१. पृष्ठभूमि
साहित्यकार नारायण मरासिनीले कविता, कथा, समालोचना, निबन्ध–नियात्रा लगायतका साहित्यिक विधामा कलम चलाएका छन् । २०४६ सालको जनआन्दोलनपछिको सापेक्ष खुला परिवेशमा कविता लेख्ने क्रम सुरु गरेका मरासिनीका पुस्तकाकार रूपमा ‘तीजको कोसेली’ (तीजका गीतहरूको सँगालो– २०५०), ‘समयका धब्बाहरू’ (मुक्तकसङ्ग्रह– २०५१), ‘साने’ (खण्डकाव्य– २०५६), ‘रणभूमिबाट’ (कवितासङ्ग्रह– २०६३), ‘हेडसरका कथाहरू’ (लघुकथा सङ्ग्रह– २०७१), ‘बिहेको निम्तो’ (कथासङ्ग्रह– २०७८), ‘घैँटीको मूल्य’ (कथासङ्ग्रह– २०८१) लगायतका साहित्यिक कृतिहरू प्रकाशित छन् । यसै गरी विभिन्न साहित्यिक पत्रिका एवम् पुस्तकहरूको सम्पादन र सह–सम्पादनमा पनि मरासिनीको भूमिका महत्वपूर्ण देखिन्छ । आफ्ना काव्यकृतिहरूमा समसामयिक तथा युगीन परिवेशका विम्बहरू टिप्ने प्रयास गरेका मरासिनी सरल एवम् बौद्धिक प्रतिभाका धनी व्यक्ति हुन् । नेपाली साहित्यमा सामाजिक यथार्थवाद, मनोवैज्ञानिक सूक्ष्मता र मानवीय सम्बन्धका अन्तर्विरोधलाई जीवन्त रूपमा प्रस्तुत गर्ने कथा रचनाका रूपमा उनको ‘बिहेको निम्तो’ कथासङ्ग्रहमा सङ्कलित ‘बिहेको निम्तो’ कथा देखापर्दछ । पोखरेली परिवेशलाई पृष्ठभूमि बनाएर २०७४ सालमा रचिएको यस कथाले आधुनिक समाजमा झ्याङ्गिँदै गएको देखावटीपन, प्रतिष्ठाको भोक, वर्ग–परिवर्तनसँगै व्यक्तिमा उत्पन्न हुने अहङ्कार र बाल्यकालीन पवित्र मित्रताबीचको द्वन्द्वलाई उजागर गरेको छ । कथाका तत्वहरु विषयवस्तु, कथानक, पात्र तथा चरित्रचित्रण, परिवेश, संवाद, दृष्टिबिन्दु, भाषाशैली, उद्देश्य र शीर्षकका आधारमा यस कथाको विश्लेषण गरिएको छ ।
१. मूल विषयवस्तु
बाल्यकालीन साँचो मित्रता र उत्तर–आधुनिक समाजको पद-प्रतिष्ठाको आडम्बरबीचको अन्तरसम्बन्ध नै कथाको मुख्य विषयवस्तु हो । कथामा एउटा साधारण बिहेको निम्तो पत्र कसरी दुई बालसखा बीचको प्रतिष्ठाको जुँगाको लडाइँ बन्छ र पदवी (विशेषण) थपेपछि मात्र त्यसले स्वीकृति पाउँछ भन्ने विषयलाई मूल कथावस्तु बनाइएको छ । कथाले स्पष्ट रूपमा यो सन्देश दिएको छ कि आधुनिक भौतिकवादी समाजमा मानिसको आत्मिक भावनाभन्दा उसको पदीय हैसियत र आडम्बर प्रमुख बन्न पुगेको छ ।
२. कथानक र आख्यानात्मक संरचना
‘बिहेको निम्तो’ कथाको कथानक सुगठित, सरल र सुरुचिपूर्ण छ । कथाको सुरुवात कथावाचकको पढ्ने कोठाबाट हुन्छ । कथावाचक आफ्नो टेबुलमा राखिएको फिर्ता आएको बिहेको निम्तो पत्र हेर्दै चिन्तित र द्विविधामा परेका छन् । उनका एक मात्र छोराको विवाहका लागि दुई सयवटा निम्तो पत्र बाँडिएमध्ये दीपेन्द्रबहादुर थापाको नाममा पठाइएको निम्तो पत्र मात्र फिर्ता आएको छ । भतिज सन्तोषले दीपेन्द्रबहादुरकै हातमा निम्तो पत्र थमाउँदा उनले चस्मा मिलाएर हेर्दै ‘यो मेरो नामको निम्तो पत्र होइन, अरू नै कोही होला’ भन्दै अस्वीकार गरेर फिर्ता पठाएका थिए ।
