19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'पुनर्जागरण' उपन्यासको विश्लेषण

कृति/समीक्षा नारायण मरासिनी October 26, 2026, 2:58 pm
नारायण मरासिनी
नारायण मरासिनी

पृष्ठभूमिः
सांस्कृतिक रुपान्तरणका अभियन्ता, वामपन्थी नेता तथा मानवअधिकारवादी व्यक्तित्व टेकनाथ बराल र हरिकला बरालका छोरा विद्याविमल बराल (२०१७) पोखरेली परिवेशमा प्रगतिशील प्रतिभाका रूपमा परिचित छन् । ‘पुनर्जागरण’ (२०८३) उनीद्वारा लिखित नवीनतम् उपन्यास हो । यसपूर्व उनका ‘सडक र इसाबेल’ (कवितासङ्ग्रह– २०६१), सपनाको देश (उपन्यास– २०६१), 'आगोजस्तो पहाड’ (संस्मरण– २०८२) र ‘मरिसेला’ (अङ्ग्रेजी भाषाको उपन्यास– २०८२) प्रकाशित छन् । हालसम्म प्रकाशित यी कृतिहरूबाट स्पष्ट हुन्छ कि उनी आख्यान, कविता र निबन्ध विधामा कलम चलाउने सर्जक हुन् । यी कृतिहरूको अध्ययन गर्दा उनलाई समाजको परिवर्तन र रूपान्तरणका लागि कलम चलाउने स्रष्टाका रूपमा लिन सकिन्छ । विकृत राजनीतिक शासन व्यवस्था, लैङ्गिक विभेद, असमानता, कुरीति तथा अन्धविश्वासमाथि प्रहार गर्दै सुन्दर, सभ्य र समृद्ध समाजको निर्माण उनको लेखनको मुख्य अभीष्ट देखापर्छ । यस लेखमा उनको हालै प्रकाशित उपन्यास ‘पुनर्जागरण’को विश्लेषण गरिएको छ । कथानक सन्दर्भलाई सङ्क्षिप्तमा प्रस्तुत गर्दै प्रगतिवादी चिन्तन, स्वदेशप्रेम, वैचारिक द्वन्द्व र सूचना तथा प्रविधिको उपयोगलाई विश्लेषणको आधार बनाइएको छ ।
‘पुनर्जागरण’को कथानक सन्दर्भः
‘पुनर्जागरण’ नेपाली माटाको सुगन्ध बोकेको उपन्यास हो । यस उपन्यासले हामी नेपालीहरूको गुम्दै गएको अस्तित्व एवम् पहिचानको खोजी गरेको छ । उपन्यासकार बरालले यस उपन्यासमार्फत आफ्नै मातृभूमिमा जीवन ब्युँताउने प्रयत्न गरेका छन् । यस उपन्यासलाई हामी नेपालीहरूका लागि सुनौलो भविष्य निर्माणको सपना लिएर उदाएको साहित्यिक दस्तावेजका रूपमा लिन सकिन्छ ।
भौतिक सुविधा, आधुनिक प्रविधि र आर्थिक सुरक्षाले युक्त अमेरिकाको विलासी जीवनले भौतिकता त दियो, तर प्राध्यापक विनयको मनलाई त्यो अमेरिकी सुविधाले कहिल्यै तृप्त पार्न सकेन । शरीर सात समुद्रपार रहे पनि उनको मन सधैं नेपालकै पाखापखेरा, कुनाकन्दरा र अतीतका स्मृतिहरूमा भौंतारिरहन्थ्यो । तीन दशकको लामो अन्तरालपछि जब उनी स्वदेश फर्कन्छन् त्यहाँ आफ्नो विगतको धुलो र स्मृति मात्र भेट्दैनन्, बरु एउटा रूपान्तरित र नयाँ नेपालसँग उनको साक्षात्कार हुन्छ । मनाङ र मुस्ताङको सीमा क्षेत्र थ्रोङ् ला घाँटीमा उभिएर उसले महसुस गरेका छन् कि देशलाई प्रेम गर्नु भनेको अतीतको पुरानो देश खोज्नु मात्र होइन, बदलिएको यथार्थलाई हृदयदेखि स्वीकार गर्नु पनि हो ।
उपन्यासको कथानकको मुख्य परिवेश नेपालकै पोखराआसपासको सत्यपुर गाउँ रहेको छ, जहाँ अमेरिकी बहुराष्ट्रिय कम्पनीको स्वार्थअनुकूल बहुमूल्य खनिज दोहन गर्ने भूराजनीतिक षडयन्त्र लुकेको थियो । तर, विनयले पैसा र प्रलोभनको तुच्छ स्वार्थभन्दा माथि उठेर देशको सार्वभौमिकता र भूराजनीतिक सन्तुलन जोगाउन उक्त खनिज नेपालकै सम्पत्ति हुनुपर्ने राष्ट्रिय हितमा प्रतिवेदन सिफारिस गरेका छन् । उनले बुझेका थिए कि सत्यपुरमा जमिनमुनिको खनिजभन्दा पनि बहुमूल्य चिज त यहाँका मानिसहरू र तिनीहरूको यस भूमिप्रतिको अपनत्व हो ।
अपनत्वको खोजीमा अमेरिकास्थित सिलिकन भ्यालीको प्रतिष्ठित र विलासी जागिर छोडेर आफ्नो ज्ञानले अरूको देश बनाउनुभन्दा आफ्नै जन्मभूमिको सेवा गर्नुपर्छ भन्दै यस उपन्यासको अर्को पात्र रमेश स्वदेश फर्कन्छन् । रमेशका दाजु मिलनको कथा निकै हृदयविदारक छ, कारुणिक छ । बाल्यकालमै माघे सङ्क्रान्तिको मेलाबाट अपहरणमा परी दिल्लीका अँध्यारा गल्लीहरूमा मानव बेचबिखनको सिकार भएको मिलनले चरम अमानवीय यातना, श्रम शोषण र अङ्ग तस्करीको जोखिम भोग्नुपरेको छ । प्रवासी नेपाली विद्यार्थीहरूको ‘शिक्षाः एक आशा’ अभियानमार्फत मुक्ति पाएपछि मिलनले समाजशास्त्र र कृषिको अध्ययन गरी आफ्नो हृदयको आक्रोशलाई रचनात्मक रूपमा बदलेका छन् । भारतीय भूमिमा ज्ञान र सिप सिकेर जीर्ण सत्यपुरको मुहार फेर्न मिलन धेरै समयको अन्तरालमा आफ्नै जन्मथलो सत्यपुर आइपुगेका छन् ।
