19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

श्रोता म

संस्मरण/स्‍मृति मधुसूदन घिमिरे October 11, 2026, 7:28 pm
मधुसूदन घिमिरे
मधुसूदन घिमिरे

अनयासै प्रफुल्ल भण्डारीजीले उपस्थितिको हाजिरी ल्याउनु भयो । नेपाली मनुवाले नाम र हस्ताक्षर गर्न पाएपछि केही सोच्दैन ,गरिहाल्छ । किन र केका लागि उपस्थितिमा हाजिरी गराइन्छ ,थाहा छैन । यसमा अभ्यस्त भइएको छु ,तत्काल गरिन्छ ।यसको प्रसङ्ग थिय‍ो तेस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा सांस्कृतिक पर्यटन महोत्सव २०८३ । यो २०८२/१२/१३ र१४ गते भएको थियो । कार्यक्रम भव्य थियो ,विशाल थियो । नेपाल र भारतका धौरेयहरुको सहभागिता थियो । हाजिरी विवरणमा पद र संस्था लेख्नुपर्ने । मभन्दा पहिले विवरण भर्नेहरुले प्रायः सबै स्वनामधन्य व्यक्तिहरु हुनुहुन्थ्यो । ममाथिकै व्यक्तिले पद,संस्था ,साहित्यकार र मोबाइल नम्बर राख्नु भएछ । मैले पनि मोबाइल नम्बर त राखेर विवरण पढे पछि संस्था र साहित्यकार जस्ता पदवी लेख्नुपर्ने ।म थोरबहुत लज्जित भएँ । म साहित्यकार थिइनँ । लेखक नभएकामा मनभित्रैबाट दु: खी भएँ । अब नभएको विवरण लेख्ने मन लागेन । चारैतिर सर्जकमात्र म एक्लो भए जस्तो भयो ।

म अभ्यागत थिइनँ ।कसैले बोलाइको अतिथि ,अभ्यागत पनि होइन थिएँ । खासमा म अतिथि थिएँ भन्न सकिनँ । अतिथि त नबोलाई अनायास आउने व्यक्ति हो ।म यस महोत्सवको प्रचास प्रसार सुनेर आएको त्यसैले अतिथि भन्न पाउदिनँ । साथै नबोलाइएकाले अभ्यागत पनि बन्ने सौभाग्य पाइनँ । उपनिषद्ले अतिथि देवो भव पनि भनेकै छ । तर विनाजानकारी जाने प्रचलन अचेल छैन । सूचनाप्रविधिको तीव्र विकासले जानकारी नदिई जाने चलनलाई अवरोध ल्याइदिएको छ । अब के पदवी लेख्ने ,फसाद पर्यो अनि लेखिदिएँ श्रोता । श्रोताको पनि महत्त्व होला भनेर ।सबै साहित्यकार मात्र भएपछि सुन्ने कसले? यद्यपि म असल श्रोता होइनँ । नहुँदा नहुँदै पनि लेखिदिएँ श्रोता । ठुलै अपराध गरेँ भने सजायको भागीदार बनौँला । यसका लागि कार्की,रायमाझी,मल्लिक जस्ता आयोग गठन गरिरहनु पर्दैन । तैँले अपराध गरिस् भनेर तालुक निकायले भनेमा फौजदारी,देवानी जस्तोसुकै कानुन अनुरुपको दण्ड सजाय भोग्न तयार छु । यो स्वीकारोक्ति हो । हामी नेपाली यस्ता कार्यक्रम धेरै गर्छौँ ।साहित्य ,संस्कृतिमाथिको चिन्तनले यसको विकास तीव्ररुपमा हुन्छ नै । सायद् कला,साहित्य,संस्कृतिको विकासले पनि राष्ट्रको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिन्छ नै होला । हामी ग्रीस,रोम र पूर्वीय चिन्तनलाई आजसम्म सम्झिरहेका छौँ । यसको आधार ती भूमिमा प्रशस्त चिन्तन भएका थिए र त सम्झियौँ कि । यसैले तिनलाई जीवन्त बनाएको होला ।

