19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समयसँग हिँडिरहेको एउटा जीवन

कथा गोविन्द सुबेदी September 29, 2026, 12:51 am
गोविन्द सुबेदी
गोविन्द सुबेदी

हर्कमान श्रेष्ठका हात हेर्दा लाग्छ—समयले घडीमा होइन, हातमा आफ्नो इतिहास लेख्दोरहेछ । हातका छालामा साना–साना रेखा छन् । औँलाका जोर्नी केही बाक्लिएका छन् । नङका छेउमा कामका पुराना चिह्नहरू अझै देखिन्छन् । यी हातले धेरै कुरा छोएका छन माटो, ढुंगा, काठ, खर, पसिना, औजार र मानिसका घरका सपनाहरू ।
पचासी वर्षका हर्कमान अहिले पनि काममा भेटिन्छन् । उहाँलाई देख्दा पहिले उमेर देखिँदैन । मुस्कान देखिन्छ । त्यसपछि मात्र आँखाले निधारतिर यात्रा गर्छ—जहाँ वर्षहरूले केही रेखा कोरेका छन् । गालातिर पुग्दा चाउरीहरू भेटिन्छन् । ढाडतिर पुग्दा समयको भारले शरीरलाई अलि झुकाएको देखिन्छ ।
तर आँखामा ?
त्यहाँ अझै कुनै पुरानो बिहान बाँकी छ ।
सायद दिल्लीको ।
सायद पञ्जाबको ।
सायद माटोको भित्ताअगाडि उभिएको कुनै पुरानो गाउँको ।
वा सायद त्यो बिहान, जुन हरेक दिन काममा निस्कँदा उहाँको अगाडि अझै खुलिरहन्छ ।
उमेरले पचासी टेकिसक्दा पनि मानिसभित्रको बिहान सकिँदोरहेनछ ।
–––
हर्कमानको जीवन सम्झँदा सबैभन्दा पहिले एउटा घर आउँछ । तर त्यो घर कहाँको हो, भन्न गाह्रो छ । सायद त्यो घर उहाँले छाडेर आएको घर हो । सायद परदेशमा कसैका लागि बनाएको घर हो । सायद गैंडाकोटमा उहाँले वर्षौँदेखि पाएको आश्रयको घर हो । वा सायद ती सबै घरको सम्झना मिलेर बनेको एउटा अदृश्य घर हो, जसलाई उहाँले आफ्नो मनभित्र बोकेर हिँडिरहनुभएको छ ।
मानिसले जीवनमा कति घर बनाउँछ ?
केवल आफू बस्ने घर ?
अरूका लागि बनाइदिएका घर ?
कि सम्झनामा बाँचिरहने घर पनि हुन्छन ?
हर्कमानको कथा सुन्दा लाग्छ—मानिसले सबैभन्दा धेरै घर आफ्नो हातले होइन, समयले बनाउँछ । र भत्काउँछ पनि ।
–––
२०२४ साल । हर्कमानको विवाह भयो । त्यो समय आजको जस्तो थिएन । जीवनका सपनाहरू ठूला थिएनन्, तर साना सपनाहरू गहिरा हुन्थे । घरमा बिहान चुल्हो बलोस्, साँझ परिवार एउटै ठाउँमा बसोस्, छोराछोरी हुर्कून यिनै कुराले भविष्यको आकार बनाउँथे ।
दुई छोरी जन्मिए ।
घरमा दुईवटा साना आवाज थपिए ।
सायद आँगनमा साना पाइला दौडिन थाले ।
सायद साँझमा बाबुको थकान ती आवाजले बिर्साइदिन्थ्यो ।
तर जीवनले खुसीलाई कहिल्यै स्थायी ठेगाना दिँदैन । एउटी छोरीलाई निमोनियाले लग्यो । त्यो मृत्युको कथा ठूलो आवाजमा भनिने खालको थिएन । न अस्पतालका ठूला मेसिन थिए । न आजजस्तो सहज उपचारको पहुँच । बिरामी पर्दा गाउँका मानिससँग आफ्नै विश्वास थिए । झारफुक थियो । परम्परागत उपचार थियो । आशा थियो । अनि आशाभित्र लुकेको एउटा असहाय प्रतीक्षा पनि थियो । छोरी गइन् । घर उही रह्यो । भित्ताहरू उही रहे । आँगन उही रह्यो । तर घरभित्रको