कथावाचकले दीपेन्द्रबहादुर र आफ्नो विगतको इतिहास स्मरण गरेका छन् । कथावाचक र दीपेन्द्रबहादुर बाल्यकालीन साथी हुन् जसले कक्षा १ देखि १० सम्म सँगै पढेका थिए । दीपेन्द्रका बुबा स्कुलका कार्यालय सहयोगी (पियन) थिए र उनको परिवार अत्यन्तै गरिब थियो । कथावाचकको परिवार (कोइराला पण्डित) केही सम्पन्न र धार्मिक भएकाले दीपेन्द्रले धेरैपटक कथावाचककै घरमा खाना खाएको, लुगा र खाजा बाँडेर खाएको विगतको स्मरण गरेका छन् । पछि दुवैले एम.ए. र विद्यावारिधि (एजम्) पूरा गरी प्राध्यापन पेसा अँगालेका छन् । समयक्रममा दीपेन्द्रबहादुर अङ्ग्रेजी विषयको प्राध्यापक बनेका छन् । उनले बजारको बीचमै साढे तीन तलाको तलाको पक्की घर बनाएका छन् । उनको आफ्नै प्राइभेट गाडी छ । छोराछोरीलाई पढाएर डाक्टर–नर्स बनाएका छन् । अहिले उनी निकै धनी बनेका छन् । कथावाचक भने नेपाली विषयका प्राध्यापक बन्न पुगेका छन् । उनी पुरानो मोटरसाइकल चढ्ने र सामान्य जीवन बिताउने अवस्थामा रहेका छन् । दीपेन्द्रबहादुरको घरबाट निम्तो पत्र किन फिर्ता आयो भन्ने विषयमा कथावाचक निकै बेर घोरिएका छन् ।
साँझ परेपछि छोरा कथावाचकको कोठामा आउँछन् । कथावाचकले एउटा खाली निम्तो पत्र निकालेर आफ्नै हातले स्पष्ट अक्षरमा सम्बोधन र ठेगाना लेख्छन्– ‘प्राध्यापक डाक्टर दीपेन्द्रबहादुर थापाज्यू, ढुङ्गेपाटन, पोखरा ।’ यो नयाँ निम्तो पत्र स्वयम् दुलाहा (छोरा) ले लगेर दीपेन्द्रबहादुरलाई दिएका छन् । आफ्नो नामको अगाडिपट्टि जोडिएका ‘प्राध्यापक डाक्टर’ जस्ता विशेषण र नामको पछाडिपट्टि ‘ज्यू’ देखेपछि दीपेन्द्रबहादुर दङ्ग पर्दै मुस्कुराएर ‘म आउँछु नि बाबु ! आफ्नै साथीको छोराको बिहेमा पनि नआउने कुरो हुन्छ र !’ भन्दै खुसीसाथ निमन्त्रणा स्वीकार गरेका छन् । यसरी कथाले एउटा व्यङ्ग्यात्मक चरमोत्कर्ष र सार्थक अवतरण प्राप्त गरेको छ ।
३. पात्रविधान अथवा चरित्रचित्रण
प्रस्तुत ‘बिहेको निम्तो’ कथामा सीमित पात्रहरूको प्रयोग गरी तिनको आन्तरिक र बाह्य चरित्रलाई कुशलतापूर्वक उजागर गरिएको छ । कथावाचक यस कथामा मुख्य पात्रका रुपमा प्रस्तुत भएका छन् । कथावाचक नेपाली विषयका प्राध्यापक हुन् । उनी सादा जीवन र उच्च विचारमा विश्वास गर्छन् । उनी आफ्ना बाल्यकालीन साथी दीपेन्द्रप्रति दया, सहानुभूति र साँचो सम्मान राख्ने चरित्र हुन् । दाइजोप्रथाको विरोधी, छोराका लागि केवल सुशिक्षित र चरित्रवान् कन्या चाहने उनी प्रगतिशील विचारका व्यक्ति हुन् । उनी सन्तोषी, स्वाभिमानी र अरूको लोभ नगर्ने अडिग व्यक्तित्वका रुपमा देखिएका छन् । उनी मानव मनोविज्ञान बुझेर व्यवहार गर्न सक्ने चतुर र व्यावहारिक व्यक्ति हुन् ।
