19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘साहित्यमा ऐजेरू’ निबन्धसङ्ग्रहको समालोचनात्मक अध्ययन

कृति/समीक्षा डा. इन्द्रबहादुर छेत्री September 17, 2026, 6:00 pm

साहित्यमा ऐजेरू-को प्रतीकात्मक अर्थ-

प्रा.नवीन पौड़्यालको साहित्यमा ऐजेरू निबन्धसङ्ग्रहको ‘ऐजेरू’ शब्दको शाब्दिक अर्थ नभएर प्रतीकात्मक अर्थ बुझ्न पर्ने हुन्छ,यस सङ्ग्रहका निबन्धहरूका।यस्ता प्रतीकात्मक शब्दहरूका विभिन्न अर्थहरू निष्पादित हुन्छन्। यस सङ्ग्रहमा समावेश गरिएका निबन्धहरूले आधुनिक कालका लेखन धर्मितामा प्रवेश पाउन थालेका कुप्रथाले साहित्यको मौलिक सृजनतालाई नै शुष्क बनाउन थालेको देखिन्छ।

ऐजेरू शब्दको शाब्दिक अर्थः

प्रकृतिका कुनै पनि बोट-बिरूवा रूख आदिको हाँगा, ठूला रूखका दुई हाँगाका बीचका भागमा उम्रिएर हुर्किने, बढ़ने, विभिन्न जातका परजीवीबनस्पति बुझिन्छ। यस्ता बनस्पतिहरूले अर्को बिरूवाको रस र शक्तिमा आश्रित भएर हुर्कन्छ,बढ़छ। यस्ता परजीवी बनस्पतिहरूले रूखको जरासम्मलाई पनि नराम्रो असर पार्न सक्तछ। सम्भवत यस्ता ऐजेरूहरूले रूखलाई सुकाउन पनि सक्छ। सम्भवत यही प्राकृतिक सत्यलाई आत्मसाथ गरेर निबन्धकार नवीन पौड़्यालले साहित्यिक प्रतीकको रूपमा यस निबन्ध सङ्ग्रहको नामाकरण नै ऐजेरू राखेका छन् भन्ने अनुमान लगाउन सकिन्छ।

पुस्तकका शीर्षकका केही सम्भावित अर्थहरू-

क- साहित्यमा परजीवी प्रवृत्ति- साहित्यकारका आफ्ना मौलिक सृजनात्मकता विचार भन्दा अरूको विचार शैली वा प्रतिष्ठामा आश्रित हुने प्रवृतिको सङ्केत।

ख- विकृति र विसङ्गति- साहित्यमा देखा परेका वा पर्न सक्ने गुटबन्धी अन्धानुकरण, अवसरवाद र वैचारिक वैचारिक सङ्कीर्णतालाई ऐजेरूका रूपमा निबन्धकारले प्रस्तुत गरेका सम्भावनालाई पनि नकार्न सकिन्न।

ग- प्रस्तुत पुस्तकको प्रतीकात्मक शीर्षकद्वारा दिन खोजेको सन्देशः

जसरी बनस्पती तथा बोटबिरूवामा उत्पन्न भएका यस्ता ऐजेरूलाई हटाइएन भने बोटबिरूवालाई संक्रमक रोगले नष्ट गर्न सक्तछ।त्यस्तै नै साहित्यमा प्रवेश गरेका यस्ता विकृतिहरूलाई वेवास्ता गर्नाले साहित्यको स्वस्थ विकासमा असर पर्न सक्तछ भन्ने सन्देश दिन्छ। अतः साहित्यिक समाजले आफ्ना कमि-कमजोरीहरूलाई पहिचान गरेर सुधार गर्न सक्नु पर्छ भन्ने सन्देश पनि निहित रहेको छ भन्न सकिन्छ।

विषय प्रवेश-

प्रस्तुत निबन्धात्मक कृतिमा प्रथम निबन्ध 200 वर्ष अघिका ‘भानुभक्तको अहिले पानीखेदो’,रहेको छ भने क्रम संख्याको अठार सूचिमा ‘असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती मनाउन पुग्दा अनुभव गरेका कुराहरू’, पुस्तकमा समावेश अन्तिम रहेको छ।

दुई सय वर्ष अघाडि भानुभक्तले संस्कृतका विद्वान महाकवि बाल्मिकीद्वारारचित संस्कृत भाषाको ‘रामायण’-लाई नेपाली भाषामा सरल-सहज रूपमा अनुवाद गरेका छन्। निबन्धकार पौड़्याल भन्छन्- आजका विद्वानहरू भानुभक्त आचार्यको साहित्यलाई वर्तमान परिस्थिति र वातावरणसित गाँसेरहेर्ने समालोचकहरू, जस्तै दिल सहानी, कृष्णदेव अधिकारी आदिका विचारलाई उद्धृत गर्दै आफ्नो तर्कलाई अघाड़ि बढ़ाएका छन्।

प्रस्तुत निबन्धमा तर्कहरू क्रमबद्ध र सन्दर्भसहित प्रस्तुत भएका छन्।भने भानुभक्तलाई उनको समय सामाजिक संरचना र राजनैतिक अवस्थाको तत्कालीन परिस्थितिसित तुलनात्मक अध्ययन गरेर नै बुझ्नु पर्ने परोक्ष संकेत दिएका छन्।अझ निबन्धकार वर्तमान मूल्य र मान्यताको आधारमा २०० वर्ष अघाड़िको मूल्याङ्कन गर्नु कतिसम्म न्यायसंगत हुन्छ भन्ने विचार पोखेका छन्।

प्रस्तुत निबन्धमा नवीन पौड़्यालको तर्क अनुसार भानुभक्तलाई प्रगतिवादी र नारीवादी आलोचनाको दृष्टिकोणले हेर्न उचित हुँदैन। भानुभक्तको सबैभन्दा ठूलो योगदान नेपाली भाषा,साहित्य र सांस्कृतिक एकताको विकासमा विशेष योगदान रहेको छ।

