19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दशैं त फेरि पनि आउँछ

कविता विमल लामिछाने October 23, 2026, 9:19 am
विमल लामिछाने
विमल लामिछाने

विगत फर्केर आउँदा,
मन उत्सवको उल्लासमा रम्नुअघि,
कताकता अनकन्टार कालखण्डतिर पुग्दो रहेछ ।
त्यही पुरानो गाउँ सम्झिन्छु,
जहाँ कुनै समय नाङ्गा खुट्टा दौडिन्थे,
त्यही लिङ्गे पिङ सम्झिन्छु,
जहाँ आफ्नो पालो कुर्दा घण्टौँ पनि छोटो लाग्थ्यो,
र नयाँ लुगाको त्यो मादक गन्ध,
जसलाई दसैँको बिहानसम्म धेरैपटक हेर्दै राख्दै गरिन्थ्यो ।

त्यतिबेला हाम्रा बालसुलभ ओठबाट खस्ने
एउटै र साझा प्रश्न हुन्थ्यो,
‘बा, दसैँ आउन अब कति दिन बाँकी छ ?’
‘आमा, दसैँ आउन अब कति दिन बाँकी छ ?’
आज पात्रो फेरिएको छ, कारण फेरिएको छ;
दसैँमा देश फर्कन नपाइएला भन्ने चिन्ता छ ।
चाड त उही हो, शरद उही हो,
उही चिसो हावा र उही रातो टीका हो,
उही मन्त्र— ‘आयोड्रोणसुते...’
उही नौ दिनकै जमरा, उस्तै दही–चिउरा र मासु ।
परिवर्तित यो समयको पदचापमा,
उस्तै नरहेका त केवल हामी हौँ !

पहिले दिन गनिन्थ्यो दसैँ आउन,
अहिले दिन गनिन्छ, दसैँबिदा पाउन ।
पहिले दसैँ पर्खन घरमै बसिन्थ्यो,
अहिले घर फर्किन दसैँ पर्खनुपर्छ ।
वर्षहरूले उमेर मात्र बढाएनन्,
हाम्रा अर्थ र प्रतीक्षाहरू पनि फेरिदिए ।
हिजो हामी औँला गन्थ्यौँ दसैँ आउन,
आज ढोकामा बसेर विदेशी छोरो फर्किने दिन गन्दै,
रसिला आँखा पार्नुहुन्छ बा–आमा ।

नयाँ लुगाको थुप्रो छ आज सुट्केश र दराजमा,
तर त्यो बाल्यकालको आतुर प्रतीक्षा छैन ।
दक्षिणाको प्रतिक्षामा मन भरिने दिन गए,
आज परदेशमा कमाइ बढेको छ, तर मन भर्दैन ।
‘एकछिन खेलेर आइहाल्छु” भन्दै
साथीहरूसँग खेल्दै आमालाई कुराएका ती दिन,
आज छुट्टी सकिएर काममा फर्किँदा,
भारी मन बोकेर आमालाई छाड्नुपर्ने
बाध्यतामा बद्लिएका छन् ।

दसैँमा टीका थाप्न बस्दा,
अब दक्षिणातिर आँखा जाँदैन,
आमाबुबाको थर्रथराएको मन
र चाउरिएको अनुहारमा पुग्छ ।
कपालमा फुलेका चाँदीका घेराहरू देखिन्छन्,
र आशीर्वाद दिन उठेका ती काम्ने हातहरूमा,
चुपचाप मनले एउटा अदृश्य डर बोक्छ—
‘अर्को साल पनि यिनै हातले टीका लगाउन पाइएला ?’

बाल्यकालमा लाग्थ्यो—
दसैँ हरेक वर्ष आउँछ, सबथोक जस्ताको तस्तै रहन्छ ।
ठूलो भएपछि बुझियो,
दसैँ त दोहोरिन्छ, तर जीवन दोहोरिँदैन ।
पात्रोमा चाड त फर्कन्छ,
तर बाल्यकाल, आत्मीयता र समय सधैँलाई छुट्छ ।

हिजो दसैँ सकिँदा स्कुल जानुपर्छ भनेर मन दुख्थ्यो,
आज दसैँ नसकिँदै परदेशको बालुवा सम्झेर मन दुख्छ ।
अन्ततः यो मनले यत्ति मात्र मागेको छ—
अर्को दसैँ आउँदा पनि घर फर्किने बाटो उही रहोस्,
ढोकामा पर्खिने आमाबुबाका मुहार उही रहुन्,
र शिरमा आशीर्वाद दिने
ती न्याना हातहरू जीवित रहुन् ।
किन कि, दशैं त फेरि पनि आउँछ ।

दमक, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।