भारतीय नेपाली साहित्यमा एक सशक्त समालोचकको रूपमा परिचित भइसकेका छन् -डा. राजकुमार छेत्री । पेशाले उनी दार्जीलिङ सरकारी महाविद्यालय, स्नातकोत्तर नेपाली विभागका सह-प्रध्यापक । उनी विद्यार्थीकालदेखि नै साहित्यमा समालोचना, निबन्ध, कविता-नाटक आदि विधामा तीखो कलम चलाउँदै आएका स्रष्टा हुन् । डा. छेत्री तर्क सभा र पटल- पत्रिका साथै विद्यालयको विभिन्न कार्यक्रममा अग्रपङ्क्तिमा रही खटेका व्यक्ति पनि हुन् । उनी अध्ययनशील व्यक्तित्व अलि प्रखर भएकाले होला उनमा तार्किक व्यक्तित्व झरिलो पाइन्छ । नागरी फार्म उच्चतर माध्यमिक विद्यालयमा अध्ययन गर्दा नाटक एवम् विद्यालयमा सम्पन्न कार्यक्रममा उद्घोषणा, सम्पादन र तर्कसभा आदिमा सहभागी बनेर विद्यालयमा आफ्नो स्रष्टा-द्रष्टा व्यक्तित्वलाई अगाड़ि बढ़ाएको पाइन्छ । छेत्री विशेषरूपले युवा जमातमा भारतीय नेपाली साहित्यमा समालोचना विधामा धेरै काम गरिसकेका एकजना सशक्त अन्वेषणात्मक एवं शोधपरक समालोचक हुन् ।
भारतका विभिन्न राज्यबाट प्रकाशित हुने साहित्यिक पत्र-पत्रिका एवं जर्नलहरूमा साथै नेपाल र अन्य देशहरूबाट प्रकाशित हुने साहित्यिक पत्रिका एवं जर्नलहरूमा उनका शोधपरक समालोचनात्मक रचनाहरू प्रकाशित भएको पाइन्छ । केही पत्र-पत्रिकामा उनका मुक्तक र कविताहरू पनि प्रकाशित भएको पक्षले उनीभित्र कवि व्यक्तित्व जड़त्वको रूपमा रहेको प्रमाण अघिबाटै हामीले पाइसकेका छौं । उनको स्रष्टा व्यक्तित्व जति अग्लो छ, उति नै द्रष्टा व्यक्तित्व पनि उच्च रहेको पाइन्छ । उनीद्वारा सम्पादित राम्रा स्तरीय पत्र-पत्रिकाको नाम लिनुपर्दा सन्दर्भ, अर्किड, कञ्चनजङ्घा, साहित्य सन्देश, बाडुली, आजभोलि (दैनिक), पाइन्स एन्ड क्यामेलियाज, दियालो, चरित्र, सञ्चयन र अक्षरहरूको अभिनन्दन आदिको सहर्ष नाम लिन सकिन्छ ।
यस्ता प्रतिभाशाली डा. राजकुमार छेत्रीको जन्म २४ मई १९७३ मा मगरजोङ (नागरी चियाबारी) अरेन्ज भिल्लामा भएको हो । उनी श्रीमती मनमाया छेत्री र स्व. मनबहादुर छेत्रीका सुपुत्र हुन् । गाउँकै प्राथमिक पाठशालाबाट शिक्षा आरम्भ गरी उत्तर बंगाल विश्वविद्यालयबाट एम. ए, एम. फिल. (प्रथम श्रेणीमा प्रथम) र पीएच.