हामी देखावटी बन्दै त छैनौँ ? दर्शकदीर्घामा बस्न अचेल रुचि छैन हामीमा । सानातिनो संस्थाको पदाधिकारी कोही नकोही भइहाल्छ । कार्यक्रमको आकर्षण र मुख्य उपादेयता भुलेर हामी लम्बेतान आसन ग्रहण गराउँछौँ । म कयौँ यस्ता कार्यक्रमको साक्षी भएको छु । जहाँ दर्शकभन्दा अतिथि धेरै । श्रोताभन्दा वक्ता धेरै । आसन ग्रहण त गरियो ,प्राय: सबैलाई भाषणको पनि रहर जाग्दो रहेछ । नजानेकै विषय भए पनि बोल्न मन लागिहाल्ने । यो हामी नेपालीको मात्र मन‍ोविज्ञान हो या मानव समाजकै । मैले देखेको परिवेश नेपालको र केही भारत,बङ्गलादेशको सीमितमात्रामा । नेपालको पनि सबै भूगोल परिवेशको कदापि होइन । तर जति देखिन्छ ती कार्यक्रममा सबैभन्दा धेर हुने आसन ग्रहण र भाषण हो । यो हामी नेपालीको मौलिक खोज हो भन्दा अतिशयोक्ति नहोला आसन ग्रहण र भाषण ।

सायद् यजुर्वेदमा हुनुपर्छ नम: सभाभ्य सभापतिभ्यश्च भनेको भेटिन्छ । यसको तात्पर्य सायद् पहिले सभालाई नमस्कार त्यसपछि सभापतिलाई भन्ने होला । सभामा उपस्थित बहुसङ्ख्यक श्रोताविनाको सभापतिको कस्तो परिकल्पना गर्ने? यसले पौरस्त्य चिन्तन श्रोता अथवा दर्शक केन्द्रित थियो भन्ने बुझाउँछ । त्यसैको सङ्केत होला । तर हामीले हाम्रा अतीतका असल संस्कार र संस्कृति विस्मृतिमा धकेलिरहेका छौँ । हाम्रो गन्तव्य कतातिरको हो स्वयमलाई स्पष्टसँग थाहा नभएको महसुस हुन्छ । गन्तव्यविनाको यात्राले पुर्याउँछ कहाँ? यसबारेमा चिन्तित हुने को ?

मलाई व्यक्तिगत रुपमा दर्शक दीर्घामा बस्न बडो आनन्द आउँछ । प्रख्यातिको लोभ नभएको मानिस पक्कै होइनँ म । यति हुँदाहुँदै पनि दर्शक दीर्घामा बस्दा केही स्वतन्त्रताको अनुभव हुन्छ ।मन नलागे उठेर हिँड्न पाइने ।मोबाइलहरु चलाउन पाइने, नजिकैको साथीभाइसँग सानै स्वरमा भए पनि गफिन मिल्ने । यस्ताले मलाई लोभ्याउँछ । म त्यसतर्फ अलिक आकर्षित हुन्छु । कार्यक्रममा जानुपर्ने बाध्यता छन् ।हामी नाममात्रका स्वतन्त्र हौँ । कयौँ कारण हुन्छन् कार्यक्रममा उपस्थित हुनुका । भएपछि सुने जस्तो गर्नुपर्ने ,नबुझे पनि बुझे जस्तो गरिरहनुपर्ने । आयोजकलाई कार्यक्रम भव्य थियो भनेर प्रशंसा गरिदिनै पर्ने । जे जस्तो भए पनि,मनै नपरेको भए पनि वचनमै दरिद्रता किन भन्ने पनि हुन्छ? वचने का दरिद्रता पनि भनेकै छ । हाम्रो समाज प्रशंसाको भोको छ । प्रशंसा पाउँदा नाक ठुलै हुन्छ । यसको अपवाद म पनि होइन ।तर मलाई मन चाहिँ छ । स्वभाव त्यस्तो बनोस् ,जसले खुलेर आलोचना गर्छ,ती ग्रहण गर्ने सामर्थ्य आओस् भन्ने तर सकिँदैन रहेछ । नदेखाउन खोजे पनि मुखाकृतिले नरुचाएको झझल्को दिइहाल्दो रहेछ । भित्रबाट दु: खी महसुस गराइहाल्छ ।मन त हो,यसलाई नियन्त्रण गर्न कहाँ सकिँदो रहेछ । खासमा समीक्षाभन्दा पनि स्वस्थ आलोचना आवश्यक हुन्छ । स्वस्थ आलोचनाले सुधार गर्न सहयोग पुग्छ तर भनेर पनि गर्न नसकिने । सबैलाई चाहिने प्रशंसा । हाम्रामा हुने चर्को आलोचना र अतिशय प्रशंसामात्र हो । स्वस्थ आलोचनाको अभाव छ । समालोचनाचेत हराउँदै छ ।