एउटा आवाज सधैंका लागि हरायो । कहिलेकाहीँ मृत्युले मानिसलाई मात्र लैजाँदैन, घरको एउटा मौसम पनि लिएर जान्छ । हर्कमानले त्यो मौसम फेरि कहिल्यै पाएनन् । तर बाँच्नुपर्ने मानिसले रोएर मात्र कहाँ बस्न पाउँछ र ? ठुलि छोरी हुर्किइन् । समयले उनलाई पनि आफ्नै बाटो रोज्ने उमेरमा पु¥यायो । २०४८ सालमा, चौबीस वर्षको उमेरमा, उनले आफ्नो रोजाइमा विवाह गरिन् । छोरी आफ्नै संसारतिर लागिन् । बाबु भने अझै आफ्नै संसारको अर्थ खोजिरहेका थिए । त्यसअघि नै हर्कमानको जीवनमा अर्को एउटा ढोका बन्द भइसकेको थियो ।
२०३० साल । घरमा कचकच बढ्दै गयो । सम्बन्धहरू कहिलेकाहीँ यति थाक्छन् कि एउटै छानामुनि बस्नु पनि भारी हुन्छ । हर्कमानले घर छाडे । त्यो एउटा निर्णय थियो कि बाध्यता—सायद उहाँलाई नै बढी थाहा होला । तर घर छाड्ने मानिसको मनभित्र एउटा प्रश्न सधैं रहन्छ, अब कहाँ जाने ? हर्कमानसँग त्यस प्रश्नको तत्काल उत्तर थिएन । तर मानिससँग जब बाटोको नक्सा हुँदैन, तब कहिलेकाहीँ उसको आफ्नै पाइला नक्सा बन्छ । उहाँ हिँड्नुभयो । गैंडाकोटहुंदै बाहिर । नेपालको सीमाबाट पर । दिल्ली । पञ्जाब । परदेश ।
–––
परदेशमा पुगेपछि मानिसको नामभन्दा पहिले उसको काम सोधिन्छ । हर्कमानसँग काम गर्ने शरीर थियो । हात थिए । र सिक्न सक्ने मन थियो । उहाँले श्रम गर्नुभयो । पसिना बगाउनुभयो । दिनलाई पैसासँग साट्नुभयो । तर परदेशले उहाँलाई एउटा यस्तो चीज पनि दियो, जुन पैसा सकिएपछि पनि सकिँदैनथ्यो । सीप । घर बनाउने सीप । त्यो समय घर भनेको आजजस्तो सिमेन्ट, रड, झ्यालका एल्युमिनियम र रंगीचंगी टायलको संसार थिएन । घर माटोको हुन्थ्यो । ढुंगाको हुन्थ्यो । काठको हुन्थ्यो । खरको हुन्थ्यो । र मानिसको हातको हुन्थ्यो । माटोको गन्धसँग मिसिएर घर उठ्थ्यो । ढुंगाको तौलसँग मानिसको बल जोखिन्थ्यो । काठको रेखासँग घरको आकार बन्थ्यो । खरले छानो छाउँदा आकाश केही तल झरेजस्तो लाग्थ्यो । हर्कमानले यही संसारमा काम सिके । कसैले उहाँलाई औपचारिक प्रमाणपत्र दिएन । तर उहाँका हात नै प्रमाणपत्र बने । भित्तामा हात राखेर उहाँले सायद बुझ्नुभयो—माटोले मानिसलाई घर दिन्छ । र सीपले मानिसलाई आफ्नो खुट्टामा उभिने ठाउँ । त्यही दिनदेखि उहाँका हातमा एउटा नयाँ विश्वास बस्यो । “म काम गरेर बाँच्न सक्छु ।” यो वाक्य कागजमा लेखिएको थिएन । उहाँका हातमा लेखिएको थियो ।
–––
परदेशको जीवन सधैं परदेशमै रहँदैन । एक दिन मानिस फर्किन्छ । हर्कमान पनि फर्किए । तर फर्केर कहाँ जाने ? आमाको जिम्मेवारी थियो । आफ्नो जीवनको अर्को बाटो पनि खोज्नुपर्ने थियो । यही क्रममा उहाँ गैंडाकोट आइपुग्नुभयो । गैंडाकोट–२, गोपिधाम, बेलको बुटामुनि बस्ने उमानन्द सापकोटाको घरमा उहाँले आश्रय पाउनुभयो । त्यो समयको ठाउँ र अहिलेको ठाउँ एउटै छैन । अहिले जहाँ चोक छ, सडक