वि सं १९७७ सालमा बाबु गोविन्दप्रसाद शर्मा र आमा कौशल्यावतीका पुत्ररत्नका रूपमा पूर्वको अपूर्व रमणीय जिल्ला इलाममा जन्मेका जनकलाल शर्मा नेपाली भाषा साहित्य, संस्कृति, कला मानव शास्त्र, पुरातत्व आदिका अन्वेषक प्रतिभाशाली विद्वान् मानिन्छन् । उनी असल शिक्षक, इतिहासविद्, पुरातत्वविद्, नृवंशीय मानव शास्त्रको खोज अनुसन्धानकर्ता तथा नेपाली भाषा साहित्य संस्कृतिका गहन अध्येता थिए । उनले लेखेर छाडेका लेख रचनाबारे संस्कृतिविद् सत्यमोहन जोशीको कथन छ– “मेरा अनन्य मित्र एवम् सहकर्मी स्व जनकलाल शर्माले लेखेर छोडेर जानु भएका प्रबन्धहरूको सँगालो वास्तवमा भन्ने हो भने नेपाल राष्ट्रकै अमूल्य सांस्कृतिक सम्पदा भएको छ ।” नेपालका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक, दार्शनिक पक्षमा गहन अध्ययन, अन्वेषण गरेर वैज्ञानिक तार्किक चिन्तनद्वारा आफ्ना कुरालाई पुष्टि गर्ने बहु आयामिक व्यक्तित्वका धनी शर्माका बारेमा बगर फाउन्डेसनका नकुल सिलवालको कथन छ– “जे जति जे जस्तो परिचय र बखान छाँटे पनि वरिष्ठ एवम् विशिष्ट विद्वान् लेखक जनकलाल शर्मा बारे कमै हुनेछ । महाकवि देवकोटा, राजनीतिज्ञ एवम् साहित्यकार बि.पी. कोइराला, अन्तर्राष्ट्रिय स्तरका चर्चित असाधारण चिन्तक तथा लेखक राहुल साङ्कृत्यायनले चिनेका, बुझेका जनकलाल शर्मालाई सर्वसाधारण नेपालीले ठम्याउन सक्ने छैनन् नै । म नै हुँ भन्ने विद्वान् बुध्दिजीवी नेपालीले पनि स्वर्गीय शर्मालाई जान्न बुझ्न हम्मे हम्मे नै पर्नेछ ।” राहुल साङ्कृत्यायानसँगको शर्माको सुसम्बन्ध र हिमान्चल यात्रामा गरेको सहयात्रा तथा राहुलले आफूलाई लेखेका १०० वटा चिठीपत्र पुरातत्वमा बुझाएको प्रसङ्ग जनकलालका संस्मरणहरूमा पढ्न पाइन्छ ।
यी माथिका भनाइ र प्रसङ्गबाट शर्माबारे कलम चलाउन गाह्रै रहेछ भन्ने बोध हुन्छ तापनि साहित्यकार शेषराज शिवाकोटीका आग्रहमा झिनो अध्ययनका भरमा सूक्ष्म जानकारी दिने उद्देश्यले केही लेख्ने जमर्को गर्दै छु । यसले केही न केही शर्माका विशेषताहरू देखाउन सके म आफूलाई धन्य भएको महसुस गर्नेछु ।
शर्माको २०५६ साल माघमा चोला उठेपछि छरिएर रहेका शर्माका रचनाहरूको सङ्कलन गरी सम्पादन गर्ने डा. माधवप्रसाद पोखरेल र डा. सुमन ढकालले शर्माका
५ वटा ग्रन्थहरूको पाण्डुलिपि तयार गर्नु भएको छ, ती थिए ः–
१. जनकलाल शर्माका प्रबन्धहरू
२. जनकलाल शर्माका निबन्धहरू
३. जनकलाल शर्माका संस्मरणहरू
४. जनकलाल शर्माका अन्तर्वार्ताहरू
५. जनकलाल शर्माका अन्य चिठीपत्र,डायरी आदि
यी कतिहरू मध्ये पहिलो कृति बगर फाउन्डेसनले २०५८ मा प्रकाशित गरेर यही
