19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जराको शक्तिभित्रका केही निबन्धको आलोकमा पुण्य कार्कीको निबन्धकारिता

कृति/समीक्षा बालकृष्ण काफ्ले October 10, 2026, 1:15 am
बालकृष्ण काफ्ले
बालकृष्ण काफ्ले

साहित्य सर्जक पुण्य कार्की उदयपुर जिल्लामा रहेर अविरलरूपमा विभिन्न विषयमा निबन्ध सिर्जना गर्दै आउनु भएको छ । निबन्धकार कार्कीद्वारा लिखित धेरै निबन्धहरूमध्ये ‘अन्न र आजादी’, ‘खरिजुकाहरू’, ‘नवदुर्गाका मिथकहरू’, ‘गनगन कि गुनगुन’, ‘दाम्पत्य प्रेम’, ‘निर्धूम आनन्द’, ‘तले घरहरू’, ‘पसिनाको रङ’, ’जय ढुङ्गेयुग !’ र ‘नयाँ कलेवरमा गुलामी’ जस्ता निबन्धहरू पछिल्लो समयमा प्रकाशित चर्चित निबन्धहरू हुन् । यी निबन्धमाथिको समीक्षण गर्दा यिनमा अन्विति भएर आएका फरक–फरक विषय वस्तु, लेखन–शैली, फरक प्रस्तुतिकरण, प्रवृत्तिगत स्वरहरूले निबन्धकारको समष्टिगत प्रभावलाई अभिव्यञ्जित गर्दछ ।

‘अन्न र आजादी’ निबन्धमा मानिसले खान प्रयोग गर्ने मूल वस्तु अन्न र आजादीको अर्थात् स्वतन्त्रताको अन्तर्सम्बन्ध र यसको महत्तागान गर्दछ । नेतृत्वका अतृप्त सत्तामोहले लोकतन्त्र र पेटको सम्बन्ध विच्छेद गरेको छ । उपभोग्य वस्तु आयातमा नेपाली मुद्रा बाहिरिनु परेको दारुण अवस्था र कृषिप्रधान देशमा खाद्यान्न खरिद गर्नपर्ने विकराल स्थितिको चित्रण टड्कारो ढङ्गले गरिएको छ । जसरी हात्तीको देखाउने र चपाउने दुईखालका दाँत भएझैँ लोकतन्त्र पनि देखावा र लुकुवाको आवरणलाई पर्दाफास गरिएको छ । राष्ट्रिय राजश्व र वर्तमान अर्थतन्त्रको स्थितिलाई अत्यन्त सूक्ष्मतवरले उजागर गरिएको छ । अन्न जति सबै साहुकै गोदाममा भण्डारण हुँदा अन्न बिनाको आजादी जनताका लागि खोक्रो कल्पनामै सीमित हुनपुग्छ । कामकाजीहरू कामचोर हुनुले सत्ताको नाङ्गोपन सादृश्य गराउँदछ ।

‘खरिजुकाहरू’ शीर्षकको निबन्धमा जनताद्वारा छानिएका वा जन निर्वाचित जनप्रतिनिधिलाई खरिजुकासँग तुलना गरिएको छ । खरिजुकाहरू पातको पछाडि लुकेर बस्दछन् । समय आउनासाथ तिनले मानिसको रगत चुस्ने उद्यम गर्न थाल्दछन् । देशको कुनाकाप्चामा समेत ती खरिजुकाहरूको विगविगी छ । अझ मानिस छोडेर चौपाया गाईवस्तुको नाकबाट शरीरभित्र प्रवेश गरी रगत चुस्दछन्, र त्यस्तै परे भोकै पनि बस्दछन् । निबन्धमा खरिजुकाको मात्र मानवीकरण गरिएको छैन भ्यागुता, मुसा, कुकुरजस्ता मानवेतर पशुप्राणीलाई समेत मानवीकरण गरिएको छ । अरु समय शहरमा सुबिधाको जिन्दगी बाँच्नेहरू निर्वाचनताका चुनाव जित्न खारिजुकाहरू गाउँ पस्दछन् । खरिजुकाको स्वभाव बोकेका मनुवा खेलाडीहरूको नकाव उतारिएको छ निबन्धमा ।

