शनिबारको साँझ थियो। बैठककोठामा रेडियो बजिरहेको थियो। नारायणगोपालको स्वरमा डुबेर उमेश चियाको चुस्की लिँदै थिए। बाहिर हल्का हावा चलिरहेको थियो। दिनभरको कामपछि यस्तो साँझ उनलाई निकै प्रिय लाग्थ्यो।
टेबलमाथि केही पत्रपत्रिका छरिएका थिए। भान्साबाट निस्केकी कल्पनाको नजर तिनैमा पर्यो।
“जहिल्यै रेडियो सुन्नमा भुल्नुहुन्छ, यी पत्रपत्रिका मिलाएर राख्न पनि भ्याउनुहुन्न?” उनले भनिन्।
उमेशले रेडियोबाट नजर नहटाई जवाफ दिए, “अलि पछि मिलाउँला नि।”
“तपाईंको त्यो ‘पछि’ कहिल्यै आउँदैन।”
कल्पनाको स्वरमा गुनासोभन्दा झर्को बढी थियो। उमेशले रेडियोको आवाज कम गरे र चियाको कप टेबलमा राखे।
“ल, अहिले नै मिलाइदिन्छु,” उनले भने।
पत्रपत्रिका मिलाउँदै गर्दा उनलाई गीतको आनन्द खलबलिएको महसुस भयो। कल्पनालाई भने आफ्नो कुरा नसुनेसम्म उमेशले कामको महत्त्व नबुझ्ने बानी परेको जस्तो लाग्यो।
गीत उही थियो, साँझ पनि उही। तर केही बेरअघिको शान्ति हराइसकेको थियो।
पैंतीस वर्षदेखि सँगै जीवन बिताएका उमेश र कल्पनाको सम्बन्धमा मायाको कुनै कमी थिएन। सुखदुःखमा उनीहरू एकअर्काको साथ बनेका थिए। छोराछोरी हुर्काउनेदेखि घरपरिवारका जिम्मेवारी सम्हाल्नेसम्म दुवैले आआफ्नो भूमिका निभाएका थिए। अब त छोराछोरी पनि आफ्नै घरव्यवहार गर्न थालिसकेका थिए। तर समयसँगै उनीहरूको सम्बन्धमा सानातिना असमझदारीले पनि ठाउँ बनाउँदै लगेका थिए।
उमेशलाई पुराना गीत सुन्न, साथीभाइसँग गफिन र बगैँचामा समय बिताउन मन पर्थ्यो। उनी मनका खराब थिएनन्, तर ससाना काम भोलिका लागि सार्ने बानी थियो। कल्पना भने घर व्यवस्थित होस्, कुनै काम अधुरो नरहोस् र सबै कुरा समयमा मिलोस् भन्ने चाहन्थिन्। उनी परिवारको खुब ख्याल राख्थिन्, तर कहिलेकाहीँ त्यही ख्याल गुनासो बनेर निस्कन्थ्यो।
कल्पनालाई लाग्थ्यो, आफूले नभनेसम्म उमेशले कामको महत्त्व बुझ्दैनन्। उमेशलाई लाग्थ्यो, आफूले जे गरे पनि कल्पनाको चित्त बुझ्दैन।
कहिले चाबी राख्ने ठाउँको कुरा, कहिले लुगाफाटो मिलाउने तरिका, कहिले घरको काममा ढिलाइ। कहिलेकाहीँ उमेशले साथीहरूसँग बिताएको समयलाई लिएर पनि कुरा उठ्थ्यो। कल्पनालाई घरका कामको चापमा आफूले चाहेजति फुर्सद नपाएको गुनासो हुन्थ्यो। उमेशलाई चाहिँ हरेक खाली समयको पनि हिसाब दिनुपरेजस्तो लाग्थ्यो।
कुरा साना थिए, तर तिनलाई भन्ने तरिका सधैँ सानो हुँदैनथ्यो।
कल्पनाले केही सम्झाउँदा उमेश कहिले कुरा काट्थे, कहिले मुख फुलाएर चुप लाग्थे। उमेशले आफ्नो मनको कुरा राख्दा कल्पना कहिलेकाहीँ उनको वाक्य पूरा नहुँदै जवाफ दिन्थिन्। दुवै बोल्थे, तर एकअर्काको कुरा पूरा सुन्ने धैर्य दुवैमा कम हुँदै गएको थियो।
माया थियो, तर मायाको भाषा कहिलेकाहीँ गुनासो र मौनताले छोपिदिन्थ्यो।
केही दिनपछि उनीहरूकी नातिनी सिताष्माको सोह्रौँ जन्मदिन मनाउन परिवारका सदस्यहरू भेला भए। घरमा हाँसो, गफ र बालबालिकाको चहलपहल थियो।
सिताष्मा रङ्गीन कागजका मुकुट बनाउँदै थिइन्। एउटा मुकुट आफ्नै टाउकोमा लगाइन्। बाँकी दुईवटा लिएर हजुरबुबा र हजुरआमाको अगाडि पुगिन्।
“यो हजुरबुबाको, यो हजुरआमाको!”
