अशेषलाई सदैव मैले एक उत्साही मानिसको रूपमा चिनेँ । उसले सधैँ उत्साहका कुरा गथ्र्यो ।
“मानिस भएपनि केही न केही सत्कर्म गर्नुपर्छ ।” उसको सधैँको वाणी हुन्थ्यो ।
कतिपय अवस्थामा म अत्यन्त निराशा अनुभव गर्दथें । जीवनमा आफूले सोचे अनुसार नभए मलाई अत्यन्त पीडा हुन्थ्यो ।
अशेष मेरो सबैभन्दा मिल्ने मित्र । म आफ्ना पीडा उसका सामु प्रस्तुत गर्दथें ।
मलाई लाग्थ्यो, “मेरा पीडाको समाधान अवश्य खोज्नेछ ।”
उसले मेरो विश्वासमाथि कहिल्यै घात गरेन । उसले मलाई सही सल्लाह दियो । आवश्यक परेका बेलामा सहयोग ग¥यो, सहयोग गर्न नसकेका बेला मलाई उत्साह दियो ।
मलाई जीवनमा उत्साह दिने साथी अशेष आज अत्यन्त निराशाको भूमरीमा रुमल्लिएको छ । ऊ चुपचाप मौन बसेको थियो ।
“के भयो मित्र ? किन यति निराश ?” मैले उसको अनुहारको भाव पढ्दै भनें ।
“जीवनमा आफूले चाहेको मात्र नहुने रहेछ । घरपरिवार, समाज, नजिकका मानिस आफू अनुकुल भए जीवन सहज हुने रहेछ नभए.....।” उसले पीडा व्यक्त ग¥यो ।
“हैन, के भयो तिमीलाई । मैले त तिमीलाई सधैँ फरक भावमा पाएँ । आज के भयो यस्तो ?” ममा अनेक जिज्ञासा उत्पन्न भएका थिए । मैले चिन्ता गरेर मात्र के गर्नु ? अशेषको वाणी नफूटदा सम्म केही थाहा पाइने अवस्था थिएन ।
“म बेरोजगार छु भनेर भन्दा पनि घरपरिबारले मानेनन् । घरपरिवारको इच्छा पुरा गर्न विवाह गरेँ ।” ऊ बोल्दै गयो ।
“के भयो र ? एक दिन त विवाह गर्नैपथ्र्यो ।” मैले सहज भावमा भनें ।
“विवाह नहुँदासम्म त राम्रै थियो । विवाह भएपछि एकातिर श्रीमती कराउने, अर्कोतिर आमाबाबु कराउने । अनि मैले एक निर्णय लिनै प¥यो ।” अशेष दुःखी देखिन्थ्यो ।
“कस्तो निर्णय मित्र ?” म बोलें ।
“म देशमा बसेर केही गर्नुपर्छ भन्ने मान्छे । परिस्थिति यस्तो आयो कि घर बस्ने अवस्था नै रहेन अनि मैले आफ्नो टाउको लुकाउन देश छोड्ने निर्णय गरें ।” उसले घर छोडनुको कारण बतायो ।
“अब त ठिकै छ । घरपरिवारका मानिसलाई पैसा पठाएकै छौ । आफ्नो काम पनि गरिरहेका छौ । स्थिति सहजै छ जस्तो लाग्छ मलाई ।” म बोलें ।
“तिम्रो कोणबाट हेर्दा कुरा ठिकै जस्तो लाग्छ । तर अबको परिस्थिति चाहे अनुकुल छैन ।” उसले परिवारको अवस्था बतायो ।
“के भयो र त्यस्तो ?” ऊ मेरो प्रिय साथी भएकोले मैले उसको अवस्था थाहा पाउने अधिकार राख्दथें ।
“घरमा श्रीमतीको नाममा पठाउथें । बाबुआमा बैंक जान नसक्ने अवस्थामा भएकोले सहज होला भनेर यस्तो गरेकों थिएँ । अहिल्लो महिना आमाको फोनले मलाई चिन्तामा पा¥यो ।”
“कस्तो चिन्ता ।”
“आमाले मलाई रुँदै भन्नुभयो–बुहारीले सारा रकम माइतमा लग्छे । आमाबुबा बिरामी भए पनि कुनै वास्ता गर्दैन भनेर ।” अब यथार्थ उदांगो भइसकेको थियो ।
“त्यसो भए अवस्था जटिल छ ।” मलाई पनि स्थिति सहज छैन भन्ने लागिसकेको छ ।
म अशेषभन्दा दुई वर्षपछि कतार आएको थिएँ । अरु राम्रा आम्दानी हुने देश जान नसकेपनि कतारमा गएर दुई चार पैसा कमाउन सकिन्छ भन्ने सोच आएको थियो ।
अशेषले “यहाँ कामको दुःख भएपनि आम्दानी ठिकठिकै छ ।” भनेको थियो ।
खासमा भन्ने हो भने म उसैको विश्वासमा यहाँ आएको थिएँ । यदि ऊ यहाँ नआएको भए म पनि यस ठाउँमा हुँदैनथे होला ।
पाँच दिन पछिको कुरा हो, एकाबिहानै अशेष म बस्ने ठाउँमा पुगेर भन्यो, “मैले घर जानुपर्ने भयो । अब यता आउँछु, आउँदैन, केही थाहा भएन ।”
ऊ हिँडेपछि म पनि आफ्नो काममा लागेँ ।
अशेष घर गएको केही दिनमा मैले उसलाई सम्पर्क गर्ने प्रयास गरें । ऊ सामाजिक सञ्जालमा देखिएको थिएन । उसलाई फोन गर्ने प्रयास गरेँ तर मेरो प्रयास सफल भएन ।
म आशंकाले ग्रस्त भएँ, “के भएको होला ? पहिला त यसरी सम्पर्कबाट बाहिर हुने गरेको थिएन ?”
