सारसंक्षेप (Abstract):
प्रस्तुत संस्मरणात्मक आलेख शिक्षा, समाजसेवा, संस्कृति तथा मानवीय निष्ठाका पर्याय श्रद्धेय गुरु स्वर्गीय शोभाभक्त पन्तको बहुआयामिक व्यक्तित्व, आदर्श र प्रेरक जीवनयात्रामा केन्द्रित एक प्राज्ञिक तथा भावनात्मक अभिलेख हो। करिब ३७ वर्ष शिक्षण तथा कुशल शैक्षिक नेतृत्वमा समर्पित पन्तले विद्यालयलाई केवल औपचारिक प्रमाणपत्र बाँड्ने थलोमा सीमित नराखी बालबालिकाको सर्वाङ्गीण चरित्र निर्माण र समाज रूपान्तरणको पवित्र मन्दिरका रूपमा स्थापित गर्नुभयो। समयको कठोर अनुशासन, समतामूलक एवम् व्यावहारिक शिक्षण पद्धति, र जनविश्वासका जगमा उभिएर उहाँले पर्वत जिल्लाको शैक्षिक साखलाई नयाँ उचाइ प्रदान गर्नुभयो। केवल कक्षाकोठामा मात्र सीमित नभई सामुदायिक विकास, विपन्न बालबालिकाका लागि अक्षय कोषको स्थापना, र संगीत तथा लोकसंस्कृतिको प्रवर्द्धनमार्फत उहाँले समुदायको समृद्धिका लागि निर्वाह गर्नुभएको निष्काम कर्मयोग अतुलनीय छ। जनज्योति माध्यमिक विद्यालयको एक जिज्ञासु विद्यार्थी र पछि सोहि विद्यालयमा सहकर्मीका रूपमा मैले उहाँसँगको प्रत्यक्ष सामीप्यताबाट अनुभूत गरेका अविस्मरणीय भोगाइहरू यस लेखका मुख्य विषय हुन्।
मुख्य शब्दहरूः शिक्षा, कर्तव्य परायणता, समाज सेवा, सांस्कृतिक निष्ठा, कर्मयोग, र जवाफदेहिता
(क) परिचय
केही जीवनहरू कालखण्डको निरन्तर बहावसँगै विलीन भएर जान्छन्, तर केही यस्ता दुर्लभ जीवन हुन्छन् जसले आफ्ना कर्मका दैदिप्यमान पदचापहरू छाडेर अनन्त कालसम्म अमरत्व प्राप्त गर्दछन्। मानिसको जीवनको वास्तविक गरिमा उसको आयुको लम्बाइमा होइन, उसले बाँचेका वर्षहरूमा अन्य कति व्यक्तिका जीवनलाई स्पर्श गर्यो, कति मनमा ज्ञान र संस्कारको दीप बाल्यो र समाजलाई कति योगदान दिएर गयो भन्ने कुरामा निहित हुन्छ। श्रद्धेय गुरु स्वर्गीय शोभाभक्त पन्त त्यस्तै एक निष्ठावान् साधक हुनुहुन्थ्यो, जसका लागि शिक्षण केवल जीविकोपार्जनको पेशा थिएन; त्यो त जनशक्ति निर्माणको पवित्र अनुष्ठान र समाज रूपान्तरणको आजीवन संकल्प थियो।
भौतिक शरीरले हामीलाई छाडेर गए पनि असल साधकका कर्महरू कहिल्यै मर्दैनन्। उहाँले दीक्षित गरेका अनगिन्ती विद्यार्थी, सामुदायिक विकासका क्रममा निर्माणमा सघाएका आयोजनाहरू, शिक्षाको निरन्तरताका लागि स्थापना गर्नु भएको अक्षय कोष, संगीतप्रतिको अगाध अनुराग र सहृदयी आत्मीयता नै आज उहाँका चीरस्मरणीय स्मारक बनेका छन्। मेरो जीवनमा पनि उहाँको स्थान