डी. (नेपाली भाषा साहित्यमा) गरी शिक्षण क्षेत्रमा लागिपरेका छन् । उनका आजसम्म प्रकाशित कृतिहरूमा सिर्जनाको समावलोकन (समालोचना, सन् २००९), अवलोकन अवबोधन (समालोचना, सन् २०११), शिवकुमार राई रचना सञ्चयन (सन् २०१२, सम्पादन), कृति आलोकन (समालोचना, सन् २०१३), दृष्टिपथ (समालोचना, सन् २०१८), अक्षरहरूमा संवाद (अन्तर्वार्ता, सन् २०१८) पूर्ण राई (मनोग्राफ, भारतीय साहित्य निर्माता, सन् २०२१) अक्षरका आयाम (भूमिकासङ्ग्रह, सन् २०२३), शब्दहरूको देश (राजका केही कविता र मुक्तकहरू, सन् २०२३) र अर्जुन प्रधान रचना सञ्चयन (सम्पादन, सन् २०२६) आदि जस्ता कृतिहरू प्रकाशित छन् । बिमला प्रधान जोशीले "राङभाङ भेल्लीका सर्जक र सृजना" किताप (पृष्ठ सङ्ख्या १८२) मा उल्लेख गरेकी छिन्- "भारतीय नेपाली साहित्यको समालोचना विधालाई अँगालेर उल्लेखनीय कलम चलाउनुहुने डा. राजकुमार छेत्री एक बहुप्रतिभाशाली व्यक्तित्व हुन् । साहित्य सिर्जनाका विविध विधाहरूमध्ये उनको विशिष्टता समालोचना विधामा रहेको पाइन्छ ।"
राजकुमार छेत्रीका कविताहरू भारतीय नेपाली साहित्यको साहित्यिक पत्रिका एवं विभिन्न देशका साहित्यिक पत्रिकाहरूमा कहिले राज, कहिले राज ‘प्रतीक’, कहिले राजकुमार कार्की ‘प्रतीक’, कहिले भने राज के.सी. आदि नाममा पनि प्रकाशित भएको पाइन्छ । आफ्नो नामलाई भन्दा सृजना व्यक्तित्वलाई प्रकाश पार्न उनको आन्तरिक इच्छालाई यी माथिको नामद्वारा प्रकाशित कविताहरूबाट पाइन्छ । उनीलाई पढ़ाउने डा. नरेशचन्द्र खातीले राजकुमार छेत्रीको परिचय (उनकै कविता सङ्ग्रह शब्दहरूको देशमा-को भूमिकामा) यसरी उल्लेख गरेका छन्- “ राजकुमार मेरो समक्ष मूलतः एक उद्यमी अध्ययनी, अनुशासनी, मेधावी विद्यार्थी हुन् । हाम्रो भेट खरसाङ कलेजमा भएको हो । उनी पढ्ने म पढाउने, पुनः कलेजबाट युनिभर्सिटीसम्म एम. ए, एम. फिल. सम्मका मेरो विद्यार्थी । मेरै निर्देशमा एम. फिल पनि सफलतापूर्वक सिद्धाए उनले । ऐलेलाई पीएच.डीसम्म सिद्धाई अकादमिक उच्चतालाई छोइसकेका छन् । हल्लो पाठक ! पैलेका नेपाली लेखकहरू र ऐलेका लेखकहरूमा यही पार्थक्य छ । उनले आफ्नो जीवनको आधा उमेर अनवरत शैक्षिक विकासमा समर्पण गरेका छन् । विद्यार्थी बेलादेखि नै पढाइ सँगसँगै सामाजिक ,साहित्यिक र सांस्कृतिक कार्यक्रममा नित्य सक्रिय र आरूढ देखिने राज अब मेरो सहकर्मी भइसकेका छन् । बुद्धिको परिपक्वताले राजलाई उचालिसकेको छ । मेरो भन्दा पनि केश राशि पातलो भै- झरेको छ ।” (शब्दहरूको देशमा, भूमिका, पृ. स.६) । जीवनलाई बुद्धिले पढ्ने कवि राज भनेर भूमिकामा अझै गहन रूपमा उनको कविताकारितालाई प्रकाश पारेका छन् । जे होस् समालोचकहरू पनि राम्रा कवि हुँदा रहेछन् । उहाँकै समकालीन साहित्यिक मित्रहरू जय क्याटक्स, सुधीर छेत्री, सञ्जय बान्तवा, रेमिका थापा आदिलाई लिन सकिन्छ । उनीहरूको समालोचना विधासितै कवितालाई पनि उति नै सुन्दर सिर्जना गरिरहेका छन्, उनीहरूको कविता पाठकप्रिय रहेको देखिन्छ । यस्तै राज पनि एक हातमा समालोचनाको प्रतिभा अर्को हातमा कविको प्रतिभासँगै लिएर समानान्तर रूपमा अघि बढाइरहेको पाइन्छ- नेपाली साहित्यमा ।
