कास्की, पोखराका टेकनाथ बरालसँगको चिनजान सामान्य रूपमा बनारसमा वि.सं. २०२२ सालतिरै भएको सम्झना हुन्छ । उहाँसँगको त्यो सामान्य चिनजानपछि बलराम दाइ र अन्य साथीहरूले उहाँका बारेमा गरेका चर्चाले उहाँको त्यतिखेरको व्यक्तित्व र गाउँबाट एकैचोट बनारस पुगेको भर्खर १५ वर्षको उमेर टेकेको मेरा निम्ति एउटा क्रान्तिकारी नेताकै रूपमा परिचित रह्यो । मेरा मनमा एउटा आदर्शका रूपमा त्यो व्यक्तित्व स्थापित भयो ।
वि.सं. २०२२ सालको नेपाली छात्र परिषद् वाराणसीको मुखपत्र ‘छात्र–प्रभा’मा प्रकाशित उहाँको अप्रकाशित ‘फिलिङ्गो’ उपन्यासको एक अंश मेरा मनमा स्थापित उहाँको उपरोक्त व्यक्तित्वको एउटा उद्गारका रूपमा दोहोर्याई–तेहेर्याई पढें । त्यसका सबै घटना र पात्र जीवन्त लागे र उल्लेखित सबै कुरा ठिक, अकाट्य र आदर्शवाणी जस्तै लागे त्यतिखेरको मलाई । मेरा मनमा स्थापित उहाँको व्यक्तित्व अझै उज्ज्वलियो, अर्थात् उहाँ मेरा मन–मस्तिष्कमा एउटा क्रान्तिकारी पुरुषका रूपमा स्थापित हुनुभयो । आज हेर्दा त्यसमा कविशिरोमणि लेखनाथलाई उनको ‘पिँजराको सुगा’का ‘पृथ्वी तलमा यौटासम्म मानिस बाँकी रहँदासम्म तुच्छ सुगाको जन्म नदेऊ.... बिन्ती लेऊ’ भन्ने हरफहरू उद्धृत गर्दै क्रान्तिकारी कविका रूपमा चित्रण गरिएको र म.वि.वि. शाह अर्थात् त्यतिखेरका राजा महेन्द्रको ‘गर्छिन् पुकार आमा, रोई कराई जोडले, सक्तिन देख्न भन्छिन् सन्तान थरीथरीका’ जस्ता कविताका हरफलाई उद्धृत गर्दै उनका प्रशंसामा थुप्रै शब्द खर्च गरेर उनलाई सामन्तवादका विरोधी प्रगतिशील कविका रूपमा चित्रण गरिएका कुराले चेतनाको स्तर कमजोर रहेको लाग्छ । तर पनि त्यतिखेरको मेरो चेतनाको स्तरले त्यसलाई खुट्ट्याउन सक्ने नभएकाले मेरा निम्ति ती पनि प्रभावकारी नै लागे र भर्खर–भर्खर वामपन्थी चेतनाको सम्पर्कमा जाँदै गरेको मलाई अझै हौस्याउने काम त्यसले गरेको थियो । उक्त पत्रिकामै त्यतिखेरका ने. छा.प. वाराणसीका महामन्त्री विश्वराज रेग्मीले आफ्नो वार्षिक विवरण–पत्रमा सन् १९६५ को ‘अगस्त २० का दिन मन्त्री टेकनाथ बरालमार्फत आ.स. (अन्तरिम समिति) ले गत वर्षको हिसाब–कागजपत्र बुझिलियौं’ भन्ने उल्लेख गरेकाले त्यसभन्दा अघिल्लो वर्षको समितिमा ‘मन्त्री’का रूपमा उहाँले काम गरेको थाहा भयो ।
