पहाडको गाउँमा बिहान अरू ठाउँभन्दा अलि चाँडै खुल्थ्यो। पूर्वतिरको डाँडामाथि घाम देखिनुअघि नै गङ्गा भान्सामा पुगिसकेकी हुन्थिन्। चुलोमा पानी बसिसकेको हुन्थ्यो। आँगनमा भएका फूलका पातहरूमा रातभर परेको शीतका थोपा टल्किरहेका हुन्थे। टाढाको बाटो हुँदै गाईबस्तु चराउन जानेहरूका पाइला र घाँस काट्न निस्कने महिलाहरूको आवाज बिस्तारै सुनिन थाल्थ्यो।
त्यही गाउँकी आस्था उच्च शिक्षा पढ्न विराटनगर आएकी थिइन्। उनी फुपू मायाको घरमा बसेर पढिरहेकी थिइन्। उनका दाजु सन्दीप केही वर्षदेखि विदेशमा काम गरिरहेका थिए। आफूले पढ्न नपाएको पीडा सम्झेर उनले बहिनीको पढाइमा कमी हुन दिएका थिएनन्। चाहिएको पैसा समयमै पठाइदिन्थे।
सन्दीपले पैसा पठाउन थालेपछि आस्थाले पनि खर्चमा निकै विचार गर्न थालिन्। अनावश्यक कुरामा पैसा खर्च गर्ने उनको बानी थिएन। कलेजबाट फर्केपछि खर्चको हिसाब कापीमा टिप्थिन् र महिनाको अन्त्यमा फेरि हेर्थिन्।
विराटनगरमै पढ्ने ध्रुवको परिवार भने आर्थिक रूपमा केही सम्पन्न थियो। उनका बुबा शम्भुनाथको व्यापार थियो। ध्रुव कलेजमा आस्थालाई दिनहुँ देखिरहन्थे। सुरुमा उनीसँग कुरा गर्ने कुनै बहाना भेट्टाउन सकेका थिएनन्।
एक दिन ध्रुवले आस्थासँग नोट मागे।
“तिमीसँग हिजोको नोट छ? एकछिन हेर्न पाउँछु?”
आस्थाले कापी दिइन्।
त्यहीबाट उनीहरूको कुराकानी सुरु भयो।
ध्रुवले कहिलेकाहीँ कफी खान जाऊँ भन्थे। आस्था भने मुस्कुराएर टारिदिन्थिन्।
“अहिले पढाइमै ध्यान दिनुपर्छ।”
“कफी खान जाँदा पढाइ बिग्रिन्छ र?”
“मलाई त त्यस्तै लाग्छ।”
ध्रुव हाँसिदिन्थे।
समय बित्दै गयो। एक दिन सन्दीपले पैसा पठाएपछि आस्थालाई नयाँ मोबाइल किन्ने इच्छा भयो। विराटनगरमा भन्दा जोगबनीमा मोबाइल केही सस्तो पाइन्थ्यो। त्यसैले उनी साथी सविनासँग जोगबनी गइन्।
मोबाइल पसलमा पुगेपछि उनले आफूले चाहेको एउटा फोन रोजिन्। मूल्य भने उनको बजेटभन्दा करिब दस हजार बढी थियो।
त्यही बेला संयोगले ध्रुव पनि त्यहाँ आइपुगे।
“तिमीहरू यहाँ?”
सविनाले हाँस्दै भनिन्, “मोबाइल किन्न आएका हौँ।”
ध्रुवले आस्थाले रोजेको मोबाइल हेरे।
“यो राम्रो छ। लामो समय चल्छ।”
आस्थाले पसलेतिर हेर्दै आफ्नो पैसा गनिन्। केही बेर चुप लागिन्।
ध्रुवले कुरा बुझिहाले।
“दस हजार कम परेको हो?”
“हो।”
“म दिन्छु। पछि पैसा भएपछि दिँदा हुन्छ।”
आस्थाले तुरुन्तै अस्वीकार गरिन्।
“हुँदैन।”
“किन?”
“तपाईंको पैसा किन लिनु?”