छ, पसल छन्, मानिसको भीड छ—त्यहाँ कुनै बेला रूखका छायाँ थिए, खुला ठाउँ थियो, र मानिसका सम्बन्धहरू अलि नजिक थिए । हर्कमान पछि उमानन्दका माहिला छोरा हरिराम सापकोटाको घरमा बस्न थाल्नुभयो । र समयले अनौठो काम ग¥यो । आश्रय बिस्तारै घर बन्यो । घर बिस्तारै सम्बन्ध बन्यो । सम्बन्ध बिस्तारै स्मृति बन्यो । र स्मृति आजसम्म बाँकी छ । मानिसको जीवनमा केही ढोकाहरू रगतका नाताले खुल्छन् । केही ढोकाहरू भने दुःखले खोलिदिन्छ । हर्कमानका लागि सापकोटा परिवार त्यस्तै एउटा ढोका थियो ।
–––
२०५५ सालतिर उहाँ चितवनको भण्डारामा करिब पन्ध्र महिना बस्नुभयो । तर मानिस जहाँ गए पनि उसको मन सबै ठाउँमा जाँदैन । मनको पनि आफ्नै ठेगाना हुन्छ । हर्कमानको मन गैंडाकोटमै अड्किएको थियो । त्यसैले उहाँ फर्किनुभयो । फेरि त्यहीँ । फेरि उही बाटो । फेरि उही मानिसहरू । फेरि उही घर । कुनै ठाउँमा लामो समय बिताएपछि त्यो ठाउँ केवल भूगोल रहँदैन । त्यो मानिसको जीवनको एउटा अंग बन्छ । गैंडाकोट हर्कमानका लागि त्यस्तै भयो । त्यसपछि गैंडाकोट छाडेर उहाँ कतै टाढा जानुभएन । २०६० सालमा आमाको निधन भयो । आमा गइन् । जीवनको अर्को एउटा उज्यालो निभ्यो । तर साँझ परेपछि पनि मानिसले अर्को बिहानको प्रतीक्षा गर्नैपर्छ । हर्कमानले पनि गरे ।
–––
उहाँका हातमा एउटा सीप थियो । त्यसैले उहाँ फेरि कामतिर फर्किनुभयो । त्यो समयका घरहरू उहाँको स्मृतिमा अझै जिउँदै थिए । माटोको भित्तामा चिसो हुन्थ्यो । ढुंगाको भित्तामा बल हुन्थ्यो । काठले घरलाई आकार दिन्थ्यो । खरले आकाशलाई छेक्थ्यो । ती घरहरूमा आजका घरजस्तो सुविधा थिएन । तर घर सुविधा मात्र त होइन । घर भनेको मानिसको सपना हो । कुनै आमाको भान्साको धुवाँ हो । कुनै बच्चाको खेल्ने आँगन हो । कुनै वृद्धको साँझ हो । कुनै नवविवाहित जोडीको पहिलो रात हो । कुनै परिवारको वर्षौँको आशा हो । हर्कमानले यस्ता कति सपना उठाए होलान ? कति भित्तामा उहाँका हातका छाप होलान ? कति घरको जगमा उहाँको पसिना मिसिएको होला ? हामीलाई थाहा छैन । उहाँलाई पनि सायद थाहा छैन । श्रमको ठूलो विशेषता यही हो उसले आफ्नो नाम माग्दैन । उसले आफ्नो काम छोड्छ ।
–––
समय फेरि बदलियो । माटोका घरहरू हराउन थाले । खरका छानाहरू पातलिँदै गए । सिमेन्ट आयो । रड आयो । नयाँ औजार आए । घरको आकार बदलियो । गाउँको अनुहार बदलियो । हर्कमानले पनि आफ्नो कामको रूप बदले । घर बनाउने सीपले उहाँलाई हार्डवेयर व्यवसायको संसारतिर पु¥यायो । अब उहाँ आफैं भित्ता उठाउनुहुन्नथ्यो । तर भित्ता उठाउनेहरूका लागि आवश्यक सामग्रीको संसारसँग जोडिनुभयो । यो परिवर्तन सायद बाहिरबाट हेर्दा सानो देखिन्छ । तर मानिसको जीवनमा सानो परिवर्तनले कहिलेकाहीँ ठूलो निरन्तरता बोकेको हुन्छ । माटोको भित्ताबाट हार्डवेयरको सामानसम्म—काम बदलिएको थियो । तर कामको आत्मा बदलिएको थिएन । निर्माणसँग उहाँको सम्बन्ध उही थियो । हिजो हातले घर बनाउनुहुन्थ्यो । आज घर बनाउने मानिसलाई सामानमा सहयोग गर्नुहुन्छ । हिजो उहाँका हातले माटो छोएका थिए । आज उहाँका आँखाले निर्माणको बदलिँदो संसार हेर्छन् ।
