प्रारम्भ:
नेपाली साहित्याकाशमा विजय सागर (विजय गोविन्द श्रेष्ठ) एक स्थापित, आदरणीय एवं बहुआयामिक स्रष्टा व्यक्तित्वका रुपमा परिचत कथाकार हुन् । आख्यान, नियात्रा, काव्य तथा सम्पादन साहित्यमा समेत निरन्तर क्रियाशील कथाकार सागरका यसअघि नै सातवटा विविध विधाका कृतिहरू प्रकाशित भइसकेका छन् । उनको आठौँ कृतिका रूपमा पाठकमाझ आएको कथासङ्ग्रह ‘महाभूकम्प’ (२०८३) समकालीन नेपाली जनजीवनका विविध आयाम, सामाजिक विसङ्गति, मानवीय संवेदना र आधुनिकताले भित्राएका जटिलताहरूको सशक्त दस्तावेज हो ।
यस कथासङ्ग्रहमा समाविष्ट १५ वटा कथाहरूमध्ये १२ औँ क्रममा रहेको ‘रित्तो गुँड’ एक सांकेतिक, मार्मिक र गम्भीर सामाजिक–मनोवैज्ञानिक कथा हो । सरकारी सेवाबाट निवृत्त भएपछि आफ्नै पुख्र्यौली थलो पाल्पाको तानसेन फर्किएका मुख्य पात्र हरिप्रसाद बस्याल र उनकी पत्नीको पारिवारिक विघटन, सन्तानको एकांकीपन र एकाङ्गी आकांक्षाका कारण सिर्जित जनसाङ्खिक तथा सामाजिक गतिशीलतालाई कथाले सूक्ष्म रूपमा केलाएको छ । यो कथा संरचनात्मक रूपमा पाल्पाको तानसेनस्थित पुख्र्यौली थलो, बुटवल, काठमाडौँ हुँदै वैश्विक भूगोल (अमेरिका÷अफ्रिका) सम्म फैलिएको छ ।
अघिल्लो पुस्ताले सन्तानका निम्ति गरेको त्याग, बदलिँदो वैश्विक एवं आधुनिक परिपे्रक्ष्यमा युवा पुस्ताको व्यक्तिगत स्वतन्त्रता तथा महत्वाकाङ्क्षा, र यी दुई पुस्ताबीचको गम्भीर दूरीलाई प्राकृतिक विम्ब (ढुकुरको गुँड) मार्फत अभिव्यक्त गर्नु कथाको मुख्य विशेषता हो । प्रस्तुत समीक्षामा ‘रित्तो गुँड’ कथाको समाजशास्त्रीय दृष्टिकोणबाट विस्तारित विवेचना गर्ने प्रयास गरिएको छ ।
‘रित्तो गुँड’ कथाको प्रारुप:
साहित्य र समाजको सम्बन्ध अत्यन्त घनिष्ठ छ । साहित्यले समाजको दर्पणको काम गर्दछ भने समाज नै साहित्यको जननी हो । अधिक साहित्य सृजना समाजकै विषयवस्तु वरिपरी रचित भएको पाउन सकिन्छ । कथाकार विजय सागरले पनि आफ्ना कथाहरु हाम्रै समाजको छिन्द्रान्वेषणबाट उत्खनन गरेका हुन् । यिनको ‘महाभुकम्प’ कथासङ्ग्रहको बाह्रौं कथा ‘रित्तो गुँड’ नेपाली समाजको वस्तुगत चरित्रलाई मार्मिक ढंगले उजागर गर्ने उत्कृष्ट साहित्यिक रचना हो । ज्ञातव्य छ कि नेपाली कथासाहित्यले समय–समयमा समाजका विविध रूपहरूलाई कलात्मक ढङ्गले अभिव्यक्त गर्दै आएको छ । कुनै पनि सफल कथा केवल मनोरञ्जनको साधन मात्र हुँदैन, त्यसले आफ्नो समयको सामाजिक यथार्थ, मानवीय संवेदना, वर्गीय सम्बन्ध, सांस्कृतिक परिवर्तन तथा मनोवैज्ञानिक द्वन्द्वलाई जीवन्त रूपमा अभिव्यक्त गरेको हुन्छ । यही अर्थमा कथाकार विजय सागर समकालीन नेपाली कथासाहित्यका यथार्थवादी प्रवृत्तिका सशक्त स्रष्टा हुन् भन्ने कुरा उनको कथा ‘रित्तो गुँड’ले सम्प्रेषण गरेको बहुआयामिक सन्देशबाट पुष्टी हुन्छ ।
