19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रगतिवादी कोणबाट ‘घैंटीको मूल्य’ कथासङ्ग्रहको विश्लेषण

कृति/समीक्षा रामप्रसाद पौडेल October 20, 2026, 6:47 pm

१. पृष्ठभूमि
नारायण मरासिनी प्रगतिवादी कथाकारका रूपमा परिचित छन् । उनका हालसम्म एक गीतसङ्ग्रह, एक मुक्तकसङ्ग्रह, एक खण्डकाव्य र एक कवितासङ्ग्रहका अतिरिक्त तीनवटा कथासङ्ग्रह प्रकाशित छन् । नेपाली कथाको इतिहासमा वर्गीय चेतना, सामाजिक यथार्थ र उत्पीडित वर्गको पक्षधरता बोकेका कथाहरूको महत्व विशेष किसिमको रहेको छ । यसै परिप्रेक्ष्यमा यिनै प्रवृत्तिलाई आत्मसात् गर्दै मरासिनीको ‘घैंटीको मूल्य’ कथासङग्रह (२०८१) प्रकाशित छ । यस सङ्ग्रहमा चौधवटा कथा सङ्कलित छन् । यो नेपाली समाजको वर्गीय संरचना, सामन्ती अवशेष, नव–औपनिवेशिक पूँजीवादी प्रभाव र दलीय विचलनको जीवन्त चित्रण गर्ने एक उत्कृष्ट प्रगतिवादी चेतयुक्त कथाहरूको सङ्ग्रह हो । यस सङ्ग्रहले वर्तमान नेपाली समाजमा विद्यमान वर्गीय द्वन्द्व, साधन–स्रोतमाथिको दलालीकरण, लैङ्गिक उत्पीडन र जातप्रथाको वर्गीय रूपलाई कलात्मक तरिकाले उदाङ्गो पारेको छ । प्रगतिवादी साहित्यको उद्देश्य केवल समाजको विकृतिको चित्रण गर्नु मात्र होइन, यस किसिमको साहित्यले त विकृतिको जडका रूपमा रहेको उत्पादन सम्बन्ध र वर्गीय शोषणलाई उदाङ्गो पार्दै वर्गविहीन समाजको वकालत गर्दछ । ‘घैंटीको मूल्य’ सङ्ग्रहका कथाहरूले नेपाली समाजको सामन्ती समाजबाट पूँजीवादी ढर्रातर्फ भइरहेको सङ्क्रमणकालीन अवस्थाको आलोचनात्मक चित्र उतारेका छन् । माक्र्सवादी दर्शनको द्वन्द्वात्मक भौतिकवादले व्याख्या गरेझैं यस कथासङ्ग्रहका पात्रहरू अलौकिक शक्ति वा भाग्यका भर परेका छैनन् । यहाँका पात्रहरू त ठोस सामाजिक–आर्थिक परिस्थिति, वर्गीय सम्बन्ध र राज्यसत्ताको उत्पीडनका बीच सङ्घर्षरत देखिएका छन् । यस समीक्षामा प्रस्तुत सङ्ग्रहभित्रका कथाहरूलाई प्रगतिवादी, भौतिकवादी र समाजवादी यथार्थवादी कोणबाट विभिन्न उपशीर्षकहरूअन्तर्गत विश्लेषणको प्रयत्न गरिएको छ–
२. वर्गीय द्वन्द्व, भूमिहीनता र सामन्ती शोषणको यथार्थः ‘खोरियाकी आमै’
