19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रतिक्षारत आँखाहरू

कथा डा. पुष्करराज भट्ट October 26, 2026, 3:16 pm
डा. पुष्करराज भट्ट
डा. पुष्करराज भट्ट

चाडपर्व भन्नु आफैमा तनावको कारण बन्दछ । अलग–अलग ठाउँमा बसाइ हुनु पनि कष्टकर नै हो । अझ ससाना बालबालिका भए त झन कठिन हुने गर्छ । आफ्नो मन त जसोतसो बुझाउँछु तर बालबालिकाको जिद्दीपनाको सामना गर्ने ? असहज परिस्थितिको सामना गर्न पुग्छु म । यसपालि पनि यस्तै अवस्था छ । श्रीमान घर आउने कुनै छाँट छैन । कुनै खबर आएको छैन । आफैले सम्पर्क गर्ने सोच बनाएकी छु तर....। प्रिस्थिति अनुकुल हुन्छ या हुँदैन । म यसै भन्न सक्दिन् ।
“इज्या, बा कब घर औन्या हुन ?” (आमा, बुृवा कहिले घर आउनु हुने हो ? ) सानो बालक सुनिल बिहानबिहानै बोल्यो ।
“आब एक दुई दिनमा पुगिजान्ना, गौःरा बेला लै हो । कसो नाइँ पुगुन्ना ?” (अब दुई दिनमा पुगिहाल्नुहोला । गौःरा पर्वको बेला पनि हो । कसो नपुग्नुहोला ?” मैले पनि सम्झाउने प्रयास गरेँ ।
मैले कतिचोटि भनें श्रीमानलाई, “अब एक्लाएक्लै बस्न सकिन्न । सँगै बस्ने वातावरण मिलाउनुस ।”
अहँ, उहाँले जवाफ दिएको सुनिएन ।
एक दिन निकै लामो वचनपछि उहाँले भन्नुभयो, “हामीले भनेजस्तो कहाँ हुन्छ । सबै कुरा मिलाउनु पर्छ ।”
“के मिलाउनुपर्छ ?” म पनि त्यसै छोड्ने पक्षमा थिएन ।
“बुढा आमाबाबुलाई हेर्ने कोही छैन । पहाडको खेतबारी, वस्तुभाउ सबै थोक कहाँ हाल्ने ? भाइका परिवार पहिल्यै तराई गइसके ।” उहाँले भन्नुभयो ।
“तपाईँको आशय मैले बुझिसकेकी छु । भैगो, अहिले यो कुरा नगरौं ।” यति भनेर चुप लागें म ।
वर्षमा एक, दुई पल्ट परिवार भेट्ने मौका मिल्दछ चाडपर्वका बेला । घरबाट टाढा हुनुको अर्थ धेरै कुराबाट टाढा हुनु हो । आउन जान यति समय लाग्छ कि एक, दुई दिनमा विदा सकिइहाल्छ । पर्वका बेला घरका सबले आश मान्छन् । घर मात्र कहाँ हो र ? विवाह गरेर गएका दिदीबहिनी पनि आश मानेर बस्छन् ।
एउटा पर्वपछि अर्को पर्वसम्म आइपुग्दा कहिलेकाहीँ त वर्ष दिन नै लाग्दछ । अघिल्लो विजयादशमीदेखि छर गएको छैन ऊ । कामको बोझ यति हुन्छ कि घरपरिवारलाई अब सम्झेर मात्र बस्नुपर्छ । भेटन हुने समय पर्खँदा कम्तिमा पनि छ महिना हुन्छ । यति लामो श्रीमानको प्रतीक्षा अब असह्य भइसकेको छ । दोहारो बसाइले खर्च पनि त्यतिकै छ । ससाना बच्चाहरू बाबुको निकटता चाहन्छन् तर बाबुको अवस्था पनि......।
गौःरामा नरमाउने को होला र ? अझ तराईभन्दा पहाडमा त अति नै महत्व दिन्छन मान्छेहरू । सेतीकालीको महत्वपूर्ण पर्व हो यो गौःरा पर्व । मध्य तथा सुदूर पश्चिमका जनताको साझा संस्कृति बनिसकेको छ गोःरा पर्व । चाडपर्व कृषि जीवनको दुःख बिसाउने मेलो बन्छ । जीवनका अनेक कष्ट बिर्सेर अघि बढ्न चाहन्छ मान्छे । विपन्नताको चक्रबाट मुक्त हुन चाहन्छ मान्छे । चाडपर्व, भेटघाट । पारिवारिक मिलन अनि साथीसंगातीसँगको रमाइलो । घरका सदस्य साथसाथै नयाँ लुगा चाहन्छन् गौःरामा । पश्चिम नेपालको गौरव बनेर उभिदिन्छ हाम्रा सामुन्ने ।

हो, यो समाज ती पलहरू यस्तै दिनहरूमा आफनो पहिचान खोज्छ । यस्तै–यस्तै बेलामा प्रस्तुत हुने लोकगीत, लोकभाका अनि लोकपर्वहरूले समाजको सम्पुर्ण परिचय दिने गर्छन । नबुझ्नेहरूका निमित्त के के न हो जस्तो भएपनि सिंगो समाजका निमित्त त जीवनको ढुकढुकी नै बनेको छन, लोकपर्वहरू ।
