टाढैबाट गरौँ, गराउँन सिकौँ मृतात्मको वन्दना
लेखिन्छन् समवेदना सजलका आफन्तका सम्झना ।
यात्रा शुल्क बढ्यो सदा सडकको घुम्ती पुरानो छ यो
जिन्सी वा नगदी नराख अब त्यो भेटी महङ्गो भयो ।।
चर्को मूल्य तिरी गुड्यौ मनपरी, स्वार्थी बने चालक
ह्वाँ ह्वाँ गर्दछ खोरबाट घरमा एक्लै रुने बालक ।
छाती पोल्छ सहेर भित्र मनको रित्तिन्न आक्रान्त यो
मिश्री वा अदुवा नराख अब त्यो भेटी महङ्गो भयो ।।
साँच्चै के मनको दुखी हृदयले दुःखान्तमा छुन्छ र ॽ
आफै जोखिममा परेर अरुको सत्कार खै हुन्छ र ! ।
फेर्नै पर्दछ मौन ध्यान दलको संस्कार संस्कार यो
काक्रो वा अमला, अनार अब त्यो भेटी महङ्गो भयो ।।
लाखौँ पुष्प सुके झरेर पनि त्यो मर्दैन है नन्दन
श्रद्धाभाव सदा बढाउन सिकौँ हाम्रो नयाँ चन्दन ।
“खाली हात हुदैन रे” चलनको फोस्रो गुनासो छ यो
मार्सी, सर्वत वा जुनार अब त्यो भेटी महङ्गो भयो ।।
खर्चै खर्च छ यो महा–जगतमा त्यै खर्चमा खर्च त्यो
आफ्नै भोक र शोकको कहरले के अर्थमा गर्छ त्यो ।
नौलो कर्म गरौँ र लोक बदलौँ पुस्ता पुरानो गयो
जम्बोकोक, सुजी नराख रुपियाँ भेटी महङ्गो भयो ।।
(छन्दः शार्दुलविक्रीडित)