पहाड मेरा लागि एक सपना हो । मेरो जन्म पश्चिम पहाडमा भयो । सानैमा बाबुआमासँगै तराई गएँ । शरीर तराईमा थियो । मन पनि पहाडमा थियो । पहाडबाट आएका आफन्तका कुरा सुन्दा मेरो पहाड मोह बढाइदिन्थ्यो ।
अलिअलि स्मृतिका झुल्का थिए पहाडका । समयकाल सानो थियो, स्मृतिको संसार भने विशाल थियो । पहाडको घर, मुल फेटने धारा । घरभन्दा नजिकको स्कुल । अनि स्कुलदेखि केही पर मामाघर । सब स्मृतिमा थिए मेरो ।
यसपालि पहाड घर जानुपर्ने भयो । अलिअलि घरको काम थियो । अझ त्यसैमा आफ्नो जन्मभूमि हेर्ने हुटहुटी थियो । एक जना आफन्तको साथ लागेर हिँडे म ।
नेपालबाट नेपाल पुग्नु हाम्रा लागि सपना हो । भारतीय भूमि प्रयोग गर्नु बाध्यता सरह भइसकेको छ ।
बनवासाबाट बिहानै हिँडेको बस साँझ पर्दानपर्दै झुलाघाट पुग्छ ।
ससाना पसल छन् झुलाघाटमा । केही कपडा, भाँडाका पसल पनि छन् । ओहरदोहर चलिरहन्छ सँधै जसो ।
महाकाली पुलले छुट्टाएको छ नेपाल–भारत सीमाना । बिचमा बगिरहेकी महाकाली नदीको आवाजसँगै सुसाइसँगै चलिरहन्छ त्यहाँको दिनचर्या ।
साँझ एउटा सामान्य होटलमा बास बस्यौं । बिहान सबेरै उकालो लाग्ने सल्लाह भयो ।
उज्यालो भइसकेको छ तर घाम लागेको छैन । सूर्य अलि अबेर गरेर आउँछ झुलाघाटमा । मानिस घामको प्रतीक्षा गर्दागर्दै आधा दिन पनि बित्छ कहिलेकाँही ।
उज्यालो भएसँग नित्य कर्म सकेर लाग्यौं उकालो । सीमामा सामानको चेकजाँच अनि प्रहरीको हप्काइदप्काइ त सामान्य जस्तै मानिने रहेछ त्यहाँ ।
म पुल तर्नै लागेको थिएँ, छेउमा रहेको प्रहरी उच्च स्वरमा करायो ।
“कहाँ से आ रहे हो ?” (कताबाट आएको ?)
अग्लो, भुँडीवाल, जुँघे प्रहरीको आवाजसँगै मेरो सातोपुत्लो उड्यो ।
”मै...मै ।” यति भनेर मेरो आवाज अड्कियो ।
“हम महेन्द्रनगर से आए है । पहाड घर जा रहे है ।” (हामी महेन्द्रनगरबाट आएका हौं । पहाड घर गइरहेका छौं ।) म सँगै गइरहेका विष्णु काकाले भने ।
महाकाली पुल तरेसँगै भयबाट मुक्त भएँ म । नजानिँदो डरले समात्ने गर्छ मलाई । अझ त्यसमा प्रहरी देख्दा त यमदुत देखे जस्तो लाग्यो ।
बिहानै उकालो लाग्यौं । काका अघिअघि म पछिपछि । सास फुलेर हैरान थिएँ म । उकालोको कुनै अन्त्य थिएन त्यहाँ ।
सुस्त सुस्त पाइलाले पछ्याइरहेँ विष्णु काकालाई । सुस्ताउँदै हिँड्दै जाँदा धेरै पछि परिसकेको हुन्थेँ । अलि अलि गर्दागर्दा उकालो कम हुँदै गयो ।
“चिन्ता नमान । अब उकालो छैन ।” काकाको भनाइले अलि आशा पलाएर आउँथ्यो ।
जति आश्वस्त गराए पनि यात्रा नटुङिँदासम्म कष्टको यात्रा जारी थियो । खुट्टा दुखेर हैरान थिएँ म ।
अलि अलि गर्दागर्दै यात्रा बढ्दै गयो । त्रिपुरासुन्दरी पुगेपछि अलि सजिलो बाटो आयो ।
दिउँसो ३ बजेसम्म घर पुग्यौ.हामी ।
घर के थियो, एक अस्थिपञ्जर थियो । मर्मतसुधारको आवश्यकता छँदै थियो ।
केही समय सुस्ताएपछि आफ्ना नातागोताका भेटे जति मानिससँग ढोगभेट चल्यो । हालखबर सोध्ने काम भयो ।
