19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नीलकण्ठ' उपन्यासको संरचनागत अध्ययन

कृति/समीक्षा नवीन पौड्याल October 23, 2026, 9:23 am
नवीन पौड्याल
नवीन पौड्याल

१. विषय प्रवेश :
थोरै लेखेर धेरै सफलता र प्रसिद्धि पाउने भाग्यशाली साहित्यकार हुन् मत्स्येन्द्र प्रधान। उनको पहिलो उपन्यास 'नीलकण्ठ' ले धेरै सफलता र चर्चा पाएको हो भने दोस्रो उपन्यास 'आरोहण' ले पनि त्यस्तै ठूलो सफलता पाएको हो। यी दुइवटै उपन्यासले उनलाई सम्मान, श्रेय, पुरस्कार र अमरत्व प्रदान गरेका छन् । उनको जन्म १६ जुलाई, १९३६-मा ह्याप्पिभेली चियाकमान, दार्जीलिङमा भएको थियो। स्नातक तहसम्म औपचारिक अध्ययन गरेका प्रधानले कालिम्पोङको कुमुदिनी विद्याश्रममा अध्यापन गरेपछि सन् १९८६- मा काठमाडौं गई प्रिसियस नर्सरी स्कूलमा काम गरी धेरै वर्षपछि दार्जीलिङ फर्केका थिए। उनको देहावसान ७ मार्च, २०१०- को दिन दार्जीलिङमा भएको हो। उनले 'नीलकण्ठ' उपन्यासका लागि साहित्य अकादमी पुरस्कार (१९६५) र 'आरोहण' उपन्यासका लागि काठमाडौंको 'गंकी बसुन्धरा' पुरस्कार प्राप्त गरेका हुन् ।
उनका लेख-रचनादि फटाक्फुटुक् रूपमा जनदूत, उदय, दियालो, पाइन्स एण्ड केमेलियाज तथा नेपालका पत्र-पत्रिकातिर प्रकाशित भएका छन्। इन्द्रबहादुर राईद्वारा सम्पादित 'भानुभक्त-कृतिअध्ययनहरू' र 'वार्ताहरू' जस्ता पुस्तकमा उनको समीक्षा प्रकाशित भएको पाइन्छ। यद्यपि उनी मूलतः उपन्यासकार नै हुन्। 'नीलकण्ठ' र 'आरोहण' दुइवटा उपन्यासले नै उनी सफल र अमर उपन्यासकार बनेका छन् । 'नीलकण्ठ' उपन्यासले नेपाली उपन्यास क्षेत्रको फाँट फैल्याउने, नयाँ दिशा दिने र नौलो प्रयोग गर्ने योगदान दिएको छ।
फरवरी, १९८४ सालमा दार्जीलिङ ग्रन्थकार सहकारी समितिको प्रकाशकत्वमा प्रकाशित 'नीलकण्ठ' एक विशिष्ट, महत्त्वपूर्ण र प्रयोगशील उपन्यास हो। यसमा परम्परागत उपन्यास ढाँचा, पद्धति र प्रवृत्तिभन्दा भिन्दै र नौलो परिपाटीको प्रयोग पाइन्छ। विषयगत प्रस्तुति पनि नौलो छ।
क) 'नीलकण्ठ' उपन्यासमा विसङ्गतिवादी, अस्तित्ववादी, आयामेली र सामाजिक यथार्थवादी प्रवृत्तिको सम्मिश्रित रूप पाइन्छ। अर्थात्, यी चारवटा वादहरू मिलाई जे र जुन अवस्था र रूप बनिन्छ, त्यही नै यस उपन्यासको वस्तु हो।
ख) 'नीलकण्ठ' मूलतः विसङ्गतिवादी उपन्यास हो। यसमा विसङ्गतिवादका सबै तत्त्व र लक्षण परिलक्षित छन्। मान्छे आफू जन्मनु र मर्नु आफ्नो इच्छाको अधीनमा हुँदैन भने बाँच्न पनि आफूले भनेजस्तो केही हुँदैन। मान्छेको जीवन भन्नु नै जन्मदेखि मृत्युसम्मको एउटा धर्को मात्र ठान्ने र जीवन नै विसङ्गत छ भन्ने विसङ्गतिवाद हो। यस उपन्यासमा मुख्य पात्र लगायत प्रायः सबै सहभागी पात्र-पात्राको जीवन नै विसङ्गत बनेको छ। सबैले बाँच्दाको क्रम-उपक्रम जे-जति प्रचेष्टा गरेका छन् ती सबै निष्फल रहेका छन् र लाचारी, विवशतामा बाँचेका छन् ।