प्रस्तुत पुस्तकमा समावेश भएको दोस्रो शीर्षक ‘अङ्ग्रेजी स्कूल पढ़ाएको र नेपाली साहित्य’ छ। प्रस्तुत निबन्ध समालोचनात्मक वैचारिक निबन्ध भन्न सकिन्छ। यस लेखमा निबन्धकारले आधुनिक शिक्षा प्रणाली,अङ्ग्रेजी शिक्षाको प्रभावले गर्दा भाषा, साहित्य, संस्कृति र हाम्रा जातिका पारम्पारिक साइनोहरू नानीहरूले जान्दैनन्। यसो हुँदा नेपाली शब्दकोशमा नै यस्ता शब्दहरू थुना परेका छन्। अङ्ग्रेजी साहित्यको प्रभावको कारणले नयाँ पुस्ताको जीवन शैलीको आलोचनात्मक समीक्षा गरेका छन्।

यस निबन्धमा निबन्धकार अनुसार अङ्ग्रेजी शिक्षा आफैमा गलत वा नराम्रो छैन। यद्धपि अङ्ग्रेजी शिक्षाप्रतिको अत्यधिक मोहका कारणले नयाँ पुस्ताले आफ्ना साहित्य, मातृभाषा, लोकसाहित्य, लोक-संस्कृति, लोकज्ञान गाउँले जीवनका संसर्गबाट टाड़िएका छन्। त्यसैले आजका नयाँ पीढ़ी सामाजिक बन्धनबाट टाढ़िएका छन्। यसकारण आजका यी नयाँ पीँढीकाहरूलाई साहित्य सृजनाका लागि चाहिने आवश्यक जीवानुभूति, संम्वेदना, सांस्कृतिक विषय जस्ता तत्वहरूका आधार वा धरातल विस्तारै खस्कदै गइराखेका छन् भन्ने विषयप्रति निबन्धकार चिन्ता व्यक्त गर्दछन्।

निबन्धकारको विचारअनुसार, अङ्ग्रेजी भाषा-साहित्यको अध्ययन- पठनपाठन गर्नु आवश्यक भए तापनि नेपाली साहित्यलाई वेवास्ता गर्नु हुँदैन। किनभने साहित्य सृजनाको आधार नै आफ्नै भाषा समाज, संस्कृति, जीवानुभव हो।

वस्तुतः प्रस्तुत निबन्धमा आधुनिक शिक्षाको प्रभावका कारण नेपाली भाषा, साहित्य र संस्कृतिमा आएको वेवास्ता र चुनौतीप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। यस निबन्धमा निबन्धकारले जीवानुभवको आवश्यक्तामा जोड़ दिएका छन् भन्न पनि सकिन्छ। पुच्छारमा भन्न पर्दा यस निबन्धको मूल विचार विश्वआँगनसित हाम्रो आँगन जोड़िनु अति उत्तम हो तर हामीले विश्वसित जोड़िदा उनीहरूको लहैमा अल्झेर हामीले आफ्नो भाषा,संस्कृति र साहित्यसितको सम्बन्ध कमजोर हुनदिनु हुँदेन भन्ने निबन्धकाको सन्देश पनि पाइन्छ।

प्रस्तुत सङ्ग्रहको अघिल्लो निबन्ध,’अभिनन्दन ग्रन्थको बिगबिगी’। प्रस्तुत निबन्धमा निबन्धकारले वर्तमान कालमा निरन्तर रूपमा साहित्य सृजनातिर लाग्नुभन्दा एउटा वा दुईटा कवितासङ्ग्रह अथवा कथासङ्ग्रह प्रकाशित भइसक्दा नसक्दै उक्त सर्जकलाई अभिनन्दन गर्ने परम्परा शुरू भएको देखिन्छ। यो त एक प्रकारले फेशन जस्तो भएको छ। कतै कतै त यसको दुरूपयोग पनि भएको पाइन्छ। साहित्यमा एक दुई कविता सङ्ग्रह, कथा सङ्ग्रह र यस्तै के-के प्रकाशित गर्दा दुईचारजना अभिनन्दन गर्न तम्सिहाल्छन्।

वस्तुतः प्रस्तुत निबन्ध चिन्तनपरक निबन्ध हो। यसका अतिरिक्त यस निबन्धमा व्यङ्ग्यात्मक, समालोचनात्मक र तर्कप्रधान निबन्धका तत्वहरू पनि रहेका छन्। अतः यो निबन्ध चिन्तनपरक, व्यङ्ग्यात्मक र समालोचनात्मक निबन्ध रहेको देखिन्छ।

शीर्षकको सार्थकताः

‘अभिनन्दन ग्रन्थको बिगबिगी’ धेरै सार्थक र उपयोगी रहेको देखिन्छ। ‘बिगबिगी’ शब्दले कुनै पनि कुराको अत्यधिक वृद्धि भएर उक्त विषयबाट उत्पन्न भएको विकृतिलाई बुझाउँदछ। निबन्धकार पौड्यालले निबन्धभरि अभिनन्दन ग्रन्थको अनावश्यक बढ़ोत्तरी र त्यसका विविध विकृत पक्षहरूलाई नै चर्चा गरेका छन् । त्यसकारण यस शीर्षकले निबन्धको मूल विषयलाई राम्ररी प्रतिनिधित्व गरेको छ भन्न सकिन्छ।

निबन्धको मूल भाव वा निबन्धकारको मुख्य उद्धेश्य–

यस निबन्धमा लेखकको विचार अनुसार अभिनन्दन ग्रन्थ प्रकाशनको सही परम्परालाई समर्थन गर्नुपर्छ। चापलुसीयुक्त फेशनले विकृत बनेको प्रवृत्तिलाई यस निबन्धमा आलोचना गरिएको छ।

