19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इन्द्रबल्लभ राई ‘मुर्झन’-को कविता सङ्ग्रह ‘छन्द-बेछन्द’-लाई सरसर्ती हेर्दा

कृति/समीक्षा गोपालसिंह विश्व October 10, 2026, 1:25 am
गोपालसिंह विश्व
गोपालसिंह विश्व

मेरा आदरणीय गुरुजी तथा देवकोटाको ‘मुनामदन’-को अङ्ग्रेजी अनुवादक स्व. गङ्गासिंह राई सरका सहोदर भाई इन्द्रबल्लभ राई मेरा छात्र जीवनका केही पुराना घनिष्ठ मित्रहरूमध्ये एक हुन्। सम्भवत:: सन् 1966 मा हामी बाग्राकोट हाई स्कुलमा सातौँ श्रेणीमा पढ्दा उनीसित समकक्ष मित्रताको सम्बन्ध गाँसिएको थियो। उनी सामसिङ खासमहल बस्तीबाट आएर त्यही वर्ष बाग्राकोट हाई स्कुलमा भर्ना भएका थिए। पछि स्कुल फाइनल उतीर्ण गरेपश्चात् उनी सामसिङको गुम्बा डाँड़ा प्राथमिक पाठशालाका शिक्षक भए। त्यस पाठशालामा उनी 1973 देखि 1976 सम्म कार्यरत थिए। त्यसपछि सन् 1976 देखि 2011 सम्म कुमाई खास प्राथमिक पाठशाला, भालुखोप, सामसिङमा शिक्षण कार्य गरेर उनले अवकाश ग्रहण गरेका हुन्। विद्यार्थी जीवनदेखि नै उनको नेपाली भाषा-साहित्यप्रति निकै झुकाव रहेको थियो। सन् 1965 मा सामसिङ निम्न माध्यमिक विद्यालयको छैटौ श्रेणीमा पढ्दा उनको ‘गाला’ शीर्षकमा एउटा निबन्ध सामसिङ, डुवर्सबाट निस्किने हस्तलिखित पत्रिका ‘उषा’ को प्रथम अङ्कमा प्रकाशित भएको पाइन्छ। सामसिङ चियाकमान, डुवर्स जलपाईगढी जिल्ला अन्तर्गत पर्दछ भने सामसिङ खासमहल बस्ती पहिले दार्जीलिङ र अहिले कालेबुङ जिल्लाभित्र पर्दछ। उनको जन्मथलो सामसिङ खासमहल बस्ती अनि कर्मथलो पनि त्यसकै सेरोफेरो रहेको थियो।
शिक्षण पेशासित संलग्न भएपश्चात् उनले समानान्तर रुपमा समाज र साहित्यको सेवा गर्ने अनुकुल परिवेश पाए। यसरी उनका केही फुटकर रचनाहरू कविता, लेख-निबन्ध, संस्मरण आदि विभिन्न पत्र-पत्रिकाहरूमा बेलाबेलामा प्रकाशित हुँदै आएका हुन्। शिक्षण पेशाबाट अवकाश ग्रहण गरेपश्चात् सन् 2013 मा उनको प्रथम कृति ‘स्मृतिका लहरहरू’ (संस्मरण, कथा, निबन्ध र कविताहरूको सङ्कलन) प्रकाशित भएको थियो। यसरी नै उनको दोस्रो कृति ‘समयका डोबहरू’ (संस्मरण तथा विविध लेखहरूको सङ्कलन) सन् 2020 मा प्रकाशित भएको पाइन्छ। सन् 2024 मा डु.ने.सा.वि.