ग) यस उपन्यासमा अस्तित्ववादको प्रयोग पनि पाइन्छ। 'म' पात्रले आफ्नो भविता र अस्तित्व रक्षाको निम्ति कठोर संघर्ष गर्नुपरेको छ। म पात्रले जे-जे निर्णय लिएको छ, ती प्रायः नै गलत प्रमाणित भए तर निर्णय त आफै लिएको छ। निर्णय लिँदा उ आफूलाई समेत सही वा गलत निर्णय लिएँ भन्ने थाहा छैन ।
घ) प्रस्तुत उपन्यास 'नीलकण्ठ' आयामेली लेखनबाट पनि केही मात्रामा प्रभावित देखिन्छ। आयामेली प्रवृत्तिमा पाइने वस्तुका तीन आयाम, सम्पूर्णता, वस्तुता र चित्रात्मक भाषाको प्रयोगले उपन्यास आयामिक प्रवृत्तितिर अनुसरणित रहेको देखिन्छ।'
ङ) प्रस्तुत उपन्यासमा सामाजिक यथार्थवाद त यथावत् छँदैछ। दार्जीलिङे समाजको सामाजिक, आर्थिक, मानसिक, प्राकृतिक, सांस्कृतिक पक्ष लगायत विकृति, विसङ्गति, अनुकूल र प्रतिकूल सबै कुराहरूको यथार्थ चिन्तन र चित्रण गरिएको पाइन्छ। यहाँको सरकारीतन्त्र, सरकारी कार्यालयमा हुने घूसखोरी, उदासीनता, हेल्चेक्रयाइँ, विलम्बितादेखि लिएर समाजमा चल्ने ईष्यां, निन्दा, सहयोग, द्वन्द्व इत्यादि सबै पक्षको चित्रण पाइन्छ।
च) प्रस्तुत उपन्यासमा दार्जीलिडे शहरी आञ्चलिकता पाइन्छ। यहाँको लवाइ-खुवाई, यहाँका मान्छेको सोंचाई, मानसिकता, यहाँ घरि-घरि बदलिने हावा-पानी, मान्छेका दैनन्दिनका दिनचर्या इत्यादि सबैको सूक्ष्म रूपमा चित्रण वर्णन पाइन्छ। मुख्य पात्र 'म'-ले दिनभरि के-के खायो, कहाँ-कहाँ गयो, के-के गयो, यहाँका मान्छे कसरी बोल्छन्, हेर्छन्, बुझ्छन्, सोंच्छन् सबै कुराको उल्लेखन पाइन्छ। दार्जीलिङमा बोलिने नेपाली भाषाको रूप, बढ़ी बहुवचनको प्रयोग, आदरार्थी प्रयोगमा पाइने अनौठोपन, व्याकरणिक रूपको विचलन विर लगायत यहाँको साइनो लगाउने तरीका, जनजिब्रामा चल्ने शब्द प्रयोग सबै कुराको विस्तृत रूपमा वर्णन पाइन्छ। यद्यपि प्रस्तुत उपन्यासको दैनन्दिनका मान्छेका समस्या आञ्चलिक नभएर सार्वभौमिक नै मान्नुपर्छ। विशेष गरी मध्यमवर्गीय समाजको मानिसको दैनन्दिनको गतिविधि र कार्यकलाप देखाइएको छ। यसर्थ, यहाँ आञ्चलिक हुँदाहुँदै सार्वभौमिक बनेको छ।
छ) प्रस्तुत उपन्यासमा चेतनप्रवाह शैलीको पनि प्रयोग पाइन्छ। यसमा 'म' पात्रको मानसमा नै कथावस्तु अघि बढेको छ। उसको मस्तिष्कमा क्रमहीन र विश्रृङ्खल रूपमा आएका सम्बद्ध र असम्बद्ध विचार र भाव यथावत् प्रस्तुत गरिएको छ। बाह्य परिस्थिति र घटनावलीले 'म' पात्रको मानस संसारमा उठेका उत्तेजना, विचारतरङ्ग, भाव, प्रतिक्रिया र स्मृतिहरूलाई सोही क्रममा उपन्यासमा चित्राङ्कन गरिएको छ। यसका साथै यसमा प्रमुख 'म' पात्रले प्रथम पुरुष शैलीमा आफ्ना विचार व्यक्त गर्दै गएर औपन्यासिक विषय र कथ्यको प्रस्तुति गरिएको छ। अतः यसमा स्वगत कथनात्मक शैली लगायत मानसिक प्रलाप र अन्तरङ्ग सम्वाद् पनि पाइन्छ।

२. उपन्यासको नामाकरण:-