अझ विशिष्ट छ। उहाँको छहारीमा मैले पाँच वर्ष विद्यार्थीका रूपमा सिक्ने र त्यसपछि करिब चार वर्ष सोहि विद्यालयमा सहकर्मीका रूपमा सँगै काम गर्ने दुर्लभ अवसर पाएँ। त्यसैले यो लेख केवल एक दिवंगत शिक्षकको जीवनी वा स्मृतिचित्र मात्र होइन; आफ्नो जीवन र कर्ममा प्रभाव अनुभूत गरेको एक पूर्वविद्यार्थी तथा पूर्वसहकर्मीको आत्मीय श्रद्धाञ्जली पनि हो।
साहित्यकार, कवि तथा भाषा-संस्कृतिका अन्वेषक स्वर्गीय कालीभक्त पन्त र कृष्णा पन्तका छ भाइ छोराहरूमध्ये शोभाभक्त पन्त राइला छोराका रूपमा जन्मनुभएको थियो। उहाँको जन्म विक्रम संवत् १९९९ साल माघ ०२ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो (पछि स्थायी रूपमा देविस्थान सर्नु भएको थियो) भने ८४ वर्षको सार्थक जीवनयात्रा पूरा गरी वि.सं. २०८३ भाद्र १४ गते काठमाडौँमा उहाँको भौतिक अवसान भयो। ज्ञान, साहित्य, भाषा र संस्कारले ओतप्रोत पारिवारिक वातावरणमा हुर्कनुभएका कारण उहाँको व्यक्तित्व निर्माणमा त्यसको गहिरो प्रभाव परेको पाइन्छ।
वि.सं. २०२० सालमा पर्वतको फलेवासस्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयबाट पहिलो ऐतिहासिक ब्याचको एस.एल.सी. उत्तीर्ण गरी उहाँले अंग्रेजी विषयमा बी.ए. र बी.एड.सम्मको उच्च प्राज्ञिक यात्रा तय गर्नुभयो। त्यसपछि करिब ३७ वर्षसम्म उहाँको जीवन पर्वत जिल्लाका विद्यालयहरू: लिमिठानाको लिमिठाना मिडिल स्कुल; मल्लाज (माझफाँट) को विद्याज्योति माध्यमिक विद्यालय; र ठानामौला (खाल्टे) को जनज्योति माध्यमिक विद्यालय (वि.सं. २०३८ चैत्र २२ देखि २०५७ कात्तिक ३० गते सम्म) मा समर्पित रह्यो। "विद्यालय केवल परीक्षा उत्तीर्ण गराउने र प्रमाणपत्र बाँड्ने थलो होइन, बालबालिकाको सर्वाङ्गीण व्यक्तित्व र चरित्र निर्माण गर्ने पवित्र मन्दिर हो" भन्ने उहाँको गहिरो जीवनदृष्टि व्यवहारमै अनुवाद भएको थियो। त्यसकारण आफ्नो शैक्षिक उपलब्धिलाई व्यक्तिगत लाभमा सीमित नराखी समाज, समुदाय र राष्ट्र निर्माणको सशक्त माध्यम बनाउनुभयो। त्यही ज्ञानको जगमा उभिएर उहाँले आफ्नो सम्पूर्ण जीवन अध्यापन, मार्गदर्शन र सामाजिक रूपान्तरणमा समर्पित गर्नुभयो।
(ख) एक प्रेरक र समर्पित शिक्षक
घरबाट विद्यालयसम्मको करिब दुई घण्टाको पैदल यात्रा छिचोलेर पुग्दा पनि विद्यालय परिसरमा प्रवेश गर्ने पहिलो शिक्षक सधैँ उहाँ नै हुनुहुन्थ्यो। समयको अनुशासनप्रति उहाँको निष्ठा यस्तो थियो कि उहाँको उपस्थितिले नै विद्यालयको घडीलाई गति दिन्थ्यो।
