क्यानडामा नेपाली मूलका अंग्रेजी लेखकहरूको सूचीमा सरस्वती लामिछानेको नाम पनि थपिएको छ। सन् २०२६ मा Mawenzi House को प्रकाशनमा उनको पहिलो कविता सङ्ग्रह Karaikhola Flows प्रकाशित भएको हो। यसअघि सहलेखिकाका रूपमा Six Strings: A Joint Anthology of Poems (2011) तथा सहसम्पादकका रूपमा Kavya: Representative Nepali Poetry in English (2023) प्रकाशित भइसकेका छन्। उनको कविता Wandering: An Anthology of Anglophone Nepali Diaspora Poetry (2026) मा पनि समावेश छ। उनका रचना विभिन्न साहित्यिक पत्रपत्रिका तथा सङ्ग्रहमा प्रकाशित छन्। कविता, अनुवाद र सम्पादन उनका साहित्यिक व्यक्तित्वका प्रमुख क्षेत्र हुन्। Alberta Foundation for the Arts तथा Writers’ Guild of Alberta बाट साहित्यिक सहयोग पाएकी लामिछानेले Edmonton Poetry Festival, AWP Conference लगायतका साहित्यिक कार्यक्रममा सहभागिता जनाएकी छन्। पोखरा विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर तथा University of Toronto बाट Creative Writing अध्ययन गरेकी उनी St. Albert Mayor’s Arts Award बाट सम्मानित भइसकेकी छन्। नेपालबाट टोरन्टो हुँदै हाल अल्बर्टाको St. Albert लाई आफ्नो घर मान्दै आएकी छन्।
Karaikhola Flows आप्रवासी नेपाली डायस्पोराको प्रतिध्वनि मात्र नभई प्रकृति, संस्कृति, सम्पदा, परिवार, स्मृति र पहिचानसँग गहिरोसँग जोडिएको काव्यकृति हो। ७६ पृष्ठमा समेटिएका ६६ वटा छोटा–लामा कवितामा कवयित्रीले आफू जन्मे–हुर्केको ग्रामीण नेपाल, बाल्यकाल, आमाबुवा तथा हजुरबा–हजुरआमाको वात्सल्य, किशोरी जीवन, नारी अनुभव र क्यानडामा आमाका रूपमा नयाँ जीवन निर्माण गर्दासम्मको यात्रालाई प्रस्तुत गरेकी छन्। यस अर्थमा यो सङ्ग्रह व्यक्तिगत जीवनकथाबाट सुरु भएर नेपाली महिलाको अनुभव, प्रवासी पहिचान र सार्वभौमिक मानवीय अनुभूतिसम्म विस्तार भएको देखिन्छ।
यस सङ्ग्रहको प्रमुख विशेषता प्रकृतिसँग मानिसको गहिरो सम्बन्ध हो। कराईखोलामा नदी, पानी, वन, रूख, माटो, पहाड, वर्षा, फूल, फलफूल र हावाजस्ता प्राकृतिक तत्वहरू केवल दृश्यका रूपमा आएका छैनन्; ती स्मृति, समय, जीवन, परिवर्तन, उपचार, प्रतिरोध र पहिचानका प्रतीक बनेका छन्। कराईखोलाको शान्त र रौद्र दुवै स्वरूपमार्फत कवयित्रीले आफ्नै बाल्यकाल र जीवनका उतारचढावलाई प्रस्तुत गरेकी छन्। संग्रहमा तीनवटा कविताहरु (Jacarda Forest, to Worship in Wonder, Withdrawal, Mudra) दस पंक्रीका छन् भने Jacaranda Forest कवितामा तीसवटा शब्दमात्र रहेको छ । यो छोटो ज्याकारान्डाका फूल र हावालाई मानवीकरण गरी प्रकृतिको परिवर्तनशील सौन्दर्यलाई अभिव्यक्त गरिएको छ। रूखलाई दाजुभाइ, आमा र आफ्नै अस्तित्वसँग जोड्दै प्रकृतिलाई परिवारकै सदस्यका रूपमा हेर्ने दृष्टि उनका कवितामा देखिन्छ।
