असारको अन्त्यतिर लाग्दै थियो। रातभरि परेको झरी बिहानपख थामिएको थियो। डाँडामाथिबाट सूर्यका पहिलो किरणहरू बिस्तारै गाउँभरि फैलिन थालेका थिए। भिजेको माटोको सुगन्ध हावासँगै चारैतिर फैलिएको महसुस हुन्थ्यो। घरमुनिको गोरेटो हुँदै बारीतिर जाने मानिसहरूको आउजाउ सुरु भइसकेको थियो। कसैको काँधमा कोदालो थियो, कसैले मकै गोड्ने कुटो बोकेका थिए। कान्लामाथिका मकैबारीहरू वर्षाको पानीले धुइएर झन् हराभरा देखिन्थे। जुनेलोका बिरुवाले हावाको मन्द स्पर्शसँगै बिस्तारै शिर हल्लाइरहेका थिए। खोल्साबाट बगेको पानीको सुसाइ, छानामाथि फन्को मार्दै गरेका गौथलीको चिरबिर र टाढाको बारीबाट बेला–बेला सुनिने भङ्गेराको स्वरले गाउँको बिहानलाई आफ्नै लय दिइरहेका थिए।
गाउँको बीचतिर ढुङ्गाले छाएको दुईतले पुरानो घरको माथिल्लो झ्यालमा सरस्वती उभिएकी थिइन्। उनको दृष्टि सधैँझैँ आँगनको डिलछेउमा उभिएको पुरानो आँपको रुखतिर पुग्यो। धेरै वर्षअघि घरका मूल मान्छेले आफ्नै हातले रोपेको त्यो बिरुवा अहिले फैलिएको रुख बनिसकेको थियो। रातिको वर्षाले उसका पातहरू पखालिदिएका थिए। पातका टुप्पाबाट चुहिरहेका पानीका थोपा बिहानको घाममा टल्किरहेका थिए। त्यो रुखलाई हेर्दा सरस्वतीलाई लाग्थ्यो, समयले मानिसलाई जति परिवर्तन गरे पनि केही साक्षीहरू भने आफ्नै ठाउँमा उभिइरहँदा रहेछन्।
उमेरले उनलाई अठचालीस वर्षमा पुर्याइसकेको थियो। अनुहारमा समयका हल्का रेखा कोरिएका थिए, तर व्यक्तित्वको गरिमा अझै बाँकी थियो। गाउँमा उनलाई आदर गर्ने मानिसको कमी थिएन। तर सबै दृष्टिको अर्थ एउटै हुँदैन भन्ने कुरा उनको जीवनले सिकाएको थियो। केही आँखाले सम्मान गर्थे, केही आँखाले उनको एक्लोपनलाई नाप्थे।
सरस्वतीले झ्यालको चौकोसमा अडिएको हात बिस्तारै झिकिन्। उनको दृष्टि फेरि एकपटक आँपको रुखमै पुग्यो। त्यसका फराकिला हाँगामुनि बितेका वर्षहरूका असङ्ख्य सम्झनाहरू चुपचाप बसेका झैँ लाग्थे। उनी झ्यालबाट हटिन् र बिस्तारै भुइँतलातिर ओर्लिन थालिन्।
भुइँतलामा ओर्लिएपछि सरस्वतीले मूलढोका खोलिन्। रातिको वर्षाले आँगन धोएर चिटिक्क पारेको थियो। डिलछेउको आँपको रुखमुनि झरेका पात र ससाना हाँगाहरू छरिएका थिए। उनले कुचो उठाइन् र बिस्तारै आँगन बढार्न सुरु गरिन्। कुचोले भिजेको जमिन छोएको मन्द आवाज बिहानको लयसँग मिसिँदै गयो। गौथलीहरू कहिले आँगनमा ओर्लन्थे, कहिले छानाको धुरीमा पुगेर फेरि चिरबिराउँदै उड्थे। टाढा बारीतिर जाने मानिसहरूका बोलाइका स्वर, कोदालो ठोक्किने आवाज र भङ्गेराको मधुर स्वर हावासँगै गाउँभरि फैलिरहेका थिए।
