नेपाली कथा साहित्यको क्षेत्रमा हायमनदास राई किरात एक सम्मानित र वरिष्ठ नाम हो। अझ भारतीय परिप्रेक्ष्यमा उनी नेपाली कथाकारहरूका जेठा दाजु वा 'ठुल्दाजु' थिए। उनी प्रथम आधुनिक नेपाली कथाकार मानिएका रूपनारायण सिंह र गुरुप्रसाद मैनालीको समयदेखि नै कथा लेख्न थालेका हुन् । गुरुप्रसाद मैनालीको पहिलो मानिएको 'नासो' कथा छापिएकै 'शारदा' पत्रिकाको १६६१-को अङ्कमा किरातको 'शूरवीर' कथा प्रकाशित देखिन्छ। यस अनुसार पनि किरात आधुनिक नेपाली कथाको उठानकालका कथाकार हुन् । त्यसरी वि० सं० १६६१ तदनुसार सन् १६३४ सालतिरै काठमाडौंको 'शारदा' जस्तो प्रतिष्ठित पत्रिकामा कथा छपाई आफ्नो कथाकार प्रतिभाको अस्तित्वको मोहरछाप दिएर किरातले भारतीय नेपाली कथा साहित्यलाई अघि बढ़ाएका हुन्। अझै पनि उनी कथा-लेखनमा सक्रिय रही पुराना र नयाँ पिँढ़ीका कथाकारका निम्ति 'ठुल्दाजु' वा अभिभावक बनी टेवा दिइरहेका थिए ।
किरात एक निःस्वार्थ रूपमा साहित्य सेवा गर्ने एक सेवक थिए । उनको लेखनको सेवा र प्रकाशनको सेवा दुवै गरिमामय रहेको देखिन्छ। जतिबेला दार्जिलिङमा साहित्यिक पुस्तक छापिदिने प्रकाशन अति दुर्लभ थियो, साहित्यका आफ्नो लेखन प्रतिभालाई प्रकाश पार्ने कुनै उपाय थिएन, त्यतिबेला रोकथाम जस्तो अभेक ठाउँमा 'नवयुग नेपाली पुस्तक मन्दिर' जो हिलो प्रकाशन संस्था खोली साहित्यको ठूलो सेवा गरेकाथिए । पचासको दशकको उक्त प्रकाशन संस्थाबाट इन्द्रबहादुर राई, हृदयचन्द्रसिंह प्रधान लगायत अन्य दिग्गज र सिकारू कलमका सिर्जनालाई प्रकाश पारिदिएका हुन् । त्यस नवयुग नेपाली साहित्य मन्दिरका उनी प्रमुख हर्ताकर्ता थिए। त्यो संस्था कतिपय कारणवश केही वर्ष चलेर बन्द भएको थियो। यद्यपि किरातको त्यो प्रकाशक बनी सेवा गर्ने धोको अझै मेटिएको थिएन। त्यस सेवालाई अझ पुनर्जागरण गरी हाल उनी 'कथार्थ' नामक प्रकाशन संस्थामा रहेका छन्। आफ्नो प्रिय विद्या कथालाई टेवा दिने उद्देश्यले 'कथार्थ' मार्फत् प्रकाशन गर्ने धोको पूरा गरिरहेका थिए।
किरात मूल रूपमा कथाकार हुन्। उनको कथालेखन यात्राले आजसम्म लगभग साठी वर्षको लामो घुम्ती पार गरिसकेको थियो। उनी अनवरत, अविश्रान्त र निःस्वार्थ लेखन सेवा पुयाइरहेका थिए। उनी विज्ञापन, होहल्ला र कीर्तिइप्सादेखि बाहिर रही काम गरिरहेका थिए। उनलाई न जस पाउने लोभ छ न पुरस्कार न धन कमाउने लालसा। बरू उनी आफूले आजीवन गरेको आजीवन मास्टरीको पेशाबाट सङ्ग्रह गरेको दुइ-चार पैसा त्यही 'कथार्थ' प्रकाशनका निम्ति काम गरिरहेका थिए। उनी सय वर्षको उमेरसम्म पनि समयको महत्त्वलाई बुझी साहित्य सिर्जनामा सक्रिय