निबन्धको सन्देश-

प्रस्तुत निबन्धमा निहित विचार अनुसार साहित्यकार जीवित हुँदा नै उनको अभ्यर्थना वा सम्मान आदि गर्न उचित हो। साहित्यकार परलोक भइसकेपछि उनको योगदानको प्रशंसा गर्दै जतिनै आलाप-विलाप गरेतापनि त्यो त झुटो आडम्बर मात्र हो अनि लगनशील साहित्यकारको अभिनन्दन गर्नु हो भने उनको जीवनी कालमा नै गर्नु पर्दछ अनि साहित्यकारको उचित मूल्याङ्कन हुनुपर्दछ। साथै अभिनन्दन गरिने साहित्यकारको कृतिहरूका सठीक अध्ययन र अनुसन्धानमुखी ग्रन्थ तयार पार्नको निम्ति उचित पदक्षेप चाल्नु पर्ने विषयमा गम्भीर चिन्तन गरिएको छ। अतएव प्रस्तुत निबन्धमा तर्कसंगत र साहित्योपयोगी विषयको उठान गरिएको छ। जसको निम्ति निबन्धकार स्याबासीका पात्र बनेका छन्।

प्रस्तुत निबन्धमा निबन्धकारले निकै तिक्खर व्यङ्ग्य गरेका छन् र जुन विषयले अभिनन्दन गर्नभन्दा अघि आयोजकवर्गलाई धेरै सोच्न बाध्य बना-उँछ। प्रस्तुत निबन्धमा समस्या देखाएर समाधानको पक्ष पनि निर्देश गरेका छन्। यस निबन्धमा प्रभावकारी व्यङ्ग्यको प्रयोग भएको देखिन्छ। एउटा नमूना- भिनन्दन ग्रन्थलाई भजन ग्रन्थ जस्तो भएको। सम्मान पाएपछि साहित्य लेख्नै छोड़ने प्रवृत्तिमाथि पनि लेखकले व्यङ्ग्य गरेका छन्। घरमा राखिएको अभिनन्दन ग्रन्थले नै मौन प्रश्न गर्न सक्ने आशंकाको कल्पना।

प्रस्तुत निबन्धको चिन्तनमूलक पक्ष-

यस निबन्धमा लेखकले आलोचनासितै अभिनन्दन परम्पराको भविष्यको पनि चिन्ता व्यक्त गर्दै साहित्य सम्मानको स्तर कसरी जोगाउने र मर्यादित तुल्याउने भन्ने विषयको उठान पनि गरेका छन्।

प्रस्तुत सङ्ग्रहको अघिल्लो शीर्षक‘अर्द्ध साहित्यिक वाहिनी’। अर्ध-साहित्यिक वाहिनी शीर्षक नै तिक्खर व्यङ्ग्यात्मक रहेको छ। यस निबन्धलाई चिन्तनमूलक निबन्ध मान्न सकिन्छ। यस निबन्धमा साहित्यमा देखिएका विकृति, गुटबन्दी, अवसरवादी र देखावटी गर्ने जस्ता साहित्यकाहरूका खोइरो खनेका छन्।

प्रस्तुत निबन्ध पनि चिन्तनपरक निबन्ध रहेको छ। निबन्धकारले आजको साहित्यको अवस्था र भविष्यको पनि चिन्ता व्यक्त गरेका छन्। यस निबन्धमा लेखकले आफ्ना विचार र उदाहरणसहित राखेका छन्। यस निबन्धमा, साहित्यिक संस्था, पुरस्कार मञ्च, कवि सम्मेलन आदिको आलोचनात्मकटिप्पणी गरेका छन्।

शीर्षकको सार्थकताः

निबन्धको विषय-वस्तु अनुसार शीर्षकको सार्थकता रहेको देखिन्छ। अर्धसैनिक वाहिनी प्रतीकात्मक शब्द रहेको छ। लेखकले अर्ध-सैनिक वाहिनीको उदाहरण प्रस्तुत गर्दै साहित्यमा संलग्न त्यस्ता व्यक्तिहरूलाई व्यङ्ग्य गरेका छन्। जुन व्यक्तिहरू साहित्यकार जस्ता देखिन्छन्। साहित्यिक गतिविधिमा संलग्न हुन्छन् तर सृजनात्मक पक्ष र योगदान भने तिनीहरूको प्रायः शून्य हुन्छ।

निबन्धकारका विचारअनुसार निबन्धकार साहित्यकार दुई प्रकारका हुन्छन्-(१) सच्चा, समर्पित र सृजनशील साहित्यकार भने (२) अर्का थरिका चाहिँ मञ्च, संस्था, पुरस्कार र प्रचारमा केन्द्रित अवसरवादी साहित्यकार।

प्रस्तुत निबन्धको सकारात्मक पक्ष-

यस निबन्धमा साँचो साहित्यकारको सम्मान गर्दै प्रतिभाशाली र इमान्दार साहित्यकारको पक्ष लिएको छ। साथै यस निबन्धमा गुटबन्दी र चापलुसीको विरोध गर्दै साहित्यिक मूल्य र मान्यताको पक्षमा वकालत गरिएको छ। व्यङग्यको पछाड़ि समाज सुधारको मीठो सन्देश लुकेको छ।

प्रस्तुत निबन्ध सङ्ग्रहको अघिल्लो शीर्षक उपनामधारी लेखक सम्मेलन रहेको छ। निबन्धकार पौड़्यालको प्रस्तुत निबन्ध हास्यव्यङ्गप्रधान सामाजिक, तथा व्यक्तिव्यञ्जक निबन्ध रहेको छ। यस निबन्धले साहित्यकारहरूमा विस्तारै प्रश्रय बढ़दै गएको कीर्ति लिप्साप्रतिको साहित्यिक संस्कृतिका विसंगतिहरूलाई रचनाकाले सक्दो निफन्ने कार्य गरेका छन्। अतः यो निबन्ध व्यक्तिव्ञ्जक, हास्यव्यग्यात्मक, निबन्धको श्रेणी अन्तर्गत राख्दा हुन्छ।

