19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सङ्कटका क्षणमा : वृषभ–विम्ब

निबन्ध पुण्य कार्की October 10, 2026, 1:11 am
पुण्य कार्की
पुण्य कार्की

जीवनका अतिशय कठिन क्षणहरू मान्छेको मेधालाई खार्न आएका हुन्छन् । ऊभित्रको प्रज्ञा–ज्योतिलाई प्रज्वल्लित पार्नै आएका हुन्छन् । तर, बबुरो मनुवा यो कुरा बुझ्नसक्तैन । ‘मेरै थाप्लामा किन घोर सङ्कटका असिना बर्सिन्छन् हँ !’ भनी उल्टै अन्फनाउँछ । त्यो सङ्कट उसलाई चिथोर्न होइन, निखार्न आएको थियो । उसले बुझ्नुपथ्र्यो– यी भीमकाय चुनौतीहरू मलाई सक्न÷सिध्याउँन होइन, मलाई बलशाली बनाउन आइरहेका छन् । मेरो अस्तित्व मेट्न होइन, मेरो व्यक्तित्वमा चमक भर्न आइरहेका छन् । मेरो पङ्गु भुत्ते जीवनमा पाइन भर्न र धार उमार्न यी मुस्किल क्षणहरूले मलाई सघाउँने छन् ।

कठिन क्षणहरूलाई हेर्ने र परिभाषित गर्ने आँखाहरू बदलिएपछि मान्छे शूलमा फूल देख्ने हुन्छ । सबै स्थितिलाई सकार भावमा आत्मसात गर्ने बोध जागेपछि मान्छे पर्खालमा दैलो देख्ने हुन्छ । कालो घनघटामा चाँदीको घेरा खोज्ने हुन्छ । त्यसैले हर कठिनतम् समयले मानिसको आँगनमा सङ्कटको बाढीमात्र ल्याँउदैन, अनन्त सम्भावनाका द्वार पनि खोलिदिन्छ । यसले समस्याको पहाडमात्र उभ्याउँदैन, समाधानको क्षितिज पनि टाँगिदिन्छ, यसले सुख–समाधिको सप्तद्वार पनि खुलाइदिन्छ ।

मेरो जीवनमा आएका कतिपय कठिन पलहरूले केही समय त मलाई खूब सास्ती दिए । पींडाको पोखरीमा अईं अईं पार्नेगरी डुबाए । तपनको दलदलमा हलन–चलन गर्न नदिई भसाउनसम्म भसाए । तर, ती तपनका क्षणहरूसित संघर्ष गर्दै जादाँ मलाई थाहा भयो– हर सकसहरू त मलाई मजबुत पार्दै आएका रहेछन् । मलाई केही न केही सिकाउनै आएका रहेछन् । दुःखका क्षण्सित मुकाविला गर्नका लागि चाहिने ज्ञानधारा पिलाउनै आएका रहेछन् । जीवनको कठिन बाटो छिचोल्न सानो तपले पुग्दैन यसको लागि अदम्य साहस, साधना र समर्पण चाहिन्छ तीसबै चिजले समजुक्त निष्णात योगी बनाउनै आएका रहेछन् । अहोरात्र जाग्रत चेतनामा रम्ने तपस्वी बनाउनै आएका रहेछन् ।

जीवनको आरम्भिक चरणमा आफ्नो शिरमाथि खसेका कठिन पलहरूदेखि म औधि डराएँ । अतिशय सकसका क्षणहरूसित मुकाविला गर्ने सिलसिलामा थोरै विचलित पनि भएँ । निराशाका कालो दलदलमा नराम्ररी भास्सिन पनि खोजेँ । तर, मैले एउटा सत्यलाई गहिरोसित बुझेँ– जीवनमा जतिपनि चुनौतीका सिलसिला खडा हुन्छन् त्यो मान्छेको तागतलाई अरु मजबुत पार्न आएको हुन्छ । जीवनका थाप्लोमा खस्ने किसिम किसिमका हिमपहिरो र आँधिहुरी ऊभित्रको जरो बलियो बनाउन आएका हुन्छन् ।