कृतिलाई २०५७ सालको पाण्डुलिपि पुरस्कारसमेत प्रदान गरेर शर्माप्रति उचित न्याय दिएको छ । यस्तै दोस्रो कृति नेपाल प्रज्ञा प्रतिष्ठानले र तेस्रो कृति साझा प्रकाशनले प्रकाशित गरे पनि अन्य कृति बारे जानकारी प्राप्त भएको छैन । आफूले लेखेका सबै रचनाहरूको प्रतिलिपि सुरक्षित राख्ने शर्माको बानीले नै पुस्तक सङ्कलन गर्न सम्पादकहरूलाई सजिलो भएको छ भने यसले उत्कृष्ट रचनाहरू भए पछिकाहरूले खोज अनुसन्धान गर्ने रहेछन् भन्ने शिक्षा अन्य लेखकहरूलाई दिएको छ । यो मर्मलाई सबैले अनुशरण गर्नु पर्ने देखिन्छ ।
शर्माका हरेक कृतिहरूको आ–आफ्नै विशेषता र महतव बोकेका छन् त्यसैले ती पुरस्कृत पनि भएका छन् । जस्तो जोसमनी सन्त परम्परा र साहित्यले २०२० सालको मदन पुरस्कार प्राप्त गरेको थियो भने हाम्रो समाज, एक अध्ययन भन्ने कृतिले २०३९ सालको साझा पुरस्कार । यी बाहेक रापती उपत्यका, ललित कला र साहित्य, कौतुकमय डोल्पो, भूमिकै भूमिका पनि चर्चित पुस्तकहरू हुन् । ती पुस्तकहरू चर्चित हुनाको मुख्य कारण पहिल्याउँदा के देखिन्छ भने जुन विषयमा कलम चलाउने हो त्यस विषयको गहन अध्ययन अन्वेषण गरेर मात्र लेख्ने शर्माको बानी पूर्वीय पाश्चात्य अर्थात् पूर्वजहरूले के अनुसन्धान गरेका छन् त्यसको गहिरो खोज अनुसन्धान गरेर लेखेका तथ्यहरू सन्दर्भ सामग्रीमा उल्लेख देखिन्छ । उनको पुरातात्विक अनुसन्धान र दिमागलाई विश्वकोश तथा तत्वान्वेषी भन्न सकिन्छ । उदाहरणका लागि उनका दुई ग्रन्थ बारे सङ्क्षिप्त जानकारी दिन खोज्दै छु ।
जोसमनी सन्त परम्परा र साहित्यको सन्दर्भ
शर्माका अनुसार जोसमनी शब्द कुनै व्यक्तिको नाम हो । उनैले यो मतलाई प्रचार गरे पनि उनको जीवनी पाइँदैन । यसको प्रयोग यही मतका प्रचारक शशिधरको वैराग्यांवर नामक पुस्तकमा र उनकै गुरुपन्जा नामक ग्रन्थमा प्रयोग भएको प्रमाण शर्माले दिएका छन् । पृथ्वीनारायण शाहका समकालीन मोक्षमण्डलले आफ्नो रचनामा “चलो भाइ जोसमनी आफ्नो राह समाई” भनेका छन् । त्यसैले यो मत अन्य कुनै भाषा, सम्प्रदायको नभई शुद्ध नेपाली धरतीमै उब्जेर विकसित भएको पुष्टि शर्माले गरेका छन् ।
यस्तै सन्त शब्दका बारेमा शर्माको खोज अनुसन्धान व्यापक छ।यो शब्द बारे बृहत् खोज गर्दै पुराण, उपनिषद, अमरकोश, कालिदास, भर्तृहरिका काव्य, आदिमा प्रयोग गरिएको अर्थ अनि उत्तर तथा दक्षिण भारतमा चलेका सन्त परम्परा शङ्कराचार्य, कवीरका मतावलम्बी हुँदै भक्ति सम्प्रदायका तीन भेद सन्त, सूपी र भक्तको समेत भेद पहिल्याउन पुगेका छन् । तुलसीदास समेतका परम्परालाई समेटेर निष्कर्षमा निर्गुणोपासक सन्त परम्परालाई नै सन्त परम्परा हो भन्ने निक्र्यौल गरेका छन् । यो परम्परालाई नेपाली साहित्यमा उजागर गर्ने शशिधर, ज्ञान दिलदास, अखड दिलदास, योगमायासम्मका लेखकहरूका लेखन, समय काल, क्षेत्रको निर्धारण र तुलनात्मक अध्ययन गर्नु उनको प्रमुख विशेषता हो ।
नेपाली साहित्यमा नेपाल अङ्ग्रज युद्ध पश्चात् नेपाली कविहरू वीरधाराबाट भक्तिधारातिर उन्मुख भएको पाइन्छ, भक्ति धारामा पनि सगुण र निर्गुण गरी दुई उपधारामा कविहरू उभिएका छन् । सगुण भक्तिधारामा पनि राम र कृष्ण दुई उपभेद देखिन्छ । रामका पक्षमा भानुभक्त आचार्य, रघुनाथ पोखरेल, पतन्जली गजुर्याल लागे भने कृष्णका पक्षमा वसन्त शर्मा, यदुनाथ पोखरेल, इन्दिरस, वीरशाली पन्त, विद्यारण्य केशरी, छविलाल नेपाल रहेका छन् । यस्तै निर्गुण सन्त धारामा शशिधर, ज्ञानदिलदास, अखड दिलदास र योगमाया आदि देखिन्छन् । जोसमनी परम्पराको उदय पृथ्वी नारायण शाहभन्दा अघि नै भए पनि यसको विकास नेपाल एकीकरण पछि मात्र भयो । प्रचलित धार्मिक तथा सामाजिक विकृतिप्रति व्यङ्ग्य वा कटाक्ष गर्ने र आफ्नो मतको प्रचार गर्ने यो सम्प्रदायको अभीष्टता देखिन्छ । सधुक्कडी भाषाको प्रयोग शशिधर पूर्व धिर्जे दिलदासदेखि लेखनाथका समकालीन गोविन्ददाससम्म देखिन्छ । यिनीहरूको भाषामा देखिने हिन्दी प्रयोगलाई वीर धाराका सुवानन्दसँग तुलना गर्दै त्यतिबेलाको कवित्त खाँडो जगाउने प्रयोगलाई शर्माले प्रारम्भिक नेपाली साहित्य त्यस्तै रहेको ठोकुवा गरेका छन् ।
सन्त परम्पराका शशिधर (१८०४–१९०६) प्रमुख छन् भने शुद्ध नेपालीमा लेख्ने ज्ञान दिलदासको उदय लहरी (१०९ पद्य) आठ चरणको झ्याउरे भजन र तीन चरणको टुङ्ना भजन मुख्य छन् । उनका लेखनमा गुरुमहिमा, ज्ञान महिमा, भक्ति, योग, समाधिको जोसमनी मतको विशेषताका साथै कर्म काण्ड, हिम्सा, अज्ञान, ज्योतिष, घुस, गरिबीका विरूध्द व्यङ्ग्य तथा करूणाका भाव व्यक्त गरिएका छन् । ज्ञानदिल दास भानुभक्तभन्दा दस वर्ष कान्छा र सोह्र वर्ष बढी बाँचेका छन् । जसनुरूप उनको जन्म १८८१ र मृत्यु १९४१ हुन जान्छ ।
भानुभक्तको रामायण र ज्ञानदिल दासको उउय लहरीको तुलनात्मक अध्ययन गर्दै शर्माले भनेका छन्– भानुभक्तको रामायण अध्यात्म रामायणको भावानुवाद हो भने ज्ञानदिल दाससको उदय लहरी मौलिक कृति हो । यो कृति उनले दार्जिलिङ भ्रमण पूर्व नै सुरू गरेर १९३४ मा पूरा गरेका हुन् । १९३३ मार्गमा उनी काठमान्डुबाट पूर्व लागेका थिए । रूम्जाटारका प्रसङ्ग उनका झ्याउरे भजनमा पाइन्छ । लोक लयमा शुद्ध भेँडी गोठालाको भाषा टुङ्ना भजनमा पाइन्छ । यो तारवाद्यका साथ गाइन्छ । राई सम्प्रदायका अखड दिलदास र महिला विद्रोही नारी योगमायाको पुस्तक शब्दार्थ वाणी सम्मको खोज गरेर शर्माले ओझेलमा परेको निर्गुण सन्त साहित्यले त्यतिबेलाको समाजमा पारेको प्रभावलाई समेत उजागर गरेका छन् । उनीभन्दा अघि कसैले पनि यो साहित्यिक परम्परालाई व्याख्या विश्लेषण गरेको पाइँदैन । भाषिक प्रयोग, लय, व्यङ्ग्य, सामाजिक प्रभाव तथा लेखकहरूको कृतिगत विशेषतालाई देखाउन सक्नु शर्माका उल्लेखनीय कार्य हुन् ।
कौतुकमय डोल्पोको सन्दर्भ
पुरातत्व विभागमा काम गर्दा शर्माले २०२६ सालको पुसको दोस्रो सातादेखि माघको २६ गतेसम्म डोल्पाको भ्रमण गर्दा देखेको त्यहाँको भूगोल, जीवनशैली, संस्कृति, पुरातात्विक महŒवका मठ मन्दिर, मूर्ति, बौद्ध गुम्बा आदिका बारेमा अत्यन्तै मनोरम भाषाशैलीमा लेखिएको यो नियात्रात्मक दैनिकी टिपोटको सुन्दर कृति हो । यो कृति पढ्दा एरिक भ्यालीले बनाएको क्याराभान भन्ने वृत्तचित्र हेरे जस्तै लाग्दछ । त्यहाँका एघारवटा हिमाल, तल्लो पहाड, पाटन, नदी निर्मित बेँसीहरूमा आफै घुमेजस्तो अनुभूति यसले दिन्छ । त्यहाँका बासिन्दाको भेषभूषा, बसोबास, सोचाइ, अन्धविश्वास, चाडपर्व, उद्योग, व्यापारको जानकारी पाइन्छ । दुनेको जङ्गल घुम्दा दार्जिलिङको कृत्रिम रोड, चिया बगान र गोब्रे सल्लाभन्दा यहाँ पशुले बनाएका गोरेटा, भोज खस्रु र देवदारूको प्राकृतिक सुन्दरताले एक न एक दिन अवश्य यसको महत्व दार्जिलिङभन्दा बढी हुनेछ भनेर तुलनात्मक अध्ययन गरेका छन् । यहाँको स्याउ, दाँते ओखर, यार्चागुम्बाको बजार व्यवस्थापन हुन नसकेकोमा उनको चिन्ता छ । कस्तुरी, डाँफे हवाई मार्गबाट दरवार लगिने चलन प्रति पनि उनको दृष्टि पुगेको छ ।
हावाको वहाव, कम पानी पर्ने, रूखो जमिनले गर्दा त्यहाँका जनताको अत्यासलाग्दो जीवन देखे पनि यात्रुका निम्ति अत्यन्तै आकर्षक भूमि रहेको कौतुकमय डोल्पाका ५ वटा हिन्दु मन्दिर, २३ वटा गुम्बा र एउटा बोनपु गुम्बासमेत भ्रमण गरेका शर्माले त्यहाँको मन्दिर तथा गुम्बाको शैली, मूर्तिको बनोट, निर्माण समय, इतिहास, त्यसको पुरातात्विक महŒवसमेत उल्लेख गरेका छन् । त्यस्तै लोपोन्मुख काइके भाषाका वक्ताहरू ९०० मात्र रहेका, यो भाषामा लोक गीत भए पनि अन्य लिखित सामग्री नरहेकाले यो भाषा लोप भएर जाने चिन्ता जाहेर गरेका छन् । शिक्षाका बारेमा एउटै मात्र स्कुलको एक जना विद्यार्थीसँग भेटेको प्रसङ्ग छ । उनी हवाई मार्गबाट जुम्ला पुगेर त्यहाँबाट पैदल यात्रा गर्दै तिब्रिकोट हुँदै दुने पुगेका छन् । यो पद मार्गको चित्र पनि छ । अङ्ग्रेजी यु, भी आकारसँग मिल्दो यसको भूबनोटलाई उनले चार भागमा विभाजन गरेका छन् । उच्च हिमाली भाग, तल्लो पहाड, पाटन, नदी निर्मित बेँसी । यो यात्रा संस्मरणकै कृति भए पनि यात्राको अनुभूतिसँगै त्यहाँको भूगोल, इतिहास, जनजीवन, धर्म संस्कृति, चाडपर्व, रहनसहन, उद्योग, व्यापार, पुरातात्विक महत्वका मठ मन्दिर गुम्बा, भाषा साहित्यको जानकारी दिने अत्यन्तै उत्कृष्ट भाषा शैलीमा लेखिएको पठनीय कृति हो । शर्माका सबै पुस्तकहरू यस्तै अनुसन्धानमूलक कृतिहरू रहेका छन ।