भदौ २३ को त्यो उकुसमुकुस दिउँसो म घरमा बसिरहेको थिए । त्यही बेला मोबाइलमा काठमाडौँको सडकमा प्रदर्शनकारीमाथि गोली चलेको समाचार आयो । त्यसको केही समयमा नै एउटा जुत्ता मेरो फेसबुकको टाइमलाइनमा देखियो । हेर्दाहेर्दै त्यो रगतले लतपतिएको तीनवटा काला धर्कासहितको सेतो जुत्ताको तस्विर सामाजिक सञ्जालहरूमा छ्यापछ्याप्ती भयो । मेरो मात्र होइन त्यस जुत्ताको तस्विर देख्ने धेरैको आङ् जिरिङ्ग भयो होला । पोतिएका रगतका धब्बा जस्तै मेरो मस्तिष्क पनि त्यही जुत्ताको वरिपरि घुम्यो । त्यस जुत्ताको बारेमा सोच्दा सोच्दै मेरो मन मैले पहिलो पटक खुट्टामा उनेको जुत्ता, ती जुत्ता बनाउने आदरणीय व्यक्तितर्फ डोरियो ।
हजुरबाको उमेरको भए पनि हामीले उहाँलाई राइँला दाइ भन्थ्यौँ । भनौँ, हामीलाई राइँला दाइ भन्न सिकाइएको थियो । पातलो कद, औसत उचाइका उहाँलाई गाउँका सबैले मन पराउँथे । लाम्सुगाउँका सबै घरको लागि छालाका दाम्ला, नाईरो बनाउने, जुत्ता मर्मत गर्ने, उहाँले नै गर्नुहुन्थ्यो । हजुरबाले राइँला भन्नु हुन्थ्यो भने बाले दाइ नै भन्नुहुन्थ्यो । उहाँ हाम्रो घरमा आइरहने, बस्ने, खाना खाने हुनाले एक किसिमबाट परिवारको सदस्य सरह हुनुभएको थियो । उहाँको घरदेखि भर्खर बनेका आलो छालाको दाम्ला नाईरा हाम्रो घरमा ल्याउन मलाई पठाइन्थ्यो । आलो छालको गन्धसँग म अभ्यस्त भएको थिएँ । उहाँकोमा गएको समयमा उहाँले छाला भिजाउने, माड्ने, काठको फर्मामा राखेर तन्काउने र जुत्ता आकारको फलामे औजारमा राखेर हतौडाले ढ्याकढ्याक ठोकेको दृश्य म घण्टौँ टोलाएर हेरिरहन्थेँ । जातीय छुवाछुत व्याप्त रहेको त्यस ताका उहाँ हाम्रो घरभित्र पस्नु सामाजिक रूपम ग्राह्य थिएन । उहाँ बस्ने भनेको पिँढी, आँगनको छेउमा रहेको सानो बान्नोमा नै थियो । हामी केटाकेटी भने उहाँको काखमा बस्न पुग्थ्यौं, हाम्रो लागि अभिभावक जस्तै हुनुहुन्थ्यो । हरेक चाडबाढ, खुशीयालीमा उहाँ हाम्रो परिवारसँग जोडिनु हुन्थ्यो । भारतमा ब्रिटिस शासन रहेको समयमा उहाँले सेनामा काम गर्नुहुन्थ्यो रे । भारतबाट ब्रिटिस फर्कने समयमा आर्मीलाई बाँड्दा उहाँ ब्रिटिसतर्फ पर्नुभएछ । भरतीय सेनामा भर्ती भएपनि उहाँ ब्रिटिस आर्मी हुनुभयो र ब्रिटिस सरकारको पेन्सन थाप्नु हुन्थ्यो भन्ने कुरा हजुरबाले हामीलाई पनि सुनाउनु हुन्थ्यो । हाम्रो समाजले जुत्ता निर्मातालाई सम्मान र माथिल्लो दर्जा दिनु पर्नेमा उल्टै तल्लो दर्जामा राखिदिएर अन्याय गरेको कुराले भने मन खिन्न हुन्छ । गफगाफले नर्क र स्वर्ग जोड्नेभन्दा जुत्ता निर्माण गर्ने । आङ्ढाक्ने कपडा, जीवन धान्न अत्यावश्यक भाँडावर्तन, बस्तु र सेवा उत्पादन गर्ने र सिर्जनात्मक काम गर्ने व्यक्तिहरूप्रति मेरो मनमा धेरै सम्मान जागेर आउँछ
