बिहानको घाम अझै कोमल थियो। राति परेको पानीले सहरका सडक पखालिएका थिए। आँगनमा फुलेका फूलका पातहरूमा पानीका ससाना थोपा टल्किरहेका थिए। पूर्वतिरको आकाश उज्यालिँदै थियो। हावाको हल्का झोक्काले रूखका हाँगा हल्लाउँदा पातहरू एकअर्कासँग छोइन्थे र बिहानको शान्त वातावरणमा मधुरो आवाज मिसिन्थ्यो।
बाइस वर्षकी आरोही आफ्नो कोठाको झ्यालबाट बाहिर हेर्दै केही बेर उभिइन्। डिप्लोमा तहमा अध्ययन गरिरहेकी उनी सम्पन्न परिवारमा हुर्किएकी थिइन्। तर घरको सम्पन्नताले उनको स्वभावमा कुनै घमण्ड ल्याएको थिएन। कम बोल्ने, गम्भीर र आत्मविश्वासी आरोही आफ्नो भविष्यप्रति स्पष्ट थिइन्। युवावस्थामा देखिने सामान्य चञ्चलता भने उनको व्यवहारमा कहिलेकाहीँ झल्किन्थ्यो।
त्यो दिन उनलाई केही सामान किन्नु थियो। आवश्यक सामानको सूची मोबाइलमा हेरेर उनले आमातिर फर्कँदै भनिन्, “आमा, म सपिङका लागि बाहिर जाँदै छु। धेरै ढिलो गर्दिनँ।”
“ठीक छ छोरी, ध्यान दिएर जानू,” आमाले भनिन्।
आरोही हल्का मुस्कुराइन् र घरबाट बाहिर निस्किइन्।
केही बेरपछि उनको कार सहरको व्यस्त सडकमा अघि बढिरहेको थियो। सडकका दुवैतिर पसलहरू खुल्दै थिए। मानिसहरू आ–आफ्ना कामतिर लागिरहेका थिए। चोकमा सवारीसाधनको चाप बढ्दै थियो। ट्राफिक बत्तीमा कारहरू रोकिँदै र हरियो बत्ती बल्नासाथ फेरि अघि बढ्दै थिए।
आरोहीले कारको गति केही कम गरिन्। अगाडिको मोड नजिकिँदै थियो। त्यही बेला उनको दृष्टि अचानक आफ्नै दिशातर्फ तीव्र गतिमा आइरहेको एउटा ठूलो ट्रकमा पर्यो।
उनले एकैछिनमा ब्रेक थिचिन्।
तर त्यो क्षण उनको नियन्त्रणभन्दा बाहिर गइसकेको थियो।
ठूलो आवाजसँगै कार जोडले हल्लियो।
आरोहीका आँखाअगाडि सडक, आकाश र वरिपरिका मानिसहरू एकैपटक घुमेजस्ता भए।
अनि उज्यालो हराउँदै गयो।
उनको चेतनाले साथ छोडेपछि सडकमा जम्मा भएका मानिसहरूको आवाज क्रमशः टाढिँदै गयो। एम्बुलेन्सको साइरन नजिकिँदै थियो। केही समयपछि उनलाई अस्पताल पुर्याइयो।
आकस्मिक कक्षको ढोकाबाहिर उनका हजुरबुबा, आमा र बुबा बसिरहेका थिए। रात निकै गहिरिँदै गएको थियो। करिडोरमा सेतो बत्तीको उज्यालो फैलिएको थियो। भित्तामा झुन्डिएको घडीको काँटा बिस्तारै अघि सरिरहेको थियो, तर उनीहरूका लागि प्रत्येक मिनेट असह्य लामो बनेको थियो।
आरोहीकी आमाले दुवै हात जोडेर आँखा चिम्लिइन्। ओठ बिस्तारै चलिरहेका थिए।
“हे भगवान्, मेरी छोरीलाई केही नहोस्। छोरीलाई बचाइदिनुस्। अरू केही चाहिँदैन।”
उनको स्वर बीचमै रोकियो। आँखाबाट आँसु झरिरहे।
बुबा केही पर उभिएर झ्यालतिर हेरिरहेका थिए। उनका ओठ पनि हल्का चलिरहेका थिए। शब्द बाहिर निस्किएका थिएनन्, तर मनभित्र एउटै प्रार्थना दोहोरिइरहेको थियो—“छोरीलाई बचाइदिनुस्।”
