पठन संस्कृति भनेको केवल पुस्तक पल्टाउने बानी मात्र होइन, यो मानिसको चिन्तन, व्यवहार र दृष्टिकोणलाई आकार दिने एक सशक्त माध्यम हो । नेपाल जस्तो भौगोलिक, धार्मिक, सांस्कृतिक र सामाजिक विविधता भएको मुलुकमा पठन संस्कृतिले व्यक्तिलाई संकीर्णताभन्दा माथि उठेर विश्वव्यापी परिप्रेक्ष्य दिन सक्छ भन्ने विश्वास गर्न सकिन्छ । प्रस्तुत आलेखमा पठन संस्कृतिका विभिन्न आयामहरुलाई साहित्यक तथा समाजशास्त्रीय दृष्टिबिन्दुबाट आंकलन गर्ने प्रयास गरिएको छ ।
सामान्यतया आँकलन गर्न सकिन्छ कि पठनले औपचारिक शिक्षाको अन्त्यपछि पनि व्यक्तिलाई सिक्ने क्रममा जोडी राख्छ । हामी सबैलाई थाहा नै छ कि आजको द्रुत परिवर्तनशील विश्वमा एउटै विद्यालय वा कलेजको शिक्षाले जीवनभरका लागि पर्याप्त हुँदैन । पुस्तक, पत्रपत्रिका, डिजिटल सामग्रीको नियमित पठनले व्यक्तिलाई नयाँ जानकारी, प्रविधि र दृष्टिकोणसँग अद्यावधिक राख्छ । नेपाली किसानले माटोको उर्वराशक्ति बुझ्न वैज्ञानिक पुस्तक पढ्नैपर्छ भन्ने छैन, तर बालीको नयाँ प्रजातिको जानकारीका लागि पठन अपरिहार्य हुन्छ । कुनै पनि विषयका बारेमा थाहा पाउनु, जान्नु वा सुसुचित हुनु आजको समाजको अपरिहार्य विषय बनिसकेको छ । पठन कार्यले एकातिर व्यक्तिको ज्ञानलाई निरन्तरता दिन्छ भने सधैं सिक्ने, जान्ने वा थाहा पाउने उपक्रममा अगाडि बढाइरहन्छ ।
कानले सुनेको ज्ञान निष्क्रिय हुन्छ, तर पठनले सक्रिय मानसिक व्यायाम गराउँछ । पढ्दा मस्तिष्कले तुलना, विश्लेषण, र निष्कर्ष निकाल्ने काम गर्छ । जब कसैले देवकोटाको ‘मुनामदन’ पढ्छ, उसले केवल कथा बुझ्दैन, जीवन र मृत्यु, धन र माया, गाउँ र सहरको द्वन्द्व आफैं अनुभव गर्छ । यसरी पठनले व्यक्तिलाई हतारमा विश्वास नगर्ने, प्रश्न गर्ने, र तर्कपूर्ण निर्णय गर्ने क्षमता दिन्छ । यतिमात्र होइन पठन कार्यले व्यक्तिमा कुनै पनि विषय तथा सवालका प्रति अन्ध विरोध वा समर्थन होइन कि आलोचनात्मक टिप्पणी गर्ने हैसियत प्रदान गर्दछ । ठीकलाई ठीक र बेठिकलाई बेठिक भन्न सक्नु आजको समाजको अपरिहार्यता बनेको छ । समाज विकासको समग्र प्रकृयामा समालोचनात्मक चिन्तन प्रणालीको विकास हुनु नितान्त जरुरी देखिन्छ ।