प्रस्तुत ‘घैँटीको मूल्य’ सङ्ग्रहमा सङ्कलित ‘खोरियाकी आमै’ कथाले नेपाली ग्रामीण समाजमा विद्यमान सामन्ती भू–स्वामित्व र श्रम शोषणको चरम रूपलाई प्रस्तुत गरेको छ । कथामा मनबहादुर भुजेल (खोरिया दाइ) र उनको परिवारले भोग्नुपरेको उत्पीडन प्रगतिवादी दृष्टिकोणबाट वर्गीय शोषणको ज्वलन्त उदाहरण हो । भूमिहीन खोरिया दाइलाई कथित कुलघरानका बाहुनहरूले एउटा झुप्रो बनाएर बस्न र खेतीपाती गर्नका लागि भीरपाखो वा खोरिया सुम्पिएका छन् । खोरियाको माटो मलिलो छैन, गेग्र्यान ढुङ्गाहरू छन्, उर्वरता न्यून छ । उक्त पाखामा बाँदर र अन्य जङ्गली जनावरहरूले पनि सताउने गर्छन् । यो भनेको सामन्ती जमिनदारहरूले सर्वहारा वर्गलाई आफ्नो श्रम शक्ति निचोर्नका लागि मात्र साधनका रूपमा प्रयोग गर्ने रणनीतिको प्रतिविम्ब हो ।
खोरिया दाइले तीन–चार जना सामन्तहरूको घरमा हलो जोत्ने हलियाका रूपमा काम गरेका छन् । एउटा घरमा वर्षभरि हलो जोतेबापत उनले वार्षिक एक मुरी कोदो मजुरी पाउँछन् । उनले दशौंदी ब्याजदरमा लिएको तीन सय रुपैयाँको ऋण चुक्ता गर्न वर्षौंसम्म बँधुवा श्रमिकका रूपमा काम गर्नुपर्छ । यो प्रगतिवादी सिद्धान्तले व्याख्या गर्ने अतिरिक्त मूल्यको सिद्धान्त र श्रमको अमानवीय शोषणको प्रत्यक्ष रूप हो । निरन्तरको कडा श्रम र गरिबीका कारण खोरिया दाइ बिरामी परेका छन् र डाक्टरको अनुहार नै नदेखी ओखतीमूलोको अभावमा हाड र छाला मात्र भएर मरेका छन् । यो मृत्यु केवल शारीरिक कमजोरीको उपज होइन, पूँजीवादी स्वास्थ्य संरचनाले निम्न वर्गलाई गर्ने अमानवीय बहिष्करणको सामाजिक हत्या हो भन्ने कथाको आशय रहेको छ ।
खोरिया दाइको मृत्युपछि उनका सन्तान भारततिर भासिएर हराएका छन् । खोरियाकी आमैले जीवन धान्नका लागि पटक–पटक अन्य पुरुषको आश्रय लिनुपर्ने बाध्यता छ । अन्ततः खोरियाकी आमैका लागि पोखराको गल्लीमा मकै पोलेर गुजारा गर्नुपर्ने र वृद्धभत्ताको सहारामा बाँच्नुपर्ने दुःखद अवस्था आइलागेको छ । यसले सामन्ती शोषणबाट विस्थापित भएको ग्रामीण सर्वहारा वर्ग कसरी सहरी सर्वहारा वर्गमा रूपान्तरित भएर कष्टकर जीवन बिताउन बाध्य हुन्छ भन्ने तथ्यलाई स्पष्ट पारेको छ ।
३. जातीय विभेद र वर्गीय उत्पीडनः ‘गैरेली कोसे’
माक्र्सवादी सौन्दर्यशास्त्रले जातप्रथालाई सामन्ती उत्पादन सम्बन्धको एक रूप मान्दछ, जसले श्रमको विभाजन मात्र गर्दैन, श्रमिकहरूको अमानवीय श्रेणीकरण गर्दछ । ‘गैरेली कोसे’ कथामा जातीय उत्पीडन र वर्गीय दमनको यही अन्तरसम्बन्धलाई विश्लेषण गरिएको छ । सामन्ती समाजले अनावश्यक निहुँ झिकेर आफ्नै दाजुभाइलाई पनि सामाजिक वहिष्कार गरेको हुन्छ । यस्तो समाजले असहाय, कमजोर एवम् विधवा महिलामाथि अमानवीय व्यवहारका साथ चरक दमन गरेको हुन्छ । कोसेकी आमा ‘राँइदाल्नी’ सानैमा विधवा भएकी महिला हुन् । उनलाई सामन्ती समाजले ‘अलच्छिनी’ र ‘बोक्सी’ जस्ता लाञ्छना लगाएर उत्पीडन गरेको छ । उनले आफ्नो अस्मिता जोगाउन र छोरो हुर्काउन गरेको सङ्घर्ष असाध्यैै कष्टकर छ ।