विजय सागरकृत यस कथामा सेवानिवृत्त हरिप्रसाद बस्यालको जीवनयात्रामार्फत आधुनिक नेपाली समाजमा देखा परेको पारिवारिक विखण्डन, सन्तानको परदेशगमन, वृद्ध आमाबाबुको एकलोपन, र पुस्तान्तरको सांस्कृतिक अन्तरलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
सेवानिवृत्त भएपछि हरिप्रसाद बस्याल पैँतीस वर्षको जागिरबाट काठमाडौँ छोडेर पुख्र्यौली घर तानसेन, पाल्पा फर्किन्छन् । उनका छोरा रजनीश डिभी चिट्ठा परेपछि अमेरिका जान्छन् र पछि अफ्रिकाकी काली केटीसँग विवाह गरेर सम्पर्कविहीन हुन्छन् । छोरी सपनाले आइएस्सी पढ्दै गर्दा सहपाठी राई केटासँग प्रेम विवाह गर्छिन् र केही वर्षपछि नाति जन्माउँछिन् । कथा अगाडि बढ्दै जाँदा, हरिप्रसादले आफ्नो घरको बार्दली नजिकै ढुकुरको जोडीले गुँड बनाएको, त्यहाँ बच्चा जन्माएको, बच्चा हुर्किएर उडेर गएको, र अन्त्यमा गुँड रित्तो भएको दृश्य देख्छन् । त्यो रित्तो गुँडले उनलाई आफ्नै जीवनको यथार्थ सम्झाउँछ र उनी भावुक हुन्छन् । कथाले बिट मार्दछ । कथा भित्रको प्रधान विषयवस्तु यही हो ।
कथामा चित्रित नेपाली समाजको वस्तुगत चरित्र:
कथाकार विजय सागरको ‘रित्तो गुँड’ कथाले नेपाली समाजको पारिवारिक संरचनामा आएको आमूल परिवर्तनलाई स्पष्ट रूपमा चित्रण गरेको छ । परम्परागत नेपाली समाज संयुक्त परिवारमा आधारित थियो, जहाँ आमाबाबु, सन्तान, र नातिनातिनाहरू एउटै छानामुनि बस्थे । तर, कथाको पृष्ठभूमिमा देखिन्छ कि हरिप्रसादको छोरा अमेरिका गएको छ, छोरी विवाहपछि आफ्नै परिवारमा व्यस्त छिन्, र हरिप्रसाद दम्पती एक्लै पुख्र्यौली घरमा बस्न बाध्य छन् । यो एकल परिवारको बढ्दो प्रवृत्ति र पारिवारिक सम्बन्धको कमजोर हुँदै गएको अवस्थाको प्रतिबिम्ब हो ।
कथाले नेपाली समाजको अर्को गम्भीर समस्या विदेशप्रतिको आशक्ति र प्रतिभा पलायनलाई उजागर गरेको छ । रजनीशले एसएलसीपछि विज्ञान पढ्न काठमाडौँ जान्छ, त्यसपछि डिभी चिट्ठा परेपछि अमेरिका जान्छ, र अन्ततः त्यहीँ बसोबास गर्छ । उसले आमाबाबुलाई पनि सम्पर्क गर्न छोड्छ । यो नेपाली युवाहरूको विदेश पलायनको यथार्थ चित्र हो, जहाँ शिक्षा र रोजगारको खोजीमा लाखौं युवा विदेश जान्छन्, र धेरैजसो फर्किंदैनन् । यसले वृद्ध आमाबाबुलाई एक्लो बनाउँछ, राष्ट्रिय उत्पादनमा कमी ल्याउँछ, र देशको विकासमा बाधा पु¥याउँछ । यसर्थ यस कथाले सशक्त ढंगले उजागर गरेको अर्को सवाल भनेको बिदेश पलायन र ‘ब्रेन ड्रेन’को समस्या हो ।
