19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अम्बा

कथा बद्री अधिकारी October 10, 2026, 1:19 am
बद्री अधिकारी
बद्री अधिकारी

रसुवाको एउटा गाउँमा बिहान बिस्तारै उज्यालो हुँदै थियो। घरका छानामाथि रातको चिस्यान अझै टल्किरहेको थियो। आँगनछेउको घाँसमा शीतका थोपा टाँसिएका थिए। कतै कुखुरा बासेको आवाज आउँथ्यो, कतै छिमेकीको घरबाट धुवाँको मसिनो रेखा आकाशतिर उक्लिन्थ्यो।
त्यही गाउँको एउटा घरको आँगनमा मायादेवी कुचो चलाइरहेकी थिइन्। उमेरले साठी नाघ्न लागे पनि बिहानको काममा उनको हात रोकिँदैनथ्यो। आँगन बढार्दै गर्दा उनी बेलाबेला छेउको अम्बाको रुखतिर हेर्थिन्। यसपालि त्यसका हाँगामा ससाना मुनाहरू पलाएका थिए।
“आमा, चिया बनिसक्यो।”
भित्रबाट नरेशको आवाज आयो।
“तिमीहरू खाऊ, म पनि आइहाल्छु।”
मायादेवीले कुचो भित्तामा अड्याइन् र भित्र पसिन्। सीता ग्यास चुलोमा चिया उमालिरहेकी थिइन्। छेउको बिजुली चुलोमा पानी तातिरहेको थियो। झ्यालबाट छिरेको बिहानको घाम भान्साको भुइँमा टुक्राटुक्रा भएर परेको थियो।
पाँच वर्षको आयुष अझै ओछ्यानमै थियो। सीताले उसको सिरानी मिलाउँदै भनिन्, “उठ बाबु, बिहान भइसक्यो।”
आयुषले आँखा मिच्यो।
“हजुरआमा उठिसक्नुभयो?”
“उठिसक्नुभयो। बाहिर आँगन बढार्दै हुनुहुन्छ।”
आयुष ओछ्यानबाट झर्‍यो र नाङ्गा खुट्टाले आँगनतिर दौडियो। मायादेवीले उसलाई समातेर कपाल मिलाइदिइन्।
“यति चिसोमा नाङ्गै खुट्टा दौडिनुहुन्छ?”
आयुषले उनको कुरा नसुनेझैँ अम्बाको रुखतिर हेर्न थाल्यो।
“हजुरआमा, त्यो अम्बा पाक्न कति दिन लाग्छ?”
मायादेवीले रुखका हाँगातिर हेरिन्।
“अझै समय लाग्छ नाति। पाकेपछि सबैभन्दा पहिले तिमीलाई टिपेर दिन्छु।”
“मलाई ठूलो चाहिन्छ है।”
“हुन्छ, ठूलो नै खोजौँला।”
भान्साबाट सीताको आवाज आयो, “आयुष, पहिले चिया र पाउरोटी खाऊ, अनि अम्बाको कुरा गर।”
आयुष हाँस्दै भान्सातिर दौडियो। मायादेवी भने केही क्षण अम्बाको रुखमुनि उभिइरहिन्। पातका टुप्पामा अडिएका शीतका थोपा घाम लाग्दै जाँदा एकपछि अर्को गर्दै भुइँमा झरिरहेका थिए।
त्यो घरमा मायादेवी, उनका एक मात्र छोरा नरेश, बुहारी सीता र आयुष गरी चार जना थिए। घर ठूलो थिएन, तर आँगन सफा थियो। पछाडिपट्टि सानो गोठ थियो। छेउमा तरकारीका बोटहरू थिए। घरको काममा नरेश र सीताले उनलाई सकेसम्म सघाउँथे। आयुष भने कहिले आमाको पछि लाग्थ्यो, कहिले हजुरआमाको।
खाना खाइसकेपछि नरेशले आमातिर हेरे।
“आमा, आज वनतिर जानुहुन्छ?”