यस कथामा अन्तरजातीय विवाहको सन्दर्भ छ । सामन्ती अहङ्कारको प्रतिशोधका कारण निम्न वर्ग कसरी घर छोड्न बाध्य हुन्छ भन्ने यथार्थलाई कथामा प्रस्तुत गरिएको छ । कोसे (कोषराज उपाध्याय) ले दलित समुदायकी मङ्गली दमिनीसँग प्रेम विवाह गरेको छ । यो विवाह सामन्ती जातीय सर्वोच्चताको अहङ्कारमाथि सर्वहारा वर्गको सांस्कृतिक विद्रोह थियो तर गाउँका सामन्ती बाहुनहरूले कोसेको यस विद्रोहलाई सहन सकेका छैनन् । वर्गीय र जातीय अहङ्कारले दृष्टिविहीन बनेका सामन्तहरूले मध्यरातमा कोसेको घरमा आगो लगाइदिएका छन् । यस आपराधिक कृत्यका कारण गर्भवती मङ्गलीको अकालमै मृत्यु भएको छ । यो प्रगतिवादी कोणबाट सामन्ती सत्ताले दलित र उत्पीडित वर्गको मुक्ति र आत्मनिर्णयको अधिकारमाथि गरेको क्रूरतम प्रहार हो ।
सर्वहारा वर्ग बेसहारा हुनु दुःखद हो । गाउँका सम्पूर्ण दलित, श्रमिक तथा मजदुरहरू सङ्गठित रूपमा उठ्न नसक्नु कमजोरी हो । न्याय दिने राज्य र पुलिस प्रशासन सामन्तहरूकै गोजीमा हुनु तथा दलित र विपन्न वर्ग न्यायका लागि आवाज उठाउन नसक्ने गरी निरीह बन्नुले वर्ग सङ्घर्षको असन्तुलित रूपलाई प्रस्तुत गर्दछ । अन्ततः कोसे घरबारविहीन भई जोगी जस्तो फिरन्ते जीवन बाँच्न बाध्य हुन्छ, जसले समाजको क्रूर यथार्थलाई पुष्टि गर्दछ ।
४. नव–सामन्ती राज्यसत्ता, पूँजीवादी स्वास्थ्य र हुनेखानेको एकाधिकारः ‘कोरोनाको खोप’, ‘साला किस्ने !’ र ‘मिस्टर मायस्थेनियाको काठमाडौँ यात्रा’
प्रगतिवादी दृष्टिमा राज्यलाई उत्पीडक वर्गको पक्षपोषण गर्ने संयन्त्र मानिन्छ । ‘कोरोनाको खोप’ र ‘साला किस्ने !’ कथाहरूले नेपाली राज्यसंयन्त्र कसरी दलाल पूँजीपति र सुकिलामुकिला वर्गको हितमा मात्र सञ्चालित छ भन्ने कुराको भण्डाफोर गरेका छन् । ‘कोरोनाको खोप’ कथामा स्रोत–साधनमाथि पहुँचवालाहरूले जमाएको एकाधिकारलाई उदाङ्गो पारिएको छ । खोप केन्द्रमा कोरोना महामारीको विषम परिस्थितिमा पनि विपन्न र वृद्ध–वृद्धा तथा असहाय नागरिकहरू खोप लगाउनका लागि टन्टलापुर घाममा लामबद्ध छन् । राज्यले लक्षित गरेको वर्ग (वृद्धवृद्धा) ले खोप लगाउन पाएका छैनन् उल्टै पहुँचवाला नेताका कार्यकर्ता, नातागोता र युवाहरूले लाइन मिचेर वा पछाडिको ढोकाबाट खोप हत्याएका छन् । लक्षित वर्गमा नपरेको एउटा ठिटो जो धनी ठेकेदार बाउको छोरो हो उसले वडाध्यक्षको मिलोमतोमा खोप लगाएर गर्वका साथ भनेको छ, “सोझो औंलाले घिउ आउँदैन के अङ्कल !” यस घटनाले राज्यका जनपक्षीय भनिएका कार्यक्रमहरू पनि कसरी बुर्जुवा र टाठाबाठाहरूको कब्जामा पर्छन् भन्ने तीतो यथार्थलाई उजागर गरेको छ ।
