19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म किन लेख्छु

कविता सुजन विश्वकर्मा October 16, 2026, 3:51 am
सुजन विश्वकर्मा
सुजन विश्वकर्मा

तँ किन लेख्छस्?
मलाई थाहा छैन,
लेख्दा नयाँ साथी भेटाउँछु,
मसँग ऊ मैले लेख्ने बेलासम्म मात्र रहन्छ,
उसलाई भेट्न मैले फेरि अर्को पन्ध्र दिन पर्खनु पर्छ,
हो म उसको सम्झनामा लेख्छु ।

उसले लेख्ने कविताको शीर्षक छैन,
मैले नै तिनिहरुको नाम राख्छु,
नामाकरण गर्छु,
ति कृति मेरा सहारा हुन्,
जसले मेरो नयाँ साथी सँग जोडिन,
हरदम प्रयास गरिरहन्छन् ।

म स्थिर छैन,
न मेरा सोच स्थिर छन्,
सबै दुई पलको पाहुना हुन् जस्तै लाग्छ,
म पनि पाहुना नै हुँ,
बासबस्दै जाँदा,
पृथ्वीको काखमा निदाउन पुगेको छु,
निदाउन गाह्रो भयो,
अनेकौं छटपटिले गर्दा,
तर अहिले म मीठो सपना देखिरहेको छु ।

सपना देख्न खुब मज्जा आउँदो रहेछ,
जब सपनाहरु बिपना हुन थाल्छन्,
उफ…
ब्यूझिने अवसर पाएँ भने,
म मेरो साथीलाई छातिमा टाँसेर,
अंगाल्ने छु ।

त्यसपश्चात मेरा भावनालाई,
आफ्नो हृदयमा बास दिने जिम्मा तपाईँको ल !

हेटौंडा - मकवानपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।