हजुरबुबाले काँपिरहेको हातले निधार छुनुभयो। लामो सास फेरेर उहाँ मनमनै बडबडाउनुभयो, “भगवान्, मैले जीवनमा धेरै कुरा देखेँ। आज मसँग माग्ने केही छैन। मेरी नातिनीलाई बचाइदिनुस्। उसले फेरि आफ्नै आँखाले यो संसार हेर्न पाओस्।”
करिडोरमा फेरि शान्ति छायो।
त्यही बेला आकस्मिक कक्षको ढोकामाथिको रातो बत्ती निभ्यो।
चिकित्सक बाहिर निस्किनुभयो।
तीनै जना एकैपटक उठे।
“डाक्टरसाब, आरोहीलाई कस्तो छ?” बुबाले हतारिँदै सोधे।
“अहिले उहाँको अवस्था नियन्त्रणमा आएको छ,” चिकित्सकले भन्नुभयो, “हामीले उपचार गरिरहेका छौँ। केही समयपछि होस आउन सक्छ। अनुहारमा चोट लागेको छैन। कार किच्चिएकोले शरीरमा अलि बढी दबाव परेको छ। त्यो अन्य जाँचहरुबाट पछि पत्ता लाग्नेछ।”
आमाले आँसु पुछिन्। हजुरबुबाले आँखा बन्द गरेर लामो सास फेर्नुभयो।
बाहिर बिहानको उज्यालो फैलिन थालेको थियो। अस्पतालको बगैँचाका फूलमा रातको शीत अझै टल्किरहेको थियो। चराहरूको मधुरो चिरबिराहट सुनिन थालेको थियो। अस्पतालभित्र चिन्ताले थिचिएको रात बिस्तारै उज्यालोतिर सरिरहेको थियो।
केही घन्टापछि आरोहीले बिस्तारै आँखा खोलिन्।
सेतो छत उनको आँखाअगाडि थियो।
उनले दायाँ हात चलाउन खोजिन्।
हात चलेन।
फेरि प्रयास गरिन्।
यसपटक पनि शरीरले साथ दिएन।
उनको आँखाको कुनाबाट एउटा आँसु झर्यो।
उनको आँखाको कुनाबाट झरेको आँसु गालासम्म पुगेर रोकियो। आरोहीले फेरि हात चलाउन खोजिन्। औँलाहरू अलिकति हल्लिएजस्तो लाग्यो, तर त्यसपछि फेरि निश्चल भए। उनले खुट्टा चलाउन खोजिन्। शरीरको तल्लो भागमा कुनै स्पष्ट प्रतिक्रिया आएन।
उनको अनुहारमा भय फैलियो।
“आमा... मेरो खुट्टा किन चल्दैन?”
आमाले छोरीको हात समातिन्। “डाक्टरले बिस्तारै सुधार हुन्छ भन्नुभएको छ। तिमीले हिम्मत हार्नु हुँदैन।”
आरोहीले केही भनिनन्। उनका आँखाहरू छतमा अडिए। केही दिनअघिसम्म आफैँ कार चलाएर सहरका सडकमा हिँड्ने उनी अहिले ओछ्यानमा अरूको सहारामा थिइन्। आफ्नै शरीरमाथिको नियन्त्रण हराउँदा उनलाई आफूभित्रको कुनै परिचित संसार भत्किएजस्तो लाग्यो।
त्यही बेला चिकित्सक कोठामा आउनुभयो। केही परीक्षण गरेपछि उहाँले परिवारलाई सम्झाउँदै भन्नुभयो, “अहिले शरीरलाई समय चाहिन्छ। नियमित पुनःअभ्यास र व्यायाम आवश्यक हुन्छ। उहाँले आफैँ प्रयास गरिरहनुभयो भने सुधारको सम्भावना छ।”
“कति समय लाग्ला डाक्टरसाब?” बुबाले सोधे।
“ठ्याक्कै भन्न सकिँदैन। छिटोमा दुई–तीन महिना ढिलोमा एक वर्षसम्म पनि लाग्न सक्छ। तर उहाँको लगनले धेरै कुरा बदल्न सक्छ।”
आरोहीले चिकित्सकतिर हेरिन्।
“म फेरि हिँड्न सक्छु?”
