19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बनारसको त्यो जुलुस

संस्मरण/स्‍मृति रघुनाथ अधिकारी October 16, 2026, 3:59 am
रघुनाथ अधिकारी
रघुनाथ अधिकारी

“जो हम से टकराएगा

वो चूर–चूर हो जाएगा

"विश्वविद्यालय से हिन्दू शब्द नहीं हटेगा, नहीं हटेगा ।”

यी नाराहरू मेरा स्मृतिमा ताजै रहेछन् । ५६ वर्षपछि बनारसमा पुग्दा त्यो स्मृति अझै ताजा भएर आयो । म पहिलोपल्ट जुलुसमा सामेल भएर लगाएका नाराहरू भएकैले शायद तिनले मेरो मस्तिष्कलाई अझैसम्म झकझकाइरहेका छन् । वि. सं. २०८२ माघ २३ गते, आज म बनारसको काशी हिन्दू विश्वविद्यालयको मूलद्वार अगाडिको बजार ‘लंका’मा आएर उभिएको छु । विश्वविद्यालयको मूलद्वार र वरिपरिको परिवेश धेरै बदलिएको भए पनि भौगोलिक अवस्थिति उही भएकाले म अतीतकै स्मृतिमा घुम्न पुगिरहेको छु ।

कुरा सन् १९६५ (वि.सं. २०२२) को हो । म वाराणसेय संस्कृत विश्वविद्यालयमा भर्ना भएर पूर्वमध्यमा पढ्दै थिएँ । नेपालको दुर्गम ग्रामीण बस्ती गोर्जेबाट एकैचोटि बनारस पुगेको, भर्खर १५ वर्षको उमेरमा टेकेको मेरा निम्ति त्यहाँको हरेक दृश्य, कुरा, गतिविधि र वातावरण नौलो र रोमाञ्चक थियो नै । त्यस्तैमा एक दिन मेरा कक्षाका साथीहरूसहित विश्वविद्यालयका सबै विद्यार्थीहरू कक्षा छोडेर बाहिर निस्के र विद्यार्थीको हुल एक ठाउँमा जम्मा भयो । तिनीहरूमध्ये दुई जनाले बोले । बडो चर्को, जोसिलो आवाजमा के–के भने, मलाई थाहा भएन । अन्तमा उनीहरूले उपरोक्त नारा लगाए र तिनै नारा लगाउँदै विद्यार्थीको जुलुस विश्वविद्यालयको गेटबाट बाहिर निस्क्यो । म पनि त्यसमा सामेल भएर तिनै नारा लगाउँदै हिँडेँ । सुरुमा नौलो लागे पनि बिस्तारै म पनि चर्को–चर्को स्वरमा नारा लगाउँदै हिँड्न थालें । त्यसै सन्दर्भमा नयाँ साथीहरूसँग परिचय हुँदै गयो ।

गन्तव्य कहाँसम्म हो भन्ने मलाई थाहा थिएन । जुलुस नारा लगाउँदै र बाटामा पर्ने बजार वा पसलहरूलाई पनि बन्द गराउँदै हिँडिरह्यो । आखिरमा यही काशी हिन्दू विश्वविद्यालयको मूलद्वार अगाडिको लंका बजारमा पुगेर जुलुस अडियो । विश्वविद्यालयको मूलगेटबाट बजारतिर फर्केर केही विद्यार्थी नेताहरूले भाषण गरेर कार्यक्रमको समापन भयो ।

यहीँनेर मलाई एउटा घटनाले बिझाएको थियो । जुलुस नारा लगाउँदै र बजार पनि बन्द गराउँदै हिँडिरहेको थियो । यहीँ लंका नजिक जुलुस एउटा हजामको पसलनेर पुगेर हजामलाई पसल बन्द गर्न भन्यो । ऊ एकजना ग्राहकको दाह्री काट्दै रहेछ । ग्राहकको एउटा गालाको दाह्री काटिएका थिए र अर्को गालाका बाँकी थिए । हजाम र ग्राहक दुवैले त्यति दाह्री काटिसकेपछि बन्द गर्छु भनेर अनुनयकै भाषामा अनुरोध गर्दै थिए । अर्कातिरबाट जुलुसकै केही व्यक्ति आएर ती दुवै जनालाई लछारपछार गर्दै बाहिर निकालेर पसल बन्द गरिदिए । साबुन लगाएर काट्न ठिक्क पारेका गालाका आधा दाह्रीसहित लतार्दै सडकमा ल्याइएको त्यस व्यक्तिलाई देख्दा मलाई कस्तो–कस्तो लाग्यो । तिनीहरूलाई त्यति दाह्रीसम्म काटिसक्न दिनुपथ्र्यो भन्ने लागेर होला, शायद तिनीहरूमाथि ‘अति’ भएको भन्ने मेरो मनले ठानेको थियो । त्यसैले होला, आजसम्म त्यो घटना मेरा स्मृतिमा छ । दाह्री–कपाल काट्ने व्यवसाय गरेको त्यस हजामको जात, थर, धर्म के थियो, मलाई थाहा छैन, तर पनि त्यतिखेरको उसको विवश मुखाकृतिको झझल्को अहिले पनि लाग्यो र त्यसको त्यो झोपडीनुमा घरमा रहेको त्यो पसल खोज्न मेरा आँखा डुलिरहेका थिए । तर पनि त्यस ठाउँमा विशाल सडक बनिसकेकाले त्यसको कुनै निशान भेट्टाउन सकिने रहेनछ । तर उतिखेरको जस्तै पुरानो एउटा रिक्सामा चढेर हिँड्दा मेरा नजर त्यसको डोब कतै भेटिन्छ कि भनेर खोजिरहे । त्यस दिनको स्मृति यति नै रह्यो ।