प्राध्यापक डाक्टर दीपेन्द्रबहादुर थापा यस कथामा प्रतिनायकका रुपमा चित्रित छन् । अङ्ग्रेजी विषयका प्राध्यापक जसले पछि विद्यावारिधि हासिल गरी प्राध्यापक पद पाएका छन् । दीपेन्द्रबहादुर विगतमा गरिब कार्यालय सहयोगीका छोरा जसले अभाव र दुःखमा बाल्यकाल बिताएका थिए । आर्थिक उन्नति र पदीय पदोन्नतिपछि उनी चरम प्रतिष्ठाका भोका र घमण्डी बनेका छन् । उनी आफ्ना छोराछोरीको विवाहमा ठूलो तामझाम र दाइजोको लेनदेन गर्ने देखावटी चरित्र हुन् । आफ्नो नामका अगाडि ‘प्राध्यापक डाक्टर’ नलेखिँदा साथीको छोरोको बिहेको निम्तोसमेत अस्वीकार गर्ने तर विशेषण पाउँदा खुसी हुने आत्ममुग्ध पात्रका रुपमा यहाँ उनी चित्रित छन् । पढालेखा तथा शिक्षित भए पनि उनी अहङ्कारी, दम्भी तथा ठालु प्राध्यापकका रुपमा देखिएका छन् ।
कथावाचकको भतिज सन्तोष र हुनेवाला दुलाहा अर्थात् छोरो यस कथाका सहायक पात्र हुन् । सन्तोष कक्षा १२ मा पढ्दै गरेको केटो हो । उसले राम्रा अक्षर बनाएर लेख्ने गर्छ । ऊ दीपेन्द्रबहादुरको प्राइभेट कलेजको विद्यार्थी हो जसले पहिलोपटक दीपेन्द्रबहादुरलाई निम्तो पत्र पु¥याएको छ । कथावाचकको छोरो अमेरिकामा अध्ययनरत केटो हो । तीन वर्षको अमेरिकी बसाइपछि ऊ विवाहका लागि नेपाल फर्केको छ । नम्र र साधारण छ । ऊ पिताको आज्ञाकारी पुत्र हो । कथामा ऊ हुनेवाला दुलाहाका रुपमा चित्रित छ ।
कथामा कोइराला पण्डित र दीपेन्द्रका बुबा पृष्ठभूमिका पात्रहरूका रुपमा आएका छन् । कोइराला पण्डित (कथावाचकका बुबा) धर्मकर्ममा विश्वास गर्ने र दयालु स्वभावका छन् । उनी दीपेन्द्रलाई आफ्नै छोरासरह माया गरेर खाना र लुगा दिने उदारमना व्यक्तिका रुपमा चित्रित छन् । पृष्ठभूमिमा आएका अर्का पात्र दीपेन्द्रका बुबा स्कुलका कार्यालय सहयोगी हुन् । विद्यार्थीहरु उनलाई ‘बाजे’ भनेर बोलाउने गर्छन् । उनी दमका रोगी छन्, सुर्तीका अम्मली छन् । स्याँस्याँ गर्दै पँधेराबाट पानी बोकेर ल्याई स्कुलका केटाकेटीहरुलाई खुवाउने गर्छन् । आफ्ना सन्तानको पालनपोषण र शिक्षादीक्षाका लागि कठोर परिश्रम गर्ने उनको जीवनचर्या निकै कष्टकरपूर्ण देखिन्छ ।
४. परिवेशविधान