'नीलकण्ठ' उपन्यासको नामाकरण नै प्रतीकात्मक रहेको छ। समुद्रमन्थन गर्दा समुद्रका सम्पूर्ण विषादि शिवजीले आफ्नो गलामा अडूकाइराखेका थिए। ती विषादि यदि उनले निले उनी आफैं भष्म हुने, उगेलेर बाहिर फाले अन्य पशु-प्राणी मर्ने । यसर्थ, उनले कण्ठमा राखेकाले नीलो डाम बसेको हो। यस उपन्यासमा पौराणिक मिथकमा मैं 'म' पात्रले त्यस्तै जटिल स्थितिको सामना गर्नुपर्छ। उपन्यासको कथानक प्रसङ्गअनुसार एकापट्टि जेठी भन्ने युवतीले आफ्नो तथाकथित अभिभावक वृद्ध गुरुबाबूको गर्भ बोकेको कुरो 'म' पात्रले घर-समाजमा प्रकाश पारिदिए जेठीको बद्‌नाम र आत्महत्याको सम्भावना छ भने अर्कापट्टि त्यो कुरो घर-समाजमा नभने आफै भष्म अर्थात् आफ्नै दुर्नाम हुने। यसरी 'भालुको कन्पट' भन्ने अर्थ बोकेको उपन्यासको शीर्षक सार्थक छ।

३. उपन्यासको संरचना :-
जम्मा २८३ पृष्ठमा आवद्ध प्रस्तुत उपन्यासमा परिच्छेद संख्या अङ्कित्त नगरेको भए तापनि एउटा खण्ड समाप्त भएपछि पानाको बाँकी भाग खाली राखेर अर्को पृष्ठको केही तलबाट नयाँ खण्ड वा परिच्छेद शुरू गरिएको छ। यस हिसाबमा लामा-छोटा गरी जम्मा तेत्तीसवटा खण्ड वा परिच्छेद रहेका छन् । यसको खण्ड विभाजन पनि समानुपातिक छैन । कुनै खण्ड एक पृष्ठको छ भने कुनै खण्ड अट्ठाइसदेखि बत्तीस पृष्ठसम्म फैलिएका छन्। एउटा खण्डमा प्रायः एउटै कथाको प्रसङ्ग पाइन्छ तथा प्रत्येक खण्डहरूका जोड्नीमा एउटा कथा-श्रृङ्खला पाइन्छ। उपन्यासमा लामा-छोटा अनुच्छेदबाट कथानक अघि बढ़ाउँदै लाँदा कतै संवाद, कतै प्रश्नसूचक प्रसङ्ग, कतै ड्यास देखिन्छन् । भाषिक प्रयोगबाहेक भाषेतर प्रयोगहरू जस्तै प्रश्नबोधक, विष्मयादिबोधक, विभक्ति बाहुल्य, धर्को, कतै शब्दको ठाड़ो रूप, खाली ठाउँ छाडेर (शून्य) इत्यादि जस्ता पराभाषिक तत्त्वहरू पनि समावेश छन् ।

४. उपन्यासको वस्तुविधान:-
' नीलकण्ठ' हरेक औपन्यासिक पक्षबाट सुनियोजित र सुसंगठित उपन्यास हो। यसको कथावस्तु शुरूमा मन्द गतिबाट अघि बढ्दै गएर पछितिर द्वत गतिमा बगेको छ। यसमा म पात्रकै केन्द्रियतामा कथावस्तु अघाड़ि बढ़ेको छ। यसको संक्षिप्त कथासार यस्तो छ एउटा सरकारी कार्यालयको कर्मचारी नायक (म पात्र)-ले एउटा सम्पन्न परिवारकी युवतीलाई बिहे गरेको हुन्छ। उनीहरूको एउटा छोरो पनि हुन्छ । पछिबाट ती दुइ दम्पत्ति बीचमा अहम् र वैचारिक द्वन्द्वले जरा गाड्छ। एकपटक एउटा सामान्य झगडापछि उसकी स्वास्नी छोरो लिएर माइत गई बस्छे। म पात्र नायक एक कर्त्तव्यनिष्ठ, इमानदार, सज्जन र सामाजिक कार्यकर्ता हुन्छ। उसको घरको छेवैमा एउटा परिवार बस्छ जसलाई उ दाजु-भाउजू भनी सम्बोधन गर्छ र सम्बन्ध पनि एकदमै अत्यन्त आत्मीय, पारिवारिक र न्यानो हुन्छ । यस बीचमा रक्सी उ पसलकी रेणुकालाई ट्यूशन पनि पढाउँछ। त्यस्तैमा उसको सहकर्मी बड़ाबाबूको एउटा मोटर दुर्घटनामा मृत्यु हुन्छ । उसले बड़ाबाबूको घर-परिवारप्रति सहानुभूति र सहयोगको भावना राख्छ । राख्छ। यता छिमेककी भाउजू विरामी भएपछि एक दिन देहान्त हुन्छ। दाजुले रक्सी पिउने बानी बसालेपछि घर भताभुङ्ग हुन्छ औ म पात्रले धेरै मात्रामा सम्हाली दिन्छ। भाउजूको अन्त्येष्टि क्रियापछि म पात्रकी स्वास्नी घर फर्केर आउँछे र उनीहरूको पुनर्मिलन हुन्छ। यता दाजुले अर्को स्त्री बिहे गरेपछि