सामाजिक–आर्थिक सम्बन्धको विश्लेषण:
क्थाकारले ‘रित्तो गुँड’ कथाका माध्यमबाट नेपाली समाजमा झाँङ्गिदै गएको सामाजिक–आर्थिक सम्बन्धको विषमतालाई सुन्दर ढंगले उत्खनन् गरेकाछन् । कथामा छोरी सपनाले प्रेम विवाह गर्छिन् र पढाइ बन्द गर्छिन् । उनको श्रीमान् ठेकेदार पेशाका घरानियाँ हुन्, त्यसैले उनी आर्थिक रूपमा स्वतन्त्र छिन् । यसले देखाउँछ कि नयाँ पुस्ताले आफ्नो आर्थिक सुरक्षा आफैं बनाउन सक्ने भएकाले आमाबाबुमाथिको निर्भरता घट्दै गएको छ । यद्यपि, यही आर्थिक स्वतन्त्रताले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई पनि कमजोर बनाउँछ, जसलाई हरिप्रसादको पीडाले स्पष्ट पार्छ ।
हरिप्रसाद सेवानिवृत्त भएपछि पेन्सनपट्टा मिलाएर गाउँ फर्किन्छन् । यसले नेपाली सरकारी कर्मचारीको जीवनको यथार्थ चित्रण गर्छ, जहाँ जागिरेले सेवानिवृत्तिपछि पेन्सनको सहारामा जीवन बिताउनुपर्छ । तर, कथा यता मात्र सीमित छैन; यसले पेन्सनले मात्र वृद्धावस्थाको सबै समस्या समाधान नहुने सन्देश पनि दिन्छ । भौतिक सुरक्षाको अभाव नभए पनि हरिप्रसादलाई मानसिक र भावनात्मक सुरक्षाको कमीले ग्रसित बनाउँछ ।
व्यक्तिगत दाउपेच र सामाजिक यथार्थ:
कथामा पुस्तान्तरको सांस्कृतिक अन्तरलाई रोचक ढंगले चित्रण गरिएको छ । हरिप्रसाद र उनकी श्रीमतीले छोरीको प्रेम विवाहलाई सुरुमा ‘इच्छा, आकाङ्क्षा र सपनाहरू धुजाधुजा’ भएको रूपमा अनुभव गर्छन्, तर पछि उनीहरूले ‘मनभरिका पीडा र आँखाभरिका आँसु पिएर’ छोरी र ज्वाइँलाई स्वीकार गर्छन् । यसले पुरानो पुस्ताको परम्परागत सोच र नयाँ पुस्ताको आधुनिक सोचबीचको द्वन्द्वलाई प्रस्तुत गर्छ, जहाँ पुरानो पुस्ताले मन नलागे पनि समयको परिवर्तनसँगै सम्झौता गर्नुपर्छ । नेपाली समाजको परम्परागत ढाँचा बृहत् वा संयुक्त परिवारमा आधारित थियो, जहाँ बहुपुस्ता एकै छानामुनि बस्थे । तर, शिक्षा, जागिर र सहरीकरणका कारण हरिप्रसादको परिवार सुरुदेखि नै एकांकी परिवारमा परिणत भयो । अन्त्यमा, सन्तानको स्थानान्तरणसँगै त्यो ‘खाली गुँड’ मा सीमित हुन पुग्यो । यस वस्तुस्थितिलाई पटाक्षेप गरेर कथाकार सागरले पछिल्लो समयमा आमरुपमा बढिरहेको प्रेम विवाहको प्रवृत्तिदेखि उमेर पुगेपछि छोराछोरी बाबुआमाबाट स्वतन्त्र हुन चाहने र बृद्धवयमा बाबुआमा एक्ले बस्नुपर्ने नियतिलाई स्पष्ट पारेका छन् ।
अन्तरजातीय विवाह र विदेशी संस्कृतिसँगको सम्पर्क:
छोरी सपनाले धरानका सहपाठी राई केटासँग प्रेम विवाह गर्छिन् । यस वाक्यांशमा नेपाली समाजको जातीय संरचना र अन्तरजातीय विवाहप्रतिको दृष्टिकोणको सङ्केत छ । ‘राई’ जातिका केटासँग विवाह गर्नु कुनै समय नेपाली समाजमा जाती मानिदैन्थ्यो, तर अहिले यो सामान्य हुँदै गएको छ । कथाकार सागरले यसलाई नकारात्मक स्वरमा नभई यथार्थपरक ढंगले प्रस्तुत गरेका छन्, जसले समाजको बदलिँदो स्वरूपलाई संकेत गर्छ ।
यसैगरी छोरा रजनीशले अफ्रिकाको घानाकी काली केटीसँग विवाह गरेको कथाक्रमले नेपाली समाजको अर्को जटिल पक्षलाई उजागर गर्छ । यसले देखाउँछ कि विदेशिएका नेपाली युवाहरू अन्तर्राष्ट्रिय संस्कृतिसँग सम्पर्कमा आएपछि उनीहरूको पहिचान र मूल्य मान्यतामा परिवर्तन आउँछ । हरिप्रसादको ‘सुनेको कुरा मात्र थियो त्यो । छोरासँग कुनै सम्पर्क थिएन’ भन्ने वाक्यांशले विदेशिएका सन्तानहरू आमाबाबुको संस्कृतिबाट टाढिँदै गएको यथार्थलाई चित्रण गर्छ । वास्तवमा भूमण्डलीकरणको प्रभावबाट अबको समाज अछुतो रहन नसक्ने परिवेशलाई कथाकारले चोटिलो रुपबाट उठान गरेको देखिन्छ ।
ढुकुरको गुँडको प्रतीकात्मक अर्थ र मानवीय सम्बन्धको सार्वभौमिकता:
कथाको शीर्षक ‘रित्तो गुँड’ आफैँमा एक शक्तिशाली समाजशास्त्रीय र मनोवैज्ञानिक विम्ब हो । प्रस्तुत कथामा कथाकार विजय सागरले उदाङ्ग पारेको सबैभन्दा मार्मिक पक्ष भनेको ढुकुरको गुँडको प्रतीकात्मक प्रयोग हो । हरिप्रसादले देख्छन् कि ढुकुरको जोडीले गुँड बनाउँछ, बच्चा हुर्काउँछ, बच्चा उडेर जान्छन्, र अन्त्यमा गुँड रित्तो हुन्छ । यो ठ्याक्कै उनको आफ्नै जीवनको प्रतिबिम्ब हो, जहाँ उनले आफ्ना सन्तानलाई हुर्काए, तिनीहरू आफ्नो बाटो लागे, र अब घर रित्तो भएको छ । ढुकुरको रित्तो गुँडले हरिप्रसादका पती–पत्नीको एक्लोपन र वियोगको भावनालाई अत्यन्त प्रभावकारी रूपमा प्रस्तुत गर्छ । कथाको अन्त्यमा प्राकृतिक गुँड र हरिप्रसादको मानवीय गुँड (घर) बीच अद्भुत तादात्म्य स्थापित हुन्छ, जहाँ भौतिक समृद्धिका बाबजुद मानवीय सम्बन्ध र भावनात्मक उपस्थितिको घोर अनिकाल देखिन्छ ।
यसका अलवा प्रस्तुत कथाको सौन्दर्य यसले उजागर गरेको मानवीय सम्बन्धको सार्वभौमिकतामा छ । ढुकुरको परिवार र मानवीय परिवारबीचको समानान्तर चित्रणले जीवनको एउटै नियमलाई उजागर गर्छ कि सबै प्राणीले सन्तानलाई हुर्काउँछन्, र तिनीहरू आफ्नो स्वतन्त्र जीवन बाँच्न मूल घर छोड्छन् । यसले मानवीय सम्बन्धको अस्थायी प्रकृतिसँगै जन्म, विकास, र विच्छेदको चक्रलाई प्रस्तुत गर्छ । कथालाई आद्योपान्त अनुशीलन गर्दा अनुभूत हुन्छ कि कथाकार विजय सागरको ‘रित्तो गुँड’ केवल एक परिवार वा एउटा सेवानिवृत्त कर्मचारीको कथा मात्र होइन, यो २१ औँ शताब्दीको आधुनिक नेपाली समाजको साझा नियति र जीवन्त समाजशास्त्रीय दस्तावेज हो । वैदेशिक रोजगार, डिभी मोह, भूमण्डलीकरण र व्यक्तिवादी आधुनिकताले गर्दा आज नेपालका गाउँ–घर र सहरहरूमा हजारौँ ‘रित्ता गुँडहरू’ सिर्जना भइरहेका छन् । र, हुने क्रम जारी छ, जारी रहने देखिन्छ ।