आफ्नो हराएको छोरो मिलनको खोजीमा भौंतारिँदै काठमाडौंको सुकुम्बासी बस्तीमा बसेर दुःखद् जीवन बाँच्न बाध्य सोमनाथ र पार्वतीको सङ्घर्षले नेपाली निम्नवर्गीय जीवनको क्रूर यथार्थलाई प्रस्तुत गरेको छ । सत्यपुरका पौरखी छोराहरू सहर र विदेश पलायन हुँदा पनि गाउँको घरको ढोका सधैं खुला राख्ने हर्के काका र सरस्वती काकीले नेपाली गाउँको मौलिक अस्तित्व र इतिहासलाई जीवित राखेका छन् । ‘आफ्नो जरा बिर्सनु भनेको इतिहासप्रति आँखा चिम्लनु हो’ भन्ने दृढ अठोट बोकेका हर्के काकाले अन्ततः गाउँको सामूहिक सपना र सुशासनको मन्दिर गाउँपालिकाको भवनलाई अराजक जत्थाले गर्न खोजेको आगजनीबाट जोगाउने क्रममा आफ्नो प्राणको आहुति दिएका छन् ।
‘पुनर्जागरण’को आशय केवल विदेश भासिएका पात्रहरू स्वदेश फर्केर पुनर्मिलन भएको अवस्थाको कथा मात्र नभई प्रविधि, पारदर्शिता, डिजिटल बजार र सुशासनको सहायताले आफ्नै माटामा सुन फलाउन सकिन्छ भन्ने दृढ विश्वास बोकेको युवा शक्तिको सामूहिक जागरणको कथा हो । यस उपन्यासलाई निम्न उपशीर्षकमा विश्लेषणको प्रयास गरिएको छ–
‘पुनर्जागरण’मा प्रगतिवादी चिन्तनः
‘पुनर्जागरण’ उपन्यासमा समाजमा व्याप्त वर्गीय विभेद, आर्थिक असमानता, अन्धविश्वास र श्रमको अपमानका विरुद्ध सशक्त प्रगतिवादी चिन्तन प्रस्तुत गरिएको छ । साक्ष्यका रूपमा उपन्यासका मुख्य पात्र मिलन र अन्य प्रगतिशील पात्रहरूका माध्यमबाट प्रस्तुत गरिएका प्रगतिवादी वैचारिक पक्षहरूलाई निम्न बुँदामा विश्लेषण गरिएको छ–
१. वर्गीय विश्लेषण र संरचनात्मक परिवर्तनको पक्षधरताः
यस उपन्यासको मुख्य पात्र मिलन कलेज पुगेपछि कार्ल मार्क्सको वर्गीय विश्लेषण र पुष्पलालले नेपाली समाजको संरचनाका बारेमा गरेको प्रगतिशील व्याख्याबाट गहिरो रूपमा प्रभावित हुन्छन् । उनी वर्गीय असमानता, आर्थिक शोषण र सामाजिक न्यायका विषयमा मार्क्सवादी चिन्तन राख्छन् । उनका अनुसार प्रगतिशील दर्शन भनेको मार्क्सले भनेजस्तै संसारलाई केवल बुझ्ने साधन मात्र नभएर यसलाई बदल्ने जिम्मेवारी पनि हो । उनी थप तर्क गर्छन् कि आर्थिक असमानता कायम रहँदासम्म स्वतन्त्रताको ठूलो हिस्सा केवल कागजमा मात्र सीमित रहन्छ । यदि बजार मात्र शक्तिशाली भयो भने गरिब श्रमिक मजदुर एवम् किसानहरूको स्वतन्त्रता पूर्ण रूपमा गुम्छ तसर्थ अन्यायपूर्ण सामाजिक संरचना परिवर्तन नभएसम्म धेरै मानिसहरू निरन्तर पीडामा बाँचिरहन बाध्य हुन्छन् भन्ने मिलनको धारणा छ ।
२. गरिबी र श्रमको शोषणविरुद्ध नयाँ परिभाषाः
उपन्यासले पूँजीवादी श्रम बजारमा श्रमिकहरूमाथि हुने शोषणको उजागर गरेको छ । न्यूयोर्कमा रहेका दामोदर र प्रेमको संवादमार्फत ‘गरिबी केवल पैसाको अभाव मात्र नभएर आफ्नो श्रम बेच्ने अधिकार भए पनि आफ्नो समय र जीवन बचाउने अधिकार नहुने अवस्था हो’ भनी गरिबीको नयाँ परिभाषा दिइएको छ । उपन्यासमा कामदारलाई उसको नाम वा पहिचानले नभई केवल काम गरेको घन्टाको आधारमा गणना गरिने पूँजीवादी सङ्कीर्णताको कडा आलोचना छ । आर्थिक, सामाजिक र भौगोलिक असमानताका कारण गाउँ छोडी काठमाडौँको सुकुम्बासी बस्तीमा पुगेर बाँच्न सङ्घर्ष गरिरहेका गरिबहरूको वर्ग–द्वन्द्वलाई उपन्यासले प्रगतिशील कोणबाट प्रस्तुत गरेको छ ।
३. अन्धविश्वास र रूढिवादी चिन्तनको विरोधः
