अघिल्लो दिन एकजना स्वनामधन्य साहित्यकारसँग साहित्यका विविध पाटापक्षका बारेमा भएको भलाकुसारीको स्मृति ताजा नै थियो । एउटा स्रष्टा आफैमा अतिशय पाखण्डी, समाजद्वेशी र हीन मनोवृत्तिले ग्रस्त कसरी हुन सक्छ ? भन्ने जिज्ञासाले अन्तस्करण उद्देलित भैरहेको अवस्थामा अनेकन विचारहरु मानसपटलमा कावा खेल्दै थिए । सोचेँ– यसै विषयमा स–सानो आलेख किन तयार नगरौं ? आखिर भयो त्यस्तै, समाजलाई असल विचार र दृष्टिकोणले आलोकित गर्न सक्ने सामथ्र्य राख्ने स्रष्टा सर्जक आखिर किन कुविचार, कुण्ठा, दम्भ, घमण्डसहित परपीडकका रुपमा प्रस्तुत हुन सक्छ ? यिनै आधारभूत प्रश्नको वरिपरि प्रस्तुत आलेख तयार भएको छ ।
सर्वज्ञातव्य विषय हो कि साहित्य मानव सभ्यताको ऐना मात्र होइन, यो समाजलाई सही दिशा निर्देश गर्ने एउटा दिव्य मार्गदर्शन पनि हो । स्रष्टा वा साहित्यकार त्यो चेतनाको सवाहक हो, जसले आफ्नो शब्द, भाव र विचारमार्फत समाजमा व्याप्त अज्ञानता, अन्याय र कुरीतिहरूमाथि प्रहार गर्छ । तर, जुन स्रष्टाले समाजलाई रूपान्तरण गर्ने जिम्मेवारी बोकेको हुन्छ, उसको आफ्नै व्यक्तित्व, आचरण र सोच कस्तो हुनुपर्छ भन्ने विषय अत्यन्तै महत्वपूर्ण र संवेदनशील हुन्छ । साहित्य सिर्जना केवल अक्षरहरूको संयोजन मात्र होइन; यो त स्रष्टाको आन्तरिक चेतना, सोच, संस्कार र जीवनदृष्टिको प्रतिबिम्ब हो । त्यसैले, एक वास्तविक सर्जक वा साहित्यकारमा अहङ्कार, डाहा, र चाकडीजस्ता विकृतिहरू हुनु हुँदैन । उसमा शालिनता, धैर्यता, न्यायप्रियता र व्यापक सामाजिक उत्तरदायित्व हुनु अपरिहार्य छ । समाजले उसबाट यही अपेक्षा गर्दछ ।
ज्ञातव्य नै छ, ज्ञान र सिर्जनाको पहिलो लक्षण नै विनम्रता हो । जसरी फलले भरिएको रुख सधैँ तलतिर झुक्छ, त्यसरी नै साँचो ज्ञान र सिर्जनात्मक क्षमताले भरिएको साहित्यकार सधैँ शालिन, शान्त र नम्र हुन्छ । लाग्छ, साहित्यकार तथा स्रष्टा सर्जकले कहिल्यै पनि आफूलाई सर्वज्ञ र अरूलाई अज्ञानी ठान्ने घमण्ड गर्नु हुँदैन । मै मात्र ठीक, अरू सबै बेठीक वा मैले मात्र जानेको छु, अरूले केही जानेका छैनन् भन्ने संकीर्ण र कुण्ठित भावनाले स्रष्टाको आफ्नै बौद्धिक पतन गराउँछ । त्यसैले सर्जक ठूलो हुनु भनेको धेरै लेख्नु, चर्चित हुनु, पुरस्कार पाउनु वा कुनै पद र प्रतिष्ठा हासिल गर्नु मात्र होइन । वास्तविक सर्जकको उचाइ उसको विनम्रता, शालीनता, धैर्य, न्यायप्रतिको प्रतिबद्धता, सहिष्णुता, सहकार्यको भावना र अरुको अस्तित्व स्वीकार गर्ने संस्कारमा पनि मापन हुनुपर्छ । सिर्जना सुन्दर भएर मात्र पुग्दैन; सर्जकको मन र चिन्तन पनि सुन्दर हुनुपर्छ ।