उनले दुवैको टाउकोमा मुकुट लगाइदिइन्।
“अब तपाईंहरू राजा-रानी!”
सबै हाँसे। उमेशले नातिनीलाई मायाले अँगालो हाले। कल्पनाले पनि उनको गाला मुसारिन्।
केही बेरपछि सिताष्माले दुवैलाई पालैपालो हेर्दै सोधिन्, “राजा-रानीले एकअर्कालाई माया गर्छन् नि, होइन?”
“गर्छन् नि,” उमेशले हाँस्दै भने।
“अनि एकअर्काको कुरा पनि सुन्छन् होला नि?”
“त्यो त सुन्छन् नि,” कल्पनाले सहजै भनिन्।
सिताष्माले आफ्नो मुकुट मिलाउँदै फेरि सोधिन्, “त्यसो भए हजुरहरू किन साना-साना कुरामा झर्किनुहुन्छ? हजुरबुबाले केही गर्नुभएन भने हजुरआमा झर्किनुहुन्छ। हजुरआमाले केही भन्नुभयो भने हजुरबुबा चुप लाग्नुहुन्छ। अनि हजुरआमाले आफ्नो कुरा सुनाउन पाउनुहुन्न, हजुरबुबाले पनि आफ्नो कुरा भन्न पाउनुहुन्न। राजा-रानी त एकअर्काको कुरा सुनेर मिलेर बस्नुपर्ने होइन र?”
यसपटक सबै हाँसेनन्।
सिताष्माको अनुहारमा न गुनासो थियो, न कसैलाई दोष दिने भाव। उनले आफूले देखेको कुरा सोधेकी थिइन्। तर उनको प्रश्नले उमेश र कल्पनाको मनमा कतै न कतै छोयो।
उमेशले नातिनीको मुकुट मिलाइदिए। कल्पनाले उनको हात समातिन्। दुवै मुस्कुराए, तर त्यो मुस्कानभित्र केही बेरअघि आफूले नदेखेको कुरा देखेझैँ भएको थियो।
उनीहरूलाई आफ्नो मायामा कहिल्यै शङ्का थिएन। तर मायालु सम्बन्धमा एकअर्काले कस्तो अनुभव गरिरहेका छन् भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ भन्ने प्रश्न भने सायद उनीहरूले आफैँलाई सोधेका थिएनन्।
जन्मदिनको कार्यक्रम सकियो। पाहुनाहरू बिदा भए। राति सिताष्मा पनि सुतिन्।
बैठककोठामा उमेश रेडियो बन्द गरेर बसिरहेका थिए। कल्पना आएर उनको छेउमा बसिन्।
“आज सिताष्माले भनेको कुरा मनमा खेलिरहेको छ,” उनले बिस्तारै भनिन्।
उमेशले उनको अनुहार हेरे।
“मलाई पनि,” उनले भने।
केही बेर दुवै चुप रहे। यसपटक त्यो मौनता रिसको थिएन। दुवैलाई केही भन्नु थियो, तर कसरी सुरु गर्ने भन्ने सोचिरहेका थिए।
“म एउटा कुरा भनूँ?” कल्पनाले सोधिन्।
“भन न,” उमेशले सहज स्वरमा भने, “म सुनिरहेको छु।”
कल्पनाले उनको अनुहारतिर हेरिन्। यति सामान्य वाक्य पनि उनलाई त्यस क्षण केही फरक लाग्यो।
“म तपाईंलाई तनाव दिन चाहन्नँ। घरको काम समयमा होस्, सबै कुरा मिलेको होस् भन्ने लाग्छ। तर त्यही कुरा भन्दा भन्दै म कहिलेकाहीँ कति धेरै गुनासो गरिरहेकी हुन्छु, थाहै पाउँदिनँ।”