समाजशास्त्रीय र साहित्यिक महत्ता:
प्रस्तुत कथा आकारमा छोटो भए पनि विचारमा विशाल कथा हो । यसले एउटा परिवारको कथा सुनाउँदै समकालीन नेपाली समाजको संरचनात्मक रूपान्तरणलाई सूक्ष्म तर प्रभावकारी ढङ्गले अभिव्यक्त गरेको छ । शिक्षा, वैदेशिक आप्रवासन, अन्तरजातीय विवाह, व्यक्तिगत स्वतन्त्रता, पुस्तान्तरिक सम्बन्ध, वृद्धावस्था, भावनात्मक दूरी र सामाजिक परिवर्तनजस्ता विषयहरू कथामा स्वाभाविक रूपमा गाँसिएका छन् । कथाकारले कुनै पात्रलाई नायक वा खलनायक बनाएका छैनन्, बरु परिवर्तनशील समाजभित्र सबै पात्र आ–आफ्नो परिस्थितिका उपज हुन् भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् ।
माथि पनि चर्चा गरिएको छ, ढुकुरको रित्तो गुँड कथाको सबैभन्दा शक्तिशाली प्रतीक हो । यसले पाठकलाई सम्झाउँछ कि घर केवल इँटा, ढुङ्गा र छानाले बनेको संरचना होइन; सम्बन्ध, उपस्थिति, संवाद र आत्मीयताले बनेको भावनात्मक संसार हो । जब ती सम्बन्धहरू भौतिक दूरी, व्यस्तता वा समयको परिवर्तनसँगै कमजोर बन्छन्, तब घर बाँकी रहन्छ तर ‘गुँड’ रित्तिन्छ ।
समाजशास्त्रीय दृष्टिले यो कथा संरचनात्मक परिवर्तन, सामाजिक एकीकरण सामाजिक पूँजी, आधुनिकीकरण, विश्वव्यापीकरण र पारिवारिक रूपान्तरण जस्ता अवधारणाहरूलाई नेपाली जीवनका वास्तविक सन्दर्भसँग जोडेर बुझ्न सहयोग गर्ने उत्कृष्ट कृति हो । भने साहित्यिक दृष्टिले विजय सागरको शक्ति घटनाको बाह्य चकाचौंधमा होइन, साधारण जीवनभित्र लुकेका असाधारण सत्यहरू उजागर गर्ने क्षमतामा निहित रहेको देखिन्छ । यो कथा त्यही क्षमताको सशक्त उदाहरण हो । यो कथा पढिसकेपछि पाठकले केवल हरिप्रसादको रित्तो घर सम्झँदैन; उसले आफ्नै परिवार, आफ्ना बुबाआमा, आफ्ना सन्तान र बदलिँदो समाजसँगको सम्बन्धबारे गम्भीर रूपमा सोच्न थाल्छ । यही कुनै पनि उत्कृष्ट कथाको सबैभन्दा ठूलो उपलब्धि हो ।
निष्कर्ष:
विजय सागरको ‘रित्तो गुँड’ एउटा साधारण कथा मात्र होइन, यो आधुनिक नेपाली समाजको जटिल यथार्थको गहन चित्रण हो । कथा आकारमा सानो भए पनि यसको भाव, विचार र समाजशास्त्रीय गहिराइ अत्यन्त व्यापक छ । यस कथाले नेपाली समाजमा तीव्र गतिमा विकसित भइरहेको एउटा नयाँ सामाजिक यथार्थलाई अत्यन्त मर्मस्पर्शी ढङ्गले चित्रण गरेको छ । यस कथाले सेवा निवृत्तिको कथा