“सापटी हो। सहयोग होइन।”
धेरै बेरको कुरापछि आस्थाले पैसा लिइन्।
“तीन महिनाभित्र फिर्ता गर्छु।”
ध्रुव मुस्कुराए।
“हुन्छ।”
त्यो मोबाइल आस्थाले त्यस दिनदेखि जतन गरेर चलाउन थालिन्। केही सातामै उनी त्यसैमा बानी परिन्। वर्षौँसम्म एउटै सामान चलाउने उनको परिवारको बानी उनको जीवनमा पनि थियो।
तीन महिनापछि आस्थाले ध्रुवलाई दस हजार रुपैयाँ दिइन्। ध्रुवले लिन मानेनन्।
“राख न। मैले दिएको पैसा भनेर नसम्झ। एउटा सम्झना भनेर राख।”
आस्था केहीबेर उनलाई हेरिरहिन्। उनको मनमा पहिलोपटक एउटा कुरा उठ्यो—ध्रुवले साँच्चै उनलाई साथीभन्दा बढी केही ठानेका त होइनन्?
उता ध्रुवले पनि आस्थाले पैसा फिर्ता गर्न यति धेरै जोड दिएको कुरालाई आफ्नै ढङ्गले बुझेका थिए।
केही समयपछि ध्रुवले आफ्नो जन्मदिनमा आस्थालाई बोलाए। आस्थाले धेरै सोचेर उनलाई एउटा पार्कर कलम उपहार दिइन्।
“यो किन?”
“जन्मदिनको उपहार।”
ध्रुवले कलम हातमा लिएर मुस्कुराए।
“धन्यवाद।”
पढाइ सकिएपछि आस्थाले केही दिनका लागि घर जाने योजना बनाइन्। तर गाउँ पुग्नुअघि नै खबर आयो—बुबा टेकबहादुरको स्वास्थ्य बिग्रिएको छ।
घर पुगेपछि उनले सोचेभन्दा बढी समस्या देखिन्। गङ्गा एक्लैले घर र बिरामी श्रीमान् दुवै सम्हाल्न गाह्रो मानिरहेकी थिइन्।
आस्था केही दिन बसेर फर्कने सोचमा थिइन्। तर बुबाको अवस्था हेरेपछि फर्किन सकिनन्।
एक बिहान गङ्गाले भनिन्,
“तँ फर्किए पनि हुन्छ नि। यहाँ म सम्हाल्छु।”
आस्थाले बुबाको औषधि मिलाउँदै भनिन्,
“अहिले तपाईं एक्लैले कसरी सक्नुहुन्छ र? म केही दिन यतै बस्छु।”
त्यसपछि उनको विराटनगर फर्कने समय पछि सर्दै गयो।
ध्रुवले फोन गर्थे। आस्थाले पनि कहिलेकाहीँ कुरा गर्थिन्।
“कहिले फर्किन्छौ?”
“बुबा अलि ठीक भएपछि।”
“धेरै दिन भयो।”
“मलाई पनि थाहा छ।”
त्यसपछि दुवै केहीबेर चुप लाग्थे।
समय भने आफ्नै गतिमा अघि बढिरह्यो।
००
टेकबहादुरको स्वास्थ्य सोचेभन्दा बढी बिग्रिएको थियो। गाउँको स्वास्थ्य चौकीमा उपचार भइरहे पनि राम्रो सुधार आएको थिएन। वर्षा सुरु भएको थियो। घरको छानोमा पानी परेर टप्–टप् आवाज आउँथ्यो। बाटो हिलाम्मे थियो। बिहान आँगन बढार्दा पनि गङ्गालाई फेरि पानीले फोहोर बनाइदिन्छ कि भन्ने चिन्ता हुन्थ्यो। उता ध्रुव भने उच्च शिक्षाका लागि काठमाडौं गइसकेका थिए। उनीहरूबीच महिनामा एकपटकजस्तो फोन हुन्थ्यो।
“बुबाको अवस्था कस्तो छ?”
“अहिले अलि ठीक हुनुहुन्छ।”
“तिमी कहिले आउँछौ?”
