19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आधारात

निबन्ध मधुसूदन घिमिरे October 23, 2026, 9:14 am
मधुसूदन घिमिरे
मधुसूदन घिमिरे

म सुत्न सकिनँ । आधारात कटेर दुई बजेर पनि केही समय गयो । एउटा भिडियोले मेर‍ो मथिङ्गल हल्लाइदियो ।मानवता लज्जाले लज्जाइरहेको । अफ्रिकाको कुनै समुदायको थिय‍ो । AI हो कि भनेर नियालेँ । नभएको पत्ता लाग्यो ।आफ्ना सन्तानभन्दा प्रिय अभिभावकका लागि अरू दुनियाँमा कोही हुँदैन । तर घटना विचित्रको थियो ।आफ्नै सन्तानको त्यो पनि बाल्यवयको । यो भन्दा विडम्बना के होला? मलाई तिनी पिताप्रति आक्रोश मनमा कति पनि आएनँ । उनले आफ्नै बच्चाको खाना खोसेर खाइरहेका थिए । मैले उनको मानसिक अवस्था नियाल्ने प्रयास गरेँ ।केही हदसम्म उनलाई मानसिक समस्याभन्दा भोकको समस्या थियो । भोकले आफ्नै सन्तानको खाना खोस्न बाध्य र विवश पिता देखेँ ।

उनी पेट भर्न लालायित थिए । बाँच्न चाहन्थे । मानवता हराइरहेको समाज हो । भोकको महत्त्व अघाएकालाई हुँदैन । भोकले मानवता भन्दैन । पेटलाई पापी भनिन्छ तर के गल्ती पेटको । संसारको असीमित सम्पत्ति सीमित व्यक्तिको हातमा अनि उसकै हातमा विश्व छ । मानवताको जति चर्चा गरे पनि खानै नपाइने मानवताको के अर्थ ? आफ्नै सन्तानको हातको खाना खोसेर खानुपर्ने विवशता निम्त्याउने हामी मानव हौ या होइनौँ ? म अचेल युटुवमा मानवका भिडियोहरुभन्दा पशुपक्षीसम्बन्धी भिडियोहरु हेरेर रमाउँछु ।मानवदेखि डर लाग्न थालेको छ ।म आफू आफैसँग त्रस्त हुन्छु । हामीले सामाजिक नियम बनायौँ ।कानुन बनायौँ । मानवताको पाठ पढायौँ र अन्तिममा मानवताविहीन भयौँ । सेवा गर्नुपर्छ भन्यौँ तर गरेनौँ । पाशविक समाज नियम,कानुन छैन र कार्यान्वयन गर्ने मानिस पनि छैन ।अचेतन होलान् तर एउटा स्थिति बसेको पाइन्छ । बाँच्नका लागि उनीहरुको पनि सङ्घर्ष छ । तर हामी जस्तो लुछाचुँडी देखिँदैन । उनीहरुको दुनियाँ रमाइलो लाग्छ ।आफ्ना लागि सङ्घर्ष र सामूहिकता पाइन्छ ।मान्छेले भन्यो सङ्घे शक्ति कलौ युगे कलियुगमा सङ्घमा शक्ति हुन्छ । बौद्धहरु सङ्घलाई रत्नत्रय मान्छन् । सङ्गठित हुने प्रक्रिया हामीमा मात्र रहेनछ । कयौँ जीव सामूहिकतामा विश्वास गर्छन् । हामी अस्तित्व सङ्कटमा हुँदा सङ्गठित हुन्छौँ । थोर बहुत प्राप्ति हुनथालेपछि विगठित हुँदै जान्छौँ ।

मानिसलाई सृष्टिमा सर्वोत्तम मानिन्छ । यस संसारलाई सुन्दर र आकर्षक बनाउन हामी मानवको महत्त्वपूर्ण देन छ भनिन्छ । तर यही सर्वोच्चता ,थोर बहुत बुद्धि नै धर्तीका लागि अभिशाप बन्दै गएको देख्छु म । मेरा हेराइ दोषपूर्ण होला ।त्यसलाई म स्वीकार गर्छु तर हामीले परिकल्पना गरेको संसार यही हो त? म सोचिरहन्छु तर मेरो सोचाइको के अर्थ छ? मन र दिमाखले सोच्ला छटपटी होला तर परिवर्तन मानसिकतामा देखिँदैन । संसार आफ्नै गतिले परिवर्तन भइरहेको छ । मानव स्वभाव विगतमा रमाउने ,वर्तमानमा बेचैन र भविष्यप्रति निराश देख्छु म । अफ्रिका भनौँ या हाम्रै दूरदराज ।