यस कथामा परिवेशको छनोट र चित्रण अत्यन्तै यथार्थपरक ढङ्गले गरिएको छ । यसको स्थानगत परिवेशअन्तर्गत मुख्य रुपमा पोखराका ढुङ्गेपाटन, धारापानीको पोखरी, स्थानीय निम्न माध्यमिक विद्यालय अनि कथावाचकको पढ्ने कोठा रहेका छन् भने जन्ती पुग्नुपर्ने ठाउँ स्याङ्जाको पुतलीबजार साङ्केतिक रुपमा रहेको छ । समयगत परिवेशका सन्दर्भमा वि.सं. २०७४ सालतिरको पोखराको आधुनिक परिवेश छ । साथै ३०–४० वर्षअघिको पञ्चायतकालीन विगतको ग्रामीण परिवेश जहाँ सडक, गाडी र खानेपानीको असुविधा थियो त्यस समयको पनि सङ्केत छ ।
सामाजिक र आर्थिक परिवेशअन्तर्गत एकातर्फ अभाव तथा गरिबीका कारण च्यात्तिएको जाँगे लगाउनुपर्ने अवस्था, लेखपढका लागि विद्यार्थीले पुराना कापी–किताबले काम चलाउनुपर्ने बाध्यता र टाढा रहेको पँधेराको पानी बोक्नुपर्ने जस्ता विगतको निम्नवर्गीय सामाजिक धरातललाई देखाइएको छ भने अर्कातर्फ आधुनिक पोखराको उपभोगवादी संस्कृति, साढे तीन तलाको घर, निजी गाडी, विद्यावारिधिको धाक, दाइजोको लेनदेन र विवाहमा गरिने तडकभडकयुक्त भोजभतेरलाई देखाइएको छ । विवाहमा सहभागी हुन ‘जन्ती’ र ’भोज’ गरी दुई तहको निम्तो दिने सामाजिक परम्पराको यथार्थ चित्रण कथामा छ ।
५. संवाद र कथोपकथन
प्रस्तुत कथामा संवादको प्रयोग सीमित भए पनि ती संवादहरु पात्रको मनोविज्ञान र चरित्र उघार्न प्रभावकारी छन् । संवादहरू रोचक छन्; छोटाछरिता, स्वाभाविक र बोलीचालीको नेपाली भाषामा आधारित छन् । सन्तोषले निमन्त्रण पत्र दिँदा दीपेन्द्रबहादुरले आफ्नो नामका अगाडि विशेषण नथपिएकामा दम्भ प्रकट गरेको संवाद छ– ‘यो मेरो नामको निम्तो पत्र होइन, अरू नै कोही कसैको होला।’ कथावाचक र उनका छोराका बीचको व्यावहारिक संवाद छ । हुनेवाला दुलाहा छोराले सोधेको छ– ‘बाबा ! निम्तो त सबैलाई पुग्यो नि हैन ?’ छोराले राखेको जिज्ञासाको प्रत्युत्तरस्वरुप कथावाचक बाबुले भनेका छन्– ‘होइन छोरा ! अरू त सबै भयो, एउटा चाहिँ आफै गएर दिनुपर्ने निम्तो छुटेछ ।’ कथाको अन्त्यमा दीपेन्द्रबहादुरको खुसी र आडम्बरले युक्त संवाद छ– ‘म आउँछु नि बाबु ! आफ्नै साथीको छोराको बिहेमा पनि नआउने कुरो हुन्छ र !’ यस किसिमका संवादले पात्रहरूको आन्तरिक सोचाइ, सामाजिक हैसियत र परिवर्तनशील मानसिकतालाई स्पष्टसँग अभिव्यक्त गरेका छन् ।
६. दृष्टिबिन्दु, भाषाशैली र कथात्मक शिल्प