जनज्योति माध्यमिक विद्यालय (खाल्टे) मा उहाँ माध्यमिक तहको अंग्रेजी अध्यापनको मुख्य मेरुदण्ड हुनुहुन्थ्यो। कक्षा चारबाट मात्र अंग्रेजीको कखरा सुरु हुने तत्कालीन परिवेशमा अधिकांश विद्यार्थीका लागि यो विषय स्वभावैले दुरुह लाग्थ्यो। तथापि, कक्षा नौ मा पुगेर उहाँको शिक्षण छहारी पाउँदा त्यो कठिन विषय अत्यन्तै सहज र आत्मसात् गर्न सकिने विधा बन्यो। कक्षाकोठाको सामान्य अभ्यासभन्दा फरक, उहाँको ध्यान अगाडिका जान्ने विद्यार्थीहरूमा मात्र सीमित नभई सिकाइमा पछाडि परेका कमजोर विद्यार्थीहरूमा केन्द्रित हुन्थ्यो। यही समतामूलक व्यवहारका कारण प्रत्येक विद्यार्थी सिकाइ क्रियाकलापमा निसङ्कोच सहभागी बन्ने वातावरण बन्दथ्यो।
अंग्रेजी व्याकरणलाई व्यावहारिक रूपमा बोध गराउन उहाँ अत्यधिक अभ्यासमा जोड दिनुहुन्थ्यो; "Practice! Practice!! Practice!!!" उहाँको शिक्षण दर्शनको मूल आधार थियो। पाठ्यपुस्तकको औपचारिक घेराभन्दा बाहिर गएर व्यावहारिक दृष्टान्तसहित अभ्यास गराउनु उहाँको विशेषता थियो।
हरेक विहान दुई घण्टाको कठिन पैदल यात्रा, संस्थाको प्रशासनिक नेतृत्व, र माध्यमिक तहको गहन अध्यापन दायित्व यी त्रिवेणीलाई एकसाथ डोर्याउँदा पनि उहाँमा कहिल्यै कार्यबोझ वा शिथिलताको आभास पाइएन। करिब दशक लामो प्रत्यक्ष सहकार्य र सामिप्यतामा उहाँले प्रशासनिक व्यस्तताका नाममा कक्षा छोडेको मलाई कहिल्यै अनुभव भएन। भवितव्यले उहाँको कक्षा छुटेका विरलै दिनहरूमा विद्यार्थीहरू स्वयं गहिरो अभाव र पश्चात्ताप महसुस गर्दथे।
उहाँसँगको सिकाइ केवल भाषा र व्याकरणको ज्ञानमा मात्र सीमित रहेन; जीवन दर्शन, नैतिकता, सामाजिक जवाफदेहिता, संस्थागत सुदृढीकरण, र आर्जित ज्ञानलाई समुदायको हितमा रूपान्तरण गर्ने व्यावहारिक ज्ञानको जग उहाँकै प्रेरणाबाट निर्मित भएको हो। शिक्षकको वास्तविक गरिमा उसले दिने औपचारिक सूचनामा होइन, आफ्ना विद्यार्थीको सर्वाङ्गीण भविष्य निर्माणप्रतिको समर्पणमा निर्भर गर्दछ भन्ने दृष्टान्त स्व. शोभाभक्त पन्तको जीवनमा सजीव रूपमा झल्कन्थ्यो।
(ग) विद्यार्थीबाट सहकर्मीसम्मको यात्रा: सँगै सिक्दा र सिकाउँदाको क्षण
