पृष्ठभूमि
गोकुलप्रसाद जोशी अर्थात् गोकुल जोशी (वि.सं. १९८७–२०१८) प्रगतिवादी धाराका सशक्त प्रतिभाका रूपमा परिचित छन् । साम्राज्यवाद, विस्तारवाद र सामन्ती व्यवस्थाका विरुद्धमा खरो र दह्रो रूपमा कलम चलाउने जोशी सर्वहारा वर्गको मुक्तिका लागि जीवन समर्पण गरेका कवि हुन् । कवितालाई नै वर्गसङ्घर्षको हतियार बनाएर क्रान्तिप्रति प्रतिबद्ध हुँदै साम्यवादी समाजको स्थापनार्थ अगाडि बढेका जोशीका ‘नेपालको भविष्य’ (२०११), ‘एसियाको फूलबारी नेपाल’ (२०१२), ‘नवप्रभात’ (२०१२), ‘डा. के.आई. सिंहलाई स्वदेश आउन देऊ’ (२०१२), ‘बाँच र बाँच्न देऊ’ (२०१४), ‘सिमानाको दीप’ (२०१५) प्रकाशित काव्यकृतिहरू हुन् । जम्मा एकतिस वर्षीय जीवनकालमा एक दशकभन्दा पनि कम समय मात्रै साहित्यिक साधनामा संलग्न हुन पाएका जोशीको ‘मुटु खाने गिद्ध आयो’ शीर्षकको कविता २०१२ सालमा प्रकाशित ‘डा. के.आई. सिंहलाई स्वदेश आउन देऊ’ सङ्ग्रहमा सङ्कलित छ ।
साहित्य समाजको वस्तुत यथार्थ, वर्गसङ्घर्ष र सामाजिक रूपान्तरणको माध्यम हो । कविताको सिर्जना केवल काल्पनिक वा सौन्दर्यमूलक मनोरञ्जन मात्र होइन । यो त सामाजिक, आर्थिक र राजनीतिक उत्पीडनका विरुद्ध श्रमजीवी जनतालाई सुसज्जित गर्ने विचारको हतियार हो । यही सैद्धान्तिक मान्यतालाई आत्मसात् गर्दा कवि गोकुल जोशीद्वारा रचित ‘मुटु खाने गिद्ध आयो’ कवितालाई प्रगतिवादी काव्यधाराको एक उत्कृष्ट रचना मान्न सकिन्छ । गीतिलयको यो कविता साम्राज्यवादका विरुद्धमा सिर्जित छ । यहाँ यही कवितालाई प्रगतिवादी साहित्यका सिद्धान्तको सहयोगमा सङ्क्षिप्त विश्लेषणको प्रयास गरिएको छ ।
क्रान्तिचेतना
‘मुटु खाने गिद्ध आयो’ क्रान्तिकारी चेतनाले ओतप्रोत कविता हो । यस कवितामा साम्राज्यवादी र पूँजीवादी दोहनविरुद्धको क्रान्तिचेत छ । कवितामा साम्राज्यवादी शक्तिलाई ‘मुटु खाने गिद्ध’ र ‘डलरको पोको’ बोकेर छिरेको हिंस्रकका रूपमा चित्रण गरिएको छ । कवितामा पूँजीवादी विस्तारवादको कडा विरोध छ । “मानवकै रगतले भुँडी फुलाउँछ \ विज्ञानको शक्तिलाई विनाशमा लाउँछ” भन्दै कविले शोषित वर्गलाई झुक्याउने साम्राज्यवादी षड्यन्त्रका विरुद्ध जनतालाई सचेत गराएका छन् ।
कवितामा सामन्ती दलाल र त्यस किसिमका शासकहरूको भण्डाफोर गरिएको छ । अत्याचारी राणा शासकहरू डलरमा बिकेको र साम्राज्यवादी प्यालामा डुबेको उजागर गर्दै कविले सामन्ती–साम्राज्यवादी साँठगाँठको भण्डाफोर गरेका छन् । राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताका पक्षमा जुट्नका लागि कविले आह्वान गरेका छन् । नेपालका हिमाल, वनजङ्गल, जडिबुटी, नदीनाला, ऐतिहासिक मूर्ति एवम् इतिहासको रक्षाका लागि “जोगाऊ नेपाल हाम्रो, भगाऊ साम्राज्यवादीलाई” भन्दै कविताका पङ्क्ति–पङ्क्तिमा क्रान्तिको आह्वान गरिएको छ ।