थिए। उनी कथाकार भएकोले नयाँ-नयाँ कथा सिर्जना गरिरहेका थिए। उनका कथामा यस्तो र उस्तो छ, कथाको खुराक पुग्यो वा पुगेर, सबल छन् वा दुर्बल छन्, कथातत्त्वका आधारमा उनका कथा खरो उत्रन्छन् वा उग्दैनन्, कथावस्तुको बुनोट संगठित र विन्यस्त छन् वा छैनन् इत्यादि कुराहरू हेर्ने काम समीक्षकहरूको हो। उनी त निष्ठावान वा एकनिष्ठ भई आफ्ना हृदयमा खिलेका कुरालाई कथाका रूपमा प्रस्तुत गर्छन्। यसर्थ, उनी लेखनगत् इमानदार थिए।
पुस्तक प्रकाशनको हकमा उनका 'चौकीदार', 'अभागिनीको साथी', 'बिनायो', 'विजय', 'बटुवा', 'आँधीबेहरी', 'पखी', 'केही नमिलेका रेखाहरू' र 'हाइकिङ' गरी जम्मा नौवटा कथासङ्ग्रह प्रकाशित छन्। किरातको कक्षाकारितामाथि गम्भीर अध्ययन गर्ने प्रा० बलराम पाण्डेका अनुसार उनका कथाहरूमा पाइने मूल-मूल प्रवृत्तिहरू आठवटा छन्' (१) ग्रामीण जनजीवन र निम्नवर्गीय जीवनको चित्रण, (२) रोमाण्टिक, (३) सामाजिक यथार्थवादी, (४) सामाजिक कुरीतिको आलोचना, (५) ऐतिहासिक सन्दर्भको उल्लेख, (६) प्रेमको प्रसङ्ग र विविध रूप, (७) विज्ञान कथा र (८) मानवतावादी स्वर। किरातका कथाहरूमा रोमाण्टिक भाव बढ़ी मात्रामा पाइन्छ। यो कुरो उनी स्वयं स्वीकार गर्छन् । मान्छेका भावनामा रहेको रतिभाव, यौनभाव, विपरीत लिङ्गप्रति आकर्षण, प्रेम-प्रीति इत्यादिबाट उब्जेका नौला-नौला घटना, प्रसङ्ग र पक्षहरूलाई किरातले आफ्ना कथाहरूमा स्थान दिएका छन्। उनका कथामा यौनका हलुका स्पर्शसमेत वर्णित पाइन्छ। हुन पनि यौन सृष्टिको मूलाधार हो र यसलाई आफ्ना कथामा उतार्नु कथाकारको रूचिको विषय हो। समाजका निम्न-निमुखा वर्गका युवा-युवतीका प्रेमका फिलुङ्गा, धुक्युकी र उतार-चढ़ाउ, घात-प्रतिघात, सफलता-विफलताजस्ता कुराहरूलाई किरातले प्रमुख स्थान दिएका छन्।
किरातको आफ्नो लामो जीवनमा देखापरेका विभिन्न उकाली-ओहाली, सुख-दुःख, हाँसो-रोदन, प्राकृतिक आपदा र खुशीयाली, आर्थिक आपदा, आफ्नो गाउँ-घर-समाजतिर फटेका अनेकौं प्रकारका घटना र दृश्यावली, देखेका र सुनेका कुराहरू, रमाइला र अद्भूत घटना आदिलाई उनले आफ्ना कथाहरूमा उतारेका छन् । उनले आफ्ना अघिल्ला दौंतरीहरू गुरुप्रसाद मैनाली, सोमध्वज विष्ट, विश्वेश्वरप्रसाद कोइराला, शिवकुमार राई, इन्द्र सुन्दास, इन्द्रबहादुर राई, एम० एम० गुरुङदेखि लिएर आजका उदय थुलुङ, प्रदीप गुरुङ, सञ्जय विष्ट, प्रवीण राई जुमेली, शमशेर अली प्रभृतिसम्मका कथाहरू अध्ययन गर्न पाएका र भ्याएका छन्।
