शुभकामना छ है बा !
प्यारा बा!
तपाईंले खाेस्रिएका खाेरियामा
बीऊ उम्रिन्न नि आजकल!
न खनेकाे कूलाेमा - बग्छ पानी
अहिले त
अरवकाे बन्जरभूमिमा झारेका छन् - पसिना
फलाएका छन् - खजुर
बा
तपाईंले झारेका
पसिनाका आँसुलाई पढ्न सके!
एकैपाठमा बुझिंदाे रै !
जीवनकाे कथा
जानिने रै छ - इतिहास
पितृभूमिकाे माया
सन्ततीका भविष्यपनि
उतिबेला ,
तपाईंले दिएकाे ओतमा
अहिले दु:खका पसिना सुकाउँछु ;
शितल बन्छु !
मायाको विशाल छाहारी मनि
ढुक्कै निदाउँछु बा !
भाेक र प्यासले तिर्खाएका सन्तानसँगै
तपाईंले दिएकाे
विश्वाशकाे छाहारीमा
विन्दास निदाउँछु।
यतिवेला तपाईंको मुस्काएकाे अनुहारमा
पुसकाे ठीहीसँगै
चीसाे हावाका झाेक्कामा टक्कराएर
छङ्छङ् बग्ने पसिनाका नदीमा
लर्छप्पै नुहाउँछु
सम्झन्छु बा तपाईंलाई !
बा हुनु भनेकाे
आँसु पिएर मुस्कान राेप्नु रै छ!
भराेसाकाे खेतमा
सपनाकाे बाली झुलाएर
भविष्यलाई न्यानाे दिनु रै छ बा !
जसरी ओथाराे बस्छे- कुखुरी
बा भएर सपनाकाे
ओथाराे बस्नु रै छ!
हाे, बा भनेकाे
सन्तानका खुशीका लागि हार्ने जात रहेछ !
बल्ल पाे बुझ्दैछु !
बा बारम्बार किन हार्नुहुन्थ्याे !
जितेकाे मैले के दिउँ र बा ?
एक अञ्जुलि पानी ?
आज
बा का सपनासँग सखारै व्युँझने
शुभकामना दिने दिन रै छ !
शुभकामना छ है बा !
लमजुङ -दूधपोखरी गापा -२, विचाैर