जब बाल्यकालमा मिलन हराउँछन् तब गाउँका पुरातनपन्थी बुढापाकाहरूले देवीदेवताको मानभाउ तथा पूजा नगरेका कारण यस्तो भएको भन्ने आशय व्यक्त गरेका छन् । उनीहरू हराएको मिलनलाई भेटाउनका लागि सत्यनारायणको पूजा गर्नुपर्ने जस्ता रूढीवादी तर्कहरू गरेका छन् । तर, उनीहरूको त्यस तर्कलाई अन्धविश्वास ठहर गर्दै गाउँका प्रगतिशील युवाहरूले वैज्ञानिक र व्यावहारिक खोजका लागि प्रहरी र आधुनिक अनुसन्धानको बाटो रोज्नुपर्ने वैज्ञानिक चिन्तन अघि सारेका छन् । आजको यस वैज्ञानिक तथा भौतिक युगमा पनि देवीदेउताको पूजाआजामा समय बिताउनुलाई उपन्यासका अधिकांश युवा पात्रहरूले प्रगतिको बाधक मानेका छन् ।
४. मानव मर्यादाको पुनर्बहाली र बाल शोषणको विरोधः
बालबालिकाहरूलाई सामान जस्तै किनबेच गर्ने, दास बनाउने र उनीहरूको अङ्ग बेचबिखन गर्ने माफियाहरूको संवेदनहीन क्रूरतालाई उपन्यासले प्रगतिशील मानवीय संवेदनाका साथ उठाएको छ । बाल शोषणको सिकार भएका मिलनजस्ता बालबालिकाहरूलाई केवल ‘सामान’बाट पुनः ‘मानिस’का रूपमा रूपान्तरण गर्नु र उनीहरूमा आशा जगाउनुलाई यस उपन्यासको प्रगतिशील मानवीय चेतना मान्न सकिन्छ ।
५. व्यावहारिक समाजवाद र पारदर्शी लोकतन्त्रः
यस उपन्यासमा केवल सिद्धान्त र भाषणमा मात्र होइन, व्यावहारिक रूपमा नै समाज परिवर्तन गर्नुपर्ने चिन्तन छ । मिलनले गाउँमै युवाहरूलाई एकीकृत गरी बाँझो जमिन खन्ने, जैविक खेती गर्ने र कृषि सहकारी स्थापना गरेर बिचौलियाहरूको शोषण अन्त्य गर्ने व्यावहारिक समाजवादी कदम चालेका छन् । उनले विदेश जान चाहने युवाहरूलाई स्वदेशको महत्व दर्साउँदै यहीँ बसेर काम गर्न सकेका खण्डमा पनि सुखद जीवनयापन गर्न सकिन्छ भन्ने जीवनवादी सोच तथा आशावादी सल्लाह दिएका छन् ।
यसै गरी उपन्यासमा स्थानीय शासनमा पारदर्शिता ल्याउन क्यु.आर. कोड प्रविधिको प्रयोग गरी आर्थिक विवरण र बजेट पारदर्शी बनाउने कदमलाई लोकतन्त्रको असली आधार मानिएको छ । मिलन भन्छन्, ‘खुला प्रतिस्पर्धा, पारदर्शिता र उत्तरदायित्व नै लोकतन्त्रका आधार हुन्; हामीलाई भाषण गर्ने नेता होइन, जिम्मेवार जनप्रतिनिधि चाहिएको छ ।
यसरी यस उपन्यासले वर्गीय असमानताको विरोध, श्रमको सम्मान, वैज्ञानिक चिन्तन, मानवीय मर्यादाको पुनर्बहाली र पारदर्शी लोकतान्त्रिक अभ्यासका माध्यमबाट समाजलाई अग्रगामी दिशातर्फ डो¥याउन सकिन्छ भन्ने स्पष्ट प्रगतिशील विचार प्रस्तुत गरेको छ ।
‘पुनर्जागरण’मा देशभक्तिको भावनाः
प्रस्तुत उपन्यासमा देशभक्तिको भावनालाई केवल एउटा भौगोलिक सीमा, देशीय नक्सा वा राजनीतिक विचारका रूपमा मात्र नभएर अत्यन्तै गहिरो, व्यावहारिक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासका विभिन्न पात्रहरूको जीवनभोगाइ, वैदेशिक जीवनप्रतिको वितृष्णा, स्वदेश फिर्तीको चाहना र आफ्नो माटालाई समृद्ध बनाउने सङ्घर्षका माध्यमबाट उपन्यासमा देशभक्तिको भावना अभिव्यक्त छ । देशभक्तिको भावनालाई निम्नलिखित बुँदामा सङ्क्षिप्त विश्लेषणका साथ प्रस्तुत गरिएको छः
१. आफ्नो माटो र जराप्रतिको आत्मिक लगावः
उपन्यासमा प्रयुक्त एक शिक्षित पात्र प्रोफेसर विनय अमेरिका जस्तो सम्पन्न मुलुकमा आधुनिक सुविधा, आर्थिक सुरक्षा र प्रतिष्ठित जागिर हुँदाहुँदै पनि रमाउन नसकी नेपालकै पाखापखेरा र गाउँघर सम्झेर जन्मथलामा फर्कनु आफ्नो माटोप्रतिको माया हो । ‘अमेरिका मेरो कर्मभूमि भए पनि नेपाल मेरो अस्तित्व हो’ भन्दै बाँकी जीवन स्वदेशकै शिक्षा र युवाहरूको मार्गदर्शनमा समर्पित गर्ने सङ्कल्प गरेर अमेरिकी बसाइ छाडी नेपालमै फर्कनु प्रोफेसर विनयमा देखिएको देशभक्तिको भावना हो ।
हर्के काका परिपक्व अभिभावकका रूपमा यस उपन्यासमा प्रयुक्त छन् । काकामा आफ्नो भूमिप्रतिको निष्ठा प्रबल छ । उनी सहरमा पाइने अनेक सुखसुविधाका लागि आफ्नो थातथलो छोड्न चाहँदैनन् । उनको आत्मा गाउँकै गोरेटो र खेतबारीका कान्लाहरूमा अड्किएको छ । बसाइँसराइ जीवनको एउटा निर्णय हुन सक्छ तर आफ्नो जरा बिर्सनु भनेको आफ्नै इतिहासप्रति आँखा चिम्लनु हो भन्ने हर्के काकाको मुटुमा स्वदेशभक्तिकै भाव धड्किएको छ ।
२. आफूले सिकेको ज्ञान र श्रम आफ्नै देशमा उपयोग गर्ने भावनाः