म आसन ग्रहण कति पराधीन भइँदो रहेछ भन्ने एउटा सानो अनुभव साझा गर्ने अनुमति माग्छु । कुनै एउटा कार्यक्रममा प्रदेशका मन्त्रीको पछाडि आसन ग्रहण गर्ने अवसर पाइयो ।मन्त्रीलाई हाम्रो समाजमा साह्रै उच्च पद मानिन्छ ।त्यही पङ्क्तिमा पङ्क्तिबद्धताले महिमामण्डित र प्रख्यात भएको महसुस हुन्छ क्यारे । कार्यक्रम वक्तृत्वसम्बन्धी थियो ।करिब दुईतीन घन्टा बस्नुपर्ने ? म परे मनको अत्यधिक चञ्चल र बोलिरहनुपर्ने ।भोला अथवा रजनीगन्ध गोजीमा भएको पैसा अनुरूप खाइरहनुपर्ने । अलिक साँघुरो ठाउँ,दुवैतिर अरु ,ठिक मन्त्री पछाडि ।मलाई त्यो दिन साह्रै सकस भयो । यसो बोल्न खोज्यो साथीहरुसँग चुपचुप भनिहाल्ने? निस्किन पनि मुस्किल? मैले अपराध गरेर जेल जानु अहिलेसम्म परेको छैन भौतिक रुपमा । समय हो भोलि के हुन्छ भन्न सक्दिनँ । तर मलाई सम्मानले राखेको भएँ पनि त्यो तीन घन्टाको बसाइ जेल झैँ लाग्यो ।मनमा जेलको बसाइ यस्तै हुँदो हो भनेर सम्झिएँ। जहाँ सीमितमात्र स्वतन्त्रता हुने । मैले अगि भने अपराधका कारण जेल जानुपरेको छैन भनेर तर अपराध गरेकै छैन भन्ने होइन । जीवनमा कयौँपल्ट जान अनजानमा अपराध गरेको होला ।कयौँको चित्त दु: खाएँ होला । मैले मेरो अधिकार हो भन्दै गर्दा कयौँको अधिकारमाथि धाबा पनि बोलेँ होला तर अहिलेसम्म सरकारले जेल लगिहालेको छैन । लगेछ भने पनि स्वीकार गर्नुको विकल्प छैन । मलाई यस्तो चिन्तन आउन थालेको छ । यस संसारमा मानिसलाई सर्वोत्कृष्ट प्राणी मानिन्छ ।यसमा मेरो विचार फरक छ। मान्छे जस्तो निकृष्ट अरू प्राणी सायदै अरू होलान् । यो तँछाडमछाड,न्याय,अन्याय,प्रकृति पर्यावरणको दोहन,अनेक शस्त्रास्त्रहरुको होडबाजी आदिले हामीलाई कसरी सर्वोत्कृष्ट बनायो ।
मेरो चिन्तनसँग मेल खाने विचार कवि भूपिनको पनि भेटेँ । उनी कवि हुन् । युवामाझ प्रख्यात कवि मैले मेरो विचारसँग मिल्यो भन्नुभन्दा उनको विचारसँग म सहमत भएँ भन्नु बढी सान्दर्भिक होला । कवितासम्बन्धी छलफलमा भूपिनले यस्ता विचार राखेका थिए । उनले पर्यावरण साहित्य लेखनका बारेमा गहकिला तर्क प्रस्तुत गरेका थिए अन्य दुई जना वक्ता थिए । तर म स्वतन्त्र श्रोता भएकाले अन्य दुई जनाको विचारले मलाई खिचेन ।एक जना दमक तिरको साहित्यकार र अर्का प्रवासी नेपाली साहित्यकर्मी थिए । भूपिनको मान्छे जस्तो निकृष्ट प्राणी संसारमा अर्को छैन भन्ने भनाइले मलाई तान्यो । पक्कै पनि हामी मानिस धेरै कुरामा गर्व गर्छौँ । विज्ञानप्रविधिको तीव्र विकासको श्रेय लिन्छौँ तर आजको अनिश्चित बन्दै गएको मानव स्वत्वका बारेमा कति सचेत छौँ त ।