जमिनमा गुड्ने मोटर देख्नकै लागि, कराकर डेढ दिन पैदल यात्रा गर्नु पर्ने छेका, बागलुङको दक्षिणी लाम्सुगाउँमा जन्मेको म । बालक अवस्थामा हुँदा गाउँघरमा जुत्ताचप्पल लगाउने व्यक्ति निकै कम थिए । दिल्ली, मद्रास र भारतका विभिन्न सहरबाट छुट्टीमा घरमा आएकाहरूले मात्र जुत्ता लगाउँथे । भारतीय पल्टनका लाहुरेले गाउँघरमा आर्मी पोसाकका बुटजुत्ताको बेग्लै सान थियो । आफू फर्कने समयमा एकदुईजोर जुत्ता खुट्टाको आकार मिल्ने र मनपर्ने इस्टमित्रलाई दिएर फर्कन्थे । दौरासुरुवाल, इष्टकोट लगाएर, गम्छा काँधमा राखी लठ्ठी टेकेर हिँड्ने मेरो हजुरबाले पनि लाहुरेले जडाउरी दिएका छालाका कालाजुत्ता लागाएर हिड्दा आफू भद्र भएको महसुस गर्नुहुन्थ्यो । यात्रामा निस्कँदा जडाउरी पाएका छालाका दुई-तीन जोर जुत्तामध्ये फेरीफेरी नियमित लगाउनुहुन्थ्यो । आफैँले जुत्ता किनेको भने मैले जानिन । खुट्टामा चप्पल लगाएको पनि देखिन । चप्पलले अल्झाउँछ भन्नु हुन्थ्यो । त्यतिबेला बाले भने जडाउरी मागेर छालाका जुत्ता लगाएको थाहा पाइनँ । कपडाका चाइनिज जुत्ता बजारमा आएपछि मात्र लगाउनु भयो । मेरो बाल्यकालमा जुत्ता लगाउने व्यक्ति हाम्रो गाउँघरमा औँलामा गन्न सकिने जति मात्र देखिन्थे ।
हजुरबाले जुत्ता लगाएको देखेर होला, छ-सात वर्षको मलाई जुत्ता लगाउने निकै रहर जाग्यो । हाम्रो घरमा आएको समयमा राइँला दाइलाई मैले केटाकेटी पारामा "राइँला दाइ, राइलदाइ मलाई छालाको जुत्ता बनाइदिनु न" भनेर आग्रह गरें । उहाँले खासै प्रतिक्रिया दिनुभएन । मलाई जुत्ता लगाउने सनक चढेको थियो । अर्को दिनदेखि उहाँ जतिपटक हाम्रो घरमा आउनु भयो त्यति पटक मैले उहाँलाई दाइ मलाई छालाका जुत्ता बनाइदिनु न भन्नथाले । पटक पटक निकै विनय, अनुनय गरेँ । कहिले त उहाँसँग रोएँ पनि । उहाँ पनि मेरो बालहटसामु हार्नु भएहोला, तथा यो केटाले कति कचकच गर्यो भन्ने सोच्नुभयो होला । उहाँले एक दिन "ल म जुत्ता बनाइदिन्छु, बनाउन दुईचार दिन लाग्छ" भन्नुभयो ।