म चिन्ताग्रस्त भए पनि के गर्न सक्थें र ? म सँग कुनै विकल्प थिएन ।
सामाजिक सञ्जालमा हेर्दा उसको उपस्थिति नै थिएन ।
अचानक मैले सामाजिक सञ्जालमा उसको फोटो देखें । फोटोसँगै लेखिएको थियो, “श्रीमती र श्रीमतीका माइतीलाई गालीबेइज्जती गर्ने युवक पक्राउ ।”
“ओहो ! के भएर छ यस्तो ।” म स्तब्ध भएँ ।
म निरन्तर फोन सम्पर्क गरिरहेको थिएँ, मेरो फोन लागिरहेको थिएन ।
केही दिनमा अशेषको फोन आयो ।
उसले भन्यो “म आजै जेलबाट छुटेर फोन गरेको ।”
“के भयो र त्यस्तो ? जसका कारण जेल जानुप¥यो ।” मैले कुरा बुझ्न चाहेँ ।
“मैले श्रीमतीलाई पठाएको ४० लाख रुपियाँको कुनै हिसाबकिताब थिएन । घरमा पनि कसैलाई एक पैसा दिएको थिएन । मैले सोधपुछ गर्दा माइतीलाई दिएको भन्ने जवाफ दियो । मैले ससुराली पक्षलाई त्यो रकम मागेँ । उनीहरूले मलाई बेइज्जत गरे अनि मलाई गाली दिए ।” ऊ आफनो कथा भन्दै भयो ।
“अनि त्यसपछि ।”
“मैले सामाजिक सञ्जालमा उनीहरूको पोल खुल्ने गरी लेखें । उत्तेजनामा भएकोले केही गाली पनि लेखेको थिएं । उनीहरूले मेरा विरुद्ध पुलिसमा जाहेरी दिएछन् । प्रहरीले मलाई थुन्यो । अहिले धरौटीमा आएर फोन गरेको.....।” उसले घटना विस्तार गर्दै भन्यो ।
“अब के गर्ने भन्ने सोचेका छौ ?” मैले उसको अगामी कदम बारेमा जिज्ञासा राखें ।
“अब कानुनी बाटो नै हो । म मैले खुनपसिना गरेर कमाएको रकम त्यसै बालुवामा जान दिन्न । एउटा मुद्दा डिभोर्सको र अर्को धोकाधडीको हाल्नुपर्ने छ । उनीहरूले ममाथि घात गरिसकेपछि म त्यसै छोड्ने वाला छैन ।” साथी आक्रोशमा आइसकेको थियो ।
“जे जस्तो अवस्था भएपनि ख्याल पु¥याएर काम गर्नु । जोशमा होश पुगाउँदा कहिलेकाँही आफैमाथि नराम्रो हुन्छ ।” मैले उसलाई सम्झाउँदै भनें ।
कहिलेकाँही मलाई लाग्छ, अब मानिसमा मानवीय संवेदना हराइसक्यो । आफ्नो लाभका लागि मानिस अरुको घाँटी काटन पनि तयार हुन्छ । जसलाई विश्वास ग¥यो, उसैले घात गर्छ । घातप्रतिघातको चक्रमा पिल्सिँदा पिल्सिँदा सही मानिस किनारमा पुग्छ अनि चारैतिर खराबहरूको बोलबाला हुन जान्छ । जहाँ गए पनि सुख छैन ।
मलाई मेरो घरको याद आयो । घरमा फोन गरेको धेरै दिन भएको छ ।
आमाको सधैँ जोड रहन्थ्यो, घर आउनका लागि । यस पटक पनि आमाले भन्नुभयो, “तिम्रो बुवा र मेरो स्वास्थ्य राम्रो छैन । कतिबेला कुन रोग लाग्छ, कतिबेला कुन ? घरमा तिमी भए सजिलो हुन्थ्यो हामीलाई ।”
कताकता मलाई पनि यस कुराको आभास भएको हो । बूढा आमाबाबु छोडेर म कता परचक्रीको सेवामा आफ्नो जीवन फालिरहेको छु ? मनमा ग्लानी भाव उत्पन्न भइरहन्छ ।
श्रीमतीलाई फोन गरें, “म घर आउँ कि ?”