सामान्यतः पठनले मानिसलाई अर्कोको पीडा र सुख बुझ्न सक्ने बनाउँछ । पारिजातको ‘शिरीषको फूल’ पढ्दा एउटा अग्लो पहाडी केटीको एक्लोपन हाम्रो आफ्नै जस्तो लाग्छ । यसरी पात्रसँगै रुने–हाँस्ने बानीले समाजमा सहिष्णु र दयालु मानिस उत्पादन गर्छ । नेपाल जस्तो बहुजातीय समाजमा यस्तो समानुभूति अत्यन्त आवश्यक छ । पठन संस्कृतिको कमी भएको समाजमा अर्कोको सांस्कृतिक पीडाप्रति उदासीनता बढ्छ । जसरी चिरपरिचित गायक प्रकाश सपुतले रचना गरेका र श्वर दिएका गीतले मानिसको मन–मस्तिष्कलाई उद्देलित बनाउँछ, त्यसरी नै एउटा राम्रो कथा, लेख, निबन्ध, कविता, उपन्यास वा अरु यस्तै प्रकारका पठन सामग्रीले पाठकको दिल दिमागलाई सजक र सतर्क बनाउन मद्दत गर्दछ । पढ्दै जाँदा पाठक नै पात्रतामा अनुदित हुनु भावनात्मक बुद्धिमत्ता र समानभूतिको वृहत्तर आयाम हो ।
निरन्तर अध्ययनमा लिन हुने व्यक्तिको ज्ञानको दायरा फराकिलो हुनेमात्र होइन, बरु पढ्ने व्यक्तिसँग शब्दकोश ठूलो हुन्छ, आफ्नो कुरा प्रस्ट र प्रभावकारी रूपमा राख्न सक्छ । उसले समस्या आइलाग्दा डराउँदैन, समाधानका लागि पुस्तक खोज्छ, सन्दर्भ लिन्छ, र अघि बढ्छ । भनिन्छ, पठनले डिप्रेसन, आत्मविश्वासको कमी जस्ता मानसिक समस्यामा पनि एक प्रकारको ‘बुक थेरापी’को काम गर्छ । धेरैले महात्मा गान्धी, विपी कोइराला, मदन भण्डारी, मदर टेरेसाजस्ता व्यक्तित्वको जीवनी पढेर प्रेरणा लिन्छन् । यतिमात्र होइन पठन संस्कृतिको विकासले एक पुस्तादेखि अर्को पुस्तासम्म परम्परागत तथा मौलिक सामाजिक÷साँस्कृतिक मूल्य मान्यता एवम् प्रथा परम्पराहरु हस्तान्तरण गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हामीलाई अवगत नै छ कि नेपालको लोककथा, बाजा, भेषभूषा, भाषा सबै साहित्यमा संरक्षित छन् । पढ्ने बानीले यी सम्पदा मौखिक परम्पराभन्दा लिखित रूपमा जीवित रहन्छन् । हाम्रा सन्ततिले पूर्वजको जीवनशैली बुझ्न पुस्तक नै मुख्य माध्यम हुन् भन्ने तथ्यमा कुनै संसय छैन ।
आजको प्रतिस्पर्धात्मक युगमा एउटै सीप वा डिग्रीले ४०÷५० वर्षको जीवनचर्या धान्दैन । निरन्तर पठन र पठनमार्फत हुने सिकाइले व्यक्तिलाई नयाँ प्रविधि, बजारको माग, र व्यवसायिक रुझानसँग अद्यावधिक राख्छ । उदाहरणका लागि, नेपालमा आइटी क्षेत्रको वृद्धिसँगै एउटा लेखापालले र एउटा आधारभूत तहको शिक्षकले पनि कम्प्युटर सिक्नैपर्ने अवस्था छ । जसले नयाँ सीप सिक्छ, उसले जागिर, पेशा वा व्यवसाय गुमाउने डर कम हुन्छ र स्वरोजगारका नयाँ बाटा खुल्छन् । निःसन्देह निरन्तरको अध्ययन र सिकाइले मस्तिष्कलाई सक्रिय राख्छ । अध्ययनहरूले