चिकित्सकले केही क्षण उनलाई हेरेर भन्नुभयो, “प्रयास गर्नुभयो भने सम्भावना छ।”
झ्यालबाहिर बिहान पूरै खुलेको थियो। अस्पतालको बगैँचामा घामका किरणहरू फूलका पातमा परिरहेका थिए। रातभरि शीतले झुकेका फूलहरू बिस्तारै माथितिर उठ्दै थिए। हावाको हल्का स्पर्शले तिनका डाँठहरू फेरि हल्लिन थालेका थिए। नयाँ दिनले रातको अँध्यारोलाई विस्तारै पछाडि धकेलिरहेको थियो।
आरोहीले झ्यालतिर हेरिरहिन्।
उनको जीवनमा पहिलोपटक एउटा लामो बाटो देखिएको थियो—कठिन, अनिश्चित र धैर्य माग्ने बाटो।
उनले आँखा बन्द गरिन्।
केही बेरपछि बिस्तारै भनिन्, “म प्रयास गर्छु।”
आमाले छोरीको हात थप बलियोसँग समातिन्।
त्यो सानो वाक्यसँगै आरोहीको नयाँ यात्रा सुरु भयो।
◉◉
अस्पतालबाट घर फर्किएको केही दिनसम्म आरोहीको कोठा पहिलेभन्दा फरक देखिन्थ्यो। झ्यालबाट उही आकाश देखिन्थ्यो, पर्दा उही थिए, किताबहरू उही ठाउँमा थिए, तर उनलाई ती सबै अपरिचितजस्ता लाग्थे। ओछ्यानको छेउमा राखिएको ह्विलचेयर उनको दिनचर्याको नयाँ साथी बनेको थियो।
बाहिर बिहानको घाम आँगनभरि फैलिन्थ्यो। राति फुलेका चमेलीका फूलबाट आउने सुगन्ध झ्याल हुँदै कोठाभित्र पस्दथ्यो। रूखका पातहरूमा घाम पर्दा पानीका बाँकी थोपा चम्किन्थे। कहिलेकाहीँ हावाले फूलको एउटा पात झारेर आँगनको भुइँमा पुर्याउँथ्यो। प्रकृति आफ्नै गतिमा अघि बढिरहेको थियो, तर आरोहीलाई हरेक दिन उस्तै ठाउँमा अड्किएको जस्तो लाग्थ्यो।
पुनःअभ्यासका लागि घरमै चिकित्सकले सिकाएको केही अभ्यास सुरु गरियो। सुरुका दिनमा हात उठाउने सामान्य प्रयाससमेत कठिन हुन्थ्यो। आमाले साथ दिनुहुन्थ्यो, बुबाले आवश्यक सामग्री मिलाइदिनुहुन्थ्यो। तर आरोहीलाई अरूको सहारामा मात्र बाँचिरहन मन थिएन।
एक बिहान उनले ऐनामा आफूलाई लामो समय हेरिन्।
दुर्घटनाअघिको आरोही र अहिलेको आरोहीबीच कति ठूलो दूरी बनिसकेको थियो!
उनले हातका औँलाहरूलाई बिस्तारै चलाउन खोजिन्। एकपटक। फेरि अर्को पटक।
सानो चाल आयो।
उनका ओठमा हल्का मुस्कान देखियो।
त्यो दिन उनले पहिलेभन्दा केही बेर बढी अभ्यास गरिन्। शरीर थाक्यो, हात दुख्यो, तर उनी रोकिइनन्।
केही सातापछि चिकित्सकले परिवारलाई नियमित व्यायामका लागि राम्रो व्यायामशाला खोज्न सुझाव दिए।
“घरको अभ्याससँगै प्रशिक्षित व्यक्तिको निगरानीमा नियमित अभ्यास गराउनु राम्रो हुन्छ,” चिकित्सकले भने।
बुबाले वरिपरिका व्यायामशालाबारे बुझ्न थाले।
अन्ततः घरबाट करिब दुई किलोमिटर पर रहेको एउटा व्यायामशालाबारे जानकारी आयो। त्यहाँका जिम प्रशिक्षकको नाम निश्चल रहेछ।
आरोहीले त्यो नाम सुनेर केही प्रतिक्रिया जनाइनन्। त्यतिबेला उनको मनमा एउटै कुरा थियो—
“अब आफूले फेरि प्रयास गर्नुपर्छ।”
दुई दिनपछि बिहानै आरोहीका बुबाले कार व्यायामशालातर्फ मोड्नुभयो। घरबाट धेरै टाढा थिएन। मुख्य सडकबाट केही भित्र छिरेपछि सानो तर सफा भवन देखियो। बाहिरको भित्तामा व्यायामशालाको नाम लेखिएको थियो। ढोकाछेउमा केही गमलाहरू राखिएका थिए।
बिहानको घाम भवनको सिसामा ठोक्किएर आँगनमा फैलिएको थियो। नजिकैको रूखमा बसेका चराहरू चिरबिराइरहेका थिए। हावाले गमलामा फुलेका फूलका डाँठहरू बिस्तारै हल्लाइरहेको थियो। सडकको चहलपहलभन्दा केही पर रहेको त्यो ठाउँमा आफ्नै किसिमको नियमितता थियो—भित्रबाट कहिले उपकरण चलेको आवाज आउँथ्यो, कहिले कसैको पाइला सुनिन्थ्यो।
आरोही ह्विलचेयरमा थिइन्। बुबाले उनलाई बिस्तारै भित्र लैजानुभयो।
भित्र एक युवक केही उपकरण मिलाउँदै थिए। उचाइ सामान्यभन्दा केही अग्लो, शरीर बलियो र चालढालमा संयम थियो। उनले आरोहीतिर हेरेर काम रोक्दै अगाडि आए।
“नमस्कार।”
“नमस्कार,” आरोहीले छोटो उत्तर दिइन्।
“म निश्चल हुँ। तपाईंलाई चिकित्सकले नियमित व्यायाम गर्न सुझाव दिनुभएको हो?”