निबन्धको शीर्षक ‘उपनामधारी लेखक सम्मेलन’-ले लेखकहरूले काल्पनिक उपनाम राख्ने प्रचलनप्रति व्यङ्ग्य गरेको छ। मूल पाठले पनि शीर्षकको उपयुक्ततालाई स्पष्ट पार्दछ। निबन्धको मूल विषय, साहित्यकारहरूको कीर्ति लिप्सा, उपनाम राख्ने परम्पराको विविध आधार, साहित्य क्षेत्रमा दिनप्रतिदिन देखा पर्दै गएका देखावटीपन र प्रतिस्पर्धा अनि साहित्य संस्कृतिमा देखा पर्दै गएका विकृति र विसंगितलाई निबन्धको मूल भाव रहेको देखिन्छ। यस निबन्धको सबल पक्ष तीखो व्यङ्ग्यले सामाजिक यथार्थलाई उदाङ्गो बनाएको छ । साथै हास्य-रसमा निबन्ध चुर्लुम्म डुबेकाले पाठकलाई धेरै मनोरञ्जन प्रदान गर्दछ भन्ने लाग्दछ।

प्रस्तुत निबन्धका केही नकारात्मक पक्षहरू पनि आउन सक्छन्। व्यङ्ग्यका कारणले निबन्धमा प्रयोग भएका उपनामहरू काल्पनिक नै भए तापनि केही पाठक वा लेखकले आफूलाई लक्ष्य गरेका अनुभव गर्न सक्ने सम्भावना प्रबल देखिन्छ। यस्तै ‘कहाँ गए ती इनक्लाबी नाराहरू’, सङग्रहको अघिल्लो रचना रहेको छ। प्रस्तुत निबन्धमा विशेषत निम्न विभिन्न स्वरहरू मुखरित भएका देखिन्छन्-

क राजनीतिक र सामाजिक निबन्ध

ख संस्मरणात्मक निबन्ध

ग केही चिन्तनपरक निबन्ध

घ विश्लेषणकत्मक र केही व्यङ्ग्यात्मक प्रवृत्ति

मूलतः यस निबन्धमा लेखकले विगतका जनवादी सरकारको समयमा रहेका विभिन्न जनवादी नाराहरू विशेषगरी पश्चिम बंगाल र दार्जीलिङ कालेबुङतिर रातो झण्डा बोकेर ‘हँसिया मार्तोल तारा, गरिबको सहारा’ भन्ने जस्ता नाराहरू लगाउँदै मानिसहरू जुलुसमा हिड़ने गर्थे। तर आज यसरी साड़े तीन दशकभन्दा धेर समयसम्म शासन चलाउने जनवादी पार्टी पनि कसरी विलुप्तको संघारमा पुग्यो भन्ने लेखकको चिन्तनपरक विचार रहेको छ। अतः प्रस्तुत निबन्धको शीर्षकले सम्पूर्ण निबन्धको प्रमुख अंशलाई बहन गरेको देखिन्छ।

निबन्धको मुख्य भाव-

प्रस्तुत निबन्धले पश्चिम बंगालमा वामपन्थी आन्दोलनको उदय र प्रभावको चर्चा गर्दै, यस दलको संगठन विस्तार, अनुशासन, आदिको संक्षिप्त चर्चा गर्दै, लामो समयपछि यस वामपन्थी दलको अवसानसम्मको इतिवृत प्रस्तुत गरिएको छ।

प्रस्तुत निबन्धका सबल पक्षहरू-

प्रस्तुत निबन्धमा वामफ्रऩ्ट दलको इतिहास र वर्तमानबीच तुलनात्मक अध्ययन गरिएको छ। साथै राजनैतिक परिवर्तनलाई चिन्तनशील र प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ। यस निबन्धमा अर्को महत्वपूर्ण पक्ष निबन्धकारले समाज र राजनीतिवारे सचेत भएर चिन्तन गर्ने शैली प्रस्तुत गर्दै समयको परिवर्तनलाई गम्भीर दृष्टिकोणले चियाएका छन्।

समालोचनात्मक दृष्टिमा प्रस्तुत निबन्धः

यस निबन्धको अधिकांश विश्लेषण वाम आन्दोलनको अवसानमा खर्च गरिएको छ अनि अन्य राजनैतिक दलसित तुलनात्मक अध्ययन चर्चा आदि नभएकाले अन्य राजनैतिक दलप्रतिको दृष्टिकोण बुझ्न सकिदैन। निष्कर्षमा निबन्धकारको व्यक्तिगत अनुभवबाट प्रस्तुत रचना सृजना भएको हो भने ऐतिहासिक घटनाको केही संक्षिप्त प्रस्तुती राख्न सकिएको भए निबन्ध अझ सन्तुलित र प्रभावकारी हुने थियो।

प्रस्तुत सङ्ग्रहको मूल लेख साहित्यमा ऐजेरू रहेको छ। ऐजेरूको शाब्दिक अर्थ वनस्पति जगतसित सम्बन्धित शब्द हो। ऐजेरू भन्नाले रूखमा उम्रिने परजीवी लहरा, अन्य किसिमको ससाना बोटका बिरूवा आदि अनि बासको टुप्पोमा पलाउने ठूलो गान्टालाई पनि ऐजेरू भनिन्छ। वस्तुतः शीर्षक प्रतीकात्मक र व्यञ्जनात्मक छ। लेखकले साहित्यलाई विशाल बटवृक्षको रूपमा चित्रण गरेका छन् भने विभिन्न दर्शन, राजनीति, मनोविज्ञान, विज्ञान, समाज शास्त्र, पर्यावरण आदि जस्ता विषयहरूलाई रचनाकारले ऐजेरू मानेका छन्। यसरी हेर्दा रचनाको मूल भावसित शीर्षक उपयुक्त रहेको छ।