‘नवदुर्गाका मिथकीय रूपहरू’ निबन्धमा नवदुर्गाका नौवटा स्वरुपको बारेमा चर्चा गरिएको छ । कसरी देवदैत्यका सन्दर्भहरू मिथकीय विषयवस्तुका रूपमा हाम्रा पूर्वीय ग्रन्थहरूमा प्रयोग भएका छन् भन्ने कुराको नालीबेली स्पर्श गर्न सकिन्छ । सत्य–असत्य, सही–गलत, सुन्दर–कुरुप, नीति–अनीति आदिका सन्दर्भहरूलाई प्रष्ट्याउने जमर्को गरिएको छ । प्राचीन देवी र दानवको युद्धबाट वर्तमानको राजनैतिक, सामाजिक र सांस्कृतिक अवस्थासित विषयवस्तुलाई अन्तरघुलित गरी कुराहरू फन्फनी घुमाइएको पाइन्छ । नवदुर्गाका रुपले शान्ति र न्यायको स्थापना, नारी शक्तिको महत् भूमिकालाई जोड दिएको छ । साथै निबन्धकारले नवदुर्गाका स्वरूपको लाक्षणिक चर्चा गरेर मिथकीय सन्दर्भहरू साहित्य सिर्जनाका अनमोल खजनाको रुपमा प्रष्ट्‌याउन खोज्नुभएको छ ।

‘गनगन कि गुनगुन’ शीर्षकको निबन्धले मानव मनोविज्ञानको सकारात्मक सोच नै मानव उन्नतिको पथप्रदर्शक सिद्धान्त हो भन्ने कुरालाई पुष्टि गर्न खोजेको छ । मान्छे धनले होइन मनले गरिब हुन्छ, सोचले गरिब हुन्छ । चिन्तनले गरिब भएपछि त्यसको ओखति अर्थमा खोज्नु बेकार छ भन्ने कुरा प्रमाणित गरिएको छ । गुनासो बक्ने मनोविज्ञान, नेता, राजनीति, चिकित्सा विज्ञान, बाल्यवस्था, प्रकृति आदि पक्षहरूको परिचयात्मक विवरणमात्र छैन तिनका गहिराइमा पसेर सार्थक सकारात्मक चिन्तन गरिएको छ । अवकाशपछि पनि असन्तोषमा बाँच्ने मानिस नैराश्यतापूर्ण जीवनतफ धकेलिन्छ । गहन परितोष र सिर्जनाले सकारात्मक सोचलाई मलजल गर्दछ । गनगनबाट होइन, गुनगुनले आशावादी टुसा अङ्कुरण हुन्छ भन्ने सत्यलाई उद्भासित गरिएको छ । गनगनले आलस्यता र निराशाको भाव उठान गर्ने दर्शनलाई निबन्धको केन्द्रीय कथ्य बनाइएको छ ।

‘दाम्पत्य प्रेम’ शीर्षकको निबन्ध आरेख, अकम्प, त्वरा जस्ता नयाँ पदावलीको उपस्थिति छ । दाम्पत्य प्रेममा दुवै प्रेमीप्रेमिका बराबर भागिदार हुनपर्दछ भन्ने दर्शनको बोध गराएको छ । नयाँ जोडीले एउटै छातामा ओत लाग्दा दुवैजनाले भिज्नु परेको प्रसंग अगाडि ल्याइएको छ । उमेर अनुसार प्रेमका तीन चरणहरू बैँशालु उमेरको प्रेम, वयस्क उमेरको प्रेम, र वृद्ध अवस्थाको प्रेम अर्थात् बुढेसकालीन प्रेमलाई अलग अलग आयाममा प्रष्ट्याउन खोजिएको छ । विरोधाभाषी यथार्थले सक्कली प्रेम र नक्कली प्रेमको स्वरुप देखाएको प्रसंग एक प्रेमिकाले मिठाइ, मासु आदिको माग तेस्र्याउँदा उसको पतिदेव भने सुगर प्रेसरको विमारले पीडित छन् । कुन्जोलाई एक शक्तिशाली नारी हतियारका रूपमा अघि सारिएको छ । सरकारी तलब र फजुल खर्चलाई पनि निबन्धले प्रष्ट्याउन खोजेको छ । दुई दम्पतिबीच मालिक र नोकर, राजा र रैतीको दर्जा भन्दापनि समान व्यवहारको अपेक्षा रााखिएको छ । अमेरिकी कथाकार ओ हेनरीको एकजोडी प्रेमीको कथा प्रसंग मीठो छ । दुई प्रेमीबीचको जन्मदिनको उपहार घडीको चेन र कपाल बाँध्ने काँटा निरर्थक बनेको छ कथाको अन्त्यमा । प्रेममा पूर्व सल्लाह र वार्तालापको पनि जरुरत पर्दछ भन्ने सन्देश दिन खोजिएको छ ।