उसको घर सम्हालिन्छ। उता बड़ाबाबूकी बिहा हुन नसकेकी कुरूपा जेठी छोरी आफ्नै अभिभावक र बाबु-समानको वृद्ध गुरुबाबूको गर्भबोक्छे तर त्यसको केही महिनामा गुरुबाबूको हठात् मृत्यु हुन्छ। एक दिन जेठीले उसलाई (म पात्रलाई) गर्भपतन गराउन सहयोग माग्छे जो निकै जटिल भइसकेको हुन्छ। स्थानीय डाक्टरले नसक्ने भएपछि सिलगढ़ीमा जेठीलाई गर्भपतन गराउन म पात्रले लान्छ। सिलगढ़ीको अस्पतालका कर्मचारीहरूले जेठीलाई 'म' पात्रकै पत्नी भन्ठान्छन् । गर्भपतन गराएर जेठीको घर ल्याइपुयाउँदा सबै उहीमाथि नराम्रो शंका गर्छन्। केही दिनपछि जेठी मर्छ। मामला त सकिएको थियो तर एक दिन छिमेकी नयाँ भाउजूकी बहिनी नर्सले दिदीको घर के आउँदा जेठीलाई 'म' पात्रले सिलगढ़ी अस्पतालमा गर्भ-पतन गराउन ल्याएको सु कुरो पर्दाफास गरिदिन्छे। छिमेकी लगायत सहकर्मीहरू सबै रिसाउँछन् । स्वास्नी पनि उसलाई छोडेर फेरि माइतै जान्छे। उ निर्दोष भए तापनि परिस्थितिले उसलाई दोषी ठहऱ्याउँछ।
यस उपन्यासको कथानक क्षीण रहेको छ। एउटा सानो कथानकको डोरीलाई समातेर उपन्यास अघि बढ्छ। म पात्रले आफ्नो तरङ्ग, गन्थन र भावनालाई पोखाउँदै कथालाई अघिल्तिर लगेको पाइन्छ। कथावस्तु अग्रगामी र रैखिक ढाँचाको छ। कतै पूर्वद्वीप्ति शैली पनि अपनाइएको छ। यसको आधिकारिक कथावस्तु 'म' पात्रसित आबद्ध रहेको छ भने छिमेकी दाजु, रेणुका, बड़ाबाबू र जेठी आदिका प्रासङ्गिक कथानकहरूले मूल कथानकको विकास र उत्कर्ष दिन सघाउ पुऱ्याएका छन्। म पात्रले आफ्ना गन्थन र उद्वेग, क्षोभ, करुण, आक्रोश जस्ता भावनाहरू पोखाउँदै कथावस्तु अघि बढाएको छ। 'म' पात्रकै मानसिक संघर्ष र भावलाई बढी झल्काइएको छ। यस उपन्यासमा एकालापीय ढाँचाको प्रयोग भएको छ। कथानकको विकास सँगसँगै कुतूहलले पनि पाठकहरूलाई तान्दै लान्छ। म पात्रलाई स्वास्नीले छोडेपछि के अवस्था हुन्छ? छिमेकी भाउजूको स्वास्थ्य पछि ठिक हुन्छ कि हुँदैन? छिमेकी भाउज्यू मरेपछि दाजुले के गर्छन् ? म पात्रकी स्वास्नी घरमा फर्केर आउँछे कि आउन्न? बड़ाबाबू मरेपछि उसको घरमा के होला। जेठीको गर्भपतन सम्बन्धी के हुन्छ होला? इत्यादि प्रश्नहरू निस्कँदै जान्छन् र तिनका उत्तरहरू पनि पाठकहरूले क्रमशः रूपमा पाउँदै जान्छन् । कथावस्तुको बुनोट पक्ष अत्यन्त सफल र सबल रहेको छ। उपन्यासको शुरूवात् एउटा सानो कुरामा म पात्रलाई उसकी स्वास्नीले छाडेर गएदेखि शुरू हुन्छ। म पात्र एक्लै शून्यतामा बस्छ। उसलाई छिमेकी दाजु-भाउज्यूले अभिभावकत्व प्रदान गर्छन् । उसको अफिसको अवस्था, बड़ाबाबू र अन्य सहकर्मीसित उसको सम्बन्ध, रामबाबूसित भेटमा दार्जीलिङको महाकाल बाबाको कुरा निस्केको, रेणु र उसको सानो भाइलाई म पात्रले ट्यूशन पढ़ाउने व्यवस्था गर्नु इत्यादि घटनावलीबाट उपन्यासको आरम्भ हुन्छ। उपन्यासको मध्यभागमा छिमेकी भाउजूको स्वास्थ्य दिनदिनै बिग्रँदै जानु, एक रात सड़क दुर्घटनामा परी अफिसको बड़ाबाबूको असामयिक निधन हुनु । एक दिन छिमेकी भाउजूको पनि देहावसान