बेवारिसे जस्तो अवस्थामा रहेको घरको मर्मत गराउनु थियो । अहिलेको यात्राको प्रमुख उद्देश्य थियो घर मर्मत ।
घरको मुल ढोकाको ताल्चा खोलेर जब भित्र पसेँ, घरको हाल देखेर आफैलाई आफुप्रति रिस उठ्यो । केहि समय अगाडि आएको भए नी हुन्थ्यो । यति ढिलो आएछु भनेर । छत जिर्णावस्थामा पुगेको थियो अनि भित्र माकुरोको जालो र मुसाले कब्जा जमाइसकेको थियो । भुइँको हाल पनि दयनीय थियो ।
ताला बन्द गरेर गएँ म काकाको घर, जहाँ मेरो डेरा थियो ।
त्यो दिन खानपिन अनि आराममै बित्यो ।
अर्को दिनबाट कामदार खोजेर छतको मर्मत गर्नतिर लागिहालँे ।
“अब आए बुदी !” (कहिले आयौ भाइ !) अचानक पछाडिबाट आएको आवाजले झस्किएँ म । पछाडि हेर्दा त माथिल्लो घरकी फुफु रहिछन । मैले उनलाई ढोगभेट गरेँ । उनले मेरो घरपरिवारको बारेमा सोधिन तर आफ्नो बारेमा केहि बताउन चाहिनन् ।
सानो छँदा मलाई खेलाउने, माया गर्ने पार्वती दी । परु दी सँगका पुराना दिन स्मृतिमा ताजा भएर आए । हामीभन्दा केही वर्ष माथि थिइन् उनी ।
आज उनका शरीरमा रातो रङ कतै थिएन । एक शून्यतामा अल्झिएको मौन आकृति ।
“मेरो कि हाल हुन्थ्यो, जब लै एकनासै हो ।” (मेरो के हाल हुन्थ्यो ? सँधै एकनासै त हो ?”) उनको पीडायुक्त स्वरले झस्कायो मलाई । एक छिन मसँग बसेपछि उनी गाईभैंसीलाई पानी दिनुछ भनेर हिँडिन् ।
मलाई त्यहाँ बसिरहन मन लागेन । कामदारहरूलाई राम्ररी काम गर्न निर्देशन दिएर म घुम्न गएँ । उकालो चढदै गएर म मुल बजार पुगँे । त्यहाँ केहि बेर बसेपछि फेरि म घर फर्केँ ।
रात क्रमशः गाढा हँुदै गइरहेको थियो । सुत्नुपर्ने हो मैले तर सुत्न सकिरहेको छैन । मेरो कानमा तिनै आवाजहरू प्रतिध्वनित भइरहेका छन ।
“मेरो की आवाज हुन्थ्यो ?” यहि आवाजले पिछा गरिरहेको छ मलाई ।
म आफ्नो बाल्यकालमा फर्कन्छु, त्यहाँ अनेकन स्पष्ट अस्पष्ट सम्झनाका झुल्काहरू छन । धेरै कुरा भुलियो होला तर कतिपय कुराहरू अझै पनि याद छन ।
सात, आठ वर्षको थिएँ, त्यतिखेर परू दी (पार्वती फुफु) को विवाह भएको थियो । विवाह कार्यक्रम सकिए पछि उनलाई बिदा गर्दा म पनि रोएको थिएँ ।
“आब परू दी सित भेट हुन्या नाइ हो ( अब परू दी सँग भेट हुने भएन ।) मेरी दिदीले यसो भन्दा म झन रोएको थिएँ ।
त्यसपछिका दिनमा माइला बाजे कहाँ जाँदा उनी देखिन्नथिन् । “बज्यै ! दिदी कहाँ छ ?” (बाजे फुफु कहाँ छिन् । ) एकदिन मेरी बहिनीले बालसुलभ जिज्ञासा पोखेकी थिइन ।
“आब पहिला झो भेट हुन्या हो ? परू त आफ्ना घर निइगई । कभै याँ आया बेला भेट होलो ।” (अब पहिला जस्तो कहाँ भेट हुने हो ? परू त आफ्नो घर गइसकी । कहिले आएको बेला भेट होला । ) त्यहीँ पिढीँमा बसेकी हजुरआमाले जवाफ दिएकी थिइन् ।
केही दिन पछिको कुरा हो । परू दी माइत आईन । उहाँसँग एउटा लोग्नेमानिस पनि थियो । हामी उनलाई देख्ने बित्तिकै झुम्मिहाल्यौं ।
“यिन तमरा पुसाँई हुन् । ढोग दिय ।” (उहाँ तिमीहरूका फुफाजु हुनुहुन्छ । ढोग दिईहाल ।) उहाँले यसो भन्दा हामी त्यहाँ भएका सबै केटाकेटीले नयाँ मानिसलाई ढोग दिएका थियौं ।