शब्दहरूको देशमा- कविताकृतिको अध्ययन-अनुशीलन
राजकुमार छेत्रीको नवौं साहित्यिक कृतिको रूपमा पाएका छौं- शब्दहरूको देशमा । मनमाया प्रकाशन दार्जीलिङद्वारा सन् २०२३ सालमा प्रकाशित कविता सङ्ग्रहमा २६ वटा कविताहरू १२ वटा मुक्तकहरु र २० वटा बिम्ब कविताहरू समावेश रहेको देखिन्छ । विद्यार्थीकालदेखि कविता लेख्दै आए पनि शब्दहरूको देशमा आएर राजकुमार छेत्री सङग्लो कविको रूपमा देखा परेका पाउँछौं । शब्दहरूको देश भनेर कविले आफ्नो जीवन लीला तथा जीवनमा भोगेका भोग्य स्थिति परिस्थिति र अनुहारहरूलाई प्रस्तुत गरेका छन् । शब्दहरूको देशमा कवि छेत्रीका विद्यार्थी तथा अध्ययनरत जीवनको मानचित्र ठिमाउनु गाह्रो पर्दैन । "कविता लेखनको केही कुरा" शीर्षकमा कवि स्वयं लेख्छन् - "वास्तवमा यी कविताहरू स्कुल र कलेजकालीन दिनहरूका सिर्जना हुन् । त्यस समयका मेरा प्रतिबिम्ब र प्रतिध्वनि हुन्, त्यसताकका समयका पदचाप हुन् । अरूका निम्ति यी केही नभए पनि मेरा निम्ति भने केही हुन्, जहाँ शब्दहरूभित्र म रूमालिएको छु । जहाँ म मेरै गाउँ-बस्तीको खले गराहरूमा, स्कुल र कलेजका प्राङ्गणमा आनन्दले बुर्कुसी मार्दै उफ्रिरहेको छु, हुन्छु ।" (पृ स ८२)।
विद्यालय पढ्दा सातौँ श्रेणीदेखि विश्वविद्यालयको उच्च शिक्षाको जीवनकालमा रचेका यी कविताहरूमा कवि छेत्रीका जीवन भूगोल र जीवनले बाँचेका हाँसेका रोएका सङ्घर्ष गरेका हरेक पक्षहरू, जुन पक्षले असन्तुष्टिको हेक्काहरू राखेका ती अनुभूतिलाई काव्यात्मक अभिव्यक्ति दिएका छन् । उतिखेर जीवनमा म केही गर्छु, केही हुन्छु, समयलाई सटीक रूपमा अघि बढ़ाएर आफ्नै बलबुत्तामा दौड़ेका समयका छापहरू उनको कवितामा अभिव्यक्त पाइन्छ-
म भायलिनको धुन नबुझ्ने मान्छे
म आकाशको कुरा नबुझ्ने मान्छे
म मेरै सपनाको मूल्यमा ऋणग्रस्त छु ।
यद्यपि विपनालाई आस्थाको काँधमा बोकेर
विश्वासको गोरेटोबाट
सङ्कल्पको पाइला हिँड़िरहेछु
मेरो मनको भिरबाट
पलायन नैराश्य र सन्त्रासहरू खसिरहेका छन् ।
(म जीवनको अग्रगतिमा विश्वास गर्छु, पृष्ठ-१७)