प्रस्तुत निबन्धको मूल भाव-

यस निबन्धको मुख्य भाव आधुनिक साहित्य लेखनमा बढ़दो अन्तर विषयात्मकका कारणले मौलिक साहित्यको मूल्य बिस्तारै खस्किदै गइरहेको छ भन्ने हो। त्यसैले रचनाकारले साहित्यको मौलिकता र सरलता हराउँदै गएको विषयप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। अतः प्रस्तुत निबन्धलाई समयसापेक्ष, विचारप्रधान, प्रतीकात्मक, समसामयिक साहित्यिक निबन्धको श्रेणीमा राख्न सकिन्छ। ऐजेरू शब्द मौलिक रहेको छ र यसले साहित्यमा बाह्य विषयहरूको अत्याधिक प्रभावलाई प्रत्यक्ष देखाएको छ। यस निबन्धले साहित्यको भविष्य, पाठकको भूमिका र साहित्यको मूल्यवारे गम्भीर चिन्तन गरेको छ। वस्तुतः लेखकले साहित्यमा साहित्यिकता नै हुनुपर्दछ भन्ने वकालत गर्दै साहित्य लेखन शैली सरल सहज र पाठकमुखी हुनपर्दछ भन्ने विचार राखेका छन्।

‘साहित्यमा गुटबन्दी’, सुधारवादी समालोचनात्मक निबन्ध रहेको छ। यस निबन्धले साहित्यिक जगतमा दिनप्रति दिन बढ़दै गएको विकृत्तिलाई औल्याएका छन्। प्रस्तुत निबन्धमा लेखकको विचारअनुसार मानवताको सेवा गर्नु हो भने, साहित्यकार समाजको मार्गदर्शक हुनुपर्दछ। यद्यपि आजको साहित्य यी सबै विषयहरूदेखि टाड़िएको छ। मानिसको व्यक्तिगत स्वार्थ, जातीयता क्षेत्रीयता, राजनीति आदिका कारणले मानिसहरूमा गुटबन्दी बढ़ेको छ।

प्रस्तुत निबन्धमा साहित्यको पवित्रताको संरक्षण गर्नु पर्ने विषयमा जोढ़ दिएका छन्। साहित्यमा निष्पक्ष मूल्याङ्कनको आवश्यक्ताको आग्रह पनि गरेका छन्। भने यस निबन्धको प्रमुख स्वर साहित्यमा गुटबन्दीका कारण उत्पन्न हुने अन्याय र त्यसको सुधारात्मक पक्षको चिन्तन गरिएको छ।

निबन्धको सामाजिक सन्देशः

साहित्य कुनै व्यक्ति विशेषको सम्पति होइन। त्यसकारण प्रतिभा र सृजनालाई कुनै गुटका आधारमा नभएर गुणका आधारमा मूल्याङ्कन गर्नुपर्दछ भन्ने निष्कर्ष पाइन्छ। यस निबन्धसंङ्ग्रहको अघिल्लो लेख ‘साहित्यमा पुरस्कारको तरङ्ग’ छ। यस निबन्धको शीर्षक हेर्नेबित्तिकै पाठक तरङ्ग हुन पुग्दछन्। पुरस्कारको तरङ्ग शब्दको शाब्दिक अर्थ साहित्यको क्षेत्रमा पुरस्कारको घोषणा भएपछि उठने पक्ष-विपक्ष, चर्चा परिचर्चा, ,विवाद, समर्थन, विरोध, असन्तुष्टी आदिको लहरलाई बुझाँउछ। निबन्धको सम्पूर्ण विषय-वस्तु यीनै विषयको धुरीमा घुमेको छ। साथै शीर्षकको सार्थकता पनि देखिन्छ। प्रस्तुत निबन्धको मुख्य भाव साहित्यिक पुरस्कारको, महत्त्व, गरिमा अनि पुरस्कारको चयनसम्बन्धी चिन्तन-मनन गरिएको छ। पुरस्कारको कारणले सर्जकको सम्मान र गरिमा उचालिनुको सट्टामा, पक्षपात, लबीको कारणले पुरस्कारको गरिमा घटाएको कारणले निबन्धकार खेद व्यक्त गर्दछन् अनि यस विषयमा सुधार गर्नुपर्ने विचार व्यक्त गर्दछन्। यस निबन्धमा लेखकको स्पष्ट विचार साहित्यमा पुरस्कारको वास्तविक उद्धेश्य स्पष्ट पार्नु रहेको देखिन्छ। साथै पुरस्कारको चयन निष्पक्ष र पारदर्शी मूल्याङ्कनको आवश्यकता बोध गर्दै पुरस्कारले सर्जकलाई प्रेरणा दिन्छ भने साहित्यकारका रचनाहरूद्वारा समाजको असल मार्गदर्शन हुनुपर्दछ र हुन्छ पनि भन्ने विचार व्यक्त गरेका छन्।

प्रस्तुत निबन्धमा रचनाकारले ऐतिहासिक सन्दर्भलाई पनि उठाएका छन्। लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, भीमनिधि तिवारी, रूद्रराज पाण्डे, विश्वेश्वरप्रसाद कोइराला जस्ता महान साहित्यकारहरूको चर्चा गर्दै प्रतिभा नै ठूलो पुरस्कार हो भन्ने सन्देश दिएका छन्। यतिमात्र होइन उनले महात्मा गान्धीलाई नोबेल पुरस्कार नदिइएको उदाहरण दिँदै कतै विश्वस्तरीय पुरस्कार प्रणाली पनि त्रुटीपूर्ण त छैन भन्ने शंका गर्दै प्रश्न उठाएका छन् । यस्तै अर्को निबन्ध ‘परिस्थितिको साङलीमा बाधिएर’ शीर्षक रहेको छ। यस निबन्धमा शीर्षकले प्रतीकात्मक, दार्शनिक विचारलाई प्रस्तुत गरेको छ। यस शीर्षकको साङ्ली शब्दले फलामको सिक्री वा चेन नभएर, मान्छेको मनलाई बाँध्नको निम्ति प्रतिपादित, धार्मिक आस्था, पारिवारिक अनुशासन, सामाजिक नियम-कानुन, धर्म, नैतिकता, मनोविज्ञान, संस्कार आदि जस्ता विषयहरूले मानिसलाई संयमित र सु-संस्कारित बनाएको हुन्छ भन्ने प्रतीकात्मक अर्थ बुझ्न पर्दछ। अतः यो निबन्ध विचारात्मक, दार्शनिक निबन्ध मान्न सकिन्छ। प्रस्तुत निबन्ध आत्मापरक निबन्ध हो। यस निबन्धमा कतै बाह्य घटनाको वर्णन-विवरण छैन्। तर मानिसको मन, परिस्थिति र समाजवारे गहन चिन्तन, मनन गर्दै निबन्धलाई धारा-प्रवाह रूपमा सलल अघाड़ि बढ़ाएका छन्। निबन्धको मूल भाव मानिस स्वतन्त्र देखिए तापनि ऊ स्वतन्त्र छैन। मानिस परिवारको अनुशासन, समाजको नियम, धर्मको डोरीले बाँधिएको, कानुनको वशमा बाँधिएको, नैतिक आचरणले आबद्ध, संस्कारित भएको कारणले मानिस जन्मले स्वतन्त्र भए तापनि ऊ परिस्थितिको साङ्लोले बाँधिएको हुन्छ भन्ने दार्शनिक विचार पाइन्छ।