‘तले घरहरू’ शीर्षकको निबन्धले अग्ला र तले घरहरुको विचित्र र विक्षिप्त अवस्थालाई प्रष्ट पारेको छ । तलेघर रहर, इच्छा र बाध्यता भन्दा पनि होडबाजी र देखासिकीको उपजले बन्दै गाएका छन् । अग्लो घरमा चढ्न म पात्रलाई बढी नै डर लाग्छ । तले घरको सिँढी भन्दा पुरानो काठे घरको लिस्नो नै आरामदायी हुन्छ भन्ने कुरा सावित गर्न खोजिएको छ । मानव शरीर माटोबाट निर्माण हुन्छ, यो आखिरमा माटोमै विलीन हुन पुग्दछ । आकाशमाथि शक्तिका साथ उड्ने चङ्गा पनि एकदिन धागो छिनेर भुइँमा झर्नुपर्छ भन्ने प्रसंग उठान भएको छ । साहुको अनावश्यक ऋण लिए तलेघर निर्माणमा कायल छ मान्छे । ट्विनटावरका शिर एकदिन ढल्दारहेछन् । बाँस, खर र बाबियो निर्मित पुनातनवादी घरले साँचो अर्थमा मानवीय भावना बोक्तछ । मान्छेले टिन टल्काउँछ छानामा तर यसले साहु पल्काउँछ, दुःख बेसाउँछ अन्तरमा । आखिर सबै घरका जग त जमिनमै छन् नी । शक्तिको पूजा गर्ने मोह जाग्दै जाँदा तलाह बढे तर मानिसका मनहरू होचा पुड्का बन्दै गए । विवेक बुचो बन्यो आज ।

‘पासिनाको रंग’ निबन्धमा परिश्रम, सीप, मेहनत र पसिनाले दिने आनन्दको चर्चा गरिएको छ । जहाँ पसिनाको गन्ध रहन्न, त्यहाँ आनन्दको सुगन्ध गम्कन्न । अब आँसु र रगतको साटो पसिना बगाउनु पर्छ । समाज र राष्ट्रको हित पसिनामा छ र पसिनाको मोल अमूल्य छ । तर आज पसिना प्रताडित छ । पसिना पिरोलिएको छ, पसिना भित्र–भित्रै रोइरहेछ । एकदिन पसिनाको मोल तोलाको भाउमा बिक्नेछ । यसको हिसाब गणना पक्कै गरिनेछ ।

सादा जीवनलाई पसिनाले रंगिन स्वरुपमा बदल्छ । पसिनाको इन्द्रावती अटुटरूपमा बगिरहनु पर्छ । मान्छे सिर्जनको स्रष्टा हो, एकदिन मान्छे पूजित हुनुपर्दछ । अब श्रमिकलाई पनि तपाई भनिनु पर्दछ । हलीले जोतेर धर्तीमा पसिना बिच्छ्याएकै कारण संसार कोहिनूरमा बदलिएको छ । गुरुपनि पूज्य पात्र बन्नु पर्दछ । मानाका माना पसिना पोखरे खुशीको झूमशराबी नाँच नाँच्नुछ । स्वर्गीय आनन्दानुभूति लिनुछ । असी कटेका शिक्षक पनि अझै पसिनाको रंग थप्तैछन्् निबन्धमा । सुकिला मुकिलाहरूलाई झुत्रेझाम्रेका शरीरबाट निस्केको पसिना दङ्दङ्‌ गन्हाउँछ तर उसकै पसिनाको जगमा उसको सुखसाम्राज्य उभिएको हुन्छ । एकदिन पसिनाको कदर हुने दिन आउँछ भन्ने कुरामा निबन्धकार आशावादी छन् ।