उमेशले बीचमै कुरा काटेनन्।
“मलाई कहिलेकाहीँ तपाईंको आफ्नो रुचि र समयको पनि वास्ता गर्नुपर्छ भन्ने लाग्छ,” कल्पनाले थपिन्, “तर घरको काम सम्झिँदा म त्यही कुरा बिर्सिन्छु। अनि सम्झाउने तरिका पनि ठीक हुँदैन होला।”
उमेश केही बेर सोचेर बोले, “तिमीले घरका लागि गरेको दुःख मैले नबुझेको होइन। तर कहिलेकाहीँ तिमीले झर्केर भन्दा मलाई आफूले गरेको सबै कामको मूल्य नै रहेनछ जस्तो लाग्छ।”
कल्पना चुप लागिन्। यसपटक उनलाई तुरुन्तै आफ्नो बचाउ गर्न मन लागेन।
“त्यस्तो महसुस हुन्छ तपाईंलाई?”
“हुन्छ। तर त्यो तिम्रो नियत हो भन्ने मलाई लाग्दैन। तिमी घर राम्रो होस् भनेरै भन्छ्यौ। म पनि काम पछि सारेर तिमीलाई अप्ठ्यारो पार्छु। त्यसैले तिमी झर्किन्छ्यौ होला।”
“तर मैले नरम भएर पनि त भन्न सक्छु नि,” कल्पनाले भनिन्।
उमेशले टाउको हल्लाए।
“अनि मैले पनि तिम्रो कुरा पूरा सुन्न सक्छु। हरेक कुरा सुन्नेबित्तिकै आफूलाई दोष दिएको ठान्नुपर्ने रहेनछ।”
कल्पनाले हल्का मुस्कानसहित भनिन्, “हामी त कस्तो अचम्मका रहेछौँ। एकअर्कालाई यति वर्षदेखि चिन्छौँ भन्छौँ, तर मनको कुरा शान्त भएर सुन्न भने कहिलेकाहीँ बिर्सिन्छौँ।”
“सायद चिनेको छु भन्ने लागेर पनि होला,” उमेशले भने, “अर्कोले के भन्न खोजेको हो, नसुन्दै बुझिसकेँ जस्तो गर्छौँ।”
दुवै मुस्कुराए।
“एउटा कुरा चाहिँ म तपाईंलाई भन्न चाहन्छु,” कल्पनाले भनिन्, “मलाई तपाईंको पुराना गीत सुन्ने बानी मन नपरेको होइन। कहिलेकाहीँ तपाईं गीतमा हराउनुहुन्छ, म चाहिँ घरको काममा अल्झिरहेकी हुन्छु। त्यतिबेला एक्लै सबै सम्हालिरहेकी छु जस्तो लाग्छ।”
“त्यो कुरा त मैले यसरी सोचेको थिइनँ,” उमेशले भने। “मलाई पनि तिमीले आफ्नो कामको बीचमा अलिकति समय निकालेर मसँग बसिदिए हुन्थ्यो भन्ने लाग्छ। तर त्यसो भनेर तिमीलाई दबाब दिन खोजेको होइन।”
“हामी दुवैले आफ्नो मनको कुरा झर्को नमानी भन्न सक्यौँ भने धेरै कुरा सजिलो हुँदो हो।”
“हो। असहमति भए पनि एकअर्कालाई होच्याएर बोल्नु त भएन नि।”
कल्पनाले उनको कुरामा सहमति जनाइन्।
“अनि अर्को कुरा,” उमेशले मुस्कुराउँदै थपे, “मलाई मन पर्ने सबै कुरा तिमीलाई मन पर्नैपर्छ भन्ने पनि छैन। तिमीलाई मन पर्ने सबै कुरा मलाई मन पर्नैपर्छ भन्ने पनि छैन। तर एकअर्काको रुचिको सम्मान गर्न त सक्छौँ।”
