चच हुई... चच हुई....। दशैं आउँनुको मज्जा नै छुटेटै छ । शरद ऋतुको आगमनसँगै प्रकृतिको कायापलट हुन्छ । आकाशमा नीलो कपासजस्ता बादलहरू तैरन्छन्, करेसामा मखमली र सयपत्री फूलहरू मुस्कुराउन थाल्छन् । चारैतिर धानका बालाहरू सुनौलो रंगमा झुल्दै सुस्तरी हावामा हल्लिन्छन् । यही सुवासमय मौसमसँगै नेपालीहरूको महान् चाड बडादशैं घर–आँगनमा भित्रिन्छ । आज क्यालेन्डरको पन्ना फेरिएको छ, समयको बेगसँगै गाउँघरको मुहार फेरिएको छ, र हाम्रो जीवनशैली पनि आधुनिकताको मिहिनेतले रङ्गिएको छ । तर, मनको कुनै कुनामा जब बाल्यकालका ती दिनहरूको धमिलो तर मीठो तस्विर उघ्रिन्छ, तब लाग्छ, समय जतिसुकै अगाडि बढे पनि बाल्यकालको त्यो दशैंको सुगन्ध अर्कै थियो, जसको नशालु सुवासले आज पनि मनलाई आनन्दित र भावुक बनाउँछ ।
नयाँ लुगाको उमंग र घरमै टेलर आउँदाको रमाइलो:
अहिले त बजारमा गएर महँगा रेडमेड लुगा किन्ने वा फेसनदार फेब्रिक्स छान्ने चलन छ । तर, हाम्रो बाल्यकालमा ‘दशैंको लुगा’ को अर्थ नै बेग्लै र अपार थियो । स्कुल जान मिल्ने उही सेतो सर्ट र निलो हाफपेन्ट किनिदिएको दिनको खुसी शब्दमा वर्णन गर्नै सकिन्न । त्यो नयाँ कपडाको खस्रो गन्धले नै हाम्रा लागि दशैंको आधिकारिक घोषणा गराउँथ्यो ।
त्यसमाथि, गाउँमा पसलहरूको सुविधा नभएको त्यो युगमा, घरमै टेलरलाई बोलाएर नाप लिएर कपडा सिलाउने चलन थियो । टेलर मास्टरले पिठ्युँमा ठूलो झोला बोकेर घरमा आउने र पिँढीको कुनामा मेसिन राख्नेबित्तिकै हाम्रो घरमा उत्सव सुरु भइसकेको अनुभव हुन्थ्यो । उनीहरूले कैंचीले कपडा काटेको ‘स्याट्ट–स्याट्ट’ आवाज, मेसिनको लयबद्ध खुटुटुटु ..को संगीत र आफ्नो शरीरको नापअनुसार कपडा कस्तो बन्दैछ भनेर हेर्ने बालसुलभ कौतूहल । यी सबै कुराले मनमा एक प्रकारको अनौठो हौसला र उमंग ल्याउँथ्यो । त्यो सिलाइएको सेतो सर्ट र निलो हाफपेन्ट लगाएर बारम्बार ऐना अगाडि उभिने दिन, र टिकाको दिनसम्म फोहोर नहोस् भनेर दिनदिनै हेदै बाकसमा हाल्दै जोगाएर राख्ने त्यो चिन्ता आज पनि सम्झनाको पानामा जीवन्त कुदिएको छ ।
कुसुँडीको खसीको मासु र ढीकीको चिउराः
दशैं भन्नासाथ जिब्रोमा पानी आउने मिठा परिकार र खानपानको सम्झना स्वतः जाग्छ । अहिले जस्तो फ्रिज वा अत्याधुनिक किचनको सुविधा नभएको त्यो जमानामा, गाउँघरमा दशैंका लागि काटिने खसीको मासुको महत्व पर्वको महत्तोसँगै जोडिएको हुन्थ्यो । गाउँमा सामूहिक रूपमा काटेको खसीको एकपावा मासु ल्याएर कुसुँडीमा दाउराको आगोमा खटखट पारेर पकाएको त्यो स्वाद आजका पाँचतारे होटलका परिकारभन्दा हजारौं गुणा मीठो लाग्थ्यो । प्रशस्त झोल हालिएको त्यो मासुको सुवासले सारा घर मग्मगाउँथ्यो, जहाँ परिवारका सबै सदस्यहरू वरीपरि बसेर, तातो भात वा चिउरासँग त्यो झोल मिसाएर सुरुप–सुरुप खाएको दशैं सम्झिँदा आज पनि बालसुलभ दिनमा फर्किन पाए हुन्थ्यो जस्तो लाग्छ ।