एक, दुई दिन बसेपछि उनी आफ्नो घर गइहालिन ।
परू दी समय–समयमा माइत आउँथिन अनि आफ्नो घर जान्थिन् । हामी केटाकेटीहरूप्रति उहाँको गहिरो प्रेम थियो ।
पहिले पहिले बढि समय बस्ने परू दी पछि “मेरो त काम ज्यादा छ । आजै झानु पड्या हो । (मेरो त घरमा काम धेरै छ । आजै जानु पर्ने हो ।” भनेर हिँडिहाल्थिन ।
दुई वर्षपछिको कुरा हुनुपर्छ । हामीले माइला बाजेको घरमा चिच्याहटको आवाज सुन्यौं । हामी सब त्यहाँ पुग्यौं । त्यहाँ त घरमा मान्छेहरू रोइरहेका थिए । तिनीहरू मध्ये हजुरआमाको हाल भने अत्यन्त नाजुक थियो ।
उहाँ रूँदै एकहोरो भनिरहनु भएको थियो, “आब मेरी परूको कि हुन्या ( अब मेरी परूको हाल के होला ?) के भएको हो, कसैले पनि बुझ्न सकिरहेको थिएन ।
बुवाले डराई–डराई सोध्नुभयो, “कि भयो काकी ।” (के भयो काकी) । हजुरबाले अत्यन्त दुःखद स्वरमा भन्नुभयो, “बेली ज्वाँईले प्राण छोडेको खबर आयो । (हिजो ज्वाँईको मृत्यु भएको खबर आयो ।) यो कुरा सुन्दा त्यहाँ भएका सबै मानिस दुःखी भए ।
केही महिना पछि परू दी माइत आइन् । उनलाई अर्कै रूपमा देख्दा हामि पनि झसंग भयौं । उनको रूप नै परिवर्तन भएको थियो । कहाँ रातो सारीमा झकमक्क भएर आउने परू दी, आज भने सेतो पहिरनमा थिईन ।
परु दीको शरिर अत्यन्त क्षीण भईसकेको थियो । उनका आँखा कमजोर भैसकेका थिए । माइत आएपछि त्यहाँ भएका केटाकेटीलाई मिश्री, ओखर आदि बाँडेर माया गर्ने परू दी ले यसपल्ट भने त्यस्तो केहि गरिनन् ।
कसैसँग बोलिनन् उनी । पहिले उनलाई देख्दा झुम्मिने हामिहरू भने यसपल्ट उनलाई देखेर डर लागेर आयो ।
त्यहि वर्षको अन्तिमतिर होला, हाम्रो परिवार तराईतिर बसाई स¥यो ।
एक समाजबाट अर्को समाजमा आईपुग्दा हामिलाई अनौठो नै लाग्यो । न बोलिभाका बुझिन्छ, न त ठाउँ नै थाहा छ । कसैले केहि सोध्दा लाटाले झै पक्क पर्नु बाहेक अन्य विकल्प थिएन ।
हामी नयाँ समाजमा घुल्दै गयौं । पुरानो संसार हाम्रो स्मरणबाट टाढा हँुदै गयो ।
नयाँ संसारमा रमाइलोले तान्दै गयो हामीलाई ।
कहिलेकाहीँ बा–आमा पहाडका कुरा गर्नुहुन्थ्यो । पहाडबाट नजिकका दाजुभाइ कोही आए हामी चुपचाप कुरा सुन्ने गथ्यौं ।
“परू बिचारीका भौत दुःख छन । घरका मौजौ भौत दुःख दिनान् । उइकी सासु त मेरो चेलो खाने तुइँ है भुणिबरे गाली गरन्छे भुणणान । कस्याँ कट्या हो परानी ।” ( परू बिचारीले धेरै दुःख पाएकी छ । उसकी सासु त मेरो छोरा मार्ने तँै होस भनेर गाली गरिरहन्छे । कसरी काटने होला जिन्दगी ? ) पहाडबाट आएका एक जना आफन्तले भने ।
“ओहो हाम्री पार्वती दिदी ।”
उनीसँगका स्मृतिका पलक्षण सम्झिँदा मन भक्कानिएर आउँथ्यो ।
पहाडबाट आउने हरेक मान्छेले उनका कष्टका बारेमा बताउने गर्दथे ।
दशैंमा पहाड जाने घर सल्लाह भयो । हामि सबै लाग्यौं गन्तव्यतिर । त्यहाँ जाँदा नौला–नौला कुराहरू थाहा पाइन लाग्यो । हामिले परू दी लाई त्यहिँ भेटयौं ।