“हो।”
निश्चलले उनको अवस्थाबारे थप बुझ्न चिकित्सकले दिएको कागज हेरे। उनले कागज ध्यानपूर्वक पढेपछि आरोहीतिर हेरे।
“हामी बिस्तारै सुरु गर्छौँ। सुरुमा धेरै गाह्रो हुन सक्छ। शरीरलाई समय दिनुपर्छ।”
आरोहीले केही बेर उनलाई हेरिन्। उनको स्वरमा आश्वासनभन्दा बढी व्यवहारिकता थियो। निश्चलले ठूलो कुरा गरेर आशा बाँड्न खोजेका थिएनन्।
“म सक्दिनँ होला जस्तो लाग्छ,” आरोहीले पहिलोपटक आफ्नै डर व्यक्त गरिन्।
निश्चलले शान्त स्वरमा भने, “सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा आजै निर्णय गर्नुपर्दैन। आज जति सकिन्छ, त्यति गरौँ।”
त्यो वाक्य सुनेर आरोही केही बेर चुप रहिन्। लामो समयपछि कसैले उनको अवस्थालाई दया गरेर होइन, विश्वास गरेर हेरेजस्तो उनलाई लाग्यो।
निश्चलले ह्विलचेयरलाई व्यायाम गर्ने ठाउँनजिक पुर्याए। उनले आवश्यक उपकरणहरू जाँच गरे र आरोहीलाई सहज हुने गरी ठाउँ मिलाए।
पहिलो अभ्यास निकै सामान्य थियो।
हात उठाउने।
आरोहीले प्रयास गरिन्।
हात केही माथि उठ्यो।
त्यसपछि फेरि तल झर्यो।
निश्चलले भने, “यही पर्याप्त छ। फेरि प्रयास गरौँला।”
आरोहीले उनको अनुहारतिर हेरिन्।
पहिलो दिनका लागि उनलाई त्यही वाक्य पर्याप्त लाग्यो।
पहिलो दिनको अभ्यास धेरै लामो भएन। केही सामान्य अभ्यासपछि आरोही थाकिन्। निश्चलले उनलाई आराम गर्न दिए। व्यायामशालाभित्र अरू मानिसहरू आ–आफ्नो अभ्यासमा व्यस्त थिए। कसैको पाइला ट्रेडमिल¹ मा एकनासले चलिरहेको थियो। कतै हल्का डम्बेल² उठाउने र राख्ने आवाज सुनिन्थ्यो। ती आवाजहरूको बीचमा निश्चल भने आरोहीको अभ्यास र उनको सहजतामै ध्यान दिइरहेका थिए।
आराम गर्ने क्रममा आरोहीको दृष्टि भित्तामा टाँसिएको ठूलो ऐनामा पर्यो।
ऐनामा उनले आफूलाई देखिन्।
ह्विलचेयरमा बसेकी एउटी युवती।
केही महिनाअघिसम्म यही अनुहारमा रहेको आत्मविश्वास सम्झँदा उनको मन भारी भयो। उनले केही बेर आफ्नै प्रतिबिम्ब हेरिरहिन्। निश्चलले उनको अनुहारमा आएको परिवर्तन देखे, तर केही सोधेनन्।
अलि पर रहेको ट्रेडमिल¹ मा एक युवक बिस्तारै हिँडिरहेका थिए। आरोहीको दृष्टि त्यतैतिर रोकियो। उनलाई लाग्यो—कहिल्यै सामान्य लाग्ने एउटा कदम अहिले आफ्नै जीवनको सबैभन्दा कठिन काम बनेको थियो।
निश्चलले उनको दृष्टि टाँसिएतिर एकपटक हेरे।
“अहिले त्यसतिर हेर्नुपर्दैन,” उनले शान्त स्वरमा भने, “तपाईंको अभ्यास तपाईंको शरीरले जति अनुमति दिन्छ, त्यहीँबाट सुरु हुन्छ।”
आरोहीले निश्चलतिर हेरिन्।
“तर के म पनि त्यहाँ हिँड्न सकौँली ?”