”अहिले घर आएर के गर्छौ ? केटाकेटी साना छन् । यहाँ कुनै काम पाइँदैन । केही वर्ष त्यहीँ बसेर कमायौ भने पछि छोराछोरीको भविष्य त बन्ला ।” श्रीमतीलाई म नेपाल आउने कुरा मन परेनछ के हो ?
म रनभुल्लमा पर्छु । एकातिर बाबुआमा रोगी छ, मेरो आफ्नै स्वास्थ्य पनि सही रहँदैन ? कुनै ख्यालखबर छैन । बस छोराछोरीको भविष्यको नाममा जिउँदै मर्न बाध्य बनाइरहेकी छ । म मानसिक रूपमा बिमार हुन लागेको छु ।
घर फर्किँदा आइपर्ने समस्यालाई बुझेर म चुपचाप काममा लागिरहन्छु । मनमा शािन्त छैन भने मानिसले के गर्न सक्छ ? मेरो काममा मन लागेको छैन ।
एक दिन हाम्रो काम हेर्ने मानिसले भन्यो, “के हो नरेश ? तिमी काममा मन लगाइरहेका छैनौ । कुनै समस्या छ कि ?”
एक छिन म मौन बस्छु । अनि मलाई लाग्छ, आफ्नो सबै कुरा बताउनु त भएन । त्यसैले भन्छु, “ठिकै छ, अलिअलि सञ्चो नभएर हो । म मेरो जिम्माको काम गर्छु ।”
अरुलाई जे भनेपनि मनमा उठेको आँधीले मलाई चुपचाप बस्न दिएका.ेछैन । म क्रमशः बिमार अनुभव गरिरहेको छु ।
यो कुराकानी भएको दोस्रो दिनको कुरा हो, काम गर्दैगर्दै मलाई चक्कर आउँछ । म आफूलाई सम्हाल्न सक्दैन । यसपछिको कुरा मलाई याद भएन ।
एकाएक मेरो आँखा खुल्छ । साँझको समय छ । म आफूलाई अस्पतालको बेडमा पाउँछु । मेरो वरिपरि मसँग काम गर्ने साथीहरू छन् ।
“म यहाँ कसरी पुगें ?” मैले त्यहाँ भएको साथी मिलनलाई सोधें ।
“काम गर्दागर्दै बेहोश भएर ढलेपछि यहाँ ल्याएका हौं ।” मिलनले यथार्थ अवगत गरायो ।
एक छिनमा डाक्टरको आगमन भयो ।
“कस्तो छ तपाईँलाई ।” डाक्टरले सोधे ।
“अहिले ठिकै छ । अलिअलि कमजोरी छ ।” म बोलें ।
“कमजोरी छिटै ठिक हुन्छ । मैले औषधी लेखेको छु । नियमित सेवन गर्नुहोला । भोलि बिहान मात्र तपाईँको डिस्चार्ज हुन्छ ।” यति भनेर डाक्टर अर्को बिरामीतिर मोडिए ।
अस्पताल डिस्चार्ज भएको दुई दिनपछि काममा फर्किएं ।
“मैले केही दिन अघि पनि तपाईँलाई असमान्य देखेको थिएँ । अहिले पनि अवस्था सामान्य छैन । के कुनै तनाव छ तपाईँलाई ।”
“सामान्य घरपरिवारको तनाव त भइहाल्छ । त्यति धेरै तनाव छैन ।” मैले स्थिति सामान्य बनाउन खोजें ।
“एकै ठाउँमा बस्दा मानिस नर्भस हुन्छ । के घर पुगेर आउने हो ? घर जाने हो भने म यहाँको मेनेजरलाई सिफारिस गर्न सक्छ ।” उसले मप्रति सहानुभूति देखायो ।
मैले पनि सोचें, यहाँ भागदौडले भरिएको जीवन छ । केही दिन घर पुगेर आएँ भने घरमा भेटघाट पनि हुन्छ । अलि स्वास्थ्य पनि राम्रो होला ।
“हुन्छ, सिफारिस गर्नुहोस् ।” मैले हात जोड्दै भनें ।
यसरी आकस्मिक नै भनौं, मैले कामबाट विदा लिएर घर जान पाउने भएँ ।
विदा स्वीकृत भयो । म घर जानका लागि विमानस्थलतर्फ लागेँ ।