हुन त किरातको लगभग साठी वर्षे कथा-लेखन यात्रामा कथागत ढाँचा, परिपाटी, प्रवृत्ति, विशेषता र मूल कथ्य प्रायः उस्तै-उस्तै किसिमका छन्। उनी बढ़ी परिवर्तन भएनन् । सन् १६५२ मा प्रकाशित 'चौकीदार' कथासङ्ग्रहदेखि वर्ष २०१० मा प्रकाशित 'हाइकिंग' कथासङ्ग्रहसम्मका कथाहरू प्राय: उस्तै ढपका छन् । हुनता उनका कथाका विषयगत विभिन्नता र प्रस्तुतिगन नवीनता पाइए तापनि ढाँचा, परिपाटी, कथ्य, बुनोट, शिल्प संरचनामा खायेमे परिवर्तन आएको पाइन्न । भनौं भने, उनको जुन पुरानै लेखन ट्रयाक छ, त्यसलाई छाडेका छन्। यस अर्थमा उनलाई अविचलित भई आफ्नो पाराले कथा लेख्ने इमानदार कथाकार मान्न सकिन्छ।
सन् १६५२ सालमा नवयुग नेपाली साहित्य मन्दिरको प्रकाशनबाट प्रथम संस्करण र सन् २००३-मा 'कथार्थ' प्रकाशनबाट दोस्त्रो संस्करणको रूपमा प्रकाशित 'चौकीदार' किरातको पहिलो कथासङ्ग्रह हो। भारतीय नेपाली कथा क्षेत्रमा यस कथासङ्ग्रहको एउटा विशेष ऐतिहासिक महत्त्व रहेको छ। यसमा 'चौकीदार', 'संस्कार', 'गीत मेटिन्छ', 'केशर', 'प्रतिशोध', 'बिजुलीको चमक', 'पृथिवी रूखो भएपछि', 'मेरी घरकी', 'सन्ध्या' गरी जम्मा नौवटा कथाहरू सङ्ग्रहित छन्। यस सङ्ग्रहका अधिकांश कथाहरू सामाजिक यथार्थवाद र कुनै स्वच्छन्दतावादको धरातल टेकेका छन्। आफ्ना भावनामा फुरेका चित्र-विचित्रका भाव-बिम्ब र तरङ्ग-तरेलीहरूलाई उनले यी नौवटा कथाहरूमा अभिव्यक्ति दिएका छन् ।
सङ्ग्रहको 'चौकीदार' कथामा दाम्पत्य प्रेम र जीवनमा आइपर्ने केही समस्या, समझदारी-असमझदारी, सम्झौताहरूलाई प्रस्तुत गरिएको छ। चियाकमानको कारखानाको चौकीदारले भर्खरै बिहे गरेर पनि राम्ररी सुखभोग गर्न नपाएकोमा एकप्रकारले छट्पटी र लालसा रहेको हुन्छ। आफ्नो साथी धनवीरले रातको बाह-एक बजेसम्म उसलाई पालो दिन नआउँदा उ कुण्ठित भई धनवीरलाई अनेक शङ्का-उपशङ्का गर्दछ। एक दिन राती चौकीदार आफ्नो घर जाँदा धनवीरले आफ्नी स्वास्नी सिम्मालाई धम्क्याएर शारीरिक सम्भोग गर्न खोजेको देख्छ र उसले धनवीरलाई पिट्छ। धनवीर चलाकी गरेर फुत्कन्छ। चौकीदार सोझो छ। उसकी स्वास्नी सिम्माको बिहेअघि धनवीरसँग प्रेम-प्रसङ्ग र शारीरिक लसपस भए पनि बिहेपछि चाहिँ चौकीदारप्रति इमानदार छे। यसर्थ, धनवीरले उसलाई शरीर माग्दा उ मानेकी थिइन। धनवीरले दिएको तीनपाने रक्सी र कोटमा चौकीदार फुरूक्क भइ धनवीरलाई माफी दिइहाल्छ । चौकीदारले एक दिन स्वास्नी सिम्मालाई जिस्काएर मन चोर्ने हुँदा सिम्माले आँसुसरि भई माया-प्रेम र भक्तिको वाचा कस्छे। पानी परिसकेपछिको स्वच्छ