त्यस दिनदेखि म जुत्ता लगाएर हिँडेको सपनामा देख्न थालेँ । लगाउने रहरले, जुत्ता लिन पटक पटक तीन-चार किलोमिटर टाढा रहेको उहाँको घरमा पुग्न थालें । एक दिन त जुत्ता तयार भएछन् । जुत्ताको रहर गरेको व्यक्तिलाई जुत्ता पाउँदा खुसी नहुने कुरै भएन, औधि खुसी भएँ । एक पटक मृर्गको पाठा जस्तै उफ्रेँ । अब जुत्ता लगाउने भएँ, मेरा छालाका जुत्ता सबैलाई देखाउने भएँ भनेर । जुत्ता बनाउन उहाँले आफैँले काढेको मृत चौपाएको छाला भिजाएर, सुकाएर र खुर्केर प्रयोग गर्नुभएछ । सोल पनि थोत्रा काम नलाग्ने जुत्ताको प्रयोग गर्नु भएछ । त्यतिबेला छालाका जुत्ता बनाउँदा सोल र छाला जोड्न मसिना काँटी प्रयोग हुन्थे । त्यतिबेला फ्याक्ट्रीले उत्पादन गरेको छाला गाउँमा कहाँबाट पाउनु ? थोरै पाइहाले पनि त्यस्तो किमती छाला केटाकेटीको लागि बनाउने जुत्तामा किन प्रयोग गर्नु ?
उहाँको घरमा म जुत्ता लिन खाली खुट्टा नै गएको थिएँ । छालाका नयाँ जुत्ता लगाएपछि म घर छिटो पुग्नुथियो । ती जुत्ता लगाएर साथीसङ्गी सबैलाई देखाउनु थियो । हिँड्न थालेको त सजिलो भएन । जुत्ताले खुट्टामा यता पनि उता पनि दुखाउन थाल्यो । उहाँले सुरु सुरुमा छालाका जुत्ताले खुट्टा दुखाउँछ पनि भन्नुभएको थियो । खुसीले पहाड भएको मैले एकछिन लगाए पछि दुख्न छाड्छ होला भन्ने ठानेँ । उहाँको घरबाट अलि पर पुगिसकेको थिएँ । एकछिन जुत्ता खोलेर हातमा समातेँ, खाली खुट्टा हिडेँ । निकै आनन्द आयो । जुत्ता भएको मान्छे जुत्ता समातेर खाली खुट्टा हिँड्न त भएन । कसैले देखे भने के भन्लान् ? बाटाको छेउको ढुङ्गोमा टुसुक्क बसेर फेरि जुत्ता लगाएँ । अलि धेरै हिँड्ने प्रयास गरेँ । त्यसपछि त हिड्नै सकिनँ । जुत्ता खोल्दा त दुवै खुट्टाका औँलाबाट रगतको भल बगिरहेको थियो । पछि भने जुत्ता नलागइ हातमा समातेर घरमा पुगेँ । छालाका जुत्ता भनेको त खुट्टालाई दुख दिने, खुट्टा दुखाउने कुरा रहेछ भन्ने पर्यो मेरो मनमा ।
जनता माध्यमिक विद्यालय सर्कुवा, बागलुङमा पढ्नेताका चाइनिज बख्खु चप्पल बजारमा आए । चप्पल बाक्लो, तर तुना तथा फित्ता निकै पातलो र पटक-पटक चुँडिरहने । बिहान बेलुका अढाई-अढाई घण्टा कुद्नुपर्ने कति खपून् ? चप्पल पनि । तुना छिनिहाल्यो भने आगोमा टुप्पा-टुप्पा पगालेर जोड्न सकिने । पानसको बत्तीमा जोड्न सजिलो हुने । अर्को थोत्रो तना पाइयो भने त्यसलाई काटेर टुक्रा पारी पगालेपछि जोडन मिल्ने । घरको नजिकै तथा आगो भएको स्थानमा भए त जोड्न पाइने । घाँस काट्न तथा खेतमा काम गर्न गएको समयमा, स्कुलमा या जाने बाटोमा छिन्यो भने चप्पल पिठ्युँमा, झोलामा तथा हातमा बोकेर आफू खाली खुट्टा हिड्नु पर्ने । त्यतिबेला चप्पल लगाएरभन्दा चप्पल बोकेर, झोलामा राखेर खालीखुट्टा धेरै हिँडिए होला ।