रमेश वैदेशिक सुख त्यागेर स्वदेश फर्केका छन् । अमेरिकाको सिलिकन भ्यालीमा काम गरिरहेका रमेशलाई ‘आफ्नो ज्ञानले अरूको देश मात्र बनिरहेको तर आफ्नै देश नबनेको’ बोध हुन्छ र उनी स्वदेश फर्कन्छन् । उनी र मिलन मिलेर विदेशिएका युवाहरूलाई फर्काउने अभियान चलाउँछन् । उनीहरूले बुझेका छन् कि ‘नेपालको सबैभन्दा ठूलो सम्पत्ति खानी होइन, युवाहरूको शक्ति हो ।’ अध्ययनका लागि अमेरिका प्रस्थान गर्नुअघि पनि रमेशले आफूलाई जन्माएर हुर्काएको माटो कहिल्यै नबिर्सने दृढ विश्वास व्यक्त गरेका छन् ।
अमेरिकामै पुगेर काम गरिरहेका प्रेमले पनि पहिचान र स्वाभिमानको खोजी गरेका छन् । न्यूयोर्कको रमझमका बीचमा पनि प्रेमले आफ्नोपन र स्वाभिमानको अभाव महसुस गरेका छन् । उनले डायरीमा लेखेका छन्, ‘गरिबी भनेको रित्तो खल्ती मात्र होइन; आफ्नो समय, आफ्ना मानिस र आफ्नै भाषा बेचेर मुस्कुराउनुपर्ने अवस्था पनि गरिबी नै हो ।’ उनले पैसा कमाउनका लागि नभई आफ्नो नाम, स्मृति र आत्मासँग पुनः परिचित हुन नेपाल फर्कने निर्णय गरेका छन् ।
३. राष्ट्र र देशभक्तिको व्यावहारिक परिभाषाः
यस उपन्यासका प्रमुख पात्र मिलनका अनुसार राष्ट्र केवल भौगोलिक नक्सा मात्र होइन । उनी देशभक्ति र राष्ट्रलाई परिभाषित गर्दै भन्छन्, ‘आफ्नी आमाले छोराको बाटो हेरेर बिताएका वर्षहरूलाई पनि राष्ट्रका रूपमा परिभाषित गर्नुपर्छ । किसानको पसिना, शिक्षकको धैर्य, विद्यार्थीको सपना अनि हिमाल, तराई, पहाड र तिनलाई जोड्ने विश्वास र विदेशमा बसेर नेपाल सम्झँदा आँखामा आउने आँसु पनि राष्ट्र हो ।’ मिलनको देशभक्तिपूर्ण चाहना यस्तो देश निर्माण गर्नु हो जहाँ किसानलाई आफ्नै उत्पादन बेच्न लाज नहोस्, विद्यार्थी विदेश जान बाध्य नहोस् र कुनै पनि बालक गरिबीका कारण बेचिनु नपरोस् ।
४. सार्वभौमिकता र प्राकृतिक स्रोतको रक्षाः
प्रोफेसर विनयले सत्यपुर आसपासको खनिज स्रोतको अध्ययन गर्दा राष्ट्रिय हितलाई सर्वोपरि राखेका छन् । विदेशी कम्पनीहरूको प्रवेशले नेपालको कूटनीतिक र भूराजनीतिक सन्तुलन बिग्रने र सार्वभौमिकतामा आँच आउन सक्ने भन्दै उनले खनिज स्रोतको निर्णय नेपाल सरकारले आफ्नै हित र नियन्त्रणमा गर्नुपर्ने दृढ राष्ट्रभक्तिपूर्ण प्रतिवेदन तयार पारेका छन् । उनले पैसाको नाफाभन्दा राष्ट्रको स्वाभिमानलाई माथि राखेका छन् ।
५. भाषणले होइन, कामले बनाउनुपर्छ देशः
मिलनले भन्छन्, ‘भाषणले देश बन्दैन, कामले बन्छ । म बोल्न मात्र आएको होइन, यही माटामा काम गरेर देखाउन आएको हुँ ।’ उनी गाउँमै युवाहरूलाई एकीकृत गरी बाँझो जमिन खनेर सामूहिक कृषि, जैविक खेती र सहकारीको माध्यमबाट गाउँको आर्थिक पुनर्जागरणमा जुटेका छन् । यो मिलनमा देखिएको देशभक्तिको सबैभन्दा उत्कृष्ट नमुना तथा व्यावहारिक रूप हो ।
यसरी यस उपन्यासमा देशभक्तिलाई कुनै अमूर्त सिद्धान्तका रूपमा नभई आफ्नै माटो खनेर सुन फलाउने, विदेशमा सिकेको ज्ञान र सीप स्वदेशको विकासमा लगाउने, युवाशक्तिमा निहित बल तथा बैँसको उपयोग स्वदेशमै गर्ने र आफ्नो जरा तथा संस्कृतिलाई जीवित राख्ने एउटा सिर्जनात्मक र व्यावहारिक महाअभियानका रूपमा प्रस्तुत गरिएको छ ।
‘पुनर्जागरण’मा वैचारिक द्वन्द्व तथा बहसः
उपन्यासमा मिलन र कपिल बीचको वैचारिक बहसले नेपाली बौद्धिक तथा राजनीतिक परिदृश्यका दुई अत्यन्त शक्तिशाली र ऐतिहासिक चिन्तनहरूलाई आमनेसामने गराएको छ । एकातिर मिलन मार्क्सवादी ढङ्गको संरचनात्मक र वर्गीय परिवर्तनको वकालत गर्छन् भने अर्कोतिर कपिल गान्धीवादी नैतिकता र बी.पी. कोइरालाको प्रजातान्त्रिक समाजवादका प्रखर हिमायतीका रूपमा प्रस्तुत भएका छन् । यी दुई पात्रका बीच कलेजको मञ्चदेखि पुस्तकालयसम्म गम्भीर रूपमा वैचारिक द्वन्द्व तथा बहसहरू भएका छन् । उनीहरूका बीच भएको द्वन्द्व तथा बहसलाई निम्न बुँदामा सङ्क्षिप्त विश्लेषणका साथ समेटिएको छ–