‘साला किस्ने !’ कथामा सहिद र सर्वहाराको रगतमाथि बुर्जुवाहरूको रजाइँलाई विषय बनाइएको छ । कथामा सहिद शिक्षक सूर्यप्रसाद (जो सशस्त्र युद्धमा मारिएका थिए) का छोरा देवेन्द्र (आजाद) को उच्च शिक्षा र छात्रवृत्ति खोसेर अवसरवादी दलीय नेता कृष्णप्रसादले आफ्नै छोरा जगन्नाथलाई डाक्टर पढ्न विदेश पठाएका छन् । यो सहिदको रगतमाथि अवसरवादी मध्यमवर्गीय नेताहरूले गरेको विश्वासघात हो ।
उही डा. जगन्नाथ सहरको चल्तीको महँगो प्राइभेट नर्सिङ होम खोलेर पूँजीवादी नाफाखोर बनेको छ । उसले स्वास्थ्यलाई व्यापारीकरण गरेको छ । अर्कोतिर, सहिदको वास्तविक हकदार देवेन्द्र प्रतिभा र क्षमता हुँदाहुँदै पनि पढाइ पूरा गर्न नसकी, गरिबी र अभावका कारण मानसिक सन्तुलन गुमाएर रक्सीको नसामा “साला किस्ने ! आखिर तैंले सहिदको रगत चुसेरै छोडिस् है !” भन्दै चिच्याउँदै हिँडेको छ । यो पात्रको मानसिक विखण्डन वास्तवमा संशोधनवादी र पूँजीवादी दलीय व्यवस्थाले सर्वहारा वर्गमाथि गरेको संरचनात्मक हिंसाको परिणाम हो ।
‘मिस्टर मायस्थेनियाको काठमाडौँ यात्रा’ शीर्षकको कथामा स्वास्थ्यका क्षेत्रमा भएको पूँजीवादी शोषणको प्रस्तुति छ । मायस्थेनिया ग्रेभिस जस्तो गम्भीर रोग लागेका एक जना अस्थायी शिक्षकले स्वास्थ्य र शिक्षा राज्यको दायित्व हुनुपर्ने वकालत गरेका छन् । उनले प्राइभेट अस्पतालमा लाखौं रुपैयाँ बुझाउनुपर्ने र कमिसनखोर डाक्टरहरूले सिफारिस गरेका विदेशी औषधिहरू नेपालमा सजिलै नपाइने परिपाटीको आलोचना गरेका छन् । यसले स्वास्थ्य क्षेत्रमा रहेको क्रूर नवउदारवादी पूँजीवादी ढाँचा र औषधिको कालोबजारीलाई प्रहार गरेको छ ।
५. कम्युनिस्ट आन्दोलनको बुर्जुवाकरण, उपभोक्तावाद र दलीय विचलनः ‘उदय कमरेडको कथा’ र ‘नपचेको मम’
प्रगतिवादी आख्यानको एउटा मुख्य कार्यभार आफ्नै आन्दोलनभित्र छिरेका अवसरवाद, उपभोक्तावाद र दक्षिणपन्थी विचलनको आलोचना गर्नु पनि हो । कथाकारले यस सङ्ग्रहमा कम्युनिस्ट आन्दोलनमा देखिन थालेको तीव्र बुर्जुवाकरण र विचलनमाथि निर्मम प्रहार गरेका छन् । ‘उदय कमरेडको कथा’मा नक्कली भौतिकवाद र अवसरवादलाई उदाङ्गो पारिएको छ । उदय कमरेड सिद्धान्तमा माक्र्सवाद र भौतिकवादको कुरा गर्छन् तर व्यवहारमा उनी भगवत्भक्तिमा लीन हुन्छन् । उनी आफ्नै टोलको भजनकीर्तन