चप्पल खिइएर बीच-बीचबाट पैतलाले जमिनमा टेक्ने हुँदासम्म चप्पल नछाडिने । एस. एल. सि. दिन २०३९ सालमा जिल्ला सदरमुकाम बागलुङमा जाँदा भने बजारमा चाइनिज पातला, हल्का, सस्ता र टिकाउ जुत्ता आए । आफ्नो आर्थिक क्षमता, क्रयशक्ति अनुसारका भएर पनि होला, ती जुत्ता निकै लगाइयो । सस्तो पनि, खुट्टा पनि नदुखाउने । क्याम्पस पढ्न पोखरा पुगेपछि त्यतिबेलाको फेसनै बनेको साकरका जुत्ता किनियो र लगायो । मूल्य सस्तो, टिकाउ अनि बुट जस्तो पनि । दुई वर्ष तिनै जुत्ताले आई. ए. सकाइयो । एक पटक गिटीवाल जुत्ताको फेसन पनि आयो । गाउँले मलाई पनि फेसनले छोयो । बजारमा छ्याप्पछ्याप्ती पाइने, प्रायःले त्यही लगाउने । गिटीवाल जुत्ताले खुट्टा चिप्लिन तथा लर्कन रोक्ने, हिलो बाटोमा समेत जुत्ता हिलो नहुने । बजारमा आएका गोल्डस्टार जुत्ता पनि निकै मन परे । साँच्चै सस्तो, सजिलो र टिकाऊ । त्यसपछिका दिनहरूमा आफ्नो अर्थिक अवस्था अनुसार बजारमा आएका विभिन्न खालका जुत्ता लगाइए होला । खुट्टामा मिलेका र खुट्टा नखाने छालाका राम्रा जुत्ता पनि लगाइयो । जुत्ता किन्दा फेसनेबलभन्दा हिँड्न सहज हुने, टिकाऊ र आफ्नो खल्तीको पैसाले भ्याउने खालका छानियो ।
नेपालका पहाडी, हिमाली कठिन उकाली-ओराली तथा भूगोलमा पटपट फुटेका पैतला र कुर्कुच्चामा जुत्ताविहीन नाङ्गा खुट्टाले भारी बोकेर उकाली ओराली गरिरहेका सयौँ व्यक्ति पनि स्मरणमा आए । पक्कै पनि जुत्ताले मलाई हिँड्न सिकाए होला, कठिन यात्रालाई सहज बनाए होला । ठेस लाग्नबाट बचाए होला । सायद जुत्ता लगाउने सीप र जुत्ता बनाउने सीप विकास भएपछि मानव जातिको हिँड्डुलको परिधि पनि फराकिलो भए होला । जुत्ता मानव जातिको सभ्यताको उकालीका सहयोगी हुन् ।
समय सँगै उमेर बदलियो, फेसन बदलियो र मेरो भूमिका पनि । पढाइ सकिएपछि म निजामती सेवामा प्रवेश गरेँ । आफन्त र भनसुनको आधारमा सरुवा गरिने त्यतिबेला, मेरो सरुवा डोल्पा जिल्ला शिक्षा कार्यालयमा भयो । हिमाली जिल्लामा जागिर खान पहिलो पटक जाँदै थिएँ । जाडो ठाउँमा कस्ता जुत्ता चाहिन्छ ? त्यति जानकारी पनि थिएन । हिउँमा जुत्ता लर्किन्छन्, नलर्कने जुत्ता लैजानुपर्छ भन्ने सुनेको थिएँ । नलर्कनेमा मनमा गडेका एकजोर तिनै गिटीवाल जुत्ता किनेर झोलामा राखेँ । सदरमुकाम दुनैमा त खासै हिउँ नपर्ने छालाका जुत्ता लगाए हुने, एक पटक बल्ड्याङ्ग्राको लेक काटेर काइगाउँ, रिमि, चौरीकोट हुँदै जुम्ला निस्कनुपर्ने भयो । उत्तर फर्केको पाखोमा ठाउँ-ठाउँमा हिउँ ! बाटोको विभिन्न स्थानमा हिउँ पग्लेर खाँडो जमेको, सिसाजस्तो हिँउ भएको बाटो । एकातिर खाँडो जमेको बाटोमा हिँडेको पहिलो अनुभव, अर्कातिर मेरा गिट्टीवाल जुत्ता ! धेरै ठाउँमा खुट्टा चिप्लिए, फर्के, म पछारिएँ, लगाएको पाइन्ट र कपडामा हिलैहिला । यात्राको रमाइलो जति जुत्ताले खायो । खुट्टा जोगाउन लगाएका जुत्ताले त झनै खुट्टा भाँचिने डर । अगिपछि सबैभन्दा अगाडि हिड्ने म त्यो यात्रामा समुहमा सबैभन्दा पछाडी । अगाडि गएकाहरूले मेरै लागी ठाउँ ठाउँमा पर्खेर बसे । पहाडी उकाली-ओराली यात्रामा अभ्यस्त थिएँ । सँगैका साथीसङ्गीभन्दा पछाडि पर्दैनथेँ । हरेक पैदल यात्रामा सबैभन्दा पछाडि लत्रिने व्यक्तिलाई बोझको रूपमा लिइन्छ । मलाई पनि साथीहरूले बोझको रुपमा लिए होलान् भन्ने मनले सोचेँ । पुरानो भुँडे हाकिम जस्तै पाराले सबैभन्दा पछाडि हिँड्नुपर्दा म आफैँ लज्जित भएँ ।
सीमित व्यक्तिबाहेक आम डोल्पालीहरू त्यतिबेला पेटभरि खानको लागि संघर्ष गर्नुपर्ने अवस्थाका थिए । खाद्य संस्थानले वितरण गर्ने दुई-चार किलो चामल पाइन्छ कि भनेर दिनभरि लाइनमा बस्नुपर्ने, सि. डि. ओ. कार्यालयमा चामलको कुपन बनाउन धाउनुपर्ने अवस्था थियो । लगाउने लुगा र जुत्ताको बेवास्ता नै थियो । माथिल्लो डोल्पाबाट दुनैमा झर्ने स्थानीयले भेडा र चौरीको ऊनबाट आफ्नै हातले निर्माण गरेका न्यानो बख्खु र खुट्टामा दोचा लगाएको देखिरहेको थिएँ । चिसोबाट जोगिन तथा हिउँले खुट्टा खानबाट बचाउन अलि दरिला बुटजुत्ता चाहिँदा रहेछन् भन्ने महसुस भएको थियो । नेपालगञ्ज झरेको मौकामा अलि स्तरीय बुटजुत्ता किनेँ । ती बुटजुत्ताले डोल्पाको हरेक गाउँमा पुग्दा पनि धोका दिएनन् । छिपछिपे पानीमा हिँड्दा पनि चिसो भित्र पसेन । गर्मीले पोलेन । पाँच हजार, पचपन्नसय मिटरका चार-पाँचवटा पास काट्दा तिनै बुटले खुट्टा हिउँले खानबाट बचाए । चालिस पैचालिस दिनको पैदल यात्रामा तिनै बुटजुत्ता सहयोगी बने । हिउँ परेको पहाडको ओडारमा आगोविहीन बस्नुपर्दा तिनै बुटजुत्ता भित्र पनि दुई दुई जोर मोजा लगाउनुपर्ने भयो । राति पटक-पटक उठेर जगिङ गरियो, खुट्टा चिसोले खानबाट जोगाउन ।