वि.सं. २०३८ चैत्रमा शोभा सर जनज्योति माध्यमिक विद्यालय (खाल्टे) मा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न आइपुग्दा विद्यालयले माध्यमिक तह सञ्चालनको अस्थायी स्वीकृति मात्र पाएको थियो। त्यतिबेला उहाँको काँधमा स्थायी सम्बन्धन प्राप्त गर्ने, आवश्यक भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति गर्ने, र समग्र शैक्षिक वातावरणलाई सुदृढ तुल्याउनु चुनौती थियो। गुरुङ समुदायको बाहुल्यता रहेको खाल्टे गाउँ सांस्कृतिक चेत र क्रियाकलापमा पहिलेदेखि नै अग्रणी थियो। यता शोभा सर स्वयं संगीत र गायनमा गहिरो अभिरुचि तथा दक्षता राख्नुहुन्थ्यो। समुदायको मौलिक प्रतिभा र सरको कलात्मक नेतृत्वको सुन्दर संयोजन भएपछि गाउँमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरू पूर्वाधार विकासका लागि अर्थोपार्जनका सशक्त माध्यम बने। विद्यालयलाई जसरी पनि स्थायी बनाउन स्थानीय गुरूङ समुदायका अभिभावकहरूले आफ्नो निजी सम्पत्तिसमेत धितो/धरौटी राख्ने अभूतपूर्व तत्परता देखाए। एकातिर समुदायको त्यो निःस्वार्थ समर्पण र अर्कातिर शोभा सरको कुशल प्रशासनिक समन्वय यही जुझारु सहकार्यको बलमा वि.सं. २०३९ मा विद्यालयले माध्यमिक तहको स्थायी सम्बन्धन प्राप्त गर्न सफल भयो।
जनज्योति माध्यमिक विद्यालयका लागि विद्यार्थीको मुख्य स्रोत छिमेकी (साविकको) लिमिठाना गाविस थियो। भौगोलिक सुगमताका दृष्टिले हेर्दा लिमिठानाका विद्यार्थीलाई खानीगाउँमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयमा बढी पायक पर्थ्यो। तर शोभा सरको निष्ठावान् शैक्षिक नेतृत्व, चुस्त प्रशासनिक व्यवस्थापन र विद्यार्थीप्रतिको अगाध अभिभावकीय स्नेहका कारण लिमिठानाका अधिकांश विद्यार्थी खाल्टे आउँथे। भवानी विद्यापीठबाट नजिक तर खाल्टेबाट धेरै टाढा रहेको लिमिठानाको रुम्टाबाट समेत मेरा सहपाठीहरू श्यामा पन्त र यादाक्रम पन्त खाल्टे धाउनु यसैको ज्वलन्त दृष्टान्त थियो।
"मृदुभाषी व्यक्तित्व, आत्मीय एवम् सहृदयी व्यवहार, विषयगत दक्षताका अद्वितीय साधक, तथा विद्यार्थीका लागि जीवनकै पथप्रदर्शक एवम् प्रेरणापुञ्ज श्रद्धेय गुरु स्व. शोभाभक्त पन्त भौतिक चोला त्यागेर गए पनि हाम्रो स्मृति र मनमुटुमा चीरकालसम्म बाँचिरहनुहुनेछ।"
पूर्व विद्यार्थीः भीम प्रसाद रिजाल
प्र.अ. श्री भृकुटी माध्यमिक विद्यालय, डेउढाकला, वर्दिया
समयक्रमसँगै जिल्लास्तरीय सांस्कृतिक प्रतियोगिता र खेलकुदका मैदानहरूमा जनज्योतिले आफ्नो वर्चस्व स्थापित गर्दै लग्यो। उत्कृष्ट शैक्षिक नतिजा र अतिरिक्त क्रियाकलापमा निरन्तरको सफलताले पर्वत जिल्लाभरि नै विद्यालयको गरिमा उच्च बन्दै गयो। त्यस समयमा सामान्य कामका लागि पनि जिल्लाका अधिकांश प्रधानाध्यापकहरू सदरमुकाम कुश्मातिरै बढी