कविता श्रमजीवी वर्गको हितमा सिर्जित छ । कवितामा समतामूलक विचारको प्रस्तुति छ; सर्वहारा वर्गको मुक्तिका लागि क्रान्ति गर्नुपर्छ भन्ने भाव छ । “सबै मिली कमाएर सबै मिली खाने” भन्दै कवितामा शोषणरहित र सामूहिक श्रममा आधारित समतामूलक समाज स्थापनाको चाहना व्यक्त गरिएको छ । यसर्थमा कवितामा समाजवादी क्रान्तिचेतना व्यक्त भएको छ ।
कवि जोशीले दलगत सङ्कीर्णता त्यागेर जनबल निर्माणका लागि आह्वान गरेका छन् । कविद्वारा यस कवितामार्फत राजनीतिक होडबाजी र स्वार्थलाई थन्क्याएर नेपालको अस्तित्व रक्षाका लागि “राजनीतिक होडबाजी थन्क्याएर राख \ जनबलको तनमन देशलाई ढाक” भन्दै जनएकताको आह्वान गरिएको छ ।
साम्राज्यवादको विरोध
साम्राज्यवाद भन्नाले एउटा राष्ट्रले अर्को राष्ट्रको भूगोल, प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा एवम् बजार र जनशक्तिमाथि कब्जा जमाएर आफ्नो हितमा उपयोग गर्नु भन्ने बुझिन्छ । कुनै पनि शक्तिसम्पन्न राष्ट्रले विभिन्न षड्यन्त्रमार्फत कमजोर राष्ट्रमाथि हैकम जमाउने नीति साम्राज्यवादी नीति हो । ‘मुटु खाने गिद्ध आयो’ कवितामा यही साम्राज्यवादी नीतिको विरोध छ । कविता बहुआयामिक छ । पद, पदावलीहरू प्रतीकात्मक छन् । साम्राज्यवादलाई कविले ‘मुटु खाने गिद्ध’ को प्रतीकका रूपमा उभ्याएका छन् । ‘डलरको पोको’ को लोभ देखाउने षड्यन्त्रकारीका रूपमा साम्राज्यवादलाई चित्रण गरी यसको हिंस्रक र शोषकीय स्वरूपलाई कवितामा उदाङ्ग पारिएको छ । विभिन्न ऐतिहासिक बिम्बहरूको प्रस्तुतिमार्फत साम्राज्यवादको भण्डाफोर गरिएको छ । कवितामा साम्राज्यवाद कसरी मानिसहरूकै रगत पिउन पल्किएको छ भन्ने यथार्थलाई प्रस्तुत गर्न दोस्रो विश्वयुद्धमा जापानले भोगेको पीडा, कोरियाली युद्ध, हिन्दचीन, कास्मिर र पाकिस्तानको दृष्टान्त दिँदै यो डढेलो अब नेपालतर्फ सोझिएको चेतावनी दिइएको छ ।
विकास र सहायताको छद्मभेषी रूप लिएर अर्काको देशमा पस्ने साम्राज्यवादीहरूको कविले उछितो काढेका छन् । “औषधि र विकासको जाल फिँजाएर \ ढुलमुल गर्नेहरूलाई विष खिलाएर \ क्रान्तिलाई कीटाणुको टोकरीमा थुनी \ मार्न लाग्यो शान्तिलाई हिमालको मुनि” भन्दै यसको छद्मभेषी रूप उजागर गरेका छन् ।
