जनशील व्यक्तिलाई पनि हुन्छ नै। त्यही भएर त राम्रा कुरा देख्न घरबाट बाहिर जानुपर्छ भनेको होला। इटहरीका लेखनाथको विराट रथारोहण कार्यक्रमले आफूमा ऊर्जा थपेको कुरा यो लेखमा पढ्न पाइन्छ, जुन रथारोहणको परिकल्पनाकार साहित्यकार अनिल पौडेल भएको कुरा उल्लेख गरिएको छ।

“महिला र यात्रा” मा अनुशासनमा नबस्ने मान्छेहरूका बारेमा लेखिएको छ। बाटोमा हिँड्दा एकातिर हामी त नियम–कानुनभन्दा माथि छौँ जस्तो गरेर मोटरसाइकलवालाहरू छिटो जाने नाममा आफ्नो ज्यान नै जोखिममा पारिरहेका हुन्छन् भने अर्कातिर अरू गाडीहरूलाई पनि दुर्घटनाबाट जोगाउन सास्ती दिइरहेका हुन्छन्। त्यस्तै महँगा गाडी चढ्नेहरूको झ्यालबाट फोहोर फालेर हिँड्ने निच बानी र शौचालय हुँदाहुँदै पनि जताततै फोहोर पार्ने केही लोग्नेमानिसहरूको बानीको उल्लेख यो निबन्धमा पाइन्छ।

“कार्लोस” मा एकल महिलालाई स्वदेशी भलाद्मीको खोल ओढेका बदमासहरूले वाक्क–दिक्क पारेको आहत मनमाथि विदेशीले पनि सोही व्यवहार देखाउँदा धेरै नरमाइलो लागेको कुरा उल्लेख छ।

“बेठीका यादहरू” निबन्धले कोरोना कहर काटेका हामी सबैको अवस्थालाई देखाइदियो। बिरामीको नजिक गएर सुमसुम्याउनु त परै जाओस्, नजिक बसेर सान्त्वना दिनसमेत नहुने समयको चित्रण यो निबन्धमा पाइन्छ। साथै घर गएर परिवारलाई सहयोग गरेको सुन्दा सुखको अनुभूतिसमेत दियो। बिरामी स्याहार्न घर बसुन्जेल पहिला गरेका रोपाइँ र बेठीका बाजाहरू आँखाअगाडि आउनु, तर त्यही खेतमा दुई–चार जना मानिस पनि पाउन गाह्रो अवस्था रहेको चित्रण गरेको पाइन्छ। जसले पाठकलाई एकपटक आफ्नै त्यो समयमा पुर्‍याउँछ।

“खाँडादेवी स्कुल” निबन्धमा एक दूरदर्शी मान्छे गाउँमा भए गाउँ नै शिक्षित बनाउन सकिन्छ भन्ने कुराले पाठकलाई तान्छ। यो निबन्धसङ्ग्रहको अन्तिम निबन्ध हो। यसमा छोरीले पढ्यो भने बहुलाउँछन् भन्ने समाजमा बुवाले आफ्ना छोरीहरूलाई पढाएको कुरा उल्लेख छ। साथसाथै गाउँको निम्न माध्यमिक विद्यालयलाई माध्यमिक विद्यालय बनाउन छोरीहरूलाई विन्तिपत्र बोकाएर विजयादशमीको टीका राजारानीको हातबाट लगाउन पठाउनु अनि छोरीहरूले मोजामा लुकाएको विन्तिपत्र झिकेर राजालाई देखाउनु नै ठूलो साहसिक काम गरेको भन्ने लाग्छ। त्यही विन्तिपत्रका कारण ४० दिनपछि आफ्नो निम्न माध्यमिक विद्यालय माध्यमिक भएको रोचक प्रसङ्गको उठान यो निबन्धले गरेको छ।

२० वटा निबन्धहरूको सङ्ग्रहको बिटो “बेरीतका रीतहरू” भित्र जाँदा असल मान्छेहरूको सङ्गतले गर्दा नै आफ्नो मान्छेको निधनपछि पनि महिला भएर बाँचेर हिँड्न सिकाएको छ भन्दा अत्युक्ति नहोला। सहृदयीहरूको सहयोगले नै हिँड्दा पाइलैपिच्छे लाग्ने गरेका वचनबाण, व्यङ्ग्यहरूलाई समेत टेकेर हिँड्न सफल बनाएको छ। यसरी हिँड्न सक्नु हेमराज पहारी स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा स्रष्टा रीता पहारीको उपलब्धि हो जस्तो लाग्छ।

हिँड्नुस्, अझै हिँड्नुस्, एक दिन सन्तुष्टिको चुचुरो भेट्नुहुनेछ।

अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।