घमण्डले मानिसको विवेकलाई अन्धो बनाउँछ । जब कुनै सर्जक अहङ्कारको घोडामा सवार हुन्छ, उसले अरूका सिर्जना, विचार र अस्तित्वलाई अस्वीकार गर्न थाल्छ । तर वास्तविक साहित्यकारले अरूको अस्तित्वलाई सहर्ष स्वीकार्न, सम्मान गर्न र त्यसको संरक्षण गर्न सक्नुपर्दछ । समाज विविध विचार, शैली र दृष्टिकोणहरूको सङ्गम हो । अरूको विचार र सिर्जनालाई सम्मान नगर्ने व्यक्ति कहिल्यै पनि जनप्रिय र सर्वस्वीकार्य स्रष्टा बन्न सक्दैन । स्रष्टाले आफ्नो सीमा र दायरालाई सधैँ ख्याल गरेर अघि बढ्नुपर्छ । अरूको उन्नति, प्रगति र सफलतामा जल्नु, रिस गर्नु वा डाहा गर्नु मानव मनको एउटा ठूलो कमजोरी हो, तर स्रष्टा जस्तो संवेदनशील व्यक्ति यो कमजोरीबाट पूर्णतः मुक्त हुनुपर्छ भन्ने अपेक्षा गरिन्छ । अरूको सफलतामा आरिस गरेर जल्दा अरूको केही बिग्रँदैन, बरु आफ्नै मानसिक शान्ति, सिर्जनशीलता र उर्जा नष्ट भएर जान्छ । इष्र्याले मानिसभित्र नकारात्मकताको विष घोल्छ, जसले उसको सिर्जनात्मक क्षमतालाई सुकाउँछ ।
वस्तुत, सर्जकले सधैँ यो सत्यलाई बुझ्नुपर्छ कि अरूको हित हुँदा नै मेरो पनि भलो हुन्छ । साहित्यको क्षेत्र सहकार्य र सद्भावको क्षेत्र पनि हो, प्रतिस्पर्धा र इष्र्याको होइन । अर्को कुनै साहित्यकारले उत्कृष्ट कृति रच्यो वा सफलता हासिल गर्यो भने त्यसबाट डाहा मान्नुको सट्टा खुसी हुनु र त्यसबाट प्रेरणा लिनु नै एउटा सच्चा स्रष्टाको धर्म हो । यही खुशीले कालान्तरमा आफूलाई पनि खुशी दिन सक्छ भन्ने हृदयंगम गर्नुपर्दछ । अरूको प्रगतिमा रमाउन सक्ने विशाल हृदय भएको सर्जकले मात्र कालजयी सिर्जनाहरू जन्माउन सक्छ र समाजबाट सदैव प्रशंसित बनिरहन सक्छ । यस्तो वातावरण निर्माणका लागि सर्जकले सबैभन्दा पहिले आफूभित्रको अहंकारसँग संघर्ष गर्न सिक्नुपर्छ । सिर्जनशील मानिसले आफूलाई अरुभन्दा अलग र विशिष्ट ठान्नु स्वाभाविक हुन सक्छ, तर यही विशिष्टताको अनुभूति विस्तारै अहंकारमा परिणत भयो भने सिर्जनाको मूल्य नै कमजोर हुन सक्छ ।
वास्तवमा साहित्यकार वा स्रष्टा सर्जक भनेको समाजको तटस्थ र निष्पक्ष द्रष्टा पनि हो । उसले सत्यको पक्षमा बोल्नुपर्छ र असत्यको विरोध गर्नुपर्छ । तर, जब कुनै सर्जकले आफ्नो निहित स्वार्थ, सानो पद, पुरस्कार वा भौतिक लाभका लागि अमुक पदधारी वा शक्तिमा भएकाहरूको चाकडी गर्न थाल्छ, तब उसको सिर्जनाको ओझ र स्वाभिमान समाप्त हुन्छ । सत्ता र शक्तिको चाटुकारिता गर्ने स्रष्टाले कहिल्यै पनि समाजको वास्तविक प्रतिनिधित्व गर्न सक्दैन । तसर्थ, स्रष्टा सधैँ स्वतन्त्र, निष्पक्ष र निर्भीक हुनुपर्छ । उसले शक्तिको अगाडि आफ्नो स्वाभिमान र सत्यलाई बन्धक राख्नु हुँदैन । चाकडी र चापलूसीले क्षणिक लाभ त दिन सक्छ, तर इतिहासले त्यस्ता अवसरवादी स्रष्टाहरूलाई कहिल्यै सम्मान गर्दैन । स्रष्टाको पहिचान उसको स्वाभिमान, निष्ठा, निर्भिकता र सत्यप्रतिको समर्पणबाट निर्माण हुन्छ ।
सम्भवतः प्रत्येक साहित्यकार, स्रष्टा सर्जकले गतिलोसँग नै मनन गरेको हुनुपर्दछ कि साहित्य सिर्जना केवल शब्दको शिल्पी मात्र होइन, समाजलाई जोड्ने पुल पनि हो । त्यसो भएकाले उसले आफ्नो लेखनीमार्फत सामाजिक एकता, सद्भाव, सहयोग र सहकार्यलाई प्रवद्र्धन गर्नुपर्छ । समाजमा व्याप्त विभेद, विकृति, वैमनस्यता र असमानतालाई अन्त्य गर्दै जातीय, धार्मिक र सामाजिक सौहार्दता कायम राख्न स्रष्टाले अहम् भूमिका खेल्नुपर्छ । एउटा सच्चा साहित्यकार सधैँ न्यायप्रेमी हुन्छ र हुनुपर्छ भन्ने समाजको अपेक्षालाई अन्यथा भन्न पनि सकिंदैन । उसले समाजका उत्पीडित, सिमान्तकृत, निमुखाहरू र आवाजविहीनहरूको आवाज बनेर लेख्नुपर्छ । अन्याय र अत्याचार जहाँ भए पनि त्यसको विरुद्धमा स्रष्टाको कलम निर्भीकताका साथ चल्नुपर्छ । धैर्यशील र विवेकशील भएर समाजका संवेदनशील मुद्दाहरूलाई उठाउनु र सकारात्मक समाधानको बाटो देखाउनु नै साहित्यको मूल ध्येय हो ।