“किन नसक्नु?अवश्य सक्नुहुन्छ।” निश्चलले सहज स्वरमा भने, “समय लाग्न सक्छ। तर आजको अवस्थालाई नै अन्तिम अवस्था ठान्नु हुँदैन।”
उनको कुरा सुन्दा आरोहीलाई पहिलोपटक आफ्नो अवस्थाभन्दा बाहिरको भविष्य सम्झन मन लाग्यो। केही बेरअघि ऐनामा देखिएको आफ्नै अनुहारभन्दा अहिले निश्चलको विश्वासिलो स्वर उनको मनमा बढी बसिरहेको थियो।
त्यसपछि निश्चलले एउटा हल्का डम्बेल² उठाएर आरोहीको अगाडि राखे।
“आज यसलाई उठाउनुपर्दैन। केवल हातले समात्ने प्रयास गर्नुहोस्।”
आरोहीले बिस्तारै हात अघि बढाइन्।
औँलाहरू डम्बेल² वरिपरि पुग्न केही समय लाग्यो।
पहिलो प्रयासमा समात्न सकिनन्।
उनले फेरि प्रयास गरिन्।
यसपटक औँलाहरूले डम्बेललाई केही क्षण समातिरहे।
निश्चलले हल्का मुस्कुराउँदै भने, “बस्, आजका लागि यही पनि प्रगति हो।”
आरोहीले आफ्नो हाततिर हेरिन्।
सानो तौल केही क्षण मात्र उनको हातमा टिकेको थियो।
तर त्यो क्षणले उनको मनमा भने एउटा ठूलो विश्वास जन्माइदिएको थियो—प्रयास गरिरहने हो भने सानो चाल पनि एक दिन ठूलो यात्राको सुरुवात बन्न सक्छ।
त्यो दिन घर फर्किँदा आरोहीले पहिलोपटक व्यायामशालाको बारेमा सोचिन्। त्यहाँका उपकरणहरू, ऐना र आफ्नो अभ्यासभन्दा बढी उनलाई एउटा शान्त स्वर सम्झना आइरहेको थियो—“आज जति सकिन्छ, त्यति गरौँ।”
उनलाई थाहा थिएन, त्यो सामान्य वाक्य उनको आगामी दिनहरूको एउटा विशेष सम्झना बन्न थालिसकेको थियो।
◉◉◉
दिनहरू विस्तारै बित्दै गए। व्यायामशालामा आउने–जाने क्रम अब आरोहीको दिनचर्याको एउटा हिस्सा बनिसकेको थियो। सुरुमा अरूको सहारा नलिई बस्नसमेत कठिन हुने उनी अहिले केही बेर आफ्नै बलमा बस्न सक्ने भएकी थिइन्। हातका औँलाहरूमा आएको सानो चाल बिस्तारै बलियो हुँदै थियो। कहिलेकाहीँ निश्चलको सहारा लिएर उनी केही क्षण उभिन पनि सक्थिन्।
पहिले ऐनामा आफ्नो प्रतिबिम्ब हेर्दा डराउने आरोही अहिले त्यही ऐनामा केही फरक देख्न थालेकी थिइन्। आफ्नै आँखामा। आफ्नै अनुहारमा। आफ्नै हात खुट्टाका चालमा। आत्मविश्वासको एउटा सानो उज्यालो मनभित्र प्रवेश गरिसकेको थियो।
त्यो दिन अभ्यास सकेर उनी बाहिर निस्कन लागेकी थिइन्। उनका बुबाले मोबाइल हेर्दै भने, “आरोही, आज मलाई केही कामले बाहिर जानुपर्ने भयो। तिमीलाई घरसम्म निश्चलले मोटरसाइकलमा पुर्याइदिन्छन्। मैले उनीसँग कुरा गरिसकेको छु।”
आरोहीले निश्चलतिर हेरिन्। निश्चलले सामान्य ढङ्गले टाउको हल्लाए। “हुन्छ,” उनले भने, “म पुर्याइदिन्छु।”
त्यो उनीहरूका लागि कुनै विशेष घटना थिएन। निश्चलका लागि यो आफ्नो जिम्मेवारी पूरा गर्ने अर्को एउटा काम थियो। आरोहीका लागि पनि घर पुग्ने एउटा सहज उपाय।
तर बाटोमा हावाको हल्का स्पर्शसँगै उनीहरू दुवैको मनमा भने अनौठो अनुभूति जाग्यो।
मोटरसाइकलको पछाडिको सिटमा बसेकी आरोहीलाई सन्तुलन मिलाउन निश्चलको काँधमा हल्का सहारा लिनुपर्यो। त्यसो गर्नाले उनको शरीरको अग्रभागले निश्चलको पिठिउमा हल्का स्पर्श हुन पुग्यो। त्यो स्पर्शलाई दुवै युवा शरीरले महसुस गर्यो होला। निश्चलले मोटरसाइकल चलाउने कुरामा ध्यान केन्द्रित गर्दै सावधानीपूर्वक चलाइरहे। दुवै केही नबोलिकन चुपचाप थिए।
सडकको छेउबाट रूखहरू पछाडि सर्दै गए। साँझको घाम भवनका झ्यालमा परेर सुनौलो देखिदै थियो। हावाले गर्दा दिनभरको गर्मी घट्दै थियो।
आरोहीले केही भन्न खोजिन्, तर रोकिइन्। निश्चल पनि आज असामान्य रूपमा कम बोलिरहेका थिए।
केही बेरपछि आरोहीले सावधानीपूर्वक सोधिन्, “तपाईंलाई मेरो कारणले गाह्रो त भएको छैन?”