“भौत दुःख दिन लाग्या । मुइले सहन गद्दु नाइ सक्या रे याँइ लेइ आयँु । मुइले चेलीका दुःख धेक्कु नाइ सक्या बा ।” ( धेरै दुःख दिन लागे । मैले सहन गर्न सकेन, यहिँ लिएर आएँ । मैले छोरीका दुःख देद्यन सकेन ।) बुवासँग माइला बाजेले आँसु निकाल्दै भन्नुभो ।
केहि दिन बसेपछि हामी तराई फर्कियौंं । समय–समयमा आउने जाने क्रम चलिरहन्थ्यो । पछि उमेर बढदै गएपछि म पनि एक्लै पहाड जान सक्ने भइसकेको थिएँ ।
घर जाँदा परू दी सित पनि भेट हुने गथ्र्यो । जीवनका कुनै आशा, उमंग थिएन उहाँमा । पहिले भेट हँुदा बोल्ने उहाँ पछि–पछि कम बोल्ने भैसक्नु भएको थियो । काममा सँधै व्यस्त जस्तो देखिनुहुन्थ्यो । उहाँले जीवनलाई सहज ढंगले ग्रहण गरिजस्तो लाग्यो ।
यस पटक भने म धेरै दिन बसँे । बुवाले ‘घरको मर्मत राम्ररी गरेर आउनु’ भनेर पठाउनु भएको थियो ।
आफु त्यहाँ नबसेपनि पुर्खाको चिनोलाई भत्किन, बिग्रिन दिनु भएन भन्ने सोच थियो बुवामा ।
श्रीमान बितेपछि परू दी का जीवनमा ठूला परिवर्तन आए । घरमा दुव्र्यवहार, त्यसपछि माइतमा आश्रय लिन पुग्नु, आमा अनि त्यसपछि बुवाको मृत्यु पनि उहाँले हेर्दै जानु भयो । आमा बाको मृत्युपछि दाजुभाइ सँग बस्न थाल्नुभयो ।
म सँग संवेदनाका अनन्त भावना छन तर मेरो संवेदना मात्रले उहाँको जीवनमा कुनै परिवर्तन ल्याउने वाला छैन । मैले यति मात्र भन्न सकेँ, “बकत एकनास नाइ हुनो । आफूलाई बलियो बनौन पडन्छ । तमले केइ काममा लाग्या मन बहलेलो ।” (समय सधैँ एकनास हुँदैन । आफूलाई बलियो बनाउनु पर्छ । तपाईँले कुनै काममा लाग्नुभयो भने मन बहलिन सक्छ ।)
एउटा अल्पविकसित पहाडी समाज, अल्पशिक्षित परू दी अनि अन्धविश्वास अनि कुरीति । हाम्रो समाजमा कहिले परिवर्तन आउला ? म सोचमा डुबिरहन्छु । परम्परागत मान्यताले ग्रसित हामीहरू कसैको दुःखप्रति संवेदनशील हुन्छौं । तर विकल्प दिन सक्दैनौं ।
हाम्रा भावना, चाहना अनि स्वतन्त्रताहरू हरण गरिन्छन् । हामी चुपचाप लागिरहन्छौं । हामी विद्रोह पनि गर्दैैनौं । हामी पछिल्लो पुस्तालाई पनि कायर बनाउँछौंं । पीडामा आनन्द खोज्ने हाम्रो प्रवृति कहिलेसम्म रहला ? यस्तै कुरा सोच्दासोच्दै म निदाउन पुग्छु ।
“मेरा की हाल हुन्थ्यो ?” परू दी ले भन्दै गरेको सपना देख्न पुग्छु । मलाई छटपटी हुन थाल्छ । मेरो निन्द्रा खल्बलिन्छ र म ब्यँुझिन पुग्छु ।
झ्याल खोलेर हेर्छु, चारैतिर अन्धकारले आफ्नो साम्राज्य फैलाइरहेछ । म घडी हेर्न पुग्छु ।
“अब उज्यालो हुन धेरै समय लाग्दैन जस्तो छ ?” यहि सोचेर म बिहानीको प्रतिक्षा गर्दै सुत्न पुग्छु ।
आफ्नो काम सकेपछि घरतिर लागेँ म ।
छ महिना पछिको कुरा हो, गाउँबाट आएका मानिसले सुनाए, “आजकल पार्वतीले सिलाइको तालीम लिएर कपडा सिल्न थालेकी छिन् । उनी गाउँका दिदीबहिनीलाई उद्यमशील यात्रामा लाग्न प्रेरित गर्छिन् ।”
मलाई लाग्यो, अब निराशाका दिन सकिइसकेका छन् । आत्मनिर्भर यात्रामा लागेपछि मानिसले स्वपहिचानको यात्रा प्रारम्भ गर्छ । अब उनका पाइलाले नयाँ सृजनाका आयाम खोजिरहेका छन् ।