“जान्छु बाबु। घरमा पात सकिन लागेछ। आज अलि माथिसम्म पुगेर ल्याउँला।”
“धेरै टाढा नजानुहोला।”
मायादेवी मुसुक्क हाँसिन्।
“चिन्ता नगर। तिमी जन्मिनुभन्दा अगाडिदेखि त्यही बाटो हिँड्दै आएकी छु।”
उनले घरको कुनामा राखेको डोको निकालिन्। नाम्लो जाँचिन् र हँसिया हातमा लिइन्। ढोकाबाट बाहिर निस्कँदा आयुष फेरि अम्बाको रुखमुनि पुगेको थियो।
“हजुरआमा, फर्किँदा मलाई अम्बा ल्याइदिनू है!”
मायादेवीले फर्केर हेरिन्।
“पाकेको भेटेँ भने ल्याइदिन्छु, अब त हाम्रै बोटको पनि दुई तीन दिनमा पाकिहाल्छ नि।”
आयुषले दुवै हात हल्लायो।
मायादेवी डोको बोकेर गाउँको बाटो लागिन्।
गाउँको अन्तिम घर कटेपछि बाटो साँघुरिँदै गयो। दुवैतिर झाडी र बोटबिरुवा थिए। पातका टुप्पामा अझै शीत टाँसिएको थियो। कतै बाटो चिप्लो थियो, कतै ढुङ्गा निस्किएका थिए। मायादेवी बाटोको हरेक मोडसँग परिचित थिइन्।
केही पर पुगेपछि उनले पछाडि फर्केर हेरिन्। गाउँका छाना घाममा चम्किन थालेका थिए। आफ्नै घरको अम्बाको रुख टाढैबाट पनि चिनिन्थ्यो।
मायादेवीको मनमा आयुषको अनुहार आयो।
“पाकेको भेटिए पो…”
उनले मुसुक्क हाँस्दै आफैँसँग भनिन् र अघि बढिन्।
वनको छेउमा पुगेपछि उनले डोको भुइँमा राखिन्। सुकेका पात छुट्याउँदै राम्रा पातहरू डोकोमा राख्न थालिन्। बीचबीचमा हँसियाले साना हाँगा काटेर पनि राख्थिन्। माथिबाट चराहरूको चिरबिर सुनिन्थ्यो। हावाले पात हल्लाउँदा घामका टुक्राहरू भुइँमा नाच्थे।
त्यस दिन आकाश सफा थियो। टाढा बादलका ससाना टुक्रा देखिए पनि पानी पर्ने कुनै संकेत थिएन। बिहान घरबाट निस्कँदा नरेशले पनि मौसम बिग्रने कुरा गरेका थिएनन्।
डोको भरिँदै गएपछि मायादेवीले नाम्लो फुकालिन्। एउटा रुखको फेदमा बसेर बोतलको पानी पिइन्। निधारको पसिना पुछिन्।
उनलाई फेरि आयुषले मागेको अम्बा सम्झना आयो।
“आज एउटा पाकेको भए…”
उनले बिस्तारै भनिन्।
त्यही बेला टाढाबाट चराहरू एकाएक हतारिँदै उडेको आवाज आयो।
मायादेवीले टाउको उठाइन्।
आकाश उस्तै खुला थियो।
डोको फेरि काँधमा राखेर उनी फर्कने तयारीमा लागिन्। केही पाइला अघि बढेपछि तलतिर, खोलाको उत्तरतिरबाट अनौठो गडगडाहट सुनियो।
उनी रोकिइन्।
पहिले आवाज टाढाको बादल गर्जिएझैँ लाग्यो। फेरि त्यो आवाज बढ्दै गयो।
मायादेवीले डोको भुइँमा राखिन्।
वनका रुखहरू एक्कासि भूकम्पले हल्लाए झैँ हल्लिन थाले। चराहरू हाँगाबाट उडेर आकाशमा छरिए।
उनले तलतिर हेरिन्।
खोलाको उत्तर दिशाबाट खैरो पानीको एउटा ठूलो भेल उर्लिँदै आइरहेको थियो। भेलसँगै ढुङ्गा, माटो, काठका टुक्रा र रुखका हाँगाहरू घुमिरहेका थिए।
मायादेवीको हातबाट हँसिया फुत्कियो।
“हे भगवान्!”