कुचो चलाउँदै गर्दा उनको दृष्टि आँपको रुखको फेदमा पुग्यो। त्यही ठाउँमा उभिएर उनलाई जिस्क्याउने मान्छे सम्झनामा आए। बारीबाट फर्किएपछि केही नभनी चुपचाप नजिक आउँथे। उनी थाहा नपाएझैँ गर्थिन्। अनि एक्कासि उनको पाखुरा चिमोटिदिन्थे। उनी झुट्टै रिसाउँदै भन्थिन्, “नजिस्किनु न, कसैले देख्ला।”
त्यसपछि उनको खुला हाँसो आँगनभरि फैलिन्थ्यो।
त्यो हाँसो सुन्दा सरस्वतीको रिस पनि टिक्दैनथ्यो।
आज त्यही रुख उभिएको थियो। त्यही आँगन थियो। तर उनलाई त्यसरी जिस्क्याएर हँसाउने मान्छे सम्झनाभित्र मात्र बाँकी थिए।
सरस्वतीले झरेका पात बटुलेर डोकोमा हालिन्। केही क्षण आँपको रुखको बोक्रामा हात राखेर उभिरहिन्। खस्रो बोक्राको स्पर्शले मनभित्र दबिएका वर्षहरूलाई फेरि चलाइदियो। हावाको एउटा झोक्का आयो। केही पात फेरि बिस्तारै भुइँमा झरे।
“आमा, चिया तयार भयो,” भित्रबाट बुहारी मनिषाले भनिन्।
सरस्वती घरभित्र पसिन्। टेबुलमा दुईवटा कपबाट बाफ उठिरहेको थियो।
“उहाँ बिहानै बजारतिर जानुभएको हो,” मनिषाले कप अगाडि सार्दै भनिन्, “फर्किन ढिलो हुन सक्छ भन्नुभएको थियो।”
“हुन्छ, छोरी,” सरस्वतीले मृदु स्वरमा भनिन्।
उनले चियाको कप हातमा उठाइन्। झ्यालबाट आँपको रुख फेरि देखियो। त्यही बेला गोरेटो हुँदै हिँडिरहेका दुईजना पुरुषले घरतिर एकछिन दृष्टि रोके। उनीहरू आपसमा केही फुसफुसाए र अघि बढे। सरस्वतीको ध्यान त्यतातिर पुगेन। तर त्यो घरलाई हेर्ने सबै आँखामा एउटै अर्थ भने थिएन।
सरस्वतीले चियाको कप बिस्तारै ओठसम्म पुर्याइन्। अदुवाको हल्का बास्नासँगै न्यानोपन शरीरभरि फैलियो। झ्यालबाट देखिने आँपको रुख बिहानको घाममा उज्यालिँदै थियो। पातका टुप्पामा अड्किएका वर्षाका थोपा अझै टल्किरहेका थिए। हावाको मन्द स्पर्शले हाँगाहरू बिस्तारै हल्लिन्थे र जमिनमा देखिएको आँपको रुखको छायाँ आफ्नै पाराले आँखाले नदेख्ने चालमा सरिरहेको थियो।
मनिषाले आफ्नो कप उठाउँदै भनिन्, “आमा, म गोठतिर गएर घाँस पल्टाइहाल्छु। राति भिजेको थियो।”
“जा छोरी,” सरस्वतीले माया मिसिएको स्वरमा भनिन्, “घाम कलिलो छ तर छिप्पिँदै जाँदा एकैछिनमा सुकिहाल्छ।"
मनिषा बाहिर निस्किन्। सरस्वती भने झ्यालछेउमै बसिरहिन्। आँपको रुखको फेदतिर हेर्दै गर्दा फेरि उनलाई त्यही मान्छे सम्झना आए, जसले घरबाट निस्कँदा “म ढिलो भए ढोका मात्र हेरेर नबस है” भनेर हाँस्दै भन्ने गर्थे। उनी पनि झर्किएझैँ गर्दै भन्थिन्, “आफ्नो काममा ध्यान दिनुस्, मेरो चिन्ता गरिरहनु पर्दैन।”
तर साँझ पर्दासम्म उनी गोरेटोतिर आँखा लगाइरहेकै हुन्थिन्।
आज पनि गोरेटो उही थियो। डिल उही थियो। आँपको रुखको छहारी पनि उस्तै थियो। फर्केर आउने पाइला मात्रै धेरै वर्षदेखि सुनिएका थिएनन्।
यत्तिकैमा भान्साको कुनामा राखिएको पुरानो मोबाइल बज्यो। सरस्वतीले उठाएर हेर्दा रोशनको फोन रहेछ।
“आमा, बजारमा काम अलि लम्बियो,” उसले भन्यो, “आज फर्किन साँझ पर्न सक्छ।”
