आमा,
तिमीले हामीलाई छोडेको तेत्तीस वर्ष बितिसकेछ
समयले धेरै कुरा बदलिदियो
मेरो उमेर बदलियो
अनुहार बदलियो
जिम्मेवारीहरू बदलिँदै गए
जीवनले अनेकौँ मोड पार गर्यो
तर आमा
एउटा कुरा कहिल्यै बदलिएन
त्यो हो - तिम्रो अभाव।
आज पनि
मैले कुनै खुसीको खबर सुन्दा
कुनै सफलता हात पर्दा
कसैले मेरो कामको प्रशंसा गर्दा
सबैभन्दा पहिले
आमा, म तिमीलाई सम्झन्छु।
मनमनै भन्छु
आमा, आज तिमी भएकी भए
कति खुसी हुन्थ्यौ होला!
मेरो सफलतामा गर्व गर्थ्यौ होला
निधारमा हात राखेर आशीर्वाद दिन्थ्यौ होला
अनि सायद मुस्कुराउँदै भन्थ्यौ
"कान्छा, तँ धेरै ठूलो मान्छे भइस् है,
अब आमालाई पनि बिर्सेलास्!"
आमा, तिमी पढेलेखेकी थिइनौ
तिमीसँग कुनै शैक्षिक प्रमाणपत्र थिएन
कुनै ठूलो पद वा प्रतिष्ठा थिएन
तर आमा तिमीले जीवनको जुन शिक्षा मलाई दियौ
त्यो मैले पढेका
कुनै पुस्तकमा पनि भेटिनँ।
तिमीलाई अक्षरहरू पढ्न आउँदैनथ्यो
तर हाम्रा अनुहार पढ्न आउँथ्यो
हामीले केही नभन्दा पनि
आमा तिमी हाम्रो भोक बुझ्थ्यौ
हाम्रो निन्द्रा अनुभव गर्थ्यौ
हाम्रो पीडा चिन्थ्यौ
हाम्रा साना सपनाहरूमा
आफ्नो सिङ्गो भविष्य देख्थ्यौ।
आमा तिमी आफ्ना रहरहरू थाती राखेर
हाम्रा आवश्यकताहरू पूरा गर्थ्यौ
आफ्नो दुःख लुकाएर
हामीलाई हाँस्न सिकाउँथ्यौ
आफूसँग थोरै हुँदा पनि
हामीलाई धेरै दिन खोज्थ्यौ।
आमा, आज मसँग
तिमीलाई सुनाउनुपर्ने धेरै कुराहरू छन्
मैले हासिल गरेका उपलब्धिहरू छन्
मैले देखेका देशहरू छन्
मैले भेटेका मानिसहरू छन्
मैले काम गरेका अफिसहरू छन्
मैले पूरा गरेका केही सपनाहरू छन्
तर विडम्बना,
आमा तिमीलाई यी सबै कुरा सुनाउने
सबैभन्दा धेरै इच्छा थियो
तर आमा तिमी आज हामीसँग छैनौ ।
कहिलेकाहीँ लाग्छ
यी सबै उपलब्धिहरू साटेर
तिमीसँग एक दिन बिताउन पाए!
तिम्रो काखमा टाउको राखेर
आफ्ना सुखदुःख सुनाउन पाए!
तिम्रो हातले पकाएको खाना खान पाए!
तिम्रो पुरानो हप्की सुन्न पाए!
अनि फेरि एकपटक
तिम्रो हात मेरो शिरमा राख्न पाए!