समय बिताउने प्रवृत्ति देखिन्थ्यो। दूरी र यात्राको सहजताका हिसाबले शोभा सरलाई पनि विद्यालय जानुभन्दा सदरमुकाम आउजाउ गर्न सजिलो थियो; तर उहाँ सदरमुकाममा पर्ने कामका लागि सहकर्मी शिक्षकलाई खटाउनुहुन्थ्यो र आफू भने विद्यालय सम्हाल्न अहोरात्र खटिनुहुन्थ्यो। यही कर्तव्यपरायणताका कारण जिल्ला शिक्षा कार्यालयलगायत जिल्लास्थित अन्य कार्यालयले जनज्योति माध्यमिक विद्यालयलाई असाध्यै उच्च सम्मान र फरक दृष्टिकोणले हेर्थे। उक्त विद्यालयको शिक्षकका रूपमा सदरमुकाममा प्रस्तुत हुँदा म स्वयंलाई पनि एउटा बेग्लै आत्मगौरवको अनुभूति हुन्थ्यो।
उहाँको सहकर्मीका रूपमा मैले गर्व महसुस गरेका अनेकौँ क्षणहरूमध्ये एउटा विशेष घटना मेरो स्मृतिमा आजपर्यन्त ताजै छ। एकपटक विद्यालयका शिक्षक तथा कर्मचारीको तलब लिनका लागि सरले मलाई एउटा खामबन्दी चेक दिएर सदरमुकाम खटाउनुभयो। भोलिपल्ट म कुश्मास्थित नेपाल बैंक लिमिटेड पुगेर चेक पेस गरी टोकन लिएर आफ्नो पालो पर्खेँ। पालो आएपछि काउन्टरमा बसेका कर्मचारीले चेक अगाडि-पछाडि पल्टाएर हेरे र भने— "यो चेकमा त विद्यालयको छाप नै छुटेको रहेछ, त्यसैले भुक्तानी हुन सक्दैन।" म स्तब्ध भएँ, नियमअनुसार उहाँको कुरा स्विकार्नुबाहेक मसँग कुनै विकल्प थिएन। विद्यालय पुगेर छाप लगाएर भोलिपल्ट आउन म मानसिक रूपमा तयार भइसकेको थिएँ। तर त्यही बेला काउन्टरपछाडिको कुनाबाट एउटा गम्भीर आवाज आयो— "कुन विद्यालयको चेक हो?" काउन्टरका कर्मचारीले जवाफ दिए— "जनज्योति माध्यमिक विद्यालयको।" भित्रबाट तत्काल सुझाव आयो— "शोभा सरको हस्ताक्षर छ भने छाप नभए पनि भुक्तानी दिए हुन्छ!"
नियम र कागजी प्रक्रियाभन्दा माथि शोभा सरको नाम र हस्ताक्षरले पाएको त्यो दुर्लभ विश्वास देखेर म आश्चर्यचकित भएँ। उहाँको नामै काफि रहेछ। छाप नभए पनि भुक्तानी दिन आदेश दिने ती सहृदयी बैंक कर्मचारी कुश्मा निवासी फूलराज शर्मा हुनुहुन्थ्यो, जोसँग त्यही दिनदेखि सुरु भएको मेरो चिनजान पछि प्रगाढ मित्रतामा बदलियो। सदरमुकामस्थित निकायहरूमा शोभा सरले आफ्नो निष्ठा र इमान्दारीबाट निर्माण गर्नुभएको त्यो अमिट विश्वसनीयताले उहाँप्रतिको मेरो आदरभावलाई अझै सगरमाथाझैँ चुल्याइदियो। जीवनको कर्मक्षेत्रमा निष्ठा र इमानको कत्रो ठूलो शक्ति हुन्छ र समाजमा कस्तो छाप छोड्नुपर्छ भन्ने अमूल्य जीवनदर्शन मैले त्यही क्षण प्रत्यक्ष अनुभव गर्न पाएको थिएँ।
(घ) समाज निर्माण र पूर्वाधार विकासमा अग्रसरता