हामी मानव जुन भूगोलमा जन्मे पनि केही कुरामा समान छौँ होला ।तर असमान छ हाम्रो सोचाइ र क्रियाकलाप । बढे बढे देशले रोपेको मानवता ।साच्चै सबैको सामूहिक प्रयास भए । संसार भोक,रोग र शोकको पीडामा हुन्थ्यो त ? अफ्रिकालाई अफ्रिका बनाउन नदिने र नबनाउने दुवै छन् । अफ्रिकाको अस्तित्व बेच्ने पनि छन् किन्ने पनि होलान् । अफ्रिका यहाँ प्रयोग भए पनि प्रत्येक भूगोलको कथा हो । प्रत्येक समुदायको व्यथा हो । भनाइ कति आकर्षक छ ,भावना कति पवित्र छ । सर्वे भवन्तु सुखिन: ..... यसरी सबै खुसी रहुन् ,सबै निरोगी रहुन्,सबैैले असलमात्र देखुन् ।कोही पनि दुः खको भागीदार बन्नुनपरोस् । हामी पश्चिमभन्दा फरक ट
छौँ । चिन्तन हाम्रो असाध्य उत्कृष्ट। कस्तो मानवको मात्र नभएर सारा चराचर संसारको कल्याणको कामना तर के हाम्रा व्यवहार यस्तो छ? चिन्तनीय विचार हो
। विचारले व्यवहारलाई निर्देश गरेन भने यस्तै हुँदो रहेछ ।मलाई आफ्नै क्षुधाले आक्रान्त सन्तानको भाग खोस्दै गरेको घटनाले दु: खी त बनायो तर यसमा पिताको मात्र दोष सायदै थियो । दोषी हो भने सारा विश्व हो ।हामी नाममात्रका मानव दोषी हौँ । इजरायल,हमास,युक्रेन र रुस, अमेरिका+ इजरायल र इरान यस्ता कयौँ युद्ध साच्चै सभ्य र मानवता स्थापनाका लागि मात्र भएका हुन् । सम्पत्तिमाथि प्रभुत्व कायम गर्ने होडबाजी कहिलेसम्म चलिरहन्छ । मानवता कहिलेसम्म विगठित भइरहन्छ ? मानवता र मानव अधिकार देखाउने दाँत मात्र हुन् कि?

हामी पौरस्त्य धरातलमा जन्मियौँ ।यहाँ भवतु सब्ब मङ्गलम् को भाव पढाइयो तर व्यवहार त्यस अनुकूल बनाइएन ।कयौँ व्यक्तिहरु जन्मिए र मानवताका लागि काम गरे तर त्यसले मात्र मानवता स्थापित हुन सकेन सायद ।दोष अरूलाई दियौँ,जिम्मेवारी बोध भएन । अरु के गर्छन् थाहा छैन तर म पूर्ण मानव बन्न सकिनँ । अरुको दु: खमा दुखी भएर समानुभूति व्यक्त गरिनँ । त्योभन्दा बढ्दा सहयोग आवश्यक भएका समयमा सहयोग गरिनँ । फेसबुकमा हार्दिक श्रद्धाञ्जली पोस्ट गरे तर मलामी गइनँ । कहीँकतै सहानुभूति प्रकट गरेँ तर त्यसभन्दा माथि उठ्न सकिनँ ।मैले मेरो भागमा परेको दोष ग्रहण गर्नुपर्ने हो तर सक्दिनँ र कथम् कदाचित् गर्दिनँ पनि । हामी यसरी नै चलिरहेका छौँ तर कहिलेसम्म भन्ने मूल प्रश्न हो ? य‍ो लेखिरहँदा म मानवता नभएको मानव बनेर लेख्दै छु । हमास र इजरायल युद्धमा आफ्ना दुई सन्तान जोगाउन साइकलमा यता र उता दौडिरहेको पिताको कथा र व्यथाले हामीलाई खिचेन । इजरायललाई त्यस दृश्यले मर्माहत बनाएन ?,हमास मर्माहत भएन?अमेरिका भएन ?कोही भएन? म पनि कदाचित् भइनँ । अन्तरात्मामा मलाई त्यसले पिरोलेन ।हामीलाई कि अत्यन्त नजिकको मानिसको दुर्दशाले केही छिन् परोल्छ त्यसभन्दा ज्यादा आफ्नै व्यथाले मात्र पिर‍ोल्छ ।

