19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘ज्ञानगुनका कुरा’मा अलमलिँदा

कृति/समीक्षा गायत्रीकुमार चापागाईं October 27, 2026, 5:04 pm
गायत्रीकुमार चापागाईं
गायत्रीकुमार चापागाईं

१. विषयप्रवेशः
तपाईं हामी सबैलाई आजभोलि साइबर संस्कृतिले आकर्षित मात्र गरेको छैन, गाँज्दै पनि लगेको छ । के बालक, के युवा, के प्रौढ ? प्रायः सबै बाटामा हिँड्दा पनि मोवाइलबाटै फोन गर्दै, गेम खेल्दै, कानमा एयरफोन झुण्ड्याएर सङ्गीत सुन्दै हिँड्ने ताँती नै भेटिन्छ । त्यसमाथि फेसबुक, कम्प्युटर, इमेल, इन्टरनेटको विद्युतीय संसारै अर्कै । नातिपुस्तासँग प्रविधि सिकेरै भए पनि समय कटाउने र एकोहोरिने माध्यम भएका छन्, यी साधनहरू । केही समय अघिदेखि त्यही मुहार चित्रको भाँडोभित्र मैले फेला पारेका मित्र हुनुहुन्छ – शेषराज शिवाकोटी । हामी जोडियौँ र एक–अर्काका गतिविधि नियाल्दै रह्यौँ क्यारे ! मैले उहाँको विदेश भ्रमण, तीर्थयात्रा, पारिवारिक मिलनका साथै अन्य आकर्षक साहित्यिक कार्यव्रmममा भएको सहभागितालाई महŒव दिएर हेरिरहेको छु, जन्मदिनमा शुभकामना बाँडेको छु । मेरा बारेको उहाँको प्रतिव्रिmयाबारे भने म अनभिज्ञ छु । हुन त पाँच छ वर्ष अघि नै मैले उहाँलाई विराटनगरको हाटखोलास्थित आरोहण गुरूकुलमा भएको एउटा साहित्यिक कार्यव्रmममा अतिथिको रूपमा देखेको थिएँ । उहाँ अतिथि, आफू दर्शक । चेतना संरक्षण प्रतिष्ठानको त्यो महŒवपूर्ण कार्यव्रmममा सहभागी हुन उहाँ धनकुटाबाट आउनु भएको रहेछ । गङ्गा सुवेदीको अध्यक्षतामा सन्चालित सो कार्यव्रmममा भाषाशास्त्री तथा झर्रोवादी आन्दोलनका अगुवाद्वय प्रा. बालकृष्ण पोखरेल र चूडामणि रेग्मी, समालोचक दधिराज सुवेदी, प्रा.डा. टङ्क न्यौपाने, कवि कृष्णभूषण बलसमेतको उपस्थिति रहेको थियो । त्यतिबेला समालोचक दधिराज सुवेदीले उहाँप्रति मन्चबाटै व्यक्त गरेको आदरभावका शब्दगुच्छाहरू मनमा अन्तर–कुन्तरमा सम्झनास्वरूप रहेकै छ । सुवेदीले भन्नुभयो, “न्यायमूर्ति शिवराज शिवाकोटी पुनरावेदन अदालत, धनकुटामा सरकारी जागिरे हुनुहुन्छ । जागिरबाट प्राप्त भएको आधा पैसाले ‘ज्ञानगुनका कुरा’ नामक पत्रिका निकाल्नुहुन्छ जसमा भाषा, साहित्य, संस्कृति, इतिहास आदिका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका ख्यातिप्राप्त व्यक्तिको विशेषाङ्क हुन्छ । आधा पैसाले घर–व्यवहार चलाउनु हुन्छ ।” भाषा–साहित्य र संस्कृतिप्रतिको उहाँको यो मोह, स्नेह र त्याग देख्ता श्रद्धाले आफ्नो पनि शिर निहुरिएको थियो – त्यतिबेला । मजस्ता डुकुले यस्ता व्यक्तिलाई साक्षात्कार देख्न पाउने सौभाग्य प्राप्त गरे पनि नजिकिने अवसर भने प्राप्त भएन । अहिले यही साइबर संस्कृतिको फेसबुकबाट नाता–सम्बन्ध गाँसियो । लेख्ने प्रेरणा र जानकारी प्राप्त गरियो । कलम चलाएर अक्षरको अभिवादन गर्ने उत्साह थपियो । यी कुराहरूले आफैँलाई गर्वबोध भैरहेछ ।