निबन्धकारले मनोवैज्ञानिक दृष्टिले मानिसको मनलाई अध्ययन गरेका छन्। मानिसका मनभित्र रहने, चेतन मन, अचेतन मन, इद, पराहम् र नैतिक द्वन्द्व र मनको परिवर्तनशीलतालाई विशेष व्याख्या गर्दै मानिसको मन बुझ्न र जान्न जटिल विषय हो भन्ने विचारात्मक तर्क राख्दै निबन्धलाई सलल अघि बढ़ाएका छन् ।

‘नेपाली साहित्य अध्ययन समिति अद्यावधिक यात्रा’,डा. बी.बी गुरूङद्वारा लिखित नेपाली साहित्य अध्ययन समितिको ऐतिहासिक अनुसन्धानात्मक कृति हो। वस्तुत निबन्धकार पौड़्यालले यस ऐतिहासिक कृतिलाई सरसर्ती अध्ययन गरेर निबन्धात्मक रूप दिएका छन्। उनको यो निबन्धलाई समालोचनात्मक निबन्ध मान्न सकिन्छ। डा. बी.बी.गुरूङको यो कृति ऐतिहासिक अध्ययनपरक हुनाले उक्त पुस्तकमा विविध विषयहरू समावेश छन्। जस्तै- साहित्यिक, संस्थाको साठी वर्षको सम्पूर्ण इतिहासको लेखन भएको नाताले प्रस्तुत पुस्तकलाई सरसर्ती अध्ययन गरेर सम्पूर्ण विषयलाई निबन्धकारले संक्षेपमा प्रस्तुत गर्न सकेका छन् भन्न सकिन्छ। यस निबन्ध सङ्ग्रहको अघिल्लो लेख ‘शताब्दी यात्रा पार गरिसकेको नेपाली साहित्य सम्मेलन दार्जीलिङ’ रहेको छ। यस निबन्धले नेपाली साहित्य सम्मेलनको स्थापना, ऐतिहासिक यात्रा, शताब्दी यात्रासम्मको कैरन प्रस्तुत गर्दै नेपाली साहित्य सम्मेलनलाई भारतवर्ष र नेपालकै पनि साहित्यिक संस्थाहरूमा जेठो संस्था भएको चर्चा गरेका छन्।

निबन्धकारले नेपाली साहित्य सम्मेलनको स्थापना कालको सम्झना गर्दै भन्छन्- सन् १९२४ -मा नेपाली साहित्य सम्मेलनको स्थापना भएपछि यसका संस्थापक सदस्यहरूले यो संस्थालाई आजको स्तरमा ल्याइपुर्नका निम्ति अग्रजहरूले गरेका संघर्ष सराहनीय रहेको छ। नेपाली साहित्य सम्मेलनले भाषा आन्दोलनको निम्ति गरेको योगदान अविस्मरणीय रहेको उल्लेख गरेका छन्।

प्रस्तुत निबन्धमा निबन्धकारले भारतका अन्य भाषा साहित्य संस्थानहरूका स्थापनाको पनि क्रमिकरूपमा चर्चा गरेका छन्। जसले गर्दा निबन्धमा विश्वनीयताको कायम रहेको छ। नेपाली साहित्य सम्मेलनले गरेका कार्यहरूको लेखाजोखा यो सानो आयतनको निबन्धमा गर्न सम्भव नभए तापनि निबन्धकार पौड़्यालले गाग्रीमा भएपनि सागर भर्ने प्रयास गरेको विषय सराहनीय सम्झनु पर्छ।

साहित्यमा ऐजेरू निबन्ध सङ्ग्रहमा समावेश ‘नेपाली उर्दू प्रयोगाधिक्य र दिवाकर प्रधानको दोस्रो झर्रोवादी आन्दोलन’,-लाई भाषावैज्ञानिक विचारात्मक निबन्धको क्षेणीमा राख्दा हुन्छ। यो निबन्धलाई भाषा नीतिसम्बन्धी रचित निबन्ध पनि मान्न सकिन्छ। अतः यस लेखमा निबन्धकारले शब्द प्रयोग, भाषिक शुद्धता र भाषाको विकासबारे गहन विचार व्यक्त गरेका छन्। यस निबन्धको मूलभाव भाषा परिवर्तनशील हुन्छ। त्यसकारण अन्य भाषाबाट नेपाली भाषामा शब्द भित्रिनु उति अनुचित छैन भन्ने पनि विचार राखेका छन्। अन्य भाषाबाट शब्द आउनु स्वभाविक प्रक्रिया हो।