“आत्तिनु पर्दैन बाबु,” सरस्वतीले सहज स्वरमा भनिन्, “आफ्नो काम सकेर बिस्तारै आऊ।”
फोन काटिएपछि पनि उनले केही क्षण मोबाइल हातमै समातिरहिन्। छोराले धेरै कमाउँदैनथ्यो। बिहान बेलुकाको जोहो, सानो खेती र कहिलेकाहीँको ज्यालामजुरीले जसोतसो घर धानेको थियो। त्यसैले उसको हरेक दिन संघर्षमै बित्थ्यो। यही कारणले सरस्वतीले आफ्ना धेरै चिन्ता आफ्नै मनभित्र राख्न सिकेकी थिइन्।
झ्यालबाहिर फेरि हावा चल्यो। आँपको रुखबाट एउटा पाक्न लागेको पात बिस्तारै घुम्दै आँगनमा खस्यो।
सरस्वतीको दृष्टि त्यसमै अडियो। एउटा पात झर्नु स्वाभाविक थियो किनकि सधैँ पातहरू झर्दथे। तर आज त्यसको झर्नुले उनको मनमा सजिलै मेटिन नसक्ने एउटा आभास छोडेर गयो। गाउँको बिहान उस्तै थियो, तर समय भने चुपचाप अर्को मोडतिर अघि बढ्दै थियो।
◌ ◌
बिहान बिस्तारै चढ्दै गइरहेको थियो। असारको घाम अझै नरम थियो। रातिको वर्षाले भिजेको कान्लाबाट माटोको मीठो बास्ना उठिरहेको थियो। टाढाको बारीमा केही महिला मकै गोड्दै थिए। कुटो ढुङ्गामा ठोकिएको आवाज बेला–बेला हावासँगै घरसम्म आइपुग्थ्यो। गोठतिरबाट गाईको घाँस चपाएको मन्द आवाज सुनिन्थ्यो। गाउँ आफ्नै काममा व्यस्त थियो, तर सरस्वतीको दिन भने सधैँझैँ घरकै वरिपरि घुमिरहेको थियो।
मनिषा घाँस पल्टाएर फर्किसकेकी थिई। भान्सामा दिउँसोको खाना पकाउने तयारी चलिरहेको थियो। सरस्वतीले भकारीबाट मकै झिकेर नाङ्लोमा केलाउन थालिन्। दाना छुट्याउँदै गर्दा उनको ध्यान बेला–बेला खुला ढोकाबाट बाहिर पुग्थ्यो। गोरेटो भएर मानिसहरू आउँथे, जान्थे। गाउँमा कसको पाइला कहाँ रोकिन्छ भन्ने कुरा धेरै बेर लुकिरहँदैनथ्यो।
यत्तिकैमा पल्लो टोलका दुई जना पुरुष आँगननजिक आइपुगे। उनीहरूले पहिले गाउँघरकै सामान्य कुरा गरे। वर्षा, खेती र रोपाइँको चर्चा चल्यो। सरस्वतीले पनि शिष्टतापूर्वक उत्तर दिइन्। केही क्षणपछि कुराको रङ बिस्तारै फेरियो।
“दिदी,” उनीहरूमध्ये एक जनाले स्वर नरम पार्दै भन्यो, “यत्रो घरबारी सम्हाल्न गाह्रो पर्दो हो। रोशन पनि बिहानदेखि बेलुकासम्म दुःख गरिरहेकै छ। अलिकति जग्गा बेचिदिनुभयो भने धेरै सहज हुन्थ्यो।”
सरस्वतीले नाङ्लो छेउमै राखिन्। उनको अनुहारमा न रिस थियो, न हतार। उनले केही क्षण उनीहरूतिर हेरिरहिन्।
“बेच्ने कुरा फेरि नगरिदिनुस्,” उनले संयत स्वरमा भनिन्। “रोशनका बुबाले कसैको भाग खोसेर यो घर बनाउनु भएको होइन। आफ्नै पसिना, लगन र मेहनतले जोड्नुभएको हो। दुःख–सुख जेजस्तो आए पनि उहाँको मेहनतको चिनो म आफ्नै हातले बेच्ने छैन।”
क्षणभर आँगन निस्तब्ध भयो। दुवैले एकअर्कातिर हेरे। उनीहरू मुस्कुराए, तर त्यो मुस्कान भित्री मनबाट आएको थिएन।