त्यतिखेर बनारसमा अध्ययन गर्ने कास्की, लमजुङ, र तनहुँका विद्यार्थीहरूको सङ्गठन— “प.३ नं.” अध्ययन मण्डल रहेछ । म वि.सं. २०२३ मा वाराणसेय संस्कृत विश्वविद्यालयबाट स्थानान्तरण हुँदा नेपाली संस्कृत महाविद्यालयमा आएर नेपाली छात्रावासमा बस्न थालेपछि त्यस सङ्गठनको सम्पर्कमा पुगें र त्यसको सदस्य हुँदै केही समय पदाधिकारीकै रूपमा पनि काम गरेँ । यस सङ्गठनले ‘भानु–उदय’ पत्रिकाको वार्षिक रूपमा प्रकाशनका साथै वादविवाद, वक्तृत्वकला तथा खेलकुद प्रतियोगिता गराउने, प्रत्येक वर्ष वनभोज लैजाने गथ्र्यो । त्यस सङ्गठनमा पुगेपछि थाहा भयो, टेकनाथ वि.सं. २०२१ र २०२२ गरी दुईपटक त्यस सङ्गठनको अध्यक्ष हुनुभएको रहेछ । यसबाट त्यस सङ्गठनको निर्माण र ‘भानु– उदय’ पत्रिकाको प्रकाशनमा पनि टेकनाथ बरालको पूर्ण भूमिका रहेछ । बनारसमा उहाँसँग धेरै उठबस गर्न त पाइएन, एकाधपटक उहाँ बलराम दाइकहाँ गएका बेला सामान्य भेट र चिनारी पनि भएजस्तो लाग्छ । त्यो भेटले भन्दा पनि उहाँको उपरोक्त गतिविधि र बेलाबखत बलराम दाइ एवं अन्य साथीहरूले गरेका चर्चाका आधारमा मेरा मस्तिष्कमा एउटा क्रान्तिकारी व्यक्तित्वको बिम्ब अंकित भइसकेको थियो ।
वि.सं. २०३५ सालमा पृथ्वीनारायण क्याम्पसमा पढाउन आएपछि उहाँसँग अलि बाक्लै भेट हुन थालेको हो । त्यतिखेरसम्म उहाँ पार्टीमै हुनुहुन्थ्यो । त्यसकै सेरोफेरोमा अर्थात् वि.सं. २०३६-०३७ तिरबाट उहाँ स्वतन्त्र वामपन्थी हुनुभएको हो जस्तो लाग्छ । उहाँ त्यतिखेर बैदामको केही माथि डाँडाको घरमा प्रायः एक्लै नै रहनुहुन्थ्यो । आफू स्वतन्त्र वाम बनेर विभिन्न वामपन्थी पार्टीका साथीसँग वाम एकताको प्रस्ताव राख्नुहुन्थ्यो । त्यसैले त्यतिखेर त्यो घर विभिन्न कम्युनिस्ट पार्टीका भूमिगत, अर्ध–भूमिगत नेता, वामपन्थी बुद्धिजीवी र साहित्यकारहरू आएर बस्ने वा पस्ने गर्दथे । एक दिन कवि युद्धप्रसाद मिश्र त्यहाँ आएर बस्नुभएको छ भन्ने खबर पाइयो र हामी उहाँलाई भेट्न गयौँ । बनारसमा पनि दुई–चार पटक कविजीसँग भेट भएको थियो । पूर्व चिनारीको नवीकरणपछि प्रगतिवादी नेपाली साहित्य र त्यसको अवस्था, प्रगतिवाद र प्रगतिशीलता, मार्क्सवाद आदिबारे कविजीले कुरा राख्ने र टेकनाथ दाइले बिच– बिचमा थपथाप गर्ने गर्दै केही समय छलफल भयो । कोठाबाहिर निस्केपछि पिँढीमा म कविजीको सामुन्ने बसेको थिएँ । त्यतिखेर म जनै लगाउँथे । कविजीले मेरो जनै देख्नुभएछ र लगभग हकार्ने शैलीमा भन्नुभयो— “त्यो के लगाएको ? एम.ए. पास गरेर कलेज पढाउने मान्छे, आफूलाई कम्युनिस्ट हुँ पनि भन्ने र काँधमा जनै पनि भिरेर हिँड्न सुहाउँछ ? खै, हामीले त लगाएका छैनौँ," भनेर आफ्नो कमीज खोलेर देखाउनुभयो । टेकनाथ दाइले पनि कविजीझैं कमीज खोलेर देखाउनुभयो र कविजीका कुरामा अझ थपथाप गर्नुभयो । मैले म पनि जनैप्रति विश्वास गर्दिनँ, तैपनि समाजसँग हिँड्नुपर्ने अथवा यस्तै केही भनेर आफूलाई बचाउन कोसिस गरेँ । त्यसपछि कविजीले झन् कड्केर भन्नुभयो, ‘बाहुनले जनै लगाउँछन्, हाम्रो समाजमा बाहुनलाई सबैभन्दा ठूलो जात मानिन्छ, त्यसैले जनै लगाएपछि म ठूलो जातको हुँ भन्ने जातीय घमण्ड हुन्छ मान्छेमा । तसर्थ जनैले जातीय समानताको भावनामा बाधा पुर्याउँछ ।’ एकाध प्रसङ्ग कोट्याउँदै टेकनाथ दाइले पनि कविजीकै भनाइको पुष्टि गर्नुभयो । यो मेरा निम्ति टेकनाथ दाइलाई सम्झिने महङ्खवपूर्ण क्षण थियो । त्यसपछि दाइसँगको सङ्गत अलि बाक्लिन थालेको हो ।
पछि वि.सं. २०५०-०५१ सालतिर म नेपाल बुद्धिजीवी परिषद्, कास्कीको अध्यक्ष हुँदा उहाँको प्रशस्त सल्लाह र सुझाव पाउने गर्थें । परिषद्का कार्यक्रमहरूमा उहाँको निरन्तर सक्रिय सहभागिता रहन्थ्यो । त्यतिखेर बुद्धिजीवी परिषद्, कास्कीले मासिक अन्तरक्रिया राख्ने गथ्र्यो । त्यो कार्यक्रम निरन्तर चलाउने कुरामा पनि उहाँको महत्वपूर्ण भूमिका थियो र हरेक कार्यक्रममा निरन्तर सहभागी भएर आफ्ना विचार राख्ने र अरूका विचार सुनेर प्रतिक्रिया र सुझाव दिनुहुन्थ्यो । त्यो कार्यक्रम मासिक रूपमा मार्क्सवादका विभिन्न पक्षमा अध्ययन र छलफलमा आधारित थियो । उहाँले परिषद्लाई वामपन्थी एकताका बारेमा कार्यक्रम राखेर विभिन्न पार्टीका नेताहरूलाई बोलाउन घचघच्याइरहनुहुन्थ्यो र त्यस्ता कार्यक्रमहरू पनि गरिन्थे ।
तिनैताक दाइकै प्रेरणा र पहलमा ‘महाकाली बचाउ नागरिक अभियान (समिति?)’ केही साथीहरू भेला भएर उहाँकै अध्यक्षतामा गठन गरियो । काठमाडौं गई सरकारलाई ज्ञापन–पत्र बुझाउनेदेखि लिएर सांसदहरूलाई भेटेर संसद्मा लबिङ गर्ने काम पनि उहाँकै पहलमा सोही संस्थामार्फत भएका थिए । सोही संस्थालाई पछि “राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति” बनाएर पुनर्गठन गरिएको सो संस्थाको पनि धेरै समय उहाँले नेतृत्व गर्नुभयो । त्यस संस्थामार्फत नै भारतद्वारा अतिक्रमित विभिन्न ठाउँको निरीक्षण गर्दै जनचेतना अभिवृद्धि गर्ने र भारतीय विस्तारवादविरुद्ध आवाज बुलन्द गर्ने काम पनि गर्नुभयो । त्यहींदेखि दाइ मानवअधिकारवादी आन्दोलनतिर लाग्नुभयो ।
देशमा माओवादीको जनयुद्ध सुरु भएपछिको अवस्थामा समाजमा शान्ति, सुरक्षा र मानवअधिकारको संरक्षणका खातिर त्यस क्षेत्रमा काम गर्ने मानवाधिकारवादी संस्था र नागरिक समाजको संयुक्त प्रयास आवश्यक छ भन्ने ठानेर दाइकै प्रेरणा, पहल र ती संस्थाका प्रतिनिधिहरूको भेलाले “शान्तिका लागि नागरिक समाजको सञ्जाल” नामक संस्था गठन गरियो । लामो समय त्यो संस्थाको दाइले नेतृत्व गरेर मानवअधिकारको संरक्षणमा महङ्खवपूर्ण योगदान गर्नुभयो र त्यसमा मैले पनि केही समय सहकार्य गर्ने अवसर पाएको हुँ । वि.सं. २०६१ सालमा इन्सेकद्वारा प्रदान गरिने मानवअधिकार पुरस्कारबाट सम्मानित भएपछि उहाँको व्यक्तित्व राष्ट्रिय मानवअधिकारवादी नेताका रूपमा स्थापित हुन पुग्यो ।
