19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भाइरल एक्सप्रेस !

हास्यव्यङ्ग्य गायत्री लम्साल October 27, 2026, 4:47 pm
गायत्री लम्साल
गायत्री लम्साल

आहा नेपाली वन, नेपाली पन र नेपाली मनमा हलक्कै मल्किने खुराकको नाम हो भाइरल एक्सप्रेस । महोदयहरुले होइन भन्ने हिम्मत ननिकाल्नुभएकै वेश । बरु मुखले मात्र होइन नाक, कान, आँखा, घाँटी समेत मिसाएर यसैमा रमाउने, आफूलाई पुग्ने कमाउने सजिलो एक्सरसाइजमा लाग्नुहोला हस् । तथ्याङ्कको डाटामा कृषिप्रधान होस् कि बेरोजगार प्रधान, कुरा कम्पनी होस् कि अल्छि उद्योग सबैले जहाँतँही सजिलै सर्वव्यापी रुपमा चलाउन सक्ने भनेको भाइरल एक्सप्रेस नै त हो । नाकको दुइटा प्वालबाट निस्केको सिँगान उडाउन नसक्नेले समेत भाइरल एक्सप्रेस गुडाउन सक्छन् ।

यसको स्वादका कुरा सुन्नुहुन्छ भने पनि कम्ति मिठो त छैन हजुर । सरकारी असलाले सित्तैमा पाएको अलकत्रा खाएको जस्तो, प्राइभेट जिनिसले अर्गानीक भनेर बेचेको काठको धूलोको मसला खाए जस्तो, जेरीमा अलिकति चिनी थपेजस्तो, काँचो आँपमा अलिकति चुक थपेजस्तो, लोभको भाँडोमा अलिकति ¥याल सहितको थुक थपेजस्तो खिचडी स्वाद निकै मिठो कस्तो– कस्तो । अँ साच्ची यसको जन्म ठ्याक्क्रै यही दिन भयो भनेर त ज्योतिष जि.पि.टी. लाई सोध्दा समेत उत्तर पाइएन । तैपनि अनुमान लगाउन के भो र ? मल्लकाल, शाहकाल, राणकाल, एकतन्त्रकाल, बहुतन्त्रकाल, प्रजातन्त्रकाल हँुदै लोकतन्त्रकालमा समेत बहुरुपी भएर रहेको छ ।

कहिले उफ्रन्छ । कहिले नाच्छ, कहिले हाँस्छ । कहिले रुने कराउने मात्र होइन केहीदिन हराउँछ । यसको बीऊ नै निकै गतिलो परेछ क्या । त्यही भएर अहिलेको शाहकालमा त झन् यो भाइरल एक्सप्रेस दु्रतगतिमा विश्वभ्रमण गर्न निक्केको छ । नाम नै काफि छ यसको । रुप, गुण, विशेषता त कति छन् कति । यसको स्वाद चाखेपछि आधुनिक वयस्क बच्चाबच्चीले आठ÷दश वटा गल्स फ्रेण्ड र ब्वाइज फ्रेण्डलाई छोड्लान् तर भाइरल एक्सप्रेसलाई अँ – हँ छोड्दैनन् । जन्मेर आफ्नो घरको भ¥याङ् चढ्नुभन्दा पहिला यही एक्सप्रेस चढ्न थाल्छन् ।

हाम्रा पालामा घर पहिलो पाठशाला हो भनेको सुनियो अहिले यिनका पालामा त भाइरल एक्सप्रेस नै सबैको जन्मनुभन्दा पहिलादेखिको पाठशाला हो भन्दा चित्त भन्ने कुरो बुझाउनु भएकै वेश । यसैमा हिँड्दाहिँड्दै मायाप्रेम चल्छ । लिभिङ टुग्यादर अनि इनगेजमेन्ट टुग्यादर हँुदै विवाह टुग्यादर हुन नभ्याउँदै सन्तान टुग्यादर जन्मन्छ । उसले विचरा भाइरल एक्सप्रेसको माफ गर्नोस् एक्स प्रेस मात्र होइन वाइ–प्रेसको यात्रा गर्भाधारण गरेको दिनबाट नै शुरु गर्छ । हो मानियो, विकासले छलाङ् मारेपछि त सबै कुरामा उन्नति नै उन्नति, प्रगति नै प्रगति । उहिलेको पालामा ठूलाबडाले आशिष दिँदा डाक्टर भएस्, इनिजनियर भएस् भन्थे तर निकै कम मात्र हुन्थे ।