“हामीले त तपाईंको भलाइ सम्झेर भनेका हौँ,” उनीहरूमध्ये अर्काले बिस्तारै भन्यो।
“भलाइ सम्झनेले आड भरोसा दिन्छ,” सरस्वतीको स्वर अझै उस्तै शान्त थियो, “आधार नै बेच्नुपर्छ भनेर सम्झाउँदैन।”
त्यसपछि उनीहरू उठे। औपचारिक बिदाइका शब्द साटे र गोरेटोतिर लागे। सरस्वतीले धेरै बेरसम्म उनीहरू गएको दिशातिर हेरिरहिनन्। उनले फेरि नाङ्लो आफ्नै काखमा तानिन् र मकैका दाना केलाउन थालिन्। तर मनको एउटा कुनामा भने आजको कुराकानी चुपचाप बसेर रह्यो। गाउँका सबै मुस्कान एउटै अर्थ बोकेका हुँदैनन् भन्ने कुरा जीवनले उनलाई धेरै पहिल्यै सिकाइसकेको थियो।
बिहानको चहलपहल कम हुँदै गएको थियो। दिउँसोको आगमन आरम्भ भइसकेको थियो। बारीमा काम गरिरहेका मानिसहरू एकछिन विश्राम गर्दै गाग्रीको पानी पिइरहेका देखिन्थे। बादल फेरि डाँडाको टुप्पोतिर जम्मा हुन थालेका थिए। घाम बेला–बेला बादलभित्र पस्थ्यो र फेरि निस्कन्थ्यो। उज्यालो र छायाँले कान्ला पालैपालो छोपिरहेका थिए।
मनिषा भान्सामा थिइन्। सरस्वतीले गोठमा गाईलाई घाँस हालेर फर्कँदै गर्दा गोरेटोतिरबाट दुई महिलाको कुरा कानमा पर्यो। उनीहरू बिस्तारै हिँडिरहेका थिए, तर आवाज भने स्पष्ट सुनिन्थ्यो।
“सुनेकी छेस्? अब त्यो घर धेरै दिन त्यत्तिकै रहँदैन रे।”
“किन र?”
“कसैले किन्ने कुरा चल्दैछ रे। गाउँमै हल्ला छ।”
सरस्वतीका पाइला एकछिन आफैँ रोकिए। उनले पछाडि फर्केर केही हेरिनन्। ती दुवै महिला आफ्नै कुरामा अघि बढे।
घरभित्र पस्दा मनिषाले उनको अनुहार नियालिन्।
“आमा, के भयो?”
“केही होइन, छोरी,” सरस्वतीले सामान्य बन्न खोजिन्, “मानिसका कुरा त हावाजस्तै हुन्छन्, एक ठाउँबाट अर्को ठाउँ पुगिहाल्छन्।”
तर मनिषाले सासूको स्वरभित्र लुकेको थकान महसुस गरिन्। उनले थप केही सोधिनन्।
त्यही साँझ रोशन घर फर्कियो। दिनभरि ज्यालामा काम गरेर आएको थकान उसको अनुहारमा प्रस्ट देखिन्थ्यो। खाना खाने बेला सरस्वतीले दिउँसो सुनेको कुरा सुनाइन्।
रोशन केहीबेर चुप लागेर बस्यो।
“आमा,” उसले बिस्तारै भन्यो, “मैले कसैसँग बेच्ने कुरा गरेको छैन। कसले यस्तो हल्ला फैलायो, बुझ्नै सकिनँ।”
सरस्वतीले छोराको अनुहार हेरिन्। उनलाई थाहा थियो, त्यो उत्तर बनावटी थिएन।
“मलाई पनि त्यही विश्वास छ, बाबु,” उनले शान्त स्वरमा भनिन्। “तर गाउँमा कहिलेकाहीँ झूटो कुरा पनि आफैँ हिँड्न सिक्दोरहेछ।”
भान्साको चुलोमा दाउरा बिस्तारै पड्किरहेको थियो। त्यसको उज्यालोले भित्तामा तीन जनाको छायाँ एकैसाथ हल्लाइरहेको थियो। कसैले धेरै कुरा बोलेन। तर त्यो साँझ तीनै जनाले आ–आफ्नै सोचसँगै खाना खाए। बाहिर गाउँ उस्तै थियो। भित्र भने एउटा नदेखिने चिन्ताले चुपचाप घरभित्र ठाउँ बनाइसकेको थियो।