त्यस्तै, दशैंका लागि दुई दिनदेखि रातारात ढीकीमा “भक्र्याङ भक्र्याङ” कुटेर तयार पारिने चिउराको कथा अझ मार्मिक छ । आमा र काकीहरूले पालो फेर्दै ढीकी कुटेर बनाएको त्यो ताजा चिउराबाट पहिलो भाग कुलदेवता र दुर्गा देवीलाई नचढाई मुखमा हाल्नु महापाप मानिन्थ्यो; ‘नचढाई खाए मुख बाङ्गिन्छ’ भन्ने ठूलाबढाको कडा अर्तीले हाम्रो बालमन मस्तिष्कमा गहिरो प्रभाव पारेको हुन्थ्यो । दुर्गादेवीलाई नचढाई खान नपाइने त्यो डर र स्वादको व्यग्र प्रतीक्षाबीच, बल्ल ठूलाघरका कान्छा हजुरबाले अष्टमीका दिन बिहानभरि लगाएर पूजा सकियो भनेर घोषणा नगरेसम्मको समय एउटा युग जस्तो लामो लाग्थ्यो । जब पूजा सकिन्थ्यो, तब त्यो ताता र बास्नादार चिउराको मुठी मुखमा हाल्दाको सन्तुष्टि शब्दमा बयान गर्न सकिंदैन ।
स्कुलडाँडाको लिङ्गे र रोटे पिङको मज्जाः
दशैंको सांस्कृतिक आकाशमा सबैभन्दा माथि उड्ने अर्को आकर्षण भनेको लिङ्गे पिङ थियो । घटस्थापनाको छेकोमा गाउँभरिका केटाकेटीहरू जम्मा भएर दशैंको रौनक थप्थ्यौँ । प्रकाश पौडेल, विश्व दाई र दाहाल कान्छाको नेतृत्वमा हामी सबै बालसुलभ जोसका साथ चेम्जोङडाँडा माथिको लिङ्गे पिङ खेल्न कुद्थ्यौं । कोही स्कुलडाँडाको रोटे पिङमा मच्चिन । जंगलबाट काटेर ल्याएका बलिया बाँसका खम्बा गाडेर, बाबियोको बलियो डोरी बाटेर ठड्याइएको त्यो पिङमा पालो पाउन पनि निकै पापड पेल्नुपर्थ्यो । तँछाड मछाडका विच आएको पालोमा दोहोरी मच्चाउन सक्नेहरुले त वा वा को हुटिङनै पाउँथे ।
जब रोटे पिङको पीरामा बसेर मच्चिने आफ्नो पालो आएर पिङको चल्लामा बसिन्थ्यो र साथीहरूले बलपूर्वक मच्चाउँदा धर्ती छोडेर आकाश छुन पुगिन्थ्यो, तब छातीभित्र अनौठो खुसीको छाल उठ्थ्यो । हावाको बेगसँगै उड्दाको त्यो थ्रिल, सबै साथीभाइहरूको सामूहिक हुटिङ र एकअर्कालाई आकाशतिर पुगेको बेला जिस्क्याउने क्रमले साँच्चै ‘दशैं आएको’ वास्तविक आभास गराउँथ्यो । आजका बन्द कोठाका भिडियो गेम वा कृत्रिम पार्कहरूले त्यो खुला आकाशमुनिको लिङ्गे÷रोटे पिङको हावा र बाल्यकालको त्यो निर्भीक आनन्दलाई कहिल्यै छुन नसकेको अनुभुति हुन्छ ।
टीकाको दिनः आशीर्वाद, दही–चिउरा र मामाघरको उत्साहः