“उहाँलाई अलि ठीक हुन देऊ। त्यसपछि आउँछु।”
ध्रुव केहीबेर चुप लागेर भन्थे,
“हुन्छ। आफ्नो ख्याल राख।”
काठमाडौंमा पढाइको व्यस्तता बढ्दै गयो। ध्रुवको हातमा आस्थाले दिएको पार्कर कलम अझै थियो। कहिले नोट लेख्दा, कहिले फाराम भर्दा उनी त्यही कलम चलाउँथे। कलम देख्दा उनलाई विराटनगरको कलेज, जोगबनीको मोबाइल पसल र आस्थाको अनुहार सम्झना आउँथ्यो।
त्यसैबीच शम्भुनाथले ध्रुवलाई विदेश गएर थप पढ्न सल्लाह दिए। केही समयपछि ध्रुव विदेश गए।
त्यसपछि उनीहरूबीचको सम्पर्क झन् पातलियो। महिनामा हुने फोन पनि बन्द भयो। दुवैका नम्बर परिवर्तन भए। आस्थाको पुरानो मोबाइल भने चलिरह्यो।
कहिलेकाहीँ मोबाइलको स्क्रिनमा नयाँ सूचना आउँदा आस्था एकछिन रोकिएर हेर्थिन्।
‘कतै उसकै फोन त होइन?’
‘उसकै मेसेज त होइन?’
तर स्क्रिनमा अरूकै नाम हुन्थ्यो।
एकपटक आस्थाले फेसबुकमा ध्रुवको नाम खोजिन्। ध्रुवले पनि उनलाई फेसबुकमा खोजेका थिए। तर दुवैले प्रोफाइलमा आफ्नो तस्बिर राखेका थिएनन्। त्यसमाथि दुवैले मोबाइल नम्बर परिवर्तन गरिसकेका थिए। नाम एउटै भएका धेरै प्रोफाइल देखिन्थे। कसैलाई आफूले खोजेको व्यक्ति हो भनेर चिन्ने आधार भएन।
यसरी वर्षहरू बिते।
करिब आठ वर्षपछि गाउँका केही युवाहरू आस्थाको हात माग्न घर आउन थाले। सुरुमा उनले विवाह गर्न मानिनन्।
“अहिले मलाई विवाह गर्न मन छैन।”
गङ्गाले सम्झाइन्,
“जीवन एक्लै चलाउन सजिलो हुँदैन छोरी।”
सन्दीपले पनि विदेशबाट फोन गरेर भने,
“तिमीले आफ्नो जीवनबारे सोच्नुपर्छ। छोरीले सदैव जन्मघर बस्ने प्रचलन पनि छैन।”
धेरै सोचविचारपछि आस्था विवाहका लागि तयार भइन्।
त्यही समयमा टेकबहादुरको स्वास्थ्य फेरि बिग्रियो।
उपचारका लागि आस्था बुबालाई लिएर विराटनगर आइन्। केही समयपछि बुबाको स्वास्थ्यमा सुधार आएपछि आस्था फेरि बुबालाई गाउँ पुर्याएर विराटनगर फर्किइन्। त्यहाँ बसेर उनले डिप्लोमाको पढाइ पूरा गरिन्।
पढाइ सकिएपछि नजिकैको गाउँकै माध्यमिक विद्यालयमा पढाउन थालिन्।
आस्थाको हातमा त्यही पुरानो मोबाइल थियो। स्क्रिनमा सानो चिरा परेको थियो। ब्याट्री पहिलेभन्दा छिटो सकिन्थ्यो। कहिलेकाहीँ चार्जर जोडेर राख्नुपर्थ्यो। नयाँ मोबाइल किन्न सक्ने अवस्था हुँदाहुँदै पनि उनले त्यसलाई फेरेकी थिइनन्।
त्यो मोबाइलसँग आठ वर्ष पुरानो एउटा सम्झना जोडिएको थियो।
उता ध्रुवको जीवन पनि अर्कै दिशामा अघि बढिरहेको थियो। पढाइ पूरा गरेर उनी चिकित्सक बने। पछि सरकारी अस्पतालमा काम गर्ने अवसर पाए र विराटनगरमै फर्किए। समय बिस्तारै आफ्नै पाराले बित्दै थियो।
एक दिन बिहान टेकबहादुरलाई फेरि अस्पताल लैजानुपर्ने भयो। यसपटक उनले विदेशमा भएको दाजुलाई पनि खबर गरिन्। सन्दीप पनि विदेशबाट घर फर्किए। सन्दीपको मनमा दुईटा कुरा थिए। बुबाको इलाज गर्ने अनि मिल्यो भने यसपटक आस्थाको पनि विवाह गरिदिने। गाउँबाट सन्दीप र आस्थाले बुबालाई इलाजको लागि एम्बुलेन्समा विराटनगर ल्याए।
आस्था औषधि किन्न फार्मेसीमा पुगेकी थिइन्। त्यही बेला उनको नजर अगाडिको सेतो कोटमा पर्यो।
ध्रुव।
आस्था एकछिन उभिइरहिन्।
ध्रुवले पनि उनलाई चिनिहाले।
“आस्था?”