हामी आर्यावर्तका वासी भएकामा गर्व गर्छौँ ।यस पावन धर्तीमा देवता रमाउँछन् भनिन्छ । घर घरमा पाञ्चायन पूजा हुन्छ । देशभरिमा कयौँ मठमन्दिर,चर्च,गुम्बा,विहार मदरसा छन् ।तिनले मानवता सिकाउँछन् अथवा अरु नै म भन्न सक्दिनँ । साच्चै हाम्रा मठमन्दिरमा देवताको वास छ त? म सोच्छु ।साच्चै हामी ईश्वरका शरणमा थियौँ भने किन अपराधमा तल्लीन छौँ ?जात,धर्म,वर्ग,समुदायभन्दा माथि उठ्न सकेनौँ । यो धर्ती हामी मानवको मात्र नभएर सारा प्राणीको बराबर हो ।तर यहाँ मानवकै बेहाल देखिन्छ । सुकुम्वासी बस्तीमा निरीह बालबालिकामाथि अथवा आश्रय स्थल माथि डोजर चलिरहँदा हामी किन मौन? समाज हुने खानेको मात्र हो? यसलाई अत्यन्त निराशावादी भन्नेहरु पनि होलान् । आफूलाई लागेको भन्न पाइयो तर मानवता त हुनुपर्यो नि? म विगठित मानवतावादी समाजको उपज हुँ ।मैले नगरेकामा पछुतो हुनुपर्ने तर निर्लज्ज छु । निर्लज्जतामा रमाउँदै लेख्दै छु । ऋग्वेदले उद्घोष गरेको थियो सङ्गच्छत्वं.....सं वो मनांंसि जानताम् भनेर । तर त्यो वेदमै मात्र सीमित रह्यो कि ? मेरो भागमा पर्ने मानवताविरुद्धको सजाय मैले पाउनै पर्छ । मैैले अलिकति पनि प्रयास नगरेकामा खिन्नता चाहिँ छ । म जीवनभरि दुई छाक खान र एक जोर लगाउने कुराको खोजीमा भौँतारी रहेको छु । पाउँदा म अघाएको छु ,भोकोलाई दिउ भन्दिनँ ।भोकोलाई उछिनेर आफ्नै ज‍ोहो गर्न उद्यत छु । अघाए पनि खाने कोसिसमा हुन्छु नत्र अर्को दिनका लागि सञ्चय गर्छु । म यसरी नै मानवता नभईकन मानवताविहीन समाजमा ठुलै सानका साथ बाँचिरहेको छु । ठुल्ठुला मानवताका विषयमा भाषण र प्रवचन गरिरहेकै छु । सकेसम्म र अरुले पत्याएसम्म जीवनभरि यस कर्मलाई निरन्तरा दिइरहने छु । यति गर्दा त पक्कै मानवता स्थापना होला ।मरेपछि यमराजसँग पनि झुट बोलौँला ।ममाथि षड्यन्त्र भयो भनौँला । म मानवताका लागि लडेकै हो तर रेकर्ड सुरक्षित राखिएनछ भनेर बाहना बनाउला । उल्टै यमलोकका कर्मचारीहरुलाई दोष लगाउला । यतिले त मानवता स्थापना गरेको प्रमाणित होला ? नभए अरु केही बाहना त्यस समयमा आइहाल्छ । यसमा चाहिँ मानवतावादी भए झैँ टोपलेर बिदा माग्छु । जय होस् मानवतावादको ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।