उनी पछाडि हटिन्।
तलको आवाज अब गर्जनमा बदलिइसकेको थियो।
मायादेवीले एकछिन पनि ढिला गरिनन्। डाँडातिर चढ्न थालिन्।
तर उनको आँखासामु एउटै दृश्य घुमिरहेको थियो—
आँगनको अम्बाको रुखमुनि उभिएको आयुष।
“हजुरआमा, ठूलो वाला अम्बा ल्याइदिनू है…”
००
मायादेवी डाँडातिर चढिरहिन्। पछाडिबाट आएको गर्जन झन् ठूलो हुँदै गयो। केही क्षणमै भेलले तलको बाटो छोप्यो। रुखका हाँगा, ढुङ्गा, माटो र काठका टुक्राहरू पानीसँगै घुम्दै तल बगिरहेका थिए।
डाँडाको अलि माथि पुगेपछि उनी रोकिइन् र तलतिर हेर्न थालिन्।
गाउँतिर पानी पसिसकेको थियो।
एउटा घरको आँगनबाट काठका मुढा बगेर गए। अर्को घरको छानोमा पानी ठोक्किँदै थियो। मानिसहरू घरबाट निस्केर सुरक्षित ठाउँतिर दौडिरहेका थिए। कसैले बच्चा बोकेको थियो, कसैले वृद्धलाई समातेको थियो। कसैको मुखबाट “भाग!” भन्ने चर्को आवाज आइरहेको थियो।
तर पानीको गर्जनले मानिसका आवाजहरू निलिरहेको थियो।
मायादेवीले आफ्नो घरतिर आँखा लगाइन्।
अम्बाको रुख देखिनुपर्ने ठाउँमा उर्लिएको भेल मात्र देखिन्थ्यो।
“नरेश…”
उनको ओठ चल्यो।
“सीता…”
अर्को शब्द घाँटीमै अड्कियो।
उनले आँखालाई अझै तन्काएर हेर्न खोजिन्। घरको छानो देखिन्छ कि, आँगनको कुनो देखिन्छ कि, अम्बाको हाँगा कतै देखिन्छ कि—तर खैरो पानीबाहेक केही छुट्याउन सकिनन्।
अचानक एउटा ठूलो ढुङ्गा भेलसँगै घुम्दै आयो र बाटोछेउको पर्खालमा ठोक्कियो। पर्खाल एकैचोटि ढल्यो। त्यससँगै माटो र ढुङ्गाको थुप्रो पानीमा मिसियो।
मायादेवीले दुवै हातले टाउको समातिन्।
“आयुष…”
उनले चिच्याउन खोजिन्।
आवाज पानीको गर्जनमै हरायो।
भेल झन् उर्लियो। केही बेरमै खेतका डिल, बाटा र घरका आँगन छुट्याउन नसकिने भयो। काठका ढोका, भाँडाकुँडा, लत्ताकपडा र घरका सामानहरू पानीमा घुम्दै बगिरहेका थिए। एउटा गोठ भत्किएर त्यसका काठहरू भेलमा मिसिए।
मायादेवी डाँडाको टुप्पोमा उभिएर हेर्दै रहिन्।
उनको आँखाले घर खोजिरहेको थियो।
घर भेटिएन।
अम्बाको रुख पनि देखिएन।
समय बित्दै जाँदा पानीको बहाव बिस्तारै घट्न थाल्यो। आकाशको रङ फेरियो। गाउँमाथि साँझको फिक्का उज्यालो पर्न थाल्यो।
मायादेवी बिस्तारै तल झरिन्।
जहाँ उनको घर थियो, त्यहाँ अब बालुवा र ढुङ्गाको थुप्रो थियो। कतै भाँचिएको ढोकाको चौकट अड्किएको थियो, कतै झ्यालको टुक्रा बालुवामा आधा गाडिएको थियो। एउटा भाँडो ढुङ्गाको छेउमा अड्किएको थियो। चौतर्फी यस्तो विनाश देखिए पनि एउटा घर बालुवाले पुरिएर तेस्रो तलाको छतमा घरका मानिसहरू उद्धारको पर्खाइमा हात हल्लाइरहेका थिए। अलि परको आकाशबाट त्यतै तिर हेलिकोप्टर आउँदै थियो।
अम्बाको रुख थिएन।
मायादेवी केही क्षण त्यहीँ उभिइरहिन्।
“मेरो घर…”
उनको स्वर आफैँमा हरायो।
उनले घुँडा टेकेर हातले बालुवा पन्छाइन्। केही भेटिन्छ कि भन्ने आशाले अर्को ठाउँमा पनि हात चलाइन्। एउटा च्यातिएको कपडाको टुक्रा भेटियो। उनले त्यसलाई उठाइन्, केही क्षण हेरिन् र फेरि त्यहीँ राखिन्।
परबाट एउटी वृद्धाको चर्को रुवाइ सुनियो।
“मेरो छोरा! मेरो छोरा कहाँ गयौ?”