‘जय ढुंगेयुग’ निबन्धमा प्राचीन आदिम ढुंगेयुगिन हतियारका रूपमा प्रयोग गरिएको ढुंगोलाई केन्द्रीय बनाएर अगाडि बढाएको सुन्दर निबन्ध हो । अरु विज्ञानको बुई चढेर कहाँकहाँ पुगेपनि हामी काहीँ नपुगेको घतलाग्दा तथ्य पेश गर्छन् । अरु रकेटमा सवार भएर मंगलग्रहतिर लाग्दा हामी वैतर्णी नदी तर्न लिखुरे बाछीका पुच्छर समातिरहेका छौँ । यो विरासत जुद्धशमशेरकै पालादेखि प्रवाहमान छ । जाँतो, ढिकी, लोहोरो, सिलौटो र घुँयत्रो हानिने ढुंगो हाम्रा जीविकाका साधना र हतियार हुन् । झुलो, चकमक, दर्सिन ढुंगो आगो आविष्कारका हाम्रा प्राचीनम् साधन थिए, त्यसभन्दा आज हामी धेरै माथि जानसकेका छैनौँ भन्ने कुरा तथ्यका आधारमा पुष्टि गरेका छन् ।

‘नयाँ कलेवरको गुलामी’ शीर्षकको निबन्धमा निबन्धकारले अप्रत्यक्ष रूपमा नयाँ ढाँचा र नयाँ रूपमा देखापरेका गुलामीका शैलीलाई सूक्ष्मतवरले विश्लेषण गरेका छन् । निबन्ध अत्यन्तै समसामयिक र सान्दर्भिक छ । समाज र मानिस अहिले कसरी प्रविधि, सामाजिक सञ्जाल तथा अल्गोरिदमको गुलाम बनिरहेको तथ्य पेश गर्दछन् । हामी जानेर–नजानेर केही न केही चिजका गुलाम बनिरहेका छौँ । हामी खानपान, लुगाफाटो, रुचिआदतका गुलाम बनेका अनेक दृष्टान्त प्रस्तुत गर्छन् । गुलामीले हामीलाई प्रकारान्तरले दासदासीको अवस्थामा पु¥याएको छ । मानव मूल्यको स्खलन र अधोगति देखाउन खोजिएको छ निबन्धमा । मनोविज्ञान र संस्कृति माथिको आक्रमण पनि गुलाम परिपटीकै एक नयाँ आयाम बनेको छ । वस्तुसरह मानव तनमनको खरिदबिक्री गर्न थालिएको विद्रुप अभ्यासको विरुद्धमा छ निबन्ध । आजको मनुवा बाहिरी भित्री दुवैरूपमा गुलाम बन्दै गएको यथार्थ प्रक्षेपित छ । तर उसलाई यसकुराको जानकारी छैन । व्यक्ति, घर, परिवार, समाज र सिंगो राष्ट अनि संसार नै नयाँ आवरणको« गुलामीमा बेचैनी बनेको छ सन्दर्भ निकै सामयिक छ ।

‘निर्धूम आनन्द’ निबन्ध एक मनमोहक ढंगको प्राकृतिक छटाको व्याख्या हालिएको निबन्ध हो । प्रकृतिको बदलिँदो स्वरूप र मानव हृदयको प्रफुल्लित मनोभावको अन्तरसम्बन्धलाई यहाँ प्रस्तुत भएको छ । मेघलहरी, वीजको अङ्‌कुरण, पुष्प पल्लवनको मनोहारी अवस्थालाई सशक्त ढंगले चित्रण गरिएको छ । स्रष्टा कलाकार पनि प्रकृतिकै रसास्वादनबाट अनुप्रेरित भएर सृजनकर्ममा लाग्दछ । निबन्धभित्र निबन्धकारले कथात्मक घटना घुसाएर मानव चरित्रको कुरुप पाटोलाई चित्रण गरेका छन् । मानिस सांसारिक आपाधापीबाट पृथक रहेर आनन्दको रसास्वादन गर्न जन्मिएको प्राणी हो । सानासाना कौडी, कंकडपत्थरमा अल्झेर अनमोल आनन्दको शिखर चढ्न भुलिरहेको रुग्ण यथार्थलाई कलात्मकरूपले प्रकाश पारेका छन् ।