१. संरचनात्मक परिवर्तन र नैतिक रूपान्तरणका बीचको द्वन्द्वः
मिलनको संरचनात्मक दृष्टिकोण मार्क्स र पुष्पलालको चिन्तनबाट प्रभावित छ । मिलनको मान्यता समाजको अन्यायपूर्ण वर्ग संरचना र आर्थिक शोषणलाई नबदलेसम्म वास्तविक न्याय सम्भव छैन भन्ने रहेको छ । उनी मार्क्सकै भनाइलाई सापटी लिएर भन्छन्, ‘दर्शन भनेको संसारलाई बुझ्ने साधन मात्र होइन, यसलाई बदल्ने जिम्मेवारी पनि हो ।’
कपिलमा नैतिक दृष्टिकोण हावी छ । गान्धीको आत्मशुद्धिबाट प्रभावित कपिलको तर्क छ कि समाज बदल्नुअघि मानिसको नैतिक चेतना बदलिनुपर्छ । उनको गहिरो प्रश्न छ— ‘यदि परिवर्तन घृणाबाट सुरु भयो भने, त्यसको अन्त्य प्रेममा कसरी हुन सक्छ ?’ गान्धीलाई उद्धृत गर्दै उनी भन्छन् कि हिंसाले शत्रुलाई त हराउन सक्छ तर मन जित्न सक्दैन ।
२. न्याय र स्वतन्त्रताका बीचको द्वन्द्वः
पुस्तकालयको बहसका क्रममा यी दुई पात्र मिलन र कपिलका बीच ‘न्याय पहिले कि स्वतन्त्रता ?’ भन्ने विषयमा गहन छलफल भएको छ । मिलनको तर्कअनुसार आर्थिक असमानता कायम रहँदासम्म स्वतन्त्रताको ठूलो हिस्सा केवल कागजमै सीमित रहन्छ । भोको मानिसलाई स्वतन्त्रताको भाषणले मात्र पुग्दैन, उसलाई मर्यादापूर्वक बाँच्ने आर्थिक आधार पनि चाहिन्छ । उनले भनेका छन्, ‘एउटा भोकाएको मानिसलाई दर्शन सुनाउनुभन्दा पहिले उसलाई खानाको आवश्यक हुन्छ ।’
कपिलले मिलनको यस भनाइमा प्रतिवाद गरेका छन् । कपिलका अनुसार यदि मानिससँग बोल्ने, सोच्ने र आफ्नो असहमति व्यक्त गर्ने व्यक्तिगत स्वतन्त्रता नै भएन भने उसले न्याय कसरी खोज्छ ? बी.पी. कोइरालाको विचार राख्दै उनी भन्छन् कि स्वतन्त्रता बिनाको समाजवाद सधैँ अधुरो हुन्छ ।
३. राज्यको शक्ति र बजारको शक्तिका बीच द्वन्द्वः
राज्य र बजारको भूमिकाबारे यी दुई पात्र मिलन र कपिलका बीचको बहसले आधुनिक राजनीतिको मूल संवेदनशीलतालाई स्पष्ट पारेको छ । कपिलले प्रश्न गरेका छन्— ‘यदि राज्य धेरै शक्तिशाली भयो भने अथवा निरङ्कुश भयो भने व्यक्तिको स्वतन्त्रता कसरी जोगिन्छ ?’
कपिलको प्रतिवादमा मिलनले तत्कालै प्रश्न गरेका छन्— ‘यदि बजार मात्र शक्तिशाली भयो भने गरिबहरूको स्वतन्त्रता कसरी जोगिन्छ ?’ यी दुई पात्र बीचको यस बहसले राज्य र बजार दुवैको अतिवादी शक्तिको जोखिमलाई व्यावहारिक रूपमा औँल्याएको छ ।
४. वैचारिक मिलनविन्दु र समन्वयः
यद्यपि मिलन र कपिल दुवैका मार्गहरू फरक छन् तर बहसको अन्त्यमा उनीहरू नेपालको वास्तविक समस्या र राष्ट्रको परिभाषामा एकै ठाउँमा आइपुगेका छन् । नेपालको सबैभन्दा ठूलो समस्या के हो भन्ने प्रश्नमा मिलनले भनेका छन्— ‘अन्यायसँग सम्झौता गर्ने हाम्रो बानी ।’ यसैमा कपिलले थपेका छन्– ‘फरक विचारलाई शत्रु ठान्ने हाम्रो कमजोरी ।’ यहाँ दुवैको विचार अत्यन्त सन्तुलित र परिपूरक देखिन्छ । अन्त्यमा उनीहरूले समन्वयात्मक विचारमा जोड दिन पुगेका छन् ।
उपन्यासमा संरचना र चेतनाको पनि संयोजन पाइन्छ । मिलन अन्ततः स्वीकार गर्छन् कि केवल संरचना बदलेर मानिसको लोभ र अहङ्कार उस्तै रह्यो भने नयाँ समस्या जन्मिन्छ, त्यसैले संरचना र व्यक्तिगत नैतिक रूपान्तरण दुवै आवश्यक छ ।
यी दुई पात्रले गरेको राष्ट्रको परिभाषा पनि साझा छ । राष्ट्रलाई कपिलले नक्सा मात्र होइन भन्दा मिलनले अत्यन्त मर्मस्पर्शी रूपमा परिभाषित गरेका छन्– ‘आफ्नी आमाले छोराको बाटो हेरेर बिताएका वर्षहरू, किसानको पसिना, शिक्षकको धैर्य, विद्यार्थीको सपना र हिमाल, पहाड अनि तराईलाई जोड्ने विश्वास नै राष्ट्र हो ।’
यो बहसको सबैभन्दा सुन्दर पक्ष भनेको यसले कसैलाई विजेता वा पराजित बनाएको छैन । यी दुवै पात्रहरूले निष्कर्षभन्दा माथि सत्यको खोजीलाई राखेका छन् । कार्यक्रम र व्यक्तिगत छलफल सकिएपछि दुवैले हार्दिकताका साथ हात मिलाएर भनेका छन्, ‘हाम्रो बाटो फरक हुन सक्छ तर गन्तव्य नेपाल नै हो ।’ यसरी उपन्यासले मार्क्सवादी संरचनात्मक परिवर्तन र प्रजातान्त्रिक समाजवादी नैतिक चिन्तनलाई एकअर्काको शत्रु नभई नेपालको समग्र पुनर्जागरणका लागि परिपूरक शक्तिका रूपमा प्रस्तुत गरेको छ ।
