19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खेमराज ढुङ्गानाको “पल्टिरहेछ नाङ्गो शरीर” कविता सङ्ग्रह कृतिभित्र छिर्दा

कृति/समीक्षा लीलाम्बर ढुङ्गाना October 16, 2026, 4:02 am
लीलाम्बर ढुङ्गाना
लीलाम्बर ढुङ्गाना

१. पृष्ठभूमिः
गण्डकी अञ्चल तथा गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको साविक छाङ्छाङ्दी गा वि स वडा नं.९ काफलपोखरीमा वि सं २००१ बैशाख ३१ गते जन्मनु भएका श्री खेमराज ढुङ्गाना प्रहरी (प्रहरी निरीक्षक) सेवाबाट निवृत व्यक्ति हो । वहाँ ग्रामीण जनजीवनको कथा व्यथासँग निकै परिचित हुनुहुन्छ । वहाँले सेवा निवृतको समय पश्चात् आफ्नो दैनिकीलाई कविता सिर्जाना तथा लेखन कार्यमा उपभोग गर्नु भएको देखिन्छ ।
वि.सं. २०८० सालमा ढुङ्गानाले ‘पल्टिरहेछ नाङ्गो शरीर’ शीर्षकको पहिलो कविता कृति प्रकाशन गरेर पाठक माझ देखिनु भएको हो । सावित्री ढुङ्गानाद्वारा प्रकाशित उक्त कृति ‘पल्टिरहेछ नाङ्गो शरीर’ मा चापाकोट न.पा. वडा नं. २ स्याङ्जाका महेश भट्टराई र राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्ली नारायण पाण्डेको शुभकामना समावेश भएको छ । उक्त कविता सङ्ग्रह कृतिमा नेपाली परिवेशभित्र देखिएका समसामयिक विषयहरू उठान गरिएको छ । विशेष गरेर कृतिले तत्कालिन समयको दृश्य चित्रण गरेको छ । सो कृतिभित्र हाम्रो देश नेपाल, उपदेश, विरह, धोको अझै छ प्रधानमन्त्री हुने, महाभारत सारांश, मनको इच्छा, पल्टिरहेछ नाङ्गो शरीर, जन्म जिल्ला स्याङ्जा, श्री कुलदेवता पूजा, श्री कुलदेवता भजन, छाँयाक्षेत्र छाङ्छाङ्दी, छाङ्छाङ्दी स्नान, आँधीखोला, मानव शरीर, दया गर्ने को ॽ, नजाऊ युवा परदेश, महिना असार, देशको स्थिति, सौन्दर्यको प्रतिक रारा ताल, फूल, राखौँ बचाइकन, नयाँ नेपाल, एक सिङ्गो नेपाल चाहिन्छ, श्री ढुङ्गाना बन्धुको विकास, कौशिकको वंश ढुङ्गाना, महाभूकम्प २०७२, ढल्यो धरहरा, आयो संविधान, आशा अझै राहतको, सहारा देऊ भगवान्, यही हो त राहत ॽ, को जान्न सक्छ र ॽ, नेपाल आमा भन्छिन्, नाका बन्द २०७२, श्री मुक्तिनाथ धाम, गरौँ दर्शन श्री मुक्तिनाथ धामको, असारे गीत, भूकम्प पीडितको पीडा, भन्छन् नेपाल देश मेरो, गर विचार, जानी राखौँ, नगराऊ दुई टुक्रा, जेष्ठ नागरिक, आदिकवि भानुभक्त, खै कर्तव्य, पुछिदिने को छ रॽ, स्मरणीय यात्रा, नित्य कर्म, गौतम बुध्द जन्मस्थानः लुम्बिनी, जीवनचक्र, नारी, भानु तिमी आदिकवि, जन्मसँगै मृत्यु, कोभिड–१९, हाम्रो जन्म स्थल र परिचय सहित लामा र छोटा गरि जम्मा ५६ वटा शीर्षकका कविता समावेश छन् ।
२. शीर्षकको अर्थ र औचित्यः
‘पल्टिरहेछ नाङ्गो शरीर’ शीर्षक अत्यन्त प्रतीकात्मक छ। यहाँ ‘नाङ्गो शरीर’लाई केवल वस्तुगत अर्थमा लिनु उपयुक्त हुँदैन। यसले लुकाउन नसकिनेगरि अभाव, गरिबी, पीडा, र समाजको वास्तविक अवस्थालाई बाहिर ल्याएको छ। मानिसले आफ्नो दुःख र गरिबीलाई विभिन्न आवरणले छोप्न खोजे पनि वास्तविकता लुकाउन सकिँदैन । त्यसैले ‘नाङ्गो शरीर’ समाजको वास्तविक प्रतीक बन्न पुगेको छ।‘पल्टिरहेछ’ शब्दले निरन्तर परिवर्तन वा उलटफेर भइरहेको अवस्थालाई जनाउँछ। यसरी शीर्षकले समाजको विकृत र पीडादायी अवस्था हाम्रो अगाडि पल्टिरहेको भाव व्यक्त गर्दछ।
३. कविताको मूल भावः
कविताको मूल भाव सामाजिक यथार्थको उद्घाटन र मानवीय संवेदनाको खोजी हो। समाजमा धनी र गरिबबिचको दूरी, अवसरको असमानता, शोषित वर्गको पीडा तथा बाहिरी सभ्यतिभत्र लुकेको अमानवीय व्यवहार कविताको भावभूमिमा देखिन्छ।
कवि केवल समस्या देखाएर मात्र होइन; पाठकलाई त्यस यथार्थप्रति संवेदनशील बन्न सचेत गराएका छन् । समाजमा देखिने अन्याय र विसङ्गतिलाई सामान्य ठानेर चुप लागिरहनु हुँदैन भन्ने चेतना कवितामा अन्तर्निहित देखिन्छ।