निश्चलले मोटरसाइकल चलाउँदै सहज स्वरमा भने, “गाह्रो भयो भने तपाईंलाई बताउनेछु। तर अहिले त्यस्तो केही छैन।”
आरोहीको ओठमा अनायासै मुस्कान आयो। उनले फेरि केही भनिनन्।
तर त्यो सानो मुस्कान निश्चलले अगाडिको लुकिङ ग्लासबाट देखिरहेका थिए। उनी पनि केही नभनी हल्का मुस्कुराए।
दुवैले आफूभित्र उठेको त्यो नयाँ भावलाई नाम दिन सकेका थिएनन्। त्यो प्रेम थियो भनेर उनीहरूले सोचिसकेको अवस्था पनि थिएन। तर एउटा कुरा भने दुवैलाई पहिलोपटक महसुस भयो— एकअर्काको उपस्थितिले अब उनीहरूको मनमा सामान्यभन्दा अलि बढी ठाउँ लिन थालेको थियो।
व्यायामशालाका दिनहरू अब आरोहीका लागि केवल अभ्यासका दिन रहेनन्। बिहान घरबाट निस्कँदा उनको मनमा एउटा सानो उत्साह हुन्थ्यो। पहिले व्यायामशालाको ढोकासम्म पुग्नु पनि एउटा चुनौतीजस्तो लाग्थ्यो। अहिले त्यही ढोका देख्दा उनलाई आफूले पार गरिसकेका दिनहरू सम्झनामा आउँथ्यो।
कहिलेकाहीँ निश्चल ढोकातिर हेर्दै उनको प्रतीक्षा गरिरहेका हुन्थे। आरोही आइपुग्दा उनको अनुहारमा देखिने हल्का मुस्कानलाई आरोहीले पनि ध्यान दिन थालेकी थिइन्। उनी आफैँ पनि निश्चललाई देख्नेबित्तिकै मनभित्र एउटा अनौठो सहजता महसुस गर्न थालेकी थिइन्।
निश्चल पनि उनको परिवर्तन नजिकबाट हेरिरहेका थिए। पहिले हात समातेर उठाउनुपर्ने आरोही अहिले केही क्षण आफ्नै बलमा उभिन सक्थिन्। पाइला अझै अस्थिर थिए, शरीरमा पूर्ण नियन्त्रण फर्किसकेको थिएन, तर उनको आँखामा अब पहिलेको डर देखिँदैनथ्यो।
“आज अलि थाकेजस्तो छ,” निश्चलले एक दिन भने। आरोहीले मुस्कुराउँदै भनिन्, “थाकेकी छु। तर रोकिएँ भने फेरि सुरुदेखि सुरु गर्नुपर्ला जस्तो लाग्छ।”
“रोकिँदा पनि सुरुदेखि नै सुरु गर्नुपर्छ भन्ने हुँदैन,” निश्चलले भने, “कहिलेकाहीँ आराम गर्नु पनि अभ्यासकै एउटा भाग हो।”
आरोही केही बेर चुप रहिन्। निश्चलका यस्ता साना कुराहरू उनलाई मन पर्न थालेका थिए। उनले कहिल्यै आफूलाई कमजोर भनेर व्यवहार गरेनन्। आवश्यक पर्दा सहारा दिन्थे, तर आफूले सक्ने काम आफैँ गर्न पनि प्रेरित गर्थे।
एक साँझ अभ्यास सकिएपछि दुवै व्यायामशालाको बाहिर केही बेर उभिए। आकाशमा घामको रङ फिक्का हुँदै थियो। पश्चिमतिरका बादलमा सुनौलो उज्यालो अडिएको थियो। सडकछेउका रूखहरू हावासँग बिस्तारै हल्लिरहेका थिए। दिनभरको चहलपहल घट्दै जाँदा वरिपरि एउटा शान्त वातावरण फैलिएको थियो।
“तपाईं कहिल्यै थाक्नुहुन्न?” आरोहीले अचानक सोधिन्।
निश्चल हल्का हाँसे। “थाक्छु। धेरै थाक्छु।”
“तर देखाउनुहुन्न।”
“सबै थकाइ अरूलाई देखाउनुपर्छ भन्ने छैन।”
आरोहीले उनको अनुहारतिर हेरिन्।
“तपाईँलाई व्यायामशाला चलाउन पनि सजिलो छैन होला।”
निश्चल केही क्षण चुप रहे। त्यसपछि उनले आफ्नो घर, विद्यालयमा पढाउने बाबुआमा र यही व्यायामशालाले आफ्नो जीवन धानेको कुरा बताए।
आरोहीले पहिलोपटक निश्चललाई केवल आफ्नो प्रशिक्षकका रूपमा होइन, आफ्नै संघर्ष बोकेर हिँडिरहेको एउटा सामान्य युवकका रूपमा हेरिन्।
“तपाईंले आफ्नो कुरा कहिल्यै धेरै भन्नुहुन्न रहेछ,” आरोहीले बिस्तारै भनिन्।
निश्चल मुस्कुराए। “तपाईंले सोध्नुभयो भने भन्न सक्छु।”
आरोही पनि हल्का मुस्कुराइन्। त्यो दिन उनीहरूबीचको कुराकानी अरू दिनभन्दा केही लामो भयो।
उनीहरूबीच केही क्षण चुपचाप बित्यो। तर त्यो चुपचाप अप्ठ्यारो थिएन।