कवि जोशीले नेपालमा साम्राज्यवाद छिरेमा यहाँका जडिबुटी, खनिज पदार्थ, नदीनाला, हिमालका चुचुरा, ऐतिहासिक एवम् पुरातात्विक दृष्टिले महत्वपूर्ण मूर्तिहरू, सुनचाँदी अमेरिका पुग्ने तथा ट्याङ्क–तोप गाउँमा छिरेर दिदीबहिनीमाथि अत्याचार हुनेजस्ता भयावह दृश्यचित्रहरू खिचेर विरोध गरेका छन् । कविले हाम्रा प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरू साम्राज्यवादीहरूका पञ्जामा पर्न दिनुहुँदैन भनेका छन् । साम्राज्यवादलाई समाजको विकास नभई विनाश निम्त्याउने तत्वका रूपमा सङ्केत गरेका छन् । कविले “रोक्नुपर्छ लडाइँलाई शान्तिका हे दूत \ अमेरिकी साम्राज्यको विरोधमा उठ” भनेर साम्राज्यवादीका रूपमा अमेरिकाको नाम उल्लेख गरेका छन् । कविले सोझै अमेरिकी साम्राज्यवादका विरुद्ध देशभक्त जनतालाई सडक र सङ्घर्षमा उत्रन आह्वान गरेका छन् ।
द्वन्द्वात्मक भौतिकवाद र वर्गसङ्घर्ष
साहित्यमा मार्क्सवादी सौन्दर्यको मुख्य आधार द्वन्द्वात्मक भौतिकवाद र वर्गसङ्घर्ष हो । समाजमा विद्यमान विरोधी वर्गहरूबीचको द्वन्द्व नै समाज परिवर्तनको कारक तत्व हो । प्रस्तुत कवितामा दुई स्पष्ट विरोधी पक्षहरू आमने–सामने उभिएका छन् । यस कवितामा उत्पीडक तथा शोषक वर्ग अर्थात् ‘मुटु खाने गिद्ध’का रूपमा अन्तर्राष्ट्रिय पूँजीवादी साम्राज्यवादी शक्ति र तिनै साम्राज्यवादी शक्तिका मतियारका रूपमा तिनका स्थानीय सामन्ती दलालहरू अर्थात् ‘अत्याचारी राणा’हरूलाई सङ्केत गरिएको छ । यहाँ उत्पीडित तथा श्रमजीवी वर्गका रूपमा नेपालका आम शोषित जनता, कवि, लेखक, गायक, क्रान्तिकारी योद्धा र देशभक्त नागरिकहरू छन् । कवितामा पूँजीवादी उत्पादन प्रणालीको शोषणकारी स्वरूपलाई स्पष्ट पार्दै भनिएको छः
“मानवको नाश गरी धन कमाउँछ
शोषितलाई झुक्याएर रास बनाउँछ
मानवको रगतले भुँडी फुलाउँछ ... ”
उल्लिखित श्लोकले पूँजीवादी अतिरिक्त मूल्यको सञ्चय र पूँजीवादी विस्तार मानव रगत र श्रमको दोहनमा अडिएको हुन्छ भन्ने मार्क्सवादी यथार्थलाई सङ्केत गरेको छ ।
लेनिनको साम्राज्यवादी सिद्धान्त र नवऔपनिवेशिक चरित्रको विश्लेषण
लेनिनले आफ्नो प्रसिद्ध कृति ‘साम्राज्यवादः पूँजीवादको उच्चतम अवस्था’ मा साम्राज्यवाद कसरी वित्तीय पूँजीको एकाधिकार र विश्व बजार कब्जा गर्ने हिंस्रक नीतिका रूपमा प्रकट हुन्छ भन्ने सिद्धान्त प्रतिपादन गरेका छन् । कवितामा गोकुल जोशीले लेनिनवादी साम्राज्यवादी सिद्धान्तको जीवन्त चित्रण गरेका छन् । वित्तीय पूँजीको घुसपैठसम्बन्धी साक्ष्यः “बस्यो अब डलरको फुकाएर पोको ... ...” र “अत्याचारी राणालाई