‘पुनर्जागरण’मा विज्ञान तथा सूचना प्रविधिः
यस उपन्यासमा विज्ञान र सूचना प्रविधिको प्रयोगलाई केवल आधुनिकीकरणको साधनका रूपमा मात्र नभई सामाजिक रूपान्तरण, सुशासन, कृषि क्रान्ति र शक्ति सङ्घर्षको प्रमुख हतियारका रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा प्रविधिको सकारात्मक र नकारात्मक दुवै पक्षलाई सन्तुलित रूपमा देखाइएको छ । आजको युगमा प्रविधिको उपयोगमार्फत आर्थिक उपार्जन गर्न सक्नुपर्छ भन्ने उपन्यासकारको विचार रहेको छ । डिजिटल माध्यमबाट समाजमा परिवर्तनको लहर ल्याउन सकिन्छ भन्ने विश्वास उपन्यासकारमा छ । उपन्यासमा प्रयुक्त सूचना तथा प्रविधिको सन्दर्भलाई निम्नअनुसार सङ्क्षेपमा विश्लेषण गरिएको छ–
१. सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा सूचना तथा प्रविधिको प्रयोगः
डिजिटल सूचना पाटी र पोर्टलबाट जनतालाई सहज रूपमा सुसूचित गराउन सकिन्छ । यही प्रविधिअनुरूप सत्यपुरको विकासलाई पारदर्शी बनाउन गाउँपालिकाका प्रत्येक योजना, बजेट र खर्चको विवरण सार्वजनिक डिजिटल सूचना पाटी र डिजिटल पोर्टलमा राख्ने व्यवस्था मिलाइएको छ । यसरी नै क्यु.आर. कोड स्क्यानको उपयोग गर्नुपर्ने कुरालाई उपन्यासमा जोड दिइएको छ । गाउँको चिया पसल र चौतारीमा राखिएको डिजिटल सूचना पाटीमा सर्वसाधारणले आफ्नो मोबाइलबाट क्यु.आर. कोड स्क्यान गरी गाउँपालिकाको खर्च विवरण प्रत्यक्ष रूपमा हेर्न सकिने व्यवस्थामा मिलनलगायतका युवाहरू लागिपरेका छन् ।
विकास योजनाहरूको काम सम्पन्न भएको सुनिश्चित गर्न र ठेकेदारहरूलाई भुक्तानी दिनुअघि ड्रोन र जीपीएस प्रविधिबाट स्थलगत प्रमाणीकरण गर्ने नियम बनाइएको छ । खरिद र भुक्तानी पनि अनलाइनमार्फत गर्नुपर्नेमा जोड दिइएको छ । मिलेमतो र भ्रष्टाचार रोक्न सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण रूपमा अनलाइन बनाइएको छ ।
२. कृषि र सहकारीमा डिजिटल रूपान्तरणः
राष्ट्रको समृद्धिमा तगारो बनेका बिचौलियाको अन्त्य गर्नका लागि डिजिटल बजार आवश्यक रहेको कुरालाई उपन्यासमा उठाइएको छ । किसान र उपभोक्ताबीचको दुरी घटाएर सूचनाको असन्तुलनलाई मेटाउन डिजिटल प्रविधिको प्रयोग गरिन्छ जसले गर्दा किसानले आफ्नै उत्पादनको मूल्य सार्वजनिक गर्न र डिजिटल बजारमार्फत सिधै ग्राहकसँग कारोबार गर्न सक्छन् । बाली उत्पादन र निरीक्षणमा पनि डिजिटल प्रविधिको उपयोग गर्न सकिने तथ्यलाई उपन्यासमा जोड दिइएको छ । उपन्यासमा प्रयुक्त नारी पात्र सुमनाले कृषकहरूलाई मोबाइल एपको प्रयोग गर्ने प्राविधिक तालिम दिनुपर्नेमा जोड दिएकी छन् । गाउँका युवाहरू मोबाइल एपको सहयोगले बालीको अवस्था र स्वास्थ्य अनुगमन गर्छन । फेसबुक, टिकटक र अनलाइन सपिङलाई गाउँको उत्पादन शहरसम्म पुर्‍याउने माध्यम बनाइएको छ ।
डिजिटल फार्मिङ र कोडिङ शिक्षामा पनि उपन्यासमा जोड दिइएको छ । नेपाललाई ‘स्मार्ट ग्रामीण रूपान्तरणको अगुवा राष्ट्र’ घोषणा गरिएपछि विद्यालय तहदेखि नै कोडिङ, डिजिटल फार्मिङ र जलवायु परिवर्तन जस्ता विषयहरू अनिवार्य बनाइने कुरा उपन्यासमा छ । बालबालिकाहरू चौतारीमै बसेर कोडिङ सिक्ने गरेका छन् ।
३. विज्ञानसम्मत तथ्यपरक अनुसन्धान र सर्वेक्षणः
रेडियोमेट्रिक सर्वेक्षण महत्वपूर्ण सर्वेक्षण हो । खानी तथा भूगर्भ विभागको टोलीले सत्यपुरवरपर गरेको रेडियोमेट्रिक सर्वेक्षणले त्यहाँ दुर्लभ खनिजको विशाल भण्डार रहेको देखाउँछ जसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडिया र अन्वेषकहरूको ध्यान त्यही सत्यपुर गाउँतर्फ खिचिएको छ । उपन्यासमा मिलन कृषि वैज्ञानिकका रूपमा देखिएका छन् । उनले माटो र जडीबुटीको अनुसन्धानमा जोड दिएका छन् । गाउँ फर्केका मिलन र सुमना मिलेर माटाको गुणस्तर र जडीबुटीको व्यावसायिक उत्पादनका लागि वैज्ञानिक अनुसन्धानको थालनी गरेका छन् ।