२. ज्ञानगुनका कुराले जगाएको रूचिः
ज्ञानगुनका कुरा दुई चारवटा अङ्क पढेको थिएँ । धरान र इटहरीमा प्रा.डा. टङ्क न्यौपानेलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने कार्यव्रmम बन्यो । सम्मानमा अभिनन्दन ग्रन्थसमेत निकालिने भएकोले केही लेखिदिन बारम्बार अनुरोध आइरह्यो । व्यक्तिको व्यक्तित्व, जीवनी र कृतित्वको पूर्ण जानकारी नभएकाले मैले ‘ज्ञानगुनका कुरा’लाई नै गुरू थापेर केही लेख्न सकेको थिएँ । यस्तै एकपटक राहदानी बनाउने सिलसिलामा जिल्ला कार्यालय, मोरङ पुग्दा हाकिमलाई कुर्नुपर्ने भयो । दर्ताफाँटमा त्यसै टहलिँदा फायलहरूको चेपमा पुस्तकजस्तो क्यै देखेर तानेँ । उही ‘ज्ञानगुनका कुरा’मा नयराज पन्तको विशेषाङ्क रहेछ । २ घण्टामा पढी सिध्याएँ–फुर्सदको राम्रो सदुयोग भयो । वाणीको पाक्षिक गोष्ठीमा जाँदा बालकृष्ण पोखरेल र मधु पोखरेलका विशेषाङ्कहरू पनि पढिएकै थिए तर अन्य विशेषाङ्कहरूको दर्शन चाहिँ परोपकार समूहको पुस्तकालयमा धेरै अङ्कहरू सङ्ग्रहित रहेछन् । झण्डै २५ वटा कृतिहरूको दर्शन गरेपछि लेख्न हात सरेको हो ।
३. ‘ज्ञानगुनका कुरा’ सम्बन्धमाः
मोफसलमा बस्ने हामीजस्ताले पत्रिकाका बारेमा पूर्ण जानकारी पाउन नसक्नु कुनै आश्चर्यको कुरो होइन । ‘ज्ञानगुनका कुरा’का केही मात्र प्रकाशन हेर्दा यो नितान्त शिवाकोटी परिवारको एकलौटी व्यक्तिगत संस्थापनमा हुर्केको वृक्ष हो भन्दा आपत्ति पर्लाजस्तो लागेन । यो सरकारी सुविधाप्राप्त दर्तावाल र मासिक÷द्वैमासिक वा अर्धवार्षिक घेरोभित्र बाँधिएको पनि छैन । ३० वर्ष उमेर नाघिसकेको यो वृक्षलाई मलजल गरी हुर्काउने, बढाउने काम शिवाकोटी परिवारले नै गरेका छन्, हुनसक्छ केही विशेषाङ्कमा अन्य सर्जक नायकका परिवार, हितैषीले नगण्यरूपमै भए पनि सहयोग जुटाएका होलान् । केही अङ्कमा (भागमा) सल्लाहकारका रूपमा विराटनगर निवासी रामबाबु दाहालको नाम उल्लेख भएको पाएँ । विराटनगरकै केही मित्रहरू र स्वयम् सम्पादकबाट प्राप्त जानकारीका आधारमा सङ्क्षिप्त रूपमा यो ३० वर्षे वृक्षको ऐतिहासिक रूपरेखालाई निम्न बुँदारूपमा लिपिबद्ध गर्ने जमर्को गरेको छु, यसको श्रेय सम्पादकलाई नै जान्छ । क) ‘ज्ञानगुनका कुरा’ नामक पत्रिकाको पहिलो प्रकाशन २०४३ माघमा प्रकाशित भएको हो ।
ख) यसको बाह्रौँ प्रकाशनसम्मको श्रृङ्खलामा सम्पादकले आफूले प्राप्त गरेका ज्ञानबद्र्धक, रोचक, जानकारीमूलक कुराहरू सङ्कलन गरी अरूलाई पनि त्यसले फाइदा पुगोस् भन्ने हेतुले सँगालो बनाएर प्रकाशन गरेजस्तो देखिन्छ । हुनसक्छ, सामान्य ज्ञानको ढिकुटी बनाएर लोकसेवा आयोगको परीक्षा दिनेहरूका लागि उपयोगी बनोस् भन्ने भित्री इच्छा पनि सम्पादकमा पलाएको हुँदो हो ।
ग) तेह्रौँ प्रकाशनदेखि सम्पादकमा अर्को लहड उत्पन्न भएको देखिन्छ, त्यो हो व्यक्तिकेन्द्रित विशेषाङ्क निकाल्ने । २०४८ मा स्वरसाम्राट नारायण गोपाल श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली विशेषाङ्क प्रकाशित भएको छ जसमा १०० जना लेखकहरूका संस्मरण, व्यक्तित्व र योगदान सम्बन्धित मर्मस्पर्शी लेख–रचनाहरू समेटिएका छन् । आधुनिक गीत, सङ्गीतको क्षेत्रमा अभूतपूर्व योगदान पु¥याएर उच्च शिखरमा पुगेका, सबै नेपालीहरूको मुटुको धुकधुकीमा स्थापित भैसकेका गायक तथा सङ्गीतकारको व्यक्तित्व र योगदानलाई अभिलेखीकरण गर्ने यो उत्कृष्ट कार्य थियो भन्न सकिन्छ ।
घ) २०४८ देखि २०५१ सम्म यसै गरी दिवङ्गत भैसकेका सर्जक स्रष्टाहरूलाई नायक बनाएर कृति प्रकाशन गरिएको पाइन्छ । जसमा धेरैजसो साहित्यिक व्यक्तित्वहरू नै पर्नु भएको छ । तिनीहरू सूची र भाग निम्नानुसार छ ः
अ) नेपाली साहित्यको आधुनिक प्रगतिवादी धाराका लोकप्रिय कवि भूपी शेरचन विशेषाङ्क (१४)
आ) कथाकार पोषण पाण्डे विशेषाङ्क (१५)
इ) भारतीय चलचित्रकर्मी, फिल्म निर्देशक सत्यजित राय (कलकत्ता) विशेषाङ्क (१६) ई) प्रगतिवादी समालोचक तथा निबन्धकार हृदयचन्द्रसिंह प्रधान विशेषाङ्क (१७) उ) नारी लेखिका भारती खरेल विशेषाङ्क (१८)
ऊ) स्वच्छन्दता तथा प्रगतिवादी धारका कवि सिद्धिचरण श्रेष्ठ विशेषाङ्क (१९)
ए) लेखक तथा नियात्राकार केदारमणि दीक्षित विशेषाङ्क (२०) ऐ) वरिष्ठ साहित्यकार रूद्रराज पाण्डे विशेषाङ्क (२१)
ओ) नेपाली प्रगतिशील फाँटकी सशक्त नारी हस्ताक्षर पारिजात विशेषाङ्क (२२)
ङ) २०५१ सालदेखि जीवित स्रष्टाहरूकै विशेषाङ्क निकाल्ने अर्को लहड सम्पादकमा जागेको देखिन्छ । विशेषाङ्कमा कृति नायक बन्ने सौभाग्य पाउनु भएका सर्जक÷स्रष्टाहरूको सूची र भाग पनि निम्नानुसारकै रहेको छ ।
१) हास्यव्यङ्ग्य निबन्धकार तथा लेखक वासुदेव लुइँटेल (२३)
२) हास्यव्यङ्ग्य निबन्धकार तथा लेखक वासुदेव लुइँटेल (२४)
३) साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे (२५)
४) राष्ट्रसेवक तथा समाजसेवक वद्री पहाडी (२६)
५) साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे (२७)
६) ज्योतिष तथा खगोलविद्, इतिहासकार नयराज पन्त (२९)
७) साहित्यकार मदनमणि दीक्षित
८) चूडामणि रेग्मी
९) नगेन्द्रराज शर्मा
१०) मोहन दुवाल
११) प्रा. दिनेशराज पन्त
१२) कृष्णप्रसाद श्रेष्ठ
१३) आनन्ददेव भट्ट
१४) श्यामप्रसाद
१५) धनबज्र बज्राचार्य आदि ।
च) ज्योतिष तथा खगोल विधाका पण्डित इतिहासकार गुरू ‘नयराज पन्त’का विशेषाङ्कहरू २९ वटा छुट्टाछुट्टै प्रकाशित भएका छन् । पन्त जीवित हुँदै १० अङ्क र मृत्युपश्चात् १९ अङ्क प्रकाशित भएका छन् ।
छ) केही सर्जक÷स्रष्टाहरूका विशेषाङ्कहरू धेरै अङ्कमा प्रकाशित भएका पाइन्छन्, ती सर्जक÷स्रष्टाहरूको नाम र प्रकाशित अङ्क सङ्ख्या निम्नानुसार छ ः
अ) साहित्यकार पत्रकार रोचक घिमिरे विशेषाङ्क सङ्ख्या–८ आ) इतिहास संशोधक धनबज्र बज्राचार्य विशेषाङ्क सङ्ख्या–७ इ) हास्यव्यङ्ग्य निबन्धकार वासुदेव लुइँटेल विशेषाङ्क सङ्ख्या–६
ई) साहित्यकार मदनमणि दीक्षित विशेषाङ्क सङ्ख्या–४÷ उपन्यास माधवीबारे सङ्ख्या–१
उ) साहित्यकार पत्रकार तथा लेखक चूडामणि रेग्मी विशेषाङ्क सङ्ख्या–३ ऊ) धरानको पहिलो बि.ए. उत्तीर्ण व्यक्ति कृष्णप्रसाद श्रेष्ठ विशेषाङ्क सङ्ख्या–४
ए) समालोचक प्रा.डा. गोपाल भण्डारी विशेषाङ्क सङ्ख्या–२ ऐ) समालोचक प्रा.डा. टङ्क न्यौपाने विशेषाङ्क सङ्ख्या–२ ओ) समालोचक रमेश गोर्खाली विशेषाङ्क सङ्ख्या–२
४) नयराज पन्तबारे धेरै विशेषाङ्कहरू निक्लनुका कारण के हुन सक्छन् ? पन्त गुरूलाई मैले २०२८ सालमा वाल्मीकि क्याम्पसमा भेटेको हूँ । उहाँलाई ज्योतिष तथा खगोल विद्याका धुरन्धर विद्वान् भनेर सम्मान गरेको देखेको थिएँ । आफू व्याकरणको विद्यार्थी गुरू ज्योतिषको । सरसङ्गत गर्ने मौका मिलेन । गुरू कान कम सुन्ने, एकोहोरो स्वभावको हुनुहुन्छ भन्थे अरू । सङ्गत गर्नेहरू ज्ञानको विश्वविद्यालय नै मान्दथे । गुरूकुल प्रणालीको घरमै पाठशाला चलाएर शिष्य मण्डलीलाई पन्तजस्ता अन्यत्र नपढी पछि विश्वविद्यालयलाई चुनौती दिने विद्वान् बने । यही इतिहास संशोधन मण्डलीमा परिणत पनि भयो । लिच्छविकालीन लिपि, अभिलेखको अध्ययनबाट प्रामाणिक तथ्यका आधारमा इतिहास लेखन गर्ने र अध्ययनलाई बढाउने अनुसन्धाताका रूपमा नयराज गुरूको विशिष्ट योगदान रहेको देखिन्छ । ‘पूर्णिमा’जस्तो अन्वेषणात्मक पत्रिकाको प्रकाशन पनि गुरूले गर्नुभएको छ । इतिहास शिरोमणि बाबुराम आचार्यपछिका इतिहास अध्येतामा पर्ने पन्त ऐतिहासिक मूर्धन्य व्यक्तित्व ठहरिन्छन् । डा. नरेन्द्र चापागाईंले लेख्नु भएको छ – “अनुसन्धानमा निरन्तर लागिरहने प्रकृति र प्रवृत्ति, खरो स्वभाव, अरूलाई त्यति नगन्ने, स्वाभिमान र अभिमान बराबर भएका नयराज पन्त आफ्नो विद्वताको सदुपयोग गर्ने र त्यो
राष्ट्रका लागि समर्पित गर्ने उच्च मानव हुन् ।” यस्ता व्यक्तिको साङ्गोपाङ्गो, रिठ्ठो नबिराई सबै सत्य–तथ्य पर्गेल्ने हिसाबले सम्पादकले धेरै अङ्कहरू निकाल्नु भएको होला तर छरिएर रहेका यस्ता कृतिहरू एकठ्ठा पारेर अध्ययन गर्न भने असजिलो पर्दोरहेछ । एउटै सङ्ग्रह बनाउनु पनि अर्थकै गाँठो पर्दो हो । जे होस्, गुरूका पद्य–पद्य रचना, चिठीपत्र, महान विचारहरू गुरूले प्रज्ञा प्रतिष्ठानमा गरेका कार्य गुरूकुलको विद्यालय, पुराना लेखकहरूको रचनाहरू प्रकाशित गर्ने देखाएको रूचि र इतिहासको खोजी र अन्वेषणमा पु¥याउनु भएको योगदानबारे यी सबै प्रकाशनहरू अति नै मूल्यवान ठहर्छन् । यस्ता मूर्धन्य व्यक्ति सम्पादकका दृष्टिमा ओझेलमा के पर्न सक्थे र ?
५. रोचक घिमिरेः
साहित्यिक पत्रकार तथा लेखकका रूपमा ख्याति आर्जन गरेका घिमिरे २०१८ सालदेखि ‘रचना’ नामक साहित्यिक पत्रिकाको प्रकाशन निरन्तर गरिरहनु भएको छ । यो सालको असार–साउनसम्ममा १४३ अङ्क प्रकाशित गरिसक्नु भएका घिमिरेको साहित्यिक उचाइ घटेको छैन, अझ बढिरहेकै छ । त्यसैले सम्पादकका रोजाइमा भाषा–साहित्यका अथक सेवकको रूपमा छनौट भै बढी अङ्क प्रकाशित भएका हुन् भन्न सकिन्छ ।
६. धनबज्र बज्राचार्यः
नयराज गुरूको गुरूकुलीय पाठशालामा ८ वर्ष अध्ययन गरेर विशिष्ट ज्ञान प्राप्त गरेका यी विद्वान् इतिहास संशोधन मण्डलीका सदस्य पनि हुन् । यिनले लेखेका कृतिहरूको सूची निक्कै लामो छ । यिनले अनुसन्धान गरेर प्रकाशित गरेका जय रत्नाकर नाटक (२०१४), गल्लीमा फ्याँकिएका कसिङ्गर (२०१८), त्रिरत्न सौन्दर्यगाथा (२०१९), पृथ्वीनारायण शाहको उपदेश (२०२५), बाबुराम आचार्य र उहाँका कृति (२०२९), लिच्छविकालका अभिलेख (२०३०), शाहकालका अभिलेख (२०३७), मध्यकालका अभिलेख (२०३७), पूर्णिमा (१–२४) यी अति महŒवपूर्ण मानिन्छन् । त्रि.वि.वि. को एशियाली अनुसन्धान शाखासँग जोडिएर गरेका अति महŒवपूर्ण कार्यबाट प्रभावित भएर नै सम्पादकले यिनका बारेमा धेरै अङ्क प्रकाशित गरेका हुन् भन्न सकिन्छ ।
७. वासुदेव लुइँटेलः
हास्यव्यङ्ग्य निबन्धका लागि विशिष्ट योगदान पु¥याउने व्यक्तिव्य हुन् वासुदेव लुइँटेल । यिनको आफ्नै किसिमको लेखन र व्यक्तित्व भएकाले धेरै अङ्कहरूमा यिनलाई समेटिएको हुनसक्छ ।
८. मनदमणि दीक्षितः
मदनमणि दीक्षित जगदम्बा गुठीसँग सम्बन्धित भै नेपाली साहित्यकै अभिलेखीकरण गर्नमा तल्लीन व्यक्तित्व हुन् । मदन पुरस्कारसँग पनि यिनको साइनो गाँसिएको छ । यिनी चर्चित लेखक अर्थात् साहित्यकार पनि हुन् । साहित्यका धेरै विधामा यिनको पकड छ । माधवी जस्तो चर्चित उपन्यास लेखेर यिनले ख्याति कमाएका छन् । त्यसैले बढी अङ्कमा प्रेरक व्यक्तित्व भएकोले छानिएको ठहर्छ ।
९. पूर्वाञ्चलका ‘ज्ञानगुनका कुरा’मा सम्बन्धित हुन पुगेका स्रष्टा नायकहरू ः (क) चूडामणि रेग्मी ः बनारसमा पढ्दादेखि नै झर्रोवादी आन्दोलनमा लागेका चूडामणि रेग्मीका धेरैवटा व्यक्तित्व पाटाहरू छन् । लामो समयसम्म शिक्षण पेसामा आबद्ध हुनुभएका रेग्मीको ‘जुही’ नामक पत्रिकाले धेरै साहित्यकारहरूको विशेषाङ्क निकालेको छ । साहित्यिक पत्रकारितासँगै उहाँले ओझेलमा परेका व्यक्तिहरूलाई प्रकाशमा ल्याएर उठाउने काम गर्नुभएको छ । साहित्यिक यात्रा गर्दै पूर्वदेखि पश्चिमसम्म जोड्ने काम पनि गर्नुभएको छ । कथा, काव्य, निबन्धका उहाँका प्रकाशित पुस्तकहरूको सूची लामै छ । अन्त्य साप्ताहिक युगज्ञान जस्ता पत्रिकामा जोडिएर स्तम्भहरू पनि उहाँले लेख्नुभएको छ । उहाँलाई ‘पूर्वको मोती’ भनेर पनि सम्बोधन गरेको सुनिन्छ । यी स्रष्टा र द्रष्टा दुवै हुन् । यसैले सम्पादकले आफैँजस्तो विशिष्ट योगदान दिने व्यक्तिका रूपमा उहाँलाई छनौट गरी धेरै अङ्क प्रकाशित गर्नुभएको हुनसक्छ ।
(ख) कृष्णप्रसाद श्रेष्ठः यी व्यक्ति धरान नगरबाट बि.ए. पास गर्ने पहिलो व्यक्ति हुन् । लामो शिक्षण अनुभव सँगालेका र साहित्यप्रति रूचि राखी लेख्ने पनि भएकाले सम्पादकका नजरमा परेका हुनसक्छन् । यिनका चेलाहरू दिनेश श्रेष्ठ (पूर्व प्र.अ. रानी विराटनगर) जस्ता धेरै छन् । यी ओझेलमा परेका शिक्षाप्रेमीलाई चिनाउन सम्पादकको ठूलो भूमिका रहेको छ ।
(ग) प्रा.डा. गोपाल भण्डारीः धरान मै बसेर लामो समयसम्म शिक्षण पेसामा समर्पित गोपाल भण्डारीले समालोचना विधामा कलम चलाउनु भएको छ । लक्ष्मी वाचनालयसँग सम्बन्धित भै धेरै साहित्यिक कार्यव्रmमहरू पनि चलाउँदै आउनु भएको छ । काव्य, निबन्ध र समालोचनाका कृतिहरूमा उहाँको दक्षता देखिन्छ । १४५ र १५८ भागमा ज्ञानगुनका कुराले उहाँलाई सम्झेको छ ।
(घ) प्रा.डा. टङ्क न्यौपानेः ‘आठपहरिया राई’ भाषाको शोध गरेर विद्यावारिधि प्राप्त न्यौपाने भरखरै नागरिकहरूको तर्फबाट अभिनन्दित हुनु भएको छ । उहाँका विषयमा झण्डै ५० जना लेखकहरूको लेख भएको ५०० पृष्ठको अभिनन्दन ग्रन्थ तयार भएको छ । नेपाली भाषा विज्ञान, समालोचना, मानक व्याकरण, भाषा विज्ञानको रूपरेखा जस्ता उहाँका कृतिहरू प्रकाशित छन् । लामो समय शिक्षण पेसामा रहेर अहिले उहाँ सेवा निवृत्त हुनुभएको छ । उहाँलाई ‘ज्ञानगुनका कुरा’ को १४७ र १५७ भागमा पढ्न सकिन्छ ।
(ङ) बालकृष्ण पोखरेलः छात्र अवस्थादेखि नै झर्रोवादी आन्दोलनका सदस्य रहेका बालकृष्ण गुरू भाषाशास्त्रीका रूपमा चर्चित हुनुहुन्छ । १०० भन्दा बढी पुस्तकहरू प्रकाशित गरिसक्नु भएका लामो शिक्षण पेसाबाट निवृत्त भै सक्नु भएको गुरूका उपन्यास, निबन्ध, नाटक, काव्य–कविता, भाषा विज्ञान जस्ता विविध विधाका महŒवपूर्ण कृतिहरूको विवेचना सहितको लेख अनिरूद्ध तिम्सिनाले ज्ञानगुनकै कुरा (१४०) मा लेख्नु भएको छ । २०५१ सालमै नागरिकका तर्फबाट रथयात्रासहित अभिनन्दित भै सक्नु भएका बालकृष्ण गुरूका साहित्यिक छद्मभेषी उपनामहरू धेरै छन् । मान–सम्मान र कार्यका हिसाबले गुरूका बारेमा अन्य अङ्कहरू पनि निक्लनु पर्ने हो । गुरूले रूचि नदेखाएको हो वा सम्पादकले यसमा दृष्टि पु¥याउन नसकेको हो ? मजस्ताले त्यसको छिनोफानो गर्ने कुरो होइन ।
(च) अनिरूद्ध तिम्सिनाः निबन्ध, नाटक, समालोचना र काव्य–कविता क्षेत्रमा कलम चलाउने तिम्सिनाका अझै धेरै कृतिहरू अप्रकाशित नै छन् । गहन लेखन र अध्ययनशील प्रगतिवादी फाँटका यी लेखकका थोरै कृति मात्र प्रकाशित छन् । ‘ज्ञानगुनका कुरा’ ले १४२ औँ भागमा यिनलाई पनि समेटेर उचाल्ने प्रयत्न गरेको छ । (छ) कृष्णभूषण बल ः थोरै लेखेर धेरै चर्चामा रहेका कवि हुन् – कृष्ण भूषण बल । उनका दाजै तिम्रो हात चाहिन्छ, भोलि बास्ने बिहान कविता सङ्ग्रह प्रकाशित छन् । उनले प्रयोग गरेका बिम्बहरूलाई धेरैले मन पराएका छन् । उनका कविताहरू अङ्ग्रेजीमा पनि अनूदित भै सङ्ग्रहका रूपमा प्रकाशित भएको छ । उनको मृत्युपश्चात् कृष्ण भूषणका कविताको सङ्ग्रह र स्मृति ग्रन्थ प्रकाशित भएको छ । यिनलाई ज्ञानगुनका कुराले २०४७ सालमै सम्झेको देखिन्छ ।
(ज) मधु पोखरेलः काव्य–कविता, निबन्ध र गजल विधामा कलम चलाउने पोखरेलको गजल विधामा विशेष कला र गला दुवै छ । निजामती सेवामा लामो समय सेवा गरी सेवा निवृत्त हुनु भएको पोखरेल निरन्तर साहित्य र साहित्यिक गतिविधिका संघसंस्थामा आबद्ध भएर भाषा साहित्यको सेवामा समर्पित हुनुहुन्छ ।
१४८औँ भागमा ज्ञानगुनका कुरामा उहाँ पनि समेटिनु भएको छ ।
(झ) बद्री पहाडीः दाहाल परिवारमा जन्मेर भूमिसुधार अधिकारी पदमा वहाल भै सरकारी जागिरे हुनु भै समाजसेवामा दत्तचित्त रहने बद्री पहाडीको ‘अक्षरको अभिवादन’ नामक ग्रन्थ झण्डै ५०० पृष्ठको पुस्तक ‘ज्ञानगुनका कुरा’ को छब्बीसौँ श्रृङ्खलामा गाँसिएको रहेछ ।
(ञ) कृष्ण अधिकारीः १५०औँ श्रृङ्खलाका ‘ज्ञानगुनका कुरा’ मा जोडिएमा कृष्ण अधिकारी इटहरीमा पत्रकारिता क्षेत्रमा संलग्न रही व्यापार–व्यवसायलाई पनि अघि बढाउँदै साहित्य क्षेत्रमा पनि संलग्न व्यक्तित्व हुन् । उनको ‘कान्छो सार्की’ नामक कथासङ्ग्रह साझा प्रकाशनले प्रकाशित गरेको छ । उनको एउटा जर्मनीको यात्रा सम्बन्धि नियात्रा पनि प्रकाशित छ ।
(ट) लक्ष्मण नेवटियाः विमातृ नेपाली भाषी भए पनि व्यापार–व्यवसायसँगै साहित्यिक कलम चलाउँदै हास्यव्यङ्ग्यको काव्य विधामा कलम चलाइ रहेका नेवटिया मारवाडी समुदायका व्यक्तित्व हुन् । हाइकू सङ्ग्रह, लघु कथा सङ्ग्रह, कविता सङ्ग्रह प्रकाशित गरिसकेका अति मिलनसार र सहयोगी नेवटियालाई ‘ज्ञानगुनका कुरा’को १४९औँ श्रृङ्खलाले उचालेको छ ।
९. ‘ज्ञानगुनका कुरा’को योगदान र मूल्याङ्कनः
२०५४ सालमा न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा भई पुनरावेदन अदालत पोखरा, विराटनगर र राजविराजको रजिष्ट्रारमा पदस्थापन र सरूवा भई कार्यरत रहँदा त्यस क्षेत्रकै सर्जक स्रष्टा व्यक्तित्वका बारेमा विशेषाङ्क प्रकाशन गर्दै आएका छौँ (सम्पादकीय, अक्षरको अभिवादन बद्री पहाडी) ।
यो भनाइबाटै जो–जो सम्पादकका नजरमा परे, तिनीहरूकै विशेषाङ्क प्रकाशित गरिएको भन्ने बुझिन्छ । ‘ज्ञानगुनका कुरा’ ३० वर्षे यौवन कालमा आइपुग्दा तीनवटा मोडहरू पार गरेको देखिन्छ । पहिलो मोडमा ‘सामान्य ज्ञान’ अर्थात् ज्ञानवद्र्धक जानकारी पस्कने । दोस्रो मोडमा साहित्य, सङ्गीत, कला, इतिहास आदिको क्षेत्रमा विशिष्ट योगदान, महŒव र प्रभाव छाडेर जन जीवनलाई प्रभावित पारेर दिवङ्गत भएका स्रष्टा सर्जकलाई चुनेर उहाँका परिवार, आफन्त, इष्टमित्र, साथीभाइसँग सम्पर्क गरेर लेख, रचना, संस्मरण जम्मा गरेर स्रष्टाको व्यक्तित्व, कृतित्व र योगदान झल्कने गरी विशेषाङ्कहरू प्रकाशित गर्ने । तेस्रो मोडमा जीवित स्रष्टा नायकहरूकै खोजी गरी पूर्ववत् तरिकाले विशेषाङ्कहरू प्रकाशित गर्ने ।
सङ्ख्यात्मक हिसाबले हेर्दा २०१८ सालदेखि प्रकाशित ‘रचना’ १४३ अङ्कमा मात्र पुग्नु, २०२७ सालदेखि प्रकाशित ‘अभिव्यक्ति’ असार–साउनसम्ममा १८४ अङ्क मात्र पुग्नु तर २०४३ सालदेखि निस्केको ‘ज्ञानगुनका कुरा’ ले २०० अङ्कमा फड्को मार्नु निश्चय नै तुलनात्मक रूपमा थोरै वर्षमा धेरै अङ्क निकालेको पुष्टि हुन्छ । जे जसरी भएपनि पारिवारिक सम्पत्तिको यो पत्रिका संस्थागत भएको हो भन्ने पुष्टि यसको निरन्तर प्रकाशनले गरेको छ । यो संस्थालाई अझ क्रियाशील बनाउने जिम्मेवारी शिवाकोटी परिवारको काँधमा छ । गुणात्मक हिसाबले हेर्दा यसरी व्यक्ति विशेषलाई ग्रन्थ नायक बनाएर पत्रिका प्रकाशन गरेको कसैले पाइँदैन । कुनै–कुनै अङ्कलाई पत्रिकाहरूले विशेषाङ्कको रूपमा भने प्रकाशित गरेको पाइन्छ । शोध वा अनुसन्धान गर्नेहरूका लागि यी विशेषाङ्ककहरू अध्ययन सामग्री हुन सक्छन् । यस्तै लेखकहरूका लागि त खुराकका सामग्रीहरू हुने कुरा मैले पहिले नै लेखिसकेको छु । स्तरीयताका सम्बन्धमा केही अङ्कहरू भागहरू ठूलै छन् । ती कसरी भए ? धेरैजसो ४० देखि ६४ पृष्ठ भित्र नै सीमित छन् । यी अर्थकै कारणले वा लेखकहरूको लेखन मितव्ययिताका कारणले हुन सक्छ । लेखहरू जम्मा गर्नु पनि गाह्रै काम हो । जे भएपनि भाषा, साहित्य, सङ्गीत र इतिहासको यसले उपासना गरेको छ । यही सबैभन्दा ठूलो कुरा हो ।
भाषा–वाङ्मयको, सङ्गीतको, कलाको, समाजसेवाको, प्राज्ञिक विद्वत्ताको, इतिहासका शोधपूर्ण यो श्रृङ्खलित व्यक्ति विशेषाङ्क निकाल्ने सोच लहडबाजी भै उठे पनि यसलाई निरन्तरता दिन सक्नु यसको प्रमुख उपलब्धि हो । यो अरू कसैले गर्न नसकेको छुट्टै उपलब्धिमूलक कार्य हो । यसले भाषा–साहित्य, श्रीबृद्धि त भएकै छ साथसाथै व्यक्तिको व्यक्तित्व र कृतित्वलाई चिनाएर व्यक्तिले समाज तथा राष्ट्रलाई पुर्याएको योगदानको मूल्याङ्कन पनि गर्न सकेको छ । अतः यस पत्रिकालाई अझ स्तरीय बनाउँदै देश, जनता र समाजको अभिन्न अङ्गको रूपमा विकसित हुन सकोस् भन्ने शुभेच्छा सहित यो लेखनीलाई यही टुङ्ग्याउँछु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।