समितिको प्रकाशन र अबीर खालिङ र दुर्गा राई चामलिङको सम्पादनमा प्रकाशित ‘डुवर्सका कविताहरू’ (कविता सङ्कलन)-मा उनको एउटा कविता ‘कमली’ प्रकाशित छ। सन् 2026 मा प्रकाशित प्रस्तुत पुस्तक ‘छन्द-बेछन्द’ (पद्य सङ्ग्रह) उनको तेस्रो कृति हो। यसमा उनका 18 वटा कविताहरू सङ्कलित छन्। ती सम्पूर्ण कविताहरूलाई सरसर्ती हेर्दा साधारण पाठकले पनि बुझ्न सक्ने सरल भाषामा लेखिएका, कुनै झ्याउरे छन्दमा, कुनै शार्दुलविक्रीड़ित, कुनै तोटक, कुनै लयबद्ध र अधिकतर मुक्त छन्दमा पाउछौं। पहिलो कविताको रुपमा एउटा भजन ‘आऊ प्रभु’ –मा ‘कर्म नै धर्म हो’ भन्ने गीताको सार सन्देश सुनाउने विन्ती गर्दै ईश्वरप्रति प्रार्थना गरिएको छ भने दोस्रो कविता ‘बाड़ुली’ झ्याउरे छन्दमा लेखिएको 54 लाइनको कविता हो। यस कवितामा डुवर्समा बिताएको क्षण अतीतको सम्झना गर्दै उनी लेख्छन् –
डुवर्सको ठाउँ बिरानो गाउँ, मायाले बोलायो,
संयोगले गर्दा उठेछ पर्दा, भेट हाम्रो गरायो।
जीवनको हाम्रो उर्वर बेला, बितेर गएछ,
दैवले चाहे जिन्दगी रहे, भेट भइँदो रहेछ।
यस कवितामा उनी 86 सालको आन्दोलनको स्मरण गर्दै अझै लेख्छन् -
छ्यासी सालको आन्दोलन आयो, सर्वनाश बनायो,
चिन्हारी हाम्रो भइहाल्ने आशा, नेताले जनायो।
दिल्लीको तालमा बंगालको जालमा आन्दोलन चर्कायो,
सामाजिक धन आफन्त जन, मासेर थर्कायो।
परस्पर द्वेष बदलाको भाव सोही बेला अपनाए
मर्ने र मार्ने हामी नै भयौं अरू सबै रमाए।
पहाड़सँगै तराई र डुवर्स, घायल भएथ्यौं,
चिन्हारी हाम्रो होला कि भनि, आन्दोलित भएथ्यौं।
सङ्कटको घरि त्यो बेला धरि, सम्झन्थें तिमीलाई,
धन्य है दैव ! सुनामीबाट बचाए हामीलाई।
सम्झौताभित्र परेन डुवर्स, नेताले बिर्सियो,
तिम्रो र हाम्रो भेट हुने आशा, निराशा भइदियो।
फरवरी 2019 मा सुनकोश पश्चिम डुवर्स भ्रमणको समयमा रचिएको यस कविताशंले हामीलाई घिसिङको समयको आन्दोलनको स्मरण गराउँछ। त्यसबेलाको पहाड़को हिंसात्मक आन्दोलनमा पुलिस र सी.आर.पी.-एफ.-को अत्याचार र गोलीको शिकार भएर अनि भाई-भाईमा काटमार मचाएर बाह्र सयभन्दा अधिक दाज्यु-भाईहरूले ज्यान गुमाए। ब्रिटिशकालीन धरोहरदेखि लिएर फरेस्ट बंगलो, सरकारी लाइब्रेरी जस्ता सामाजिक सम्पत्तिहरू जलाएर करोड़ौंको क्षति पुर्याएपछि गरिएको सम्झौताले ल्याएको दार्जीलिङ गोर्खा पार्वत्य परिषदको व्यवस्थाभित्र डुवर्स पर्न सकेन। डुवर्सलाई उच्काएर मात्र प्रयोग गरियो। प्रतिफल हात लाग्यो शून्य। पछि विमल गुरुङको नेतृत्वमा मच्चिएको आन्दोलनमा पनि त्यही इतिहास दोहोरियो। अन्तत: भारतीय गोर्खाहरूको साझा आकांक्षा निराशामा परिणत भयो। यसरी उनी कविताको अन्तमा केही नोस्टाल्जिक बन्न पुगेको देखिन्छ।
तेस्रो कविता ‘आह्वान’ –मा उनी भन्छन्- भारतमा अलग राज्यको माग हाम्रो संवैधानिक हक हो। यसको निम्ति हामी एक भएर सङ्घर्ष गर्नुपर्छ, यस मुद्दामा हामी सबै एक हुन सक्यौं र सत्तासीनहरूले निर्माण गरेको हरेक अड़चन, बाधा,अथवा जाल-झेलका चक्रव्युहहरू तोड्दै अघि बढ्यौं भने एकदिन अवश्य सफलता प्राप्त गर्न सक्छौं भन्ने उनको मूल स्वर र आह्वान हो।