त्यो दिन घर फर्किँदा आरोहीको मनमा निश्चलको आवाज बारम्बार आइरहेको थियो। बाटोमा उनले एकपटक पछाडि फर्केर व्यायामशालातिर हेरिन्। ढोकामा निश्चल अझै उभिएका थिए कि थिएनन्, उनले टाढैबाट छुट्याउन सकिनन्।
निश्चलले व्यायामशालाको ढोका बन्द गर्दै गर्दा केही बेर बाटोतिर हेरिरहे जुन बाटोबाट भर्खरै आरोही घर फर्किएकी थिइन्।
दुवैको मनमा एउटै कुरा थिएन। तर दुवैको मनमा एकअर्काका लागि एउटा नयाँ ठाउँ भने बनिसकेको थियो। समयको चाल सदा जस्तै समान थियो।
आरोहीको चाल बिस्तारै सुध्रिँदै गयो। पहिले ह्विलचेयरमा बस्नुपर्ने उनी अहिले केही दूरी आफैँ हिँड्न सक्थिन्। अझै पनि शरीरले पूर्ण साथ दिइसकेको थिएन, तर उनले आफ्नो जीवनलाई दुर्घटनाको दिनमै रोकिएर बस्न दिइनन्।
निश्चलको साथ भने उनको यात्राको एउटा महत्त्वपूर्ण हिस्सा बनिसकेको थियो।
तर घरभित्र यो सम्बन्ध सबैका लागि सहज थिएन।
आरोहीका बाबुआमालाई निश्चल असल युवक हुन् भन्नेमा शङ्का थिएन। उनीहरूले छोरीका लागि निश्चलले गरेको सहयोग आफ्नै आँखाले देखेका थिए। तर छोरी र निश्चलबीचको आत्मीयता विवाहको सम्भावनासम्म पुगेपछि उनीहरूलाई आफ्नो सामाजिक र आर्थिक दूरी सम्झना आउँथ्यो।
एक साँझ परिवारका सबै जना बैठकमा बसेका थिए। आरोही हजुरबुवाको छेउमा सोफामा बसेकी थिइन्। उनी शान्त थिइन्।
“निश्चल राम्रो मान्छे हुन्,” बुबाले भन्नुभयो, “तर आरोहीको जीवनबारे निर्णय गर्दा हामीले धेरै कुरा सोच्नुपर्छ।”
हजुरबुबाले सबैको कुरा ध्यानपूर्वक सुन्नुभयो। केही बेर उहाँले सबैको अनुहारतिर हेर्नुभयो। त्यसपछि बिस्तारै भन्नुभयो, “धनले घर ठूलो बनाउन सक्छ, तर जीवन ठूलो बनाउने कुरा अर्कै हुन्छ।”
कोठा शान्त भयो।
“त्यो दुर्घटनापछि हामीले आरोहीलाई बाँचिरहेको देखेका छौँ,” हजुरबुबाले अगाडि भन्नुभयो, “तर फेरि जीवनतिर फर्किँदै गरेको आरोहीलाई सबैभन्दा नजिकबाट कसले देख्यो? निश्चलले।”
उहाँले केही बेर रोकिएर आरोहीतिर हेर्नुभयो।
“एउटा मान्छेले हौसला दिएर आरोहीको जीवन बदल्न सक्यो भने, उसले आरोहीलाई जति सुख दिन सक्छ, अरू संसारका कुनै मान्छेले दिन सक्दैनन्। मैले यो अनुभवबाट आर्जन गरेको ज्ञान हो। अनुभवबाट आर्जित ज्ञान कहिल्यै झुटो हुँदैन।"
आरोहीका आँखाहरू रसाए। हजुरबुबाको विचारसँग उनी भित्रभित्रै सहमत भइरहेकी थिइन्। उनले बिस्तारै आफ्नो शिर हजुरबुवाको कुममा अड्याइन।
त्यो रात उनले धेरै बेर झ्यालबाहिर हेरिरहिन्। आँगनको चमेलीमा केही नयाँ फूल फुलेका थिए। हावाले ती फूलहरूलाई बिस्तारै हल्लाइरहेको थियो।
भोलिपल्ट आरोही व्यायामशालामा पुगिन्।
निश्चलले उनलाई पहिलेझैँ अभ्यास गराए। तर त्यस दिन आरोहीले अन्त्यमा आफैँ उभिएर केही कदम चालिन्।
निश्चल केही पर उभिएर हेरिरहेका थिए।
आरोही दुई कदम अघि बढिन्। तेस्रो कदममा शरीर अलि डगमगायो।
निश्चल अघि बढ्न खोजे, तर आरोहीले हातको इसाराले रोकिइन्।
“म आफैँ गर्छु।”
निश्चल रोकिए।
आरोहीले फेरि आफ्नो सन्तुलन मिलाइन्। त्यसपछि एक कदम अघि बढिन्।
समयसँगै उनीहरूबीचको दूरी पनि घट्दै गएको थियो। निश्चलले उनको हात समातेर उभ्याउने दिनहरू अब पछाडि छुट्दै थिए। आरोही आफ्नै बलमा उभिन सिक्दै थिइन्।
एक दिनको अभ्यासपछि दुवै केही बेर व्यायामशालाभित्रै उभिए।