नीलाकाश झें सिम्मा पनि स्वच्छ भई उप्रति समर्पित रहेको कुरा व्यक्त गर्छ। वास्तवमा चौकीदार र सिम्मा दुवै सोझा, निरीह, इमानदार र पवित्र छन्। तिनमा कुनै कलुषित भाव र खोट छैन। हाम्रो समाजका निम्न आर्थिक वर्ग मात्र होइन सबै वर्गका धेरै दाम्पत्य जीवन भोगिरहेका मानिसहरूको आम विषय हो शंका र त्यसको हरण। लोग्ने स्वास्नीको पवित्र नातामा कतिपय साना-ठूला कुराहरू आउँछन्-जान्छन् तर प्रेम र बन्धन कायम रहन्छन्- रहनुपर्छ। प्रस्तुत कथाको कथावस्तुको रूचिक्षेत्र कमाने जीवनको चित्रण हो भने यसको रीतिक्षेत्र सामाजिक यथार्थवाद हो। चौकीदार, धनवीर र सिम्मा गरी तीनजना पात्रको मात्र सहभागिता रहेको प्रस्तुत कथामा तृतीय पुरुष सर्वज्ञ दृष्टिविन्दुको प्रयोग गरिएको छ। यसमा अभिधात्मक अर्थसापेक्ष रहेको छ भने कथावस्तु रैखिक ढाँचामा आबद्ध छ।
'संस्कार' कथामा प्रेमको निःस्वार्थ, प्राकृतिक, निर्मल र स्वाभाविक रूपको वर्णन पाइन्छ। प्रेम त स्फटिक जस्तो चोखो निष्कलङ्क हुन्छ औ यसका अघि जात, धर्म, संस्कार, परम्परा, रूढ़ी केही होइनन्। कथामा नवयुवती पूर्णिमा र चित्रकारबीच जुन आत्मिक, नैसर्गिक, निःस्वार्थ, निष्काम प्रेम थियो त्यो नै सर्वोपरी हो। उक्त चित्रकारप्रति पूर्णिमाको प्रेमाशक्ति देखेर उसकी बोज्यूले उसलाई अन्यत्र पठाउँछे। त्यस दिनदेखि चित्रकार पनि त्यहाँबाट पलायन भयो। चित्रकारले बनाइदिएको आफ्नो चित्रलाई प्रेमको प्रतीक मानी पूर्णिमा मावल बस्न भनी जान्छे। त्यसरी उ 'जानु' मा धर्म, संस्कार, जात-पातको रूढ़ीबुढ़ी अन्तर्निहित थियो। यस कथामा कथावस्तुको न्यूनता छ भने वस्तु रैखिक ढाँचाको छ। पूर्णिमा, चित्रकार र बज्यै गरी तीनजना पात्र-पात्रा मात्र रहेको यस कथामा परोक्ष चरित्र चित्रण परिपाटी रहेको छ।
'गीत मेटिन्छ' कथामा पनि प्रेमको अर्को रूपको वर्णन छ। मज्जु भन्ने एउटी गीत गाइहिँड्ने नारीको विगतमा रहेको प्रेम र त्यसमाथि अनेकौं तगाराहरूको उल्लेख छ। प्रेम त सबैको जीवनमा एकपल्ट आउँछ। धनी मात्र होइन समाजका गरीब र तल्ला वर्गका मानिसमा पनि प्रेमको हुरी आउँछ। त्यहाँ पनि अनेकौं घात-प्रतिघात, मित्र-वैरी, अड्चन तगाराहरू कमी हुँदैनन्। गीत गाइहिँड्ने बालम र मज्जुबीचको सुमधुर प्रेममा उसमान आई भाँजो हाली तिनीहरूलाई बिथोल्ने काम गर्छ। पतिभक्ति र प्रेमको हकमा मज्जले कुनै भूल गरेकी छैन। बालमप्रति उ इमानदार छे, उसलाई निःस्वार्थ प्रेम गर्छ तर अर्काको कुरा सुनेर आफ्नी एकनिष्ठ पत्नीलाई अनेक शंका उपशंका गरी त्याग्ने बालम नै दोषी छ। आफ्नी छोरी होइन भनेर पत्नीसमेत लत्याउने पुरुष बालममा नै प्रेमको अभाव थियो। प्रेमलाई बुझ्न नजानेपछि उ आफै बिलाइ परिवारसमेत तहस-नहस पायो।