दशैंको मुटु भनेको नै विजया दशमीको दिनको टीका र जमरा हो । टीकाको दिन विहान उज्यालो नहुँदै नयाँ लुगा र कल्पित अनुहारमा आशीर्वाद थाप्न गाउँभरि दौडिने हाम्रो दिनचर्या हुन्थ्यो । घर–घरमा गएर गाउँका मान्यजन तथा ठूलाबढाको हातबाट अक्षता र जमरा थाप्दै, टपरीमा चिनी चिउरा र दुनाबाट दहीलाई मथेर पखाले बनाएको पातलो महिरस चुहाउँदै खानुका मज्जा नै बेग्लै थियो । मुखमा चिउरा र दही चपाउँदा निस्कने ‘सापसाप र सिपसिप’ आवाजबीच साथीहरूसँग आँखा जुधाएर हाँस्दै खाएको त्यो क्षण सम्झँदा अहिले पनि मन लजालु भएर आउँछ ।
तर, टीकाको दिनको सबैभन्दा ठूलो ग्रान्ड फिनाले अर्कै हुन्थ्यो, मामाघरको यात्रा । दिनभरि आफ्ना बन्धु–बान्धव र अभिभावकहरूसँग टीका थापिसकेपछि, साँझपख मामाघर जाने पालो कसको भन्नेमा चल्ने प्रतिस्पर्धामा जब आफू पहिलो लिष्टमा परेको कुरा कन्फर्म हुन्थ्यो, तब लाग्थ्यो कि संसारको कुनै महान् युद्धा जितेर आएको छु । मामाघर जाने उत्साहले टीकाको थकाइ, लामो हिँडाइको पीडा र खुट्टाको ठेस सबैलाई एकैछिनमा बिर्साइदिन्थ्यो ।
आधुनिक समयको आँखीझ्यालमा दशैंको परिमार्जित रूपः
समयको चक्रसँगै आज दशैं केवल खाने, लगाउने र रमाइलो गर्ने चाड मात्रै रहेन; यो आधुनिकताको छालसँगै केही फेरिएको छ । आज गाउँघरमा ढीकीको आवाज हराएको छ, पिङका डोरीसँगै दोहोरीमा रम्ने भाकाहरू पनि फेरिएका छन् र युवापुस्ता प्रविधिको पर्दाभित्र समेटिन थालेको छ । तापनि, दशैंको मूल मर्म भनेको त्यही आत्मीयता, सम्मान र खुसीको साटासाट नै हो । आधुनिक जीवनको यो दौडधूपमा पनि जब हामी पुराना पुस्ताका मूल्य र मान्यतालाई जोगाउँदै र स्मरण गर्दै डिजिटल ग्याजेटबाट केही समय बचाउँछौ, तब परिवार र आफन्तहरूसँगको निकटता अझ प्रगाढ बन्छ । तडकभडक र देखासिकीको महँगो संस्कृतिभन्दा आपसी सद्भाव, सादगी र अग्रजहरूप्रतिको श्रद्धालाई प्राथमिकता दिनु नै आजको दशैंको सबैभन्दा ठूलो सौन्दर्य हो ।
आज ती बाल्यकालका सुनौला दिनहरू केवल तस्विर र मझेरीका स्मृतिहरूमा मात्र सीमित भएका छन् । कान्छा हजुरबा अब यो भौतिक संसारमा हुनुहुन्न, गाउँका ती बाल्यकालका दौंतरीहरू कर्मथलोको खोजीमा देशविदेशका विभिन्न कुनामा छरिएका छन्, र ढीकीको त्यो लयबद्ध आवाज रेडियो वा पुराना संस्मरणहरूमा मात्र गुञ्जिन्छ । तर, ती पुराना दिनहरूको न्यानो सुवास र बाल्यकालको त्यो निष्कलंक आनन्द आज पनि मेरो मनको गहिराइमा उत्तिकै जीवन्त छ ।
जब–जब दशैंको रमझम छाउँछ, मभित्रको त्यो सानो बालकसँग मेरो फेरि भेट हुन्छ, जसले उही सेतो सर्ट र निलो हाफपेन्टमा संसारको सबैभन्दा ठूलो साम्राज्य जितेको महसुस गरेको थियो । दशैंले हामीलाई भविष्यको अज्ञात बाटोतर्फ डो¥याए पनि, विगतका यी सुनौला स्मृतिहरू नै हाम्रो जीवनको वास्तविक र अमूल्य पूँजी बनेर बाँचिरहनेछन् ।
दमक, झापा