४. डिजिटल सूचना युद्ध र ए.आई.को चुनौतीः
ए.आई. भिडियोले समाजमा राम्रो मात्र गरेको छैन, नराम्रो पनि गरेको छ । मिलनको अभियानलाई असफल बनाउन विरोधी शक्तिहरूले ए.आई.को दुरूपयोग गरी मिलनले विदेशीहरूसँग गोप्य र राष्ट्रघाती सम्झौता गरिरहेको भ्रमपूर्ण ए.आई. भिडियो सामाजिक सञ्जालमा भाइरल गराएका छन् । ट्रोल र भ्रम फैलाउने नक्कली खाताहरू सञ्चालनमा ल्याएर दुःख दिएका छन् । सामाजिक सञ्जालमा मिलन, सुमना र रमिताका विरुद्ध दुष्प्रचार गर्न रातारात खोलिएका अनेक नक्कली खाताहरू प्रयोग गरेर योजनाबद्ध साइबर आक्रमण गरिएको छ । कम्प्युटर विज्ञ रेखाले उक्त ए.आई. भिडियोको प्राविधिक विश्लेषण गरेर त्यसभित्रको जालसाजी र भ्रमलाई उजागर गरेकी छन् । सत्यपुरका युवाहरूले ‘तथ्य जाँच’ र ‘सूचना समूह’ बनाएर भ्रम चिर्ने काम गरेका छन् ।
५. ए.आई. र प्रविधिको दर्शनसम्बन्धी बहसः
उपन्यासमा ए.आई. र रोजगारीको बहस छ । दीपेशले ‘ए.आई.ले रोजगारी खोस्छ’ भनी चिन्ता व्यक्त गर्दा रमेशले स्पष्ट पारेका छन् कि ए.आई. आफैले रोजगारी खोस्ने होइन, बरु ए.आई. प्रयोग गर्न जान्ने मानिसले यसको प्रयोग गर्न नजान्नेलाई प्रतिस्थापन गर्छ । प्रविधि तटस्थ साधन हो । उपन्यासका एक बौद्धिक पात्र त्रिलोक्य सरले प्रविधिलाई शत्रु नभई एउटा तटस्थ साधन मानेका छन् । यसको प्रयोग गर्ने मानिसको नियत नै निर्णायक हुने कुरा स्पष्ट पारेका छन् । मिलनले प्रविधिलाई बिचौलियाको सन्जाल तोड्ने र संस्थागत परिवर्तन ल्याउने बलियो माध्यमका रूपमा व्याख्या गरेका छन् ।
‘पुनर्जागरण’मा मायाप्रेमको सन्दर्भः
प्रस्तुत उपन्यासमा मायाप्रेम उदात्त भावमा अभिव्यक्त छ । प्रेम मानवीय अस्तित्वसँग गाँसिएको छ र फराकिलो तथा बहुआयामिक रूपमा चित्रित छ । उपन्यासमा प्रेम केवल युवायुवती बीचको रोमान्टिक आकर्षणमा मात्र सीमित नभएर मातृत्वको ममता, पारिवारिक स्नेह, माटोप्रतिको गहिरो भक्ति र मानव कल्याणप्रतिको करुणाका रूपमा व्यक्त भएको छ । उपन्यासमा वैचारिक सहयात्रामा जोडिएका प्रेमका विविध सम्बन्धहरूलाई स्थान दिइएको छ, जसमा रोमान्टिक आकर्षणसँगै गहिरो संवेदना, दायित्वबोध र आदर्श झल्किएको छ–
१. रोमान्टिक आकर्षणसँगै युवायुवतीहरूको मिलनः
मिलन र रबिनाको बीचमा झ्याङ्गिएको प्रेम केवल शारीरिक वा भावनात्मक आकर्षण मात्र नभएर साझा जीवनदर्शन र सामाजिक उद्देश्य प्राप्तिको एउटा जीवन्त सहयात्रा हो । स्वयम् मिलनले भनेका छन् कि यदि प्रेमले मानिसलाई थप उदार, जिम्मेवार र मानवीय बनाउँछ भने त्यो वास्तवमै एक जीवित दर्शन हो । रबिना मिलनका लागि बलियो भरोसा बनेकी छन् । उनको निस्वार्थ साथ र स्नेहले बाल्यकालमा बेचिएका मिलनको विगतको मानसिक आघातलाई निको पार्न र उनलाई फेरि जीवन तथा मानिसहरूमाथि विश्वास गर्न सहयोग पुर्‍याएको छ । मिलन र रबिना सत्यपुर गाउँमै सरल रूपमा विवाह गरी गाउँको सेवा र रूपान्तरणमा समर्पित भएका छन् ।
रमेश र सीमाको प्रेममा विछोडको पीडा, त्याग र बफादारिताको परीक्षा देखिएको छ । रमेश अध्ययनका लागि अमेरिका जाँदा सीमाले दिएको डायरी उनीहरूको सम्बन्धलाई जोड्ने एउटा बलियो अदृश्य धागो बनेको छ । अमेरिकाको व्यस्त जीवनमा रमेश नैतिक रूपमा अलिकति विचलित भए तापनि सीमासँग गरेको आफ्नो गल्तीको निष्कपट स्वीकारोक्ति र पश्चातापले उनीहरूको सम्बन्धमा सत्य र इमानदारीको गहिराइ देखाएको छ । अन्ततः उनीहरू पुनः सत्यपुरमै एक भई विवाह बन्धनमा बाँधिएका छन् ।
न्यूयोर्कको व्यस्त तर एक्लो भीडमा सङ्घर्ष गरिरहेका प्रेमले सत्यपुर गाउँ र सिमलीको मुस्कानलाई सधैँ मनमा सजाइराखेका छन् । उनीहरूले पनि सत्यपुरमै दाम्पत्य जीवन सुरु गरेका छन्, जहाँ सिमलीले गाउँका बालबालिकाका लागि सिर्जनात्मक केन्द्र र पुस्तकालय खोल्ने सङ्कल्प गरी आफ्नो प्रेमलाई गाउँको विकाससँग जोडेकी छन् ।