समूहका अध्यक्ष छन्, पूजापाठ र वर्णव्यवस्थाका पक्षपोषक छन् । उनी माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादको साङ्गोपाङ्ग अध्ययन नगरी केवल दलीय सदस्यता र भोटको आधारमा आफूलाई कमरेड दाबी गर्छन् र सुख–सुविधाको खोजीमा रहेका छन् । आफ्नै जेठी श्रीमतीमाथि अमानवीय घरेलु हिंसा गर्छन्, जसलाई पछि जनमुक्ति सेनाले कारबाही गरेपछि मात्र अंशियार स्वीकार गर्छन् । उदय कमरेडको यस किसिमको चरित्रले कम्युनिस्ट आन्दोलनभित्र हुर्किएको सङ्कीर्ण गुटबन्दी, वैचारिक शून्यता र सांस्कृतिक पतनलाई छर्लङ्ग पारेको छ ।
‘नपचेको मम’ कथामा पार्टीमाथि दलाल पूँजीपतिको कब्जा र कमरेडहरूको विलासी जीवनशैलीको प्रस्तुति छ । कथामा पार्टी प्रशिक्षण कार्यक्रम सहिदहरूको स्मृति हलमा गर्नुको सट्टा सहरभन्दा टाढाको विलासी र महँगो रिसोर्टमा आयोजना गरिएको छ । कार्यकर्ताहरू रातभरि मदिरा र मासुको विलासी भोजमा डुबेका छन् र क्रान्तिकारी भाषण छाँटेका छन् । यस विलासी कार्यक्रमको सम्पूर्ण खर्च दलाल पूँजीपति र तस्करीमा संलग्न पार्टीका केन्द्रीय कोषाध्यक्ष कमरेड मलहोत्राले व्यहोरेका छन् । इमानदार र पुराना कार्यकर्ता टीकाराम जैसी जस्ता पात्रहरू जो इमानको राजनीति गर्छन्, उनीहरू पार्टीभित्र पाखा लगाइएका छन् । जैसीले कतिपय नेता कमरेडहरूले घाँटीमा भैंसी बाँध्ने दाम्ला जत्रा सुनका सिक्री लगाएको र किसानले मल नपाएर भौंतारिनुपरेको विरोधाभासपूर्ण यथार्थलाई औंल्याएका छन् । अन्ततः रिसोर्टमा खाएको दूषित ममका कारण टीकाराम जैसीलाई आउँ र झाडापखाला चलेको छ । यो ‘नपचेको मम’ वास्तवमा पार्टीभित्र छिरेको दलाल पूँजीवाद र विलासिताको प्रतीक हो जसले इमानदार कार्यकर्ताहरूको राजनीतिक स्वास्थ्य र विचारलाई नै सिध्याइदिएको छ ।
६. नवउदारवादी पूँजीवाद, डिजिटल एकाङ्कीपन र शैक्षिक व्यापारीकरणः ‘उसको एउटा रात’, ‘महाप्राध्यापकको रातो डायरी’ र घैँटीको मूल्य’
नवउदारवादी विश्व पूँजीवादले मानिसलाई उपभोक्तावादी वस्तुमा परिणत गरेको छ, मानिसलाई समाज र वर्ग सङ्घर्षबाट अलग्याएर एकाङ्की बनाएको छ । डिजिटल औपनिवेशिकता र उपभोक्तावादी दासतासँग सम्बन्धित ‘उसको एउटा रात’ कथाले सूचना प्रविधिको विकाससँगै मानिस कसरी सामाजिक सञ्जाल (फेसबुक, टिकटक, युटुब, ए.आई., तास, क्यान्डीक्रस गेम आदि) को चक्रव्यूहमा फसेको छ र आफ्नो वास्तविक उत्पादनशील श्रम समय खेर फालिरहेको छ भन्ने देखाएको छ । यो प्रविधि मानिसको चेतनालाई भुत्ते पार्ने र उसलाई वर्गीय सङ्घर्ष र सामाजिक रूपान्तरणको बाटोबाट विषयान्तर गर्ने सांस्कृतिक साम्राज्यवादको आधुनिक हतियार हो । ‘ऊ’ पात्रले रातभरि अनिँदो बसेर प्रविधिको चक्रव्यूहमा फस्दा बहुराष्ट्रिय कम्पनीहरूको आर्थिक र सांस्कृतिक शोषणको चक्र बलियो भइरहेको महसुस गरेको छ ।