समग्रमा उल्लेखित निबन्धमा पाइने विशेषताहरूलाई यसप्रकार संश्लेषण गर्न सकिन्छ–

१. निबन्धमा आख्यान तत्व समावेश भएको छ, यो पक्षले नैबन्धिक रचनालाई सुनमा सुगन्ध चढाएको छ ।

२. निबन्धका शब्दचयनमा थोरै क्लिष्टता छ । बढी नै दुरुह प्रकृतिका शब्दहरू प्रयोग गर्दा निबन्धलाई ओजनदार राखेपनि अनुच्छेदको समापन सम्ममा क्लिष्टतालाई सरलीकृत नगर्दा यसले पाठकमा जटिलता ल्याउन सक्दछ ।

३. निबन्ध लेखनमा शब्द संख्याको कुनै सीमा छैन । त्यसैले प्रायः सबै निबन्धको आयाम विस्तारमा फिँजारिएका छन् । लघु आकारमै भन्न सकिने कुराका लागि पनि व्यापक बर्णन शैली अपनाइएको छ जसले कतिपय निबन्ध पट्यारलाग्दो बनेका छन् । न्यूनतम शब्द सीमामा निबन्ध रच्न सुझाव छ ।

४ भोकमारी, गरिबी, विभद, सत्तामोह, स्वार्थी प्रवृत्ति, मानवीय मूल्यमा प्रहार, सिर्जना, प्रेम र करुणा भावप्रति आदर, देखावटी चरित्रको पर्दाफास, श्रम–सीपप्रति सम्मान, प्रविधिको वर्तमान अवस्था, गुलामीका नवआयामहरू र प्राकृतिक सौन्दर्यका विविध पक्षहरूलाई निबन्धको मुल कथ्यवस्तु बनाइएको छ ।

५. निबन्धको पुरातन ढाँचाबाट रचनाहरू विमुक्त छन् । त्यसैले निबन्धको समापनमा निष्कर्ष नपाइन सक्छ । कथा वाचनको शैलीमा निबन्ध टुङ्गिएको हुनसक्छ ।

६.राजनीतिक पक्षका विसंगतिलाई प्रहार गर्नुका साथै कुरूप पात्रहरुको चरित्र उदाङ्गो पारी उनीहरूलाई व्यङ्ग्यको रसातलसम्म पु¥याइएको छ ।

७. सामाजिक यथार्थलाई सटिक तथा सूक्ष्मरूपले प्रतिविम्बन गर्नुका साथै आख्यान तत्वको कलात्मक पाराले प्रयोग गरिएको छ ।

८.मानवीय मूल्यलाई गहिराइसम्म पुगेर पक्रिने र त्यसमा आएको ह्रास, मूल्य विघटनको त्रासद अवस्थाको सेरोफेरोमा निबन्धहरू संकेन्द्रित छन् । जसलाई अंग्रेजीमा एट्टीन्युयसन अफ एक्चुआलिटी भनिन्छ ।

९. प्रायः सबै निबन्ध भौतिकवादी दृष्टिकोणका आयामबाट रचित छन्, केहीमा भने अध्यात्मिक चेतनाको पुट पाइन्छ ।

१०. युगिन आवाज मुखरित गर्न युगसचेत परिवर्तनशील मानवीय समाजको हिमायती बनेर स्रष्टा दर्बिलोेसित उभ्भिएका छन् ।

११. असीमित रूपमा प्रकृति दोहनको विरोध र पर्यावरणीय चेतनाको आलोकमा निबन्धहरू चमकदार बनेका छन् । हाम्रो आफ्नै सनातन ज्ञान परम्पराको जयगान गरिएको छ ।

१२. परिवर्तनशील इतिहासको गति र चेतनाप्रति स्रष्टाको कलम चनाखो छ तथापि त्यसको तीव्रता भन्दा मलिन स्वर सुन्नसकिन्छ ।

१३. निबन्ध प्रायः उच्च बोध र चैतन्यको भावधाराबाट सिर्जित भएकाले सामान्य पाठकको बुझाइमा दुर्बोध्यता आउन सक्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।