ताप्लेजुङमा जन्मेर धरानलाई कर्मथलो बनाएका शिक्षक, कलाकार, (सामाजिक संञ्जालहरुमा `लिम्बू गाउँको बाहुन´ नामले चर्चित) एवं कवि , भवानीप्रसाद खतिवडाको औपचारिक रूपमा प्रकाशित पहिलो कृति - `सम्झेर आऊ घर´ कविता संग्रह हात परेपछि उहाँका पद्य उडानका सतहत्तर कवितामा सरसर्ती बहने प्रयास गरियो । खासगरी पद्य कवितामा आफ्नो पकड नभएको हुनाले उक्त कोणबाट कविताहरूमा गुण-दोष खोज्ने , प्राविधिक पाटाहरूमा मसिनो गरी केलाउने प्रयास नै गरिएन ; विचार प्रधान मनथन नै यो आलेखको केन्द्र हो ।
ब्यक्तिगत रुपमा , मलाई साहित्य त्यो हो जस्तो लाग्छ जसमा जीवन भोगाइले सिकाएको पाठको दर्पण पदार्पण हुन्छ । कृति प्रकाशन पश्चात् लेखिएका सृजनाहरुमा विभिन्न कोणबाट तथ्याङ्कअनुसार मुल्यांकन हुनु , भेद खुट्टिनु , टिप्पणी , समालोचना र आलोचना हुनु समेत लेखकको सफलता हो किनकि अम्बक फलेको हाँगोमा नै झटारो बर्सिन्छ; कर्म गर्ने व्यक्तिहरुले नै उल्लेखित अवयबहरु सहनुपर्छ । फराकिलो नजरबाट हेर्ने हो भने हरेक मानिस जवानीमा कवि , स्नानकोठामा गायक र बनभोजमा नृत्यको पारखी हुन्छ , तर वास्तविक जीवनमा उल्लेखित कलालाई निरन्तरता दिने मानिसहरूको संख्या न्युन हुन्छ; यही न्युन समुहभित्र भवानी खतिवडाले आफूलाई उभ्याउन सफल भएका छन् ।
आर्थिक , सामाजिक , सांस्कृतिक , नैतिक , राजनीति लगायतका सबैजसो अवयबहरू बिगृयो - भत्कियो भनिरहने हाम्रो समाजमा , नकारात्मक मानसिकताले पारेको गहिरो छापको सेरोफेरोमा घुमेका खतिवडाले देश प्रेम र माटो प्रेमलाई समग्र विषयवस्तु बनाएका छन् , जसको एउटा दर्विलो उदाहरण हो `छोडौं म नेपालमा´ :
(आमाकै पृय काखमा बुरबुरे माटो दली माथमा
हेर्दै स्वर्ण हिमाल प्राण तनको छोडौं म नेपालमा )
वर्तमान नेपाली सामाजिक जीवनको पर्याय जस्तै बनेको , युवाहरूको वैदेशिक यात्राबाट आफ्नै सन्तान समेतलाई जोगाउन नसकेपछि विरक्तिएका कवि-कलमबाट जन्मिएको हो - `सम्झेर आऊ घर´ । अनि यसभित्र थपियो नेपाली माटोको माया, सन्तान प्रेम र भावनाको संगालो `जान्छौ विदैशै किन ?´ ।
संग्रहको भुमिका लेख्ने अधिकांश विद्वानहरूले `वाच्य प्रधान´ भनिएको भएता पनि `सम्झेर आऊ घर´ केवल वाचनमा सिमित रचनाहरुको मात्र कृति चाहिँ होइन । मानव जीवन चराचर जगतको उत्कृष्ट सृष्टि भएको र यसमा एकाअर्कालाई सिद्द्याउने खेलको सट्टा सदाचारी जीवन बाँच्नु उत्तम हुने तर्क कविले `केको नि हत्ते अझै´ , `बेकारको खल्बली´ लगायतका कविता मार्फत दिएका छन् ।