सङ्ग्रहमा बाल्यकालीन स्मृति र नोस्टाल्जिया पनि बलियो रूपमा आएको छ। टिनको छानोमा परेको वर्षाको आवाज, मकैका पातको मधुर ध्वनि, भान्साबाट गुञ्जिएको नवजात शिशुको रोदनदेखि गाउँको माटो, खोला र हिमाली परिवेशसम्मका स्मृतिले कविलाई बारम्बार जन्मभूमितर्फ फर्काउँछन्। Homecoming मा आफ्ना छोरीहरूलाई वनसँग परिचित गराउँदै उनीहरूलाई सात हजार माइल र तीस वर्ष टाढाको बाल्यकालीन घरसँग जोड्ने प्रयास गरिएको छ। यसरी जन्मभूमिको स्मृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयासले प्रवासी जीवनमा सांस्कृतिक निरन्तरताको महत्त्व देखाउँछ।
यस सङ्ग्रहको अर्को महत्त्वपूर्ण पक्ष नारी चेतना र सामाजिक विसङ्गतिविरुद्धको स्वर हो। बालविवाह, चेलीबेटी बेचबिखन, महिलामाथिको विभेद, शिक्षाबाट वञ्चित गरिएका छोरीचेली र पुरुषप्रधान सामाजिक संरचनाविरुद्ध कवयित्रीको आवाज सशक्त छ। A Child Elopes जस्ता कविताले बालविवाह र अशिक्षाको विसङ्गत अवस्थालाई प्रस्तुत गर्छन्। देवीहरूको भूमि भनिने नेपाली समाजमा नै बालिका तथा महिलाहरू असुरक्षित हुनुका विरोधाभासलाई उनले प्रश्न गरेकी छन्। शिक्षालाई सामाजिक रूपान्तरणको आधार मान्दै “एउटी छोरी शिक्षित हुनु भनेको घर र समाज शिक्षित हुनु हो” भन्ने चेतना उनका कवितामा मुखरित भएको छ। हजुरआमाको प्रेरणाबाट शिक्षा र प्रौढ शिक्षाप्रतिको चाहनाले पुस्तान्तरणीय सामाजिक परिवर्तनको आकाङ्क्षा देखाउँछ।
कविताहरूमा हिंसा, भय र माओवादी द्वन्द्वको सामाजिक स्मृति पनि अभिव्यक्त भएको छ। जनयुद्धका कारण गाउँमा उत्पन्न डर, विद्यालय बन्द हुनु, विस्थापन, शिक्षकको हत्या, बालमस्तिष्कमा परेको मानसिक प्रभाव र गाउँका खुला ढोकामा समेत डरको आग्लो लाग्न थालेको अवस्थालाई कवयित्रीले काव्यात्मक रूपमा उतारेकी छन्। यसरी व्यक्तिगत स्मृतिभित्र सामाजिक इतिहासलाई समेट्नु सङ्ग्रहको उल्लेखनीय विशेषता हो। त्यस्तै, आप्रवासी जीवन र पहिचानको खोजी सङ्ग्रहको केन्द्रमा छ। नेपालबाट क्यानडा पुगेपछि नयाँ भूमिमा घर बनाउनु, बिरुवा रोप्नु र नयाँ समुदायसँग सम्बन्ध गाँस्नु कवयित्रीका लागि नयाँ माटोमा जीवन रोप्नु जस्तै हो। आफ्नी हजुरआमाले कास्कीबाट सुर्खेत पुगेर नयाँ घर, खेत, परिवार र समुदाय निर्माण गरेको अनुभवसँग आफ्नो क्यानडाको आप्रवासनलाई तुलना गर्दै उनले पुस्तौँदेखि दोहोरिँदै आएको बसाइँसराइको कथालाई नयाँ अर्थ दिएकी छन्। यसरी घर एउटा भौतिक स्थान मात्र नभएर स्मृति, सम्बन्ध, संस्कृति र अपनत्वको अनुभूति बनेको छ।