मात्र भन्दैन, बरु पुस्तान्तरको अन्तर, साँस्कृतिक परिवर्तन, आर्थिक विवशता, र भावनात्मक एक्लोपनको मार्मिक चित्र प्रस्तुत गर्छ । ढुकुरको रित्तो गुँडको प्रतीकात्मक प्रयोगले कथालाई सार्वभौमिक बनाउँछ, चाहे त्यो नेपालको तानसेन होस् वा अमेरिकाको कुनै सहर, चाहे त्यो हरिप्रसाद बस्याल होस् वा कुनै अर्को वृद्ध, रित्तो गुँडको वेदना सबैलाई समान छ ।
कथाको अन्त्यमा हरिप्रसादको ‘दुवै आँखा सजल’ हुनु केवल व्यक्तिगत पीडा मात्र होइन, यो समग्र नेपाली समाजको सामूहिक चिन्ताको प्रतिबिम्ब हो, जहाँ लाखौं परिवारका गुँड रित्तिदै छन्, र त्यसको चित्रणले हामी सबैलाई आफ्नो पारिवारिक सम्बन्धको पुनर्मूल्याङ्कन गर्न बाध्य बनाउँछ । यस अर्थमा, ‘रित्तो गुँड’ एउटा साहित्यिक कृति मात्र होइन, यो समाजशास्त्रीय दस्तावेज हो जसले नेपाली समाजको बदलिँदो अनुहारलाई अमर बनाएको छ । समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा विजय सागरकृत ‘रित्तो गुँड’ ले समकालीन नेपाली समाजको संक्रमणकालीन वस्तुगत चरित्रलाई प्रतिविम्बित गर्दछ । परम्परागत सामन्ती÷कृषिप्रधान समाजबाट आधुनिक पूँजीवादी र भूमण्डलीकृत समाजतर्फ रूपान्तरण हुँदै गरेको नेपाली समाजका अनेकौँ वस्तुगत यथार्थहरू कथामा प्रतिविम्बित छन् ।
यतिमात्र होइन, कथाले एकातिर शिक्षा र विकासको नाममा भइरहेको युवा पलायनलाई औँल्याएको छ भने अर्कातिर परम्परागत पारिवारिक मूल्य–मान्यताहरू कसरी विघटन भइरहेछन् भन्ने तीतो यथार्थ पस्किएको छ । अत्यन्त सरल, तर प्रतीकात्मक भाषाशैलीमा रचिएको यो कथाले पाठकलाई भावुक मात्र बनाउँदैन, बरु हाम्रा सामाजिक–आर्थिक नीतिहरू, पारिवारिक दायित्व र आधुनिकताको दिशाबारे गम्भीर प्रश्न उठाउँदै आफैभित्र घोत्लिन बाध्य पार्छ ।
अन्त्यमा, यो कथा पढ्दा पाठकले एउटा वृद्ध दम्पतीको निजी पीडा मात्र अनुभव गर्दैन, उसले नेपाली समाजको रूपान्तरण, परिवारको बदलिँदो संरचना, मूल्य–मान्यताको परिवर्तन, पुस्तान्तरिक दूरी, प्रवासन र आधुनिकताको सामाजिक प्रभावलाई समेत महसुस गर्छ । यस दृष्टिले ‘रित्तो गुँड’ केवल एउटा पारिवारिक कथा नभई समकालीन नेपाली समाजको समाजशास्त्रीय दस्तावेज जस्तै देखिन्छ । कथाकार विजय सागरले कथानकमा कुनै पात्रलाई दोषी ठहर गरेका छैनन्, बरु परिवर्तनशील समाजले सबैलाई आ–आफ्नै ढङ्गले कसरी प्रभावित गर्छ भन्ने कुरा अत्यन्त सन्तुलित र मानवीय दृष्टिले प्रस्तुत गरेका छन् । यसर्थ, यस कथाभित्र कथाकार विजय सागरको लेखकीय परिपक्वता, प्रस्तुती कौशलता र कथ्य सन्तुलनको न्यायिक प्रयोग स्तुत्य रहेको छ ।
कुश्मा, पर्वत