जीवनमा घटनाहरू उसको चेतना विकसित गर्न घटेका हुन्छन् । जीवन र जगत्को फलकमा अनाहकमा केही भैरहेको हुन्न । एउटा खास प्रयोजनबाट, एउटा खास अभिप्रायबाट जीवनका हर मामला आयोजित छन्, हर घटना एकएक हेतुवश प्रायोजित छन् । त्यसैले जीवनमा सङ्कट आउनुको पनि एउटा अर्थ छ, एउटा उद्देश्य छ । जीवन समस्याको भुङ्‌ग्रोमा खस्नुको पनि खास अभिप्राय छ । ती अर्थ र अभिप्रायलाई बोध गरेका दिन सङ्कटसित सामना गर्ने शैली बदलिन्छ । कठिन पलहरूसित साक्षात्कार गर्ने नजर अर्कै हुन्छ । त्यसकारण आजभोलि जीवनमा घट्ने अतिशय दुर्दान्त क्षणहरूसित डराउन छोडेको छु । विपत्तिका घडीमा टुप्पी ठाडो पारी भाग्न छाडेको छ । बरु हर सङ्कटसित शालीन रुपमा संवाद गर्ने बान्की सिकेको छु । तपनसित सामना गर्ने तरिका खिपेको छु । कठिन पलसित मुकाविला गर्ने मृदुल लय झिकेको छु । संघर्षको नूतन लय र शैलीबाट जीवनमा थोरै चमक थपिएको छ । दिनदिनै सौरभहीन बन्दै गएको जीवनमा नवीन सुवासको गमक भरेको छ ।

जीवनलाई परिमार्जन गर्नै आउँछन् कठिन पलहरू । त्यसैले ती पलहरूदेखि आत्तिनु हुँदैन, डराएर भाग्नु हुँदैन । यिनलाई मुलायम हातहरूले सुम्सुम्याउनु पर्छ । समयलाई आफ्नो परिष्करणमा उपयोग गर्नुपर्छ । जीवनलाई सुन्दर ढंगले परिष्कार गर्न आएका हुन्छन् तपनहरू । हर तप्पनलाई लप्पन छप्पन नगरी स्वागत गर्नुछ । उहिल्यै वनमा तप गर्ने मनुवा तपस्वी हुन्थ्यो, अहिले जल्दोबल्दो समय र समाजसित जो तपेर सामना गर्छ, त्यही तपस्वी हुन्छ, समस्याका भीमकाय पहाडसित जो डटेर मुकाविला गर्छ उही तपस्वी हुन्छ । ऊ आफ्ना टाउकामा बर्सिने कष्टका कहरदेखि रत्तिभर डराउँदैन । उसले बुझेको हुन्छ– कष्ट खेप्नुमा जीवन कसिलो बन्छ । चुनौतीको सामना गर्नुमा जीवन रसिलो बन्छ ।

कष्टले नै वेस्वादको जीवनमा स्वादका तहहरू भर्दछ । यसले जीवनमा रङ्गिन अनुरागका अनेकौँ तहहरू उमार्दछ र पो जीवन मनोरम बनेको हुन्छ र पो जीवन मृदुल सुखले भरिएको हुन्छ ।

मान्छेले हर सङ्कटलाई सिँढी बनाई उकालो चढ्ने कला जान्यो भने ऊ उन्नतिको शिखर सजिलै उक्लिन्छ । यदि त्यो सिँढी कुद्ने कला जानेन भने पतनको कहाली लाग्दो खाल्डोमा खस्न पनि बेर लाग्दैन । खस्ताखेरि कसैले रोक्न पनि सक्तैन । त्यस घडी उसको यात्रा दुःखको रौरव नरकतर्फ अभिमुख हुन्छ ।

मानिसको जीवन सङ्कट र समस्याविहीन छैन, जीवन कष्टविहीन पनि छैन । यहि सङ्कट छ र त जीवन सृजनमयी छ । जीवन कष्टले भरिएको छ र त यो मधुमयी छ । सङ्कटले नघेरिएको जीवन थारो र बाँझो हुन्छ । थारो जीवनले सृजनको अङ्कुर उमार्न सक्तैन । जीवन अनन्त कष्टले भरिएको कारणले यसमा अनमोल मिठास छ । यदि त्यो मिठास नहुँदो हो त जीवन कत्ति स्वादहीन खल्लो बन्थ्यो होला !