“सक्छौँ,” कल्पनाले भनिन्, “तर त्यसको सुरुवात दुवैले गर्नुपर्छ है।”
“पक्कै।”
त्यस रात उनीहरूले कुनै ठूलो प्रतिज्ञा गरेनन्। पैंतीस वर्षदेखिका बानी एकै रातमा बदलिने अपेक्षा पनि गरेनन्। तर लामो समयपछि उनीहरूले कसको गल्ती ठूलो भन्ने हिसाब नगरी एकअर्काको कुरा पूरा सुनेका थिए।
सायद त्यो सानो सुरुवात थियो।
अर्को शनिबार साँझ उमेश फेरि बैठककोठामा रेडियो सुन्दै थिए। टेबलमा पत्रपत्रिका छरिएका थिए।
भान्साबाट आएकी कल्पनाको नजर तिनमा पर्यो। केही भन्न खोजिन्, तर यसपटक उनको मनमा अघिल्लो शनिबारको दृश्य आयो।
“उमेशजी,” उनले बोलाइन्, “तपाईंको गीत सकिएपछि ती पत्रपत्रिका मिलाउन भ्याउनुहुन्छ? भोलि बिहान टेबल सफा चाहिन्छ।”
उमेशले रेडियोको आवाज अलि कम गरे।
“हुन्छ, मिलाउँछु। आज अलि ढिलो भएछ। तिमीलाई चाहिएको भए अहिले नै उठ्छु।”
“हैन, गीत सुन्नुहोस्। सकिएपछि मिलाउँदा हुन्छ।”
उमेशले उनलाई हेरे। उनको स्वरमा गुनासो थिएन, आग्रह थियो। उनले मुस्कुराउँदै भने, “धन्यवाद। तिमीलाई केही काममा सघाउनुपर्ने भए भन है।”
“भन्छु नि,” कल्पनाले पनि मुस्कुराउँदै भनिन्।
गीत सकिन नपाउँदै उमेश उठे र पत्रपत्रिका मिलाउन थाले। कल्पना उनलाई हेरेर मुस्कुराइन्। उमेशले पनि त्यसलाई आफ्नो ठूलो उपलब्धि ठानेनन्। काम त घरकै थियो, आफैँले गर्नुपर्ने काम।
केही बेरपछि कल्पनाले बगैँचामा फूलका नयाँ बिरुवा थप्ने कुरा निकालिन्।
“अहिले गुलाबका बिरुवा रोप्दा कस्तो होला?” उनले सोधिन्।
उमेशले उनको कुरा ध्यान दिएर सुने।
“राम्रो हुन्छ। तर त्यो कुनामा घाम अलि कम पर्छ। बरु पर्खालछेउको खाली ठाउँ कस्तो होला?”
कल्पनाले केही बेर सोचिन्।
“त्यहाँ त पानी जम्छ कि?”
“हो, त्यो पनि सोच्नुपर्ने रहेछ,” उमेशले भने, “भोलि बिहान दुवै जना हेरेर निर्णय गरौँला।”
“हुन्छ। तपाईंलाई बगैँचाको कुरा गर्न पाउँदा खुसी लाग्छ नि, मलाई पनि नयाँ फूल थप्न मन छ।”
“त्यसो भए यो काम हामी दुवैको भयो।”
साँझ उही थियो। रेडियोमा गीत बजिरहेको थियो। घरका काम पनि उस्तै थिए। फरक यति थियो - उनीहरू आफ्नो कुरा मनाउनुभन्दा एकअर्काको विचार बुझ्न अलि बढी इच्छुक देखिन्थे।
राति सिताष्मा सुतिसकेपछि कल्पना फेरि बैठककोठामा आइन्। उमेश रेडियोमा पुरानो गीत सुनिरहेका थिए।
उनी छेउमा बसिन्। गीत सकिएपछि उमेशले सोधे, “आजको गीत कस्तो लाग्यो?”