उनी बालुवामाथि घुँडा टेकेर छाती पिटिरहेकी थिइन्।
अलि पर एक युवक हातमा फोहोरले ढाकिएको फोटो लिएर यताउता दौडिरहेको थियो।
“यो मेरो बुबाको फोटो हो। कसैले देख्नुभएको छ?”
कसैले उत्तर दिएन।
अर्कोतिर एउटी महिला भत्किएको घरको भग्नावशेषछेउ बच्चाको कपडा छातीमा च्यापेर रोइरहेकी थिइन्।
मायादेवीले चारैतिर हेरिन्।
उनको आँखासामु बिहानको नरेशको अनुहारसँगै अन्तिम स्वरको झल्को आयो।
“धेरै टाढा नजानुहोला।”
सीताको भान्सामा बलिरहेको ग्यास चुलो सम्झिइन्।
अनि आयुषको आवाज—
“हजुरआमा, फर्किँदा मलाई अम्बा ल्याइदिनू है!”
मायादेवीको छातीबाट सुस्केरा निस्कियो।
“नरेश!”
यसपटक उनले ठूलो स्वरमा बोलाइन्।
जवाफ आएन।
“सीता!”
फेरि केही सुनिएन।
“आयुष!”
आवाज वरिपरिका भग्नावशेषमा ठोक्किएर हरायो।
उनी बालुवामै बसिन्। दुवै हातले टाउको समातिन् र रुन थालिन्।
“मलाई पनि लैजानुपर्ने थियो नि भगवान्… मलाई किन छोड्यौ?”
उनको विलाप सुनेर नजिकै रहेका केही महिलाका आँखामा पनि आँसु भरिए।
साँझ गहिरिँदै गयो। मानिसहरू टर्च बालेर हराएका आफन्त खोजिरहेका थिए। कसैले ढुङ्गा पन्छाइरहेको थियो, कसैले बालुवा खोतलिरहेको थियो। टर्चका उज्याला एक ठाउँबाट अर्को ठाउँमा सर्दै थिए, तर मायादेवीको खोजीको कुनै अन्त्य थिएन।
रात पर्नुअघि चिनजानकी एक महिलाले उनको हात समातिन्।
“माया दिदी, अब कहाँ जानुहुन्छ? आज राति हाम्रो घरमा आउनुस्।”
मायादेवी केही बोलिनन्।
महिलाले फेरि हात तानिन्।
“आउनुस्।”
मायादेवीले एकपटक पछाडि फर्केर हेरिन्।
अम्बाको रुख भएको ठाउँमा अब एउटा ठूलो ढुङ्गा मात्र देखिन्थ्यो।
उनी महिलासँगै हिँडिन्।
घरमा पुगेपछि उनलाई एउटा कोठामा बसाइयो। भित्तामा टाँसिएको टेलिभिजन चलिरहेको थियो। पर्दामा बाढीले पुर्‍याएको क्षतिको दृश्य आइरहेको थियो। कतै घरका भग्नावशेष थिए, कतै आफन्त खोज्दै दौडिरहेका मानिस।
मायादेवी खाटको छेउमा बसेर टेलिभिजनतिर हेरिरहिन्। छोरा बुहारी र नाती भाग्दै गरेको दृश्य उनले कतै पनि देखिनन्।
अचानक उनको आँखा एउटा दृश्यमा अडियो।
खोलाको किनारमा पानीले ल्याएर अड्काएको एउटी महिलाको शव देखाइएको थियो। समाचारवाचक उद्धारकार्यबारे बोलिरहेका थिए। त्यही बेला दुई जना युवा शव नजिक पुगे।
मायादेवीले उनीहरूले उद्धार गर्न खोजेको ठानिन्।
तर एक जनाले वरिपरि हेर्‍यो। अर्कोले महिलाको कानको सुनको मुन्द्री निकाल्न हात बढायो। त्यसपछि नाकको फुली पनि निकालियो।
मायादेवीको हात खाटको छेउमा कसियो।
“के गर्दैछन् यी?”
