19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘बा’लाई चाहिएको साथ

कविता विमल लामिछाने October 26, 2026, 2:53 pm
विमल लामिछाने
विमल लामिछाने

फुटेका पैताला बोकेर उभिँदा
बालाई कुनै संकोच छैन ।
बा त त्यही पहाड हुन्,
जसको छातीमाथि टेकेर
हामीले आकाश छोएका छौँ ।

एकफेरा मेलो सकेर फर्किदासम्म
निदाएका छोराछोरीको सिरानीबाट
पन्चामृत जस्तो माया चुहाउँदै,
बा फेरि खुर्पा भिरेर जंगल पसेका छन्
घाँसको भारीमाथि दाउराको बिटोले
थिचेर कुप्रिएको ढाड दुखेको प्रवाह नगरी
बा हरपहल सन्तानकै खुशी खोजिरहेछन् ।

झिस्मिसेको हुस्सु च्यात्दै,
चिसो सिरेटोमा सुसेली हाल्दै
ओराली र उकालीमा रमेका बा !
बिहानै गोठको धूलो र गोबरमा मिसिन्थे ।
हलो, जुवा र कोदाली काँधमा भिरेर
हलगोरुसँगै ओरालो कुद्दा
फुलिएका पिँडुला र पाखुराका नसाभित्र
सारा रहर र खुशीहरु सल्वलाएको देख्थे ।
साहुको ऋण, रोग र भोकलाई
एकैपोको पारेर सोह्रहाते पटुकीले
फेराफेरा कम्मरभित्रै बाँधेर हिँड्थे बा !

हलोको फालीले माटोको छाती चिर्दै गर्दा,
कतिपटक बा आफैँ रोपिन्थे,
जेठको तातो रापले छाला डढ्दा पनि,
हिउँदको कठ्यांग्रिदो ठन्डीले हड्डी गलाउँदा पनि,
मुखबाट कहिल्यै दर्दको गुनासो ओकलेनन् बा !
बरु, हिलोमा गाडिएका घुँडा टेकेर
उनी धर्तीलाई ढोग्थे र भन्थे—
‘छोराछोरीको पेट भरियो भने,
मेरो थकाइ आफैँ मरेर जान्छ ।’

असारको भलसँग पौडी खेल्दै
कुलोका सयौ भ्वाँग टालि खेतमा पानी भर्दा
उनले बगाएको पसिनाको थोपा थोपामा
धानका बालाहरू मुस्कुराउँथे ।
तर त्यो मगमगाउँदो बास्नादार चामल
कहिलै बाको थालसम्म आएन,
त्यो त साहुको बोरामा बाँधिएर सहरतिरै गयो ।

सहकारीको किस्ता तिर्न नसकेका दिन
बाको छातीमाथि ढिस्को खसेझैँ हुन्थ्यो,
चाडपर्वमा नयाँ लुगा माग्ने
छोराछोरीको भोटो फेर्दाफेर्दै
कहिल्यै आफ्नो फाटेको कोट फेर्न सकेनन् बा !

आज बाका पाखुरा सुकेका छन्,
अनि, गाउँका खेतपनि बाँझिएका छन् ।
बा को स्मरण शक्ती घट्दै गयो,
र गल्दै गए श्रृजनशिल उर्जाहरु !
एउटै सहारा छ, त्यो मक्किँदै गएको बाङ्गो लौरो !
हरेक पाइलामा गोडाहरू लरबराएर पनि,
आमाप्रतिको त्यो निष्कपट चोखो माया !
बाभित्र अझै दरिँदै छ, लर्वराएको छैन ।
पारिवारिक माया र प्रेम त बासँगै सिक्तैछु म
बाकै काखमा हुर्किएँ, बढेँ, पढेँ र जवान भएँ,
सहरीया र जागिरे भएँ, र पनि बासँगै छु म ।
कष्टका हजारौँ पहाडहरू, एक्लै पन्छाउने
त्याग र सहनशीलताको, अर्को नाम हो अरे ‘बा’
त्यसैले मलाईपनि मेरा बाको हात चाहिएको छ ।
पूरा गर्न त सक्छु या सक्तिन,
तर बालाई पनि मेरै साथ चाहिएको छ ।।

दमक, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।