आर्थिक अभावका कारण पढाइबाट वञ्चित बालबालिकालाई आडभरोसा मिलोस् भन्ने पवित्र उद्देश्यले उहाँले झण्डै दुई दशक पसिना बगाएको जनज्योति माध्यमिक विद्यालयमा आफ्नै पहलमा स्वर्गीय मातापिताको स्मृतिमा चार वर्ष अगाडि रु. एक लाख एक हजारको अक्षय कोष स्थापना गर्नु भएको थियो। त्यसका साथै, प्रविधिमैत्री शिक्षाको जग बसाल्न विद्यालयका लागि दुई थान ल्यापटप र एक थान डेस्कटप कम्प्युटरसमेत उपलब्ध गराउनुभयो। धेरै वर्षसम्म दैनिक ४ घण्टा हिँडेर विद्यालय धाएँ अहिले ढाड दुख्छ सायद पहिलाको हिँडाईको असर हो की धेरै समय उभिन सक्दिन भन्नु हुन्थ्यो केहि वर्ष अघि देखिनै। जीवनको उत्तरार्द्धमा रोगले शरीर शिथिल र जर्जर बनाउँदा समेत विद्यालय र शिक्षाप्रतिको उहाँको अगाध स्नेह र समर्पण रत्तिभर डगमगाएन। आफूले जीवनभर आर्जन गरेको ज्ञान र अनुभव मात्र होइन, आफ्नै सीमित स्रोत, सामर्थ्य र पुँजीसमेत भावी पुस्ताको उज्यालो भविष्यका लागि निसङ्कोच सुम्पेर जाने यस्ता महान् साधक वर्तमान भौतिकवादी युगमा विरलै भेटिन्छन्। उहाँले स्थापना गर्नुभएको अक्षय कोष आज उहाँको भौतिक अनुपस्थितिमा पनि विपन्न विद्यार्थीका लागि सहारा बनिरहेको छ; जसले गर्दा उहाँको सेवा जीवनकालमा मात्र सीमित नरही अनन्त पुस्तासम्म विस्तारित भएको छ।
परिवारजन, सहकर्मी र उहाँलाई नजिकबाट चिन्ने जोकोहीको स्मृतिमा शोभा सर असाध्यै सरल, सहृदयी, भद्र र अरूको पीडालाई धैर्यपूर्वक सुन्ने एक खुला अभिभावक हुनुहुन्थ्यो। उहाँको दृष्टि र व्यवहारमा ठूलो र सानो भन्ने कुनै विभेदकारी पर्खाल थिएन। मानिसको सामाजिक हैसियत, शक्ति, पद वा आर्थिक अवस्था हेरेर फरक व्यवहार गर्ने संकीर्णता उहाँमा कत्ति पनि थिएन। अभाव वा समस्या बोकेर पुग्ने जोसुकैको गुनासोलाई उहाँ उत्तिकै तन्मयताका साथ सुन्नुहुन्थ्यो र त्यसको व्यावहारिक समाधानका लागि आफ्नै कामझैँ दत्तचित्त भएर पहल गरिदिनुहुन्थ्यो।
दैनिक खाल्टेको विद्यालय आउजाउ गर्दा उहाँले सधैँ तरेको लमाय खोलामा लिमिठाना र फलेवास जोड्ने अग्लो झोलुङ्गे पुल निर्माण गर्ने प्रक्रियामा सहजीकरण गर्नुभयो। उहाँको विकास अभियान पुल निर्माणमा मात्र रोकिएन; उक्त पुललाई नजिकको कालोपत्रे सडकसँग जोड्ने पहुँचमार्ग निर्माणका लागि सरकारका जिम्मेवार तहमा रहेका आफ्ना पूर्व विद्यार्थीहरूसँग निरन्तर समन्वय गरिरहनुभयो। जीवनको अन्तिम श्वास फेरिरहँदा समेत उहाँको मनमस्तिष्कमा त्यही बाटो र गाउँलेको सहजता मात्र घुमिरहेको थियो। उहाँकै