साहित्य कला प्रतिष्ठान धरानले प्रत्येक तीन तीन वर्षमा यस्तो अन्तर्राष्ट्रिय स्तरको साहित्य संस्कृतिसम्बन्धी कार्यक्रम गर्दो रहेछ ।धरान बस्न थालेको एक दशक भए पनि पहिलोचोटि सहभागी हुने अवसर मिल्यो ।चैत १३ र १४ गते साहित्यका विभिन्न विधाका छलफल,अन्तर्क्रिया,कविता,मुक्तक वाचन भएछन् । म दुई दिन पूरा समय बसिनँ । मलाई दीपक न्यौपानेले प्रस्तुत गरेको धरानमा कर्मक्षेत्र बनाएर कलम चलाउने साहित्यकार र त्यससम्बन्धी इतिहासले ध्यान खिचेको थियो । म त्यसको पूर्ण श्रोता थिएँ ।साथै कवि भूपिनको विशेष गरी कवितासम्बन्धी विचार पनि सुन्न र मनन गर्न लायक थिए । वास्तविक कवितासाधकका विचार पनि अरूभन्दा फरक हुन्छन् । साधना र चिन्तनले नै कवि बनाउँदो हो । त्यसैलाई पूर्वीय साहित्यले प्रतिभा,व्युत्पत्ति र अभ्यासलाई जोड दिएको पाइन्छ । प्रतिभा जन्मजात विषय हो । यसलाई मलजल व्युत्पत्ति र अभ्यासले गर्ने होला । भूपिन आजका युगका प्रतिनिधि कवि हुन् । उनका कविता माध्यमिक तहका पाठ्यपुस्तकमा समेत राखिएका छन् ।शिक्षणका दौरान उनका कविता पढेको हो साथै जान्ने बनेर पढाइएको पनि हो । शिक्षण दुरुह र जटिल कर्म हो । सिकारुको मनोविज्ञान अनुरूप शिक्षण सहज होइन तर हामी आफ्ना विचार राखेर त्यस्ता कर्म गर्छौँ ।जुनसुकै तहका विद्यार्थी भए पनि आफूले जाने जति सबै भन्छौँ । ठूलो स्वरमा लामा लामा प्रवचन गर्छौँ । कक्षामा हल्ला भएन भने विद्यार्थीले बुझेको ठान्छौँ । तर यथार्थ यस्तो होइन कि ? मलाई त अचेल विद्यार्थी शिक्षकको डरले मौन बसेको अनुभव हुन्छ । धेर प्रश्न निषेधित हुन्छ,हाम्रो परिवेशमा ।विद्यार्थी केन्द्रित नभई शिक्षक केन्द्रित विधि नै उपयोगी ठानिन्छ । प्राय: विद्यालयहरु मुर्दा शान्तिका पक्षमा उभिन्छन् । कक्षाबाट अलिकति पनि आवाज नआओस् । सत्सङ्गमा झैँ एकोहोरो मात्र होस् भन्ने छ । भलै यसले सिकाइमा कस्तो भयो भन्नेतिर सोचाइ कम छ । यसले शिक्षकलाई फाइदै हुन्छ । अतिरिक्त तयारी गरिरहनु पर्दैन । बुझे नबुझेसँग चासो भएन ।कक्षाबाट हल्ला आएन भने पुग्यो? यस्तै कर्म गरेको एक दशक भयो । सबै यसमै रमाउन थालेपछि सुधार र अतिरिक्त सिकाइ किन र कसका लागि? तर विडम्बना लामा लामा प्रवचन र भाषणका बिचमा विद्यार्थीले घडी नियाँलिरहेको देखेको छु ।मान्छे नै निल्ने गरिको हाइ हाइ गरेको साक्षी भएको छु । त्यसले सुधारको सङ्केत गरेकै हो तर अबोधहरुमाथि विद्वत्ता छाट्न मजै लाग्दो रहेछ । यो मेरो अनुभव हो । अरूको होइन ।अरुका कक्षामा घडी नहेर्लान् । साच्चै उनीहरुमा शिक्षणमा आवश्यक कला र विज्ञान दुवै होला । कहिलेकाहीँ म कक्षा कम नियन्त्रण गर्थेँ । विद्यार्थीलाई मन लागेक‍ गर्न छुट दिन्थेँ तर आरोप आउँथ्यो,कक्षा नियन्त्रण गर्न नसकेको ।कयौँचोटि मौखिक स्पष्टीकरण पनि दिनु परेको छ ।मलाई मूर्धा शान्तिमा सिकाइ हुँदैन भन्नेसम्म थाहा छ तर परिवर्तन गर्न सक्दिनँ । भूपिनका कविता मैेले शिक्षण कर्ममा मात्र पढेको हो । यसका आधारमा मात्र उनको मूल्याङ्कन गर्न सकिँदैन ।तथापि उनी सामयिक नेपाली कविता विधाका प्रतिनिधि कवि पक्कै हुन् ।