अर्को बिहान गाउँ फेरि आफ्नै लयमा ब्युँझियो। राति परेको क्षणिक वर्षापछि आकाश खुलेको थियो। कान्लामाथिका मकैका बोटमा पानीका थोपा अझै अडिएका थिए। टाढाको पाखाबाट कोइलीको मधुर स्वर सुनिन्थ्यो। गोरेटो हुँदै बारीतिर जाने मानिसहरूको पाइला फेरि सुरु भइसकेका थिए।
सरस्वती गोठबाट फर्केर आँगनमा राखिएको पिँढीमा केही बेर बसिन्। रातिदेखिको कुराले मन पूर्ण रूपमा शान्त भएको थिएन। त्यत्तिकैमा छिमेकी वृद्धा लक्ष्मीदेवी आँगनमा आइपुगिन्। उनी सरस्वतीसँग वर्षौँदेखिकी आत्मीय थिइन्।
“सरस्वती, एउटा कुरा सुनेर आएँ,” उनले बिस्तारै भनिन्।
“के कुरा दिदी?”
“हिजो तिमीलाई जग्गा बेच्न सम्झाउनेहरू साँझ चौतारामा अर्कै कुरा गर्दै थिए। ‘घर बेच्न तयार भइसकी’ भनेर गाउँभरि हल्ला फिँजाउने योजना रहेछ। तर त्यही बेला उनीहरूकै कुरा सुनेका एक जनाले ‘सरस्वतीले त ठाडै अस्वीकार गरिन्’ भनेर सबैका अगाडि भनिदिएछन्। त्यसपछि उनीहरू एकछिन बोल्नै सकेनन्।”
सरस्वती केही बेर नबोली बसिरहिन्। अनुहारमा न खुसी देखियो, न रिस। केवल गहिरो सास फेरिन्।
“झूट धेरै पर पुग्ला भन्ने सोच्दा रहेछन्,” उनले शान्त स्वरमा भनिन्, “तर सत्यलाई धेरै बेर छेक्न सकिँदैन।”
लक्ष्मीदेवीले टाउको हल्लाइन्।
“तिमी होसियार चाहिँ रहनू। लाज मानेर चुप लागेका मानिस सबै बदलिन्छन् भन्ने हुँदैन।”
सरस्वतीले उत्तर दिइनन्। उनको दृष्टि आँगनपारिको गोरेटोतिर पुग्यो। केही मानिस ओहोरदोहोर गरिरहेका थिए। कसैले नमस्कार गरे, उनले पनि सहज मुस्कानसाथ प्रत्युत्तर दिइन्।
लक्ष्मीदेवी फर्किएपछि उनी बिस्तारै उठिन्। भकारीछेउमा राखिएको मकैको डोको तानेर फेरि दाना सुकाउन थालिन्। हात आफ्नै काममा थिए, तर मन भने पहिलेभन्दा स्पष्ट भएको थियो। अब उनी डराएर होइन, बुझेर अघि बढ्नुपर्ने ठाउँमा आइपुगेकी थिइन्।
घरका भित्ताहरू उही थिए। आँगन उही थियो। बिहान पनि उस्तै थियो। तर सरस्वतीभित्र केही परिवर्तन भइसकेको थियो। अरूको नियत बदल्न नसकिए पनि आफ्नै अडानलाई कसिलो बनाउन सकिन्छ भन्ने विश्वास आज पहिलेभन्दा गहिरो भएको थियो।
◌ ◌ ◌
असारका दिनहरू आफ्नै गतिमा बितिरहेका थिए। बिहानदेखि घाम देखिए पनि दिउँसो नपुग्दै बादल डाँडामाथि जम्मा हुन थाल्थे। हावाले भिजेको माटोको बास्ना गाउँभरि बोकेर हिँड्थ्यो। कान्लामाथिका मकैका बोटहरू दिनप्रतिदिन अग्लिँदै थिए। खोल्साबाट बगेको पानीको सुसाइ उस्तै सुनिन्थ्यो। गाउँको बाहिरी स्वरूप उही थियो, तर मानिसहरूका कुरा भने दिनहुँ नयाँ रूप फेरिरहेका थिए।
त्यो बिहान रोशन गाउँभन्दा तलको सडक विस्तारको काममा ज्यालामजुरी गर्न गएको थियो। मनिषा गोठ र भान्साको काम मिलाउँदै थिई। सरस्वती भकारीमा राखिएको मकै पल्टाउँदै गर्दा आँगनबाहिर कसैको खोकाइ सुनियो।
“घरमै हुनुहुन्छ, दिदी?”