यस्तै चाडबाड आयो कि केटाकेटीमा नै त्यसको ठूलो प्रभाव पर्दछ । चाडबाड भन्नु नै उनीहरूका निमित्त रमिता नै हो । घरमा के छ, के छैन उनीहरूलाई वास्ता हँुदैन । भनेको चिज चाहियो, चाहियो । त्यसपछि उनीहरूका आमाबाबुले आफू भोकै नाङ्गै रहेर पनि, ऋण दिएर पनि उनीहरूको आवश्यकता पुरा गर्नतिर लाग्नु परिहाल्थ्यो । पर्व जति–जति नजिक आउँदै थियो । बच्चाहरूमा उत्सुकता बढदै थियो । उनहिरू सधैँजसो घरमा नयाँनयाँ खबर घरमा ल्याइरहन्थे । हुनेखानेका निमित्त त पर्व मनोरञ्जन अनि हाँसखेलमा कट्छ तर विपन्न नागरिक एवम् निम्नमध्यम वर्गका लागि भने यो एक दुःखको पहाड बन्दछ । सामूहिक भेलामा गाइने देउडा लगाएका खेलमा त मानिस हुन्छ तर मन भने दुःखी बनिरहन्छ ।
“प्रमोदा बा उइकी लेखा नयाँ कपडा लेइ¥यान, उइकी बुनीकी लेखा लै नयाँ झकुलो लेइ¥यान।” (प्रमोदको बुवाले उसको लागि नयाँ कपडा ल्याउनु भएको छ । उसकी बहिनीको लागि पनि नयाँ मिडी ल्याउनु भएको छ ।) बाह्र वर्षे अनिलले भन्यो । उसलाई आफ्ना बाबु घर नहुँदा आफ्ना लागि कपडा नसिलाइने हो कि भन्ने पीर छ ।
“हमुकी कब कपडा ल्यौन्यौ, इज्या । (हाम्रा लागि कपडा ल्याउनु हुन्छ, आमा !) सानो छोरा सुनिलले जिज्ञासा राख्यो ।
“आब तमरा बाबा औन दयौ, उन आफूइ हम सबकी कपडा लेइ औन्ना ।” (अब तिमिहरूका बुवालाई आउन देऊ । उहाँले नै हामि सबैको लागि कपडा ल्याएर आउनु होला ।) आमाले सम्झाएकी थिएँ मैले ।
“बाबा त कब औन्या हुन कब, उज्याँ सम्म हम कि गरला ?” (बाबा त कहिले आउनु हुने हो कहिले, उति बेला सम्म हामि के गरौंला ? ) छोराहरू यसो भन्दै कराउन थालेका छन् ।
“बाबा नआया मुइ त रोइदिन्या हुँ । (बुबा नआए म त रुने हुँ ।) कान्छी छोरी प्रमिलाले भनिन् ।
छुट्टी मिलेपछि आउँछु भनेर त विष्णुले भनेका थिए तर पनि घर आउँछन नै भन्ने कुनै ठेगाना नै थिएन । छुट्टी नै नपाइने हो की या बाटो बन्द हुनाले आउन नसकिने हो ? मन अशान्त भइरहेको छ । आफ्नो मनमा पीर भएपनि छोराछोरीका अघि यसको संकेत दिनु भएन । अघिल्लै सालको कुरा त हो नी । उहाँले एक आफन्तलाई पैसा दिएर कपडा किनेर घर पु¥याइदिन भन्नुभएको थियो । त्यो मानिसले सबै पैसा खाइदिएपछि हाम्रा घरका बालबालिकाको कपडा नपाएर तमाशा गरेका थिए । यसभन्दा अघि पनि ल्याएको राम्रो कपडा आफ्ना बच्चालाई दिएर नराम्रो कपडा मेरा छोराका लागि पठाएको भनेर दिने पनि हाम्रै नातासम्बन्धका मानिस छन् । ससानो लोभमा अरूलाई दुःख दिन छोड्दैनन् मान्छेहरू ।
”यो गोःरामा म कतै जान्न । पुराना कपडा लगाएको देखेर सबले जिस्काउँछन् ।” जेठो छोरा अनिलले बेस्सरी रोएर भनेको थियो । आजको जमानामा मानिसको विश्वास राख्नु पनि कसरी ? उनी सोच्न थालिन ।
गौःरा आउन दुई दिन मात्र बाँकी रहयो । घरमा त्यति पैसा पनि छैन, जसले सासु–ससुरालाई नभएपनि बच्चाहरूको आवश्यकता पुरा गर्न सकियोस ? शायद विष्णुप्रसाद घर आइहाल्छन की भन्ने आशा भने जीवितै थियो ।
“इज्या, बा आजसम्म त घर पुगिसक्कु पड्या हो” ( आमा, बा आजका दिनसम्म त घर आइसक्नु पर्ने हो ?) केटाहरू भन्न थालिसकेका थिए ।
गौःरा हुन एक दिन मात्र रह्यो । बाटो खराब भएको खबर आइरहेको थियो । साँझपख एक धमिलो हाम्रो घरतिर आइरहेको देखेँ । को मान्छे होला ? ठम्याउन सकेन मैले । झटपट ढोका लगाएँ मैले ।
एकछिनमा ढोका घडघडाएको आवाज आयो, “ए पार्वती ! पार्वती !”