उनको चौथो कविता ‘बह’ शार्दूलविक्रीड़ित छन्दमा लेखिएको छ। यस कवितामा मनको बह पोख्दै उनी लेख्छन् –
दिव्य भारत पुण्य-भूमि जननी श्रद्धा र सेवा गरी,
आफ्नै सन्तति हुँ पराय नगरे, सौतेनी माता सरी।
दुख्दो यो क्षणको विक्षुब्ध मनले, पोख्दैछु पीड़ा यहाँ,
पीड़ा मनको प्रकाश नगरे, यो शान्त हुन्थ्यो कहाँ।
कस्तै आपदमा परे मुलुक यो, प्राणै दिएर लड़ी,
देशै खातिरमा शहीद हुन परे, मर्छु खुशी सरी।
माता भारतको श्रद्धा छ मनमा, जो स्वार्थ केही नलि,
हाम्रा पूर्वज देशकै खातिर गरी, प्राणै चढ़ाए बलि।
अतीतमा यो देशको स्वतन्त्रताको आन्दोलनदेखि वर्तमानमा सीमानाको सुरक्षासम्म पिँढ़ी-दर-पिँढ़ी हाम्रो सङ्घर्ष र बलिदानको लामो इतिहास छ। यो देशप्रति हाम्रो अगाध श्रद्धा र भक्ति छ। तर पनि हाम्रो त्याग र बलिदानको मूल्य यो देशका सत्ताधारीहरूले बुझ्न चाहेको देखिँदैन र कहिलेकाहिँ 1950 को नेपाल-भारत मैत्री सन्धि र खुला सिमानाको भ्रम पालेर विदेशीको लाञ्छनासम्म लगाइन्छ भन्ने गुनासो कविले यस कवितामा व्यक्त गरेका छन्।
उनको पाचौं कविता ‘जो पाएँ’ उर्दु शयरीबाट प्रभावित भइ लेख्ने प्रयास गरिएको रचना हो जसलाई उनले बक्र शायरीको नाम दिएका छन्। छैटौं कविता ‘चलभाष’ तोटक छन्दमा रचिएको छ। यस कवितामा चलभाष अर्थात् मोबाइलले समाजलाई पारेको दुष्प्रभावबारे व्यङ्ग्य गरिएको पाइन्छ। सातौँ कविता ‘’कवि भानु’ सामसिङ उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न भएको सन् 2012 को भानु जयन्ती समारोहमा पठन गरिएको कविता हो। यस कवितामा कवि भानुभक्तले नेपाली समाज र साहित्यमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै भानुभक्तको जीवनचरित्र अनि सम्पूर्ण रामायण प्रकाशमा ल्याउने मोतीराम भट्टको पनि गुणगान गर्दै अन्तमा भानुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। आठौँ कविता ‘उदारभाव’ –मा उनी भन्छन् – जबसम्म समाजमा व्याप्त जातीय विभेद्को कलुषित भावना र मानिस मानिस माझ उँच-नीचको सोंच र जातीय अहङ्कारको मानसिकताले ग्रस्त अनेकता, आर्थिक रुपमा कमजोर रहेका मानिसहरूलाई ठग्ने, शोषण-दमन गर्ने प्रचलन जस्ता अव्यवस्था र कुशासन कायम रहन्छ, कुनै राष्ट्र अथवा समाजको भलो हुँदैन। कुनै देशको नागरिकहरू यस्ता सङ्कुचित भावनाहरूले ग्रस्त रहे त्यो देश समृद्ध हुन सक्तैन। कर्म-संस्कृति, आर्थिक समानता, भातृत्व, प्रेम र उदारभाव रहे मात्र त्यस समाजको उन्नति सम्भव हुन्छ भन्ने कविको सन्देश रहेको छ।