प्रस्तुत निबन्धमा उर्दू प्रयोगाधिक्य भन्नाले नेपाली भाषामा निबन्धकारले केही उदाहरण दिएका छन्- इन्साफ, मुद्धा, अदालत, वकिल, इल्जाम, गवाही, बयान, अख्तियार, मुचुल्का, सनाखत, दफन, रफादफा, हिफाजत, फरार आदि। यस निबन्धमा लेखकको विचारअनुसार यस्ता उर्दू मूलका शब्दहरू सामान्य भइसकेका छन्। प्रायःले नेपाली- कै शब्द मान्न थालेका छन्।

यस निबन्धमा निबन्धकार पौड़्यालले विजयकुमार राईद्वारा लिखित ‘नेपाली-उर्दू शब्दकोश-को पनि चर्चा गरेका छन्। निबन्धकारले यस शब्द कोशमा कोशकारले दीर्घ अवधिसम्मको परिश्रम र समयको सदुपयोगमा विजयकुमार राईले शब्दको व्युत्पति, नेपालीमा उर्दू शब्दको प्रभाव बुझ्नको निम्ति सहायक सिद्ध हुने विषयको विचार व्यक्त गरेका छन्।

यस निबन्धसङ्ग्रहको अघिल्लो निबन्ध नेपाल-भारत साहित्य उत्सवबाट उब्जेका केही कुरा- संस्मरणात्मक निबन्ध हो। यो निबन्धमा लेखक आफू कालेबुङबाट सहभागी भएकोले साहित्यिक उत्सवको प्रत्यक्ष अनुभव, देखेका घटना र त्यस महोत्सवमा अनुभव गरेका कुराहरूका सविस्तार वर्णन गरेका छन्। निबन्धकारको वर्णनमा कुनै बनावटी र देखेका भन्दा बेसी वर्णन पाइदैन। यस निबन्धको मुख्य उद्येश्य भारत र नेपालका नेपालीभाषी साहित्यकारहरू बीचको साहित्यिक सम्बन्धलाई सुदृढ़ बनाएर, अनुभव, सहकार्य र सांस्कृतिक आदान-प्रदानको महत्त्व दर्शाउनु र बुझाउनु रहेको देखिन्छ।

‘नेपाली साहित्य अनि डुवर्स’, साहित्यिक सामाजिक निबन्ध हो। निबन्धकार पौड़्यालले यस निबन्धमा संस्मरणात्मक,इतिहासपरक तत्त्वको आधारमा निबन्धलाई अघि बढ़ाएका छन। जसले गर्दा निबन्ध बाँच्दै जाँदा हरेक सत्य-तथ्यहरू सूचनाको रूपमा प्राप्त गर्न सकिन्छ। लेखकले डुवर्स क्षेत्रका साहित्यिक, ऐतिहासिक, संस्था, व्यक्ति आदिको इतिवृतात्मक विवरण प्रस्तुत गरेका छन्।

निबन्धको मूल विषय डुवर्स क्षेत्रको नेपाली साहित्यको विकासको प्रकास पार्नुरहेको छ। यस लेखमा निबन्धकारले साहित्य र समाजको सम्बन्ध देखाउँदै डुवर्समा भएको साहित्यिक गतिविधिको विशद् चर्चा गरेका छन्। यस निबन्धमा लेखकले साहित्यको विकासको निम्ति मासिक साहित्यिक भेलालाई पनि महत्व दिएका छन्। डुवर्समा सामुहिक अभियानको कारणले विशेषगरि सन् १९४०-को धामीको सवाई पछि कविताको क्षेत्रमा धेरै विकास भएको विषयको चर्चा गरेका छन्। यस निबन्धमा लेखकले साहित्यिक संस्था र नियमित साहित्यिक गतिविधिबाट नै समाजमा जनजेतना फैलिने विषयलाई स्वीकार गरेका छन्।

यस निबन्धसङ्ग्रहमा समावेश २०२४- को दिसम्बर अन्त्यतिर डुवर्सको साहित्यिक महोत्सव-पर्यवेक्षकीय टिप्पणी- मा लेखकले डुवर्सको स्वर्ण जयन्तीमा आफू सहभागी बनेर अनुभव गरेका विषयलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरेका छन्। यस निबन्धमा लेखकले कार्यक्रमको उपलब्धि र कमजोरी दुवै पक्षलाई राम्ररी नियालेर उल्लेख गर्न सकेका छन्। अतः प्रस्तुत निबन्ध पर्यवेक्षीय निबन्ध रहेको छ। यस निबन्धमा लेखकले असम नेपाली साहित्य सभामा भएको कार्यक्रमको पनि पर्यवेक्षीय समालोचना गरेका छन्।

प्रस्तुत निबन्धमा लेखकले भारतीय साहित्यिक संस्थाहरूबीचको एकता सहकार्य देखाइएको विषयलाई सराहना गरेका छन्। यस्ता संस्थाहरूले यसरी आफनो स्थापना कालको रजत, स्वर्ण, शतवार्षिकी आदिमा दिवङ्गत र जीवित सदस्य र संस्थापक सदस्यहरूलाई सम्मान गर्नु संस्थाको सराहनीय र सकारात्मक कार्य रहेको उल्लेख गरेका छन्। उक्त समारोहमा भारत, भूटान, नेपाल र स्थानीय विभिन्न क्षेत्रका साहित्यिक संस्थाहरूलाई आमन्त्रित गरिएर स्थापित र नवोदित दुवै स्तरका साहित्यकारहरूलाई समान अवसर प्रदान गरिएको विषयलाई निबन्धकार पौड़्यालले सराहना गरेका छन्। अतः लेखकले तथ्य र अनुभवका आधारमा निष्पक्ष टिप्पणी गरेका छन् ।