आरोहीले भित्ताको ऐनामा आफूलाई हेरिन्। केही समयअघि त्यही ऐनामा उनले असहाय अवस्थाकी आफूलाई देखेकी थिइन्। आज त्यही ऐनामा उनले आफ्नै आँखाभित्र एउटा नयाँ आत्मविश्वास झल्केको देखिन्।
निश्चल उनको छेउमै थिए। आरोहीले ऐनाबाटै उनको प्रतिबिम्बतिर हेरिन्। निश्चलले पनि ऐनाबाटै उनको आँखातिर हेरे।
दुवैको आँखामा शब्दभन्दा अगाडि पुगिसकेको एउटा भाव थियो। त्यो भावलाई शब्दमा भन्न आवश्यक थिएन। दुवैले एकअर्काको उपस्थितिलाई महसुस गरिसकेका थिए।
त्यसपछि परिवारबीचको दूरी पनि विस्तारै घट्दै गयो। आरोहीका बाबुआमालाई निश्चलको व्यवहार, उसको इमानदारी र छोरीप्रतिको सम्मानले आफ्नो पुरानो डरमाथि पुनर्विचार गर्न बाध्य बनायो।
हजुरबुबाको कुरा पनि उनीहरूको मनमा बस्दै गयो।
अन्ततः दुवै परिवारले आरोही र निश्चलको सम्बन्धलाई स्वीकार गरे।
त्यो स्वीकारसँगै जीवनमा कुनै ठूलो परिवर्तन आएन। निश्चलको व्यायामशाला उही थियो। उनका बाबुआमा उही विद्यालयमा पढाउँथे। आरोहीको घर उही थियो। उनको उपचार र अभ्यास पनि उही क्रममा चलिरह्यो।
तर एउटा कुरा भने बदलिएको थियो। आरोही अब आफ्नो भविष्यसँग डराउँदिनथिन्।
त्यस दिनको अभ्यास सकिएपछि उनी व्यायामशालाको खुला ठाउँमा उभिइन्।
निश्चल केही पर थिए।
आरोहीले पहिलो पाइला चालिन्। दोस्रो पाइला चालिन्। तेस्रो पाइला चालिन्।
अनि बिस्तारै ठमठम पाइला चाल्दै अगाडि बढिन्।
यसपटक उनलाई कसैले समातेको थिएन। आफ्नो खुट्टामाथि आफ्नै विश्वास राखेर उनी अघि बढिरहेकी थिइन्।
निश्चल उनको छेउमै उभिरहेका थिए, ओठमा मन्द मुस्कान बोकेर। आज उनी आरोहीलाई समात्न होइन, उनको आफ्नै पाइला हेर्न उभिएका थिए।
निश्चलले बिस्तारै आरोहीतिर हेर्दै भने, “अब त तपाईं हिँडेरै घरसम्म जान सक्नुहुन्छ। आजको अभ्यास साँच्चै विशेष भयो।”
आरोहीले केही पाइला अघि बढाएपछि फर्केर निश्चलतिर हेरिन्। उनका आँखामा कृतज्ञता र आत्मविश्वास दुवै झल्किरहेका थिए।
उनले बिस्तारै भनिन्, “तपाईंले साथ दिनुभयो भने यो अन्तिम अभ्यास पनि म पार गर्नेछु।”
निश्चल केही बोलेनन्। उनको ओठमा मन्द मुस्कान नाचिरहेको थियो। सायद उनलाई पनि थाहा थियो—यो केवल केही पाइला चाल्ने अभ्यास थिएन; आरोहीले आज आफ्नै डरमाथि पाइला राखेकी थिइन्।
आरोहीका हजुरबुबा कतिखेर व्यायामशालामा आइपुग्नुभएको रहेछ, उनीहरूले थाहै पाएनन्। उहाँ केही पर उभिएर दुवैलाई हेरिरहनुभएको थियो। आरोहीले दुर्घटनापछि पहिलोपटक आफ्नै बलमा यति निश्चिन्त भएर पाइला चालेको देख्दा उहाँको अनुहारमा गहिरो सन्तोषको मुस्कान थियो।
आरोहीले फेरि एक पाइला अघि बढाइन्।
निश्चल उनको छेउमै थिए।
त्यही बेला हजुरबुबाले अलि ठूलो स्वरमा बोलाउनुभयो—
“नानीहरू, तिमीहरू दुवैजना यता आओ त!”
आरोही र निश्चलले एकसाथ फर्केर हेरे।
हजुरबुबाको अनुहारमा त्यही मुस्कान थियो, जुन मुस्कान नातिनी स्वस्थ भएको अवस्थामा देखिन्थ्यो।
आरोही केही क्षण स्थिर भइन्।
त्यसपछि निश्चलतिर हेरिन्। निश्चलले पनि उनलाई हेरे।
दुवै बिस्तारै हजुरबुबातिर अघि बढे।
आरोहीका पाइला अब केवल अगाडि बढिरहेका थिएनन्, उनको जीवन पनि पुरानो डरबाट टाढिँदै नयाँ बाटोतिर अघि बढिरहेको थियो।
उनीहरूबीच अब कुनै दूरी बाँकी थिएन।
आरोहीले पछाडि फर्केर आफूले चालेका ती केही पाइला हेरिन्। ती पाइला उनका लागि जीवनकै सबैभन्दा लामो यात्रा बनेका थिए।