उनको नवौं कविता ‘जीवन र वर्तमान’ मुक्त छन्दमा लेखिएको छ। यस कवितामा कवि जीवन लोभ, मोह, तेरो र मेरो भनिने मिथ्या आडम्बरहरूले भरिएको स्वार्थी सोंच र सांसारिक माया-जालले घेरिएर ठगिएको अनुभव गर्छन्। आज सर्वत्र छल-कपट, हिँसा र हत्याको खेल अनि जात-जाति, धर्म, सम्प्रदाय र राष्ट्र राष्ट्र समेत अनेकौं जाल-झेल आदिले तनावग्रस्त रहेको कुरा बताउँछन्। दशौँ कविता ‘गुरु-कलङ्क’-मा कवि महाभारतको मिथक कथाशं गुरु द्रोणाचार्यले राजपरिवारको पक्षपाती बनेर निषाद पुत्र एकलव्यलाई शिष्यको रुपमा अप्नाउन अस्वीकार गरेको हुँदाहुँदै पछि आफ्नो एक्लो प्रयत्न र अभ्यासद्वारा एकलव्य श्रेष्ठ धनुर्धर बन्न सफल भएको देखे पश्चात् कुटिलतावश दक्षिणाको रुपमा उसको बुढ़ीऔंला मागेर साँचो गुरुको आदर्शलाई कलङ्कित बनाएको तथ्य उल्लेख गरेका छन्। यसरी नै ‘डुवर्स’ शीर्षक कवितामा उनी निकै आशावादी बनेका छन्। डुवर्स अब पहिले जस्तो रहेन। यहाँका नेपाली भाषी गोर्खाहरूमा अब शैक्षिक, सामाजिक, सांस्कृतिक र साहित्यिक जागरण आइसकेको छ। हिन्दी, बंगला, नेपाली, सादरी यहाँका साझा भाषाहरू हुन्। यहाँका चियाबारीहरूमा आदिवासी र गोर्खाहरू युगौंदेखि नङ र मासु झैं मिलेर बसेका छन्। मिश्रित जाति र विभिन्न भाषा,संस्कृतिको सङ्गम स्थल डुवर्स एउटा अलग पहिचान र विशेषता लिएर अघि बढ़िरहेको छ।
बाह्रौं कविता ‘कुठाराघात’ –मा हाम्रो जातीय अनेकता र भाई भाईमा फुटको कारण हाम्रो राष्ट्रिय चिन्हारीमाथि कुठाराघात भइरहेको कुरा बताउँछन्।
प्राण दिएर अस्मिता बिर्सिने हाम्रो जात,
राष्ट्रिय चिन्हारीमा भैरा’छ कुठाराघात,
‘भाई फुटे – गवाँर लुटे’ ठ्याक्कै मिल्छ यहाँ,
समान छ हामीमा जाति शोषणको आघात।
त्यसरी नै ‘बर्थ डे’ कवितामा पनि आजकल प्रचलनमा आएको बर्थ डे’ मनाउने फेशन, नानीहरूलाई नेपाली माध्यमको सरकारी विद्यालय नपठाएर अंग्रेजी माध्यमको नर्सरी स्कुल पढाउने चलन आदिमाथि व्यङ्ग्य प्रहार गरिएको छ।
चौधौं कविता ‘अनुत्तरित जिज्ञासाहरू’ -मा कवि प्रकृति अथवा यो सृष्टिको सृजना र संचालन गर्ने कुनै निराकार ईश्वरको अस्तित्वमाथि विश्वास गर्दछन् तर पनि बहु ईश्वरवाद र धर्मको अनावश्यक देखावटी, ढोंग, अन्धपरम्परा र पाखण्डीपनमाथि विश्वास नरहेको कुरा व्यक्त गर्छन्। उनी कवितामा भन्छन्-
कोही मुखबाट जन्मने पाउबाट कोही,.
जन्मदै उच्च कोही नीच र अछुत कोही,
चार मातृद्वारकी जननी ब्रह्मा माता हुन्?