हुनु, दाजुमा दिनहुँ मात्ने बानी बस्नु, म पात्रको बड़ाबाबूको परिवारप्रति सहानुभूति हुनु, म पात्रकी स्वास्नी फर्केर आउनु इत्यादि घटनावली हुन् । यसै गरी बड़ाबाबूकी छोरी जेठीले अभिभावक र संरक्षक भनाउँदो गुरुबाबूको पेट बोक्नु तर आफ्नो घर गएको गुरुबाबू घरमै हार्टएटेक भई मर्नु र यता जेठी बिलखबन्दमा पर्नु, जेठीले म पात्रलाई गर्भपतनका लागि गुहार माग्नु, म पात्रमा द्वन्द्व हुनु, स्थानीय डाक्टरले बेला बितिसकेको ठहर गरी गर्भपतन गर्न नसक्ने बताउनु, म पात्रले जेठीलाई सिलगढी लानु र त्यहाँ गर्भपतन गराउनु, त्यहाँबाट फर्केर आएपछि केही दिनमा जेठी मर्नु र ४ सबैजनाले म पात्रलाई नै दोषी तुल्याउनु, म पात्रकी स्वास्नीले यही कुराले गर्दा उसलाई फेरि छाडेर जानु यस उपन्यासको समाप्ति भागका घटनावली हुन् ।
उपन्यासमा रेणुको आफ्नै उपकथा छ। एन० के० सर भनाउँदो आफ्नै शिक्षकले उसलाई बलात्कार गर्न खोज्छ। परी एउटा मान्छेसँग उसको बिहे निश्चित हुन्छ। त्यो उसलाई बिहे गर्नेवाला पछिबाट आंमा र म पात्रको करमा परी एउटा मान्छेसँग उसको बिहे निश्चित हुन्छ । त्यो उसलाई बिहे गर्नेवाला पुरुष र त्यस पुरुषलाई पाल्ने आमाबीच अनैतिक सम्बन्ध रहेको रेणुलाई थाहा थियो तर उसले बताउन सक्दिन। आमालाई पछि बताउँदा आमाले पनि पत्याउँदिन। बाध्य भई रेणु त्यही व्यक्तिसित बिहे गर्न राजी हुन्छे तर त्यसभन्दा अघि आफूलाई बलात्कार गर्नखोज्ने एन० के० सरसित नै घुमफिर गरी र अरूसित समेत लस्पस् गरी मैली भई बिहेको निम्ति तयार पर्छ। उसको बिहेपछि भने उसको उपकथा टुङ्गिन्छ। त्यस्तै गरी अरू पनि ससाना घटना, उपघटना, सन्दर्भ, प्रसङ्ग इत्यादि पाइन्छन् । उपन्यासको मूल वस्तु म पात्रको विकट स्थिति हो जो अन्तिम चरणतिर चुलिएर गएको छ, त्यसको अभिमुखी बनाई उपन्यासको प्रारम्भदेखि नै वस्तु त्यस अभीष्ट प्राप्तिको निम्ति एकोन्मुख भई अघि बढेको छ। कथावस्तु विस्तारका निम्ति संवादको पनि घरि-घरि प्रयोग गरिएको पाइन्छ भने त्यस्ता संवादबीच पनि घटना र कथावस्तुको संकेतन र अभिमुखीकरण गरिएको पाइन्छ।

५. 'नीलकण्ठ' उपन्यासको चरित्रविधान:-
यस उपन्यासको पात्रविधान नौलो परिपाटीको छ। म मात्र केन्द्रिय पात्र हो। उसकै सेरोफेरोमा कथावस्तु बुनिएको छ। उसकै सम्पर्कका, सम्बन्धका पात्रहरू म उपस्थित छन्। यद्यपि पात्र-पात्राहरूको निकै भीड़भाड़ छ। नायक म पात्र प्रमुख सहभागी पात्र हो भने उसकी स्वास्नी, छिमेकी दाइ, दाइका अघिल्ली र पछिल्ली पत्नीहरू, सानी, बड़ाबाबू, जेठी, जेठीकी आमा, हरिकिशन, रेणु, रेणुकी आमा, राईबाबू, गोरे, गुरुबाबू, छोटाबाबू, सहायक पात्र-पात्रा हुन् । सानीको भाइ, म पात्रको छोरो, म पात्रको जेठान, नयाँ भाउजूकी बहिनी, अफिसको साहेब, अस्पतालका डाक्टर र नर्सहरू, बड़ाबाबूका अन्य छोरा-छोरी, एन० के० सर, रेणुको भाइ, ड्राइभर, मीत आमा, गौण पात्र-पात्रा हुन् । कफी बेच्ने केटो, गाड़ी दुर्घटनादेखि म पात्रलाई तान्ने मान्छे, बाटामा भेटेका मान्छेहरू, पुलिस इत्यादि अतिगौण पात्र-पात्रा हुन् । मान्छेका जीवनमा चाहिने र नचाहिने सबै किसिमका मान्छेहरूसँग परिचय हुन्छ। उपन्यासमा पनि चाहिँदा र नचाहिँदा मान्छेहरू समाविष्ट छन्। म पात्र आँखाले देखेका, भेटेका र उसले चिनेका मान्छेहरू नै यस उपन्यासका पात्र-पात्रा हुन् ।
म पात्र एक प्रकारले इमानदार, दयालु, सहयोगी, समाजसेवक व्यक्तित्व हो। उ आफ्ना छर-छिमेकी, साथी-भाइ, सहकर्मी सबैलाई मदत गर्न अधि सर्छ। उ एउटा कार्यालयको कारिन्दा हो। आफ्नो इमानदारिता र सिद्धान्त कायम राख्नका लागि अफिसका भ्रष्टाचारी कर्मचारीसित मेल राख्दैन। उसको सुमधुर मित्रता सोझो र इमानदार बड़ाबाबूसित रहेको छ। बड़ाबाबू दुर्घटनामा परी मर्दा उसको परिवारलाई हार्दिक सहानुभूति र सक्रिय सहयोग गर्छ र पछिसम्म कायम राख्दछ। उसमा सामाजिक सचेत कर्तव्यशील, परोपकारी भावना छ। छिमेकी दाइको परिवारलाई आफ्नै परिवार ठानेको छ, आत्मीय र अभिन्न छ। यसै गरी, रेणु र भाइलाई निःशुल्क ट्यूशन पढ़ाउँछ। त्यहाँ पनि आत्मीयताको साइनो गाँसेको छ। रेणुप्रति उसको एक प्रकारको आसक्ति छ तर त्यो आसक्ति अनैतिक, कामुक नभएर मानवीय र वात्सल्य प्रेम हो। रेणुलाई राम्रो दिशा-निर्देश दिन चाहन्छ, उसको शुभचिन्तना गर्छ। रेणुलाई बुझ्न खोज्छ। उसमा नैतिकताको भावना प्रबल छ। रेणुले एन० के० सरसित सिनेमा जाँदा घृणा र विक्षोभ व्यक्त गर्छ। जेठीले पनि गुरुबाबू भन्ने अभिभावकको गर्भ धारण गर्दा विक्षोभ र भर्त्सना व्यक्त गर्छ।
'म' पात्र विवाहित छ तर स्वास्नीसित वैचारिक मनमुटाव छ। उ स्वास्नी र बालक छोरालाई अन्तर्हृदयले माया गर्छ तर स्वास्नीको अहम् भने उसलाई खट्कन्छ । माइतीको धनदौलतमा जिउन चाहने उसकी स्वास्नीमा एउटा अहम्‌बोध पाइन्छ। यता म पात्र स्वाभिमानी छ। उ स्वास्नीसित हत्तपत्त लत्रिन चाहँदैन। यद्यपि उसमा कमजोर पक्ष पनि त्यत्तिकै प्रबल छन्। उ अधिक मदपान गर्छ। उ अर्काको घरेलु कुरा र झमेलामा अनावश्यक चासो र समाधानतिर अग्रसर हुने हुँदा आफै भडूखालामा पर्छ। जेठीको मामलामा उ व्यर्थैमा नखाएको विष लागेर मरेतुल्य हुन्छ। उ अन्तर्मुखी पात्र हो। उ यदि बहिर्मुखी हुँदो हो ता उ नराम्रोसित फँस्ने थिएन। जेठीको विषयमा अरू कसैलाई सुनाएको मात्र थियो भने पनि बाँच्ने थियो। त्यही अन्तर्मुखीपनले गर्दा नै आफ्नै स्वास्नीले छोड्नुका साथै समाजका अघि घृणाको पात्र भई तिरस्कृत हुने थिएन। उ अनुकूल पात्र हो। उ परिस्थितिअनुसार आफूलाई बदल्ने हुनाले उ गतिशील पात्र हो।

६. उपन्यासको परिप्रेक्ष्य वा दृष्टिविन्दु विधान:-
प्रस्तुत उपन्यास 'नीलकण्ठ' प्रथमपुरुषअन्तर्गत केन्द्रिय दृष्टिविन्दुमा लेखिएको छ। उपन्यासको आद्योपान्त म पात्रले आफू बसेको ठाउँबाट घटना विवरण दिँदैजान्छ। उसले आफ्नो बारेमा धेरै र अरूका बारेमा थोरै प्रकाश पार्दै लगेको छ। उसको एकालापीय कथनबाट नै घटनाक्रम अधि बढ़ेको छ। रातको समयमा गाड़ीको फोकसबाट दृश्यमान वस्तुस्थिति झें कथावाचकको उपस्थितिमा मात्र अरू कुरा देखिदैजान्छन । उपन्यासको सम्पूर्ण घटनाको द्रष्टा वा सर्वज्ञाता र विवरणदाता म पात्र हो। विवरणको सम्पूर्ण लगाम म पात्रको हातमा निहीत छ यद्यपि संवादको माध्यमबाट अन्य पात्रको मनको स्थिति बुझ्न सकिन्छ।