आमा, आज पनि मलाई
तिम्रो सल्लाह चाहिन्छ
कहिलेकाहीँ गलत निर्णय गर्दा
तिम्रो गाली चाहिन्छ
मन कमजोर हुँदा
तिम्रो हौसला चाहिन्छ
र जीवनका कठिन मोडहरूमा
तिम्रो निःस्वार्थ माया चाहिन्छ।
मानिसहरू भन्छन्
समयले सबै घाउ निको पार्छ
तर आमा
तेत्तीस वर्षपछि पनि
मलाई त्यस्तो लाग्दैन
समयले त केवल
तिम्रो अनुपस्थितिमा बाँच्न सिकायो
तिमीलाई बिर्सन होइन।
आज म आफैँ
अरूलाई शिक्षा दिने ठाउँमा पुगेको छु
मलाई सबै भन्दा धेरै शिक्षा दिने
जीवनको पहिलो र सबैभन्दा ठूलो शिक्षक
आमा तिमी नै थियौ।
तिमीले विश्वविद्यालय देखिनौ
तर मलाई त्यहाँसम्म पुग्ने आधार दियौ
तिमीले ठूला सिद्धान्त पढिनौ
तर इमानदारी, परिश्रम, प्रेम र त्यागको
अर्थ आफ्नै जीवनबाट सिकायौ।
आमा,
कहिलेकाहीँ म सोच्ने गर्छु
तिमी आज जीवित भएकी भए
मेरो जीवन कस्तो हुन्थ्यो होला?
सायद म अझै तिम्रो अगाडि
त्यही तिम्रो कान्छा हुन्थेँ
जसलाई तिमी बेलाबेला सम्झाउँथ्यौ
कहिले गाली गर्थ्यौ
कहिले माया गर्थ्यौ
र सधैँ मलाई आशीर्वाद दिन्थ्यौ।
आज संसारले मलाई
जुनसुकै नामले चिनोस्
जतिसुकै सम्मान देओस्
जतिसुकै ठूलो उपलब्धि हासिल गरूँ
तिम्रो अगाडि म सधैँ
त्यही कान्छा रहन चाहन्थेँ।
आमा,
तिमीले मलाई धेरै कुरा दियौ
तर मैले तिमीलाई
केही फर्काउन नपाउँदै
तिमी टाढा भयौ।
सायद यही नै
मेरो जीवनको सबैभन्दा ठूलो अपूरोपन हो।
आज मसँग सफलता छ
तर त्यो सफलता देखाउन मेरी आमा छैनन्
आज मसँग खुसी छ
तर त्यो खुसी बाँड्ने मेरी आमा छैनन्
आज मसँग अनुभव छ
तर त्यसमा सल्लाह दिने मेरी आमा छैनन् ।
आमा,
तेत्तीस वर्ष बिते पनि
म तिमीलाई आज पनि उत्तिकै सम्झन्छु
हरेक उपलब्धिमा
हरेक संघर्षमा
हरेक चुनौती वा कठिनाइमा
हरेक खुसीमा
र कहिलेकाहीँ
एकान्तका मौन क्षणहरूमा।
मलाई थाहा छ
तिमी अब फर्केर आउँदिनौ
तर मेरो मनले
आज पनि एउटा असम्भव इच्छा पालिरहेछ
खास, आमा!
तिमी एकपटक मात्र यहाँ फर्केर आउन पाए
मेरा उपलब्धिहरू देख्न पाए
मलाई फेरि एकपटक गाली गर्न पाए
मेरो निधार सुम्सुम्याएर
"सधैँ खुसी रहनू कान्छा" भन्न पाए
त्यसपछि
म तिमीलाई केही माग्ने थिइनँ
केवल तिम्रो काखमा टाउको राखेर
तेत्तीस वर्षदेखि थामेर राखेका
आँसुहरू बगाउने थिएँ।
आमा,
तिमी संसारबाट बिदा भयौ
तर मेरो जीवनबाट कहिल्यै बिदा भइनौ
तिमी आज पनि
मेरो सम्झनामा छौ
मेरो संस्कारमा छौ
मेरो हरेक उपलब्धिमा छौ
र मेरो हृदयको
सबैभन्दा सुरक्षित ठाउँमा छौ।
आमा, म तिमीलाई धेरै सम्झन्छु
तेत्तीस वर्षअघि जति सम्झन्थें
आज पनि त्यति नै
सायद अझ धेरै
हो आमा, म तिमीलाई धेरै सम्झन्छु।
डार्टफोर्ड, बेलायत ।