कवयित्रीले नेपाली संस्कृति, धर्म र परम्परालाई पनि अंग्रेजी कवितामार्फत अन्तर्राष्ट्रिय पाठकसम्म पुर्याएकी छन्। Kali, Maiti, Dashain, Mudra, Buwa आदि नेपाली शीर्षक तथा अचार, कलोदल, अमला,गुन्द्री,पिपल,घन्टी, साइला बा, मण्डला जस्ता नेपाली शब्दको प्रयोगले कवितामा नेपाली सांस्कृतिक स्वाद थपेको छ। सूर्य, अन्नपूर्ण, नागकन्या, गङ्गा, चोमोलुङ्मा, राधा, सरस्वती र कृष्णजस्ता नाम तथा धार्मिक–सांस्कृतिक सन्दर्भले नेपाललाई प्रकृति, ज्ञान, कला, संगीत र आध्यात्मिकताको भूमिका रूपमा प्रस्तुत गरेका छन्।
संग्रहमा भएको बयालिस पंक्रीको लामो कविता Buwa, I Shall Not Cry When You Die मा बुबाप्रतिको प्रेम, सम्मान, कृतज्ञता र उहाँका त्याग तथा शिक्षाको स्मरण गरिएको छ। बुबालाई जीवनका मार्गदर्शक र प्रेरणाका स्रोतका रूपमा प्रस्तुत गर्दै कवयित्रीले मृत्युमा पनि उहाँको स्मृतिलाई जीवन्त राखेकी छन्। To Maita मा माइतीको महत्त्व, छोरीचेलीको भावनात्मक सम्बन्ध र माईतीविहीन प्रवासनको पीडा पाईन्छ । Freedom Pangs, Love Me Like You Know Me र The Sudden Sannata जस्ता कवितामा स्वतन्त्रता, प्रेम, शरीर, स्मृति, चाहना र आत्मसमर्पणका सूक्ष्म अनुभूतिहरू व्यक्त भएका छन्। विशेषतः The Sudden Sannata मा फल, रूख, राल, हावा, आँधी र जरा आदिलाई मानवीय अनुभूति र सम्बन्धका प्रतीक बनाइएको छ।
सङ्ग्रहमा बिम्ब, प्रतीक, रूपक, उपमा, मानवीकरण तथा मिथकीय प्रयोग प्रभावकारी छन्। नदीले जीवन, समय, परिवर्तन र यात्राको प्रवाह; घरले स्मृति र अपनत्व; रूखले आमा, संरक्षण र जीवन; माटोले जन्मभूमि र पहिचान; पुतली र झुसिल्किराले स्वतन्त्रता र प्रवासी द्विविधालाई संकेत गर्छन्। प्रकृतिलाई मानवीकरण गर्दै रुखसँग संवाद गर्ने, हावामा आवाज सुन्ने तथा सल्लाको रूखलाई आमासँग तुलना गर्ने शैलीले प्रकृति र मानवबीचको सम्बन्धलाई जीवन्त बनाएको छ। यहाँ अलंकार केवल भाषिक सजावट नभई भाव र अर्थलाई गहिरो बनाउने माध्यम बनेको छ।