देखाएका छन् कि नयाँ भाषा, सीप, वा ज्ञानको अध्ययनले डिमेन्सिया (मानसिक भ्रम) र अल्जाइमर जस्ता रोगको जोखिम घटाउँछ । नेपालको सन्दर्भमा, बुढेसकालमा साक्षरता कक्षा लिने ७० वर्षे हजुरआमालाई कम मानसिक समस्या हुने देखिन्छ, यसो किन हुन्छ भने बृद्ध वयमा पनि उनीहरु नयाँ कुरा जान्न, सिक्न वा थाहा पाउन सकारात्मक ढंगले जागरुक र उत्साहित हुन्छन् । निरन्तरको अध्ययन संस्कृतिले व्यक्तिमा आत्मविश्वास बृद्धि गर्नुका साथै उद्देश्यको अनुभूति, र अवसाद नियन्त्रणमा पनि सहयोग गर्छ ।
नेपालमा पछिल्लो दशकमा द्वन्द्वपछिको संक्रमण, संघीयता, प्रविधिको विस्तार, र विश्वव्यापीकरण भएको हामीलाई अवगत नै छ । जसका कारण पुरानो पुस्ताले नयाँ व्यवस्था, मोबाइल बैंकिङ, अनलाइन फारम बुझ्न निकै समस्या भोगेको छ । तर निरन्तर सिक्ने बानी भएका व्यक्तिले यस्तो परिवर्तनलाई सहजै आत्मसात् गर्छ । उसले ‘पहिले यस्तो थियो’ भनेर विलाप गर्दैन, बरु ‘अहिले यसरी गर्नुपर्छ’ भनेर सिक्छ र अघि बढ्छ । यसरी समयको वदलावसँगै आफूलाई पनि रुपान्तरित गर्ने सबैभन्दा प्रभावकारी साधन भनेको पठन संस्कृति नै हो ।
थाहा पाउनुपर्ने विषय के पनि हो भने सिकाइ केवल पुस्तकबाट मात्र हुँदैन, मानिससँगको अन्तरक्रियाबाट पनि हुन्छ । नयाँ सीप सिक्नका लागि प्रयोग गरिएको वर्कशप, अनलाइन कोर्स, वा भाषा कक्षाले व्यक्तिलाई नयाँ मानिससँग जोड्छ । नेपालमा ‘बुक क्लब’, ‘कोचिङ क्लास’, ‘योगा वर्कशप’ पनि सिकाइका माध्यम हुँदै सामाजिक सञ्जाल पनि पछिल्लो समय सूचना वा जानकारीका माध्यम बनिरहेका छन् । यसरी पठनका लागि विस्तारित भैरहेका प्लेटफर्महरुको सही प्रयोगले प्रयोगकर्ताको एक्लोपना घट्छ, सहकार्य बढ्छ र सामाजिक सम्बन्धको दायरा विस्तारित हुन पुग्दछ । निरन्तर पढ्ने र सिक्ने व्यक्ति आफ्नै जीवनको ‘मालिक’ आफै जस्तो हुन्छ । उसले नयाँ कुरा जान्दा पाउने आनन्द र सन्तुष्टिले (अहा ! क्षण) डोपामिन रिलिज गराउँछ, जुन कुनै भौतिक सुखभन्दा बढी दीर्घकालीन सन्तुष्टिदायी तथा आनन्ददायी हुन्छ । पढेलेखेको व्यक्तिको वयक्तित्व नै अध्य व्यक्तिको भन्दा उचो, सम्मानित र अनुकरणीय हुन्छ । जसले व्यक्तिको आत्म–सम्मान बढाउँछ । समसामयिक विषयमा केही न केही जान्ने बुझ्ने व्यक्तिको सामाजिक परिचय नै भिन्दै प्रकारको र सम्मानित हुन पुग्दछ । फलतः ऊ बालबालिका, जीवनसाथी वा समुदायका लागि उदाहरणीय बन्न पनि मद्दत पुग्छ ।