–––
पचासी वर्ष । यो उमेरमा मानिस प्रायः आफ्ना पुराना दिनहरू गन्न थाल्छ । हर्कमान भने अझै दिनसँग भेटिरहनुभएको छ । हार्डवेयर व्यवसायमा सहयोगीका रूपमा सक्रिय हुनुहुन्छ । कहिलेकाहीँ उहाँलाई हेर्दा लाग्छ—उहाँ काम गरिरहनुभएको मात्र होइन, समयसँग एउटा पुरानो सम्झौता निभाइरहनुभएको छ । सम्झौता यस्तो— “जब शरीरले साथ दिन्छ, म काम छाड्दिनँ ।” शरीरले पहिलेको जस्तो साथ दिएको छैन । ढाड झुकेको छ । पाइला सुस्त छन् । तर कामप्रतिको बानी अझै बाँकी छ । बानी पनि अचम्मको चीज रहेछ । कुनै बानी उमेरसँगै छुट्छ । कुनै बानी उमेरसँगै मानिसकै परिचय बन्छ । हर्कमानका लागि काम त्यस्तै परिचय बनेको छ ।
–––
उहाँको जोसको रहस्य के हो ? सायद यसको उत्तर कुनै औषधिको नाममा छैन । सायद त्यो बिहानको एउटा सामान्य क्रियामा छ—उठ्नु । लुगा लगाउनु । बाहिर निस्कनु । मानिससँग बोल्नु । काममा लाग्नु । दिन सकिएपछि फर्किनु । फेरि अर्को बिहानको प्रतीक्षा गर्नु । यही त जीवन हो । हामी प्रायः जीवनको अर्थ ठूला उपलब्धिमा खोज्छौँ । हर्कमानको जीवनले भने सानो कुरातिर फर्केर हेर्न सिकाउँछ । बाँच्नु । काम गर्नु । सम्बन्ध जोगाउनु । दुःख सहनु । फेरि उठ्नु । र भोलि फेरि बिहान हुनु ।
–––
कहिलेकाहीँ उहाँका चाउरीहरू हेर्दा लाग्छ—यी चाउरी होइनन्, समयका अक्षर हुन् । एउटा रेखामा परदेश छ । अर्कोमा छोरीको सम्झना । कुनै रेखामा घर छ । कुनै रेखामा घर छाडेको दिन । कुनै रेखामा आमाको मृत्यु । कुनै रेखामा गैंडाकोटको बस्ति । र धेरै रेखाहरूमा श्रम । मानिसको अनुहार पनि एउटा किताब रहेछ । फरक यति मात्र हो—यसका अक्षर पढ्न आँखाभन्दा मन चाहिन्छ ।
–––
हर्कमान कुनै ठूलो पदमा पुगेका मानिस होइनन् । उहाँको नाम कुनै ठूलो इतिहासमा भेटिँदैन । तर इतिहास सधैं राजाहरूले मात्र बनाउँदैनन् । कुनै इतिहास माटोको घर बनाउने मानिसले बनाउँछ । कुनै इतिहास परदेशमा पसिना बगाउने मानिसले बनाउँछ । कुनै इतिहास आफ्नी छोरी गुमाएर पनि अर्को बिहान उठ्ने बाबुले बनाउँछ । कुनै इतिहास घर छाडेर पनि जीवन नछाड्ने मानिसले बनाउँछ । कुनै इतिहास आश्रय पाएपछि त्यसलाई जीवनभर सम्झिरहने मानिसले बनाउँछ । हर्कमानको इतिहास यस्तै सानो–सानो अक्षरले बनेको छ । त्यसैले उहाँको जीवन ठूलो देखिन ठूलो घटना आवश्यक छैन । उहाँको जीवनको ठूलो कुरा यही हो—उहाँले हार मान्नुभएन ।
–––