किन्यो डलरमा ... ...” जस्ता पङ्क्तिले विदेशी वित्तीय पूँजीले कसरी साना देशका शासकहरूलाई खरिद गर्छ र नवऔपनिवेशिक नियन्त्रण कायम गर्छ भन्ने यथार्थलाई पुष्टि गर्दछ । साम्राज्यवाद सोझै हतियारधारी सेना लिएर मात्र आउँदैन, यो त औषधि–उपचार र विकासनिर्माणका नाममा विभिन्न जालहरू फिँजाएर आउँछ । परोपकारका नाममा छद्मभेषी रूपमा पसेर यसले आफ्नो पन्जा फैलाउँछ । यसले क्रान्ति र जनउभारलाई दबाउँदै शान्तिको घाँटी नोमोठ्छ र कमजोर राष्ट्रमाथि आधिपत्य जमाउँछ । साम्राज्यवादी शक्ति षड्यन्त्रका विभिन्न तानाबानाहरू बुन्न सिपालु हुन्छ ।
ऐतिहासिक भौतिकवाद र अन्तर्राष्ट्रियतावादी चेतना
कवि गोकुल जोशीले नेपालमाथि परेको साम्राज्यवादी खतरालाई ऐतिहासिक अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा हेरेका छन्ः
“.....................................
जापानलाई डढाएर कोरियामा सल्क्यो
हिन्दचीनको मुटु खाई कास्मिरलाई चाट्यो
पाकिस्तानको घाँटी समाई नेपाललाई आँट्यो
जोगाऊ नेपाल हाम्रो, भगाऊ साम्राज्यवादीलाई ।”
माथिका पङ्क्तिले द्वितीय विश्वयुद्धमा जापानमाथि भएको आणविक विनाश, कोरियाली युद्ध, हिन्दचीन अर्थात् भियतनाम, लाओस र कम्बोडियामाथिको साम्राज्यवादी हस्तक्षेप तथा दक्षिण एशियामा कास्मिर र पाकिस्तान हुँदै नेपालसम्म फैलिएको विस्तारवादी नीतिको ऐतिहासिक घटनाक्रमलाई सङ्केत गरेका छन् । यसबाट के प्रस्ट हुन्छ भने कविले यस कविता मार्फत माक्र्सवादी अन्तर्राष्ट्रियतावादको चेतनालाई ब्युँझाएका छन् ।
सांस्कृतिक भौतिकवाद, राष्ट्रिय स्वाधीनता र सम्पदाको रक्षा
साम्राज्यवादले आर्थिक दोहन मात्र गर्दैन, यसले राष्ट्रको सांस्कृतिक र प्राकृतिक अस्तित्वलाई नै समाप्त पार्छ । कवितामा यो खतरालाई निकै मर्मस्पर्शी रूपमा प्रस्तुत गरिएको छ । हाम्रो देशमा साम्राज्यवाद पसेर प्राकृतिक सम्पदाको दोहन गर्न सक्छ भन्दै कविले चिन्ता व्यक्त गरेका छन् । जडिबुटी लुट्ने, अजस्र जलराशिमा चलखेल गर्ने र हिमाली गौरवलाई नामेट पार्ने खतरा छ । तिनीहरू हाम्रो सामाजिक विनाश चाहन्छन्, सांस्कृतिक विनाश चाहन्छन् । तिनीहरूले ट्याङ्क र तोप गाउँगाउँमा छिराएर हाम्रो समाजलाई आतङ्कित बनाउँछन् । हाम्रा दिदीबहिनीहरूमाथि बलात्कार गर्न सक्छन् र धनसम्पत्ति लुटेर त्रासमय वातावरणको सिर्जना गर्न सक्छन् ।
साम्राज्यवाद पसेपछि त्यसले हाम्रो इतिहास र हाम्रा सहिदहरूको सम्मान गर्दैन, उल्टै अपमान गर्छ । “उडाउला नेपालको इतिहासको कृति \ उडाउला पुराना ती सहिदका मूर्ति” भन्दै कवि जोशीद्वारा यस कवितामार्फत इतिहास र सहिदहरूको बलिदानलाई निष्प्रभावी बनाउने साम्राज्यवादी सांस्कृतिक अतिक्रमणविरुद्ध चेतावनी दिइएको छ ।