सरस्वतीले बाहिर निस्केर हेरिन्। पल्लो वडाका तीन जना पुरुष गोरेटोमै उभिएका थिए। उनीहरूका अनुहारमा औपचारिक मुस्कान थियो।
“आउनुस्,” सरस्वतीले पिँढीतिर देखाउँदै भनिन्।
उनीहरू बसे। केही बेर खेतीपाती, वर्षा र गाउँकै सामान्य कुराहरू भए। त्यसपछि सबैभन्दा पाको देखिने मानिसले आफ्नो दौरा–सुरुवालको फेर सम्याउँदै बिस्तारै कुरा निकाले।
“दिदी, तपाईंलाई अप्ठ्यारो नलागे एउटा सल्लाह थियो।”
सरस्वतीले शान्त आँखाले उनीतिर हेरिन्।
“गाउँमा अहिले धेरै परिवर्तन हुँदैछ। तल सडक पनि विस्तार हुँदैछ। जग्गाको भाउ बढेको बेला अलिकति बेचेर पैसा सुरक्षित राख्नुभयो भने भोलिका दिन सजिला होलान्।”
सरस्वती केही क्षण मौन रहिन्। उनको दृष्टि उनीहरूका अनुहारमा एक–एक गरेर पुग्यो। त्यसपछि उनी सहज स्वरमै बोलिन्।
“सजिलो जीवन कसलाई चाहिँ मन पर्दैन र? तर सजिलो खोज्दै जाँदा आफ्नै जग उखेलेर फाल्ने काम म गर्न सक्दिनँ।”
तीमध्ये एक जनाले कृत्रिम हाँसो हाँस्यो।
“हामी त तपाईंलाई दुःख नहोस् भनेर...”
“दुःखबाट भागेर सुख पाइँदैन,” सरस्वतीले उसको कुरा पूरा हुन नदिई भनिन्। “यो घर र यो जमिनमा पसिनाको गन्ध मिसिएको छ। त्यही पसिनाको मान राख्नु मेरो जिम्मेवारी हो।”
आँगनमा केही क्षण सबै चुपचाप भए। उनीहरूले फेरि कर गरेनन्। उठे, औपचारिक बिदाइ गरे र गोरेटोतिर लागे। तर फर्कँदै गर्दा उनीहरूमध्ये दुई जनाले एकअर्कातिर हेरेर केही बिस्तारै कुरा साटे। शब्द स्पष्ट सुनिएनन्, तर त्यसको भाव लुकाउन सकिएको थिएन।
सरस्वतीले धेरै बेरसम्म उनीहरू गएको दिशातिर हेरिरहिनन्। उनले भकारीको ढकनी बन्द गरिन् र आँगनको डिलसम्म पुगिन्। तलको गोरेटोबाट मानिसहरू आफ्नै काममा हिँडिरहेका थिए। जीवन उस्तै चलिरहेको थियो। तर उनको अनुभवले एउटा कुरा फेरि सम्झाइदियो—कहिलेकाहीँ मुस्कानभन्दा पनि मानिसको उद्देश्य धेरै बोल्ने गर्छ।
भित्रबाट मनिषाले बोलाइन्, “आमा, खाना पाकिसक्यो।”
“आएँ, छोरी,” सरस्वतीले उत्तर दिइन्।
उनी घरभित्र पसिन्। तर ती मानिसहरू फर्किएपछि पनि उनीहरूको नियतको छायाँ भने सरस्वतीको मनबाट हटेको थिएन।
असारको दिउँसो बिस्तारै ओरालो लाग्दै थियो। केही बेरअघि देखिएको घाम
फेरि बादलभित्र लुकेको थियो। कान्लाबाट तल झर्दै गरेको पानीले गोरेटोका साना ढुङ्गा टल्काइरहेको थियो। बारीमा गोडमेल गरिरहेका मानिसहरू काम टुङ्ग्याएर घर फर्किन थालेका थिए। कतै गाईबस्तु गोठतिर डोर्याइँदै थिए, कतै आँगनमा सुकाउन राखिएको दाउरा भित्र सारिँदै थियो। गाउँको दिन आफ्नै क्रमले साँझतिर ढल्किरहेको थियो।
त्यही बेला रोशन घर आइपुग्यो। निधारभरि पसिना थियो। हातखुट्टामा माटो टाँसिएको थियो। उसले ढोकाछेउमा राखिएको गाग्रीबाट पानी खायो र पिँढीमा बस्यो।
“आज काम धेरै भयो जस्तो छ, बाबु,” सरस्वतीले सोधिन्।
“कामभन्दा कुरा धेरै भए, आमा,” रोशनले थकित स्वरमा उत्तर दियो।
सरस्वतीले छोराको अनुहारतिर हेरिन्।
“के भयो?”