एकाएक घर आएको देखेर आमाबुबा खुसी हुनुभयो ।
“हामी त धेरै कमजोर भइसकेका छौं छोरा । अब तिमी यतै बस ।” बुवाले भन्नुभयो ।
“ठिकै छ ।” यति मात्र भनें ।
केही छिनमा छोराछोरी देखिए । उनीहरूको अवस्था सामान्य थिएन । झुत्रामैला कपडा लगाएका थिए । उनीहरू अन्यन्त फोहरी देखिन्थे ।
“म त समयसमयमा पैसा पठाइरहन्थें । तिमीहरू किन यस्तो हालमा ?” मैले सोध्दा उनीहरू रुनकराउन थाले ।
“आमालाई हाम्रो कुनै वास्ता छैन । उहाँ दिनभर घरबाहिर । हजुरबुवा–हजुरआमाले केही भन्दा पनि झगडा गर्नुहुन्छ ।” जेठो छोरा सुलभले भन्यो ।
“ओहो ! स्थिति यहाँसम्म पुगिसेकेको रहेछ । मलाई थाहा नै भएन ।” मैले भनें ।
म आमाबुबा भएको कोठामा गएर सोधें, “हजुरहरूले अहिलेसम्म मलाई घरको अवस्था किन नबताएको ?”
“बाबु ! मैले बारम्बार फोनमा तिमीलाई घर आउन भनेको थिएँ तर तिमीले कुरा बुझेनौ । अब घर आइसकेका छौ । तिमीले आफ्नो घर आफै सम्हाल ।” आमा बोलिन् ।
साँझ ७ बजे मात्र श्रीमतीको आगमन भयो । अवस्था सामान्य थिएन । खुट्टा लर्बराइरहेका थिए ।
मलाई अचानक त्यहाँ देख्दा होशहवास नै उड्यो ।
“कुनै जानकारी नदिई किन घर आएको ?” उनको कर्कश आवाज सुनेँ ।
“तिम्रो हालखबर बुझ्न आएको नी ।” मैले शान्त स्वरमा भनें ।
उनी अनेक गाली गर्न लागिन् । म चुपचाप सुनिरहें ।
अन्तिममा मैले भनें, “अब म यतै बस्ने भएँ घरपरिवारसँगै । यो घरमा बस्ने हो भने घरपरिवारमा मिलेर बस्नुप¥यो नत्र .....।”
“नत्र के.....?” आवाज चर्को थियो ।
“आफ्नो जीवनको फैसला आफै गर्ने ।” मैले शान्त स्वरमा भनें ।
बिहानपख मैले देखें । उनको शरीर कमजोर भइसकेको थियो । शरीरमा हड्डी मात्र थियो । एक रुग्ण रोगी महिला जस्तै भएर श्रीमती मेरा सामुन्ने उभिएकी थिई ।
“यो सब कसरी भयो ?” मैले सम्झाउने हिसाबले भनें ।
“साथीभाइको संगतमा लागेर म होटल, पार्टी, मदिरा आदिको चक्करमा लागें । सबै पैसा त्यसैमा डुब्यो । घरपरिवार, सासुससुरा, छोराछोरी सब बोझ लाग्न थाले ।” एक पीडायुक्त आवाज सुनियो ।
“अनि मलाई घर आउन किन नदिएको त ?” मैले प्रश्न गरें ।
“मेरो भोगविलासपूर्ण जीवनका लागि खर्च चाहिन्थ्यो । तपाईँ घर आउँदा मेरो खर्च दिने बाटो बन्द हुन्छ भनेर यसो गरेकी हुँ ।” श्रीमतीको आवाज अब नरम भइसकेको थियो ।
“अहिलेसम्म जे भयो, भयो । अब सुध्रिनुपर्छ । घरपरिवार सबलाई सम्हाल्नुपर्छ ।” मैले सम्झाउने हिसाबले भनें ।
अर्को दिन म श्रीमतीलाई अस्पताल लगेर गएँ । उपचार गराएँ ।
“आमाबाबुको हेरचाह गर्नु छ । आफ्नो स्वास्थ्य सुधार्नु छ । छोराछोरीलाई सम्हाल्नु बाँकी छ ।” ममा थप जिम्मेवारीबोध भएको छ ।
मैले काम गर्ने ठाउँमा खबर पठाएँ, “घरको अवस्था सामान्य नभएकोले म काममा आउन सक्ने अवस्था रहेन् ।”