कोलाहालदेखि नआत्तिने कवि, समस्याको गाँठो फुकाउँदै काँड़ाहरू पन्साउँदै हिँड्ने कवि । प्रगति र अग्रगतिमा सधैँ विश्वास गर्ने कवि । जीवनको गतिमा विश्वास गर्ने कवि भनेर आफैलाई कविले विद्यार्थीकालको तथा जीवनको निर्माणकाल समयलाई यसरी सङ्केत गरेका छन् शब्दहरूको देशमा । उनको कवितामा पोजिटिभ वेब प्रशस्तै रहेको पाइन्छ । त्यसैले गर्दा कविको व्यक्तिगत जीवनमा उन्नतिको शिखर छोएको पनि देखिन्छ । राजका कविताहरुबाट हामीले इखले चोर्नुपर्ने पक्षहरू पनि यही हो । यस्ता कवितालाई युवावर्गले स्वाङ्गीकरण गर्नुपर्छ । यतिको सानो उमेरमा स्कुले र कलेजियन जीवनमा पनि जीवनमाथि गहिरो चिन्तन गर्ने, आफैलाई दरिलो उभ्याउने चेतका कुराहरू सुन्दर रूपले कविताहरूमा प्रस्तुत गरेका छन् । यसैले कवि छेत्री आफ्नै जस्तो जीवनमा नजिक रहेर बाँच्नुपर्ने पक्षलाई पनि प्रकाश पारेका छन् । गाउँ -बस्तीका असहज जीवनलाई कसरी सुगम र सुगन्धित बनाई बाँच्नुपर्ने भन्ने अनुभूतिहरू दर्बिलो र खदिलो रूपमा प्रकाश पारेका छन् । छेत्रीको कविताहरूको स्वरमा निराशवादी जीवनलाई बाँच्ने र बचाउने प्रेरणाहरूलाई ऊर्जाहरू प्रस्तुत गरेका छन् । जीवन हिलो हो, यसलाई आकार दिन ती जीवनशिल्पका हातहरूको ठूलो योगदान रहन्छ भन्ने पक्षमा जीवनका यो पाटोलाई सुन्दर रूपले यो कवितामा प्रस्तुत गरेका छन् ।
यो कवितालाई जीवनऊर्जा भनिरहँदा शब्दहरूको देशले दिन खोजेको उर्जा हुन्छ । मानव संवेगका सहज र स्वाभाविक अनुभूतिको प्रकट हुने प्रथम चरणले कविताको रूप प्राप्त गर्दछ (सुवेदी, विस २०५७- ०२)। यसरी छेत्रीका कविताहरूमा अन्तर भावनाका तरङ्गहरू कवितामा प्रकाश भएको पाइन्छ । जीवनलाई निर्माणतिर लानुपर्छ, जीवनलाई सहज बँचाइको दिशामा अघि बढाउनुपर्छ । मानवताको भावनालाई लिएर जीवनलाई अझै सुन्दर रूपमा प्रस्तुत गर्न सकिन्छ । कविले उनका कविताहरूमा शब्दहरूको देश-को भूगोलमा जीवनचेतना, समय चेतना, शोषण दमनको विरोधमा, आदर्शको जीवन निर्माण देखापरेको बिषम परिस्थिति, विसङ्गति राजनैतिक षड्यन्त्र गरिब दुःखीप्रति दमनको विरोधको स्वर र जीवनगतिमा देखापरेका असन्तुष्टिको भाकाको सिमाना कोरेका छन् । शब्दहरूको देशमा सङ्कलित भाविता, म डिस्क्वालिफाइड जिन्दगी बाँच्दैछु, जिन्दगी हत्केलामा राखेर, म आफ्नै सडक फर्किको छु, अक्षरको सहरमा तिम्रो याद आउँछ, शीर्षक कविताहरूले कविको जीवनमा भोगिसकेका भोगाइहरू मात्र नभएर कवि जस्तै जीवन बाँच्नेहरूको भूगोललाई सिमानामा बाँधिएको सङ्केत गरेका छन् ।
जिन्दगीको हिसाब किताब साँच्चै कता कताबाट
नमिल्नु खोज्दो रहेछ ।
भाजक भाज्य भागफल मिलेर पनि
भागशेष नमिलेर उब्रिँदो रहेछ ।
(जीवन बाँच्ने रिहर्सल गर्दैछु, पृष्ठ-२१)
तिम्रो सामीप्यको अभिलाषामा
तिम्रो मुलायम हातहरू समात्न
कुन कुन पहाड- पर्वत चढिनँ म !