विज्ञान छ उज्यालोमा, अँध्यारोमै धर्म कोही।
यसरी जातपात र उंच-नीचको मानसिकता र कुसंस्कारको पनि उनी विरोधी रहेको देखिन्छ। यथार्थमा, विज्ञान सम्मत तथ्यहरूमाथि नै हामीले विश्वास गर्नुपर्छ भन्ने उनको सन्देश रहेको छ।
उल्टा-सुल्टा नीति रितिमा कति अल्मलाउने?
धार्मिक सूत्रको आड़मा अझ कति अल्झाउने?
एक्काइसौँ सदिको पूर्वार्द्ध युग बितिसके,
अन्धो जड सूत्रको सङ्क्रमण कति बल्झाउने?
भो भयो अन्धविश्वासको पर्दा हटाउ,
यथार्थको सोंचले भ्रमजाल घटाउ,
दुनिया विज्ञान उक्लेर शिखर पुगे,
विभेदकारी भाव अब मनैबाट मेटाउ।

पन्ध्रौँ कविता ‘अनर्थ गरिस्’ दार्जीलिङमा 21 मई 2010 को दिन गोर्खालीगका नेता मदन तामाङको हत्याको दुख:द क्षणमा रचिएको भावपूर्ण कविता हो। कवितामा यस घटनालाई धिक्कार्दै उनी लेख्छन् –
विश्व चर्चित जातीय यो अस्त्र
वीर बलभद्रका हातमा नाच्ने
नालापानीको युद्धमा चम्कने
दुर्गा मल्लको हातमा सजिएको
धनसिंह थापालाई दुर्लभ वीरता दिने
माणिक शाको कम्मरको शान यो अस्त्र
कारगिलमा आतंकवादी छप्काउने
‘गोर्खा गौरव’ अस्त्र हो खुकुरी।
तर विडम्बना ! कस्तो दुर्भाग्य ?
आमाको गर्भमै तुहुन बिर्सेका
कुपात्रका हातमा परिस्,
खुकुरी, तैंले अनर्थ गरिस्। -------
गोर्खाको गौरव भनी विश्वमा चिनिने हाम्रो अस्त्र खुकुरी भाड़ामा परिचालित कुपात्रको हातमा पुगेको र गलत प्रयोग भएको देखेर विस्मात मान्दै कवि अझै लेख्छन् –
हिज हाम्रा भू.पू. सैनिकहरूलाई,
सत्तापक्षले अस्त्र प्रहार गरेर
मरणासन्न घायल रक्ताम्मे पार्दा,
बीरताका तक्माहरू खोसेर कुल्चन्दा,
हाम्रा चेलीहरूलाई लात-घुस्सा हान्दा,
तँ किन त्यो हत्याराको दापभित्र लुकिस्?
धिक्कार छ तँ जस्तो कु-अस्त्रलाई
शत्रु हँसाई सन्तान रुवाइस्
मीरजाफ़र, जुडास र विभिषणहरूका
अपवित्र र खुनी हातमा परिस्,
खुकुरी तैँले अनर्थ गरिस्।
सोह्रौं कविता ‘जीवन र माया’-मा यो सांसारिक जीवन नै मायाजालले घेरिएको छ र त्यसकै सेरोफेरो यो जीवन परिक्रमा सञ्चालित छ भन्ने सार व्यक्त गरिएको छ भने सत्रौं कविता ‘घायल मन’ –मा उमेरको लहड़ र माया पिरतीले मनै घायल बनाएको गीत गाउँछन् भने अन्तिम कविता ‘मेरा ती क्षणहरू’ –मा बालापनको मधुर सम्झना गर्दै भन्छन् –
जब थिएँ म बालक बबुरो,
अशक्त, अन्जान र ज्ञान अधुरो,
चेतन अवस्थामा आएँ जब म,
मेरा ती क्षणहरू भए मधुरो।
बालापनमा सुन्थें सँधै ‘कुकू’ बासेको,
वन-पाखामा ‘चिरिबिरि’ पंछी हाँसेको,
‘गोलसिमल’ र ‘काफल पाक्यो’ भाकै हरायो,
कठैबरा ! सुन्दर सृष्टि कसले मासेको ?