“राम्रो लाग्यो,” कल्पनाले भनिन्, “तपाईंलाई मन पर्ने गीतको कुरा सुनाउँदा तपाईंको अनुहार नै उज्यालो हुन्छ नि।”
उमेश हाँसे।
“तर तिमीलाई मन नपर्ने कुरा पनि भन्न सक्छ्यौ है। मलाई मन पर्छ भन्दैमा तिमीले पनि मन पराउनैपर्छ भन्ने छैन।”
कल्पना केही बेर चुप लागिन्।
“मन नपर्नु र तपाईंलाई मन पराउन छोड्नु एउटै कुरा त होइन रहेछ,” उनले बिस्तारै भनिन्।
उमेशले उनको अनुहार हेरे। त्यसपछि कल्पनाको हात समात्दै भने, “हो नि। हामी फरक हुन सक्छौँ, तर एकअर्कालाई सम्मान गर्न त सक्छौँ।”
कल्पनाले उनको हात समातिरहिन्। उनले महसुस गरिन् सम्वन्धमा सधैँ एउटै विचार हुनु आवश्यक नहुन सक्छ। कहिलेकाहीँ फरक विचारलाई ठाउँ दिन सक्नु नै नजिक हुनु रहेछ।
त्यो रात सुत्नुअघि ऐनाअघि उभिएर कपाल मिलाउँदै गर्दा कल्पनाले ऐनामा उमेशको प्रतिबिम्ब देखिन्। पैंतीस वर्षदेखि सँगै हिँडेको मान्छे, जसका खुसी र दुःख आफूले अरूले भन्दा बढी बुझेको छु भन्ने ठान्थिन्।
तर के उनले साँच्चै बुझेकी थिइन् त?
उनलाई सम्झना आयो - कति पटक उमेशको सानो बानी बदल्न खोज्दा उनले उनको मनको कुरा सुन्न बिर्सेकी थिइन्। कति पटक आफ्नो कुरा सही हुँदाहुँदै पनि भन्ने तरिकाले त्यसको मिठास हराएको थियो। अनि कति पटक उमेशले पनि उनको थकान र अपेक्षा बुझ्नुभन्दा आफ्नो मौनतालाई सहज बाटो बनाएका थिए।
उनीहरू दुवैको मनमा माया थियो। तर के माया छ भन्दैमा अर्कोले त्यो माया महसुस गरिरहेको छ भन्ने निश्चित हुन्थ्यो र?
कल्पनाले ऐनाबाट नजर हटाइन्।
अनि मनमनै एउटा प्रश्न उठ्यो - म उमेशलाई आफ्नो मनअनुसार बनाउन खोजिरहेकी थिएँ, कि उनी खुसी भएको हेर्न चाहन्थेँ? अनि उनको खुसीमा मेरो ठाउँ खोज्न मैले कति पटक धैर्यपूर्वक उनको कुरा सुनेकी थिएँ?
बाहिर रेडियोको मधुरो स्वर अझै सुनिइरहेको थियो। अर्को कोठामा उमेश निदाइसकेका थिए।
कल्पनाले बत्ती निभाउन हात बढाइन्। प्रश्नको उत्तर उनले अझै भेटिसकेकी थिइनन्। तर अब उनलाई लाग्न थालेको थियो - एकअर्कालाई राजा-रानी बनाउने मुकुट कागजको जस्तो सजिलै लगाइदिन सकिने वस्तु होइन रहेछ। त्यसलाई टिकाइराख्न माया मात्र होइन, सम्मान, धैर्य र संवाद पनि चाहिँदो रहेछ।
उनले बत्ती निभाइन्।
भोलि बिहान फेरि कुनै सानो कुरामा मतभेद हुन सक्थ्यो। उमेशले कुनै काम बिर्सन सक्थे, कल्पना झर्किन सक्थिन्। पुराना बानी फेरि दोहोरिन पनि सक्थे।
तर अब एउटा प्रश्न उनीसँगै थियो - अर्को पटक मनमा गुनासो उठ्दा, के उनी पहिलेझैँ झर्किएर बोल्नेछिन्, कि एकछिन रोकेर उमेशको कुरा पनि सुन्नेछिन्?
सायद मुकुटबिनाका राजा-रानी बन्ने यात्रा त्यहीँबाट सुरु हुन्थ्यो।