Mudra जस्तो छोटो कवितामा बाहिरी संसारबाट आन्तरिक यात्रातर्फ जाने आध्यात्मिक चेत देखिन्छ। जीवनको अनुभव, स्मृति र आत्मअन्वेषणबाट अन्ततः शान्ति र स्वतन्त्रताको केन्द्रमा पुग्ने भाव यसमा व्यक्त भएको छ। कविताका माध्यमबाट उनले आफ्नो सांस्कृतिक जरालाई अर्को भूमिमा लिएर स्वतन्त्र अस्तित्व निर्माण गर्ने आप्रवासी मनोविज्ञान प्रस्तुत गर्न सफल भएकी छन् । यसले बहुसांस्कृतिक पहिचान, स्वतन्त्रता र आफ्नो उद्गम नबिर्सने अस्तित्ववादी चेतलाई उजागर गर्छ।
कविताको भाषाशैली सरल, मिठासपूर्ण, चित्रात्मक, आत्मपरक र लयात्मक छ। कतिपय कविता गद्यात्मक छन् भने कतिपयमा गीतात्मकता र संगीतात्मकता पाइन्छ। कतिपय लेखकहरूले आफ्नो रचनाको विचार वा शैलीमा परिवर्तन भएको कुरा देखाउन ढल्केको अक्षर (Italic text) प्रयोग गरेर अरु वा बाँकी भागभन्दा फरक देखाउने गर्छन् । कवितामा पनि फरक वक्ता, कुनै सम्झना वा सपनालाई देखाउन ढल्केको अक्षर प्रयोग गरिन्छ । यस संग्रहमा पनि Italic अक्षरको प्रयोगमार्फत फरक वक्ता, स्मृति, सपना वा भावलाई छुट्याउने प्रविधि पनि देखिन्छ। Jacaranda Forest छोटा कवितादेखि Buwa, I Shall Not Cry When You Die जस्तो लामो कवितासम्म फैलिएको संरचनाले कवयित्रीको विविध अभिव्यक्तिगत क्षमता देखाउँछ। व्यक्तिगत जीवनकथा, सामाजिक इतिहास र प्रकृतिलाई एउटै काव्यिक धरातलमा ल्याउनु उनको शैलीगत विशेषता हो।
समग्रमा Karaikhola Flows प्रकृति, स्मृति, नारी चेतना, शिक्षा, सामाजिक विसङ्गति, हिंसा, प्रवासन, मातृत्व, सांस्कृतिक पहिचान र आत्मअन्वेषणको सङ्गम हो। कवयित्रीले नेपालका पहाड, नदी, वन र माटोलाई क्यानडाका नदी, रकी पहाड र नयाँ जीवनसँग जोड्दै दुई भूगोलबीच सांस्कृतिक सेतु निर्माण गरेकी छन्। उनका कवितामा प्रकृति केवल सौन्दर्यको विषय नभई स्मृति, उपचार, प्रतिरोध र पहिचानको आधार बनेको छ। शिक्षालाई सामाजिक मुक्तिको माध्यम र महिलाको स्वतन्त्रतालाई जीवनको आवश्यक पक्षका रूपमा प्रस्तुत गरिएको छ।
निष्कर्षमा, Karaikhola Flows व्यक्तिगत जीवनअनुभूति, नेपाली ग्रामीण समाज, नारी चेतना, सांस्कृतिक स्मृति र आप्रवासी जीवनको समष्टिगत काव्यात्मक अभिव्यक्ति हो। प्रकृति, बिम्ब–प्रतीक, रूपक, उपमा, मानवीकरण र मिथकीय प्रयोगसँगै सरल, लयात्मक तथा चित्रात्मक भाषाशैलीले सङ्ग्रहलाई प्रभावकारी बनाएको छ। नेपालमा जन्मिएको स्मृति र क्यानडामा निर्माण भएको नयाँ पहिचानलाई एउटै काव्यिक प्रवाहमा मिसाउँदै सरस्वती लामिछानेले नेपाली अनुभवलाई अंग्रेजी भाषामार्फत अन्तर्राष्ट्रिय पाठकसम्म पुर्याएकी छन्। त्यसैले Karaikhola Flows लाई प्रकृति, नारी चेतना, स्मृति, प्रवासन र मानवीय साहसको सशक्त काव्यात्मक अभिव्यक्ति मान्न सकिन्छ।
टोरन्टो