केही वर्ष पछि जागिर मनाङमा सरुवा भयो । "अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ" भने जस्तो हिमाली जिल्लामा जानु छ भनेर राम्रै खलाका बुटजुत्ता किनेर लगेँ । मनाङका तिलिचो ताल, नारफु, थोरङ्ला र कान्ला पास गर्न तिनै बुटले सहयोग गरे । त्यहाँ मात्र होइन विभिन्न क्षेत्रमा ट्रेकिङमा जान समेत सहयोग गरे । ती बुटजुत्ता मेरो लागि ऐतिहाँसिक मात्र होइन पुगेका स्थानका स्मृतिका माध्यम भए । टिक्न पनि कति टिकून् विचारा । सोल उप्कन थालेका ती बुटलाई सिलाएँ । मायाले सुमसुम्याउँदै जुत्ता राख्ने र्याकमा सजाएर राखेका छोरीको आँखा परेछ । बाले यस्ता थोत्रा बुटजुत्ता पनि राख्नुभएको छ भनेर फोहोर संकलन गर्ने बोरामा अन्य पुराना जुत्ता र फोहरसँगै हालिदिइछन् ।
धन्न फोहर उठाउने नगरपालिकाको गाडी आउन एक-दुई दिन ढिला गरेछ । मैले बुटजुत्ता हराएको पत्तो पाएँ । थैलो खोतलेँ । पुछारतिर मेरा ती बुटजुत्ता भेटिए । तर पानीले भिजिसकेछन् । बोराबाट झिकेर घाममा सुकाएँ, पुछपाछ पारें । हुन त म हरेक चिज उपयोग गर्न मिल्ने अवस्थासम्म उपयोग गर्ने गर्छु । यस्तो पुरानो भनेर लगाउन छाड्दिनँ । सुकाएका जुत्ता र्याकमा राख्न लाग्दा नजिकैको मेचमा छोरी र बुहारी बसिरहेका थिए ।
छोरीले जिस्क्याउँदै भनिन् "बा! यस्ता थोत्रा, भद्दा, नमिल्दो धागोले सोल सिलाएको देखिने र गन्हाउने बुट पनि के राखिरहनुभएको ?" मैले ती बुट सुमसुम्याउँदै भनेँ "छोरी यो केवल जुत्ता होइन, ५५ सय मिटरको उचाइमा मेरो ज्यान जोगाउने सहयात्री हो ।"
छोरी र बुहारी मेरो कुरा सुनेर जोड्जोडले हाँसे र भने, "कन्जुस बा!"
मैले भनेँ "पछि तिमीहरूले पनि बुझ्नेछौ, आर्थिक मूल्यभन्दा भावनात्मक सम्बन्ध र मूल्य कैयौँ गुना बढी हुन्छ भन्ने कुरा" हुन पनि ती बुटजुत्ता विकट र कठिन यात्राका साथी र रमाइला पलका साक्षी हुन् ।
धेरैको मनमस्तिष्कमा घुमिरहेको त्यो जेन्जी आन्दोलनको क्रममा रगतले लतपतिएको जुत्ताको बारेमा राष्ट्रिय दैनिक पत्रिकाहरूले जुत्ता कसको हो ? त्यसको साथी जुत्ता कहाँ छ ? भन्ने विषयमा खोजी गरे । त्यो जुत्ता दैलेखका प्रकाश बोहराको रहेछ । जब गोलीको निसानीमा परेर उनी ढले, उनको जुत्ता सडकमा छुट्यो । खोजीले भन्यो, जुत्तासँगै उनको सङ्घर्षको कथा लामो रहेछ । धन्य जुत्ताका सर्जक र मान्छेको जीवन जिउन र अस्तित्व संरक्षणमा साथ दिने जुत्ता ।
हालः चितवन