म नेपाल रेडक्रस सोसाइटी कास्कीको अध्यक्ष हुँदा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइ.सी.आर.सी.) ले तत्कालीन युद्धका बन्दीहरू र तिनका परिवारका सन्देश आदान–प्रदान गरिदिन कार्यक्रम सञ्चालन स्थानीय रेडक्रसमार्फत गरेकाले विभिन्न बन्दीगृह र पुलिस थानमा बन्दीहरूको स्थिति बुझ्ने कार्यमा मानवाधिकारवादी नेताका रूपमा दाइ र रेडक्रसकर्मीका नाताले म धेरै ठाउँमा सँगै पुग्यौँ । द्वन्द्वका घटनामा कहीं केही हुनासाथ दाइ रेडक्रस आइपुग्नुहुन्थ्यो र मलाई लिएर सम्बन्धित ठाउँमा पुगिहाल्नुहुन्थ्यो । त्यतिखेर त्यो काममा उहाँको खटाइ अत्यन्त प्रेरणादायी मैले पाएको हुँ ।
त्यसभन्दा केही अघि हुनुपर्छ, मैले मिति बिर्सें । एक दिन दाइको डाँडाको घरमा विभिन्न वाम पार्टीका स्थानीय नेता र केही बुद्धिजीवीहरूको भेला बोलाएर एक रात समसामयिक राजनीतिक स्थिति र वाम एकताका बारेमा छलफल गर्ने कार्यक्रम सायद दाइकै पहलमा भयो र भोलिपल्ट समसामयिक परिस्थितिका बारेमा ‘गुफा घोषणा–पत्र’ नाम दिएर एउटा घोषणापत्र पनि निकालिएको थियो ।
उहाँ मानवाधिकारवादी नेताका रूपमा क्रियाशील रहँदा पनि निरन्तर वाम एकताका बारेमा पनि चिन्ता प्रकट गरिरहनुहुन्थ्यो । पछिल्लो चरणमा उहाँले आफूलाई मानवाधिकारवादी व्यक्तित्वका रूपमा बढी चिनाउन खोज्नुभयो । तर वाम विचारप्रतिको पक्षधरता छोड्नुभएन । कम्युनिस्ट विचारधारालाई जीवनभर छोड्नुभएन । मार्क्सवादको सायद धेरै अध्ययन गर्नुभएन, तर जति अध्ययन गर्नुभयो र बुझ्नुभयो, त्यसलाई आफ्नो जीवनमा व्यावहारिक रूपमै उतार्ने प्रयत्न गर्नुभयो । यसलाई लिएर धेरै दक्षिणपन्थी र वामपन्थीहरूले उहाँलाई अव्यावहारिक भने । तर उहाँले आफ्नो मान्यतालाई जीवनमा उतार्ने कामलाई छोड्नुभएन । सामाजिक परिवर्तनका निम्ति सांस्कृतिक परिवर्तनको प्रमुख भूमिका हुन्छ भन्ने उहाँको मान्यता थियो । त्यसैले नेपाली समाजमा प्रचलित सामन्ती संस्कार, चालचलन, रीतिस्थिति, चाडपर्व सबैलाई बहिष्कार गर्नुभयो जीवनको अन्तसम्म । सरल जीवनशैली र जनवादी प्रगतिशील संस्कृतिप्रतिको पक्षधरता उहाँको विशेषता हो । हामीले उहाँबाट सिक्ने महत्वपूर्ण कुरा यही हो भन्ने मलाई लाग्छ ।
गैह्रापाटन, पोखरा