ध्रुवले सन्दीपलाई पनि चिने र हल्का मुस्कुराए।
“ध्रुव?”
आठ वर्षको दूरी त्यही दुई शब्दबीच उभिएको थियो।
ध्रुवले टेकबहादुरको स्वास्थ्यबारे सोधे। कुरा सुनेपछि उनले भने,
“प्राइभेट अस्पतालमा बढी किन खर्च गर्ने। बुबालाई मेरो अस्पतालमा ल्याउनुहोस्। एकपटक राम्रोसँग जाँच गरौँ।”
टेकबहादुरलाई ध्रुवले काम गर्ने सरकारी अस्पताल लगियो।
०००
विराटनगरको त्यो बिहान अरू दिनभन्दा केही चिसो थियो। राति परेको पानीका थोपा अस्पतालअगाडिका रूखका पातमा अड्किएका थिए। सडकमा मोटरसाइकल र सिटी सफारीको आवाज बिस्तारै बढ्दै थियो। अस्पतालको गेटभित्र बिरामीका आफन्तहरू हातमा कागज र औषधिको झोला बोकेर ओहोरदोहोर गरिरहेका थिए।
ध्रुवले टेकबहादुरको उपचारमा ध्यान दिए। जाँचहरू भए। औषधि फेरियो। करिब एक महिनापछि स्वास्थ्यमा राम्रो सुधार आयो। चिकित्सकहरूले अब घरमै आराम गर्न सकिने बताए।
एक दिन ध्रुवले आस्था र सन्दीपलाई क्याफेमा चिया खान बोलाए।
क्याफेमा धेरै भीड थिएन। झ्यालबाहिर सडकमा मानिसहरू हतारिँदै हिँडिरहेका थिए। टेबलमा राखिएको चिया बिस्तारै सेलाउँदै थियो।
ध्रुवले आस्थातिर हेरे।
“तिमीसँग अहिले पनि त्यही मोबाइल छ?”
आस्थाले मोबाइल टेबलमा राखिन्।
“छ।”
ध्रुव मुस्कुराए।
“अझै चलिरहेको छ?”
“चलिरहेको छ। अलि ढिलो हुन्छ, तर चल्छ।”
ध्रुवले आफ्नो हातमा रहेको पार्कर कलम टेबलमा राखे।
आस्थाको नजर त्यसमाथि पुग्यो।
“अझै यही?”