मनभित्रको खासगरी राजनीतिक र सामाजिक विकृतिको आक्रोशलाई चोटिलो व्यंग्यमा मात्र नभई सोझै व्यक्त गर्न खप्पिस खतिवडाले `छन एक ती सज्जन´ , `दाम्लो चुँडाली जुध´ , `नेता यी स्यालका छल´, `फुस्रा कुरा क्रान्तिका´ , `अर्बुद र नेता´ `ब्वासो लखेटौं अब´ आदि मार्फत स्वघोशित बुज्रुकहरु विरुद्ध धारेहात नै लगाएका छन् । यसरी आवेगमा वहकिँदा `भाउजू´ जस्ता अति सतही र `घमण्डी शासक´ जस्ता समसामयिक सतही कविता र `औंसा परेरै मरोस´ जस्ता उग्रबादी बिचारोत्तेजक कविता समेत नजन्मिएका भने होइनन् , जसबाट खतिवडाले आगामी पाइलाहरुमा आफूलाई टाढा राख्नुपर्ने देखिन्छ ।
दर्शन र दार्शनिकता यस्ता क्षेत्र हुन जसमा डुब्नू चानचुने कुरा होइन । तर सत्य ओकल्ने दार्शनिकताको अवस्था भने समय-परिस्थिति अनुसार फरकफरक परिवेशमा फरकफरक हुनसक्छ भन्ने तत्वबोधको ज्ञान `जंड्याहा´ संगै यात्रा गर्दा प्रष्ट हुन्छ ।
(साँचो बोल्छु खुलेर दर्शन सबै फुर्ने सधै जोसले
भिज्दा यो सुरुवाल कट्टु जति छन् भ्याउन्न यो होसले - जँड्याहा , पृ. ६९)
यसैगरी , भौतिक संसारमा रुमलिरहेको मानिसको छोटो जीवनमा लालच र अत्यास लाग्दो आवश्यकताहरुको खाडललाई अत्यावश्यकताको समाधानका खातिर मात्र दौडाउन सके जीवन भोगाइ थप सहज हुने दार्शनिकता बोकेर कुँदिएको हुनुपर्छ `संसार स्वप्न सरी´ ।
भौतिक बिकासको सिलसिलामा हुने प्रकृति र संकृति माथिको अन्धाधुन्ध प्रहारबाट कवि सन्तुष्ट छैनन् । `आर्तनाद चौतारी र पीपल´मा तोडफोड गरेन मात्र निर्माण गर्नुपर्छ भन्ने हाम्रो संकृण मानसिकतामा परिवर्तन आवश्यक रहेको भेटिन्छ भने प्रकृति र प्राकृतिकताको द्योतक बनेकोछ `गाउँ´ ।
समाजमा ब्याप्त रहेको पेशा प्रतिको अस्वीकार्यता देखाउन `खलासी´ र `ढाक्रे´को सहारा लिएको भेटिन्छ भने जातीय छुवाछूत र भेदभाव बिरुद्धको बिगुल फुक्न `अछुतका प्रशहरु´ काफी छन । समयको दुश्चक्रमा परेर जीवनका आरोह भन्दा अवरोहमा दैनिकी चलाइरहेका अधिकांश ग्रामीण आमा/दिदीबहिनीहरुको आवाजलाई सशक्त बनाउने पद्य `भुन्टी´ हो भने सामाजिक हिंसाबाट उन्मुक्त जीवन दर्शनको पाटोमा डोहोर्याउने आवाज हो `नारी´ । अर्कोतिर यही समाजमा रहेका पुरुषहरूको जीवन भोगाइका अप्ठ्याराहरुको दर्पण पनि `पुरुष´संगै उतारेका छन् कविले । लैङ्गकि रुपमा हुने सामाजिक भेदभाव , छेडछाड र निरर्थक प्रश्नहरू कविलाई पटक्कै मन परेको छैन , त्यसैले त कोरिए होलान् `नारी´ , `पुरुष´ र `पिता´ । धर्मका नाममा हुने पशु बली विरुद्धको खरो प्रहार `बलीको पशु´ हो भने `सम्झनामा नारायण गोपाल´ मार्फत कविले स्रष्टा सम्मानमा समय खर्चंदै , उट्पट्याङ गीत-संगीत भन्दा कर्णपृय संगीत सृजनामा रमाउनु उत्तम हुने तर्क प्रस्तुत गर्छन् । वर्तमान समयमा सन्ततिले बा-आमाप्रति देखाउने गैरजिम्मेवारीपन तर्फ कवि कत्ति पनि सहमत छैनन् `वृद्धाश्रम´ मार्फत ।
मानिसलाई सामाजिक प्राणी मात्र भनेर पुग्दैन , हरेक मानिसले कुनै न कुनै रुपमा राजनीतिक चेत बोकेको हुन्छ । यही गतिशीलताको एउटा पाटो पनि हो - `सम्झेर आऊ घर´ । नेपालका विभिन्न कालखण्डमा हुने अपेक्षित / अनपेक्षित राजनीतिक परिवर्तनहरुमा , आफू समर्थित दल वा समुह बाहेकको आन्दोलनलाई , वैदेशिक हस्तक्षेपको चस्मा देख्ने हामी नेपालीको आम धारणाबाट समेत खतिवडाले आफूलाई टाढा राख्न सकेका छैनन् ।