यस कथामा प्रथम पुरुष दृष्टिबिन्दु (‘म’ पात्र- कथावाचक) को प्रयोग गरिएको छ । कथावाचक स्वयं कथाको द्रष्टा र भोक्ता दुवै भएकाले कथामा आत्मीयता, सत्यता र यथार्थको गहिरो अनुभूति मिलेको छ । कथाको भाषा सरल, सहज, सुबोध र सम्प्रेष्य छ । स्थानीय झर्रा शब्द र ठेट नेपाली उखान-टुक्काहरूको सुन्दर प्रयोग गरिएको छ; जस्तै– कसार बटार्ने, पैँचो तिर्नु, दाइजोको रजाइँ, थोत्रो मोटरसाइकल, घाम नउदाउँदै, अरूले घोडा चढे भन्दैमा आफू धुरी चढ्न नहुने आदि कथामा प्रयुक्त झर्रा शब्द र उखान-टुक्काहरू हुन् । शिल्पका सन्दर्भमा कथामा अतीतस्मृति शिल्पको उत्कृष्ट प्रयोग छ । टेबुलमा राखिएको एउटा निम्तो पत्रलाई फ्ल्यासब्याकको माध्यम बनाएर बाल्यकालको गरिबी, स्कुले जीवन, पोखरीको पौडी, लुतो र कपडा सिलाइदिएको घटना हुँदै वर्तमानको प्राध्यापन जीवनसम्मको लामो समयावधि समेटिएको छ ।
७. जीवनदृष्टि, उद्देश्य एवम् व्यङ्ग्य
यस कथाको मुख्य उद्देश्य आधुनिक मानव समाजमा मौलाउँदै गएको आडम्बर, नक्कली प्रतिष्ठा र पदीय घमण्डमाथि कडा व्यङ्ग्य प्रहार गर्नु हो । उच्च शिक्षा हासिल र प्रशस्त सम्पत्ति आर्जन गरेपछि मानिस कसरी आफ्ना पुराना दुःख, सङ्घर्ष र आत्मीय साथीभाइलाई बिर्सन्छ र पदीय विशेषण (प्राध्यापक डाक्टर) को दास बन्न पुग्छ भन्ने यथार्थलाई कथाले प्रस्ट पारेको छ । यसमा कथावाचक र दीपेन्द्रबहादुरको मनोदशाको विश्लेषण छ । कथावाचकको मध्यमवर्गीय तर सन्तोषी जीवनदृष्टि (सादा जीवन उच्च विचार) र दीपेन्द्रबहादुरको आडम्बरी जीवनशैली बीचको तुलनामार्फत कथाकारले भौतिक सम्पत्तिभन्दा आत्मसन्तुष्टि र साँचो चरित्र नै ठुलो हो भन्ने सन्देश दिएका छन् ।
८. शीर्षक
कथाको शीर्षक ‘बिहेको निम्तो’ प्रतीकात्मक रुपमा राखिएको छ । यो शीर्षक विषयकेन्द्रित छ र अर्थपूर्ण पनि छ । बाह्य रूपमा हेर्दा कथावाचकका एक मात्र छोराको विवाहमा छरछिमेकी तथा इष्टमित्रलाई बोलाउन बाँडिने औपचारिक निमन्त्रणा पत्रकै वरिपरि यस कथाको विषयवस्तु घुमेको छ तर आन्तरिक रूपमा यस शीर्षकले आजको समयमा आफूलाई ठुलोबडो भन्न रुचाउने मानवीय चेतनामा हुर्किएको प्रतिष्ठा, पदवी र सामाजिक हैसियतको घमण्डलाई साङ्केतिक रूपमा व्यङ्ग्य गरेको छ । शीर्षक सामाजिक र मनोवैज्ञानिक धरातलबाट हेर्दा अत्यन्तै सार्थक र व्यङ्ग्यात्मक देखिएको छ ।
९. निष्कर्ष
निष्कर्षमा, ‘बिहेको निम्तो’ कथा नेपाली कथा साहित्यको एउटा उत्कृष्ट सामाजिक–मनोवैज्ञानिक कथा हो । यसमा कथाका सम्पूर्ण तत्वहरू एकअर्कामा सुसम्बद्ध र सन्तुलित छन् । केवल एउटा निम्तो पत्र फिर्ता आउनु र त्यसमा ‘प्राध्यापक डाक्टर’ विशेषण थपेपछि सहर्ष स्वीकार गरिनुले आधुनिक समाजको नाङ्गो यथार्थलाई कथाले छर्लङ्ग पारेको छ । कथाले पाठकलाई बाह्य प्रतिष्ठा र देखावटीपनभन्दा माथि उठेर मानवीय संवेदना, भाइचारा र सदाचारलाई आत्मसात् गर्न प्रेरित गरेको छ ।
आँधीखोला– ४, स्याङ्जा