19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रोएर लेख्दैछु म

कविता डा. गोपाल पौड्याल 'मण्डने' October 28, 2026, 4:59 pm
डा. गोपाल पौड्याल 'मण्डने'
डा. गोपाल पौड्याल 'मण्डने'

मण्डन स्मृति मानसमा उदायो,
बाल्यत्वको चित्र हृदयै सजायो।
पाखापखेरा स्मृतिमा समाई,
लेख्दैछु पीडा नयनै रसाई॥१॥

ती शैलमाला हरिता वनाली,
ती स्वच्छ धारा मधुरा प्रणाली।
पौवा र बेंसी मनमा सजाई,
रुन्छु म टाढा विरहै समाई॥२॥

माटो सुवासित छ जन्मभूमि,
आमा समानै प्रिय पुण्यभूमि।
टाढा बसे तापनि चित्तभित्र,
देख्छु तिमीलाई म नित्य चित्र॥३॥

वर्षा प्रचण्डै जब मेघ गर्ज्यो,
भूक्षोभले मानवधैर्य भङ्ग्यो।
बाढी–पहिरो विपदा सुनेर,
रुन्छु म पीडा हृदयै गुनेर॥४॥

भत्के कतै गेह, कतै उजाड्यो,
दैवी प्रकोपै जनजीव तोड्यो।
चीत्कार सुन्दै मन भक्कनाई,
लेख्दैछु आँसु नयनै बगाई॥५॥

कोशी उर्लीई, कर्णाली कराई,
गण्डकीले वेदनध्वनि सुनाई।
हिमाल रोएको समाचार सुन्दा,
छाती चिरिन्छ जनपीर गुन्दा॥६॥

कसैको माता, कसैको पुत्र,
विपत्तिले पारिदियो अपुत्र।
सिन्दूर पुछी घरबार गुमाई,
रुन्छन् हजारौँ करुणा सुनाई॥७॥

भूकम्पले ध्वस्त बनायो बस्ती,
पहिरो झर्दा हरियो समष्टि।
प्रकृतिको रौद्र स्वरूप हेरी,
रुन्छ अन्तरात्मा व्यथालाई घेरी॥८॥

मण्डन! तिम्रा वन, खेतबारी,
ती स्वर्णझैँ पाक्दछ धानबाली।
आकाशिबेंसी र नौबिसे सम्झी,
रुन्छु म जन्मस्थललाई सम्झी॥९॥

रानीवनै र कामिटार प्यारो,
ज्याम्दी र पौवा मनको सहारो।
देउराली, रामपुर चित्तमा राखी,
लेख्छु म आँसु नयनैमा साखी॥१०॥

हे मातृभूमि! विपद हटाउ
शान्तिप्रभाले जग यो सजाउ।
पीडित हृदयमा नवशक्ति जागोस्,
आशाप्रदीपै घरघरमा लागोस्॥११॥

लेख्दैछु यो शोक कलम समाई,
अश्रुप्रवाहै मसीमा मिलाई।
मण्डन र नेपाल हृदयै सजाई,
लेख्दैछु पीडा नयनै रसाई॥१२॥
(उपजाति छन्द)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।