उनको स्वर निकै सानो थियो।
कोठामा बसेका मानिसहरू पनि पर्दातिर हेर्न थाले। कसैले मुख छोप्यो। एक वृद्धले टाउको हल्लाउँदै लामो सास फेरे। उनको मुखबाट मन्दश्वर बाहिरियो,"कस्तो सरम नभएका, नेपालीहरूको बेइज्जतै गरे।"उनको स्वर यति मिहिन थियो कि कोठामा भएका अरुले सुनेनन्।
मायादेवीले आफ्नै औँलामा रहेको पुरानो औँठी छोइन्। वर्षौँदेखि जोगाएर राखेको त्यही एउटा गहना थियो।
उनको आँखासामु फेरि आफ्नै घर आयो।
आँगन।
ग्यास चुलोमा उम्लिरहेको चिया।
सीता।
नरेश।
अनि अम्बाको रुखमुनि उभिएको आयुष।
घरधनी महिला आएर टेलिभिजन बन्द गरिन्।
कोठा एकाएक शान्त भयो। तर उनको कानमा भने खोलाको गर्जन अझै सुनिइरहेको थियो।
घरकी महिलाले नजिक आएर भनिन्, “दिदी, केही खानुस्। बिहानदेखि केही खानुभएको छैन।”
मायादेवीले टाउको हल्लाइन्।
“भोक छैन।”
“थोरै भए पनि खानुस्।”
उनले जवाफ दिइनन्।
भान्साबाट आएको खानाको बास्ना कोठाभित्र आइरहेको थियो। तर उनको आँखासामु आफ्नै भान्साको बिहान दोहोरिइरहेको थियो—सीता चिया उमाल्दै, नरेश आमा भनेर बोलाउँदै, आयुष अम्बा माग्दै।
रातभरि उनलाई निद्रा आएन।
आँखा चिम्लिँदा बाढी देखिन्थ्यो। आँखा खोल्दा अपरिचित छाना।
भोलिपल्ट बिहान उनले आफ्नो पुरानो झोला काँधमा हालिन्।
घरकी महिलाले बाटो छेक्दै भनिन्, “दिदी, केही दिन यतै बस्नुस्। अहिले कहाँ जानुहुन्छ?”
मायादेवीले केही क्षण उनलाई हेरिन्।
“तपाईंहरूको पनि आफ्नो दुःख छ। म धेरै दिन बस्दिनँ।”
“दुःखको बेला मान्छेलाई मान्छेकै सहारा चाहिन्छ।”
मायादेवीले केही भनिनन्।
उनले झोला काँधमा हालिन्।
गाउँबाट बाहिरिने बाटोमा पुगेर एकपटक पछाडि फर्केर हेरिन्।
गाउँ भएको ठाउँमा बालुवा र ढुङ्गाका थुप्रा मात्र थिए।
घर थिएन।
अम्बाको रुख थिएन।
नरेश, सीता र आयुष थिएनन्।
उनले आँखा पुछिन् र बिस्तारै बाटो लागिन्।
बाटोमा भेटिएका मानिसहरूले सोधे—
“आमा, कहाँ जान लाग्नुभएको?”