यस कथाको रूचिक्षेत्र ग्रामीण जनजीवन हो भने यसको रीतिक्षेत्र सामाजिक यथार्थवाद हो। यसमा मज्जु मुख्य पात्रा हो भने बालम सहायक पात्र हो। उसमानलाई खलपात्रको रूपमा उभ्याइएको छ। म पात्र र उसकी स्वास्नीलाई पनि सहायक पात्र-पात्राको रूपमा मान्न सकिन्छ। यसको कथावस्तु वृत्ताकारिक ढाँचाको छ। म पात्र र उसकी स्वास्नीले एउटी गीत गाइहिँड्ने नारी मज्जुनुलाई भेटेपछि मज्जुले सुनाएको आफ्नो पूर्वकथाको प्रस्तुत छ यो कथा। यसमा पूर्वद्वीप्ति शैली अपनाइएको छ। कथामा प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग पाइन्छ यद्यपि 'म' पात्रको भूमिका अति नगण्य छ भने मज्जुको आफ्नो कहानी सुनाउँदा पनि म पात्रकै प्रयोग भई दृष्टिविन्दु स्थानान्तरित गरिएको छ। यसरी प्रथम पुरुषदेखि प्रथम पुरुषमा नै स्थानान्तरित भएको दृष्टिविन्दुको प्रयोगले कथा सबल बनेको छ। यसमा मज्जुले बोलेको हिन्दी र हिन्दीमिश्रित नेपाली बोलीले स्थानीय रङ्ग भरिएको छ।
'केशर' कथामा साम्प्रदायिक दङ्गा र उन्माद तथा त्यसले जन्माएको सामाजिक विकृति, विसङ्गति र बर्बादीलाई कथ्य-विषयवस्तु बनाइएको छ। केशर र उसकी पली बिनीता साम्प्रदायिक दङ्गाको चपेटमा परी अलग-अलग हुनपुग्छन् र पछि कालान्तरमा भेट हुन्छन्। धार्मिक, साम्प्रदायिक र जातीय उन्मादले वास्तवमा कसैको भलो गर्दैन। यसले सबै पक्षलाई तहसनहस पारिदिन्छ। बाहिर एक-अर्कालाई मार्न खोज्नेहरू जेलभित्र त एउटै थालमा एउटै खाना खान्छन् । जेलबाहिर पनि त्यसरी नै मिले कुनै समस्या आउँदैन। यस्ता दङ्गाबाट अराजकता, हत्या, हिंसा, बलात्कार, अपहरण, प्रतिहिंसा, प्रतिशोध, आगजनी काण्डहरूले मात्र फस्टिने मौका पाउँछन् र अनेकौं निर्दोषहरू यस्ता कुराहरूको शिकार बन्छन् । केशर र विनीताको परिवारको शान्त पोखरीमा व्यर्थैमा परिस्थितिले ढुंगा हानी छताछुल्ल पारिदिन्छ। आफ्नो जीउ जोगाउन बुर्का ओढ़ी मुसलमाननी बनेकी बिनीता र केशरको फेरि भेट हुन्छ। मानिसका जीवनमा विभिन्न सङ्कटावस्था आउँछन्, जो सामान्य रूपमा चिताइएको हुँदैन। त्यस असामान्य स्थितिको चित्रण गरी कथाकारले कल्पनाको ढोका खोलेका छन् ।
'प्रतिशोध' कथामा परिवारबाट तिरस्कृत हर्कराज आफ्नो घर-थात छाडेर मुग्लानतिर जानुपरेको मूल घटना छ। उ आफ्ना सौतेला दाजुहरूप्रति प्रतिशोधको भावना लिएको हुन्छ । मुग्लानमा बस्ता एउटी छोरी देवलक्ष्मी जन्माइ हर्कराजकी स्वास्नी पनि मर्दछे। एक दिन साँझमा एउटा बिरामी युवक लाचार अवस्थामा पाहुना लाग्छ। त्यो पाहुना युवक जाती भएर त्यही घरमा छोरा समान र देवलक्ष्मीको दाजु भई रहँदछ। एकपल्ट तिहारको उपलक्ष्यमा भाइ टीका लगाई बहिनी देवलक्ष्मीलाई दिने दक्षिणा भनी साँचेको पैसा बाबु हर्कराजले जबर्जस्ती माग्दछ। यसैभित्र हर्कराजको