७. उपन्यासको परिवेश विधान:-
परिवेशले उपन्यासले समेटेको स्थान, समय र परिस्थितिलाई बोध गराउँछ। 'नीलकण्ठ' उपन्यासको परिवेश सन् सत्तर वा अस्सीको दशकको शुरूतिरको दार्जीलिङ शहरको भन्ने स्पष्ट बुझिन्छ। उपन्यासमा स्थानका रूपमा म पात्र बस्ने दार्जीलिङको कुनै टोलको घर र यसको वरिपरि छिमेकको साथै म पात्र काम गर्ने कुनै सरकारी कार्यालय, शहर र यसको वरिपरि, बड़ाबाबूको घर, रेणुको घर इत्यादि प्रमुख रूपमा देखिन्छन। सिलगढी शहरको कुनै अस्पताल पनि प्रासङ्गिक रूपमा आएको छ। समग्रमा प्रस्तुत उपन्यासले दार्जीलिङ शहर र यसको वरिपरिको परिवेशलाई समेटेको छ। दार्जीलिङमा घरि-घरि पानी पर्नु, घरि घाम लाग्नु, घरि बाक्लो कुइरो लाग्नु जस्ता भौगोलिक परिवेशको राम्ररी चित्रण गरिएको पाइन्छ। दार्जीलिङ बाक्लो र अँध्यारो कुइरो घरि-घरि देखाइनु म पात्रको मनको विषाद्, दुःख-पीड़ा र पीरलाई जनाइएको हो। जेठीलाई सिलगढ़ीबाट अप्रेशन गराई फर्काइल्याइँदा पानी परेको परेकै हुन्छ । यसले म पात्रको मनको पीर, औड़ाहा, शंका, विक्षोभ, ग्लानिको संकेतन हो।
उपन्यासमा सरकारी कर्मचारीतन्त्र, त्यहाँ व्याप्त भ्रष्टाचार, ढिलासुस्ती, कर्मचारीहरू कार्यालय ढिलो गरी आई छिटो घर फर्किने प्रथा देखाइ यथार्थता झल्काएका छन्। आदर्शको पाठ पढ़ाउने एन० के० सरजस्ता शिक्षक नै आफ्नी छात्रालाई हातपात गर्न तत्पर हुनु, अभिभावक भनाउँदो गुरुबाबूबाट नै जेठीले पेट बोकेको देखाइनु तत्कालीन दार्जीलिङमा व्याप्त अनैतिक, अनाचारको परिवेश अल्झाइएको छ। यहाँ रक्सी खाने चलन सामान्य रूपमा देखिन्छ। उपन्यासका सबै पात्र-पात्रा केही न केही समस्याले ग्रसित छन्। दार्जीलिङ शहरको वरिपरिको भीर-पाखा, शहरको भीड़भाड़, साँघुरो बजार र गल्ली देखाइएको छ। पात्र-पात्राहरू अधिकांश नै अस्तव्यस्त, बेचैन, चिन्तित देखिन्छन्। शहरको भीड़भित्र गाड़ी कुछ, कुनै मान्छेलाई किच्याएको पनि देखाइएको छ। कार्यालयतिर अर्काको अनावश्यक चियो-चर्चा, निन्दा गर्ने, हेप्ने प्रथा देखाइएको छ।

८. 'नीलकण्ठ' उपन्यासको भाषिक विधान:-
प्रस्तुत उपन्यास 'नीलकण्ठ' को 'भाषिक विधान विशिष्ट किसिमको छ। यहाँ भाषाको मानक रूप र कथ्य रूप दुवैको प्रयोग पाइन्छ। उपन्यास सम्पूर्ण नै स्वागत कथनात्मक वा एकालापीय छ र यो प्रथमपुरुषात्मक भाषिक विधान पाइन्छ। यद्यपि यसमा बढ़ी मात्रामा भने कथ्य भाषा प्रयोग गरिएको छ। यसमा काव्यात्मक भाषा पाइन्छ। प्रायः छोटा-छोटा वाक्यमा सहायक क्रियापद बहिष्कार गरी घुमाउरो शैली उपन्यास प्रस्तुत छ। यसमा सामान्य भूतकालिक वाक्यविधान नभई सामान्य वर्तमानकालिक विधान छ। यसका साथै बेसीजस्तो वाक्य कर्तृवाच्यमा भन्दा भाववाच्यमा निर्मित छन्। अप्रत्यक्ष कथनको प्रयोग छ। व्याकरणिक विचलन गरिएको पाइन्छ। यसका साथै श्याम व्यङ्ग्यको भरपूर प्रयोग गरिएको र बिम्बलाई उचित स्थान दिई लेखिएको छ। अनौपचारिक भाषाको प्रयोगमा रूचि देखाइएको छ।
