सम्पादकको फोन आयो – “बधाई छ! यसपटकको कविता सङ्ग्रहमा तपाईँको पनि परेको छ।"
उसको अनुहार उज्यालियो।
पत्रिकामा कविता छापिँदा पारिश्रमिक आउँथ्यो। यसपटक पनि मनमा हिसाब चल्यो– 'नामसँगै अलिकति पारिश्रमिक त आउला नै।'
“कार्यालयसम्म आइदिनुस् न है, भेटेर बधाई दिऊँ ।" सम्पादकले फोन राखे।
ऊ अफिसमा हाफ क्या.बि. लिएर दौडियो ।
सम्पादकले टेबलमा भएको एउटा किताब अघि सार्दै भने, “लिनुस्, तपाईंको कविता छ।"
उसले पल्टाएर हेर्यो। एउटा पेजमा उसको फोटो । र, त्यस तल उहिल्यै पत्रिकामा छापिएको एउटा छोटो कविता ।
सङ्ग्रहमा न भूमिका, न समीक्षा, न त कविताबारे एक शब्द।
सम्पादकले हाँस्दै थपे, “तपाईँलाई थाहै छ- साहित्यका किताब बिक्दैनन्। हामीले नै धान्नुपर्छ। त्यसैले सबै कविबाट दुई किताब बापत एक हजार सहयोग लिने नियम बनाएका छौं।"
उसको उज्यालो अनुहार एक्कासी झल्याँस्स भयो।
पारिश्रमिक पाउने ठाउँमा उल्टै बिल तिर्नुपर्ने!
साहित्य लेखेबापत जरिवाना!!
गोजीमा हात हाल्दा उसको अनुहार साँच्चै हेर्नलायक थियो ।
ढोका बाहिर ननिस्कँदै उसको कानमा अर्को फोनमा सम्पादक बोलेको आवाज ठोक्कियो– “हेलो, बधाई छ! पछिल्लो कविता संग्रहमा तपाईँको गजल पनि पारिएको छ…”