सेवाबाट अवकाशपछि, सन्तान विदेश गएपछि, वा साथीहरूको अभावमा धेरै नेपाली वृद्धवृद्धा एक्लोपन र डिप्रेसनमा जान्छन् । यदि उनीहरूले निरन्तर सिकाइ प्रक्रियालाई अपनाए (जस्तैः नयाँ भाषा, बागवानी, स्थानीय इतिहास, युट्युब ट्युटोरियल हेर्ने, अन्य उपयोगी सामाजिक सञ्जालमा रमाउने) तब जीवनमा सधैं कसैले केही न केही गर्न पाइरहन्छ । यसले उमेरलाई बोझ होइन, अवसर बनाउँछ । तसर्थ, पठन संस्कृतिलाई जीवनको एउटा अपरिहार्य साधन बनाउनु सबै उमेर समूहका लागि हितकर देखिन्छ ।
वास्तवमा पठन संस्कृति कुनै विद्यालयको विषय मात्र होइन, यो मानव सभ्यताको मेरुदण्ड हो । नेपालमा सरकारले विद्यालय पुस्तकालय, निःशुल्क पुस्तक वितरण र पठन अभियान चलाए तापनि परिवार र समुदायस्तरमा यसको बुझाइ अझै कमजोर छ । पठन संस्कृतिविनाको समाज सतही जानकारीले भरिएको तर गहिराइविहीन हुन्छ । जीवनलाई अर्थपूर्ण र उज्यालो बनाउन पठन जत्तिकै सस्तो र सबल औजार अर्को छैन । तसर्थ, बालबालिकादेखि युवा हुँदै वयस्कसम्म सबै उमेर समूहका मानिसहरुका लागि उमेरशुलभ पठन प्रकृयामा आबद्ध गर्न सक्ने हो भने पठन संस्कृति वास्तविक अर्थमा जीवन संस्कृतिमा बदलिन सक्दछ ।
निरन्तर पठनले मानिसलाई आर्थिक, मानसिक, सामाजिक र आध्यात्मिक चारै आयाममा समृद्ध बनाउँछ । यसले उमेर, लिङ्ग, जात, वा भूगोलको बन्देज तोड्दछ । नेपालको सन्दर्भमा, जहाँ अझै पनि ‘पढेर के गर्नु, बसीखायो’ भन्ने सोच छ, त्यहाँ निरन्तर पठन तथा सिकाइको महत्व बुझाउनु आवश्यक छ । सिकाइ भनेको गन्तव्य होइन, यात्रा हो । र यो यात्रा जति लामो हुन्छ, जीवन त्यति नै अर्थपूर्ण, अनुकूलनशील र उज्यालो हुन्छ । जीवन र जगतलाई जस्ताको तस्तै बुझ्नका लागि निरन्तर पढ्नु, अध्ययन गर्नु, खोज, अनुसन्धान गर्नु अत्यन्त जरुरी छ ।
साहित्य पठनका आँखाले पठन संस्कृतिलाई नियाल्ने हो भने अझै ओझिलो र गर्भिलो विषय भेट्टाउन सकिन्छ । नेपाली साहित्य पठनबाट व्यक्तिले वा पाठकले पैसा कमाउने सीप मात्र होइन, जीवन र समाज बुझ्ने पूरै दर्शन पाउँछ । यसले व्यक्तिलाई ज्ञानी (सूचित), बुद्धिमान (विवेकशील), सीपयुक्त (दक्ष) र नैतिक बनाउँदै समाजलाई अझ संवेदनशील, जवाफदेही, सहिष्णु र लोकतान्त्रिक बनाउन मद्दत गर्छ । यही कारणले नेपाली साहित्य पठनलाई केवल विद्यालयको पाठ्यक्रम मात्र नभई आजीवन सिकाइको एक अनिवार्य अभ्यास मान्नुपर्छ ।
कुश्मा, पर्वत