(को हुन् बारबरा टिओ वि जन ती खोज्दैन कोही पनि
बोकी बन्दुक काँधमा सडकमा सोध्दैन को हौ भनी - खेप्ने अचानो न हो , पृ. ६)
यसरी हुने आन्दोलनका उपलब्धिहरुको रक्षा र उपयोगिताका बिषयमा राजनीतिक नेतृत्वको उदासीनतालाई खबरदारी गर्दै कवि ,`पू्र्खाको खुन सम्झ´ भन्छन् । एकातिर राजनीतिक दुर्गन्धले वाक्क भएका कवि अर्कोतिर `त्यो सान ली घुम्नु छ´ , `यो देश हार्दैन कि´ आदि भन्दै सकारात्मक अभिलाषामा पनि पुगेका भेटिन्छन् ।
देश र माटो प्रेममा चुर्लुम्म डुबेका बखत , कवि मन , `प्यारो छ ताप्लेजुङ´ , `स्वर्ग हो नेपाल´ , ` `धरान´ आदिसँग मन्त्रमुग्द हुन्छन् र कोरिरन्छन नेपालको सुन्दरता , बिबिधता , एकता र विशेषताको सागरको संक्षेपीकरण । दिनानुदिन बढ्दै गएको कमजोर राष्ट्रियताको बारेमा सचेत खतिवडाले `नेपाल खोक्रो भयो´ जन्माएका छन् , अनि स्वाधीनता रक्षाका लागि सबैलाई एकजुट हुन आव्हान समेत गरेका छन् ।
शुन्यमा साहित्य सृजना हुन नसक्ने यथार्थमा आधारित , आफ्नो पेशागत जीवन भोगाइलाई झन्डै-झन्डै जीवन दर्शन शैलीमा उतार्ने क्रममा धेरै कविताहरु जन्मिएका देखिन्छन् । नेपालको दुईधारे शिक्षा प्रणाली र त्यसमा प्रत्यक्ष मारमा परिरहेका संस्थागत विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरु प्रतिको सामाजिक दृष्टिकोण , अभिभावकहरुको महत्वाकांक्षी सोच र लगानीकर्ताहरुको नतिजामुखी आकांक्षाको मारमा भोगिरहेको दैनिकीको सुन्दर माला हो `बोर्डिङको मास्टर´ । अर्कोतर्फ , हातमा योग्यताको ठेली भएता पनि पारिस्थितिक बेरोजगारीले दलदलिएको सामान्य परिवारको औसत नेपालीको पीडालाई टपक्क टिपेर बुनेको पाइन्छ `पीडा लुकाऊँ कहाँ´ भित्र सयर गरिरहँदा ।
झट्ट हेर्दा , आवरण पृष्ठमा प्रयोग गरिएको सांकेतिक तस्विर कताकता नमिल्दो पो हो कि भन्ने भान भयो । आउन अनुरोध गरिएकोछ , तर जाँदै छन् … । फेरि घोत्लिएर हेरें , अवस्य नै संग्रहको शिर्षक र मर्म बोकेकै रैछ । जानेहरू त गै नै सके , तर नेपालको राष्ट्रिय झण्डा काँधमा बोकेर गइरहेकाहरु चाहिँ अवस्य फर्केर आउने छन् ; यो आत्मविश्वास कवि मनमा देखिएकोछ ।
समग्रमा हेर्दा , कवितामा रमाउने हुटहुटीलाई पुस्तकाकार दिएर नेपाली साहित्य जगतमा उदाएका कवि भवानीप्रसाद खतिवडाले आगामी कृतिहरुमा थप लक्षणा , व्यञ्जना र विम्ब सहितका उत्कृष्ट कविताहरु लेख्ने अपेक्षा गरिन्छ । आफ्ना मातापिताको त्यागको सम्मान गर्दै अर्पण गरिएको यो कविता संग्रह , पद्य कवितामा रमाउने पाठकहरुको लागि दर्विलो खुराक हो भने विचार प्रधान लेखनलाई बिषयबस्तु बनाउने सर्जकहरुको लागि उत्प्रेरणात्मक सामाग्री हो ।