‘महाप्राध्यापकको रातो डायरी’ र ‘घैँटीको मूल्य’ कथामा शिक्षाको दलालीकरण र बौद्धिक दरिद्रताको प्रस्तुति छ । यी दुवै कथाले शैक्षिक क्षेत्रमा छिरेको दलाल पूँजीवाद र नक्कली प्राज्ञिकताको खिल्ली उडाएका छन् । ‘घैँटीको मूल्य’ कथाका उपप्राध्यापक गुणराज आचार्यले “कवि शान्तरामका महाकाव्यमा अक्षर सङ्ख्या” शीर्षकमा पिएचडी (विद्यावारिधि) को उपाधि हासिल गरेका छन् । अक्षर गनेर विद्यावारिधि हासिल गर्नु विश्वविद्यालय तथा प्राज्ञिक क्षेत्रमा मौलाउँदै गएको एक किसिमको शैक्षिक स्खलन नै हो । नेपालमा नेपाली विषयमा विद्यावारिधि तहको अध्ययन–अनुसन्धान निकै फितलो बन्दै गएकामा कथामा चिन्ता व्यक्त भएको छ । ‘महाप्राध्यापकको रातो डायरी’ का प्रमुख पात्र एक प्राध्यापकले विश्वविद्यालयमा प्राध्यापन त गर्छन् तर उनको मुख्य ध्येय गाइड र गेस पेपर लेखेर विद्यार्थीको ज्ञानलाई सङ्कुचित पार्नु र धन कमाउनु हो । उनले प्राध्यापनभन्दा बढी जग्गा दलालीको काम गरेका छन् । उनका सन्तानहरू अमेरिका र अस्ट्रेलिया पलायन भएका छन् । सन्तान विदेशिएकामा उनले गर्व गरेका छन् ।
युवा जनशक्तिको विदेश पलायन अहिलेको समयमा जल्दोबल्दो समस्या बनेको छ । वैचारिक मृत्युका कारण समाज भताभुङ्ग बनेको छ । क्षमतावान् र जुझारु विद्यार्थी नेताहरू पूँजीको अभाव र राज्यको निराशाजनक नीतिका कारण विदेश पलायन भएर डिप्रेसनको सिकार बन्न बाध्य भएका छन् । माथि उल्लेख गरिएका कथाहरूले नेपालको उच्च शिक्षा कसरी पूँजीवादी नाफाखोरी र दलालीको अखडा बनेको छ र यसले सिर्जनात्मक एवं क्रान्तिकारी बौद्धिक चेतलाई कसरी नष्ट गरिरहेको छ भन्ने कुराको भण्डाफोर गरेका छन् ।
७. विपद् व्यवस्थापनमा कमजोरी र राज्यको खोक्रो आश्वासनः ‘भञ्ज्याङको चौतारो’
‘भञ्ज्याङको चौतारो’ कथाले प्राकृतिक विपत्तिका बेला राज्य र यसका सञ्चालकहरू कसरी खोक्रो सहानुभूति र प्रचारबाजीमा मात्र लिप्त हुन्छन् भन्ने तथ्य उजागर गरेको छ । २०५२ सालको भीषण पहिरोका कारण पहाडी क्षेत्रको पाखापखेरामा बस्ने खगनाथ लम्साल जस्ता विपन्न किसानहरूले श्रीमती र दुई सन्तान गुमाउँदै घरबारविहीन बन्नुपरेको छ । बाढीपहिरोजस्ता प्रकोपहरू प्राकृतिक विपत्ति भए पनि यसको मार विपन्न वर्गमाथि नै बढी बज्रिएको हुन्छ किनकि उनीहरू सुरक्षित स्थानमा बस्न सक्ने आर्थिक हैसियत राख्दैनन् ।