रोशन केही क्षण सोचेर बस्यो।
“काम गर्ने ठाउँमै दुई जनाले मलाई छुट्टै बोलाए। ‘तिम्रो आमालाई सम्झाऊ, घरजग्गा राखेर के फाइदा? बेचेपछि पैसा हातमा आउँछ’ भन्दै थिए। मैले केही उत्तर दिइनँ। तर उनीहरूले धेरै बेरसम्म त्यही कुरा दोहोर्याइरहे।”
मनिषा पनि भान्साबाट बाहिर आइन्। उनले चुलोको धुवाँ लागेको हात साडीको आँचलले पुछ्दै रोशनको कुरा सुनिन्।
“यति धेरै चासो अरूको घरको किन हुँदो रहेछ?” उनले अचम्म मान्दै भनिन्।
रोशनले टाउको हल्लायो।
“चासो हाम्रो दुःखमा होइन, जग्गामा रहेछ।”
सरस्वतीको अनुहारमा कुनै हतार देखिएन। उनले भकारीको छेउमा राखिएको ढकनी मिलाउँदै बिस्तारै भनिन्,
“लोभले पहिले कुरा खोज्छ, त्यसपछि बाटो खोज्छ। त्यसैले हामीले हतारिएर होइन, सम्झेर पाइला चाल्नुपर्छ।”
रोशन आमाको कुरा सुनेर चुप लाग्यो। उसलाई थाहा थियो, आमाले जीवनमा धेरै कुरा भोगेर मात्र यस्ता शब्द बोल्न सिकेकी हुन्।
त्यत्तिकैमा आँगनबाहिरबाट कसैले ठूलो स्वरमा रोशनलाई बोलायो।
“ए रोशन, एकछिन बाहिर निस्क त!”
रोशन बाहिर गयो। गोरेटोमा उभिएका दुई जना गाउँलेले केहीबेर उससँग कुरा गरे। सरस्वतीले झ्यालबाट उनीहरूतिर हेरे पनि शब्द भने प्रस्ट सुनिनन्। केही क्षणपछि रोशन फर्केर आयो।
“के रहेछ?” सरस्वतीले सोधिन्।
“केही होइन,” रोशनले हल्का मुस्कान ल्याउने प्रयास गर्दै भन्यो, “उही पुरानै कुरा। ‘बिस्तारै सोच्दै गर’ भनेर गए।”
उसको मुस्कान आँखासम्म पुगेको थिएन।
सरस्वतीले थप केही सोधिनन्। कहिलेकाहीँ धेरै प्रश्नले भन्दा विश्वासले बढी साथ दिन्छ भन्ने कुरा उनले बुझिसकेकी थिइन्।
बाहिर फेरि हल्का वर्षा सुरु भयो। छानामाथि पानीका थोपा क्रमशः बाक्लिँदै गए। भित्र तीन जना आ–आफ्नै काममा लागे। तर वर्षाको त्यो मधुर आवाजभित्र अब अर्को आवाज पनि मिसिएको थियो—कसैको लोभले हार मानेको थिएन, बरु नयाँ बाटो खोज्दै अघि बढिरहेको थियो।
राति परेको पानी बिहानसम्म थामिएको थियो। असारको आकाशमा बादल अझै तैरिरहेका थिए, तर बीच–बीचबाट निस्केका घामका किरणले भिजेका कान्ला टल्काइरहेका थिए। मकैका बोटहरूमा अड्किएका पानीका थोपा हावाको मन्द झोक्कासँगै झर्थे। गोरेटो हुँदै मानिसहरू आफ्नै कामतिर लागिरहेका थिए। गाउँ फेरि उस्तै देखिन्थ्यो, तर केही दिनयताको घटनाले धेरैको मनमा भने आफ्नै छाप छोडिसकेको थियो।
बिहानै लक्ष्मीदेवी हतारिँदै आँगनमा आइपुगिन्। उनको अनुहारमा यसपालि चिन्ताभन्दा बढी हल्का मुस्कान थियो।
“सरस्वती, अब त कुरा खुलिसक्यो।”
“के भयो, दिदी?”