अथक पहलकदमीका कारण चालु आर्थिक वर्ष (२०८३/८४) मा समेत फलेवासतर्फको पहुँचमार्ग र यात्रु प्रतिक्षालय निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। यसरी उहाँले आफ्नो सम्पूर्ण व्यक्तिगत पहुँच, प्रतिष्ठा र सम्बन्धलाई कहिल्यै निजी स्वार्थमा प्रयोग गर्नुभएन, अपितु केवल समुदायको हित, सहजता र समृद्धिका लागि समर्पित गरिरहनुभयो।
आफ्नो सम्पूर्ण जीवन समाज र अरूको भलाइका लागि निःस्वार्थ रूपमा आहुति दिने यस्ता कर्मयोगी व्यक्तित्वलाई उहाँ जीवित छँदै राज्य र समाजको तर्फबाट समुचित सम्मान दिन सकेनौँ। तथापि, कुनै औपचारिक तक्मा वा ताम्रपत्रभन्दा माथि आफ्ना हजारौँ विद्यार्थीहरूको मन, समाजको श्रद्धा र कृतज्ञ स्मृतिहरूमा उहाँले आर्जन गर्नुभएको अमिट स्थान नै उहाँका लागि इतिहासको सबैभन्दा उच्च र अमर सम्मान हो।
(ङ) संगीत, साहित्य र सांस्कृतिक निष्ठा
शोभाभक्त पन्तको बहुआयामिक व्यक्तित्वको अर्को अनुपम र सुन्दर पक्ष भनेको उहाँको संगीत, साहित्य र गायनप्रतिको गहिरो अनुराग थियो। उहाँका आदरणीय पिता स्वर्गीय कालीभक्त पन्त स्वयं नेपाली भाषा, साहित्य तथा लोकसंस्कृतिका मुर्धन्य साधक एवम् अन्वेषक हुनुहुन्थ्यो; त्यसैले बाल्यकालदेखि नै पारिवारिक वातावरणमार्फत उहाँमा पिताको त्यो साहित्यिक र सांस्कृतिक चेतको गहिरो छाप पर्नु स्वाभाविक थियो। (मातापिताको यही अमर योगदानलाई जीवन्त राख्न परिवारजनबाट हाल 'कालीभक्त-कृष्णापन्त स्मृति प्रतिष्ठान' समेत क्रियाशील रहेको छ) साहित्यकार पिताको त्यही कलात्मक विरासतलाई आत्मसात् गर्दै शोभा सर हार्मोनियम बजाउन र आफ्नै सुरिलो स्वरमा गीत गाउन निकै रुचाउनुहुन्थ्यो। उहाँको यो सांगीतिक दक्षता केवल व्यक्तिगत अभिरुचिमा मात्र सीमित रहेन, अपितु विद्यालयको समग्र शैक्षिक वातावरणलाई संगीतमय र जीवन्त बनाउने प्रभावकारी माध्यम बन्यो।
उहाँले शिक्षालाई कहिल्यै पनि पाठ्यपुस्तकका निरस पृष्ठहरू र चार पर्खालको घेराभित्र मात्र सीमित राख्नुभएन। संगीत, कला, मौलिक संस्कृति र स्वस्थ मनोरञ्जनलाई सिकाइको अभिन्न अङ्ग बनाउँदै उहाँले विद्यालयमा सांगीतिक तथा अतिरिक्त क्रियाकलापहरूलाई निरन्तरता दिनुभयो। यसले विद्यार्थीहरूलाई विद्यालय र पढाइप्रति आकर्षित मात्र गरेन, उनीहरूको मनोवैज्ञानिक स्फूर्ति, अन्तर्निहित प्रतिभा र सिर्जनात्मक क्षमताको ढोका खोल्नमा समेत भूमिका खेल्यो। असाधारण सांगीतिक र कलात्मक प्रतिभा भएर पनि उहाँले कहिल्यै व्यक्तिगत