अहिलेको पालामा हेर्नोस् त ? दुनियाँ व्यस्त छ । आशिष दिने फुर्सद छैन तर हरेक क्षेत्रमा डाक्टर नै डाक्टर, इन्जिनियर नै इन्जिनियर । हजुरहरु कन्फ्युज हुनु भो कि ? स्पष्ट पार्ने अनुमति माग्दछु है त । हरेक दिन सोसल मिडिया हेर्नोस् त सबै डाक्टर भेटिन्छन् । यसो भए यसो गर्नोस्, यो खानोस्, यी पाँच वटा कुरा विहान खाली पेटमा खानुभयो भने बूढो कहिल्यै हुनुपर्दैन । यो घाँसलाई एकपटक नाकले छोएपछि सबै खाले रोग समाप्त । योग गर्नोस, ध्यान गर्नोस्, भोग गर्नोस् अकालमा होइन काल नै आएपछि पनि कोही नमर्नोस् । म भनेको सर्वदलिय डाक्टर हुँ । मेरा कुरा नमान्ने र लाइक, कमेण्ड, सस्क्राइब, सेयर नगर्नुभए तपाइँ एक युग पछि पर्नुहुन्छ । मेरिबास्सै कति धेरै डाक्टर हुन् । सोसल मिडियामा मात्र कहाँ हो र हजुर ? आन्दोलन मिडिया, माइतिघरमा बस्ने हिँडिया, भाइरल सपले मोनिटाइज भएका देखि हनि–ट्यापले हनिटाइज भएका सबैले गर्ने काम भनेको डाक्टर र इन्जिनियर कै हो ।

अँ– साँच्ची यी पुराना डाक्टर इन्जिनियरले गर्ने भनेको त बिरामीको अप्रेशन र घर बनाउने नक्शा मात्रै त हो । आजका नयाँ डाक्टर र इन्जिनियरले गर्न नसक्ने काम केही पनि छैन । महान् छन् आधुनिक डाक्टर । सदाचार, नैतिकता, इमानदारिता, मानवता लगायत यी र यस्ता सबैखाले खराब कामकुराहरुको अप्रेशन फटाफट सक्छन् । त्यो पनि दिनमा अंकगणितिय र रातमा ज्यामितिय अनुपातमा । यत्ति मात्र कहाँ हो र हजुर । आजका भाइरल एक्सप्रेसमा काम गर्ने डाक्टरहरुको गुणगान कसरी गर्ने क्या । आफूलाई त चाकरी र चाप्लुसी बाहेक केही गर्न आउँदैन । गरिबीको होइन गरिबको अप्रेसन त्यो पनि अहिलेको नयाँ दुरबिन प्रविधिबाट नसकिने भो भाइरल एक्सप्रेसका डाक्टरहरु सँग ।

बेरोजगारीको होइन बेरोजगारहरुको अप्रेशन, भ्रष्टाचारको होइन सदाचारको अप्रेसन, विकृती र बिसंगतीको होइन संस्कृति र सभ्यताको अप्रेशन, मुलुकको खैरोसूचीलाई कालोसूचिमा पार्ने अप्रेशन, इन्धन र इञ्जिनबाट चल्ने गाडिहरुलाई विना इन्धन, बिना इञ्जिन, बिना ब्रेक मात्र एक्सिलेटरबाट कुदाउने अपे्रशन, अनुभवहिनतामा पि.एच.डी. गरेका विशिष्टहरुलाई पटक पटक काइदा र फाइदाका पोष्टमा गोल गर्न फिडाउने अप्रेशन यी र यस्ता अप्रेशन गर्नलाई कसैले पनि जित्न सकिँदैन आजका भाइरल एक्सप्रेसका डाक्टरहरुलाई । डाक्टरहरुमात्र होइन इन्जिनियरहरु पनि केही मानेमा कमजोर छैनन् । त्यो भन्दा अझ विशिष्ट मापधारण शक्तिले ओतप्रोत भएका छन् । घर बनाउने नक्सा मात्र होइन देश बनाउने नक्सा सजिलै एकैछिनमा बनाइदिन्छन् । छिमेकीलाई हेर्ने झ्याल आधुनिक बनाउँदा खोज्दा त्यो नक्साको चुच्चो भाग कहिले फाल्छन्, कहिले हाल्छन्, कहिले सार्छन । गर्छन् क्या गज्जब । आखिर भाइरल एक्सप्रेसका इञ्जिनियर हुन् रिस गरेर के गर्नु ?