मैले आवाज ठम्याएँ, यो आवाज मेरै श्रीमान विष्णुको थियो ।
मैले ढोका खोलेँ । उहाँ भित्र आउनुभयो ।
“बाटो खराब थियो भन्ने सुनेको थिएँ, कसरी आउनुभयो ?” जिज्ञासु नजरले हेर्दै भनें ।
“यो पर्वमा छोराछोरी अनि तिम्रो अनुहार निन्याउरो होला । आमाबाबुले पनि बाटो पर्खिरहनु भएको होला, यही सोच मनमा आयो । मनमा अनेक किसिमका विचार आउन थाले । बाटो जतिसुकै अप्ठ्यारो भएपनि घर जान्छु भन्ने सोचेर आएँ ।” विष्णुले भन्नुभयो ।
सासुससुरा छोरा घर आएकोमा खुसी हुनुभयो ।
“पर्वका बेला छोरा घर आएको छ ।” खुसीको ठेगाना रहेन आमाबाबुमा ।
ससाँझै खाना खाएका केटाकेटी निदाइसकेका थिए । मैले उनीहरूलाई उठाउन चाहेन ।
भान्साको काम सकिएपछि सुतियो ।
बिहान अलि छिटै जेठो छोरा अनिल ब्युँझियो । आफ्ना बाबुलाई देखेर उसले भन्यो, “ओहो ! बाबा आया र्यान ।” (ओहो ! बुवा आउनु भएको रहेछ ।
उसले आफ्ना भाइबहिनाीलाई उठाउँदै भन्यो, “ए उठ ला उठा । बा आइर्यान ।” (ए उठ तिमीहरू ! बुवा आउनु भएको छ ।)
सबै केटाकेटी ब्युँझिए । घरमा एक प्रकारको रौनक छायो । केटाकेटी खुसी थिए ।
मैले चिया बनाएर दिने बेलामा देखेँ, विष्णु सबै छोराछोरी जम्मा गरेर उनीहरूलाई कपडा दिइरहनु भएको थियो ।
मैले भनें, “अनि मलाई के ल्याइदिनु भयो त ?”
उहाँले साडी, व्लाउज लगायत कपडाको सेट थमाउँदै भन्नुभयो, “यो तिम्रो लागि ।”
“आमा र बुवाको कपडा दिइसकेको छु उहाँहरूलाई ।” उहाँको मतिर हेर्दै भन्नुभयो ।
“अनि आफ्नो लागि खै त ?” प्रश्न तेस्र्याएं मैले ।
“चाहिएको बेला किन्ने गरेको छु । अहिले घरपरिवारको पालो ।” यति मात्र भन्नुभयो ।
मलाई लाग्थ्यो, मेरा श्रीमान निष्ठुरी मानिस हुन् । तर समय र परिस्थितिले मानिसलाई निष्ठुर बनाउँदो रहेछ । मानिसको जीवनमा अनेक घुम्ती अनि मोड आइरहछन् । मलाई थाहा थिएन, एउटा छोराको महत्व आमाबाबुका लागि कति हुने रहेछ ? अनि ससाना बालबालिकाका लागि परदेशमा रहेको बाबुको महत्व कति हुने रहेछ ? सबै सबै कुरा बुझिरहेछु म ।
नयाँ लुगा पाएर बच्चाहरू खुसी छन् । बाबुआमा छोरा भेटेर प्रसन्न छन् । अनि म ?
म पनि त मेरा जीवनसाथीसँगको लामो भेटपछि खुसी नै छु ।
“ ए ! झट्ट तयार हौ ला । गोःखा खला झान्या बेला होइगयो (ए ! छिटो तयार होऊ । गौःरा हुने ठाउँमा जाने बेला भइसक्यो ।) मैले घरका सबै जनालाई भनें ।
छोराछोरी आफ्ना बुवासँग साथ लागेर गौःरा हुने ठाउँमा गइरहेका छन् । म पनि त साथमै छु । सासुससुरा पहिल्यै गइसक्नु भएको छ ।
सारा परिवार एक साथ रमाएको छ । म यो पलको आनन्द अनुभूत गरिहेछु शरीर अनि मनमस्तिष्कमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।