मूलतः स्रष्टाको अन्तिम र सबैभन्दा ठूलो दायित्व भनेको इमानदारपूर्वक समाज र मुलुकको सर्वोपरी हित कसरी गर्न सकिन्छ भन्ने कुरामा सत् चिन्तन गर्नु हो । व्यक्तिगत स्वार्थ, गुटबन्दी र संकीर्ण दायराभन्दा माथि उठेर सिङ्गो राष्ट्र र मानवताको कल्याणका लागि काम गर्नु नै सच्चा साहित्य सेवा हो । स्रष्टाले आफ्नो सोच र चिन्तनलाई सधैँ उच्च र पवित्र राख्नुपर्छ । सकारात्मक सोचले मात्र सुन्दर समाजको निर्माण गर्न सक्छ । जब स्रष्टाले इमानदार भएर समाजका घाउहरूमा मलम लगाउने, मानिसहरूमा आशा र चेतनाको सञ्चार गराउने अनि देशको समुन्नतिको सपना देख्ने गर्छ, तब मात्र उसको सिर्जनाले सार्थकता पाउँछ ।
अन्त्यमा, स्रष्टा वा साहित्यकार हुनु भनेको एउटा ठूलो जिम्मेवारी र सम्मानको विषय हो । यो सम्मानलाई कायम राख्न स्रष्टा आफैँमा अनुशासित, शालिन, नम्र र अहङ्कारमुक्त हुनुपर्छ । अहङ्कार, दम्भ, इष्र्या, डाहा र चाकडीजस्ता तुच्छ विकारहरूलाई त्यागेर सद्भाव, सहकार्य, न्याय र स्वाभिमानको बाटो रोज्नु नै एउटा सच्चा सर्जकको पहिचान हो । वास्तविक अर्थमा अरूको अस्तित्वको सम्मान गर्दै, अरूको प्रगतिमा खुसी हुँदै र समाज एवम् मुलुकको सर्वोपरी हितमा समर्पित भएर सिर्जना गरिएका शब्दहरू नै युगौँयुगसम्म जीवन्त रहन्छन् । विस्तारित दृष्टिबाट हेर्दा स्रष्टा सर्जक भनेको समाजको सपाट ऐना हो, उसको हृदय समाजको हृदय हो, उसका शब्द समाजका शब्द हुन् । तर यी शब्दहरूमा गहिराइ, संवेदना, इमानदारी, न्याय र करुणा हुनुपर्छ । घमण्ड, इष्र्या, अहंकार, चाकडी, स्वार्थपूर्ण मनोवृत्ति, अर्काको अस्तित्वको उपेक्षा र आत्मकेन्द्रित मानसिकताले सर्जकको सारा सिर्जनात्मक गुणलाई कलंकित पार्न सक्छ । शालीनता, शान्ति, धैर्य, न्यायप्रेम, सामाजिक एकता, सहयोग, सद्भाव, सहकार्य, इमानदारी, परहितको भावना, सत्चिन्तन र सर्वोपरि हितको चिन्तन– यी नै ती आधार हुन्, जसमाथि एक सच्चा, महान् र शाश्वत सर्जकको पहिचान निर्माण हुन्छ । स्मरणीय छ कि, संसारका अमर सर्जकहरू आफ्नो प्रतिभा, कला र लेखनीले मात्र अमर भएका होइनन्, तिनीहरूको आचरण, व्यवहार र मानवीय संवेदनाले पनि अमर भएका हुन् । त्यसकारण प्रत्येक सर्जकले आफूलाई सदैव यी मूल्यहरूमाथि केन्द्रित गरेर अघि बढ्नुपर्छ । आफ्नो व्यक्तिगत सिर्जनात्मक उचाइसँगै समाज र मुलुकको सर्वोपरि हितको चिन्तक पनि बन्नुपर्छ । यही नै सच्चा सर्जकको पहिचान हो, यही नै उसको समाज प्रतिको दायित्व हो र यही नै उसको जीवनको सार्थकता हो । त्यसैले, प्रत्येक स्रष्टाले आफ्नो आचरणलाई शुद्ध बनाउँदै सत् चिन्तन र सत्यको बाटोमा निरन्तर अघि बढ्नु आजको आवश्यकता हो । किमधिकम्ः
कुश्मा, पर्वत