मायादेवीको उत्तर एउटै हुन्थ्यो।
“विचार गर्दैछु।”
दिउँसोसम्म उनी बजारतिर पुगिन्। सडकमा गाडीहरू दौडिरहेका थिए। पसलका सटर खुल्दै थिए। चियापसलबाट गिलास बजेको आवाज आउँथ्यो। मानिसहरू आफ्नै काममा हतारिँदै थिए।
मायादेवी सडकको छेउमा उभिएर त्यो भीड हेर्दै बिस्तारै अघि बढिन्।
उनको हातमा बाँकी रहेको पैसा थोरै थियो।
उनले एउटा पसलबाट रोटी र तरकारी किनिन्। सडकको छेउमा बसेर बिस्तारै खाइन्।
साँझ पर्दा एउटा पसलको छानोमुनि झोला सिरानी बनाएर पल्टिइन्।
गाडीका हर्न रातभरि सुनिए। कहिले मोटरसाइकल नजिकैबाट हुइँकिएर जान्थ्यो। पसलको सटरमा सडकबत्तीको उज्यालो आएर फेरि हट्थ्यो।
मायादेवीले आँखा बन्द गरिन्।
“हजुरआमा, फर्किँदा मलाई अम्बा ल्याइदिनू है…”
आयुषको आवाज फेरि कानमा बज्यो।
उनले आँखा खोलिन्।
अँध्यारो आकाशतिर हेरिन्।
“ल्याउन सकिनँ बाबु…”
ओठ मात्र चले।
भोलिपल्ट उनी फेरि बाटो लागिन्।
अग्ला घर, पसलका साइनबोर्ड, बस र ट्याक्सी, फुटपाथमा बसेर सामान बेचिरहेका मानिस—सबै अपरिचित थिए। उनी कसैसँग बाटो सोध्थिन्, केहीबेर हिँड्थिन् र फेरि अर्को ठाउँमा पुग्थिन्।
बेलुका एउटा पुलमुनि बसेकी बेला एक महिलाले सोधिन्, “आमा, तपाईंको घर कहाँ हो?”
मायादेवीले केही क्षण उनलाई हेरिन्।
“अब छैन।”
महिला केहीबेर चुप लागिन्।
“कसैसँग बस्नुहुन्न?”
मायादेवीले टाउको हल्लाइन्।
“विचार गर्दैछु।”
तेस्रो दिनसम्म उनको चाल सुस्त भइसकेको थियो। पेटमा राम्ररी खाना परेको थिएन। बिहान चियापसलछेउमा बसेर उनले तातो चिया पिइन्। कप समातेका हात हल्का काँपिरहेका थिए।
चिया सकेपछि उनी सडकतिर लागिन्।
सडकमा मानिसहरूको भीड थियो। गाडीहरू एकपछि अर्को गर्दै गुडिरहेका थिए।
मायादेवीले सडक पार गर्न किनारमा उभिएर बाटो हेरिन्।
त्यसैबेला अर्कोपट्टिबाट एउटा सानो बालक दौडिँदै सडकमा पस्यो।
उसले पछाडि फर्केर पनि हेरेन।
एउटा सानो कार तीव्र गतिमा त्यतैतिर आइरहेको थियो।
मायादेवीको आँखा त्यही दृश्यमा अडियो।
उनको हातबाट झोला खस्यो।
“बाबु!”
उनी सडकतिर दौडिइन्।
“बाबु!”
मायादेवीले बालकलाई समातेर आफूतिर तानिन्।
बालक सडकको छेउमा लड्यो। मायादेवी पनि उसैसँगै भुइँमा पछारिइन्। त्यही क्षण कार आएर उनको खुट्टामा ठोक्कियो।
कार एकाएक रोकियो।
मानिसहरू चारैतिरबाट दौडिए।
“बालकलाई केही भयो कि?”
“आमालाई उठाउनुस्!”
बालक डरले रोइरहेको थियो। उसको ढाडमा सामान्य चोट लागेको थियो। मायादेवी उठ्न खोजिन्, तर खुट्टामा असह्य पीडा भयो। उनी फेरि भुइँमै बसिन्।
कार चालकले तुरुन्तै प्रहरीलाई खबर गर्‍यो। केही मानिसले बालकलाई समाते। चालकलाई प्रहरीले सोधपुछका लागि लिएर गयो। मायादेवी र बालकलाई अस्पताल पुर्‍याइयो।
०००
जाँचपछि मायादेवीको खुट्टाको हड्डी भाँचिएको थाहा भयो। बालकको नाम अभय रहेछ।
केही समयपछि उसका बुबा विवेक र आमा अनिता अस्पताल आइपुगे। अभयलाई देख्नेबित्तिकै अनिता दौडेर उसलाई अँगालो हालिन्।
“कहाँ गएका थियौ बाबु?”
