चिनजान निकटतम हुनुभन्दा पहिल्यै ,
नभैदिएको भए धेरै माया ,
सायद ,
आज तिम्रा प्रेमिल संवादलाई ,
भाका हालेर दोहोरीमा खेलिन्नथ्यो ;
अनि ,
तिमीले मलाई ,
उतिबेला नचिनेको भए ,
आज याद आउन्नथ्यो ।
धान गोड्ने मेलामा भेट हुनुभन्दा पहिल्यै ,
नभैदिएको भए नेत्र मिलन,
सायद ,
आज तिम्रा ठेट शब्दलाई ,
तालमा उनेर झ्याउरेमा गाइन्नथ्यो ;
अनि ,
तिमीले मलाई ,
उतिबेला नचिनेको भए ,
आज याद आउन्नथ्यो ।
भेट, पर्म हुँदै परेलिमा पुग्नुभन्दा पहिल्यै ,
नभैदिएको भए बसाइँ सराइ,
सायद ,
आज तिम्रा संघर्षका कथालाई ,
पटकथामा बुनेर उपन्यासमा लेखिन्नथ्यो ;
अनि ,
तिमीले मलाई ,
उतिबेला नचिनेको भए ,
आज याद आउन्नथ्यो ।
दुईको कथामा पटकथा थपिनुभन्दा पहिल्यै ,
आएको भए कथाको उत्तरार्ध सायद ,
आज हाम्रो मूल कथामा ,
पटकथा मिसाएर उपन्यास लेखिन्न्थ्यो ;
अनि ,
तिमीले मलाई ,
उतिबेला नचिनेको भए,
आज याद आउन्नथ्यो ।
परिश्रमी हातले पारिश्रमिक पाउनुभन्दा पहिल्यै, नतोडिएको भए संबन्ध,
सायद ,
आज तिम्रा वेदनाका शेरहरुलाई ,
संगीतमा मिसाएर गाइन्नथ्यो ;
अनि ,
तिमीले मलाई ,
उतिबेला नचिनेको भए,
आज याद आउन्नथ्यो ।
गृष्मको मध्याह्नमा चल्ने लु लाग्नुभन्दा पहिल्यै , वसन्तको बिहानीमा चल्ने मन्द हावाको ,
डोरीले बाँधिएका भए हामी,
सायद ,
बाँचेको उमेरभन्दा बाच्न बाँकी उमेरमा ,
अर्कै अर्काको अधिनायकत्वमा नहुनेथ्यौं ;
अनि ,
तिमीले मलाई ,
उतिबेला नचिनेको भए,
आज याद आउन्नथ्यो ।