हर सङ्कटबाट पार पाउने सङ्घर्षको सतत् शृङ्खलाले जीवनलाई ताजा राख्छ । यसै कुराले मान्छेलाई सक्रिय र गतिशील बनाउँछ । चुनौतीले मान्छेलाई जीवन्त राख्छ । चुनौती विनाको जीवन जड बन्छ, मृत बन्छ । त्यसघडी ऊ बाँच्नुको आभा हराएर निर्जीव बस्तुमा तिरोहित हुन्छ । भीषण सङ्कटमै सङ्कटबाट पार हुन अखेटा देख्ने आँखा मिलेपछि ऊ नहड्बडाईकन तिनै अखेटा टेकेर अनन्त आकाशको उचाइ स्पर्श गर्छ । तर, सङ्कटलाई सिर्फ सङ्कट देख्न थालेपछि आफ्नै टाउको माथि उज्यालो क्षितिज छ भन्ने कुरा बिर्सिन्छ र त्यो क्षितिज चियाउन भुल्दछ । सङ्कटलाई सिर्फ सकस मानेपछि संघर्षको सिलसिलाबाट विमुख बन्दछ र उसले बिस्तारै पलायनको बाटो रोज्दछ ।

जो कोहीको जीवनमा सङ्कटका क्षणहरू मान्छेलाई केही सिकाउनै आएका हुन्छन् । ती दुर्लभ पलहरू मान्छेको बोधो बुद्धि तिखार्नै आएका हुन्छन् । सिकाउन आएको समयबाट मान्छेले केही न केही सिक्नैपर्छ । तिखार्न आएको समयबाट मान्छे केही न केही तिखारिनु नै पर्छ । सङ्कटबाट सिक्न भुल्ने मान्छेले अगमपथको यात्रा भुल्दछ । चुनौतीबाट पार हुने कला बिर्सन्छ ।

कष्टले नै बेस्वादको जीवनमा स्वादका तहहरू भर्दछ । यसले नै जीवनमा रङ्गिन अनुरागका अनेकौँ तहहरू उमार्दछ, र पो जीवन मनोरम बनेको हुन्छ, र पो जीवन मृदुल सुखले लबालब भरिएको हुन्छ । समस्याका अनगिन्ति पहाड खसेर जीवनको सुरम्भ्य सिलसिला टुटेका बखत मान्छेलाई टुट्न नदिने तत्व समयसितै छ । मान्छेलाई भित्रबाट फुट्न नदिने तत्व ऊभित्रै छ । बाहिर देख्नको लागि मान्छेलाई टुटाउन आएजस्तो लाग्छ समय । उसलाई धुजाधुजा खण्डित गर्न आएजस्तो लाग्छ सङ्कट । तर सङ्कटले त ऊभित्र अखण्ड रहने रसायन हाल्दछ । त्यसले मानिसलाई सग्लो सिङ्‌गो स्वरूपमा झन मजबुत पारेर जान्छ । प्रतिकूल समयले पनि जीवन निर्माणको दिव्य गीत गाएर जान्छ । जीवनमा नाँच्ने प्रतिकूल मौसमले पनि अनुकूलनका अनेक भाका हालेर जान्छ । सर्वथा अनुकूल समयले अक्सर मान्छेलाई लाचार कमजोर बनाउँछ तर प्रतिकूल समयले मानिसलाई पाइनदार मात्र बनाउन्न, प्रतिरोधी शक्तिको एक अभेद्य किल्लामा अनुदित गर्दछ ।