चर्चा, बाह्य मञ्च वा सस्तो लोकप्रियताको पछि लाग्ने चेष्टा गर्नुभएन; बरु सधैँ आफूलाई एउटा समर्पित शिक्षक र मार्गदर्शकको भूमिकाभित्रै सीमित राखेर आत्मसन्तुष्टि लिनुभयो। कलालाई समाज निर्माण र बालबालिकाको चेतना विकासमा निःस्वार्थ उपयोग गर्ने उहाँको यो शैली उहाँको चरम सरलता, निष्काम सेवाभाव र उच्च सांस्कृतिक निष्ठाको ज्वलन्त उदाहरण हो।
(च) निष्कर्ष
श्रद्धेय शोभाभक्त पन्तको भौतिक अवसान एउटा परिवारले अभिभावक गुमाउनु मात्र होइन; पर्वतको शैक्षिक इतिहास, उहाँका अनगिन्ती विद्यार्थी, सहकर्मी र समग्र समुदायले निष्ठा, सरलता र कर्मयोगको एउटा अद्वितीय धरोहर गुमाउनु हो। समाजका लागि यो कहिल्यै पूर्ति हुन नसक्ने अपूरणीय क्षति हो।
शोभा सरको समग्र जीवनलाई केवल ३७ वर्षे शिक्षण सेवाको औपचारिक सीमाभित्र बाँधेर हेर्नु उहाँको बहुआयामिक व्यक्तित्वलाई साँघुरो पार्नु हुनेछ। उहाँका वास्तविक स्मारक कुनै ढुङ्गा वा माटोका संरचना होइनन्; उहाँले दीक्षित गरेर आज देश-विदेश र समाजका विभिन्न जिम्मेवार तहमा पुर्याउनुभएका स्वाभिमानी विद्यार्थीहरू, उहाँले रोपेका अनुशासन, नैतिकता र मानवीय संवेदनाका अमूल्य संस्कारहरू नै उहाँका शाश्वत पहिचान हुन्। उहाँले स्थापना गर्नु भएको अक्षय कोषले विपन्न बालबालिकाको भविष्यमा निरन्तर उज्यालो छरिरहनेछ; उहाँकै दूरदृष्टि र अथक पहलबाट निर्मित भौतिक संरचनाले अनन्तकालसम्म गाउँलेको जीवनलाई सहज बनाइरहनेछन्; र उहाँले हार्मोनियमको धुनसँगै गाउनुभएका चेतनामूलक गीतहरू उहाँलाई चिन्ने एवम् सम्झनेहरूको मानसपटलमा सधैँ गुञ्जिरहनेछन्।
उहाँसँग एउटा जिज्ञासु विद्यार्थीका रूपमा जोडिएर पछि सोहि विद्यालयमा सहकर्मी भई काम गर्न पाउनु मेरो जीवनको ठूलो गौरव र अमूल्य पाठशाला थियो। म अहिले जे छु, जुन धरातलमा छु उहाँले दिएको संस्कार, प्रेरणा एवम् शैक्षिक जगकै परिणाम हो। पद, प्रतिष्ठा र सस्तो लोकप्रियताभन्दा माथि उठेर आफू उभिएको धरातल र समाजलाई निःस्वार्थ रूपमा केही दिनुपर्छ भन्ने उहाँको जीवनदर्शन भावी पुस्ताका लागि सधैँ प्रकाशपुञ्ज बनिरहनेछ।
नश्वर शरीर प्रकृतिमा विलीन भए पनि निष्काम कर्म, पवित्र विचार र सेवाको सुवास कहिल्यै मर्दैन। शिक्षा र समाजसेवाका ती अमिट पदचापहरूमा आफूलाई निरन्तर समर्पित राख्ने संकल्पसहित आदरणीय गुरु, कुशल अभिभावक एवम् निष्ठावान् कर्मयोगी स्व. शोभाभक्त पन्तप्रति शीर झुकाउँदै भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु!