19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दशैँ

कविता गायत्रीकुमार चापागाईं October 27, 2026, 4:55 pm
गायत्रीकुमार चापागाईं
गायत्रीकुमार चापागाईं

सद्भाव प्रेम रसले मन फुर्फुराओस्‌
उत्साहको मिलनले तन चम्चमाओस्‌
उत्फुल्ल जो बहुलको स्वत फर्कि आओस्‌
मेरो दशैँ घरघरै सुखमा रमाओस्‌

सम्बृध्दिको गगनमा रवि झल्मलाउन्‌
सुस्वास्थ्यको सगरमा शशि नै उदाउन्‌
रागात्मता हृदयमा धुन मालश्रीको
गाओस् दशैँ घरघरै सुख सागरीको

सम्पन्नता शरदमा झुलि धानबाला
झुल्दै छ जो पवनमा ऋतु पैरिमाला
सम्बन्धको रगतले भरि रक्त भाल
ल्याओस् दशैँ घरघरै सुखको कमाल

आस्था उमार दिलमा बज शङ्खघोष
घण्टा बजून् घनघनी लहडी न सोच
आत्मीयता किरणमा छर बन्धु भाव
आओस् दशैँ घरघरै सुख शान्तिसाथ
सम्झेर दुख्ख अघिका पुरिदैछ खाडी
बन्धुत्वका चिरचिरा पुरियून् मडारी
यी मानवी विकृतिका पुरियोस् रछ्यान
छाओस् दशैँ घरघरै बढि शक्ति शान

ताँती छ दृष्टि पथमा घर फर्कनेको
खाँटी छ प्रेम रसमा पर तर्कनेको
आफ्ना दृढै स्वगतमा पहिचान साथ
आओस् दशैँ घरघरै सुख बोकि माथ

छाँया सरी परपरै तरी सागरै पो
सर्दै छ संस्कृति अहो ! सरि विश्व नै पो
विश्वासको मुरलिमा धुनसाथ राग
गाओस् दशैँ घरघरै सुखको स्वराग
(वसन्ततिलका छन्द)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।