कुन कुन खोला- खहरे तरिनँ म !
(शब्दहरूको देश-३, पृष्ठ-२८)
कवितामा उद्देश्य हुन्छ । उद्देश्यलाई कवि पाठकसम्म पुर्याउने ध्येय कविको हुन्छ । यसै अर्थमा स्वच्छ समाजको निर्माणमा गर्नुपर्ने दिनुपर्ने उद्देश्यलाई कविले कवितामा व्यक्त गरेका छन् । कविले जहिले पनि आफ्नो कवितामा देशकाल परिस्थितिको प्रभावलाई आत्मसात गरी सामाजिक विकृति र विसङ्गति आर्थिक विषमलाई तथा कविजस्तै मान्छेहरूले भोगेको जीवनलाई अप्ठ्यारो समस्यालाई सहजको गोरेटोमा डोऱ्याउने प्रयास गरेका हुन्छन् । यसै सन्दर्भमा छेत्रीका कविताहरू पनि राज जस्तै भनेर देखा परेका छन् । उनका कविताहरू कतै प्रगतिका स्वरहरू कतै जीवन-अस्तित्वको रक्षा मानवताको संरक्षण आदि जस्ता भावहरू व्यक्त भएका पाइन्छ ।
विशेषगरी कवि छेत्रीको कवितामा युगबोध, भाषा, संस्कृतिप्रति श्रद्धा, जातीय प्रेम र माटो प्रेमका भावहरू प्रगाढ़ रूपमा अभिव्यक्त भएको देखिन्छ । आफ्नै जन्मथलोको उकाली-ओराली, बाटो-घाटो, रूख-पात, खोला-नाला, फल-फूल, पहाड-मधेश, आकाश-बादल, हावा-पानी, हिमाल एवं हिमाली आदिलाई कवितामा दर्शाइएको पाइन्छ ।
जीवन चेतनाको पक्षदेखि परतिर छेत्रीको कविताकारितामा देखिएको विशिष्टता देशभक्त अथवा देशप्रति श्रद्धा भाव । देश शब्दसित नजिक रहेको पक्ष पनि उनकै कवितासङ्ग्रह तथा किताबको नाम देश जोडिएको पाइन्छ । सङ्ग्रहभित्रको कविताहरूमा प्रायः देश शब्दले बनिएको शीर्षक आदिले पनि कविभित्र रहेको देशप्रेम देशभक्त देशप्रतिको श्रद्धालाई बुझ्न अझ सजिलो बन्दछ । देशको माटोमा, म विश्वासहरूको सडक भएर शीर्षक कवितामा राष्ट्रिय भावना रहेको पाइन्छ ।
माटो भनेको त आमा हो ।
माटो भनेको त धरती हो ।
यसैले देशको माटोसित कोही पनि जिस्कनु हुँदैन ।
(देशको माटोमा म विश्वासहरूको सडक भएर, पृष्ठृ-६४ )।
मातृभूमिप्रति सम्मान राख्नु देशप्रति श्रद्धा भक्ति रहनु आफ्नो माटोको हक र अधिकारमा बाँच्नु पाउनु जस्ता भावहरू कवितामा अभिव्यक्त भएको पाइन्छ । देशवासीमा व्यक्तिगत कौटुम्बिक, स्वार्थ, दलगत मुद्दावादी, सम्प्रदायकता, सामाजिक, धार्मिक, आर्थिक विभेददेखि माथि उठेर जन्मभूमिको स्वतन्त्रतालाई गोर्खा जातिले पनि भोग गर्न पाओस् भन्ने आन्तरिक भावलाई देशप्रेमको पक्षमा सुन्दर रूपले अभिव्यक्त गरेका छन्-