“तिमीलाई झुक्याएर जग्गा किन्ने योजना बनाउनेहरूकै कुरा हिजो साँझ चौतारामा खुलेछ। एउटाले अर्काको नाम लियो, अर्काले फेरि सबै कुरा उडायो। त्यहाँ बसेका गाउँलेले पनि सबै बुझिहाले। अहिले त उनीहरू आफैँ कसैको आँखामा आँखा जुधाउन नसक्ने भएका छन्।”
सरस्वतीले केही उत्तर दिइनन्। उनले केवल गहिरो सास फेरिन्। मनमा कुनै विजयको घमण्ड थिएन। केवल एउटा भारी बिस्तारै हलुका हुँदै गएको अनुभूति थियो।
त्यसैबेला रोशन पनि बाहिर निस्कियो। लक्ष्मीदेवीले उसलाई हेर्दै भनिन्,
“बाबु, आमाको अडान नडग्मगाएको राम्रो भयो। कहिलेकाहीँ एउटा निर्णयले पुस्तौँ जोगाउँछ।”
रोशनले आमातिर हेर्यो। उसका आँखामा सम्मान झल्किएको थियो।
“आमा,” उसले बिस्तारै भन्यो, “म धेरै कमाउन सकेको छैन। कहिलेकाहीँ तपाईंलाई दुःख दिएको जस्तो लाग्छ।”
सरस्वतीले छोराको काँधमा हात राखिन्।
“दुःख गरिरहेको मान्छेले कसैलाई दुःख दिएको हुँदैन, बाबु। मेहनत छोड्ने मान्छे पो साँच्चै गरिब हुन्छ।”
मनिषा पनि आँगनमा आइन्। तीनै जना केही बेर त्यत्तिकै उभिरहे।
सरस्वतीको दृष्टि बिस्तारै आँगनको डिलछेउमा पुग्यो। वर्षौँअघि रोशनका बुबाले आफ्नै हातले रोपेको आँपको रुख असारको हावामा शान्तसँग उभिएको थियो। उसका फैलिएका हाँगाले आँगनको आधाभन्दा बढी भाग ढाकेका थिए। कति वर्षा आए, कति हावा चले, कति ऋतु फेरिए—तर त्यसले आफ्नो छहारी कहिल्यै फिर्ता लिएन।
उनी बिस्तारै रुखनजिक पुगिन्। खस्रो बोक्रामा हात राखिन्। आँखामा आँसु थिएनन्, तर सम्झनाले मन भरिएको थियो।
मनमनै उनले भनिन्,
“तपाईंले रोपेको छहारी जोगिएको छ। यो घर पनि जोगिएको छ। तपाईंको पसिनाको मान पनि।”
त्यही क्षण हावाको हल्का झोक्का चल्यो। माथिका पातहरू एकैसाथ सर्सराए। घाम बादलबाट निस्केर केही बेर रुखको टुप्पामा अडियो। क्रमिक रूपले फैलिएको छहारी अझ गाढा हुँदै सरस्वती, रोशन र मनिषासम्म आइपुग्यो।
सरस्वती फर्केर परिवारतिर हेरिन्। उनका अनुहारमा धेरै वर्षपछि एउटा शान्त मुस्कान देखियो।
बाहिर गोरेटोमा मानिसहरू आ–आफ्नो बाटो हिँडिरहेका थिए। जीवन कसैका लागि पनि रोकिएको थिएन। तर त्यो घरभित्र एउटा कुरा सधैँका लागि अडिग रह्यो—मेहनतले उभिएको घरलाई लोभले ढाल्न सकेन, र आत्मसम्मानले जोगाएको छहारी समयसँगै अझ बाक्लिएर झांगिँदै गयो।