उपन्यासमा दार्जीलिङ शहरतिर प्रयुक्त नेपाली भाषिकाको प्रयोग गरिएको छ। दार्जीलिङतिर बोलिने नेपाली भाषामा पाइने लिङ्ग, वचन, कारक, पुरुष, आदर इत्यादि व्याकरणिक कोटिको विचलनको जतिसक्दो प्रयोग गरिएको पाइन्छ। यसै गरी संवादमा अझै ठेट कथ्य देखिन्छ। अंग्रेजी शब्द, केही तत्सम शब्द र ठेट नेपाली शब्दको प्रयोगले उपन्यास उत्कृष्ट बनेको छ। यसमा शब्दलाई विशिष्ट ढंगले राखिएको पाइन्छ। संक्षिप्तता, लचिलोपन, चित्रात्मकता पाइने भाषा विशिष्ट बनेको छ। यसमा घण्टीको टङ्-टङ् आवाजदेखि लिएर चित्रात्मक, बिम्बात्मक भाषाको प्रयोग पाइन्छ। यद्यपि कतै-कतै बढ़ी व्यक्तिगत अनुभव लेखनले गर्दा आमपाठकलाई पट्यार समेत लाग्छ। व्यक्तिगत गनगन, बिलौना र आलाप उपन्यासभरि रहेको हुनाले पाठकले दिक्क मान्ने स्थिति आइपर्दछ। एकाध ठाउँमा शब्दकोशीय अर्थगत र रूपगत कमजोरी पनि नपाइने होइनन्। कतै-कतै बहुवचनीकरण प्रक्रिया अपनाइएको छ। हावाहरू, पानीहरू, पलहरू भन्ने खालका प्रयोग सचेत रूपमा अपनाएको छ। यो एकप्रकारको शैली सचेतता हो। यद्यपि बहुवचन हुनुपर्नेमा एकवचन नै पाइनु कथ्यको प्रभाव हो। "हिजो गोरेलाई केटाहरूले कुटेछ..." स्त्रीलिङ्ग पुलिङ्ग भएको छ, उच्च आदरार्थी सामान्य आदरार्थीमा प्रयुक्त छ।

६. उपसंहारको रूपमा 'नीलकण्ठ' उपन्यासको वैशिष्ट्यलाई निम्न बुँदाहरूले निक्र्योल गर्नसक्छौं :-
६.१. यस उपन्यासमा अउपन्यास प्रस्तुति रहेको छ।
६:२ यसमा चेतनाप्रवाह शैली पाइन्छ।
६:३ यसको नामाकरणमा नै सारवस्तुगत संकेतन र मीथकीय प्रयोगात्मक अभिलक्षण पाइन्छ । सम्पूर्ण उपन्यास नै शीर्षकीय अभिमुखी बनेको छ।
६:४ यसको मूल रूचिक्षेत्र शहर र यसको प्रभावस्वरूप वीभत्सता हो।
६:५ यसको मूल रीतिक्षेत्र विसङ्गतिवाद हो यद्यपि यसमा अस्तित्ववाद, अतियथार्थवाद जस्ता कुरा नपाइने होइनन् ।
६:६ यसमा मनोविश्लेषणको पनि भरपूर प्रयोग पाइन्छ।
६:७ यसमा आञ्चलिकताको प्रयोग पनि आंशिक मात्रामा पाइन्छ।
६:८ यसमा मानवतावादी स्वर पनि प्रखर रूपमा पाइन्छ।
६:९ यसमा वर्तमान सरकारी कार्यालय आदिमा विद्यमान भ्रष्टाचार, घूसखोरीतन्त्र, ढिलासुस्ती र कामचोर प्रवृत्तिको भण्डाफोर गरिएको छ।
६:१० यसको भाषिक विधान वैशिष्ट्य छ। विष्मयादिवोधक चिह्न, प्रश्नचिह डट्डट्, खाली ठाउँ इत्यादि पराभाषिक प्रयोग पनि पाइन्छ।
६:११ उपन्यास एकालापीय बनेको छ र यसको प्रथमपुरुष अन्तर्गत केन्द्रीय र सर्वज्ञाता दृष्टिविन्दु पाइन्छ।

टिप्पणी ग्रहण-
१. प्रा० विनेश प्रधानः नेपाली उपन्यासको समृद्धिमा विशिष्ट भएर देखापरेका दार्जीलिङका उपन्यासहरू: नेपाली भाषा र साहित्यको समृद्धिमा दार्जीलिङको योगदानः सम्पा० डा० राधा शर्मा, सन्त जोसेफ्स कलेज २००७, पृष्ठ १५५।

कालिम्पोङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।