त्यो नै मेरो देश हो ।
त्यो नै मेरो सर्वस्व हो ।
देश कसैको पनि पेवा हुँदैन
देश कसैको पनि बिरानो हुँदैन ।
(देशको माटोमा म विश्वासहरूको सडक भएर, पृष्ठ-६३)
कवि छेत्रीको अर्को एउटा सुन्दर कविता ‘दार्जिलिङभित्र म दार्जिलिङ खोज्दैछु’। कवि किशन प्रधानले दार्जिलिङको माया, सचिन खवासले ‘दार्जिलिङभित्र दार्जिलिङ खोज्दैछु’ जस्ता कविता लेखेर आफ्नो भूगोललाई आन्तरिक हृदयबाट मानसम्मान गरेका छन् । दार्जिलिङ विषयक कविताहरूमाथि लेखिएको सुन्दर समालोचनालाई यो कलमकारले पनि पढ्ने मौका पाएको थियो ।
कवि सञ्जय बान्तव, कवि मनप्रसाद सुब्बा, कवि ज्ञानेन्द्र खतिवड़ा, कवि नोर्ज्याङ स्याङ्देन, कवि शैलेन्द्र साकार, कवि प्रेम तुम्बापो, कवि जस योन्जन ‘प्यासी’, कवि विद्रोही साइँला, कवि राजेन्द्र भण्डारीका दार्जिलिङ विषयक कवितामा खोजेका छन् अनि कविलाई सोधेका छन् साथै कविको बिपनामा रहेको दार्जिलिङभित्र दार्जिलिङ खोजेका छन्, सोधेका छन् । कविहरूलाई बडो सुन्दर प्रयोगात्मक कविताले कविता पाठकलाई एउटा छुट्टै टेस्ट दिनमा सफल भएको पाइन्छ ।
प्रस्तुत कविता सङ्ग्रहमा १२ वटा मुक्तकहरू समावेश गरिएका छन् । आजभोलि मुक्तकमा केही मुक्तकारहरूले शीर्षकविहीन मुक्तकहरू सिर्जना गरिरहेका छन् तर छेत्रीले आफ्नो मुक्तकको शीर्षक दिएका छन् । कविताको माइक्रोरूपलाई मुक्तक भनेर चिन्दै आएका छौं । कविताको थुप्रै उपविधाहरूमा मुक्तक पनि एउटा हो । चार लाइनमा छोटो कवितालाई मुक्तक भनिँदै आइरहेका पनि छौं । मुक्तकलाई गागरमा सागर भर्ने कला हो भनेर धेरै मुक्तक सर्जकहरूले ठिम्याइरहेका छन् । आजभोलि मुक्तकको नयाँ प्रयोगमा ८ देखि ९ लाइनसम्म छोटो कवितालाई पनि मुक्तक सृजना भनेर मानिरहेका छन् । यस्तै अर्को बिम्ब कविता मङ्पुबाट उदय थुलुङ, सुभद्रा बम्जन आदि कविहरूले बिम्ब कवितालाई निरन्तर अगाड़ि बढ़ाइरहेका छन् । यस सन्दर्भमा छेत्रीका पनि २० वटा सुन्दर बिम्ब कविताहरू यस कविता सङ्ग्रहमा समावेश रहेको पाइन्छ ।
मुक्तक र बिम्ब कवितालाई अध्ययन गर्दा दार्जिलिङको जनजीवनको आर्थिक, सामाजिक एवं राजनीतिक समस्यादेखि गोर्खा जाति गुज्रिरहेको, शोषित भएर बाँच्नुपरेको स्थितिहरूलाई मुक्तक र बिम्ब कवितामा वस्तु ध्वनिको रूपमा प्रस्तुत गरेका छन् । युगीन जीवन पद्धति, प्राकृतिक सौन्दर्यप्रति सचेतना, शोषण-दमन विरूद्धमा उठेका आवाजहरू मुक्तक र बिम्ब कविताले प्रस्तुत गरेका छन् । मानवताको भावलाई जनजीवनमा पूर्ण स्थापना गर्ने उद्देश्यलाई पनि अघि बढ़ाएका देखिन्छ ।