‘सन् २०१७- को जनवरीको मेरो असमको बिर्सीनसक्नु र अभरिलो यात्रा’। प्रस्तुत निबन्ध यात्रामूलक निबन्ध हो। लेखकले यस यात्रामूलक निबन्धलाई संस्मरणात्मक कथन-शैलीमा प्रस्तुत गरका छन् र यो निबन्ध पठन गर्दा दैनिकी विवरण पढ़े झैं पनि लाग्दछ। लेखकलाई उक्त यात्रा आफू बिरामी परेकाले धेरै कठिन भएछ । वस्तुतः यो निबन्ध पनि पर्यवेक्षणपरक निबन्ध रहेको छ। प्रस्तुत निबन्धमा लेखकले असमको भ्रमणको विवरण मात्र नदिएर साहित्यकारको जीवन लेखनमा मात्र सीमित हुँदैन तर यात्रा, अध्ययन र समाजसितको सम्पर्क पनि उत्तिकै महत्वपूण हुन्छ भन्ने विषयलाई बुझ्न खोजेका छन्। लेखकले आफू बिमार हुँदै भए तापनि साहित्यिक दायित्व पूरा गर्ने कोशिस गरेका छन् । लेखकले असमका नेपालीभाषी मानिससहरूको साहित्य प्रेम, आतिथ्य र साहित्यप्रतिको प्रेम प्रेरणादायी छ भन्ने विचार राखेका छन्।

अविस्मरणीय लागेको विषयहरूमा, लेखकको विभिन्न साहित्यकारहरूसित भेटघाट भयो। वर्णविन्यासबारे कार्यशालामा सहभागी हुन पाए। अर्कोतर्फ शरीर अस्वस्थ्य भएको कारणले टाउको चिलाउने, ज्वरो आउने, पेटको समस्या आदिको कारणले पनि लेखकले यस यात्रालाई आजीवन बिर्सन सक्तैनन्।

‘साहित्यमा ऐजेरू’ निबन्धसङ्ग्रहमा समावेश आखिरी निबन्ध ‘असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती मनाउन पुग्दा अनुभव गरेका कुराहरू’, समालोचनात्मक निबन्ध हो। केही मात्रामा यात्रा संस्मरणात्मक स्वर पनि निबन्धमा मिश्रित पाइन्छ। लेखकले असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती समारोहमा नेपाली साहित्य अध्ययन समिति कालेबुङको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी बनेका हुन्छन्।

लेखकले दिन खोजेको मूल सन्देश-

साहित्यिक संस्थाहरूले सबैलाई समान रूपमा समेट्ने प्रयास गर्नु पर्छ। राष्ट्रिय र क्षेत्रीय साहित्यकारहरूलाई उचित सम्मान र जिम्मवारी प्रदान गर्न सक्नुपर्दछ भन्ने सन्देश दिएका छन्। साहित्यिक संस्थाका कुनै पनि कार्यक्रमहरू केवल औपचारिकतामा मात्र नभएर सबै संस्थाको जिम्मावारीपूर्ण हार्दिक रूपले सम्पर्ण हुनुपर्छ भन्ने लेखकले चिन्तन गरेका छन्। निबन्धकारले यस निबन्धमा स्वर्ण जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको विचार राख्दै नयाँ नेतृत्व चयन भएको जानकारी पनि दिन भूलेका छैनन्। यस भेलामा विभिन्न क्षेत्रका साहित्यकारहरूको सहभागिता भएको अनि योग्य साहित्यकारहरूलाई पुरस्कृत गरिएको विषयलाई पनि साझा गरेका छन्।

उपसंहारः

समालोचक प्रा.नवीन पौड़्याललाई नेपाली साहित्यमा चिन्हाउन मैले शब्दहरूको फूलमाला जोडेर परिचय दिइरहनुपर्ने कुनै आवश्यकता छैन। उनका हालसम्म प्रकाशित कृतिहरूले नै उनको असली परिचय दिएकै छ।

साहित्यमा ऐजेरू निबन्ध सङ्ग्रहमा जम्मा अठारवटा विभिन्न शीर्षकका लेखहरू छन्। अभिनन्दन ग्रन्थको बिगबिगी-मा लेखकले योग्य र इमान्दार साहित्यकारको योगदानको वास्तविक र निष्पक्ष मूल्याङ्कन हुनुपर्ने विषयको पक्ष लिएका छन्। अर्धसैनिक बाहिनी- निबन्ध व्यङ्ग्यप्रधान, चिन्तनपरक निबन्ध रहेको छ। लेखकले अर्ध सैनिकको रूपक प्रयोग गरी साहित्यमा देखिने देखावटी, अवसरवादी, गुटबन्दीमा रमाउने र आफनो आफनो पक्ष लिएर प्रचार गर्ने प्रचारमुखी साहित्यकारहरूको तीखो आलोचना गरेका छन्।

उपनामधारी लेखक सम्मेलन-मा तीखो व्यङ्ग्यमार्फत सामाजिक यथार्थलाई उद्घाटन गरिएको छ। भने उपनामहरूको लामो सूचीद्वारा साहित्यिक प्रवृत्तिको जीवन्त उदाहरण प्रस्तुत गरिएको छ। यस्तै कहाँ गए ती इन्कलाबी नाराहरू, आज पनि समाजमा वर्गीय असमानता रहेकाले प्रगतिवादी साहित्य र सामाजिक न्यायको आवश्यक्ता रहेको अनुभव गरेका छन्। साथै यस निबन्धको सामाजिक पक्षलाई गरिबी, शोषण, र वर्गीय विभेदको आलोचना गर्दै सामाजिक समानताको आवश्यक्ताको बोध गरेका छन्। प्रस्तुत सङ्ग्रहका प्रायः शीर्षकहरू साहित्यसित सम्बन्धित रहेकाछन्.। साहित्यमा विभिन्न कारणहरूबाट बढ़दै गरेको विकृतिको प्रवेशलाई निबऩ्धकारले जोड़दार विरोध गरेका छन्। साथै साहित्यमा स्वस्थ परिवेशको सृजनाको कामना गरेका छन्। प्रा. पौड़्यालको यस निबन्धले साहित्यमा अवश्य नै केही हदसम्म सुधार ल्याउने छ भन्ने विश्वास गर्न सकिन्छ।


कालेबुङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।