“हो।”
आस्थाले केही भनिनन्।
ध्रुवले कलम उठाए।
“तिमीले दिएको हो नि।”
केहीबेरपछि उनले सहज रूपमा भने,
“तिमीलाई साथीको रूपमा सधैँ राम्रो लाग्थ्यो। त्यतिबेला तिमीलाई केही सहयोग गर्न पाउँदा मलाई पनि विशेष आनन्द आउँथ्यो।”
आस्थाले चियाको कपतिर हेर्दै भनिन्,
“मैले पनि त्यो बेला धेरै कुरा बुझिनँ।”
“समय नै त्यस्तै थियो।”
सन्दीप दुवैतिर हेरेर मुस्कुराए। कुराकानी अरू विषयतिर मोडियो। ध्रुवले विदेशमा काम गर्दाका केही अनुभवहरू सन्दीपसँग बुझ्न खोजे। सन्दीपले पनि सजिलो र अप्ठ्यारो दुवै पक्षका अनुभव सुनाए।
त्यो दिन ध्रुवले अन्य कुराहरू केही गरेनन्। आस्थाले पनि केही सोधिनन्।
क्याफेबाट निस्कँदा आस्थाले आफ्नो पुरानो मोबाइल झोलामा राखिन्। ध्रुवले पनि पार्कर कलम आफ्नो कोटको खल्तीमा राखे।
आठ वर्षको दूरी एकैदिनमा सकिएको थिएन। पुरानो संकोच अझै बाँकी थियो। त्यो कति समय रहने हो, अड्कल गर्न गाह्रो थियो।
तर केही कुरा समयसँगै हराउँदा रहेनछन्।
क्याफेबाट फर्किएपछि आस्था, उनका दाजु र बुबा एम्बुलेन्समै घर फर्किए। घरमा टेकबहादुर आराम गरिरहेका थिए। सन्दीप औषधिको झोला मिलाउँदै थिए। सन्दीपकी श्रीमती आँगन बढारिरहेकी थिइन्।
आस्थाले आफ्नो पुरानो मोबाइल चार्जमा लगाइन्। केहीबेरपछि स्क्रिनमा बत्ती बल्यो। उनले मोबाइल उठाएर हेरिन्। कुनै नयाँ सन्देश थिएन।
त्यही बेला मोबाइल बज्यो।
स्क्रिनमा ध्रुवको नाम देखियो।
आस्थाको हात एकछिन रोकियो। उनले फोन उठाइन्।
“हेलो?”
उताबाट ध्रुवको आवाज आयो।
“तिम्रो फोन एकछिन दाजुलाई देऊ न। देऊ न है, उहाँसँग केही गफ गर्नुछ।”
आस्थाले केही नबोली मोबाइल सन्दीपतिर बढाइन्।
“दाजु, ध्रुवको फोन।”
सन्दीप मोबाइल लिएर बाहिर आँगनतिर गए।
आस्था भान्साको ढोकाछेउमा उभिएर उतैतिर हेर्न थालिन्। सन्दीप कहिले टाउको हल्लाउँथे, कहिले मुस्कुराउँथे। केहीबेरपछि उनको अनुहार झन् उज्यालो देखिन थाल्यो।
फोनमा गफ सकेपछि उनी फेरि भित्र आए।
आस्थाले सोधिन्,
“ध्रुवले तपाईँसँग के भन्दै थिए?”
सन्दीपले बहिनीलाई मोबाइल दिँदै उनीतिर हेरेर मुस्कुराउँदै भने,
“ध्रुवले तिमीलाई माग्दै थिए। तपाईंहरूको परिवारको स्वीकृति भए म उनीसँग विवाह गर्न चाहन्छु।”
आस्थाले आँखा ठूलो पारेर सोधिन्,
“हँ! के अरे दाजु?”
लाजले आस्थाका आँखा निहुरिए। अनुहारमा एकाएक रातो छाया देखियो।
सन्दीप हाँसे।
“मैले सुनेको कुरा यही हो।” यसो भन्दै बहिनी लजाएको देखेर सन्दीप कोठाबाट बाहिरिए।
आस्थाले नजर उठाउन नपाउँदै उनको हातमा रहेको मोबाइलको स्क्रिन फेरि बल्यो।
ध्रुवको मेसेज आएको थियो—
“दाजुले बोलाएपछि म तिमीलाई परिवारसहित माग्न आउनेछु।”
आस्थाले त्यो सन्देश दुईपटक पढिन्।
उनले मोबाइल बिस्तारै छातीमा टाँसिन्।
आठ वर्षअघि जोगबनीको पसलमा हातमा लिएको त्यही मोबाइल अझै उनको साथमा थियो। त्यही मोबाइलबाट आएको एउटा सन्देशले आज उनको अगाडि अर्को बाटो खोलिदिएको थियो।
उनले बाहिर हेरिन्। सधैँभन्दा आजको दिन झन् उज्यालो लाग्दै थियो।
दाजु बुबाआमासँग गफ गर्दै हाँसिरहेका थिए।
आस्थाको मनमा एक प्रकारको रमाइलो थियो भने ओठमा मुस्कान नाच्दै थियो।