आज उहाँ बसेको घरको भित्तामा सायद उहाँले बनाएका कुनै पुराना घरको सम्झना छैन । तर उहाँको मनमा ती घरहरू अझै छन् । कुनै घरमा खरको छाना छ । कुनैमा माटोको भित्ता । कुनै आँगनमा बच्चा दौडिरहेको छ । कुनै ढोकामा एउटी वृद्धा उभिएकी छिन् । कुनै घरमा साँझको धुवाँ उठिरहेको छ । र ती सबै घरको बीचमा एकजना मानिस छ—हातमा माटो । अनुहारमा पसिना । आँखामा थकान । तर मनमा एउटा अडिग विश्वास—“म यो घर उठाउन सक्छु ।” सायद त्यसबेला उहाँले सोच्नुभएको थिएन होला, उहाँ अरूका घर बनाउँदै–बनाउँदै आफ्नो जीवन पनि बनाइरहनुभएको छ ।
–––
समयसँग हिँड्नु भनेको समयलाई जित्नु होइन रहेछ । समयलाई रोक्नु पनि होइन । समयले जे खोस्छ, त्यसलाई स्वीकार गर्दै बाँकी रहेको बाटो समात्नु रहेछ । हर्कमानले त्यही गर्नुभयो । समयले छोरी खोस्यो । उहाँ हिँडिरहनुभयो ।
समयले घर टाढा बनायो । उहाँ हिँडिरहनुभयो । समयले परदेश पठायो । उहाँ हिँडिरहनुभयो । समयले आमा खोस्यो । उहाँ हिँडिरहनुभयो । समयले शरीर झुकायो । उहाँ अझै हिँडिरहनुभएको छ । सायद त्यसैले उहाँको जीवनको सबैभन्दा सुन्दर शब्द “संघर्ष” होइन । “निरन्तरता” हो ।
–––
एक दिन हर्कमानका पाइला पनि रोकिनेछन् । जसरी सबैका रोकिन्छन् । त्यो दिन उहाँले बनाएका घरहरू अझै उभिएका होलान् । सायद केही भत्किसकेका होलान् । सायद केहीमाथि नयाँ घर उठिसकेका होलान् । तर उहाँले छोडेको एउटा कुरा भने सजिलै भत्किने छैन—कामलाई सानो नठान्ने संस्कार । आफ्नो हातलाई विश्वास गर्ने साहस ।
दुःखपछि पनि फेरि उठ्ने बानी । र जीवनले जहाँ पु¥याए पनि, त्यहीँबाट नयाँ सुरुवात गर्न सकिन्छ भन्ने मौन विश्वास । माटोका घरहरू समयसँगै हराए । खरका छानाहरू फेरिए । ढुंगाका भित्ताहरूमा सिमेन्ट चढ्यो । गाउँ बदलियो । मानिस बदलियो । तर हर्कमानका हातले सिकेको एउटा कुरा बदलिएको छैन—“घर बाहिरबाट उठाइन्छ, जीवन भित्रबाट ।” उहाँले अरूका लागि धेरै घर बनाउनुभयो । तर जीवनले अन्ततः उहाँलाई एउटा ठूलो पाठ सिकायो—आफ्नो जीवनको घर बनाउन माटो र ढुंगा मात्र पुग्दैन । त्यसका लागि श्रम चाहिन्छ । सीप चाहिन्छ । आत्मसम्मान चाहिन्छ । र सबैभन्दा बढी—फेरि उठ्ने साहस चाहिन्छ ।
पचासी वर्षको उमेरमा हर्कमान श्रेष्ठ आज पनि यही साहसको सानो उज्यालो बोकेर हिँडिरहनुभएको छ । उहाँका पाइला पहिलेका जस्ता तीव्र छैनन् । तर बाटो अझै बाँकी छ । उहाँको ढाड पहिलेझैँ सीधा छैन । तर आत्मबल अझै ठाडो छ । उहाँका कपाल सेता भएका छन् । तर बिहान अझै बाँकी छ । र उहाँका हात—ती हात अझै कामको गन्ध चिन्छन् । सायद यही कारणले हर्कमान श्रेष्ठलाई हेर्दा एउटा पुरानो घर सम्झना आउँछ । समयले धेरैपटक मर्मत गरेको घर । कतै भत्किएको । कतै फेरि उठेको । तर अझै उभिएको ।
“हर्कमान श्रेष्ठ”
माटोबाट उठेका घरहरूको एउटा पुरानो कारीगर, समयले झुकाएको तर नढालेको एउटा मानिस, र पचासी वर्षको उमेरमा पनि समयसँगै हिँडिरहेको एउटा जीवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।