गाउँ-बस्ती र बन-पाखाको प्राकृतिक सुन्दरता, वशन्त ॠतुमा कोइलीको कुहु कुहु, वर्षा झरिमा झ्याउँकिरीको आवाज, डाँड़ा- काँढ़ा, खोंच-कन्दराको पानी-पँधेरो, गाउँ-घरको अर्ग्यानिक अन्न-बाली, साग-पात, सुन्तला बारीको आयश्रोत, गाउँ-घरको गुन्द्रुक, सिन्की, मस्यौरा र किनिमा जस्ता सुपाच्य खाद्य-पदार्थ, आम्खोरा, कचौरा, गबुवा जस्ता हाम्रा सांस्कृतिक भाँडा-वर्तन सबै अब विस्मृतिको धुवाँमा विलिन भइसके। हाम्रा पुर्खाहरू जैविक औषधि उपचार र प्राकृतिक जडीबुट्टीहरूमाथि भरोसा गर्थे। साथी—भाईहरूसँग भेटघाट, प्रेम, आतिथ्य, सौहार्दता, माता-पिता र गुरुजनहरूप्रति आदरभाव, समाजमा धर्म, नीति, मानवताको भावना थियो, लोभ, छलकपट, र हिंसाको प्रभाव थिएन। तर वर्तमानमा आइपुग्दा विगतका ती सबै क्षणहरू दुर्लभ भइसकेका छन् भन्ने विचार कविले यस कवितामा व्यक्त गरेका छन्। पुस्तकमा सङ्कलित सम्पूर्ण कविताहरू सरल र बोधगम्य रहेका छन्। पुस्तकको पछिल्लो आवरण पृष्ठमा समीक्षक जय क्याक्टस आफ्नो मन्तव्य यसरी पोख्छन् – ‘कवि इन्द्रवल्लभ राई मुर्झनले जीवनको उत्तरार्द्धमा आएर फेरि हामीलाई एक सुन्दर कृति दिएका छन् हाम्रो जीवन जस्तै ‘छन्द बेछान्द’ कतै चटक्कै मिलेको कतै केही नमिलेको भताभुङ्ग।–एकजना गम्भीर कविको उद्गारमा भेटिने समाज चिन्तन, जीवन दर्शन, समयबोध जस्ता विषयहरू कविताको आत्मामा राखेर सिर्जित यी सिर्जनाहरू अवश्य कालजयी बन्नेछन्। कवि इन्द्रवल्लभ राई ‘मुर्झान’ जस्ता शब्द्शिल्पी पाउनु हाम्रो समाजको निम्ति गर्वको विषय हो। – तर समाजले हाम्रा यस्ता गौरवहरू चिन्न जहिल्यै विलम्ब गर्छ।‘ यस अघि उनको प्रथम कृति ‘स्मृतिका लहर’ (विविध रचनाहरूको सङ्कलन)-मा पनि उनका 22 वटा कविताहरू सङ्कलित थिए। पुस्तकको भूमिकामा उनका विविध रचनाहरूको मूल्याङ्कन गर्ने क्रममा कविताबारे समीक्षक जय क्याक्टस लेख्छन् – ‘कवितामा कवि इन्द्रबल्लभ राई सामाजिक विसङ्गति, व्यवस्थाको विकृति तथा आर्थिक विषमताले जन्माएका बिप्ल्याँटो परिस्थितिसित लड़्ने, विरोध गर्ने, व्यङ्ग्य कस्ने, सुधार र सम्मतिमा सबैलाई अघि आउने लगायत सम्बन्ध, साइनो, संस्कार-संस्कृतिप्रति सोझो सम्प्रेषण हुने उनको भावाभिव्यक्तिमा एउटा छुट्टै मिठास् र हृदयस्पर्शिता छ। उनको काव्यिक चेतनाले उनलाई कविता सम्मोहनभित्र संधै लट्याएर राखेको छ।‘ वास्तवमा उनको व्यक्तित्वमा जुन सरलता र इमान्दारिता छ त्यसको झलक उनको साहित्य रचना तथा कविताहरूमा पनि पाइन्छ। साहित्य साधनामा उनले निकै लामो अवधि व्यतित गरिसकेका छन्। उनीबाट अझ धेरै कृतिहरूको सृजना हुन सकोस् भन्ने अपेक्षा साँच्दै उनको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछु।
बाग्राकोट (डुवर्स)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।