युद्धविरोधी चेतना, जनमुक्ति र समाजवादी चिन्तन
प्रगतिवादी साहित्यको गन्तव्य अन्यायपूर्ण साम्राज्यवादी युद्धको अन्त्य गरी श्रमजीवी जनताको नेतृत्वमा दिगो शान्तिका साथ समाजवाद स्थापना गर्नु हो । कवितामा प्रयोग गरिएको स्थायी पङ्क्ति “उठ हे ! शान्तिका दूत, चुँडाल युद्धको बन्धन”ले साम्राज्यवादी युद्धको विरोध र न्यायपूर्ण जनशान्तिको उद्घोष गरेको छ । कविताको वैचारिक उत्कर्ष अन्तिम श्लोकमा यसरी प्रकट भएको छः
“रोक्नुपर्छ लडाइँलाई शान्तिका हे दूत
अमेरिकी साम्राज्यको विरोधमा उठ
मित्रताको मार्ग समाऊ मंजिलमा जाने
सबै मिली कमाएर सबै मिली खाने”
यहाँ “सबै मिली कमाएर सबै मिली खाने” भन्ने पङ्क्तिले मार्क्सवादी \समाजवादी समाजको मूल नारा— “प्रत्येकबाट उसको क्षमताअनुसार, प्रत्येकलाई उसको काम\आवश्यकता अनुसार”को सरल तर सशक्त नेपाली लोकाभिव्यक्ति प्रस्तुत भएको छ ।
भाषाशैली, बिम्बविधान
कवितामा अन्तर्वस्तु र रूपको द्वन्द्वात्मक एकतामा जोड दिइएको छ । यस कविताको कलात्मक पक्ष सुन्दर छ । कविता श्रमिक, किसानहरू तथा अपठितहरूले गाउन सक्ने झ्याउरे वा लोकलयमा छ, । गेयात्मक छ । आम जनताका माझ सजिलै गाउन र सम्प्रेषण गर्न सकिने खालको छ । कवितामा बिम्बविधान सशक्त छ । प्रतीकात्मक पदपदावलीहरू कवितामा प्रशस्त छन् । ‘मुटु खाने गिद्ध’ साम्राज्यवादको बिम्बका रूपमा, ‘डलरको पोको’ विदेशी पूँजीको बिम्ब, ‘शान्तिका दूत’ देशभक्त-क्रान्तिकारी जनसमुदायको बिम्ब जस्ता बिम्बहरूले कविताको विचार पक्षलाई गहन र भाव पक्षलाई गम्भीर तुल्याएका छन् । कवितामा “जोगाऊ नेपाल हाम्रो, भगाऊ साम्राज्यवादीलाई” र “उठ हे ! शान्तिका दूत” जस्ता पुनरावृत्त पङ्क्तिहरूले आन्दोलनकारी र जुझारू ध्वनि पैदा गरेका छन् ।
निष्कर्ष
गोकुलप्रसाद जोशीको ‘मुटु खाने गिद्ध आयो’ कविता प्रगतिवादी नेपाली कविताको इतिहासमा एक उच्च कोटिको रचना हो । यस कविताले वर्गसङ्घर्ष, साम्राज्यवादविरोधी चेतना, राष्ट्रिय स्वाधीनताको रक्षा, सांस्कृतिक सचेतता र समाजवादी भविष्यको रेखाङ्कनलाई अत्यन्तै प्रभावकारी ढङ्गले प्रस्तुत गरेको छ । मूलतः यो कविता साम्राज्यवादका विरुद्ध लक्षित छ र यसले नेपाली जनतालाई वैदेशिक उत्पीडन एवम् सामन्ती दलालहरूका विरुद्ध एकताबद्ध भई जुध्न र समतामूलक समाज निर्माणका लागि प्रेरित गरेको छ ।
हालः पोखरा– १७, कास्की