२. मातृत्व, परिवार र जन्मथलोसँग सम्बन्धित प्रेमः
मातृत्व र पारिवारिक प्रेम यस उपन्यासको अर्को महत्वपूर्ण प्रेमको सन्दर्भ हो । पारिवारिक स्नेह र मातृत्वको ममतालाई उपन्यासमा प्रेमको सबैभन्दा बलियो र पवित्र कडीका रूपमा देखाइएको छ । अमेरिकामा प्रतिष्ठित जीवन र आर्थिक सुरक्षा हुँदाहुँदै पनि विनयको मन सधैँ आफ्नी आमाको न्यानो माया र गाउँको सम्झनामा नेपालतिरै भौंतारिएको छ । आफ्नी आमालाई अन्तिमपटक देख्न नपाएको पीडा उनमा सधैँ रहिरहन्छ । यो भनेको आमाप्रतिको निस्वार्थ ममता हो ।
सोमनाथ र पार्वतीको वात्सल्य प्रेम यस उपन्यासमा आएको प्रेमको अर्को नमुना हो । मेलामा हराएको आफ्नो जेठो छोरा मिलनप्रतिको बिर्सनै नसकिएको प्रेम र दुई दशक लामो प्रतीक्षा पारिवारिक मायाको पराकाष्ठा हो । पार्वतीले मिलनको पुरानो टोपी र चप्पललाई वर्षौंसम्म सम्हालेर राख्नु र आमा हुनुको नाताले छोरो जीवितै फर्किने विश्वास राखिरहनुले आमाको प्रेम कति शक्तिशाली हुन्छ भन्ने कुराको पुष्टि गर्छ ।
यस उपन्यासका अधिकांश पात्रहरूले आफू जन्मेको माटो, गाउँ र देशप्रतिको प्रेमलाई हृदयमा सँगालेका छन् । उनीहरूले आफ्नो देश र गाउँप्रतिको प्रेमलाई नै आफ्नो जीवनको अन्तिम सुख र पहिचान मानेका छन् । विनय, मिलन, रमेश, सीमा लगायतका पात्रहरूमा देशप्रेमको भावना प्रबल देखिएको छ । रमेशले अमेरिका स्थित सिलिकन भ्यालीको आकर्षक जागिर छोडेर आफ्नै देश र माटाका लागि केही गर्ने सङ्कल्पका साथ फर्किनु, प्रेमले न्यूयोर्कमा कमाएको डलरभन्दा आफ्नै गाउँको माटाको सुगन्ध रोजेर फर्किनुले माटोप्रतिको गहिरो प्रेम दर्शाएको छ । गाउँमै बसेका हर्के काकाको गाउँप्रतिको प्रेम पनि उत्तिकै अनुकरणीय छ ।
उपन्यासमा मायाप्रेमको भावनालाई व्यापक मानवीय करुणा र सामाजिक न्यायको आधारशिलाका रूपमा व्याख्या गरिएको छ । समाजमा व्याप्त घृणा, गरिबी र विभेदलाई घृणाले होइन, बरु आपसी करुणा, सेवा र प्रेमले जित्न सकिन्छ भन्ने कुरा बुद्ध र गान्धीको दर्शनमार्फत उपन्यासमा प्रस्ट्याइएको छ ।
समग्रमा, उपन्यासमा मायाप्रेम केवल दुई मुटुको मिलन वा रोमान्टिक सुखमा मात्र सीमित नरहेर यो मातृत्वको असीम श्रद्धा, पारिवारिक विश्वास, माटोप्रतिको गहिरो निष्ठा र समाज रूपान्तरणको साझा सङ्कल्पका रूपमा समेत प्रकट भएको छ ।
निष्कर्षः
समग्रमा, पुनर्जागरण उपन्यासले हाम्रो समाजमा देखापरेको वर्गीय असमानताको विरोध गरेको छ । उपन्यासले श्रमको सम्मान, वैज्ञानिक चिन्तन, मानवीय मर्यादाको पुनर्बहाली र पारदर्शी लोकतान्त्रिक अभ्यासका माध्यमबाट समाजलाई अग्रगामी दिशातर्फ डोर्‍याउनुपर्ने गतिशील विचार प्रस्तुत गरेको छ । यसमा देशभक्तिलाई कुनै अमूर्त सिद्धान्तका रूपमा नभई आफ्नै माटो खनेर सुन फलाउने, विदेशमा सिकेको ज्ञान र सीप स्वदेशको विकासमा लगाउने, युवाशक्तिमा निहित जोस र जाँगरको उपयोग स्वदेशमै गर्ने र आफ्नो जरा तथा संस्कृतिलाई जीवित राख्ने एउटा सिर्जनात्मक र व्यावहारिक महाअभियानका रूपमा प्रस्तुत गरिएको छ । उपन्यासले मार्क्सवादी संरचनात्मक परिवर्तन र प्रजातान्त्रिक समाजवादी नैतिक चिन्तनलाई एकअर्काको शत्रु नभई नेपालको समग्र पुनर्जागरणका लागि परिपूरक शक्तिका रूपमा प्रस्तुत गरेको छ । विज्ञान तथा सूचना प्रविधिको प्रयोग सामाजिक रूपान्तरण, सुशासन, कृषि क्रान्तिको प्रमुख हतियारका रूपमा हुनुपर्छ भन्ने आशय अभिव्यक्त छ । उपन्यासमा मायाप्रेमको अभिव्यक्ति केवल दुई मुटुको मिलन वा रोमान्टिक सुखमा मात्र सीमित नरहेर मातृत्वको असीम श्रद्धा, पारिवारिक विश्वास, जन्मभूमिको माटोप्रतिको गहिरो निष्ठा र समाज रूपान्तरणको साझा सङ्कल्पका रूपमा समेत प्रकट भएको छ ।
पोखरा– १७, कास्की

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।