अभय आमाको छातीमा टाँसियो।
विवेक मायादेवीको छेउमा आए।
“आमा, तपाईंले हाम्रो छोरालाई बचाउनुभयो। तपाईंलाई यस्तो चोट लाग्यो…”
मायादेवीले केही बोलिनन्।
“तपाईंको उपचारको सबै जिम्मेवारी हामी लिन्छौँ।”
मायादेवीले हात उठाउँदै रोक्न खोजिन्।
“मलाई धेरै केही भएको छैन बाबु। बालकलाई केही नभए पुग्यो।”
त्यति भन्दै गर्दा पीडाले उनको अनुहार खुम्चियो।
अनिताले उनको हात समातिन्।
“तपाईं अहिले कतै जान सक्नुहुन्न। अस्पतालबाट निकालेपछि पनि केही समय आराम चाहिन्छ। हाम्रो घरमा बस्नुस्। खुट्टा निको भएपछि तपाईंलाई जहाँ जान मन लाग्छ, त्यहाँ जानुहोला।”
मायादेवीले उनीहरूको अनुहार हेरिन्।
उनको जाने ठाउँ थिएन।
तर कसैको घरमा आश्रय लिएर बस्न मन पनि थिएन।
उनले केही भनिनन्।
उपचारपछि विवेक र अनिताले उनलाई आफ्नो घरमा लगे।
घर ठूलो थियो। अगाडिको आँगनमा फूलका गमला थिए। भित्ताछेउ सफा गरेर राखिएका जुत्ताचप्पल थिए। घरको पछाडिपट्टि एउटा अम्बाको रुख थियो। हाँगामा दुई–तीनवटा साना अम्बा झुलिरहेका थिए।
मायादेवीको आँखा त्यही रुखमा अडियो।
उनी केही बेर बोलिनन्।
“आमा, भित्र आउनुस्।”
अनिताको आवाजले उनी झस्किइन्।
भोलिपल्ट अभय उनको कोठामा आयो।
“हजुरआमा, दुखेको छ?”
मायादेवीले उसलाई हेरेर मुसुक्क हाँसिन्।
“अलिअलि।”
अभय उनको छेउमा बस्यो।
“मलाई पनि हिजो ढाड दुखेको थियो।”
“अब दुखेको छैन?”
“अलिकति।”
मायादेवीले उसको टाउको सुमसुम्याइन्।
त्यसपछि अभय दिनहुँ उनको कोठामा आउन थाल्यो। कहिले किताब बोकेर आउँथ्यो, कहिले खेलौना। विद्यालयबाट फर्किएपछि झोला एकातिर राखेर सिधै मायादेवीको छेउमा बस्ने बानी नै भयो।
मायादेवी उसलाई कथा सुनाउँथिन्—राजकुमारको, चराको, जंगलको। कहिलेकाहीँ एउटा अम्बाको रुखको पनि।
घरका मानिसहरूले पनि उनलाई पराइझैँ गरेनन्।
अनिता बिहान बाहिर निस्कनुअघि सोध्थिन्, “आमा, केही चाहिन्छ?”
विवेक बेलुका घर फर्किएपछि उनको कोठामा पसेर सोध्थे, “आमा, आज खुट्टा कस्तो छ?”
‘आमा’ भन्ने सम्बोधन सुन्दा मायादेवी प्रत्येकपटक एकछिन रोकिन्थिन्।
एक दिन बेलुका अभय भान्साको ढोकामा उभियो।
“मम्मी, मलाई रोटी खान मन लागेको छ। आज पकाउनुस् न है।”
अनिता अलमलिइन्।
“मलाई त रोटी बनाउन आउँदैन बाबु।”
विवेकले हाँस्दै भने, “त्यसो भए सिक्नुपर्‍यो नि।”
भान्साको छेउमा बसेकी मायादेवीले कुरा सुनिरहेकी थिइन्।
उनले भनिन्, “छोरी मान्छे भएपछि घरभित्रको काम सबै जान्नुपर्छ नानी।”
अनिता मुसुक्क हाँसिन्।
“अब सिक्नुपर्छ होला आमा।”
अभय दौडिँदै मायादेवीको छेउमा आयो।
“हजुरआमा, तपाईंलाई आउँछ होला नि। तपाईं नै पकाउनुस् न है।”
‘हजुरआमा’ शब्द सुन्नासाथ मायादेवी केही क्षण बोल्न सकिनन्।
अभयले उनको हात समातिरहेको थियो।
उनको आँखासामु आयुषको अनुहार आयो—अम्बाको रुखमुनि उभिएर अम्बा मागिरहेको आफ्नै नाती।
उनको आँखाको कुनामा आँसु टल्कियो।
“नाती, तिम्रो लागि म आज रोटी पकाउँछु। सबैले खाउँला। बरु बेलुका भात नखाऔँ।”
अनिता तुरुन्तै उठिन्।
“म चामल पिसीदिन्छु आमा।”
मायादेवी मुसुक्क हाँसिन्।
त्यस दिन भान्सामा रोटी पाक्दै गर्दा अभय भान्साको ढोकामै उभिएर हेरिरह्यो। मायादेवीले ताईबाट रोटी सिन्काले फर्काउँदै गर्दा निस्किएको तातो बाफ उसको अनुहारमा पुग्थ्यो। ऊ हरेकपटक अलि पछाडि सर्थ्यो र फेरि अगाडि आएर हेर्थ्यो।
पहिलो रोटी हातमा परेपछि उसले खुसी हुँदै भन्यो,
“हजुरआमाको रोटी मीठो!”
