म रुन चाहन्न
जीवनको भिख माग्दै
जीवन सुन्दर सृष्टि हो
फूल जस्तै फक्रनु पर्छ
ताराहरु हाँसि रहेछन
अँध्यारो रात चिर्नलाई
म जून खोजि रहेछु
औँशीका विषाक्त रात कोट्याउँदै ।
मेघ नगर्जिए हुन्थ्यो
पानी नदर्किए हुन्थ्यो
विजुली नचम्किए हुन्थ्यो
चट्याङ नपरे हुन्थ्यो
मेरो अभ्यर्थना प्रकृतिले सुन्ला या नसुन्ला
प्रकृति संग हार्नै पर्छ मान्छेले ।
म मृत्यु कुरिरहेको छु
मृत्यु मलाई लखेटि रहेको छ
यद्यपि म भागि रहेको छैन
मृत्युसंग पराजित भएर
मृत्यु अवश्यम्भावी भए पनि
किन अप्रिय लाग्छन हरेक मृत्यु ?
‘कर्मणः फलमेव भोक्तव्यम’् मा
वास्तविकता लुकेको छ कि छैन ?
म खोजि रहेछु प्रामाणिक तथ्य
देख्दै नदेखेको
पूर्व जन्म र पुनर्जन्मको त्रास र आश देखाएर
वर्तमानको वास्तविकता लत्याई
जीवनलाई निस्सार बनाउन
धर्मको भ्रम छरि रहेछन मान्छेहरु ।
अन्याय पाप हो
त्यही पापको बैशाखी टेकेर
कुलीन भनिनेहरु
देवत्वको नाममा
ढुङ्गा पूजेर
आफूलाई प्रतापी भएको घोषणा गर्छन
म मान्दिँन
तिनीहरु प्रतापी हैनन
तिनीहरुको रगतमा
मान्छेको सुगन्ध छैन
धर्मको आडमा
मान्छे माथि अन्याय गर्छन तिनीहरु ।
पापी र धर्मात्माको लेखो लगाएर
स्वर्ग र नरकको
अफवाह फैलाउँदै
मान्छेका भावना कुल्चिएर
गरिबीको फाइदा उठाई
गरिब माथि नै शासन गर्छन तिनीहरु ।
मानिसहरु
स्वाभिमानको बचाउमा
जीवन उत्सर्ग गर्छन
आस्था रक्षार्थ
न्यायिक युद्ध लड्दै
खोज्छन मुक्तिको बाटो ।
म सिद्धान्त च्यूत हुने छैन
ढल्ने छैन मेरो आस्था
मैले भनि सकें
म भिख माग्दिन जीवनको
कृपया क्षमा पाउँ
म जीवनको पनि जीवन खोज्ने मान्छे ।
सुन्दरहरैंचा –०६, दुलारी, मोरङ