४. भाषाशैली र संरचनाः
कविताको भाषा सरल र स्थानीय जनजिब्रोमा अधारित छ । प्रस्तुत कविता सङ्ग्रहमा लामा र छोटा कविताहरू समावेश गरिएको छ । आभ्यासिक चरणमा लेखिएका कविताले धेरैजसो छन्दलाई पछ्याउन खोजेता पनि छन्दको सुत्र पालना भएको देखिदैन । उल्लिखित कृतिमा समावेश भएका केही शीर्षकहरु दोहोरिए जस्तो पनि देखिन्छ । कृतिमा समावेश भएका कवितातभत्र शब्द संयोजन र भाषागत शुद्धाशुद्धिमा पनि ध्यान दिनुपर्ने अवश्यकता देखिन्छ । यस कविता सङ्ग्रहमा सङ्कलित कविता शीर्षकहरू नेपाली परिवेश र अफ्नै गाउँठाउँमा अधारित छन् । कविले नाङ्गो शरीर’ जस्तो बिम्ब प्रयोग गरेर जटिल सामाजिक यथार्थलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरेका छन्। भाषामा अनावश्यक जटिलता सिर्जना गरी पाठकलाई सोच्न बाध्य पार्ने शैली अपनाइएको छैन। भावात्मक अभिव्यक्तिको प्रयोगले कवितालाई प्रभावशाली बनाएको छ।
५. कविताले दिन खोजेको सन्देशः
कविताले समाजमा रहेका अभाव, गरिबी असमानता र अन्यायलाई बेवास्ता नगर्न सन्देश दिन्छ। मानिसको पीडालाई केवल दृश्यका रूपमा हेर्नुभन्दा त्यसको कारण पहिचान गरी मानवीय दृष्टिले समाधान खोज्न आवश्यक छ भन्ने दृष्टिकोण अगाडि सारिएको छ ।
आफ्नो राष्ट्र र राष्ट्रियताप्रति समर्पित हुन पाठक र नागरिक समाजलाई सचेत गर्न खोजिएको छ । विविधताभित्र रमाएको एकतालाई दिगो बनाउन आफ्नो बाटो र माटोप्रति ‘एक सिङ्गो नेपाल चाहिन्छ’ भन्ने शीर्षकको कवितामा कवि यसरी प्रस्तुत भएका छन् ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म
उत्तर हिमालदेखि दक्षिण तराईसम्म
जहाँ जाँदा पनि ढुङ्गो र माटो पाइन्छ
एक सिङ्गो नेपाल चाहिन्छ । ।।१।।
नेपालभर
जहाँ जन्मे पनि जहाँ हुर्किए पनि
नेपाली भन्न पाइन्छ
एक सिङ्गो नेपाल चाहिन्छ । ।।२।।
हिमाल पहाडका
ती वनौषधि जडिबुटीहरू
तराई फाँटका अन्नका दानाहरू
सबै खान लाउन पाइन्छ
एक सिङ्गो नेपाल चाहिन्छ । ।।३।।
यसरी नेपालभित्रको भूगोगमा हामी जहाँ रहे बसे पनि माटो र ढुङ्गो सबै नेपालीको साझा हो, हामी सबै नेपाली नै हौँ भन्नेभाव कवितामा र कविको अन्तरहृदयमा झल्केको देखिन्छ । साथै, बाहिरी रूपमा मानिस सभ्य र सम्पन्न देखिनु मात्र पर्याप्त होइन। समाजको वास्तविक अवस्था पनि न्यायपूर्ण, समान र मानवीय हितमा समर्पित हुनुपर्छ। जबसम्म कमजोर र पीडित मानिसले सम्मानपूर्वक बाँच्न पाउँदैन, तबसम्म सभ्य समाजको दाबी अधुरै रहन्छ भन्ने भाव कविताबाट व्यक्त गर्न खोजिएको छ ।
निष्कर्षः
समग्रमा ‘पल्टिरहेछ नाङ्गो शरीर’ कविता सङ्ग्रह सामाजिक यथार्थ, मानवीय पीडा र गरिबीलाई केन्द्रमा राखेर लेखिएको कविता सङ्ग्रह हो। यस कविता कृतिका हरेक पानामा कवि राष्ट्र र राष्ट्रियताप्रति निकै सचेत छन् । ‘नाङ्गो शरीर’ लाई केन्द्रीय प्रतीक बनाएर समाजमा लुकेका वास्तविकता, गरिबी, असमानता र मानवीय संवेदनाको प्रश्नलाई अगाडि ल्याउँछ बाहिरी आवरणभन्दा भित्रको सत्य हेर्न पाठकलाई प्रेरित गरेका छन् कविले ।
यस कविता सङ्ग्रहको गरिमा केवल आर्थिक र सामाजिक अवस्थाको चित्रणमा मात्र सीमित छैन; आजको सामाजिक परिवेशमा विभिन्न रूपले देखिने असमानता, अभाव, गरिबी र संवेदनहीनताका सन्दर्भमा यसको सन्देश प्रासङ्गिक देखिन्छ। त्यसैले यो कविता कृति सामाजिक चेतना जगाउने, मानवीय संवेदना अभिवृद्धि गर्ने र समाजलाई आफ्नै वास्तविक अनुहार हेर्न बाध्य बनाउने प्रभावकारी काव्यिक अभिव्यक्ति हो।
भीरकोट–४,स्याङ्जा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।