मायादेवीले उसको टाउकोमा हात राखिन्।
भान्साको झ्यालबाट बाहिर हेर्दा अम्बाको रुखका पातहरू हावाले हल्लिरहेका थिए। एउटा हाँगामा साना अम्बा झुलिरहेका थिए।
मायादेवीको हात एकछिन रोकियो।
आँखासामु फेरि पुरानो आँगन आयो।
अम्बाको रुखमुनि उभिएको आयुष।
“मलाई ठूलो चाहिन्छ है।”
उनले बिस्तारै आँखा झिम्क्याइन्।
“आमा, रोटीले पोल्ला नि।”
अनिताको आवाजले उनी झस्किइन्।
“हो र।”
उनले मुसुक्क हाँस्दै रोटी पल्टाइन्।
त्यस दिनदेखि अभयले उनलाई बोलाउने सम्बोधन फेरिएन।
“हजुरआमा।”
विवेक र अनिताको मुखबाट पनि “आमा” सुन्न थालिन्।
बिहान अभय विद्यालय जानुअघि उनको कोठामा आएर हात समात्थ्यो। बेलुका फर्किएपछि आफ्नो दिनभरिका कुरा सुनाउँथ्यो। कहिलेकाहीँ गृहकार्यको कापी लिएर उनको छेउमा बस्थ्यो।
मायादेवीको खुट्टा बिस्तारै निको हुँदै गयो।
तर अब उनी कतै जाने कुरा गर्दिनथिन्।
एक दिन साँझ अभय उनको काखमा टाउको राखेर निदाउँदै थियो। मायादेवीले उसका कपाल बिस्तारै सुमसुम्याइरहेकी थिइन्।
झ्यालबाहिर अम्बाको रुख हावासँगै हल्लिरहेको थियो।
एउटा चरा आएर हाँगामा बस्यो।
मायादेवीले केही बेर त्यसलाई हेरिरहिन्।
उनलाई आफ्नो पुरानो आँगन र पुरानै घरको भित्ताको सम्झना भयो। नरेशको आवाज, सीताको भान्सा, आयुषको हाँसो—सबै एकैपटक आँखासामु आए।
आँखाको कुनामा आँसु टल्कियो।
तर काखमा अभयको न्यानो टाउको थियो।
उनले झुकेर उसको निधारमा हात राखिन्।
त्यही बेला अभय निद्रामै बर्बरायो—
“हजुरआमा…”
मायादेवीको हात रोकिएन।
उनले झ्यालतिर हेरिन्।
अम्बाको हाँगामा बसेको चरा फेरि चिरबिर गर्‍यो।
मायादेवीको ओठमा हल्का मुस्कान आयो।
रगतको नाता र सिन्दूरको साइनाभन्दा बाहिर पनि मनले गाँसेको नाता हुँदो रहेछ। एकपटक मनले आफ्नो मानेपछि त्यसलाई सजिलै पराइ बनाउन नसकिने रहेछ।
अभय उनको काखमै निदाइरह्यो।
बाहिर अम्बाको रुखका पातहरू हावासँगै हल्लिरहे।
मायादेवीले उसको कपालमाथि हात राखिरहिन्।
यसपटक उनका आँखामा आँसु थिएनन्।
ओठमा हल्का मुस्कान थियो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।