आफ्नो दाजुहरूप्रति रहेको प्रतिशोध हुनसक्छ । हुनसक्छ उक्त युवक आफ्ना दाजुहरूको सन्तान भएको हर्कराजले चाल पाएको र उसलाई भाइ टीकाको दक्षिणा खोसेर प्रतिशोध लिएको हो। अर्को सम्भावित अर्थ हर्कराजलाई छोरी देवलक्ष्मीको बिहेको झमेला र चिन्ता हुनाले ती दुई दाजु-बहिनीको नातामा भन्दा पति-पत्नीको नाता रहोस् भन्ने चाहेको हुनसक्छ। यद्यपि अघिल्लो अर्थ नै बढ़ी सम्भावित देखिन्छ। आफ्नी स्वास्नीले लगाएका गरगहना धरि खोस्ने दाजुहरूप्रति प्रतिशोध लिन उसले छोरीलाई गहना बनाइदिनु र त्यो युवक दाजुहरूको सन्तान भएको चाल पाएर दक्षिणा दिन रोकेको कारण हुनसक्छ ।
यस कथाको कथा-वस्तुमा हुनुपर्ने औचित्य, स्वाभाविकता र कार्यकारण सम्बन्धको तालमेल रहेको देखिन्न। यसको शीर्षक नै गुजुल्टिएको छ। यसमा वृत्ताकारिक कथावस्तुको ढाँचा पाइन्छ भने पूर्वद्वीप्ति शैली रहेको छ। यसको मूल पात्र-पात्रा हर्कराज, देवलक्ष्मी र युवक हुन् भने अन्य गौण पात्र छन् । दृष्टिविन्दुको क्यामेरा बढ़ी हर्कराजतिर फोकस गरिएको हुनाले उ मूल पात्र हो।
'बिजुलीको चमक' भने अनौठो र असम्भव प्रायः विषयवस्तु बनाई लेखिएको एउटा सामान्य कथा हो। मधु र विक्रम पहिले पति-पत्नी हुनु, नौकाविहार गर्दा मधु मरेको ठानिनु र विक्रम बाँच्नु, पछिबाट दुवैजना एउटै पाठशालामा काम गर्नु तर मधुचाहिँ नचिनिने पुरुष भेषमा हुनु, एक दिन आँधी-बेहीको बेला बिजुलीको चमकमा चाहिँ त्यस पुरुषलाई आफ्नो पहिलेकी स्वास्नी मधुबाला रहिछ भन्ने थाहा पाउनु अनौठो संयोग र कल्पनात्मक बुनाई हो। यसमा स्वाभाविकता, औचित्य तत्त्वको अभाव देखिन्छ। यसलाई कता-क्ता फिल्मको प्रभाव, आभूतिक घटनाको परिकल्पना मान्न सकिन्छ। पहिलेका दम्पति फेरि भेट हुनु, मधुचाहिँ पुरुषको भेषमा हुनु, एउटै पाठशाला सँगै काम गर्दा पनि मधुलाई विक्रमले नचिन्नु तर राती बिजुलीको चमकमा मात्र चिन्नु इत्यादि कुराहरू अस्वाभाविक, अकल्पनीय र अनौचित्य छन् ।
'पृथिवी रूखो भएपछि' एउटा विज्ञानकथा हो। यस कथामा वैज्ञानिक मोहनविक्रमले आफ्नो प्रयोगशालामा पृथिवी लगायत ग्रहगणको आरम्भ, विभिन्न अवस्थाहरू र अन्त्यका बारेमा काल्पनिक कथा बुनेका छन्। अरू कथाभन्दा केही लामो आयाम भएको यस कथामा अलौकिक कल्पनाद्वारा सृष्टिको त्रिकालिक अवस्थाबारे उल्लेख गरिएको छ। कथा धेरै वैज्ञानिक उपकरणका नाम, त्यस सम्बन्धी जानकारी, चन्द्रलोक र मङ्गललोक भ्रमणबारेमा परिचर्चा गरिएको छ। एक दिन पृथिवी गरमले औधी तातिनेछ भनी व्याख्या गर्ने वैज्ञानिक मोहनविक्रमको आशयलाई आजकलको भूमण्डलीय उष्णता (global warming) सित दाँज्न सकिने र उक्त कल्पना साकार हुँदैगरेको चाहि मान्न सकिन्छ।