जीवनका हर व्यतिक्रम पुर्ने गरी झुल्किन्छ नयाँ समम । सङ्कटपूर्ण समयले मान्छेका सवल सामथ्र्यहरू खोसेर उसलाई क्षणभरमै अपाहिज बनाउँछ । ठाउँका ठाउँ कुँजिने गरी पङ्गु बनाउँछ । अकिञ्चन निमुखो तुल्याउँछ । तर त्यो परिघटना केही समयका लागि मात्र हो, उसले आफ्नो कर्मठताको बाटो परित्याग गरेन भने त्यही समयले निरीह निमुखो अवस्थाबाट वाचाल विद्रोही स्वरूपमा उतारिदिन्छ । ऊभित्र सशक्त ऊर्जाको वैभव खन्याइदिन्छ ।

उसका सनातन खुशीहरू खोसेर निचेष्ट निम्छरो तुल्याएको बखतमा अन्तश्चक्षुमा लोभलाग्दो उज्यालो भर्दछ र त्यही चेतनज्योतिले जीवनको सारा अँध्यारो भगाइदिन्छ । ‘म¥यो ! मरिसक्यो !!’ भनेको मान्छे अनौठो ईच्छाशक्ति जागेर ब्यूझिँन्छ । अन्तस्करणमा बलेको आशाको दियोले क्षणभरमा उसलाई जीवनशील तुल्याउँछ ।

शिरमाथि सङ्कटका बादल मडारिएर असिना ओइरिएको बखत एक बूढो गोरुको कथाले मभित्र अनौठो प्रेरणा भर्दछ । जसरी घोर विपत्तिको खाडलमा खसेको त्यो चौपाया प्राणी मृत्युको खाल्डोबाट बाहिर निस्क्यो त्यसैगरी मलाई पनि विपतबाट बाहिर आउन आशाको ज्योति जगाउँछ । जबजब मेरो शिरमा विपत र वियोगको तुसारो खस्छ । मेरो घाँटीको श्वास नली थिचेर निस्सास्सिने बनाउँछ, त्यस घडी पिठिउँको माटो टक्टक्याएर खाल्डोबाट माथि उठिरहेको वृद्ध वृषभको चित्रले मेरो मानसपटलमा अभिनव रक्तसञ्चार गर्दछ ।

एकचोटिको कुरा हो, एउटा किसानको गोरु गहिरो खाल्डोमा खस्यो । गोरुको बाहिर निस्कने कुनै उपाय थिएन । गोरु एउटा ठुलो इनारमा खसेको थियो । यस कुराले गोरु–धनी किसानलाई पर्नु पीर प¥यो । गोरुलाई खाल्डोबाट बाहिर निकाल्न अनेक जुक्तिबुद्धि लायो । तर कुनै पनि उपाय कामयावी हुन सकेनन् । किनभने खाल्डो अति गहिरो थियो । खाल्डोमा खसेको गोरु जोडजोडले कराइरहेको थियो ।

गोरुको रोदन किसानले सुनिरह्यो, खासै केही गर्न सकेन । किसानका थुप्रै सहयोगी साथीहरू आए । खाल्डोबाट गोरु बाहिर निकाल्ने विषयमा अनेक सोचविचार गरे । त्यति गहिरो साँगुरो खाल्डोमा फँसेको गोरु तान्न र बाहिर निकाल्ने कुनै उपाय भेटेनन् ।

गोरुको एकोहोरो रोदनले उनीहरूलाई व्यथित तुल्यायो । तर मानिससित कुनै उपाय थिएन । त्यस चौपाया प्राणीको आर्तनाद सुन्न नसकेर शुभचिन्तकले किसानलाई सल्लाह दिए– आखिर गोरु निकै बूढो भैसकेको छ । अब बाँच्ता पनि धेरैसाल हलो जोत्न सक्तैन । यसको बिजोक हेर्नुभन्दा बरु यही खाल्डोमा माटो खसाएर पुरिदिऊँ । आखिरमा केही उपाय नलागेपछि किसानले पनि गोरु खाल्डोमै पुरिदिने निर्णय ग¥यो । दुई चारजना सहयोगी साथी खोजेर बेल्चा कोदालीले फटाफट खाल्डोमा माटो खसाउन थाले ।