प्रकोपग्रस्त क्षेत्रमा मन्त्री र नेताहरूको हेलिकप्टर सयर र सस्तो प्रचार जनमानसमा नराम्ररी बिझेको अवस्था हो । पहिरो गएको केही समयपछि मन्त्री र सांसदहरू हेलिकप्टरमा आएर पीडितहरूलाई ‘मधेसतिर जग्गा र पुनर्वासको व्यवस्था गरिदिने’ जस्ता ठूला–ठूला आश्वासन दिन्छन् र फोटो खिचाएर फर्किन्छन् तर पीडितहरूले राहतका नाममा डेढ महिनापछि जिल्ला प्रशासनबाट मात्र आठ हजार रुपैयाँ पाएका छन् । राज्यले दिएको त्यो आठ हजार रुपैयाँले पीडितहरूका लागि सामान्य झुप्रो बनाउन पनि पुग्दैन ।
राजनीतिक अवसरवादले सीमा नाघेको छ । ती आश्वासन दिने मन्त्री पछि गएर देशको प्रधानमन्त्री बनेका छन् र आफ्ना लागि तिनले काठमाडौँमा भव्य महल ठड्याएका छन् तर पहिरोपीडित खगनाथ लम्सालले भने जीवनको उत्तरार्धमा पनि छोरीको घरमा गोठालो र कुँडोपानी गरेर कष्टकर जीवन बिताउनुपरेको छ । यसरी प्रस्तुत ‘भन्ज्याङको चौतारो’ कथाले संसदीय बुर्जुवा व्यवस्थाभित्रका शासक वर्गले कसरी श्रमजीवी वर्गको आँसु र रगतको जगमा सत्ताको स्वाद चाखेका छन् भन्ने वर्गीय यथार्थलाई पुष्टि गरेको छ ।
८. लैङ्गिक उत्पीडन र पितृसत्तात्मक दमनको वर्गीय रूपः ‘उदय कमरेडको कथा’ र ‘गैरेली कोसे’
प्रगतिवादी दृष्टिकोणले लैङ्गिक उत्पीडनलाई पूँजीवादी र सामन्ती वर्ग सम्बन्धकै एक पाटो मान्दछ । यस सङ्ग्रहका कथाहरूमा महिला पात्रहरू दोहोरो उत्पीडनमा परेका छन्– एकातर्फ वर्गीय उत्पीडन र अर्कोतर्फ पितृसत्तात्मक घरेलु हिंसा । खोरियाकी आमैले श्रीमान् जिउँदो छँदा पनि वर्गीय हिंसा र समाजको अमानवीय व्यवहार भोग्नुपरेको छ । श्रीमान् मरेपछि उनी असहाय बनेकी छन् र समाजका कतिपय दुराचारी बाहुनहरूले उनीमाथि गिद्धे नजर लगाएका छन् ।
उदय कमरेडकी जेठी श्रीमतीले छोरो नजन्माएको निहुँमा श्रीमान्बाट बर्बर शारीरिक र मानसिक यातना सहनुपरेको छ । यो यातना प्रगतिशील भनिने कम्युनिस्ट नेताहरूको घरभित्रै हुनुले कम्युनिस्ट आन्दोलनभित्र वैचारिक रूपान्तरण नभई पितृसत्तात्मक सामन्ती मानसिकता नै हाबी रहेको पुष्टि गर्दछ । गैरेली कोसेकी आमा राँइदाल्नीको सामाजिक वहिष्कार र मङ्गली दमिनीको अमानवीय हत्याले ग्रामीण नेपाली समाजमा महिलाहरू कसरी सबैभन्दा बढी हिंसा र उत्पीडनको निसाना बन्छन् भन्ने देखाएको छ ।
९. प्रगतिवादी चिन्तकको वैचारिक द्वन्द्व र वियोगान्त परिणतिः ‘यस्तो किन ग¥यौ त नि गुरु ?’