धरान साच्चै साहित्य,संस्कृतिमा वैभवशाली रहेछ । यो सहर जीवन्त छ । यसले आफ्न‍ो उपस्थिति नेपालमा मात्र सीमित नराखी सीमामुक्त गरेको पाइन्छ ।धरान १३ का वडाध्यक्ष नेत्र काफ्लेले कार्यक्रम सफल बनाउन अति मिहिनेत गरेका थिए ।उनले आफ्नै नेतृत्वमा धरान १३ मा स्रष्टापार्क बनाएका छन् । जनप्रतिनिधि भए पनि साहित्यसेवामा उनको योगदान कदर गर्न लायक छ । राजनीति र साहित्य लेखनलाई सँगै लाने मानिस नेपालमा नभएका होइनन् । विश्वेश्वर प्रसाद कोइराला,लोकेन्द्रबहादुर चन्द,राजेश्वर देवकोटा लगायका नामी व्यक्तित्वहरुले दुवै क्षेत्रमा आफ्नो वैभवपूर्ण उपस्थिति दर्ज गराएकै थिए । स्रष्टामात्र नभई यसको विकास र विस्तारमा योगदान दिनेहरुलाई भुल्नु हुँदैन । लेखक हुनुमात्र पूर्ण होइन ,पाठक आवश्यक पर्छ । पाठकविना लेखकको के अस्तित्व होला? धरानले बाटो बिराउँदै छ भन्ने सुनिन्थ्यो तर अब यो सहर सही बाटामा छ जस्तो लाग्छ । यसले असङ्ख्यलाई असल मानिस बनाएको छ। मृत सहर हुँदै गयो धरान भन्नेलाई यसले गतिलै झापड हान्दै छ । सुस्ताको थियो होला ।मुर्च्छाउँदै थियो अब गति लिँदै छ फेरि । यो धराने गति निरन्तर रहोस् । म दुई दिनको साहित्यिक उत्सवको आंशिक श्रोता बनेर धरानको प्रगति र उन्नतिको कामना गर्छु । फेरि पनि भन्छु कुनै कार्यक्रमको असल श्रोता बन्न सकुँ । असल वक्ताभन्दा पनि कठिन हुन्छ असल श्रोता बन्न। यसको प्रयास म गरिरहेको त छु तर अझै असल श्रोता बनिनसकेकाले पुन: त्यस्तो बन्ने प्रयासमा छु । जीवनभरि असल श्रोता बन्ने प्रयास गर्ने छु ।जुन दिन बन्छु अनि शीर्षक राख्ने छु `असल श्रोता म´ भनेर ।अहिलेलाई श्रोतामात्र ल ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।