'मेरी घरकी' अप्राकृतिक भूत-प्रेत-चुँडेलको कल्पना गरी लेखिएको कथा हो। यद्यपि यो कथा देखेको सपनाबाट जन्मिएको छ। भैंचालो आई धरती तहसनहस हुनु, म पात्रको घर पैहोले पुरिनु र स्वास्नी मारिनु, स्वास्नीको वियोगमा म पात्र अलपत्र पर्नु, दुई-चार वर्षपछि स्वास्नीचाहिँ चुँड़ेल्नी भई म पात्रलाई लिन आउनु, चुँडेलको रूप देखेर म पात्र तर्सिनु र निद्राबाट ब्यूँझिदा स्वास्नीलाई देखेपछि सपना देखेको कुरा हुनु यस कथाको वस्तु हुन् । यसमा भूत-प्रेतको परिकल्पनालाई कथाको विषयवस्तु बनाइएको छ।
'सन्ध्या' भने सङ्ग्रहको एउटा उत्कृष्ट कथा हो। यसमा ऐतिहासिक यथार्थवादलाई आधार बनाई कथावस्तु बुनिएको छ। यसमा बौद्ध दर्शन र कथाबाट वस्तु टिपी प्रेमको अमरत्वलाई स्वीकार गरिएको छ। प्रेम जस्तो पवित्र वस्तुलाई लत्याई शंकर बौद्ध ज्ञान प्राप्त गरी भिक्षु भई कठोर व्रती भए तापनि उभित्रको नारी प्रेम भने मुटुभित्र सल्बलाइरहेका हुन्छन्। अन्त्यमा शंकर फेरि प्रेमासक्त भई सन्ध्यापट्टि फर्किआउँछ। प्रेम नै ईश्वरको एउटा वरदान हो र यसलाई कदाचित लत्याउन हुन्न भन्ने सन्देश व्यक्त गरिएको छ। गेरुवा वस्त्र र शास्त्रज्ञानले जति नै आफूलाई पुरे पनि मानिसभित्र रहेको 'प्रेमत्व' भने हराउँदैन। प्रेमको अघि गेरुवा वस्त्र र शास्त्रज्ञानी शंकर पराजित भएको छ र अन्तमा सन्ध्याको शरणमा आएको छ। यस कथाको रूचिक्षेत्र उपनागरीय सभ्यता र धार्मिक सांस्कृतिक रहेको छ भने यसको रीतिक्षेत्र ऐतिहासिक सामाजिक यथार्थवाद हो। यसमा दार्शनिक विचार व्यक्त गरिएको छ।
यसरी हेर्दा किरात मूल रूपमा रोमान्सेली प्रवृत्तिका कथाकार हुन् । उनका कथामा कथावस्तुको बुनोटमा केही शिथिलता रहे पनि वैचारिकता र चिन्तनको प्रबलता, पात्र-पात्राको न्यूनता, आञ्चलिकताको स्पर्श जस्ता प्रवृत्ति पाइन्छन् । उनले नारीलाई कारुणिक, निर्दोष, दयालु-मायालु र पवित्र देखाउँछन् र तिनको महिमा गरेका छन् । बरू पुरुषमा नै कमजोरीका खानी देखाएका छन् । उनको लेखनगत भाषा सरल र सुबोध छन्। मनमा फुरेका जे-जस्ता कुरा आउँछन् तिनैलाई मूर्त रूप दिई कथा बुनेका छन्। यद्यपि उनको बुनाईमा कतै-कतै शैथिल्य रहे पनि उनी एक सबल र सफल कथाकार हुन्। उनको कथाकारिताको समुचित मूल्याङ्कन हुन बाँकी नै छ।
टिपोट:
१. प्रा० बलराम पाण्डे; हायमनदास राई किरातका कथाहरूको प्रवृत्तिगत अध्ययनः सन्धान, अडू २, महानन्द पौड्याल (प्र.सं.), पृष्ठ ५२।
२. प्रदीप गुरुङ, अन्तर्वार्ता - श्री हायमनदास राई किरात सँग, सन्धान, अङ्क ३.(महानन्द पौड्याल, प्र.सं.), पृष्ठ २०-२१।