19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

इनाम देश लौ न दे

कविता लीलाम्बर ढुङ्गाना October 16, 2026, 3:54 am
लीलाम्बर ढुङ्गाना
लीलाम्बर ढुङ्गाना

म झन्झनाउने म गुन्गुनाउने गितार दे
कला, गला र सार दे अझै सबै हियार दे ।
सितारको तरङ्गमा जसो तसो पियार दे
जुहार दे, मुहार दे, कतै कतै गुहार दे ।।१।।

तुषार दे, सुसार दे, गराइमा पुछार दे
कराप दे, सराप दे, धकारको उछार दे ।
परान दे, ल देशमा घरानको खरान दे
अहो ! ! सचेत भूमिमा ल श्वासको तरान दे ।।२।।


ल काम दे, ल माम दे, कुकामको सिदा न दे
सुकाम दे, मुकाम दे, तमासको बिदा न दे ।
सिरानको विराम दे, कुकर्ममा ल दोष दे
प्रयासमा कठै जरो र झारको ल ओस दे ।।३।।

यदा–कदा कतै–कतै चुनावमा ल भोट दे
विचारमा प्रचारको कडा सचेत ओठ दे ।
न दे न दे कसै न दे गितारको सरो न दे
न दे न दे अझै न दे, सतासको गधा न दे।।४।।

अलापको सरापमा बिलापको खिलाप दे
परोपकार सार दे, मनुष्यमा मिलाप दे ।
घृणा निशापियाउँदै निराशमा ल सास दे
फलामको सलाम दे, इनाम देश लौ न दे।।५।।

कि साथ दे, कि माथ दे, बिहानको कि आश दे
गरीबका कि ओठमा र भोकमा ल गाँस दे ।
नदी नदी किनारमा अनाथको ल बास दे
सधैँ सधैँ सुगन्धको युगौँ युगौँ सुवास दे ।।६।।
(छन्दः पञ्चचामर)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।