‘यस्तो किन ग¥यौ त नि गुरु ?’ कथाले प्रगतिवादी आन्दोलनभित्रका बौद्धिक वर्गको वैचारिक द्वन्द्व र त्यसले ल्याउने निराशाजनक परिणतिलाई चित्रण गरेको छ । यस कथामा एकातिर क्रान्तिकारी चिन्तनको प्रस्तुति छ भने अर्कातिर यथास्थितिमै सन्तोष मान्ने प्रवृत्तिको प्रस्तुति छ । कथामा गोविन्द (कथावाचक) र उनका गुरु दुवै प्रगतिशील विचारका हुन् तर समयक्रममा गुरु आन्दोलनबाट प्राप्त सामान्य उपलब्धिलाई नै महान् युग परिवर्तन भन्दै यथास्थितिमा रमाउन खोजेका छन् भने अर्कोतिर तिनै गुरुका चेला गोविन्दले समाजमा अझै पनि परिवर्तन नआएको हुँदा आमूल परिवर्तन र क्रान्ति चाहेका छन् । यही वैचारिक भिन्नताका कारण पछिल्लो समयमा उनीहरूका बाटाहरू अलग–अलग बन्न पुगेका छन् ।
गुरुले गोविन्दलाई ‘जडसूत्रवादी’ र ‘सङ्कीर्ण’ को आरोप लगाउँदै पत्रपत्रिकामा लेख लेखेर खेदो खनेका छन् । तर जीवनको उत्तरार्धमा तिनै गुरु जसले जीवनभरि प्रगतिशील मूल्य र मान्यताको वकालत गरे, उनी एक्लोपन र निराशाका कारण आत्महत्या गर्न बाध्य भएका छन् । यसले प्रगतिशील आन्दोलनभित्र वैचारिक दिशाहीनता, एक्लोपन र साङ्गठनिक संरक्षणको अभावमा कसरी एउटा बौद्धिक प्रतिभाको दुःखद र अकाल अन्त्य हुन्छ भन्ने प्रगतिवादी चेतलाई प्रस्तुत गरेको छ ।
१०. निष्कर्ष
अन्त्यमा, ‘घैंटीको मूल्य’ कथासङ्ग्रह नेपाली प्रगतिशील र समाजवादी यथार्थवादी आख्यान क्षेत्रको एक सशक्त सङ्ग्रह हो । यस सङ्ग्रहभित्रका कथाहरूले नेपाली समाजको भुइँमा रहेका पात्रहरू— चाहे ती खोरिया दाइ होऊन्, चाहे कोसे र मङ्गली होऊन् अथवा मायस्थेनिया ग्रेभिसबाट पीडित अस्थायी शिक्षक नै किन नहोऊन्— उनीहरूका भोगाइलाई वर्गीय र सामाजिक संरचनाको पृष्ठभूमिमा राखेर विश्लेषणात्मक प्रस्तुति दिएका छन् । यस कथासङ्ग्रहले कम्युनिस्ट आन्दोलनभित्रको सांस्कृतिक स्खलन, दक्षिणपन्थी संशोधनवाद, नवउदारवादी पूँजीवादले ल्याएको उपभोक्तावादी विकृति र नक्कली प्राज्ञिकतामाथि निर्मम वैचारिक प्रहार गरेको छ । कथाहरूले निराशा बाँडेका छैनन्, बरु पाठकलाई समाजको वर्गीय असमानताका विरुद्ध सोच्न र सङ्गठित हुन प्रेरित गरेका छन् । कथाहरूमा भाषाशैली सरल, चोटिलो र विम्बात्मक छ । तसर्थ, प्रगतिवादी नेपाली साहित्यको श्रीवृद्धिमा यस सङ्ग्रहको विशिष्ट र ऐतिहासिक महत्व रहेको छ ।

आँधीखोला– ४, स्याङ्जा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।