सुरुमा गोरु आत्तियो, अलमलमा प¥यो । एउटा विपत्तिमा त परेकै थियो गोरु । झन् त्यसमाथि आफ्नै मालिकले निर्दयी तवरले आफूमाथि माटोका ढिक र चपरी खसाइरहेको छ । गोरुले आफू उपर अर्को के सङ्कट आइलाग्यो ! बुझ्न सकेन । चौपाया पशु न हो, आफूमाथि के गरिँदैछ ? थाहापत्तो पाएन । आफूमाथि लगातार माटोका ढिक बर्साएपछि ग्वाँ कि ग्वाँ रून थाल्यो । केही समयपछि खाल्डोमा अनौठो शान्ति छायो । गोरुको आवाज आउन छोडेको थियो । खाल्डोमा एक किसिमको सन्नाटा छायो । किसानले सोच्यो– गोरु माटोले पुरिएर अब चैँ म¥यो क्यारै !

गोरु चिच्याउन छाडेपछि किसान र माटो खसाउने अरु साथीहरूले खाल्डोतिर नियाले । नसोचेको दृश्य देखेर किसान लगायत सबैजना चकित परे । जतिजति माथिबाट गोरुलाई पुर्न माटाका ढिक र चपरी खसाइन्थ्यो, गोरु भने आफ्नो ढाड र टाउकामा बर्सेको चपरी टक्टक्याएर पाउमुनि खसाल्थ्यो । माथिबाट शरीरमा जति माटो बर्सिन्थ्यो, त्यति नै जिउ हल्लाउँदै माटो खाल्डोको पिँधमा झार्दै गयो । क्रमशः त्यही माटोको सिँढी टेकेर गोरु माथि उक्लिँदै गयो ।

खाल्डो उपर आउने गोरुको जुक्ति देखेर किसान पनि खुशी भयो । उसलाई गोरु मार्ने कुनै रहर थिएन । गोरु पुर्ने ईच्छाले भन्दा अरु उपाय केही नदेखेर त्यो काम गरेको थियो । गोरुमाथि माटो नखसाउँदा कत्ति दिनसम्म तड्पिएर गोरु मर्ने थियो । गोरुको त्यो बिजोग अवस्था देख्नुपर्ने भयले उनीहरूले माटो खसालेका थिए । तर जतिजति माटो खसालियो त्यतित्यति माटो टक्टक्याउँदै त्यही माटो टेकेर गोरु माथि उक्लिँदै गयो । किसानले माटो खसाउने काम जारी राख्यो । सबै मान्छेलाई चकित तुल्याएर गोरु बाहिर निस्क्यो । खुशीले पुच्छर ठाडो पार्दै खेततिर भाग्यो ।

कठिन पलहरूमा समय स्वयम् निर्मम बनेर आउँछ र मानव जीवनका टाउको र ढाडमा पनि बहुत तरहका माटोका चपरी, आगो, असिना, रोडा, ढुङ्गा, गिटी बालुवा र माटोका ढिकहरू खसालिदिन्छ । गोरुलाई जस्तै जिउँदै पुर्नका लागि चपरीका थाकहरू बर्साइन्छ । चरम विपतका यस्ता घडीमा ढाडबाट माटो टक्टक्याइरहेको वृषभ–विम्ब आँखामा गोचर हुन्छ । अनि त जतिसुकै ठुला सङ्कटका चपरी पनि एकै झट्कामा पैतलामुनि दबाएर माथि उठ्ने हिम्मत जाग्दछ ।

मैले पनि चपरीकै सिँढी टेकेर माथि उठ्नु छ । त्यही बूढो गोरुबाट पाएको अमूल्य शिक्षाले किसिम किसिमका खाल्डोबाट माथि उक्लिने चेष्टा गरिरहेछु । मायाले हो या घृणाले माटो खसाउनेहरू विल्कुल माटोमुनि पुर्ने हिसाबले नै माटो झारिरहेका छन् । तर, म भने सङ्कटको सिँढी टेकेर खाल्डोबाट मुक्त हुने प्रयत्नमा छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।