मलाई खास कुरा थाहा नभएको त्यस दिनको त्यो जुलुसको बारेमा विश्वविद्यालय फर्केर आएपछि अन्य साथीहरूबाट थाहा हुँदै गयो । कुरा यस्तो रहेछ—

अलिगढ मुस्लिम विश्वविद्यालय महान् समाजसुधारक सर सैयद अहमद खानले उत्तर प्रदेशको अलिगढ भन्ने ठाउँमा स्थापना गरेका थिए । यसको सुरुवात २४ मे १८७५ मा ‘मुहम्मदन एङ्ग्लो–ओरिएन्टल कलेज’ का रूपमा भएको थियो । जसलाई पछि १ डिसेम्बर १९२० मा केन्द्रीय विश्वविद्यालयका रूपमा अलिगढ मुस्लिम विश्वविद्यालय नामकरण गरियो । भारतको सबैभन्दा पहिलो मुस्लिम विश्वविद्यालय थियो यो ।

काशी हिन्दू विश्वविद्यालयको स्थापना फेब्रुअरी ४, १९१६ मा महामना पण्डित मदनमोहन मालवीयले गरेका थिए । यी दुवै विश्वविद्यालयको स्थापनाकार सामाजिक, राजनीतिक वा धार्मिक कुन पृष्ठभूमिका थिए भन्ने कुरा त त्यतिखेरै त्यति थाहा भएन ।

त्यो जुलुसको प्रसङ्ग भने अलिगढ विश्वविद्यालयमा रहेको ‘मुस्लिम’ शब्द हटाउने र काशी विश्वविद्यालयमा रहेको ‘हिन्दू’ शब्द हटाउने प्रसङ्ग चलेको रहेछ र उता ‘मुस्लिम’ शब्द हटाउन खोजिएको कुराको एक पक्षबाट तीव्र विरोध भएको र यता पनि ‘हिन्दू’ शब्द हटाउन खोजिएको कुराको अर्को पक्षबाट तीव्र विरोध भइरहेको रहेछ । उता त्यसको विरोध ‘मुस्लिम’ विद्यार्थीहरूले गरेका रहेछन् र यता ‘हिन्दू’ विद्यार्थीहरूले गरेका रहेछन् । म चाहिँ ‘हिन्दू’ विद्यार्थीका जुलुसमा सहभागी भएको रहेछु ।

त्यतिखेर मैले त्यो हजामलाई सम्झें । त्यो उतातिरको परेर पनि त्यसलाई त्यसो गरिएको रहेछ कि भन्ने लागेर पनि होला, शायद त्यो मेरो स्मृतिबाट हराउन नसकेको ।

म पढ्ने वाराणसेय संस्कृत विश्वविद्यालय भने सन् १७९१ मा बेलायतका गभर्नर जनरल लर्ड कर्नवालिसको अनुमतिमा इस्ट इन्डिया कम्पनीका रेजिडेन्ट जोनाथन डंकनको पहलमा गभर्नमेन्ट संस्कृत कलेजका रूपमा स्थापना भएको थियो र सन् १९५८ मा तत्कालीन मुख्यमन्त्री डा. सम्पूर्णानन्दको पहलमा वाराणसेय संस्कृत विश्वविद्यालय नामकरण गरिएको थियो । त्यसैले सम्पूर्णानन्दलाई यसका संस्थापक पनि भनिन्छ । यो भारतकै पहिलो र एक मात्र संस्कृत विश्वविद्यालयका रूपमा स्थापना भएको थियो त्यतिखेर । पछि सन् १९७४ मा संस्थापककै नाममा यस विश्वविद्यालयको नाम पनि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय राखिएको रहेछ । मैले वाराणसेय संस्कृत विश्वविद्यालयको शास्त्री परीक्षा सन् १९७० मा दिएर फर्केको हुँ ।

त्यस जुलुसमा म पढ्ने विश्वविद्यालयका अन्य साथीहरू के–कति थिए, त्यति याद छैन । म चाहिँ हिन्दी भाषा सिक्न एक जना त्यहीँ उत्तर प्रदेशतिरकै एक जना हिन्दीभाषी साथीसँग दोस्ती गरेको थिएँ र त्यसैको साथ लागेर गएको थिएँ । यो मेरो जीवनमा पहिलोपटक जुलुसमा सहभागी भएको क्षण थियो ।

मेरो जीवनमा पछि जे–जति सामाजिक-राजनीतिक चेतना विकसित हुन सक्यो, त्यसको प्रथम उद्दीपन–विभावका रूपमा त्यो घटना आजीवन रोमाञ्चक बनेर मेरा स्मृतिमा रहिरहनेछ, शायद ।

गैह्रापाटन, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।