“काम भन्ने कुरो नगरे पछि आलुमा तालु फल्छ ” भन्थे हो रहेछ । अहिलेको हाम्रो भाइरल एक्सप्रेस नचलेको र नफलेको ठाउँ कहिँ बाँकि छैन । एताउता, तलमाथि, भित्रबाहिर, देशविदेश, मात्र कहाँ हो र यत्रतत्र सर्वत्र भाइरल एक्सप्रेस । गेटमा यही छ, रेटमा यहीँ छ, भेटमा यहीँ छ जेटमा यहीँ छ । सरकार यसैमा, नागरिक यसैमा, निजी क्षेत्र यसैमा ,बिजी क्षेत्र यसैमा, विकास यसैमा, निकास यसैमा, किसान यहीँ, व्यापारी यहीँ, नेता र नेतृत्व यहीँ, बैँक तथा वित्तीय संस्था यहीँ, शिक्षक तथा शैक्षिक संस्था यहीँ.....मैले विर्सेका मात्र होइन हजुरहरुले विर्सनुभएका जति समेत सबै यहीँ परेपछि अब गर्नलाई र पर्नलाई के बाँकी छ र हजुर ?

हामी सबै भाइरल एक्सप्रेसका यात्रीहरु । यसलाई चिनेको हामीहरुले नै हो । यसलाई किनेको हामीहरुले नै हो । आफूले किनेको सामान, आफ्नो अमूल्य मूल्य परेको सामान जस्तो भए तापनि राम्रो लाग्नु हाम्रो साझा विशेषता हो । यसैमा नहिँडेर के गर्नु ? यसमै नगुडेर के गर्नु ? हाम्रो एक्सप्रेस, हामी सबैको राम्रो एक्सप्रेस एकोहोरो कुदेको कुदै छ । न त ब्रेक थिच्नुपर्छ, न त हरन बजाउनुपर्छ, न त एक्सिलेटर दवाउन । किनेको दिनदेखि नन्स्टभ हुँइकिएको हुँयकेइ छ । नारायणघाट मुग्लिङ्को बाटो पहिरो खसेर केही लछारपाटो लाउँदैन । अब त हाम्रो नयाँ भाइरल एक्सप्रेसमा चढिन्छ । देशको पूर्व पश्चिम दुई कुनाको यात्रा मात्र होइन हजुर अन्तरिक्षतिर समेत बसाई सरिन्छ ।

भाइरल एक्सप्रेस चलाउने यात्रीहरुलाई भव्य शुभकामना । यो यात्रा फलदायी रहोस् । कहिँकतैबाट कसैले चोट पु¥याउन नसकोस् । आफैले निकै मन पराएर किनेको यो एक्सप्रेसलाई छ्या बेकाममा लिइएछ भन्ने नपरोस् । एकोहोरो नन्स्टभ कुदेको कुदेई गर्दा यसले हाम्रा विकासका सपनाहरुलाई नकुचोस् । दाँयाँबाँयाका घुम्तीहरु समेत नहेरी कुद्ने एक्सप्रेसले यसैको विश्वासमा कुरेर बसेका आफ्ना यात्रीहरुलाई नगुमाओस् । दुःखी, गरीब, बेसहारा, वृद्ध र फरक क्षमता हुनेहरु चलिरहेको एक्सप्रेसमा झ्याप्पै चढ्न सक्दैनन् यसमा विशेष ध्यान पु¥याइओस् । समग्रमा भाइरल एक्सप्रेस नाममात्रको एक्सप्रेस नबनेर कामको एक्सप्रेस बनोस् हाम्रो तर्फबाट गाईजात्रा पर्वको उपलक्ष्यमा भाइरल एक्सप्रेसलाई हाईजात्राको भव्य शुभकामना ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।