जनता
आमरण अनसनमा
बेहुला नेताहरू मेजमानमा
खानपिन कस्तो भए कुनि
*** *** ***
गोर्खाल्याण्ड
चाहना सबैको
जनताको हरियो सपना
पहिलो हुँदै बेरङ्गी हुनथाल्यो ।
कवि छेत्रीको मुक्तक र बिम्ब कवितामा व्यङ्ग्यको प्रहर बड़ो प्रखर रूपमा रहेको पाइन्छ । आजको युगमा जनजीवनले भोग्नुपरेको स्थिति र परिस्थितिलाई सङ्केत गरेर व्यङ्ग्य कसेका मुक्तक र विम्ब कविताले एउटा चेतलाई पस्किएको छ । सचेतका सन्देशहरू दिन खोजेका छन् । आफ्नो घर आँगनको सपना माटोप्रति जातिप्रति श्रद्धा प्रेमलाई अवहेलना गर्ने हाम्रो नेतृत्वहरूलाई यी मुक्तक र बिम्ब कवितामा व्यङ्ग्य कसेका छन् । छेत्रीका कविताहरूले जीवनलाई नजिकबाट बुझ्ने कोसिस गरेका छन् । जीवनका उतार-चढ़ाव, जीवनको दुःख-सुखलाई मात्र होइन जीवनलाई सहज रूपमा अघि बढ़ाउनमा गर्नुपर्ने कर्तव्य, मेहनत, सङ्घर्षलाई सहर्ष स्वीकार गरेर अघि बढ्नुपर्छ भन्ने सन्देश उनको कविताले प्रस्तुत गरेका छन् । उनका वरिपरिका परिवेशलाई प्रकृतिलाई कवितामा बड़ो सुन्दर रूपले दर्शाएका छन् । कवि छेत्रीका कविताहरूमा प्रयोगी भाषाशैली सरल र सरल सबैले सहज बुझ्ने कविता पाठकलाई कविताको स्वाद दिन चुकेका छैनन् अथवा पाठकले कविताहरू स्वाद मान्दै ग्रहण गर्नेछन् अवश्य पनि ।
भारतीय नेपाली साहित्यमा राजकुमार छेत्रीलाई कविको रूपमा उभ्याउने काम ‘शब्दहरूको देश’ कविता सङ्ग्रहले गरेको छ । अबउसो राजकुमार छेत्री समालोचक मात्रै नभएर एकजना सफल कविको रूपमा पनि स्वीकृत हुने स्पेस ‘शब्दहरूको देशमा’ कविता सङ्ग्रहले पाठकहरूलाई पस्किसकेको छ । यस अर्थमा भारतीय नेपाली कविता साहित्यमा ‘शब्दहरूको देश’ पनि अबउसो थपिएको एउटा कृति हो ।
सन्दर्भ कितापहरू-
सुवेदी, राजेन्द्र(वि स २०५७)-सिर्जनात्मक लेखनः सिध्दान्त र विश्लेषण,काठमाडौं, पाठ्य सामग्री पसल
छेत्री, राजकुमार (सन्२०२३)-शब्दहरूको देशमा, नागरी, मनमाया प्रकाशन, दार्जीलिङ ।
जोशी, प्रधान बिमला(२०२३)-राङभाङ भेल्लीका सर्जक र सिर्जना,नागरी फार्म लेखिका स्वयंम प्रकाशित ।
मिलन मोड़, सिलगढ़ी